पानिपुर गाउँमा बस्ने एक विद्यार्थी कल्पू कलेजकै जेहनदार र बुद्धिमान केटी हुन् । उनले आफ्नो जीवनको अधिकतम समय त्यही गाउँमा बिताएकी हुन् । उनी अब विवाहको लागि योग्य भइसकेको कुरा उनलाई राम्रोसँग थाह छ । त्यसैले उनले आफ्नो भावी जीवनको बारेमा सोचिरहन्छिन् । अझ वैवाहिक जीवन पछिको कल्पनामा डुबिरहन्छिन् ।

उनलाई थाहा छ कि उनको विवाहको लागि योग्य बर खोज्न भनेर आफ्ना अग्रजहरूले यसै वर्षबाट धेरै आफन्तसँग कुरा राखेका छन् । उनले सोच्छिन्, ‘स्नातक तहको पढाइ सकिएपछि हरेक शिक्षित परिवारमा यस्तै हुन्छ । त्यसपछि बहाना बनाउने कुरा पनि हुन्न । अहिले कतिपय केटा वा केटीले आफैँले आफ्नो जीवनको फैसला गर्ने गरेका छन् । तर आफैँ गरेका हरेक फैसलाहरू हमेसा जायज नै हुन्छन् भन्ने पनि त छैन । आफै गरेका निर्णयहरूले सफलता चुमे भने त ठिकै होला । तर निर्णयहरूले हावा खाए भने त्यसको जिम्मेवारी पनि आफैले लिनुको कुनै विकल्प हुन्छ र ? बरु प्रेम नै गर्नु परे उपयुक्त पारिवारिक रोजाइको केटासँग गर्ने, मन मिले बिहे गर्ने नभए साथी बनाउने वा सम्बन्ध नै नगर्ने । यसले परिवारमा जिम्मेवारी थप्छ । सबैको बुझाइबाट आउने निष्कर्षअनुसार निर्णय लिने । हरेक  निर्णयहरूमा जस्तै घरमा चर्चा चलिरहेको विवाहको सवालमा पनि यो कुरा सत्य हो ।’

बेला बेलामा मनमा प्रेमका कुराहरू पनि नखेलेका हैनन् । कसैले मन पनि पराए होलान् र उनले पनि जेहनदार केटालाई ‘यत्तिको केटा भए’ भनेर नसोचेकी हैनन् । तर उनी आफू मात्रैको निर्णयले धोका खान सक्ने भनेर सधैँ सचेत बनिन् ।

गृष्म ऋतुको चपेटाले गाउँलाई ब्युँझाएझैँ लाग्दथ्यो । सबैतिर रोपाइको माचो थियो । मकै भाँच्ने, धानको बिउ उखेल्ने, कोदाको बिउमा खरानी, पिना र जुतो मिसाएर छर्ने, धान रोप्ने कामले गाउँमा मेलाको झैँ रौनक ल्याएको थियो । गाउँमा अचेल खेताला पाउन धेरै दुःख छ । घरमा एक दुई जना विदेश नगएको घरै छैन ।

यस्तैमा कल्पू पनि स्नातकको अन्तिम परीक्षा दिएर घरको काममा लागिन् । उनले आफ्नो बारेमा कम र घरको बारेमा धेरै सोच्छिन् ।

असारको मध्यतिरको कुरा हो, घरमा मकै भाँच्ने खेतालाहरू थिए । कल्पूले पिँढीमा बसेर दिउँसोको खाजाको लागि हरिया बोडीहरूको तरकारी केलाउँदै थिइन् ।

अचानक उनको आमाले कल्पूलाई घर भित्र बोलाएर भनिन्, ‘हेर छोरी ! आज भरेतिर तिमीलाई हेर्न केटा आउँदै छन् । अलिक सिम्पल भएर बस्नु । विदेशबाट आएका केटा हुन्, कुरा गर्दा नरम भएर गर्नु । केटाका बाउ पनि आउने रे !’

‘परीक्षा भ्याउन पाएको हैन, खाली बिहे बिहे ! ‘कल्पूले आमालाई मुख निचोरेर जवाफ दिइन् ।

‘के गर्छेस् बाई ! छोरीको जात, धेरै उमेर भएपछि बुढी केटी भन्छन्, बेलैमा बिहे गर्नु पर्छ । केटो राम्रै छन् भनेका छन् । विदेशमा पढेको, उतैको ग्रीनकार्ड छ रे !’ कल्पूकी आमाले यति भनिसकेकी के थिइन् । आमाको मोबाइलको घण्टी बज्न थाल्यो । केटीका काकाको फोन रहेछ । आमा फोनमा व्यस्त भइन् ।

कल्पूले केटा ‘राम्रो भएता ठिकै होला, नत्र मन परेन भन्दिन्छु,’ सोच्दै बाहिर निस्केर बोडी केलाउन थालिन् ।

बोडी केलाउन नभ्याउञ्जेल उनले ‘केटासँग कसरी कुरा गर्ने होला भनेर धेरै सोचिन् र सवाल जवाफको नक्सा दिमागमा कोरिन् । जति बोडीका गेडा उनको अर्को देक्चीभित्र पसे, त्यो भन्दा धेरै सम्बन्ध र विवाह पछिको भविष्यबारे उनले कल्पना गर्न थालिन् । अनगिन्ती आशङ्का र आफ्नो क्यारियरका सुनौलो आशाबिच सुनामीको लहर झैँ तरङ्गहरू उठ्न थाले । शरीर अररो बनेर आयो । ‘कसरी कुरा गर्ने होला ? जसले गर्दा केटाका आंशिक कुराहरू थाहा होस् !’ उनले प्रश्नहरू सोच्न एक शृङ्खला बनाउन चाहिन्  । मन आत्तिएकोले पछिल्लो प्रश्नबारे सोचिसक्दा अघिल्लो प्रश्न हराउँथ्यो । यो क्रम उनको मनभित्र धेरै बेर चलिरह्यो ।

‘विदेशमा हुर्के बढेको केटा, खराब नै किन नहोस् ? थाह पाउनु कसरी ?  केटी साथी पनि त हुन सक्छन् ।’ यसरी सोच्दा नसोच्दै उनको मनमा अर्को बिचार पनि आयो, ‘संसार पुरै खराब त कहाँ छ र ! केटो असल पनि त हुन सक्छ । आ ! राम्रोसँग कुरा गर्छु र केही महिना बुझ्ने समय पनि माग्छु । अचेलको जमानामा अलिक लामो समय नबुझी कसले बिहे गर्छ र !’ आखिर उनले त्यही निष्कर्ष निकालिन् र आफ्नो आत्तिएको मनलाई शान्त पारिन् ।

पर्ला जस्तो जस्तो भए पनि पानी परिहालेको थिएन अजको दिन । सबै जना आ-आफ्नो काममा व्यस्त थिए । बेलुकातिर बसमार्फत केटालाई लिएर उसको बाउ पानीपुरको बस स्टेसन आइ पुगेको खबर कल्पूका अङ्कलले आमालाई बताए ।

‘ल भाउजू, केटा आएछन, स्टेसन म लिन जान्छु । बेलुकाको खाना यतै खाने भनेको छु । साउनमा खिर खाने भन्छन्,खिर पकाउनु है भाउज्यू माथि दूध छ देक्चीमा !’ कल्पूका काका सफा कपडा लगाएर केटा लिन स्टेसनतिर हानिए ।

घरमा पाहुना आएपछि घरको माहौल अर्कै भएको थियो । केटालाई हेर्दै केटी पट्टिका सबै एक आपसमा फुस्फुसाइरहेका देखिन्थे । त्यतिकैमा घरमा केटा र केटाका बाउ, केटीकी हजुरआमा, काका सबै बसेर परिचय गर्न थाले । कल्पूलाई पहिलो नजरमा केटा कस्तो लाग्यो कुन्नि ? उनले केटालाई हजुरआमाको पछाडि बसेर घुरी घुरी हेरिरहेकी थिइन् ।

‘ल केटा केटीलाई माथि कोठामा कुरा गर्न पठाउनु पर्यो । नारी पर्दैन, पच्चीस गुण आएको भन्थे पण्डितले ।’ कल्पूका काकाले खाना खानुअगाडि नै केटा केटीलाई माथि कोठामा जान भने ।

कल्पूकी आमाले छोरीको कानमा केही बेर के के हो कुन्नि फुसफुसाइन् । त्यसपछि कल्पूले केटालाई कोठामा लिएर गइन् । दुवै अलग अलग सोफामा बसे । केही बेरको मौनत पछि कल्पूले दुई गिलासमा पानी भरिन् र एउटा केटालाई दिँदै भनिन्, “नाम के भन्नु भो कुन्नि ? मेरो नाम कल्पना हो । सबैले मलाई मायाले ‘कल्पू’ भनेर बोलाउँछन् ।’

केटाले पनि केटीको नाम ‘सुन्दर’ भन्दै आफ्नो नाम ‘मनिर’ भनेर बतायो । उसले आफूलाई आफ्ना साथीहरूले मायाले ‘मनि’ वा ‘मनु’ भन्ने गरेको सुनायो ।

कल्पू(केटालाई हेरेर मुस्कुराउँदै) : मलाई हेर्नु भन्दा अगाडी म तपाईंसँग विवाहको लागि योग्य हुन पनि सक्छु भन्ने कसरी थाहा पाउनु भयो ?

मनिर(भुइँतर्फ हेरेर) : बाहुन दाइले तस्बिर पठाएपछि परिवारसँगको साझा सहमति, समान सामाजिक र आर्थिक अवस्था र इमानदार चरित्रको आभासले बुबासँग म हेर्न आएको हुँ ।

कल्पू (मनिरतर्फ सङ्केत गर्दै) : झट्ट हेर्दा म तपाईंलाई राम्रो लागेँ त ?

मनिर (हात चलाउँदै) : मलाई मात्र राम्रो लागेर त भएन नि ! अनि अनुहार भन्दा सोच र गुण महत्त्वपूर्ण कुरा हो नि, हैन र !

कल्पू (हाँस्दै): मलाई देखे पछि तपाईंको मनमा कस्ता कुराहरू खेलेका छन् ?

मनिर : तपाईंलाई देखेपछि अलिक लज्जालु, इमानदार र स्वाभिमानी मान्छे भेटेको अनुभूति भएको छ । अरू कुरा त के सोच्नु र ? बरु तपाईंको कुरा भन्नुस न !

कल्पू : मेरो कुरा त,तपाईं मेरो जोडी मिल्ला जस्तो सम्भावना अलिक कम नै देख्छु ! केटीसँग पहिलो भेटमा नि तपाईं मुस्कुराउन सक्नु भएन, त्यसैले भनेकी ।

मनिर(सानो स्वरमा) : लाजले मुस्कुराउन नै बिर्सेछु । केटीसँग बोल्दा लाज लागेर हो, अन्यथा नसोच्नु, सरी !

कल्पू : तपाईंको विगतमा कुनै केटी साथी थिएनन् भन्ने म कसरी विश्वास गरूँ ?

मनिर : विगतमा मेरा केटी साथी थिएनन् भन्ने प्रमाण त केही दिन सक्दिन । तपाईंले वा आफन्त मार्फत आफै बुझ्दा हुन्छ । मेरा साथीहरूको सम्पर्क वा म पढेका कलेजका गुरुहरूको सम्पर्क दिन्छु । सबै सम्पर्क मध्ये कुनै एकले त सत्य बोल्लान् नि, हैन र ! तपाईंले पनि त्यसरी नै सम्पर्क दिन सक्नु हुन्छ ?

कल्पू (रिसाए झैँ गरी झन्केर) : अवश्य, मेरो एक पटक स्कुल पढ्दा एक केटा साथी थियो । अलिअलि अव्यक्त प्रेम भए पनि हाम्रो गलत सम्बन्ध थिएन । उसले अमेरिका पुगेर उतै बिहे पनि गरिसक्यो रे ! त्यति मात्रै हो । त्यसमा तपाईंले माइन्ड त गर्नु हुन्न नि !

मनिर : साँचो बोलेकोमा धन्यवाद ! मलाई अझै विश्वास बढ्यो । अब अरू सम्बन्ध त छैन नि !

कल्पू(नरम पाराले) : हैन, तपाईंको प्रतिक्रिया बुझ्न झुट बोलेकी जस्तो त लागेन नि ? खासमा मेरो अहिलेसम्म कोही केटा साथी छैनन् । म तपाईं भन्दा सानी छु । जोडी मिल्दैन कि भन्ने लागेको त छैन ? ( पानी पिउँछिन् र जवाफ सुन्न धैर्य हुन्छिन् ।)

मनिर : जीवन शरीरको आकार हेरेर चल्दैन नि । रूप र आकार त प्राकृतिक हो । प्रत्येकको एक अर्कामा फरक हुन्छ । प्राकृतिक कुरामा गुण र दोष केलाउनु मलाई मूर्खता जस्तो लाग्छ । प्राकृतिक गुण र रूपलाई माने पनि नमाने पनि सबैले स्वीकार गर्नुको विकल्प के छ र ?

कल्पू : त्यो त हो ।अनि अर्को कुरा सोध्दा रिसाउनु हुन्न नि ? (अकमकाउँदै) यो भन्दा अगाडी कति केटी हेर्नु भयो ? सबैमा तपाईंले अनुभूति गरेका कुरा सुनाउनु होस् न !

मनिर(सम्हालिँदै) : नेपालमा मन नपर्ने केटी को पो होलान् र ! तर एरेन्ज म्यारिजमा अचेल आफू अनुकूलका केटा केटी खोज्दा समस्या देखिन लागेछ ।  धेरैको पहिला नै केटा वा केटी साथी हुने रहेछन् । मन परेकोमा पनि कतिको ज्योतिषीले नारी पर्यो भन्दिने ! मन पेट सबै मिलेर विवाह गरुन्जेल केटा केटी दुवैले यस्ता जाँच दिई रहनु पर्ने,अनि जाँचमा पनि पास हुनु पर्ने (हाँस्दै) । कतिपय १२ पास गरेपछि विदेश पलायन । केही केटीका कुरा नआएका हैनन् तर कुराकानीको अवस्थासम्म आएको तपाईं मात्र हो । फोटो हेर्दै खेरि मलाई तपाईँ राम्री र योग्य हुनुहुन्छ जस्तो लाग्यो । आइहालियो, खै म तपाईंलाई मन पर्दिन होला !

कल्पू (चरित्र जाँच्ने सुरले हो कि खुब हाँस्छिन्) : आज मेरो नजिक आएर सँगै बस्न सक्नु हुन्छ ? केटीसँग डर लाग्छ कि क्या हो, टाढा बस्नु भो नि तपाईं !

मनिर (लजाउँदै) : नाइँ लाज लाग्छ । बाहिर अरूले हेरेका छन् । मन मिले विवाह मण्डपमा छुम्ला, उचालौँला । अहिले विवाह नगर्दै यत्तिकै बसेर गफ मात्र गरौँ । गफ सकियो भने बरु बाहिर निस्कौँ । (यति भनी सकेपछि उसले चलिरहेको पङ्खालाई हेर्न थाल्दछ ।)

कल्पू : महिलाले लगाउने पहिरन र गर-गहना वा शृङ्गारबारे तपाईंको धारणा के छ ? मलाई त सृंगार र सौन्दर्य प्रति रुचि छ । त्यसमा तपाईँको आपत्ति त छैन ?

मनिर : पहिरन, शृङ्गार, सौन्दर्य भन्दा ठुलो कुरा प्रकृति, जीवन र चेतना हो, मन भित्रको सुन्दरताको अधिक महत्त्व हुन्छ जीवनमा । अवस्था अनुकूलको शृङ्गार र पहिरनप्रति मेरो गुनासो छैन । सौन्दर्य सबैलाई मन पर्छ होला ! सुन्दर देखिनको लागि नाङ्गै हिँड्नु चाहिँ भएन, हैन र ?

कल्पू (खुब हाँस्छिन्) : (केही बेर सोचेर)स्कुलमा साथीसँग झगडा भएको सम्झना छ तपाईंलाई ?

मनिर : सानोमा भए होला, खै पछिको सम्झना छैन ।

कल्पू : घरमा ?

मनिर (अलिक नमज्जा मान्दै) : सानोमा भएको भए मलाई थाह छैन, बरु मेरो बाबालाई सोध्नुस् न सानोका कुरा ।

कल्पू : कहिलेकाहीँ मैले तपाईंसँग झगडा गरेँ भने तपाईंले पिट्नु त हुन्न नि ?

मनिर : हिंसा समस्या समाधानको बाटो हैन । मलाई लाग्छ, मैले सकभर झगडा गर्ने वातावरण बनाउन दिन्न । बिहेपछाडि यदि मेरो जीवन संगिनीले झगडा सुरु गरिछन् वा रिसाइछन् भने म केहीबेर बाहिरिने र आएर सम्झाउने छु । घृणा प्रेमले मेटिन्छ भन्ने कुरा दुवैले बुझे पछि सबै विवादहरू समाप्त हुन्छन्, हैन र कल्पूजी ?

कल्पू : ठिक छ, किचनमा तपाईं काम गर्न जान्नु हुन्छ ? घरको कामबारे रुचि छ कि छैन ?

मनिर : मेरो बिचारमा किचनमा दुवैले काम गर्दा प्रेम अझै गाढा हुँदै जान्छ । किचनको काम सबै सिकेको छु । विश्वविद्यालय पढ्दा ‘पार्ट टाइम जब’ पनि रेस्टुरेन्टमै गरेकोले किचनमा काम गर्न समस्या छैन । फुर्सद हुँदा ममीसँग किचनको काम सियर गर्छु । त्यो बाहेक घरको सफाइ सबै पनि मिलेर गरिन्छ । त्यो त आफ्नो काम भयो नि,घरको काम महिलाहरूको मात्र ठेक्का हो र ?

कल्पू : गजब कुरा, मलाई मन पराउनु भयो त ?

मनिर : यति खुलेर कुरा गर्ने मान्छेमा मन नपर्ने कुरा पनि होलान् र ?

कल्पू : अझै एकापसमा बुझ बुझारथ हुनु पर्छ झैँ लाग्छ, त्यसैले मैले तपाईंसँग तत्काल बिहे गर्न सक्दिन है । अलिक समय असल साथी मात्र बन्न सक्नु हुन्छ, मेरो कुरा मान्नु हुन्छ नि ?

मनिर : ठिक छ, विवाह गर्ने कुरा भावनात्मक मात्र हैन, सबै मिल्नु पर्छ । असल साथी बनेर पनि भेटघाट वा कुरा गर्न पाइन्छ भने के नराम्रो भयो र ? हुन्छ नि, फोन नम्बर दिनुस् मिल्छ भने ।

कल्पू (स्वर चर्को हुन्छ) : तपाईंको सबै बानी पनि त थाह छैन, फोन नम्बर दिए पछि केटाले प्राय केटाले बेला न कुबेला फोन गरेर हैरान पार्दछन्, दिन्न । म्यासेन्जरमा कुरा गरौँ केही महिना, हुन्न ?

मनिर : हुन्छ । मैले सोध्नु पर्ने कुराहरू म्यासेन्जरबाटै सोधुँला है ।

कल्पू : हुन्छ नि, साँच्चै मेरो अर्को जिज्ञासा पनि छ । म त साथीहरूसँग अलिक भेटघाटमा रमाउंछु । बिहे पछि मेरो स्वतन्त्रताको बारेमा तपाइको के धारणा छ ? रोकावट त हुन्न ? पढाईको कुरा पनि छ ।

मनिर: साथी सबैलाई मन पर्छ । घर बाहेक पनि त संसार छ । त्यसमा पनि मानिस सामाजिक प्राणी हो । तर जमघटमा अल्कोहल पिउन र धूम्रपान गर्न चाहिँ सिक्नु हुन्न । मैले पनि अहिलेसम्म अम्मल सिकेको छैन र मेरो जीवन साथीले पनि त्यस्ता कुरा सिकुन् भन्ने चाहन्न । अझै पढ्ने हो भने पनि मेरो सहयोग र समर्थन रहन्छ ।

कल्पू : हो, म अझै पढ्न चाहन्छु मतलब मास्टर्स वा त्यो भन्दा बढी । खाने पिउने कुरामा मेरो राय तपाईंसँग मिल्यो । बरु कस्ता कस्ता कुरामा तपाईंको रिस बढी उठ्छ थाह पाउन पाए ?

मनिर : गरेको काम बिग्र्यो भने आफैँसँग बढी रिस उठ्छ । अरूसँग रिस उठे पनि हिंसात्मक बन्नु हुन्न भन्ने कुरामा म सचेत छु । त्यसैले म रिस नमरुञ्जेल अपशब्द वा गाली मुखबाट निस्केला भनेर बोल्दै बोल्दिन । अलिक समय पछि नर्मल हुन्छु । तपाईं नि ?

कल्पू : यो चाहिँ तपाईंबाट सिक्ने कुरा रहेछ । म कहिलेकाही उत्पात रिसाउँछु । धेरै बोल्छु तर हातै चाहिँ हाल्दिन ।

मनिर (अचम्म मान्दै) हात नहाले मुखले त कसैलाई केही हुन्न । तर दुवैले दुवैको सम्मान गर्न सिके रिसलाई पनि नियन्त्रण गर्न सकिन्छ ।

कल्पू : खै, त्यो बानी सिक्नु पर्ला । अनि अर्को कुरा नि ! सामान्य रूपले महँगा उपहारको लेनदेन बिना बिहे मन्दिरमा वा अदालतमा गर्दा हुन्न र ! कि दाइजो खोज्नु भएको छ र ?

मनिर : मनले एक अर्कोलाई मन पराए पछि बिहे जसरी गरे पनि भयो । विवाहमा कन्या भन्दा अर्थ वा महँगा उपहारहरूको प्रदर्शनले अरू मानिसलाई असर नपरोस् भनेर सचेत हुनु चाहिँ जरुरी छ । समाजमा चलिरहेको विकृतिपूर्ण आडम्बर, हाइफाई र दाइजोको बारेमा मेरो सख्त विरोध छ ।

कल्पू :हुन्छ त ! मलाई तपाईं असाध्यै मन पर्नु भयो । तपाईंलाई पनि म मन परेँ भने मङ्सिर वा फागुनमा बिहे गरौँला । हैन भने साथी मात्र बनेर बसौँला हुन्न र ? उठौँ त अब ।

केटाले सहमतिमा टाउको हल्लायो । प्रश्न उत्तरको अन्त्यमा दुवैले टेबुलमा राखेको गिलासको बाँकी पानी पिए । दुवै जना उठे र केहीबेर नजर जुधाएर लज्जा बोधले अनुहार रातो पार्दै बाहिर निस्के ।

केटी पक्षका अभिभावक र लेखक बाहिर बसेर गफिँदै कल्पू र मनिरको प्रतीक्षा गरिरहेका थिए । केटाकेटी दुवैको चेहरामा उज्यालो छाएको थियो । दुवै आफ्ना अभिभावकको अगाडी पुगेर लजाउनुको साथै मुस्कुराए पनि । यसको सङ्केत सायद दुवैले दुवैलाई मन पराएको हुनु पर्छ । मनिर बाबु लेखकको नजिक आएर बस्यो भने केटी उनकी आमा भएतिर गइन् र आमाको आडमै बसिन् ।

केटा केटीलाई सोधेर निधो दिने भन्दै दुवै पक्ष छुट्टिए । त्यो रात मनिरका बाबु छोरा दुवैले पानीपुरको एक होटलमा रात बिताए । अर्को बिहान दुवैले आफ्ना सामल तामल पोको पारेर कृष्णपुरको बस भेट्न पानिपुरको बसपार्कतर्फ लागे । केटी र उसका दाजु केटाको बिदाइको लागि बस पार्क आए । केटा र केटीले पनि आफ्ना अभिभावकको आँखा छलेर अन्तिम पटक नयन एक बनाए र मनमा प्रेमको तस्बिर खिचेर बसपार्कबाट बिदा भए  ।