‘सफाइमा केही भन्नु छ तपाईंको ? यो तपाईंलाई अन्तिम मौका हो।’ जर्ज साहेबले भने।
‘छैन हजुर ।’ अश्रुपूर्ण र रोदनमिश्रित स्वरमा भनेँ मैले – ‘मैले भन्नु केही छैन ।’
‘सिसिटिभी फुटेज र अन्य प्रमाणहरूले तपाईंको अपराध साबित भएको छ। कठोर दण्डको भागिदार तपाईं हुनुहुन्छ।’ जर्ज साहेबले आफ्नो बाक्लो चस्मामाथिबाट मलाई हेर्दै पुनः भने- ‘तपाईंलाई फेरि एकपल्ट सोध्दै छु तपाईंको केही भन्नु छ अथवा कुनै इच्छा छ ?’
मैले विह्वल भएर यति भनेँ- ‘मेरो भन्नु केही छैन जर्ज साहेब । इच्छा…? इच्छा पनि केही छैन। अँ.. एउटा चिठी मेरो परिवारसम्म पुग्ने व्यवस्था गरिदिनु होला ।’
यसपछि म कठघरामै घोप्टो परेर ग्वाँ ग्वाँ रोएँ।
===
कति फराकिला सडक। कति चिल्ला र व्यवस्थित। यसैले यात्रा पनि अति आरामदायक। गाडी कुदेको पनि चालै नपाएजस्तो। हाम्रो पहाडमा कहाँ यस्तो हुन्छ ! घुमाउरो र साँघुरो सडक। गाडीहरूको घुइँचो। जामको समस्या त्यस्तै। यहाँ त हेर जति द्रुत गतिमा गाडी हाँके पनि यात्रीहरूलाई कुनै समस्या छैन।
तर मलाई भने यो चढेको बस अझ तीव्र गतिमा भागोस् लागिरहेको छ। मनमा भय व्याप्त छ। घरिघरि पसिना आउँदा चुन्नीले अनुहार पुछ्ने गर्छु। मान्छेलाई डर लुकाउने कुनै जग्गा छैन भनेको ठिकै रहेछ। डरले मुटु र कलेजो एकैसाथ मुखमा आउला जस्तो भइरहेछ। भरमग्दुर कोसिस गरिरहेको छु आफैँलाई सम्हाल्ने । तर कताकता मेरो कोसिस बेकार भएको भान भइरहेको छ।
मधेसको हावा त्यसै पनि तातो र बाफिलो। बसको झ्यालबाट मेरो अनुहारसम्म ठोकिनु आउने यो हावाले पनि मलाई कुनै शीतलता दिन सकेको छैन । बरु अझ म पसिनाले निथ्रुक्क भिज्दै जाँदैछु। मेरो असामान्य स्थितिको आभास वरिपरिका यात्रुहरूलाई नहोस् भनेर म जत्तिसक्दो सामान्य हुनु खोज्दैछु।
मन भुलाउने उद्देश्यले पर..पर..को दृश्य हेर्छु ।
यति थाहा छ कोलकाताको कोलाहललाई चिरेर बस धेरैअघि नै बाहिर निस्किसकेको छ । टाढा टाढासम्म धानका खेतहरू देखिन्छन् । कताकता चराका झुण्ड उडिरहेको छ । धानका हरिया र कलिला पातहरू हावाको झोकाले ठेलेर एकै दिशामा ढल्किएको स्पष्ट देखिन्छ । फेरि कहीँकहीँ पाटका अग्ला अग्ला बोटहरू देखिन्छ । पाटका यी दह्रिला बोटहरूलाई तर हावाले कतै ढल्काउन नसकेको रहेछ । स्थिर र अटल भएर बाँचिरहेका पाटका यी बोटहरूले कताकता मलाई सान्त्वना दिइरहेकोजस्तो लाग्यो । साहस र हिम्मत प्रदान गरिरहेकोजस्तो लाग्यो । तब के म अडिग र स्थिर बसेर ठिक गरेँ त ! हुरीको प्रतिरोध गरेर सही गरेँ त ! आखिर हावा र हुरीको प्रतिरोध गरेर नै त यी पाटका बोटहरू खडा र स्थिर छन् । आत्माभिमानको निम्ति मैले गरेको कृत्य तब के अपराध होइन ! मैले अपराध गरेको छैन ? होइन.. अपराध कसरी हुन सक्छ ! यो त प्रतिकार हो.. प्रतिरोध हो। आत्मरक्षा हो। आत्मरक्षाको अधिकार त हामीलाई कानुनले दिएको छ। तब मैले कहाँ गल्ती गरेँ.. कहाँ अपराध गरेँ !
यसरी आफैँले आफैँलाई सान्त्वना दिने प्रयास गर्छु। बस अविराम कुदिरहेको छ।
बाहिर साँझ ढल्न लाग्दैछ । पर.. मधेसको क्षितिजमा पोतिएको लालिमा पनि निस्तेज र रङ्गहीन हुनु लागेको छ।बटुवाहरू छिटोछिटो बासस्थानतिर लम्किरहेका छन् । विपरीत दिशातिर कुदिरहेका स-साना घर र झोपडीहरूबाट धुवाँका धर्साहरू उडेर आकाशसित एकाकार भइरहेको छ । कुनै कुनै पक्की घरका छतहरूमा स-साना बच्चाहरू र किशोर किशोरीहरू हिँड्दै पढिरहेका पनि देखिन्छन् ।
हो..त, म पनि एकदिन यी केटाकेटीजस्तै विद्यार्थी थिएँ । गाउँको स्कुलमा म सधैं प्रथम हुन्थेँ। साथीहरू छक्क पर्थे । शिक्षक शिक्षिका अवाक् थिए। मेरा आमाबाबु गर्व गर्थे। खुसी हुन्थे। तर मेरो आमा बाबुको अवस्था ठिक थिएन। दुध बेचेर म र मेरो भाइलाई पढाउँथे। पालन पोषण गर्थे। बाबु फाल्टो समय ठिकाबिगा गर्थे, खेताला जान्थे। आमा घर सम्हाल्थिन्।
त्यसबेलाकै कलिलो दिमागमा म कहिले ठुली हुने र आमाबाबुलाई सुख दिने भन्ने कुरा खिलिएर बसेको थियो। यही ध्यावन्तीमा म पढेँ,खुब पढेँ। गाउँकै स्कुलबाट माध्यमिक पास गरे। स्कुलका कार्यक्रमहरुमा कति रमाइलो गर्थ्यौं हामी। भानुजयन्तीमा रामायण पाठ गरेको र नाचेको अहिले जस्तो लाग्छ। फेरि मङ्सिर महिनामा ठुलो परीक्षा सकेर कक्षा कक्षाका विद्यार्थीहरू झुण्ड झुण्ड भई बनभोज जाँन्थ्यौँ। कति रमाइला थिए ती दिनहरु। कति निका थिए ती जीवन। तर मलाई भने पढ्नु थियो, धेरै पढ्नु थियो। नोकरी समाउनु थियो र आमाबाबुलाई सुख दिनु थियो।
‘आपनी, कोथाइ जाबेन ?’ भाडा उठाउँदै आएको बस कन्डकटरको तीखो आवाजले मेरो तन्द्रा भङ्ग हुन्छ।
हो त, म कता जाँदैछु, कहाँ जाँदैछु। गन्तव्य कुन स्थान हो मलाई केही थाहा छैन। दुरगामी बसमा हतार हतारसाथ उठेको छु। जतिसक्दो आफूलाई कसैले नचिनोस् भनेर अनुहारलाई चुन्नीले ग्वाम्म ढाकेको छु। अस्तव्यस्त पहिरनलाई जतिसक्दो व्यवस्थित गर्ने प्रयास गरेको छु। किनभने चाँडोभन्दा चाँडो मैले त्यो जग्गा छोड्नु परेकाे थियो । म त्यहाँबाट भाग्नु परेको थियो। अथवा कसैले चिन्नु अगावै या त्यस स्थानमा पुलिस आइपुग्नुअघि नै त्यस स्थानबाट चम्पट कसिसक्नु परेको थियो। यसैले त्यस्तो जटिल स्थितिबाट बाँच्नुको निम्ति मैले अन्धाधुन्ध यो बसमा चढ्नु पर्यो।
‘ओ दिदी, जाबेन कोथाई। भाडा देन। किधर जायेगे, भाडा दिजिए।’ बङ्गला र हिन्दीमा बोलेको कन्डक्टरको आवाजले म वास्तविकतामा फर्किन्छु। वास्तविकता अति भयावह छ।
‘आरामबाग पर्जन्त जाबो ।’
आँठौँ कक्षासम्म मैले बङ्गला पढेको छु । यस भाषामा लेखिएका सामान्य सूचनाहरू पढ्न र बुझ्न सक्छु। कनिकुथी थोरै भए पनि बोल्न सक्छु। बस चढ्नुलाग्दा अगाडि ऐनाको शिरमा लेखिएको ‘आरामबाग टु कोलकाता’ हठात् मेरो दिमागमा आउँछ। त्यसैको भरोसामा पैसा दिँदै कन्डक्टरलाई भनी पठाएछु।
तिनले मलाई राम्ररी नियालेर भन्यो- ‘आरामबाग स्टेसन पर्जन्त जाबेन तो ?’
मैले ‘ह्या..’ भनेर उत्तर दिएँ । तर आरामबाग कहाँ पर्छ मलाई थाहा छैन। त्यहाँबाट कहाँ जाने त्यो पनि थाहा छैन। उद्देश्य बोकेको बसमा निरुद्देश्य म कुदिरहेको छु।
जीवन पनि कस्तो हुन्छ ! राम्रो बनाउँछु भन्दाभन्दै कताकताबाट कसैकसैले काला धब्बहरू पोतिदिँदो रहनेछन्। यसपछि जिन्दगीको चित्र नै सौन्दर्यहीन हुन्छ। अथवा बनिँदै आएको सपनाको महललाई एक झोका हावा आएर भताभुङ्ग बनाइदिँदो रहेछ । यसपछि जिन्दगी अभिशाप लाग्छ। रङ्गहीन लाग्छ। आफैलाई बोझ लाग्छ। मलाई अहिले जिन्दगी त्यस्तै कस्तोकस्तो लागिरहेको छ।
हो… मैले विद्यार्थीकालको सम्झना गर्दै थिएँ। गाउँको स्कुलबाट माध्यमिक परीक्षा उत्तीर्ण गरेपछि म सहरमा पढ्नु आएँ। सहरमा राखेर छोरीलाई पढाउने औकात मेरा आमाबाबुसित थिएन। उनीहरूले ठुलो चुनौती उठाए। तर मैले उनीहरूको विश्वास र भरोसालाई कहिल्यै घात गरिनँ।म लगन र मेहनतले पढेँ अनि असल अङ्कमा स्नातक तहसम्म ससम्मान अध्ययन पुरा गरेँ।
‘तँ त धेरै राम्री छस्।’ कलेज कालमा साथीहरू मेरो रुपको प्रशंसा गर्दै भन्थे। केटाहरू पछि नै लाग्थे। अहिले सम्झिन्छु रुप र यौवन पनि नारी जातिको लागि अभिशाप नै न हो । सायद यसैको कारण आज मेरो जीवनमा यस्तो भयानक मोड आयो जस्तो लाग्छ। तर पनि मेरो मन पढाइबाट कहिल्यै भँगालिएन रहेछ। मैले त धेरै पढेर छिट्टै नोकरी पाउनु थियो। आमाबाबुलाई सुख दिनु थियो।
नोकरीको मौका नआएको पनि होइन। गाउँकै विद्यालयमा मैले पढेको विषयको खाली पद सिर्जना हुन्छ। अन्तर्वार्ता पनि खुबै राम्रो हुन्छ। तर हतोत्साहित र स्तब्ध बनाउँछ मलाई अन्तर्वार्ताको परिणामले। प्रधानाध्यापककी भान्जीले यो नोकरी पाउँछे जबकि ऊ मात्र साधारण स्नातक थिई। भ्रष्टाचार र भाइ-भतिजावाद कहिले अन्त्य होला है हाम्रो पहाडबाट !
तर पनि मैले हिम्मत हारिनँ । एउटा विख्यात अन्तर्राष्ट्रिय कम्पनीमा नोकरी पक्का गरेँ। सिलगढी शाखामा पहिलो नियुक्ति भयो। मेरो लगन, परिश्रम र इमान्दारीले चाँडै रङ्ग देखाउन थाल्यो। अग्रज कर्मचारीहरूको प्रिय बन्न पुगेँ म। धेरै काम सिकाए उनीहरूले मलाई। विशेष त्यहाँका शाखा प्रबन्धक मेरो निम्ति पितासरह थिए। अङ्ग्रेजीमा मेरो राम्रो पकड भएको हुनाले उनको सम्पूर्ण कागजपत्रको काम मैले गर्नु पर्थ्यो।
दुई वर्ष, तीन वर्ष र चार वर्ष बित्दै गए यसरी। ममा कार्यदक्षता बढ्दै गयो। आफ्नो काममा अझ माझिँदै गएँ। एक दिन प्रबन्धकले आफ्नो कक्षामा बोलाएर भने –‘तिम्रो पदोन्नतिको लागि मैले एच.ओ.मा पत्राचार गरेको थिएँ। मुम्बई एच.ओ.बाट एच.आर. हेड कोलकाता आउँदैछ तिम्रो साधारण व्यक्तित्व जाँच हुने रहेछ। के तिमी जान्छौ ?’
‘अवश्य जान्छु सर ।‘ म अलिकति उत्तेजित भएर बोलेँ।अपार खुसीबोध भइरहेको थियो मलाई। यसपछि उनले क्षेत्रीय कार्यालय कोलकाताको ठेगाना दिए। रेलबाट उत्रिएपछि कहाँ जानु, के गर्नु सबैथोक बताए। मैले प्रत्येक कुरो नोट गरेँ।डेरा पसिन्जेलसम्म पनि मेरो मनको खुसी र स्फुर्ति कम भएको थिएन।
दार्जिलिङ रेलबाट उत्रिएपछि म एउटा होटलमा गएर आराम गरेँ। नुहाइधुवाइ गरेर कोलकाताको दृश्यपान गर्नु थालेँ।मसित प्रशस्त समय थियो। किनभने अपरान्ह मात्र मलाई अन्तरवार्तामा पुग्नु थियो। फोनबाट मलाई मेरा शाखा प्रबन्धकले मार्गदर्शन गरेअनुसार म तथा समयमा क्षेत्रीय कार्यालय पुगे पनि। पी.आर.ओ.सँग बात भएपछि मलाई केही समय प्रतीक्षा गर्ने निर्देश भयो। कति भव्य कार्यालय। काम गर्ने कर्मचारीहरू पनि त्यस्तै स्मार्ट र कार्यनिपुण देखिने। सबै आ-आफ्नो काममा व्यस्त। यस्तो सानदार कार्यालय भएको कम्पनीको कर्मचारी हुनु पाएकोमा गर्व लाग्यो।निकै समयबाद एच.आर. प्रमुखको कक्षाबाट बोलावट भयो। तर मलाई एच.आर. प्रमुखको आचरण ठिक लागेन। तिनले मलाई भिन्नै नजरले हेरिरहेका थिए। अन्तरवार्ता होइन मेरो अङ्गप्रत्यङ्गमा तिनको धेर चासो थियो।
‘तिमी अति सुन्दर छौ, तरुनी केटी।’ असभ्य नजरले हेर्दै तिनले मलाई अङ्ग्रेजीमा भने।
मुस्कुराएर शालिनता दर्शाउँदै बोलेँ म-‘धन्यवाद सर ।’
तिनले आफ्नो अनुहारमा एकखाले मुस्कान देखाउँदै मलाई पुनः भने- ‘तिमी आफ्नो काममा दक्ष र निपुण छौ । तिम्रो पदोन्नति अवश्य हुनेछ ।’ यति भनेर तिनी आफ्नो कुर्सीबाट उठे।
‘धन्यवाद सर, धेरै धेरै धन्यवाद’-खुसी जाहेर गर्दै भनेँ मैले । तर मनमा भने भुइँचालोको आभास भइसकेको थियो। तिनी मेरो नजिकै आइपुगे। मेरो धड्कन तीव्र हुनु थाल्यो। उठ्न खोजेँ म डरले। त्यो कक्षाबाट भाग्न खोजेँ।तर तिनले आफ्नो बलिया दुवै हात मेरो काँधमा राख्दै भने –‘तिमी यहाँ होइन , एच.ओ.मा काम गर्न पनि योग्य छौ। कम्पनीलाई तिमीजस्तो मानव सम्पदाको खाँचो छ। म तिमीलाई मुम्बई लान चाहन्छु। के तिमी त्यहाँ जानु तयार छौ, जवान केटी ?’
मनमा ठुलो भय र अनुहारमा कृतिम मुस्कान पस्केर मैले भनेँ- ‘अवश्य सर तर…।’
तर मेरो वाक्य पुरा हुनु नदिई तिनले आफ्नो हात मेरो छातीतिर झार्दै भने –‘तर मेरो एउटा शर्त छ। तिमीले मलाई अतिरिक्त सेवा प्रदान गर्नु पर्छ।विल यू..?’
‘सरी..! सरी .. सर!’ म जोडले कराएर उठ्नु खोजेँ । तर तिनका बलिया दुई हातको ताकतलाई परास्त गर्नु सकिनँ। तिनले त राक्षसको रुप धारण गरिसकेको थियो। अझ जोडले पक्रेर मलाई गाँज्न खोजे। अहिले थाहा पाएँ तिनी नशामा रहेछ। मलाई अतिशय रिस उठ्यो। जबरजस्ती उठेँ र तिनको मूत्राशयमा तीन लात कसेँ। अझ मेरो क्रोध शान्त भएको थिएन। छेवैको पेपर वेट मुठ्ठीमा बाँधेर तिनको टाउकोमा कतिपल्ट हाने थाहा छैन। तिनी अचेत भएर लड्यो र म त्यहाँबाट सुइँकुच्चा ठोकेँ।
बस आफ्नै गतिमा कुदिरहेको छ। अहिले हावामा गर्मीको मात्रा निकै घटेको छ। यसको शीतल स्पर्शले अलिकति राहत पाएको महसुस हुन्छ। प्यास लाग्छ। तर पिउने पानी छैन आफूसित। हाते ब्याग चेपेको छु। फोन अघि नै बन्द गरेको छु। समय हेर्नु पनि सकिरहेको छुइन।कति जग्गाहरूमा बस रोकिने र यात्रुहरू चढ्ने अनि झर्ने क्रम पहिलेजस्तै छ। पुनः बसले गति पक्रिन्छ। बससँगै हल्लिँदै अनिश्चित भविष्यतर्फ लम्किरहेछु। मनस्थिति भयभित छ, त्रास्त छ।
अचानक गाडी रोकिन्छ। एउटा नाकाजस्तो ठाँउ रहेछ। दुई-तीन पुलिस अधिकारीहरू एकैसाथ भित्र पस्छन् र सोझै म भएकहाँ आएर भन्छन् –‘तपाईं हामीसित हिँड्नुहोस्।’
===
पूजनीय आमा-बुबा म अहिले बहरमपुर जेलमा बन्दी जीवन बिताइरहेकी छु। मलाई वेश्यावृत्ति गरेको, मान्छे मारेको र बहुमूल्य सम्पत्ति नष्ट गरेको गैरकानुनी कार्यविरुद्ध विभिन्न धाराहरू लगाइएको छ। तपाईंहरूलाई सुख दिनु सकिनँ क्षमा गर्नु होला।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।