राजनीतिक कोपभाजनको सिकार भएर म यस्तो दुर्गम ठाउँमा सरुवा भएँ कि के भनूँ ! त्यहाँको हावापानी र परिश्रमी मान्छे बाहेक सब थोक मन नपर्ने । बाह्र महिना हात पाखुरा चलाउँदा समेत छ महिना खान धौधौ पर्ने भिरालो र ढुङ्गेनी पङ्खर बारी । सिँचाइको अभावमा लगाइएका बालीनाली सुकेनास लागेको शिशुजस्ता देखिन्थे । जिन्दगी जिउन सारै कष्टकर र उदास उदास अनुहारहरू कहिले यता त कहिले उता दौडिरहेका भेटिन्थेँ । साँझ परेपछि रक्सीले टिल्ल भएर आउने अधिकांश लोग्नेले स्वास्नी कुट्थे र बहादुरी देखाउँथे । अनि कम कुटाइ भेट्ने महिलाहरू आफूलाई भाग्यमानी ठान्दथे । म यो नौलो परिवेशमा रमाएको थिएँ कि हराएको थिएँ आफैँलाई राम्रोसँग थाहा थिएन ।

 ०००

त्यस गाउँमा मैले केही साथीहरू बनाइसकेको थिएँ । तीमध्ये भोला पनि एक थियो । उसको बारेमा बुझ्दै जाँदा धेरै कुराहरू थाहा हुँदै गयो । मान्छे सारै रमाइलो र हक्कीको थियो । उसका दसौँ असल गुणलाई त्यही एउटा रक्सी पिउने बानीले खर्लप्पै छोपिदिएको थियो औँसीको रातमा जून छोपिए जसरी । त्यही कारणले रहेछ  स्वास्नीले चटक्क छोडेर माइतीघर गएकी ।

मेरै अनुरोधमा उसले आफूहरूको कसरी सम्बन्धमा चिसोपन आयो र गौरी कसरी  माइत गई भनेर पश्चात्तापले भरिएको मुहार मुद्रा बनाएर भावुक भई बताएको थियो । “म नआउन्जेल नखाई कुरेर बस्थी । तर म राती कति बेला घर फर्किन्थेँ कुनै टुङ्गो थिएन । मलाई देख्ने बित्तिकै ऊ खाना तताएर पस्किन्थी । तैपनि म अकारण निहुँ खोज्थेँ । गाली गर्थेँ र धेरैजसो त पिट्थेँ । खानाको थाल लात्ताले हानेर बेहाल बनाइदिन्थेँ । र , ऊ धरधरी रुँदै भोकै सुत्थी । म पनि बेहोस भएर त्यत्तिकै बेठेगान सुतिदिन्थे जुत्ता नै नखोलीकन । तर पछि होस खुल्दा बिस्तारामा आरामले सुतिरहेको हुन्थेँ । उसको सहनशीलता मैले उबेला बुझिनँ र अहिले पछुताउँदै छु । ”

“अनि त्यसपछि के भयो त ?” मेरो चासो बढ्दै गएको थियो ।

एक पटक ख्वाक्क खोक्यो । लामो सास तान्यो र आँखा रसिला पार्दै कनेर भन्न थाल्यो –

“त्यसपछि जे नहुनु थियो त्यही भइदियो । मेरो अत्याचारले सीमा नाघ्यो । म उसलाई हुने नहुने आरोप लगाउन थालेँ । सहेरै बसेकी थिई । जब मैले नशाको तालमा सजिल‌ैसँग उसको पतिव्रत धर्ममाथि नै धावा बोलेँ तब उसले मसँग जिन्दगी नकट्ने ठहर गरिछ । र , उसले अब तिम्रो मुख हेर्दिनँ भनेर बिहानै मलाई त्यागेर हिँडी । सायद अझै फर्काउन आउँछ कि भनेर पर कुइनेटोबाट फर्की फर्की हेर्दै थिई । तर म पापी अहँ, गइनँ ।”

“अनि उसलाई लिन गएनौँ त भोला ?”

“के गर्नु सर ! दुई चार दिन त त्यो जाँठा गए जान्छे त, खुट्टा भए जुत्ता त कति कति जस्तो लाग्यो तर मेरो त दाहिने हातै भाँच्चिएजस्तो भइगो’नि । आज आउँछे छैन, भोलि आउली कि भनेर बाटो हेर्यो आउँदिन ! मेरा त आँखै टट्टाए । हार खा’र एक दिन त लिन गएँ ।”

“अनि आइन् कि आइनन् त ?”

“यहाँ सुन्नु न, भन्दै छु । पहिला कस्तो मान मनितो गर्ने सासू ससुरा त्यो पालि त वास्तै गर्दैनन् बा ! नमस्कार गरेँ, बस्नु नभने पनि बसेँ । खाना खान थालेपछि चाहिँ तीनै जनाले भन्नु नभन्नु भने है अनि । खाँदाखाँदै छोडेर हिँडिदिऊँ जस्तो लागेको थ्यो तर हिँडिनँ । सुनिरहेँ ।”

“सह्यालु पो रहेछौ त है ?”

“त्यस्तो भइदे’को भ’त मलाई छोडेर के जाँदी हो र सर ! पहिला मैले भनेको थेँ, अहिले पालाको पैँचो फेरे भनेर मन बुझा’र बसेँ नि । फेरि त्यो दिन चाहिँ रक्सी नखाई गा’को भा हुने र’छ । सासू ससुराले त ल है गौरी के गर्छेस् ; ज्वाइँ लिन आउनु भा’छ भनेर गए नि जाओस् जस्तो गरेका थिएँ । तर ऊ बम्किन थाली हाली नि ! यस्तो जँड्याहासँग त मरे नि जान्न भनेर । अनि म झरीले निथ्रुक्क भिजेको बिरालो झैँ लुरुलुरु एक्लै घर फर्किएँ ।”

“अनि फेरि फेरि पनि गयौ कि ; त्यत्ति एक चोटि हो ?”

“रक्सी नछोडी लिन नआउनू भनेकी थिई । भोलिदेखि खान्न भन्दाभन्दै यो काट्टो पनि कहिल्यै छोड्न सकिएन । अनि त जानलाई खुट्टा उचाल्न पनि सकिनँ ।”

त्यसरी गौरीलाई लिन जाँदा रित्तै फर्केको भोला घर खेत, हाटबजार र मेलापात एक्लै गर्न विवश थियो । शनिवारको दिन, नुनतेल सकिएकोले साँघुटार बजारमा हाट भर्न झरेको रहेछ । म पनि झरेको थिएँ । झ्याप्प भेट भयो । उसले निकै मोलमोलाइ गरेर किनमेल सक्यो र भट्टीमा छिरेर एक बोतल लोकल रक्सी बिना सितन रित्यायो । अलिबेरपछि अझै थप्यो । म उसका क्रियाकलापहरू नियालिरहेको थिएँ ।  एकैछिनमा बाजागाजाका साथ एक हुल मान्छे अघि लागे । उसले झोला बोक्यो र लुसुक्क भीडमा छिर्यो । पाँच मिनेट जति अगाडि बढेपछि सबै रोकिए । त्यहाँ भव्य भोज चलिरहेको रहेछ । कोही खाना खाइरहेका थिए भने कोही नाच्न गाउनमा व्यस्त थिए । ऊ पनि अरू झैँ लाइनमा बस्यो र पालो कुरेर प्लेटभरि पुलाउ , काउलीको तरकारी , खसीको झोलवाला र कुखुराको फ्राई मासु राख्यो ।

चीज अट्ने ठाउँ थिएन । स्वाद लिइलिई खायो चम्चाले । र , डकार्यो । त्यसपछि अरूले झैँ सानो प्लेटमा दही लियो । खायो । न्यापकिन पेपरले हातमुख पुछ्दै यताउता टहल्यो । लाग्थ्यो यस्तो परिकार उसले अहिलेसम्म एकैसाथ कहिल्यै खाने अवसर पाएको थिएन । यसकै हाराहारी स्वाद भएको खाना कहिलेकाहीँ गौरीले बनाउँथिन् र आफ्नै हातले खुवाउँथिन् । माया मिसिएको खानाको स्वाद आफ्नो ठाउँमा थियो र त्योभन्दा भन्दा स्वादिष्ट उनका कोमल हात लाग्थ्यो । उसले आज पनि सदा झैँ गौरीलाई सम्झ्यो र सम्झ्यो ती दिनहरू । जुन दिनहरू दुई ज्यान एकजस्तै थिए र थिए एक अर्काको पिर मर्का बुझ्ने मनहरू । त्यो बेलाको कुरा; जुन बेला ऊ रक्सी खान त के गन्ध पनि मन पराउँदैनथ्यो । मातेको मान्छे देख्दा रिस उठ्थ्यो र एक्लै पनि बर्बराउँथ्यो  “जँड्याहाहरू…….”यो बेग्लै कुरा थियो ।

उसका हरेक घटनाहरू अस्वाभाविक र बेमेल लाग्थे मलाई । रक्सी पिउन सुरुआत गर्दाको कहानी पनि अचम्मैको थियो उसको ।

साथीहरू जाँडरक्सी र चुरोट बिँडीका अम्मली भए पनि उसलाई यस्ता कुलतप्रति बहुत घृणा थियो । बिहे पछाडि तिनै दाँवलीहरूले रक्सी खाएर सम्भोग गरे शीघ्र स्खलन नहुने र श्रीमतीलाई सन्तुष्टि दिन सकिन्छ भनेर खुवाउन मरिहत्ते गरे तर उसले मानेन । यद्यपि उसको मनमा यस्तो कुरा खेलिरह्यो ‘रक्सी खाएर सम्भोग गरे……।’ यसले उसलाई पछ्याइरह्यो । छोड्दै छोडेन । दिनभरि गौरी, गौरीका अङ्ग विन्यास, उनीसँग बिताएका पलहरू सम्झ्यो । कहिले रात पर्ला र खानपिन छिट छिटो सकेर सँगै सुत्न पाइएला ! दिमागमा यही मात्रै कुरा खेलाइरह्यो । र, राती हतारमा काम सक्यो । श्रीमतीको गुनासो आयो “तपाईं त के के न गरौँला झैँ झम्टिनुहुन्छ तर दुई मिनेट पनि अडिन सक्नुहुन्न ।” उसलाई यो असह्य भयो । आफैँलाई नामर्द सम्झ्यो र साथीहरूको सल्लाहअनुसार रक्सी नखाई आएकोमा पटक पटक धिकार्यो । अनि अर्कोतिर फर्केर सुत्यो तर राम्रोसँग निदाएन । र, भोलिपल्टदेखि रक्सी नखाई घर फर्कनै छोड्यो ।

०००

उसले सोच्यो, यो कुनै ठुलाबडाकै काजभोज हुनुपर्छ । जो पायो त्यहीले यत्रो धूमधामका साथ काँ यसरी खर्च गर्न सक्छ र ! जे होस् वर्षौंदेखिको भोक आजै मेटिए झैँ लाग्यो उसलाई । पेट छाम्यो, पुटुक्क उक्सिएको थियो । सबैतिरबाट बिचार गरिल्यायो र अन्तिममा भोजको आयोजकलाई हृदयबाटै धन्यवाद दियो । हिँड्ने बेला उसलाई एउटा अर्को सोच आयो; जुन मनासिब नै थियो । धक फुकाएर मनैदेखि भोजको आयोजना गर्ने र यसको केन्द्रीय आकर्षण जो धेरै मान्छेहरूको भीडको बिचमा भए जस्तो ठानेर ऊ त्यतै लाग्यो । मिष्टान्न परिकारले जिब्रो लट्ठ्याइदिने, निःशुल्क रूपमा मनले मागेको भरपेट खान दिने मनकारी धर्मात्मा सज्जन वृन्दको दर्शन नगरी जानू त शोभनीय हुँदैन भन्ने ठान्यो उसले । भीड छिचोल्दै उसले सकेसम्म घाँटी तन्काएर सबैले हेरेतिर हेर्यो । सोफामा विराजमान युगल जोडी जो मुस्कुराउँदै मान्यजनबाट आशीर्वाद ग्रहण गर्दै थिए ।

उसलाई आफूले टेकेको धर्ती भासिए झैँ लाग्यो । एक छिनमा टाउको घुमाएर चक्कर लाग्यो र भाउन्न छुटेर आयो । सपनामा समेत हत्तपत्त नदेखिने खालको दुर्लभ दृश्य जुन आफ्नै आँखाले देखिरहेको थियो र ऊ सशरीर त्यहीँनेर ठिङ्ग उभिएको थियो । उसलाई समय र स्थानको ख्याल हरायो । आफूले आफैँलाई बिर्सियो । हो, त्यहाँ गौरी नव दुलहीको स्थानमा विराजमान थिइन् जो केही वर्ष अगाडिसम्म भोलाको हप्कीदप्की सहेरै श्रीमतीको भूमिका निभाइरहेकी थिइन् । त्यति मात्र कहाँ हो र ? एकछिन अघिसम्म  गौरी र उनीसँग बिताएका पल र उनले बनाएको खानाको स्वाद सम्झिरहेको थियो ऊ ।

त्यसपछि भीडबाट फुत्त बाहिर निस्कियो र उकालो लाग्यो ऊ । म पनि उसैको पछिपछि लागेँ । ऊ त एक्लै फतफताइरहेको थियो,  “साला आज स्वास्नीको बिहे खाइयो ! …..”

गफ गर्दै हिँड्दा बाटो कटनी पनि सजिलोसँग हुने र उभित्र गुम्सिएर रहेका भावनाहरू पनि सुन्न पाइने लोभमा मैले बोलाएँ,

“ए भोला तिमी पनि यहाँ ! ल सँगै जाम् ।”

एकछिन त छक्क पर्यो अनि फिस्स हाँस्यो ।

त्यो हाँसोमा पीडाको मात्रा धेर थियो कि आफैँप्रतिको व्यङ्ग्य धेरै थियो; मैले ठम्याउन सकिनँ । अनि कुरा सुरु गर्यो, “सर आज त मैले स्वास्नीको बिहेभ‍ोज खाएँ नि ..!”