उदयपुर जिल्लाको कटारीभन्दा केही पश्चिम सिम्रही गाउँमा मदन भण्डारी लोकमार्गको छेउमा एउटा ठूलो बूढो बरको रूख उभिएको छ । त्यस रूखको छेउबाट भित्री गाउँतिर जाने कच्ची सडक लोकमार्गमा जोडिएको छ । रूखको छहारीमा पुरानो एउटा चौतारो छ, अनि छेउमा चिया खाजाका केही साना टहरा पसलहरू छन् । वरपरका घरधुरीका बासिन्दा, गाउँबाट लोकमार्गमा सवारी चढ्न आउनेहरू, सामान लिएर आउने–जानेहरूका लागि त्यस बरको रूख र चौतारो सधैं छहारी बन्दै आएको छ ।
पुरानो चौतारोसहितको उक्त बरको रूखले त्यो क्षेत्रको जीवन्त इतिहास बोकेको छ । वृद्धदेखि बालक, महिला, बटुवा, मजदूर र बेरोजगारसम्म सबैलाई समान रूपमा आश्रय दिने यो स्थान गाउँको अघोषित केन्द्र बनेको छ । गर्मीका दिनहरूमा त त्यहाँ अझ भीड लाग्ने गर्छ । त्यहाँ गाउँका बच्चाहरू खेल्नेदेखि कुकुर, बिरालो, गाईवस्तुसम्म रूखको छहारीमा बसेर विश्राम लिन्छन् । कतिपय मोटरसाइकल यात्रीदेखि निजी गाडीका सवारहरू पनि आफ्ना सवारी साधन रोकेर केही छिन शीतलता लिई जान्छन् ।
रूखमा धेरै जातका चराहरूको बासस्थान छ । गुँड बनाएर पुस्तौंदेखि काग, सेता बकुल्ला, सारौं (रुप्पी), लाटो कोसेरो र सुगाहरू बसेका छन् । दिनरातको भिन्न समयमा मौसमअनुसार आउने–जाने चराहरूको आवाजले रूख सधैं जीवित जस्तो लाग्छ । बरको फेदमा ठूला जराबीच सेतो–कालो शिला चेपिएको छ । त्यस शिलालाई स्थानीय बासिन्दाहरू देवीको रूपमा पूजा गर्ने गर्दछन् । त्यहाँ सिन्दूर, अबीर, फूल चढाइएको देखिन्छ ।
स्थानीय वृद्धहरू भन्छन्, “रातको ठीक १२ बजे त्यहाँ कुनै महिलाको छाया आकृति देखिन्छ । उनैले चौतारो वरपर बढारेको देखिन्छ ।” नभन्दै, हरेक दिन बिहानै हेर्दा रूखको वरिपरि र चौतारो चिटिक्क सफा, पात–पतिङ्गर विहीन देखिन्छ । गाउँलेहरू विश्वासले भन्छन्, “दैवी शक्ति हो !”
केही वर्षअघि मदन भण्डारी लोकमार्ग निर्माण गर्ने क्रममा त्यो बरको रूख पनि सडकमा पर्ने भयो । सरकारी रेखाङ्कनले रूख कटान गर्ने निर्णय सुनायो । रूखको फेदमा चौतारोमा सडक ठेकेदारले सडक–सीमाको चिह्न लगाए । बरको रूख काटिने निर्णयको गाउँलेहरूले विरोध गरे । स्थानीयहरू मिलेर वडा कार्यालय र नगरपालिकामा निवेदन गरे, प्रतिनिधिमण्डल पठाए । तर पनि बरको रूख जोगाउन सकिने भएन । सडक रेखाङ्कन र सीमाङ्कनको निर्णय परिवर्तन गराउन सकिएन ।
यता चौतारामा सूचना टाँसिएको र मानिसहरूको चहलपहल बढेको देखेपछि बरको रूखमा बस्ने चराहरू पनि चासो राखेर हेर्न थालेका थिए । सिम्रही गाउँमा शमसेरसिंह नामका एकजना भूपू भारतीय लाहुरे पनि थिए । उनी भारतीय फौजमा कार्यरत रहँदा देहरादूनको टिग्री–गढवाल क्षेत्रमा तीन वर्ष पंक्षी संरक्षण विभागमा खटिएका थिए । पंक्षी संरक्षण विज्ञहरूसँगको संगतमा त्यहाँ रहँदा उनले चराहरूसँग संवाद गर्ने केही विधिहरू र चराका भिन्न–भिन्न आवाज सुनेर त्यसको अर्थ लगाउन सक्ने ज्ञान हासिल गरेका थिए ।
बाटो छेउको बरको रूख काटिने नै भएपछि उनले चराहरूको बिचल्ली नहोस्, बरु बेलैमा अरूतिर सरेर राम्ररी बसुन् भन्ने सोचले काग, सेता बकुल्ला, सुगा, सारौं र लाटो कोसेराहरूलाई रूख काटिन लागेको कुरा सुनाइदिए । त्यस्तो कुरा सुनेर चराहरू दुःखी भए । साथै सबै चराहरूले आफूहरू पुस्तौंदेखि बसिआएको साझाघर – बरको रूख काट्न नदिन सक्दो आवाज उठाउने निर्णय पनि गरे । बरको रूख संरक्षण गर्नुपर्छ भन्ने शमसेरसिंहले चराहरूको सल्लाह बुझेका थिए । उनी मनमनै खुशी भए, तर कसैलाई केही भनेनन् । रूख काट्ने सूचनाअनुसारको दिन र समय उनले चराहरूलाई सुनाइदिए ।
००००
रूख काट्ने दिन बिहानै ठेकेदार एक्स्काभेटर र रूख काट्ने मेसिन र कामदारहरूसहित आए । गाउँलेहरू पनि कोही विरोध गर्न वा कोही रमिता हेर्न भेला भए । कोही भन्दै थिए, “एउटा रूखकै लागि विकास रोकिनु हुँदैन !” अरू भन्दै थिए, “अलिक परबाटै बाटो घुमाए बरको रूख जोगिन्थ्यो !” कोही बेपर्वाहझैं थिए ।
बिहानैदेखि रूख छेउ–छाउ मानिसहरूको चहलपहल बढेको देखेर रूखमा बस्ने चराहरू चिच्याउन थाले । कागहरू कर्कश स्वरमा काँ–काँ गर्दै कराउन थाले । सेता बकुल्लाहरू, सारौंहरू, सुगाहरू कराउँदै उड्न–बस्दै गर्न थाले । लाटो कोसेरो पनि बिहानै गुँडबाट निस्केर उड्न थाले । आज सबै चराहरूको आवाज अनौठो जस्तो सुनिन्थ्यो ।
यो देखेर छेउको चिया पसलमा बसेर रमिता हेरिरहेका शमसेरसिंहले भने, “कागको यो आवाज उनीहरूका साथीहरूलाई खतराको सङ्केत दिने आपतकालीन भाषा हो । कागहरू केही गडबडीको सङ्केत गर्दैछन् । अरू चराहरूको पनि आवाज आज फरक छ ।” एकछिनमा ठूला–साना बथानका बथान काग, सारौं, सुगा, बकुल्ला बरको रूख वरिपरि जम्मा हुन थाले । चराहरूको आवाजको कोलाहल, उनीहरूको बिस्टा र गन्धले त्यहाँ उभिनै नसक्ने स्थिति बन्यो ।
००००
रूख वरिपरि जमीन खन्ने र रूख काट्ने काम शुरू गर्न खोज्दा ठेकेदारको एक्स्काभेटरले स्टार्ट लिन मानेन । चालकले इन्धन, तार सबै जाँच गरे, तर पनि गाडी चलेन । उता रूखको फेदमा रूख काट्न गएका कामदारहरूले देखे – हजारौं चिल्ला, कालो कमिलाहरू रूखको जराभरि दुई फिट अग्लो तहमा फैलिएका थिए । ती कमिलाहरूले कामदारहरूलाई शरीरभरि टोकेर भाग्न बाध्य पारे । स्थानीयहरूले भने, “यस्ता कमिला यस क्षेत्रमै पहिले कहिल्यै देखिएका थिएनन् ।” त्यस्तै, एकै चोटि त्यति धेरै जातका चराहरू सँगै भेला भएको दृश्य पनि त्यस दिनसम्म कसैले देखेका थिएनन् ।
त्यहाँ भेला भएका मानिसहरू अचम्ममा परेका थिए । झट्ट हेर्दा रूख काट्ने कामको विरुद्ध प्रकृतिले विद्रोह गरिरहेझैं लागिरहेको थियो । धेरैलाई लाग्यो, “यो दैवी शक्ति हो ।” कतिपयले यसलाई, “संयोग मात्र हो,” भने ।
एकाएक चराहरूको आवाज थामियो । एकछिन चकमन्न भयो । त्यो मौनतालाई चिरेर अचानक बरको फेदमा एक दिव्य, उज्यालोमय अर्धनारीश्वर स्वरूप प्रकट भयो । उपस्थित सबैले दिव्यवाणी सुने, “यो बरको रूख केवल रूख होइन । यो लोकका मानव, पशुपक्षी, जीवजन्तु र परलोकका हामी सम्पूर्ण प्राणीहरूको साझाघर हो, यसलाई नष्ट गर्न खोजे अनिष्ट हुनेछ । तसर्थ, यो बरको रूख जोगाउनु सबैको धर्म हो ।”
यति सन्देश दिएर त्यो आकृति सानो हुँदै बरको जराभित्र चेपिएको शिलामा विलीन भयो । चराहरूले फेरि चिरबिर आवाजमा रमाइलो गरे, बाहिरबाट आएका चराका बथानहरू बिस्तारै पखेंटा फरफराउँदै बाटो लागे । कमिलाहरू लाइन लागेर जमीनभित्र पसे ।
त्यसपछि एकजना स्थानीय वृद्ध उभिएर बोले, “यदि यो रूख जोगाइने हो भने, म खुशीसाथ सडकका लागि आवश्यक पर्ने मेरो नम्बरी जमिन छोडिदिन्छु ।” सबैले तालीले स्वागत गरे ।
अन्ततः सडकको त्यो खण्डको नयाँ नक्सा तयार भयो, रूख बचाउँदै, सडक अलिकति घुमाएर बनाइयो ।
आज पनि सिम्रही गाउँको त्यो बरको रूख, सबैको साझाघर, सडकछेउ उभिएको छ—इतिहास र संरक्षणको सन्देश बोकेर, सडकमा दौडिने सवारीहरू हेर्दै र चराहरूको गीत सुन्दै ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ कार्तिक २०८२, शुक्रबार 










