“ट्रिङ, ट्रिङ,” मोबाइलको अलार्मले समीर आँखा मिच्दै उठ्यो । अलार्म बन्द गर्यो र मनमनै मुस्कुरायो।
“आज कस्तो राम्रो सपना देखियो; यतिका वर्षपछि समिरा उस्तै, त्यही प्लस टुको युनिफर्ममा कालो लामो सिल्की कपाल खुला छोडेर मुसुक्क हाँस्दै आई, समिरले दुबै हाल फैलाएर स्वागत गर्यो, समिरा लपक्क उसको छातीमा टाँसी, र समिरको कम्मरमा आफ्ना पाखुराहरुले कसी ।
मन्द अत्तरको सुगन्ध, छातीमा न्यानो र चिउँडोमा समिराले छोडेको तातो सासको अनुभूति लिँदै थियो कि अचानक अलार्म बज्यो । प्लस टु पढ्दा एकअर्काको अति नै मिल्ने साथीहरू, साथीभन्दा केही माथि थियो उनीहरुको सम्बन्ध । तर ब्याचलर पढ्दा सबै साथी तितरबितर भए, समिरा स्टुडेन्ट भिसामा अष्ट्रेलिया हान्निइन् । समीरको जिन्दगीमा “प्रेमा” आइन् ।
अष्ट्रेलिया पढाइ सकेपछि नेपाल नै फर्केर समिराले पनि घरजम गरिसकेकी थिइन् । फेसबुकको माध्यमबाट जोडिएर एक अर्काका पोस्टहरु हेरे पनि उनीहरुबिच खासै बातचित भएको थिएन । कयौँ वर्षपछि अचानक समिरालाई सपनामा देख्दा, उनीसँग भेट्ने संकल्प गर्यो समिरले । तत्कालै मेसेन्जरमा मेसेन्ज पठायो ।
“हाइ, के गर्दैछौ ? अचानक तिमीलाई सपनामा देखेँ । सार्है भेट्न मन लागेको छ ।”
उताबाट तत्कालै उत्तर आयो, “हाइ! आयम डुइङ वेल । कति समय बितिसक्यो है। मलाई नि भेट्न त मन छ । कहिले भेट्ने त ?”
भेट्ने तिथिमिति तय भयो, स्थान उहीँ कलेज पछाडिको “स्टोन पार्क” जहाँ उनीहरु पहिले सँगसँगै घन्टौ गफ गरेर बस्थे । तिनबजे भेट्ने भनेको समयमा पौने तिनबजे नै पुग्यो समिर । समिराको स्वागतमा स्टोन पार्कको ढुङ्गेकुर्सीभरि गुलाफको फूलका पत्रहरु छरिदिन भनी ल्याएको थियो, तर त्यस कुर्सीमा पहिलेदेखि नै एउटी आन्टी बसिरहेकी थिइन्। फूलको गुच्छा जतनसाथ सम्हालेर समिरा छिर्ने गेटतिर हेरिरह्यो ।
कस्ति भइहोली ? कस्तो पहिरनमा आउली ? म आफूलाई रोक्न सक्दिनँ तर झटपट अँगालो हाल्दा माइन्ड पो गर्छे कि ? अब त हामी दुबै अलगअलग व्यक्तिसँग विवाहित हौँ। आ..,जे सुकै परोस्, म उसलाई कसेर एकपटक अँगालोमा नबाँधी छोड्दिनँ । यस्तै सोच्दै समिरको मन जोड जोडले धड्किरह्यो ।
ठिक तिन बज्यो, गेटतिर कोही नदेखेपछि समिरले फोन डायल गर्यो । समिराले उठाई।
समीर- “खै कहाँ छौ तिमी ? आउने हैन ? तीन त बज्यो त ?”
समिरा- “म त अघि नै आइसकेकी, तिमी बाटोमा आउँदै छौ होला भनेर फोन नगरेकी ।”
समीर- “अनि कहाँ छौ त तिमी ?’
समिरा- “म हामी बस्ने स्टोन चेयरमै छु, गेटतिर होइन, पछाडि फर्क त।”
समीर पछाडि हेर्छ, अघिदेखि उर्लिएको मन अचानक स्तब्ध हुन्छ । ऊ त्यो समिरा बिल्कुल थिइन, जो प्लस टुमा थिई, जो उसको सपनामा आएकी थिई । दुई गुना थपिएको जिउ र आधा घटेको कपाल, कालोपोतोले दिउँसै अँध्यारो देखिने अनुहार, अनि निधार, आँखाको डिल र गालाभरि ऊ हाँस्दा परेका चक्रीय मुजाहरु । समिराको हराएको सौन्दर्य देखेर उसलाई याद आयो कि अस्ति भर्खर उसको पनि चालिसौँ वर्षको जन्मदिन मनाएको ।
विस्मयसाथ अगाडि बढेर गुलाफको गुच्छा समिरातर्फ बडायो, समिराले गुच्छा समातेपछि तिनहात परको पल्लो स्टोनमा समीर बस्यो र सोध्यो-
‘अनि के छ खबर सन्चै छौ ? सर अनि केटाकेटी सबै आरामै ?’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।