मेरा लोग्ने ब्रिटिस आर्मीमा जागिरे भएर गएको अहिले ११ वर्ष बित्यो । घरमा भएका दुई छोरीलाई बोर्डिङमा बोर्डस गरेकी छु । म केही गर्दिनँ, बसीबसी खान्छु । घर बनाएर बाँकी रहेको करेसावारी छ । तिनै फूल गोडमेल गर्छु , प्याज, धनिया ,काउली सिजनल तरकारी रोप्छु । बजारमा तरकारी किन्नु जानु पर्दैन । पछिल्लो समय श्रीमान छुट्टीमा आउँदा एउटा टिपर किनेर जानुभो । गाउँमा सामान ढुवानी गर्ने गाडीहरू उति सारो थिएनन् । त्रिशुलीको बालुवा मात्रै बोक्ता पनि फाइदा हुँदोरहेछ । छब्बीस लाख नगद बुझाएर बाँकी पैसा बैंकबाट लोन लिइएको थियो । दिनकै चार पाँच हजार आम्दानी छ ।

साँझ परेसी चालक (बिकि तामाङ) आउँछ पैसा बुझाउँछ, जान्छ । सोझो छ चालक पनि । मलाई इमान्दार मान्छे असाध्य मनपर्छ । खेतीपाती अरुलाइ कमाउन दिइएको थियो । म पनि केही समय उतै लन्डनमै बसेकी थिएँ । यतातिरको व्यवहार बिग्रने सम्भावना देखेर श्रीमानले गल्छीमै बस भन्नू भो । छोरीहरू च्य्पापेर आए । गल्छीको घर सडक छेउमै छ । चालक गजुरीको । सधैँ टिपर आँगनमा राखेर ऊ घरमा जान्छ । खाजा खान र गाडी चढ्नु भनेर तलब बाहेक उसलाई दिनको तीन सय दिइने गरेको छ । एका बिहानै आइपुग्छ । ककसको ढुवानी गर्ने ऊ आफैँ व्यवस्थापन गर्छ । अलि सोझो छ केटो । एक महिना अगाडि एउटा पुलको लागि बालुवा गिटीछड सिमेन्टको ढुवानी उसैले पारेको थियो । बेलुकी निकै अबेर हुने भो भने फोन गर्छ । घरको मुल गेट खुलै राख्दिन्छु । कुन्नि कतिबेला गाडीभित्र हुल्छ अनि टिपरमै सुत्छ । बिहान झिसमिसेमै चिया खाजा लग्दिन्छु खाएर निस्कन्छ ।

असाध्य मिहिनेती छ । यस्ता मिहिनेतीले श्रीमती पनि सजिलोसँग पाल्छन् । भर्खर २१ वर्षको भए म साहुनी भन्छ । तामाङको बच्चा खाइलाग्दो छ । कमाएको पैसा पनि कुनै हिनामिना गर्दैन ।

लक्ष्मण सिटौला

सबै टिपको हिसाब बुझाउँछ । गाडी बिग्य्रो टिप पाइएन यसो त्यसो गुनासो गर्दैन । जे दियो हात थापेर खान्छ । बाउआमा गरिब छन् रे । कहिलेकाहीँ तिउनतरकारी फलफूल पठाइदिन्छु । पन्ध्र दिनअगाडि त्रिशुलीबाट कालो दाल किनेर ल्याइज भनेको दुई पाथी ल्याएछ । एक पाथी लैजा भनेर दिएँ । चामल तेल आफैँ किन्दिन्छु । कहिलेकाहीँ चाउचाउ एक दुई कार्टुन किन्दिन्छु लैजान्छ । बाबुआमा खुसी छन् रे ।

दुई महिना मात्रै भो बिकीलाई राखेको । पहिलाको चालक अलि बुढो थियो । अल्छि पनि त्यस्तै । अह्राएको मात्रै गर्ने । आफ्नो विवेकले काम नगर्ने पुरुष काम छैन । हटाइदिएँ । अनुहार पनि घिनलाग्दो थियो । मुख गन्हाउने ह्वास्स । कहिलेकाही त बिहानै लोकल कोदाको पिएर आउथ्यो । बेलुकी गाडी आगनमा नहुलेसम्म डर लागिरहन्थ्यो ।

यो बिकी त भाग्यले पाएको । सफासुघ्घर गर्छ । गाडी पनि चम्काउँछ आफू पनि चिटिक्क परेर हिँड्छ । एकदिन फोन गरेर पनि राती १२ बजेसम्म आएन । पिर लाग्यो फेरि फोन गरेँ । आइसकेर पनि गाडी आगनमा हुलिसकेछ । राती तल आगनमा हेर्छु बिचरो टिपरभित्र कसरी सुत्यो होला यो जाडोमा जस्तो लाग्यो । राजमार्गमा नाइट बस कुदिरहेका थिए । छिमेकी पनि चकमन्न सुतिसकेका थिए । माथि गल्छि चोकमा आगो बालेर केही मान्छे हल्ला गरेको सुनिन्थ्यो ।

तल ओर्लिएँ आँगनमा । बिकी चालक क्याबिनमा लुगाफाटो मिलाएर सुत्न लागेको रहेछ बोलाएँ ।

त्यो दिन अलिक जाडो थियो । बेलायतदेखि नै बेलुकी कहिलेकाहीँ अलिकति पिउँथे । श्रीमानले सिकाएका । उतैबाट आउँदा डिउटी फ्रीबाट ४ बोतल ल्याएकी थिएँ । कहिलेकाहीँ दिक्क लाग्छ । उता लन्डन हुँदा श्रीमानसँग नाइटक्लब गएको याद आउँछ । अरु पनि के के याद आउँछ । याद मात्रै आएर पो के गर्नु । कल्पना चाहना इच्छा आकंक्षा जीवन जिन्दगी जवानी सबै सबै दबाउनु पर्दोरहेछ हामी स्त्रीले । झन् छोरीहरुलाइ बोर्डिङ बोर्डस गर्दिए पछि कस्तो एक्लो फिल हुन्छ । आधा रातको त्यो धीमा उज्यालोमा बिकी हाफ पाइन्ट लगाएर सुत्न लागेको रहेछ ।

चिसोले काम्यो होला भनेर भुवादार मलमलको ब्ल्यान्केट बोकेर आएकी म एक्छिन त अक्कमक्क भएँ । बिकीको सुडोल तिघ्रा देखेर । उसले पनि अलिक लाज मान्यो र हत्तपत्त तौलियाले छोप्यो छोप्नुपर्ने ठाँउ । पैसाको बिटो हातमा थमायो मेरो । उसले सोचेछ म आजको टिपरको हिसाबकिताब बुझ्न आएकी भनेर ।

उसले माथि क्याबिनबाट नै पैसा गनेर दियो । ठ्याक्कै नौ हजार ।

कस्तो कुरा गर्न मन लाग्यो आज ऊसँग । नजिकैबाट हेरेको मैले उसलाई आजै हो ।

आँगन छेउमा बलेको धीमा उज्यालो लाइटमा उसको मुखाकृति स्पष्ट देखेँ । कस्तो सफा छ यो केटो । कतै दाग, धब्बा, महिलो केही छैन । कपाल पनि कस्तो कर्ली परेको । मङ्गोल भएर पनि बाहुन जस्तो । पहिलाको चालक त वरिपरि जानै नहुने गन्हाउथ्यो । बिकी असाध्य सफा । भर्खरैको उर्लदो बैँसको पुरुष हो बिकी । उर्लदो बैंसका पुरुषको शरीरबाट एक प्रकारको बेग्लै मादकता बासना आइरहेको हुन्छ । बरु मैले व्हिस्की पिएकी थिएँ, थाहा पायो भने के गर्नु ।

” बिकी ?”

” हजुर ।”

” म पैसाको हिसाब माग्न आएकी होइन नि लाटा ।”

” ठिक छ नि साहुनी बिहानै टिप गर्न जानुछ यत्रो पैसा किन बोकेर हिँड्ने भनेर हो ।”

” के खायौ त ?”

” माथि नारायण दाइको होटेलमा भात खाको ।”

” जाडो भा छैन तिम्लाइ ?”

” छैन नि ।”

” यस्तो चिसोमा झन् हाप पाइन्ट लाएर बसेको ?”

” पख ममाथि बाट ट्रयाक सुट ल्याइदिन्छु।”

म माथि पुगेँ । श्रीमानलाई भनेर किनेको एउटा नयाँ ट्रयाक सुट दराजमा थियो । दराज खोलेँ । प्लास्टिकमा प्याकिङ गरेको थिए। खोले । यसो हेरेँ । राम्रो कलरको छ, सुहाउँछ बिकीलाई ।

अलिकति एक पेग थप्न मन लाग्यो फेरि । सोचे आ.. आ.. के भो त मेरो जिन्दगी मेरो मर्जी । म आफ्नो इच्छाले बाँच्ने पो हो । तल बिकी मलाई कुरिरहेको होला । कस्तो खाइलाग्दो छ बिकी । लजालु छ अलिकति । तर उसको शरीर त… बाफ्रे । खोइ किन पो आज मलाई बिकीको किन यति धेरै माया लागेको । पिएर पो हो कि । नहोला त्यस्तो त । पिएपछि पुरुष पनि यस्तै मात्तिने होलान् है। केके केके गरुँ जस्तो । हाँसू जस्तो नाचूँ जस्तो गाऊँ जस्तो ।

झ्याल खोलै थियो । त्यतैतिर बाट बग्दै आएको चिसो हावाले गालामा छोएर भाग्यो । माथि झ्यालबाट बिकीलाई क्याबिनमा देखिन्छ । उसलाई थाहा छैन मैले उसलाई हेरिरहेको छु भनेर ।

क्याबिनको बत्ती बालेर एउटा कापीमा के के लेख्दैछ ऊ । उसको सुडौल शरीरमा मेरो आँखा मात्तिएर उसैतिर तीर हान्छ । आँगनमा एउटा बैंसले भरिएको युवा एक्लै छ । म माथि छु । आज अर्कै तरङ्ग दौडिरहेको छ शरीरमा । यस्तो तरङ्ग जो पहिला कहिले भएन ।

झ्यालबाट निस्फिक्री बिकीलाई हेरिरहेको छु । रात चकमन्न छ ।

बिकी कहिले कापीमा लेख्छ कहिले मोबाइल चलाउँछ । कहिले झ्यालबाट यसो बाहिर हेर्छ । ऊ पक्कै पनि मलाई नै कुरे जस्तो लाग्छ अहिले । मात चढेको बेलामा यो मनले के के कस्तो कस्तो सोच्दो रहेछ आज आफैँलाई अनुभूति भो । पुरुषहरु नसामै मात्तिएर छिल्लिएका कुरा गर्छन् । श्रीमान नसा पिएकै बेलामा कस्तो मात्तिनु हुन्थ्यो । साँच्ची बिकीलाई पनि एक पेग पिउन दिउउकी क्या हो जे त पर्ला । बिचरा जाडोमा लगाओस् एक पेग। आखिर त्यसको पनि शरीर त्यसको पनि मन त्यस्को पनि बैँस । के भो त पिओस् । माथि नै बोलाएर पिऊ भन्छु । तर लजालु छ।

म लाज मान्नुपर्ने ऊ चैँ लजाउँछ मोरो काले ।

रातको १२ बजेर सत्र मिनेट गयो । बिकीलाई एउटा अपोको मोबाइल किन्दिएकी थिएँ दुई हप्ता अगाडि । धेरै पढेलेखेको छैन तर सबै एप्लिकेसन चलाउँछ । निहालेर हेरेँ माथिबाट । ऊ मोबाइलमा के के फिल्म हेर्दै छ । सोझो सम्झेकी थिएँ तर कस्तो चलाक रहेछ बिकी । ओहो ! म त बिस्मित भएँ । जिउ नै ढक्क फुलेर आयो । फेरि अर्को एक पेग थपेँ । बिकीलाई रेडी गरेको लुगा पुर्याउन तल ओर्लिएँ । गएर क्याबिन झ्याल ढक्ढकाएँ । बिकीले टिपरको क्याबिन खोल्यो।

मैले लुगा दिएँ । उसले लुगा समात्यो । उसले केही बोलिदिए हुन्थ्यो भनेर सोचेकी थिएँ । केही बोलेन । ऊ झ्यालमाथि बाट मलाई हेर्दै छ । उसको आँखामा मेरो आँखा जुध्न पुग्यो। ऊ लजायो । मलाई अघि नै थाहा थियो ऊ लजाउँछ भन्ने।

म नाइट गाउनमा थिएँ । एउटा बर्कोले छाती छोपेकी थिएँ । यति जाडोमा अलिक न्यानो लुगा लगाउन पर्थ्यो तर मैले जानाजान लगाइनँ । छाती अलि खुलै राखेकी थिएँ । आँखामा गाजल पनि थियो । ओठमा गुलाबी कलरको ब्र्यान्डेड लिपिस्टिक पनि लगाएकी थिएँ । मैले चाहेकी थिए उसले छातीमा हेरोस् । नभन्दै हेर्यो बिकीले मेरो छातीमा । उसले हेरेपछि उसलाई पत्तै नहुने गरेर मैले छातीको बर्को अलि तल झारे । ऊ झन् लोभिएर हेर्न थाल्यो।

कस्तो खुसी भएँ म । अर्कै उन्माद अर्कै रमाइलो अर्कै अर्कै तरङ्ग मगमगायो शरीरमा । ऊ माथि थियो। म तल थिएँ । राजमार्गमा लगातार चलिरहेको गाडीको ध्वनि पनि रातको निस्तब्धतामा चर्को सुनिन्थ्यो ।

” बिकी लगाउन लुगा ! जाडो भो भनेर ल्याइदिएँ झन् । ”

” भोलि लगाउँछु नि हुन्न साहुनी ?”

” हुँदैन अहिले नै लगाऊ। ”

” हस्, एकै छिन है त ।”

बिकी क्याबिनको झ्याल आधा खोलेर अलिभित्र पस्यो । म तल टिपरको छेउमा उभिरहेँ । मनले माग्न थाल्यो उसले लुगा फेरेको हेरुँ र ऊसँगै न्यानिएर क्याबिनमा सँगै बसु । अलिकति कुरकुचा उठाएर माथि हेरेँ । ऊ अलि लझायो । लुगा फेर्यो। न्यानो भएर झ्यालबाट हेरेर मुस्कुरायो । मलाई खुसी लाग्यो । जे होस् मैले भनेको मान्यो । मेरो इच्छा राखिदियो ।

” बिकी तिम्लाइ न्यानो भो अब म सुत्न जाउ ? ”

” हस् म पनि सुत्छु। ”

” केही खाने मन छ ? ”

” भर्खरै खाना खाएको हो भोक छैन ।”

” मैले किन्दिएको मोबाइल मन पर्यो नि तिम्लाइ ?”

” एकदम मन परेको छ सबै साथीहरूको भन्दा मेरो राम्रो रे !”

” जतन गरेर राख नहराउ कसैलाई छुन नदेउ ।”

” हस्, खोल पनि हाल्छु भोलि ।”

” मन परेको फिलिम डाउनलोड गर न, माथि वाइफाइ छ ।”

” हो र ! भोलि अलिक छिटो हुन्छ, दुई टिपपछि फ्री ।”

” भोलि अलि छिटो आउ । त्रिसुलीबाट फ्रेस माछा पनि ल्याउ है ।”

माथि उक्लिएँ । कोठाभित्र आएपछि पो चिसो लाग्यो । म स्त्री । मेरो चाहना भन्न बन्देज छ । मैले मनको कुरा भनेँ भने म उत्ताउली हुन्छु । नत्र म उसको मालिक्नी, म जे पनि गर्न सक्छु । उसको शरीरसँग खेल्न सक्छु । उसलाई भन्न सक्छु म के चाहन्छु । शारीरिक भोकभन्दा मानसिक भोक झन् तीब्र हुँदोरहेछ । म जे नि सोच्न पाउँछु । मेरो मन मेरो मर्जी । मेरो शरीर मेरो खुसी । मानिस बाहिर स्वतन्त्र नभए पनि आफ्नो मनभित्र त स्वतन्त्रताले बाच्न पाँउछ। ओछ्यानमा त कमसेकम स्वतन्त्र बाच्न देऊ मनुष्यलाई । मलाई केको डर । अरुलाई के मतलब ।

म फोन गरेर अहिले नै उसलाई यो पलङमा सुताउन सक्छु। मेरो इच्छा कसले के गर्छ मलाई । कसको किन रोकतोक । कमसेकम स्वतन्त्र सोच्न त पाउँछु नि। बत्ती निभाएँ। अघि नै बालेर राखेको हिटर नजिक बसेँ । रातको एक बज्यो । बाहिरको एकान्त सन्नाटाले आफैँलाई चिथोर्न थाल्यो । भोलिको कल्पनामा डुब्न थालेँ । भोलि त बिकी माथि नै आउँछ । आहा ! ऊ पहिलोचोटि माथि आउँदै छ । मेरो अगाडि । उसलाई यही मोटो सोफामा राख्छु । माछा फ्राइ गरेर खुवाउँछु । मान्यो भने ह्विस्की पनि खुवाउँछु । पिउँछ होला नि । अहिलेको युवा ठिटो । बैँसले बलेको धपक्कै। कस्तो हिस्सी परेको छ नि मोरो काले ! । हाँस्दा पनि कस्तो राम्रो देखिँदो रहेछ। मन पर्यो । उसको युवा छातीमा एकचोटि छाम्ने इच्छा छ । के भन्ला मलाई । के सोच्दो होला ।

मैले भनेको मान्छ होला नि पक्कै ।

रात लम्बियो । निन्द्रा पटक्कै लागेन । पलङ छेउमा राखेको एक गिलास पानी पिएँ । खुट्टा तातेन निकैबेरसम्म । झ्याल खोलेर हेरेँ । आँगनमा टिपर दिनभरकाे थकाइले मस्त निदाएजस्तो देखिरहेको छु । टिपर चालक बिकी सानो लाइट बालेर क्याबमा मस्त सुतिरहेको छ । खुसी लाग्यो । ऊ त्यही लुगामा झप्किएछ । सिरानी कस्तो अग्लो बनाएछ । मोबाइल हातमै देखेँ । मोबाइल हेर्दाहेर्दै निदाएछ बिचरा । माया लाग्यो । खै के भा छ मलाई आज कुन्नी ? बिकीको मुहार हेरिरहेँ । उसले बिस्तारै श्वास फेरेको पनि देखिन्छ माथिबाट । ऊ निदाएको हेरिरहेँ । एकोहोरो हेरेँ । कल्पना गरेँ केके केके । भोलि म बिकीलाई व्हिस्की पिलाउँछु । मसँगै सुताउँछु । के थाहा कसलाई । माछा उसलाई असाध्य मीठो लाग्छ । माछा र व्हिस्की दुवैजना खाने अनि… । अनि केके केके । यति सोच्दैमा मलाई खोइ के भएको यस्तो ।

किन यति धेरै मात लागेको मलाई । हिस्टेरिया भनेको यही हो त ! बिकीलाई उठाऊँ  जस्तो नि लाग्छ । तर फेरि के बाहना गरेर उठाउनु ? तर डर लाग्यो भन्छु नि । त्यति भने त उसले पत्याउला । लोग्ने सम्झिएँ । ओहो ! छोरीहरू त पुरै बिर्सिएछु । शून्य भए छु । म किन यस्तो अनैतिक सोचिरहेको छु आज । बिकी मेरो चालक त हो । भने भैहाल्छ नि मनको कुरा ।मलाई केको छेकथुन केको डर । ऊ मेरै नोकर त हो । म जे मन लागे नि गर्न सक्छु भन्न सक्छु । उसको ज्यान मेरो जागिरले त पालिएको हो । मैले जे भने पनि उसले नाइँनास्ती भन्न पाउँदैन । ऊ मेरो अधिनमा रहेको मान्छे हो । मैले पालेको । उसलाई माया गर्ने अधिकार पनि छ र घृणा गर्ने अधिकार पनि ।

छि, म स्त्री यति कमजाेर ! किन फुल्याउन सक्तिनँ म आफैँलाई।

के भन्लान् मेरा लोग्नेले थाहा पाए भने । चालकसँग लसपस ।

ह्या जेसुकै भनुन् । तिनी पनि मलाई झुक्याइ झुक्याइ कत्ति केटीसँग सुतेका छन् । मोबाइल चेक नगरेको हो र मैले पनि । एउटी नारायणघाटकी तिमिल्सिनाकी छोरी थाप्रीभन्दा हुरुक्कै हुन्थे । के थाहा ऊ पनि उतै त छे अहिले पनि । नाम मात्रैको पोइ छ उसको । सबै व्यवस्थापन गरिदिने त मेरै बुढा त हुन् । म मात्रै सती सावित्री बन्नुपर्छ भन्ने छ र ? बुढा तिमी पनि इमान्दार छैनौ म मात्रै किन इमान्दार बनेर आफूभित्रको चाहनाको ज्वाला निभारहुँ । मलाई पनि जल्न मन लाग्छ नि ।

आखिर मेरो पनि त तन हो । मेरो पनि मन हो । कति धेरै समय भैसक्यो मभित्रको प्यास नबुझेको । पुरुषहरू बाहिर चाहर्ने अनि स्वास्नीहरु तिनकै माया ममता र सम्झनामा आरती गरिरहनु पर्ने ! मलाई माफ गर बुढा अब म तिम्रो मात्रै रहन्न । स्त्रीहरु कुनै दासी होइनन् । सुश्री सम्पत्ति भएर यो सताब्दीका कुनै स्त्री बस्न चाहन्नन् । मलाई माफ गर बुढा । म भोलि यतिबेला बिकीको अँगालोमा बाँधिएकी हुन्छु । तिमी पनि उता रमाइलो गर । म केही भन्दिनँ । आँखा अगाडि अर्को सौता नहाल, बस यति भए पुग्छ मलाई । रमाइलो गर्न जानिनँ मैले तिमीले जस्तो । दुई लालाबाला छोरीहरू हुर्काउँदैमा मैले यौन र सुखभोग बिर्सिएछु ।

बिहान एकैचोटि ब्युँझिएछु । झलमल घाम लागिसकेको थियो । झ्याल खोलेर हेरेँ । राति नै उठेर गाडी लिएर गएछ बिकी । आज त्यसलाई एक कप चिया दिन पनि सकिनँ । मोबाइल हेरेँ, उसको दुइटा मिसकल आएको रहेछ । नुहाएँ तातोपानीले । फोन गरेको ऊ धुन्चे पुगेको रे छ टिप लिएर । फर्कदा त्रीसुलीको आलो माछा ल्याउनु भनेँ । आज उसले माथि नै आएर गीत डाउनलोड गर्ने भनेको छ । खोइ किन पो हो आज लागेको घाममा मादकता छ । आज घर नै किन रमाइलो लागेको छ ! आफैँलाई एउटी चन्चल चुलबुले अविवाहित नारीजस्तै सम्झेकी छु ।

ब्यागमा पैसा गनेको एक लाख असी हजार जम्मा भएछ । दिउँसो बुढाले फोन गरे । छिटो बैंकको लोन चुक्ता गर्नु भनेर । नयाँ चालक बिकीले राम्रो पैसा बुझाइरहेको छ भन्दा खुसी हुनु भो । मिल्छ भने तल्लो फ्लाइटमा उसलाई एउटा रुम दिनु भन्नुभयो । हस् भनेँ । पैसाको हिसाबकिताब बुझाएको श्रीमान् मख्ख परे । पैसा नै सबैभन्दा प्यारो रहेछ दुनियाँमा जस्तो लाग्यो । म लाहुरेकी स्वास्नी । सबैथोक छ । सम्पन्न छु । कुनै कुराको पनि अभावमा बाचेको छैन । तैपनि मभित्र कता कता के के नपुगेको जस्तो भैरहन्छ ।

अरुको पोइ दशैँ तिहारमा छुट्टी मिलाएर आउँछन् तर मेरा भने यस्तै हो । तिनलाई स्वास्नी नचाहिए मलाई पनि किन तिनी चाहियो ? बेलाबेलामा पैसाको हिसाब बुझायो, सुन्यो , त्यसमै मख्ख पर्यो ।

बिकी टिपर लिएर आइपुग्यो । झम्के साँझ भएको थियो ।

म उसकै प्रतीक्षामा थिएँ । टिपरबाट ओर्लियो ऊ । आज एघार हजार बुझायो मलाई । आलो माछा पाँच किलो ल्याएछ । वरिपरि कम्पाउन्ड भएको घर कसैले देख्दैनथे । मैले माथि हिँड भनेँ । चारैतिर हेर्यो उसले । अलिक डरायो । दुई महिना भो ऊ अहिलेसम्म माथि म बसेको फ्लाटमा गएको छैन ।

” गीत डाउनलोड गर्नी भनेको होइन हिँड माथि जाऊँ  ।”

” साहुनी ! अहिलेसम्म माथि नगाको कसैले देखे भने नि ?”

” किन चिन्ता ! मेरो घर मेरो मर्जी । तिमी मेरो चालक अनि !”

” मान्छेले कुरा काटे भने आम्मै ।”

” कसैको साहस छैन आउ ।”

ऊ र म माथि फ्ल्याटमा आयौँ ।

माछा छिल्कन लगाएँ मैले । असला माछा रहेछ । लामो सलक्क परेका । गोसाइँकुण्डदेखि बगेर आएको चिसो पानीमा खेलेका माछा । हेर्दैमा पनि स्वादिला देखिन्थे । तल मुलगेटमा ताल्चा मारेर आएँ आफैँले । माछा छिल्किएर सकायो बिकीले । उसको हातमा तौलिया र सेम्पु दिएँ । तातोपानीमा मज्जाले नुहाऊ बिकी भनेँ । ऊ अलिक लजायो । बाथरुमभित्र छिर्यो । म व्हिस्की तयार गर्न लागेँ । अलिकति तोरीको तेल राखेर माछा प्यानमा फ्राइ गरेँ ।

दुइटा ग्लासमा व्हिस्की हालेँ।

ऊ नुहाएर बाहिरै उभिरह्यो । मैले भित्र आऊ भनेँ । आयो। उसलाई मसँगै सोफामा राखेँ । भान्सामा खाना पाक्तै थियो । मोबाइलमा पासवर्ड हाल्दिएँ । दुइटा गिलासमा व्हिस्की देख्यो उसले । मैले भनेँ, ” बिकी आज धेरै चिसो छ माछा र व्हिस्की खाने है ।” ऊ अलिक लजायो । मैले भनेँ, ” तिमी पिउँछौ नि ?” ऊ केही बोलेन ।

” पिउन अलिकति । तिमी र म मात्रै त हो नि के को लाज तामाङको छोरो कस्तो लजाएको हो ” यति भनेपछि उसले ग्लास समात्यो । एक ठुलो पेग बनाइदिएकी थिएँ । माछासँग खुब रमाएर पियो उसले । गीत डाउनलोड गर्दिनुन भनेर मोबाइल दियो मलाई । ऊ माछासँगै मज्जाले पिउँदै छ । मलाई पनि कस्तो झुमझुम भयो । उसको मोबाइलमा नेपाली चलचित्रको गीत डाउनलोड गर्दिन थालेँ । गीतहरु डाउनलोड सँगै उसले मोबाइलमा राखेको अर्कै रमाइलो खालको चलचित्रमा आँखा पुग्यो मेरो । खोलेर हेरे कस्तो नयाँ खालको रे छ । नसाले मात्तिएको बेला झन् त्यस्तो चलचित्र ।

“बिकी तिम्लाइ कस्तो भै रा छ ?”

“मलाई त मज्जा आयो ।”

“पहिला पहिला पनि पिउथ्यौ ?”

“बाहिर त धेरै पिउदिन आमाले बनाको जाड चैँ खान्छु ।”

“बाहिर कहिले पिएनौ ?”

“सत्य, कसम छैन ।”

“केटीसँग बसेर पिएको छैनौ कहिले नि ?”

“छैन । पहिला त पैसा हुँदैनथ्यो अहिले पो काम पायो ।”

“तिम्लाई साहुजीले तल फ्ल्याटमा रुम दिनु भन्नुभएको छ बस्ने हो ?”

“भैहाल्छ नि । बिहे गरेको छैन । म एक्लो त हो ।’

“कहिले बिहे गर्छौ ? बिहे गर्न मन लागेको छैन ?’

“गर्नी हो, बाजा बजाएर गर्नी हो ।”

“ल भोलिदेखि तिमी टिपरमा सुत्न पर्दैन ।”

“भाडा कति लिनुहुन्छ धेरै महङ्गो भए म घरमै जान्छु ।”

“फ्रीमा हो, तिमीसँग किन पैसा लिन्छु मैले ह्या लाटा, बि कि एउटा कुरा भनुँ ?”

“भन्नु न ।”

“तिमी अलि लजाएको हो ?”

“होइन नि । अघि नपिउँदा चैँ हो, अहिले चैँ होइन ।”

“मलाई हेर न सिधा आँखाले । मलाई लागे जस्तो छ त ?”

खोइ के के बोलिछु मैले । बिकीको मोबाइलको फिलिम आफै प्ले हुँदै गयो । ऊ पनि लाजले रातो भो । साहुनीले यस्तो फिलिम देख्नु भो भनेर । म पनि लाजले भुतुक्कै भएँ । मन थाम्नै सकिनँ । बिकीको शरीरमा आगोको राप दन्किरहेजस्तो न्यानो अनुभूति भयो । त्यो निस्तब्ध रातमा एकै कोठामा ऊ र म मात्रै । झ्यालबाट चिसो आयो, बन्द गरिदिएँ । एउटा रमाइलो धुन गुन्जियो । बाहिर आकाशको जुनेली पनि कतै थामिए जस्तो । एकान्त यति मीठो हुँदोरहेछ कि पहिलोचोटि अनुभव भो ।

एउटा पुरुषको अगाडि आज मातले मात्तिन मन लाग्यो । बिकी सोफामा थियो । म चाहन्थे उसले मलाई आक्रमण गरिदिओस् । मलाई छोइदेओस्। मलाई अँगालो हालोस् । माछा र व्हिस्कीले ऊ यतिबेला बैँसको घोडाजस्तै हिनहिनाउँदै छ । म भित्रभित्रै एउटा अग्निदह ज्वालामुखी ओकल्दै छु । यो के हो ? वासना मात्रै हो या माया पनि ? अनेकौं प्रश्नहरु आउन थाले। बिकी नजिक गएँ म । उसको सामु उभिएँ र उसलाई हात दिएँ । ऊ अलिक हच्कियो । उसले मलाई समाउने साहस गरेन ।

म मातले मुर्छित थिएँ । आफैँ मदहोसमा थिएँ । मैले उसको हात समातेँ । गालामा म्वाइँ खाएँ । मेरो श्वास एकदम बढेर आयो ।

आफैँले आफ्नो धुकधुकी थाम्न नसक्ने भएकी छु म । मलाई उसैको सामु सर्वाङ्ग पल्टन मन लाग्यो । अब एकैछिन पनि अबेर भो भने म आफैँ पग्लिन्छु । ऊ उभियो । म उसैको सामु उभिएँ । दुवै हात दिएँ मैले उसलाई । आफ्ना कोमल हात समाउन दिएँ । म बेहोस जस्तै थिएँ । मैले उसको छातीमा आफ्नो शरीर राख्न खोजेँ । ऊ उभिएको स्थानबाट अलिक पर हच्कियो । मलाई ग्लानि फिल भयो । यो कस्तो पुरुष हो । किन मलाई स्पर्श गर्दैन ।

अति भयो । मैले अपमान सम्झिएँ । तँ साला तल्लो जातको ड्राइभरलाई ओछ्यानसम्म ल्याएर गल्ती गरेछु भन्दै दाहिने हातले गालामा एक चड्कन तताएर हानेँ । उसको आँखाबाट आँसुको तप्का चुहिएर गालाको भिर हुँदै बग्न थाले । केही बोलेन । चुपचापले उभियो । निशब्द भयो । फेरि सोधेँ,

” बिकी तिमी पुरुष हौ कि आइमाई हौ ?”

” पुरुष हुँ तर आफ्नो प्रेममा र आफ्नो कर्तव्यमा अडिग ।”

” के तिम्रो गर्ल्फ्रेन्ड छ ?”

” छ । हाम्रो यो दशैमा प्वाङ राखेको । म उसलाई धेरै माया गर्छु ।”

” मेरो पनि लोग्ने छन् नि ! के फरक पर्यो त ! बिकी आऊ मलाई सम्हाल । मज्जाले सम्हाल ।”

” हुँदैन पाप लाग्छ । हाम्रो तामाङ जातमा बिहे गर्न भनेर सगुन साटासाट गरेपछि ऊ मेरी माया हो । ऊप्रति विश्वास घात गर्दिनँ ।”

मलाई असाध्य गार्हो भो । उसलाई चड्कन दिएको हात दुख्न थाल्यो । शरीरमा अघि नै पलाएको यौवनको उन्माद चिसो र सिथिल भैसकेको थियो ।

” सरि… आइम भेरी सरि बिकी ।”

ऊ सँगै म पनि रोएछु ।

बिकी तल जान्छु भन्यो । म उसलाई तलसम्म पुर्याउन गएँ । उसले टिपरको क्याबिनको ढोका खोल्यो । मैले भनेँ, “नरिसाऊ है बिकी बिन्ती ! बरु तिम्रो गर्लफ्रेन्डलाई पनि यहीं लेराउन है !” । उसले हस् भन्यो । ऊ नरिसाइदिएकोमा म खुसी भएँ । रात आफ्नै पाराले घर्किरहेको थियो । माथि आइसकेपछि पनि फेरि झ्यालबाट हेरेँ । हेरिरहेँ । उसलाई पिटेको हात दुखिरह्यो । उसले एक वचन पनि फर्काएन । केही भनेन । आखिर एउटा सामान्य चालक न थियो ऊ । तर ऊ रोयो मात्रै । उसको नुनिलो आँसु त्रिसुलीजस्तै निर्मल देखेँ । आफैँलाई धिक्कारेँ । आफैँसँग रिसाएँ म आज । निन्द्रा परेन । फेरि एक पेग लिएँ । अहिले आफ्नै आँसु पिइरहेजस्तो लाग्यो । ऊ निदाइसकेको थियो । कस्तो शान्त मान्छे रहेछ ऊ । बुद्धजस्तै । फेरि मन पर्यो । तर….

उसको प्रेम देखेर मलाई कताकता जलन भैरह्यो रातभरि ।