सामुद्रिक छेउको एक वृक्षको हाँगोमा बसिरहेको कागलाई असाध्य प्यास लाग्यो । किनारमा उर्लिरहेको छाललाई हेरी प्यास मेटिँदैन । किनारमा ओर्लिएर जाऊँ भने पनि आफ्नो सजाति कोही देखिँदैनन् । केही पो हुने हो कि भनेर काग चिन्तित थियो ।

तल किनारमा रज हाँस बडो आनन्दले पानीमा खेलिरहेको थियो ।

बाठो कागले बुद्धि लगाउँदै सोच्यो – किन म यो रजहाँससँग मीत नलगाऊँ र त्यो सङ्लो पानी र वरिपरि मिल्ने माछा खाँदै आनन्द नलिऊँ ?

यति सोचिसकेपछि काग किनारसम्म उडेर गयो । रजहाँससँग विनय गर्‍यो । मीत लगायो । पानी पियो । कयौं समय देखि लागेको प्यास मेटियो ।

पानी पिएर काग आफ्नो कागहरूको बथानमा उडेर गयो । हाँसले मनमनै सोच्यो कि हाम्रा मीतज्यू कस्ता स्वार्थी पो रेछन् । मीत लगाए, साइनो बनाए , र प्यास मेटे अनि गए । सुखदुःखका कुराहरू केही सोधपुछ गरेनन् । अखिर काग न परे यिनी । गनाउने सिनु खाने जात । मनमनै दुःख मान्यो हाँसले ।

फेरि एकदिन काग पानी पिउन किनारमा ओर्लियो ।

हाँस किनारमा आनन्दले चरिरहेको थियो । काग आएको देखेर हाँसले भन्न थाल्यो, “निर्मल पानीमा बस्छु । शीतलता ताप्छु । मोती खान्छु । सागरमा बस्छु । सेतो छु । पानीमा तैरन्छु । सफा छु । म यो समुद्री तटको राजा !”

मीतज्यूको फुर्ती सुनेर कागले मनमनै विचार गर्‍यो, “यिनलाई आफ्नो रूप, यौवन, वातावरण, जात, र वैभवता प्राप्तिप्रति यत्रो घमण्ड है ! पख समय आउला मेरो पनि र तिम्रा सेखी झारुँला…”

पानी पिउन आएको मीतज्यूलाई हेरी यति धक्कु लगाएपछि हाँस चूपचाप लाग्यो र कागको सेखी झारे भनेर आनन्दित भयो ।

हाँसको कुरा सुनेर कागले भन्यो, “त्यस्तो मलाई खसालेर नभन्नुस् न मीतज्यू ! कालो हुनु मेरो दोष हो र ? जस्तो प्रकृतिले बनाइदियो म त्यस्तै त बनेँ । तपाईंको भन्दा म पनि कम वैभवशाली स्थानमा बस्दिनँ, किन गिज्याउनुहुन्छ ? नपत्याए हिंड्नुस् म तपाईंलाई मेरो बासस्थानमा लैजान्छु जानुहुन्छ ?”

मीतको कुरा सुनेर हाँसले पनि मनमनले सोच्यो, “यिनी आफै त मरेको सिनु खान्छन् यिन्को वासस्थान कस्तो होला ! तैपनि यिन्का सेखी झार्नुछ ।”

“ल ठीक छ मीतज्यू जाऔँ, हिँड्नुस् तपाईंको वासस्थानतिर ।”

दुवै समुद्र किनार बाट निस्किए । काग उड्न सक्ने तर हाँस कागको वेगमा उड्न नसक्ने । कागले फेरि हाँसलाई भन्यो, “खोइ त मीतज्यू तपाईं अघि त खूब फुर्ती गर्नुहुन्थ्यो म जस्तो बलवान्, वेगवान्, वैभवशाली, सफा सेतो कोही छैन भन्नुहुन्थ्यो । अहिले त मेरो वेगमा उड्नु सक्नुहुन्न नि ।”

हास चुपो लाग्यो र कागले आफूलाई खसालेर बोलेको कुरा मनमा लिइरह्यो । कुनै बेला मौका पर्‍यो भने यिनलाई सेखी झार्नुपर्छ भनेर मनमनै विचार गर्‍यो ।

धेरै पर गएपछि मानिसहरूको बस्ती नजिक पुगे । हाँस थाकेको थियो । पसिना र थकाइले ऊ चुरचुर थियो । मरेको जनावरहरूको दुर्गन्ध, राँगा, बोका खसीका हाडखोड र कुहिएका जनावरको दुर्गन्ध चारैतिर फैलिएको स्थानमा पुगेपछि हाँसले कागलाई भन्यो, “हरे ! मीतज्यू तपाईंको वासस्थान यही नरक हो जहाँ सिनो र कुहिएको मासुको गन्धले म बेहोस हुन लागिसकें !”

कागले भन्यो, “अघिसम्म त धेरै फुर्ती लगाउनुभाथ्यो मोती खान्छु, निर्मल पानीमा बस्छु, म सेतो सफा हाँस भनेर । हेर्नुस् यो पनि जीवन हो । चिन्ता नगर्नुस् मीतज्यू, म बसेको ठाउँ त अर्कै छ जहाँ बाग बगैँचा फूलहरूका वासना मीठामीठा फलहरूको आस्वादन गर्न पाइन्छ !”

सिनोको गन्धले घायल भएको हाँस थाकेको थियो । ल ठीकै छ यिनका दरबार कस्ता रेछ हेरौं न त भन्दै दुवै फेरि उडे र नभन्दै एउटा भव्य राजदरबारको बगैंचामा पुगे । एउटा हाँगामा दुवै बसे र आराम गरे । नभन्दै फलफूल र सुगन्धले भरिपूर्ण भएको त्यो ठाउँ अत्यन्तै सुन्दर थियो ।

दरबारभित्र बसेका राजा शीतल ताप्न बाहिर बगैंचामा त्यही रूखको फेदमा आए जहाँ माथि हाँस र काग बसेका थिए । त्यति नै बेला रूखको हाँगामा बसेको कागले राजाको श्रीपेचमा बिस्ट्याइदियो र ऊ फुत्तै उडेर गयो । हाँसलाई थकाइ लागेको थियो । एक्छिन त्यही बस्यो ।

राजाको श्रीपेचमा बिस्ट्याउने यो कुन मूर्ख चरा हो यसलाई वाण हानेर झारिहाल त भन्ने आदेश पाएपछि सिपाहीले कसेर वाण ताक्यो र हाँस भैंमा झर्‍यो । आफ्ना पखेटाबाट तरतरी रगत चुहिँदै गरेको घायल हाँसले राजालाई बिन्ती गर्‍यो, “महाराज मैले हजूरको श्रीपेचमा बिस्ट्याउने किन साहस गर्थें र । यो त हाम्रो मीतज्यूको काम हो, मैले होइन । अरूले गरेको कुकर्मको लागि मलाई किन सजाय दिनुभयो ?”

राजाले माफी मागे र भने, “हे रजहाँस तिमीमा पनि फुर्ती बढेको थियो । कागलाई आफ्नो बारेमा धाक लगाएका थियौ । आफ्नो वैभवताको तिमीलाई घमण्ड थियो । मै हुँ भन्थ्यौ । म जस्तो निर्मल र सफा कोही छैन भन्थ्यौ । र कागले तिम्रो घमण्ड तोडफोड गर्‍यौ त्यसैको परिणाम तिम्ले भोग्यौ । समुद्र किनारको पानी तिम्रो निजी सम्पत्ति त थिएन नि फेरि तिम्ले त्यसमा आफ्नो हक जमायौ ।”

“प्यासीले आफ्नो प्यास मेटाउन तिम्रो अनुमति लिनुपर्ने यो प्रकृति विपरीत कार्य थियो । पखेटाबाट  रक्तस्राव  भैरहेछ । उपचार नगरे तिमी पनि कुहिएर फतक्कै गल्छौ अनि कहाँनिर जीवित रहन्छ तिम्रो सौन्दर्य ! ल भैगो तिम्रो प्राण बचाउनु मेरो कर्तव्य हो । पखेटामा उपचार गरेपछि मेरा सिपाहीहरूले तिमीलाई समुद्रसम्म छोडेर आइदिनेछन् ।”

राजाको वचन सुनेर हाँस लज्जित भयो ।