म पहाडको छोरो । पहाडमा जन्मी हुर्केको । मेरो सालनाल पहाडमै गाडिएको हो । म खेली हुर्की बढेको पहाडमै । पहाडसँग म परिचित र मसँग पहाड परिचित । कहिलेकाहीँ त यस्तो लाग्थ्यो बर्खाको भेलमा बगेको पहिरो म देखेपछि  चुपचापले बस्छ । मेरा बाबु आमा दाजुभाइ दिदीबहिनी सबै थोक पहाड हुन् । पहाड देउता हो मेरा लागि । भूमे सिमे पुज्नुहुन्थ्यो आमाले अनि पहाडलाई पूजा गर्नुपर्छ भन्ने कुरो मैले आमा बाट सिकेको थिएँ । मेरो घर भन्दा अलि पर ठुलो महादेव डाँडा थियो । त्यहाँ वर्षको दुई चोटि पन्चवली पूजा लाग्थ्यो । म बिहान ब्युँझेदेखि ननिदाएसम्म पहाडसँगै खेल्ने, बोल्ने, चल्ने, दगुर्ने गर्थें ।

एक दिन एकाएक पहाडबाट पढ्न भनेर मेरा बाबुले मलाई सहर ल्याउनुभयो । पहाडबाट छुट्टिएर आएँ । सहरमा पहाड छैन । सहरमा पहाडको स्नेह र जुनेली रात पनि  छैन । सहरमा पहाडको शीतलता र शान्ति छैन । सहरमा छिमेकीको माया र न्यानोपन छैन । सहरमा कसैसँग अपनत्व छैन । सहर एक्लो छ । सहर दुखी छ । सहरमा म एक्लो । पहाडमा पहाड एक्लो । हामी दुई कहिलेकाहीँ बिहानको उज्यालोमा परैबाट वार्ता गर्थ्यौं । हुस्सु फाटेपछि शिवपुरी हेरेर म बेस्सरी रुन्थे ।

ठमेलको उकालोमा मेरो कोठा । हरि साहुको घरमा थुप्रै परेवा पालेका थिए । पहाड छोडेर आएपछि हरि साहुको छतमा भएका परेवाको हुलसँग मेरो मन रमाउन थाल्यो । गाउँबाट एक महिनालाई भनेर बोकेर ल्याएको चामल पन्ध्र दिनमै स्वाहा ! शान्ति विद्या गृह लैनचौरमा ९ कक्षामा अध्ययन गर्थें ।

हरि साहुको घरमा एक जना ट्राभलएजेन्स चलाएर बसेका दाइ थिए कृष्ण लामिछाने । फुर्सद मिलेको समयमा म ठमेल चहार्थें । त्यहाँ खुकुरी बेच्ने एक जना विनोद दाइसँग मेरो दोस्ती थियो । तिनले खुकुरी बेचेर दिनको एक दुई सय डलर कमाउँथे ।

मलाई भन्थे  -“ह्या त पनि म सँगै खुकुरी बेच्ने गर, पढ्नेहरूले पनि के लछारपाटो लाएका छन् र ? ” काठमाडौँ गेस्ट हाउसअगाडि तिनी उभिएर खुकुरी बेच्थे । बाबुले स्कुलमा भर्ना गरेको ६ महिना सम्म त नबिराई स्कुल गएँ । तर पछि  स्कुल बन्द गर्न थालेँ। हप्ताको दुई तीन दिन स्कुल जान छोडेपछि सरहरूको गाली खान थालेँ । बाबुआमाको कहिले गाली नखाएको म । सरहरूको एकोहोरो गालिले आजित भए र अन्तमा स्कुल सधैँको लागि छोडेँ ।

स्कुल छोडेपछि म तिनै विनोद दाइसँग खुकुरी बेच्न थालेँ । विनोद दाइले दिनको दश वटा खुकुरी बेचिस् भने तँलाई   पाँच सय दिन्छु भने । १५ दिनसम्म खुकुरी बेच्दा मलाई विनोद दाइले पाँच हजार दिए । म दङदास हुन थालेँ । घरको आर्थिक अवस्था पनि बिग्रेको थियो । बाबुलाई पैसा पठाइदिएँ । आमा जहिले पनि पुरानो र फाटेको फरिया चोलोमा मेला पर्व गरेको देखेको थिएँ । आमालाई लुगाफाटो र भाइलाई खानेकुरा पठाइदिएँ । गाउँबाट बाबु सहर नआएको धेरै भा थ्यो । म जागिर पनि भएको भन्दिनु भनेर पैसा लुगाफाटो लिएर जाने ढुक्कुर कान्छाको छोरालाई खबर पठाएँ ।

पढ्न छोडेपछि म फुल टाइम ठमेलको गल्लीमा खुकुरी बेच्न थालेँ । खुकुरी बेच्दाबेच्दै मलाई अङ्ग्रेजी पनि अलिक बोल्न आयो । चौध पन्ध्र वर्षको खाइलाग्दो पहाडमा हुर्की बढेको लरक्क परेको लोर्के ठिटो म । अलि अलि जुँघाको रेखी बसेको । रातोपिरो अनुहार । पहाड जस्तै अटेरी ढिट र जिद्दी स्वभावको थिएँ म ।

काठमाडौँ गेस्ट हाउस अगाडि उभिएर खुकुरी बेच्थेँ । त्यहीँ अगाडि मनास्लु ट्राभल एन्ड ट्रेक अफिस थियो । त्यहाँका प्रोपाइटर थिए पोखराका जगन्नाथ । त्यहाँ रहँदा बस्दा उहाँ सँग मेरो चिनजान भएको थियो । उमेरले म भन्दा उनी दाइ थिए । खुकुरी बेच्दा बेच्दा वरिपरिका पसलेहरू सँग म परिचित भएको थिएँ । जगन्नाथ दाइले कहिलेकाहीँ बोलाएर कफी पिलाउँथे । पहिलो चोटि कफीको स्वाद चखाउने मलाई जगन्नाथ दाइ नै थिए । जगन्नाथ दाइको पसल कौल अगाडि जितेन्द्रजीले खैरेलाई तन्ना बेच्थे । उनले तन्ना बेचेर घडेरी जोडिसकेका थिए । उनी पनि स्कुल बन्क गर्दा रहेछ । म सँग राम्रै चिनजान भयो ।

असोजको महिना थियो । ठमेल कुइरेले खचाखच भरिन थालिसकेको थियो। आठ दश जना कुइरे कुइरिनीलाई  अघिपछि लगाएर ब्रोकन अङ्ग्रेजी बोल्दै हिँड्ने केही टुर गाइड लाई चिनेको थिएँ । तिनले मस्त पैसा कमाउँछन् भनेर मलाई तिनै तन्ना बेच्ने जितेन्द्र दाइले भनेका थिए । अलिक अङ्ग्रेजी बोल्न जानेपछि मलाई पनि ती खैरेखैरिनीको टुरिस्ट गाइड भएर यिनलाई घुमाउन मन लागेको थियो । एक दिन त कसो मनको धोको पूरा नहोला भनेर सोची बस्थेँ ।

टुरिस्ट गाइड बन्न त नेपाल पर्यटन बोर्डले लिने जाँचमा सामेल भएर पास गरेपछि मात्रै  टुरिस्ट गाइडको प्रमाण दिने रहेछ । आफू त ९ कक्षा पनि पास नगरेको परेँ । त्यो सपना मैले त्यागिदिएँ । एक दिन मनास्लुका जगन्नाथ दाइले-

“मनु भाइ तपाईं दसैँ अगाडि अन्नपूर्ण बेसक्याम्प जाने दुइटी  अमेरिकन केटीहरूको भरिया भएर जानुहुन्छ?” भनेर सोध्नुभयो । उहाँले फेरि दोहोर्‍याउनु भो “अमेरिकन ती केटीहरूले तपाईंको खुकुरी किनेका रहेछन् मन पर्यो रे मिल्छ भने त्यो केटालाई भरिया  बनाएर पठाइदेऊ न भनेका छन्, ल भन के गर्छौ त ?”

दाइको कुरा सुनेर म छक्क परेँ । अलमल परेँ । खोइ कस्तो कस्तो पो अनुभूति भो मलाई । गाइड बन्ने धोको तर भरियाको पो अफर आउँछ । ती केटीहरूलाई खुकुरी बेचेको याद आयो। खुकुरी बेच्दा धेरै बार्गेनिङ गर्नुपरेको थिएन । खुरुखुरु पैसा तिरे  तर खुकुरी कहाँ बनेको भनेर सोधपुछ चैँ गरे । मैले भोजपुरमा भन्दिएको थिएँ । दुई  चोटी फर्की फर्की आएका थिए ।

“विल यु बि हेयर टिल दि इभिनिङ?” भनेर सोधेका थिए ।

मैले बडा फुर्तिलो भएर “एस एस” भन्दिएको थिएँ ।दुई गोरीहरूले खुब हेरेका थिए। अहिले आएर पो थाहा भो ।

सात दिनको टुर थियो । टुर गाइड नली जाने रे । जगन्नाथ दाइले भने, “भाइ तिमीलाई   ती केटीहरूले जसरी नि मिलाइदेऊ भनेका छन् । राम्रै पैसा दिन्छु जाऊ”  भने ।

तिनीहरूले तिमीलाई मन पराएका छन् टिप्स पनि राम्रै दिन्छौ भनेका छन् । जाऊ भनेपछि मैले पनि नाइँ भन्न सकिन । सत्ताइस अठ्ठाईस वर्षका जवानीले धपक्कै बलेका दुई गोरीहरू बिच बसेँ म । ठमेल गणेशमान चोकबाट बा.अ.च. ११३३ नम्बरको  टुरिस्ट बस पोखरातिर हुइँकियो । बाबुले सहर ल्याएर छोडेको ठिक ९ महिना पछि मैले बल्ल पहाड देख्न पाउने भएँ । पहाडको सुगन्ध र खुला आकाशको मजा लिन पाइने भइयो । यही कुरा मनमा सञ्चित थियो मेरो ।

“डियर मनु ! डाेन्ट फिल यु आर आवर पोर्टर ।” सोनियाले भनी ।

“यस मनु यु आर आवर वेस्ट गाइड,वेस्ट फ्रेन्ड ।” लिलीले बोली

“यु आर सो इनोसेन्ट । ”

“यु नो नोथिङ बट यु आर ह्यन्डसम बोइ ।”

“होप यु विल गाइड अस प्रफेक्टली ।”

दुइटी लगातार बोलेपछि मैले पनि केही त बोल्नुपर्छ भन्ने सोचेँ, “इटिज माइ फ्रस्ट भिजीट टु पोखरा एन्ड अन्नपूर्ण बेसक्याम्प बट नो वरिज आइ क्यान डु ।”

“वाउ डियर मनु! एस यु क्यान डु ।”

पहिलो चोटि केटीहरूको बिचमा बसेर गफिँदै बसको यात्रा गर्दै  थिएँ । कतिको जवाफ मैले फर्काएँ। कति त तिनले मेरो आँखामा हेरेर बुझे। जे बोले पनि उनीहरूले मेरो वाक्य सहजै बुझिहाल्थे। मन आत्तिएको पनि छ । आधा खुसी आधा छटपटी अलिकति सङ्कोच अलिक बदमासी मन लिएर थानकोट काटियो । बस सिङ्गो रिजर्भ थियो। बस चालक र खलासी अगाडि बसेका थिए । उसो त चालकलाई पनि अलि अलि अङ्ग्रेजी आउँदो रहेछ।

गजुरी पुगेपछि चालकले रेस्ट गरूँ भन्यो  । घाम अस्ताउनु भन्दा अगाडिको पहाडी दृश्यले मलाई कस्तो रोमाञ्चक अनुभूति गराएको थियो । लिली र सोनिया क्यामरा झिकेर फोटो लिन थाले । तिनले पहाडको भन्दा पनि मेरो फोटो बढी खिचे।

चालक दाइ आएर मेरा कान फुके, “मनु भाइ यिनीहरूलाई यहाँ केही सामान किनाउन लगाउनुस् न तपाईं हामीलाई कमिसन आउँछ ।”

पहिलो चोटि थाहा पाए सँगै गएका टुरिस्टले केही सामान किने भने गाइडलाई कमिसन आउँछ भनेर । मैले केही पनि  किनाइन।  यस्तो गर्नु गराउनु वाहियात लाग्यो ।

“डियर मनु लेटस् ह्याभ समथिङ ओके”?

लिली अलिक भोकाएकी देखिन्थी। हामी रेस्टुरेन्टमा खान गयौँ। मलाई वाइवाइ चाउचाउ मन पर्थो सबलाई त्यही मगाएँ। सोनियाले तीन बोतल  बियर मगाइ । साहुजीले फटाफट बियर खोल्यो । सोनिया लिली र म भित्री रुममा बसेका थियौँ । विदेशी भनेसि अलिकति राम्रो सम्मान गर्दा रहेछन् । चालकहरू बाहिर थिए ।

अहिलेसम्म मैले बियर पिएको थिइनँ । सङ्कोच लाग्यो ।

“आइ एम बिलोङ्सटु हाइएर कास्ट नो बियर प्लिज ।”

मेरो कुरा सुनेर लिली खित्का छोडेर हाँसी । सोनिया अचम्मित भइरहेकी थिई । यस्तो लाग्यो कि बियर नपिउने मान्छे उनीहरूले पहिलो पटक देखिरहेका थिए ।

“मिस्टर मनु थापा बियर इज लाइक वाटर, टेक इट, आज मच आज यु क्यान नो प्रोब्लम ”

गणेशमान चोकमा बस छुट्नु अगाडि जगन्नाथ दाइले भनेको कुरा सम्झिएँ -“मनु बाबु तिमी भरिया होइन टुरिस्ट गाइड भएर जाँदै छौ कुनै पनि कुराको सङ्कोच नमान्नु । यिनीहरूको मज्जाले सेवा गर्नु केही परे म जिम्मेवार छु अतिथि देवो भव: ।”

बोतलबाट बियर गिलासमा खन्याइदिई लिलीले।

म अझै दोधारमा थिएँ। वास्तवमा मैले पो सेवा गर्नुपर्ने थियो तर ती दुईले पो मेरो सेवा गर्न थाले । पानी जस्तै त हो नि भने मैले पनि पिए मज्जाले । भोक लाग्या थ्यो बियर र चाउचाउ खाइयो । कस्तो रमाइलो लाग्यो । उनीहरूले पनि मज्जाले पिए । हामी तीनै जनाले मस्त रमाइलो गर्यौं।

मेरो कपाल अलि घुमिर्किएको थियो । मेरो मतलब अलि कर्ली कर्ली परेको । लिलीले मेरो कर्ली परेको कपाल सुमसुम्याइरही । हामी गाडीमा चढ्याैँ । चालक दल अघि बसे । सोनिया भन्दा लिली अलिक चन्चले थिई। हिस्सी परेकी थिई । उसले हाँस्दा गालामा खाल्डा पर्थ्यो । बैँसले मद मस्त थिए दुवै। पूर्णिमाको अघिल्लो दिनको जुनेली आकाश जस्तो पुरै मातले मात्तिएका।

मैले कहिले पिएको थिइन । पिउँदा अर्कै मजा हुँदो रहेछ । मनको सङ्कोच बिस्तारै हराउँदै गयो । रक्सी लागेको बेलामा मान्छेले किन अङ्ग्रेजी बोल्छ भनेको थाहा भो आज ।

असोज महिना यसै रमाइलो । दसैँ नजिक थियो । झ्याल बाहिर यसो हेरे । मुग्लीन बजार आइसकेको थियो । लिलीले रेस्ट रुम जान खोजी । ऊ अघिदेखि म सँग निकै नजिकिएर गफ गर्दै थिई । एक होटेलको बाथरुम लिएर गए लिलीलाइ ।

बाटो क्रस गर्यौं । लिलीले मेरो हात समाइ । र भनी -“डियर मनु यु आर रिएल्ली काइन्ड हार्टेट म्यान आइ लाइक यु ।”

मैले केही बोलिन । गाडी बाटोमै थियो । रात छिप्पिँदै गयो । त्रिशूली नदिलाई छोडेर अब हामी आबु खैरीनी हुँदै अगाडि हिड्यौँ । टुरिष्ट गाडी लक्जरिएस थियो । लिली मेरो काँधमा भुसुक्कै निदाई । सोनिया मेरो काँधमा निदाएकी लिलीलाई  देखेर जेलियस भएको जस्तो लाग्यो । तर मैले उसलाई हटाउन  सकिन । लिली निधाइ । बाटो सुनसान थियो ।

सोनियाले मलाई हेरेर लामो श्वास फेरि  अनि एक्कासि एउटा प्रश्न गर्छे –

“मनु आर यु भर्जिन गाइ ?”

“हुवाट  यु मीन  सोनिया”? मैले बुझिन के भनेकी हो सोनियाले ।

“आइ मीन डिड यु हाभ सेक्स बिफोर ?”

“ओ यु मीन ड्याट ? नेभर एभर ”

केटीको मुख बाट पहिलो चोटि यस्तो खालको प्रश्नले म भित्रको मनु अचम्मित भयो ।

“यी कुइरिनीहरूलाई  यति बोल्नु भनेको चिया पिए जस्तै हो मनु भाइ ।”

चालक धेरै अनुभवी रहेछन् । उनी हरेक हप्ता पोखरा आउँदा  रहेछन् ।

“डाेन्ट बि सिरियस मनु टेक इट इजि एन्ड इन्ज्योइ विथ अस ओके”?

लिली ब्युँझी । हामी पोखरा पुग्यौँ। रातको करिब दस बजेको थियो । बुकिङ गरेको होटेलमा पार्टी चलिरहेको रहेछ। रुममा गयौँ । उनीहरू नुहाउन गए । म एक्लो सोफामा बसेर खोइ के के सोच्न थालेँ । डबल ब्ल्याक ह्विस्की र तीन सफा गिलासले स्वागत गरिरहेको थियो । अघि बियर पिएको नसा उत्रिसकेको थियो । लिली नुहाएर मुस्कुराउँदै बाथरुम बाट निस्किई ।

“हे मनु आर यु लुकिङ सो सिरियस म्यान प्लिज ।”

“नो नो आइ एम ओके लिली ।”

जगन्नाथ दाइले यिनलाई जसरी पनि सेवा पुर्याउनु भन्नु भएको कुरा सम्झिएँ । लिलीले फ्रेस रुमाल मेरो काँधमा राखिदिई र भनी- “मनु गो फर बाथ, इफ यु निड एनि हेल्प प्लिज कल मि”

नुहाउन गएँ। सोनिया पनि नुहाएर निस्की। दुई वटा बाथरुम थियो । ठुलो कोठामै दुई बेड थिए । हतारले नुहाएँ ।

नुहाएर निस्किदा ह्विस्की गिलासमा थियो । लिली र सोनिया पिउँदै थिए । चालक दाइलाई अलि सस्तो होटेल बुक गरिदिएको रहेछ । थकाइ लागेको थियो । खाना रुममै ल्यायो वेटरले । हामी तिनै जना नसामा झ्याप्प थियौँ । एकले अर्काको जुठो पनि खायौँ । तर निकै रमाइलो महसुस हुँदै गयो रात । उनीहरू दुवै गीत गाउँदै नाच्न थाले । म पनि के कम थिए र कम्मर हल्लाउन थालेँ ।

मैले तिनकाे सेवा होइन तिनले चैँ मेरो सेवा गर्न थाले । यस्तो लाग्न थाल्यो कि यिनीहरूसँग मेरो बर्षाैं देखिको चिनारी थियो । उनीहरू एक बेडमा सुते । म अर्को बेडमा कति बेला निदाए थाहै भएन। एकै पटक खुला झ्यालको फक्लेटा बाट छिरेको बिहानी किरणले गालामा म्वाइँ खादा पो झल्याँस ब्युँझिएँ । गालामा तातो आयो । किन गालामा तातो आयो भनेर छामेको सूर्य पो छ त नजिक ।

“डियर मनु गुड मर्निङ ” भन्दै  लिलीले तातो चिया हातमा थमाइदिई। उनीहरू फ्रेस भैसकेका रहेछन् । चिया पिएपछि लिलीले ब्रस तुथपेस्ट र फ्रेस तौलिया हातमा थमाइदिई।

र भनी, “मनु प्लिज टेक सावर विथ हट वाटर “। तर मलाई तातो पानी निकाल्नै आएन । लिलीले ढोका ढक ढक गरी । साबुनले कपाल भिजाइसकेको थिएँ । तर धन्न हाफ पाइन्टमै थिएँ । चुकुल खोलिदिएँ। लिलीले तातो पानी निकालिदिई। कता बाट झुक्किएर लिलीकी जिउमा अलिकति साबुन त लागि गो । ऊ हाँस्दै ” डाेन्ट लक योर डाेर” भन्दै निस्किई।

पोखरा, हेम्जा, फेदीखोला, पोखरीटाेल , कुलडाँडा, अस्ट्रेलियन क्याम्प, नर्थ फेस सबै घुमेर हामी अन्नपूर्ण बेसक्याम्पमा रमाउन थाल्यौँ । सेतो हिमालय पर्वतले मुसुक्क हाँसिरहेको जस्तो भान हुन्थ्यो । म पहाडको थिएँ । मलाई देखेर पहाडी हावा पनि चञ्चल हुन थाल्याे। लिली म र सोनिया यति नजिक भयौँ कि फूल र हावा जतिकै नजिक । मैले जिन्दगीमा पहिलो चोटि प्रकृति सँग प्रेम मिलेको देखेँ । हिमाल देखेपछि लिली र सोनिया त पागल नै हुँदा रहेछन् । एउटा हिमाली रुख युरिकेरियाको फेदमा थियौँ लिली, म र सोनिया । हावाको झोक्काले फुर फुर पारिरहेको मेरो कर्ली कपालमा लिलीले छोई । गालामा छोई । चिसोले गाला रातो भएको थियो ।

लिली बेजोडले कराई – “डियर मनु वी लभ यु सो मच ” आवाज पारिसम्म पुगेर प्रतिध्वनित हुँदै हामी तिरै फर्केर आयो । सोनियाले मलाई न्यानो नर्थफेसको ज्याकेट लगाइदिई। लिलीले मेरो निदारमा म्वाइँ खाई । प्रकृतिले हामी तिनैलाई मदहोस बनायो । सत्र वर्षको गाउँले केटो म पहिलो चोटि प्रेमको अनुभूति गरेँ मैले । लिली र सोनियासँग ।

निदारमा म्वाइँ खाएपछि लिलीले भनी-

“मनु लभ इज नट फर लस्ट, लभ इज नट फर फन, लभ इज नट फर सेक्स, लभ इज नट फर इज्याकुलेसन, इट इज फर टुगेदरनेस एन्ड वे अफ हाभिङ गड ।”

खोइ कति बुझेँ मैले लिलीको प्रेमको परिभाषा !

पढ्न बिचैमा छोडेर यो काममा लागेको भनेपछि लिलीले दुख फिल गरी । यता काठमाडौँ आएपछि लिली आफै मेरो स्कुल गई । मेरा सरहरूलाई भेटी र मेरो एक वर्षको फी तिरिदिई।

त्यो दिन देखि मैले मेहनतले पढ्न थालेँ । आज मेरो ठमेलमा क्युरियो पसल छ । मलाई प्रेम, सेवा,आनन्द, सम्मान, र आतिथ्य सिकाउने मेरी गुरुआमा लिली नै हो ।

===

हाम्रो भेट नभएको धेरै वर्ष भएको थियो । एक दिन मेरो पसलमा अमेरिकाबाट फोन आयो –

“हेलो इज दिस मनु?”

“एस दिस इज मनु स्पिकिङ ”

“ओ दिस इज स्मिथ । सन अफ लिली”

“प्लिज टु मिट यु स्मिथ ”

“सि इज नो मोर इन दिस वर्ल्ड, आइ विल कम टु भिजिट नेपाल सुन”

“ओ सो सरी एबाउट लिली । प्लिज मिट मि व्हिन यु कम”

फोन राखेपछि बेस्सरी रोएँ । दस वर्ष अगाडि  एयरपोर्टबाट छुट्टिएर जाँदा लिलीले मलाई एउटा खाम दिएकी थिई। त्यो खाम मैले अहिलेसम्म खोलेको थिइन। लिलीको मृत्युको खबरले मलाई साह्रै पोल्यो । के रहेछ त्यो खाम खोलेर हेरे।

खाममा लिलीले मेरो स्कुलको हेडसरलाई सम्बोधन गरेर लेखेको पत्र थियो ।

“डियर हेड सर !  मनु इज भेरी जेन्टल बोइ । प्लिज टेक किएर हिम एन्ड हि विल नेभर बन्क हिज क्लास फ्रम नाउ अन  ”

पत्रभरि आँसु झर्यो र छोप्यो मेरो आँसुले , लिलीले लेखेका  प्रेमका अक्षरहरूलाई !