
दिनभरी बनी गरे बापत पाएको एक मानो अन्न रातो गाम्चामा पोको पारेर काँधमा हल्लाउँदै राम जुनकिरीको उज्यालो पछ्याउँदै जब घरभित्र छिर्थे अनि बल्ल बल्थ्यो सीताको अँगेनोमा आगो । समाजका लागि उनीहरूको घर एउटा झुप्रो थियो तर राम र सीताको लागि त्यो एउटा ताजमहल थियो । हो, त्यही महलमा उनीहरू आकाशका तारा गनेर रात काट्ने गर्दथे ।
उनीहरूको घरमा अभावले पुस्तौं पुस्तादेखि डेरा जमाएको थियो तर त्यहाँ माया थियो, विश्वास थियो अनि एक अर्का प्रति भरोसा थियो ।
तर एकदिन गाउँमा हल्लाहरू आउँछन् – गाउँले जीवन दुख हो । परदेशमा सुख कमाउन पाइन्छ ।
त्यसैले विदेश जानु पर्छ ।
एकदिन त्यही हल्ला उनीहरूको घरमा सौतेनी आमा बनेर भित्रिन्छ र रामलाई बिदेसिन विवश बनाउँछ । ताराहरू साक्षी राखी सीतालाई विश्वासको लक्ष्मण रेखाभित्र एक्लै छोडेर राम बिदेसिन्छन् सपनाको यान चढेर ।
एक्लिएकी सीतालाई गरिबीसँग लड्नु पर्ने विवशता माथि गाउँका रावणहरूको सामना गर्नुपर्ने चुनौती थपिन्छ । तर सिता बहादुर छिन् । उनी एक्लै लडिरहन्छिन्, लडिरहन्छिन् । गाउँमा रामको बारेमा अनर्गल प्रचार गरिन्छ । सीताको सतीत्वलाई कमजोर बनाउन खोजिन्छ । तर उनी डराउँदिनन् । कहिल्यै हडबडाउँदिनन् । सीताको कर्तव्यपरायणताले दुनियाँलाई उनको बारेको भाष्य परिवर्तन गर्न बाध्य बनाउँछ । सबैले उनलाई आदर्श सीताको नमुना मान्छन् ।
दसकौं पछि राम घर फर्किन्छन् । रामको आवरण फेरिएको छ । उनी विदेशी ब्रान्डका लुगा र जुत्तामा सजिएका छन् । उनको हाउभाउ र बोलिचाली बदलिएको छ । गाउँमा राम आएको हल्ला चल्छ । रामका अगाडि सबैले सीताको बहादुरीको मुक्तकण्ठले प्रशंसा गर्छन् । दिन बित्दै जाँदा गाउँमा मान्छेहरू रामको बारेमा कुरा काट्छन् ।
मान्छेहरू भन्छन् – राम धोका हुन् । तर सीता मान्छेहरूले गरेको हल्ला पत्याउन सहमत हुँदिनन् । उनी रामको पक्षमा पहाड भएर उभिन्छिन् । हरेक शङ्कालु बचन वाणहरूलाई विश्वासको चक्रले पर्गेल्न खोज्छिन् । उनको अन्धभक्ति र आत्मविश्वासले मात्र समाजको मुख थुन्न सम्भव हुँदैन । सीताले मान्छेहरूको मुखमा बुजो लगाउनु पर्ने हुन्छ । सीताले सार्वजनिक रूपमा प्रमाणित गर्नै पर्ने हुन्छ कि रामको सीता प्रतिको समर्पण पनि दाग रहित छ भनेर।
समाजले माग राख्छ रामले अग्नि परीक्षा दिनुपर्छ । राम र सीता त्यो जोखिम मोल्न तयार हुन्छन् ।
अग्नि परीक्षाको दिन तोकिन्छ । रामलाई खरो उत्रनु छ । रामलाई प्रमाणित गर्नु छ सीतासँग आकाशका तारा गन्दै सुतेका रातहरूमा बाँधिएको मायाको डोरी बिटुलिएको छैन, चुँडिएको छैन ।
बहुप्रतिक्षित परीक्षाको दिन बिहानै अकल्पनीय घटना घट्छ । सीतालाई ओछ्यानमा एक्लै छोडेर राम गायब हुन्छन् । उनी सँगै उनले विदेशबाट लिएर आएको सुटकेस पनि गायब हुन्छ । सीता फेरि एक्लै हुन्छिन् ।
केही दिन पछि गाउँमा हल्ला फैलिन्छ, राम कुनै अपरिचित केटीसँग बस चढेर शहर जाँदै थिए । गाउँका रावणहरू रमाउँछन् । गाउँलेहरूले सीतालाई सहानुभूति दिन्छन् । गाउँलेहरूले सीतालाई बिचरा भन्छन् ।
अचेल सिता मन्दिरमा बस्छिन् । निधारमा चन्दन लगाउँछिन् । र भगवान्को दर्शन गर्न आउने भक्त महिलाहरूलाई उनकै रामको कथा सुनाउँछिन् र भन्छिन्, “अब यस्तो दिन आउनु पर्छ जहाँ सीताहरूले मात्र होइन रामहरूले पनि अग्नि परीक्षा दिनु पर्छ । यस्तो समाज बनाउनु पर्छ जहाँ रामहरूले अग्नि परीक्षाबाट भाग्न पाउने छैनन् ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

