पहिले पहिले आउँदा यो कोठाको सजावट, सजाउने सुन्दर र महँगा सामानहरू दराजभरि देख्दा मन्त्रमुग्ध हुने मन आज मृत्युको गन्धले व्याप्त थियो । अल्पायुमै जीवनको पराजयले विलाप गर्दै थियो त्यहाँ । 

मान्छेका आसक्त्तिका सघन परिदृश्यहरू कति अचम्मका हुँदा रहेछन् भन्ने कुरा अरुणिमा दिदीको कोठामा पुगेपछि जीवनमा पहिलोपल्ट अनुभव भयो ।

अरुणिमा दिदीको आधुनिक, सुन्दर र भव्य बङ्गला, आकर्षक र सुसज्जित कोठा । कलात्मक काठको पलङमा पल्टेकी अरुणिमा दिदीले त्यस्तो असक्त्त र पीडामय स्थितिमा पनि नारीभरि सुनका चुराहरू, कानमा चमचम चम्कने हीराको टप, घाँटीमा मोटो सुनको सिक्री,औँलाहरूमा हीरा र मोटीका औँठीहरू देख्ता अत्यन्त विस्मित भएँ म । एक छिन त हेरेको हेर्यै भएँ । गहनाप्रति उसको रहर, आशक्ति र मोहको चरम पराकाष्ठा देखेर मेरो मनमस्तिष्क आश्चर्यले रन्थनियो ।

लाग्यो, मान्छेले आफ्नो लागि कति टुक्रा टुक्रा असङ्ख्य चाहनाका सिक्काहरू जम्मा गर्छ, ती जम्मा गरेका आफ्ना प्रिय सिक्काहरू छोडेर जान कति गाह्रो हुँदो रहेछ मान्छेलाई । आज अरुणिमा दिदीलाई पनि त्यस्तै भइरहेको सोचेँ ।
क्यान्सर रोगले पातलो भएको कपाल त्यो सुकेको नारी, हाडछाला मात्र बाँकी रहेको त्यो शरीरमा ती गहना मानौँ एउटा सुकेको रूखको ठुटालाई सजाएको झैँ देखिन्थ्यो ।

एक समय त्यही सुन्दर र स्वस्थ शरीरले विभिन्न विवाह, पार्टीहरूमा, पूजास्थलहरूमा, साथीभाइहरूको जमघटमा, सभा समारोहहरूमा थरी थरीका गहना र दामी साडी लगाएर जाँदा अरुणिमा दिदीको सुन्दरता, साडी र गहनाको कति प्रशंसा हुन्थ्यो— कति बखान हुन्थ्यो ।

पहिले पहिले आउँदा यो कोठाको सजावट, सजाउने सुन्दर र महँगा सामानहरू दराजभरि देख्दा मन्त्रमुग्ध हुने मन आज मृत्युको गन्धले व्याप्त थियो । अल्पायुमै जीवनको पराजयले विलाप गर्दै थियो त्यहाँ ।

अरुणिमा दिदीलाई हेर्दाहेर्दै उसको जीवनमा घटेका सुख दुःख, सङ्घर्ष र सफलताको दृश्यहरू आँखा र मनभरि दौडन थाले ।

* * *

पहिलो दृश्य 

त्यो सानो बजारको सम्पन्न र प्रतिष्ठित कपडा-व्यापारी साहू विक्रम श्रेष्ठकी जेठी छोरी अरुणिमा दिदीले स्कुलमा दसमा पढ्दापढ्दै साधारण परिवारको साधारण शिक्षक मनीष गौतमसँग अन्तरजातीय विवाह गरेपछि विक्रमले आफ्नो अहंको अग्निज्वाला निकाल्दै स्वास्नीसँग भने, “जुन छोरीमाथि मलाई विश्वास थियो, त्यही छोरीले समाजमा मेरो नाक कटाएर गई । मेरो लागि त्यो मरी, त्यसको लागि म मरेँ । त्यसका कुनै पनि सामानहरू यो घरमा नराख्नू । म बाँचुन्जेल पनि म त्यसलाई भित्र्याउने छैन— म मरेर गए पनि त्यसलाई यो घरमा भित्र्यायौ भने मेरो आत्माले शान्ति पाउने छैन ।”

लोग्नेको यस्तो विषाक्त निर्णय सुनेर पनि अरुणिमाकी आमाले लोग्नेको निर्णयविरुद्ध कुनै ललकार गर्न सकिन — सम्झाउन सकिन । सोची समय आएपछि विक्रमको क्रोधाग्नि शीतल भएर जानेछ — आखिर छोरी हो, कतिसम्म कठोर भएर बस्न सक्लान् र !

आमाको मन त हो— छोरीप्रति पग्लिसकेको थियो तर विक्रमको अहम्को ज्वाला भने तत्काल निभ्न सकेन ।

* * *

दोस्रो दृश्य 

मनीष र अरुणिमा भागेर सहर आएपछि उनीहरूको सङ्घर्षको यात्रा सुरु हुन्छ । मनीष एउटा मारवाडीको दोकानमा नोकरी गर्छ भने अरुणिमा आफ्नो सानो डेराको कोठामा थरी थरीका पोतेका माला उन्ने र बेच्ने काममा व्यस्त हुन्छे । दुवैले समयलाई आफ्नो मुठीमा कैद गर्न सफल हुन्छन् । दिनरात मेहनतमा जुटेका ती दम्पतीहरू पछि आफै सानो किराना दोकान सफलतापूर्वक सञ्चालन गर्न सक्षम हुन्छन् । त्यसपछि सफलताका खुड्किलाहरू पार गर्दै सानो मसला उद्योग स्थापन गरेपछि उनीहरूको जीवनले नयाँ मोड लिन्छ । सहर आएको दस वर्षभित्रमा जीवनको उज्यालो जताततै देख्न थाल्छन् मनीष र अरुणिमा दिदीले । पन्ध्र वर्षभित्रमा तीन चार ओटा उद्योगको मालिक हुने सौभाग्य प्राप्त गरेपछि देशको प्रतिष्ठित उद्योगपतिमा गणना हुन्छ मनीष । सुख र ऐश्वर्यको भूमिमा अवतरित हुन्छ उनीहरूको सङ्घर्षमय जीवन । त्यसपछि बिस्तारै सजीव हुन थाल्छन् उनीहरूका लागि निर्जीव भएका आँखाहरू । फर्किन थाल्छन् उनीहरूका लागि टाढिएका पाइलाहरू । त्यागेका छोरीज्वाइँ विक्रमका लागि अत्यन्त प्यारा भएका थिए ।

यसरी आधा जमिन टेकेर यात्रा सुरु गरेको मनीषले पूर्ण जमिन भेट्टाएको थियो— आफ्नै बाहुबल र अरुणिमा दिदीको अदम्य साथ पाएर ।

* * * 

तेस्रो दृश्य 

त्यसपछि अरुणिमा दिदीको जिन्दगीले मोजमजा, सानशौकत र रमझमको धरातलमा नृत्य गर्न थाल्यो । साडी, गहनाहरूको दोकानमा, होटेल, रेस्टुरेन्टहरूमा व्याप्त हुन थाल्यो अरुणिमा दिदीको सारा समय ।

माइतमा सुख पाएर बसे पनि मनीषको जिन्दगीमा आएपछि दुःख र अभाव देखेकी थिई— उसले सिकेकी थिई मेहनत गर्न । माइतबाट अपहेलित र उपेक्षित अरुणिमाले एक पैसा कसैसँग सापट नलिईकन दुवैको मेहनतले ऐश्वर्य र सफलताको भन्ज्याङमा अवतरण गरेपछि आफ्ना दुःख, चुनौती र सङ्घर्षका यात्राहरू सुरु गरेको उसले बिर्सी । सार्थक जमिनबाट सुरु गरेको उसको जीवन भोगविलासको जमिनमा दगुर्न थाल्यो ।

* * * 

चौथो दृश्य 

समय सधैँ सबैका लागि अनुकूल नहुँदो रहेछ । जघन्य आक्रमण गर्छ अरुणिमा दिदीको जीवनमा समयको निष्ठुरताले । एकाएक भुँइचालो जान्छ उसको प्रेममय, रसमय र सुखद सानो परिवारमा । जीवनले सुख सयलमा उद्दाम लहरझैँ हुर्रिएकी अरुणिमा दिदीलाई रोगले पराजित गर्छ ।

माया गर्ने लोग्नेले संसारका प्रसिद्ध अस्पतालहरूमा औषधि उपचार गराउन लैजाँदा पनि अरुणिमा दिदी स्वास्थ्य हुन सकिन । पाठेघरको क्यान्सरले ग्रस्त अरुणिमा दिदीका सारा सौन्दर्यहरू, इच्छाहरू, एउटा छोरा र एउटी छोरीको विवाहका सपनाहरू दुर्घटनाग्रस्त गाडीझैँ यत्रतत्र छरिएर जान्छन् । खुम्चँदाखुम्चँदै बिछ्यौनाभरि सीमित भइदियो अरुणिमा दिदीका सारा जीवन । एक समय त्यही जीवनको समयलाई पक्रन र विजय हासिल गर्न समर्थ भएको थियो — अन्त्यमा त्यही जीवनले हार खान पर्यो समयसँग ।

* * *

पाँचौँ  दृश्य 

मलाई माया गर्ने अरुणिमा दिदी— फुपूकी छोरी । आज जीवनको अन्तिम श्वास गन्दै छे — कम उमेरमै । उति कारुणिक दृश्यले भरिएको छ त्यो कोठा ।

उसको वरिपरि शोकमग्न अनुहार लिएर मनीष, दिदीका बुबाआमा, छोराछोरी, अरू केही आफन्तहरू बसिरहेका छन् । निःशब्द छन् सबै जना । पालैपालोसँग छोराछोरी र मनीषले सुमसुम्याइरहेका छन् अरुणिमा दिदीका हातगोडाहरू । दिदी कहिले पीडाले कराउने, कहिले शान्त हुने, कहिले सबैलाई टुलुटुलु हेर्ने, कहिले कुरा गर्ने, कहिले आँखा चिम्म गर्ने, कहिले कोठाको चारैतिर आँखा घुमाउने, कहिले आफूले लगाएका गहना हातले छाम्दै हेर्ने क्रम चलिरहेछ ।

बैङ्ककको डाक्टरले रोग निको हुँदैन भनेर अस्पतालबाट बिदा दिएपछि मनीष दिदीलाई लिएर फर्केको थियो । निको नहुने कुरा दिदीलाई थाहा दिएको थिएन । यो कुरा थाहा पाउपछि मन पीडाले पाकिरह्यो । लाग्यो, जीवन त एउटा कच्ची ढोका हो, जसलाई मृत्युको सानो या ठुलो झोक्काले पनि ढलाइदिन सक्छ । यस्तो जीवनको अन्तिम अवस्थामा पनि अरुणिमा दिदीका शरीरभरि झपक्कै गहनाहरू देखेर मन त्यसै त्यसै निसासिएर आयो । उसका ती गहनाहरूको झलझलाकारले मेरा आँखा तिरमिर पारे पनि लाग्यो ती सबै क्षणि हुन्, कुनै पनि क्षण दिदीको श्वासप्रश्वासको दियो निभ्नासाथ ती गहनाहरूको सौन्दर्य उसको शरीरबाट अवसान हुनेछ । एकाएक झिकिनेछन् ती गहनाहरू उसको शरीरबाट । कुनै स्थान पाउने छैनन् ती गहनाहरूले उसको शरीरमा ।

मलाई खपिनसक्नु भयो दिदीको कमजोर शरीरमा गह्रुँगा गहनाहरू देखेर । आफैँलाई भारी भएको महसुस गरेँ । यस्तो बिरामी अवस्थामा पनि दिदीले कसरी गहनाहरूको बोझ सहन सकेकी छे ?

गहनाप्रति अतिशय मोह र आसक्त्तिले दिदीले सहेको त होइन ?

भैहाल्यो कति लगाउन पाउली र गहना दिदीले । बरा, लगाओस् ! एक मनले सोचेँ । मैले सुटुक्क भिनाजुसँग सोधेँ, “किन दिदीले यति धेरै गहनाहरू लगाउनुभएको ? गाह्रो हुँदैन ?”

गहभरि आँसु टलपल पार्दै भिनाजुले भन्नुभयो, “बैङ्ककबाट फर्केपछि आफैँले गहनाहरू सेफबाट निकालेर लगाई, सधैँ फेरी फेरी लगाउँछे । गरुङ्गो गहना नलगाऊ भनेँ र मानिन । उसले रहरले बनाएको गहनाहरू लगाओस् भन्ने जस्तो भयो— रोकिनँ ।”

तैपनि उठेर दिदीको नजिकै पलङछेउमा बस्दै बिस्तारै भनेँ, “दिदी ! यस्तो बिरामी बेला हल्का गहना लगाउनुस् । गह्रुङ्गो गहनाले तपाईँलाई गाह्रो हुन्छ ।”

दिदीले अत्यन्त उदास आँखाले मलाई हेर्दै भनी पीडापूर्ण सानो स्वरमा, “मलाई केही गह्रुङ्गो भएको छैन । कति रहरले लगाउँछु भनेर विदेश घुम्न जाँदा किनेर ल्याएकी थिएँ — एक पटक पनि यी नयाँ गहनाहरू लगाउन नपाईकन मरिएला भन्ने पीरले लगाएकी नि ! के गर्नु, मलाई सन्च हुँदैन बहिनी ! म मरेपछि छोरीबुहारीले लगाइहाल्छन् नि ! बाँचुन्जेल मलाई गहनाहरू लगाउन देऊ । जतिसुकै गह्रुङ्गो होस्, सहन्छु । गहनाहरू कति धेरै बनाएकी छु । लगाएर पूरा रहर मेटाउन पनि पाइनँ । के सोचेकी थिएँ— के भयो ! सबै अलपत्रै भयो बहिनी ! सबैभन्दा दुःखको कुरा, छोराछोरीको कर्तव्य पनि पूरा गर्न पाइनँ ।” उसका आँखा रसाए । घाँटी अवरुद्ध भयो ।

दिदीको कारुणिक जवाफ सुनेर हामी सबैका मन र आँखा दुःखका आँसुले भरिए ।

ढाडस र सान्त्वना दिँदै भनेँ, “दिदी ! किन यस्तो कुरा गर्नुहुन्छ ? सन्चो भइहाल्छ नि ।”

दिदीको ओठमा शुष्क मुस्कान देखेँ जुन मेरो झुटो आश्वासनले निस्केको व्यङ्ग्यपूर्ण मुस्कान थियो ।

हामीले एकआपसमा मौनता साटिरह्यौँ— कसैका वाणीबाट बोली निस्केन । शोकका लहरहरू उर्लिरहे— दुःखान्त गीत गुन्जिरह्यो कोठाभरि ।

कोठामा सर्र हावा चल्यो । लाग्यो, मानौँ मृत्युको हावा झन्झन् नजिक आइरहेछ दिदीलाई उडाएर लैजान । जीवनको धागो असमयमै चुँडिन चुँडिन लागेको छ ।

अत्यन्त व्यथित मन लिएर घर फर्केँ ।

केही दिनपछि दिदीको मृत्युको खबर थाहा पाएँ ।

सोचेँ— उसका ती प्रिय गहनाहरू…?

धेरै बेरसम्म दिदीले अन्तिम समयसम्म लगाएका गहनाहरू, दिदीले भनेका कुराहरू झलझली सम्झिरहेँ ।

(भागीरथी श्रेष्ठकाे कथासङ्ग्र ‘राताे गुलाफ’बाट)