[यस कथाको निमित्त म दुई व्यक्तिको साह्रै आभारी छु । अमेरिकन कवि ‘कार्ल शापिरो’ तथा जर्मन भिक्षु ‘लामा अनागरिक गोविन’ जसका दुई एकदमै विभिन्न दृष्टिकोण र दर्शनले मलाई प्रभावित पारेका छन् र जो यो कथाका पङ्क्तिहरूमा प्रष्टसँग देखा पर्दछन् । यो कथा, तसर्थ, ती दुई व्यक्तिलाई समर्पित छ लेखक !]

ओ गाइड ! तिमी बुझ्दैनौ, बुझ्नै सक्दैनौ, पहिलो पटक तिम्रो धरतीमा टेक्न पाउँदा हामी पश्चिमालाई कस्तो आनन्द मिल्छ । चार भन्ज्याङभित्र डकोटा पस्नासाथै यो हरियो उपत्यका र यसका तरेली परेका खेत र यसका माटोले पोतेका घर- राता, पहेंला, सेता, यसको हावामा माटो र हिमालयको गन्ध, यसको वातावरणमा युग-युगान्तरको शान्ति… तिमी यसैमा जन्म्यौं यसकारण नीला पहाडले हात फिँजाएर गरेको यो अङ्कमाल तिमीलाई बन्धन जस्तो लाग्छ होला, तर हामी जो मैदानमा बस्छौं, जो समुद्रको छेउमा बस्छौं, जसको दृष्टि क्षितिजमा बिलाएर जान्छ- जमीनको होस् अथवा पानीको होस्- हामी जान्दछौं पहाडको छातीले तिम्रो दृष्टि कसरी प्यारसाथ सदा टाँसिरहन्छ । दृष्टि बिलाउनमा आफू बिलाएको हीनता तिमीले कहिले भोग्नपरेको छैन । हामी सदा विशालतामा चिप्लिरहेर होला, मेरा साथी ! तिम्रो यो घेरा प्रिय लाग्दछ । अनि तिमीले एक कुरा विचार गरेका छौ ? कसरी एयरपोर्टमा नै बुद्धको अर्धमुदित नयनले तिमीलाई स्वागत गरेको अनुभव हुन्छ । कसरी एक शान्ति, एक प्रत्यावर्तन, एक बास मिलेको अनुभव हुन्छ । तिमीहरूले सदा पश्चिमलाई दिन नै जान्यौ धर्म दियौ, पुराण दियौ, काँसका मूर्ति दियौ, हस्तिहाडका गहना दियौ, ताडपत्र दियौ, ताम्रपत्र दियौ, सभ्यता दियौ, ज्ञान दियौ, गलामा चमेलीको माला दियौ, तिमीले सदा-सदा दिई नै रह्यौ, र तिमी जान्दैनौ लिनु केलाई भन्दछन्, तिमी जान्दैनौ स्वामित्व केलाई भन्दछन्, तिमी जान्दैनौ उपभोग केलाई भन्दछन् !!

मेरा साथी ! तिम्रो इतिहास म जान्दछु, तिम्रो देशमा आउनुअघि कैयन् वर्ष मैले मेरा पुस्तकालयहरूमा तिम्रा अमूल्य ग्रन्थहरूको पाना-पाना पल्टाएको छु ।

तिमी त मलाई आधुनिक गल्ली-सडकमा डोऱ्याउने एक गाइड न हौ, म तिमीलाई तिम्रा प्राचीन सडकमा डोऱ्याउन सक्दछु । म प्रष्ट देख्छु यो उपत्यका जलमग्न भएको र त्यहाँ, जहाँ अहिले स्वयम्भूनाथ छन् त्यहाँ एक कमल फुलेको, म प्रत्यक्ष देख्छु चोभारमा मञ्जुश्रीले खड्ग हानेको; म प्रत्यक्ष देख्छु पीतवर्ण लगाएका भिक्षु-भिक्षुनी काष्ठमण्डपका कुना काप्चामा भिक्षा लिने र धर्म प्रचार गर्ने गरेको ।

आह ! कपाल ताछेका यी भिक्षुका आँखा हेर ! यसमा तिम्रो दृष्टि अड्दैन । उनको यस दृष्टिलाई सम्यक्-दृष्टि भन्दछन् । जान्दछौ सम्यक् दृष्टिको अर्थ ? यसको अर्थ हो स्वच्छ र निर्लिप्त दृष्टि- यस्तो दृष्टि जसले वस्तुहरूलाई तिनको यथार्थ रूपमा देख्छ । एक पेग अरू लेऊ त्यसपछि डिनरमा जाउँला । तिमी जो मन्दिरजस्तो घरमा बस्दछौ, त्यस घरको रूप र त्यसको सौन्दर्य र त्यसको वशीकरण तिमीलाई अनुभव हुँदैन । तिमीलाई यी काठका मूर्तिमा, यी विभिन्न बुट्टामा, यी विभिन्न शैलीहरूमा के एक कलाकारको हातमा रहेको छिनोको सङ्गीत बजेको अनुभव हुँदैन ?

भन त, अतीतको धूलामा पुरिएका ती हृष्टपुष्ट सुन्दर तरुण कलाकारहरू कसरी दिनभर खेतमा काम गर्दा हुन् र बिहान-बेलुकी आफ्ना इष्टदेवको सुन्दर रूप रच्दा हुन् । काठको मूर्ति ताछिरहेको बेला उसकी पुड्‌की डल्ली स्वास्नीले पिठ्यूँमा बच्चा बोकेर एक हातले अन्तीबाट रक्सी खन्याउँदा जो फौंज खोल्चामा उम्री जम्थे-

के तिनले त्यो कलाकारलाई जिंगटीकै छाना राख्ने प्रेरणा दिएन होला ? आह, तिम्रो देश निश्चय पनि महान् हो-यही हो त्यो देश जहाँ विभिन्न संस्कृतिले बास पायो ।

आर्य, अनार्य, हिन्दू, बौद्ध सबै यहाँ पुगे, सबैले यहाँ पुनर्जन्म पाए । यो तिम्रो देशको माटोको असर हो, यो यहाँको विभिन्न जातका माटाको असर हो, मेरा साथी ! सबै यहाँ एकसाथ हुर्किन सके । आऊ एक सानो पेग अरू थपूँ, डिनरको बेला भएको – छैन । तिम्रो म साहै आभारी छु, तिमीले मलाई नेपाली-नेवारी दुवै खाना ख्वायौ । आह ! मोमो, सम्झ त, जाडो महीनामा बुइगलमा बसेर आगोको मात्र उज्यालोमा जब धूवाँ हुस्सु जस्तै छानामुनि लटरम्म लागेको होस्, सुकुलमा बसेर अंशुवर्माले भृकुटीलाई भोट पठाउँदा साथमा गएको नेपाली सामानको एक-एक विस्तृत बेहोरा बाजेले नातिलाई सुनाइरहेको दृश्य ! बज्यै चाहिं बाँसको सोतेमा तमाखु खाइरहेकी र बाजेको स्मृतिलाई बीच-बीचमा ताजा बनाइरहेकी र पित्तलको थालमा ताजा, गरम-गरम मोमोको खेप बुहारीले ओसारेकी र ताजा मोमो मुखमा हाल्दा बाजेको स्वरमा तोतेपन आएको र नाति हाँसेको र बाजेले छिटो निल्न खोजेको र जिब्रो डढेको र निर्धक्कसाथ फोहोर गाली गरेको – यी यस्ता दृश्य हुन् जो कुनै पुस्तकालयका पुराना ग्रन्थबाट पढ्न सकिंदैन, यिनको निमित्त आउनैपर्छ काठमाडौं र भिज्नैपर्छ यहाँको वातावरणमा यसको निमित्त म तिम्रो साह्रै आभारी छु । आऊ तिम्रो महान् राष्ट्र र मेरो महान् राष्ट्रका नाममा एक फेरा चीयर्स गरौं ।

आह ! एक अर्को कुरा, जो किताबमा छैन, त्यो हो यहाँका मानिसहरूको अनुहारमा व्याप्त एक हाँसो । एक स्वागतपूर्ण हाँसो, एक यस्तो हाँसो मानौं हामी पूर्वकार्यक्रमअनुसार भेट्दै छौं, मानौं यो भेट हाम्रो पहिलो होइन, मानौं दिनभर खेतमा काम गरेर आएको म, त्यस ज्यापू अनुहारको जेठो पुत्र हुँ, मानौं मेरो श्रम सफल भएको छ र मेरो पिता मसँग तृप्त छन्, मानौं मैले संसारकी सबभन्दा राम्री आइमाईलाई स्वास्नी बनाई पछि-पछि डोऱ्याएर ल्याएको छु र मेरी आमा द्वारमा स्वागतसाथ हाँसिरहेकी छिन्, मानौं बहिनीको लोग्नेसँग मेरो गहिरो दोस्ती छ र ज्वाइँ-जेठान दुवै रक्सीको सुरमा गीत गाउँदै, ढुनमुनिंदै, अँगालो मार्दै आइरहेछौं, मानौं-म भन्न सक्दिनँ, जत्ति बयान गरे पनि यसको पूर्ण बयान म गर्न सक्दिनँ- यो हाँसो ज्ञानपूर्ण छ, यो हाँसो आत्मीय छ, यो हाँसो स्थानीय छ । – एक पेग अरू, तिम्रो नेपाली हाँसो, मधुर हाँसोको निम्ति । अनि फेरि आँखा, यी आँखीझ्यालका आँखा, यो ढोकाका खापाका आँखा, यी स्तूपका आँखा, यी मानिसका आँखा, खुट्टा उचाली छिमेकको केटोले तिम्रो बारीमा अलुबखडाको बोट हेरेको जस्तो डाँडाको कापबाट हेर्ने यी हिमालका आँखा ।

यो आँखाहरूको देश हो । दृष्टि भएकाहरूको देश हो । भगवान् बुद्धका अर्धमुदित नयनले रक्षा गरेको देश हो । आज संसारका सम्पूर्ण इतिहासका ग्रन्थ नाश भए पनि तिम्रा आँखाले एक सभ्यता निर्माण गर्नेछ, एक सभ्यता साँचिरहनेछ । आँखा हेर्ने मेरो चाहना अझ तृप्त भएको छैन । भोलि जाऊँ एक एकान्त ठाउँ जहाँ एक स्तूप होस् र जहाँ होस् प्रष्ट नयन, जहाँ म सूर्यास्त बेलाको शिथिल घाम बुद्धको आँखामा, आँखाको किनारमा प्रतिविम्बित भएको हेर्न चाहन्छु । मलाई एक यस्तो सुन्दर र श्रेष्ठ र पूर्ण आँखा देखाइदेऊ जसको सम्झनाले मलाई, मेरो यो यात्रा अमर बनाइदेओस् । आऊ, डिनर खान जाऊँ..। आऊ, अतिथि, तिमीलाई म आज आँखा देखाइदिन्छु । यस डाँडोलाई चोभार भन्दछन् । तिमीहरू यहाँ मञ्जुश्रीको खड्गको दाग र बाग्मतीको निकास हेर्न आउँछौ- आज म तिमीलाई यो डाँडामा उकाल्छु जहाँ कमै अतिथि जान्छन्, जहाँ टुरिस्टको मोटर पुग्दैन, जहाँ अझै (तिम्रा शब्दमा) अतीतको संस्कृतिलाई समयको धूलोले छोप्न सकेको छैन । तिमीले कुल्चेको ढुङ्गा देख्छौ ? हेर, यसमा यस गाउँको एक बालकलाकारले चरा सिर्जेको छ, अर्को खुड्किलामा एक देवलको नक्सा छ ।

कलाकारले कुन धर्मको देवल हो त्यो खोप्न बिर्सेछ । माथि गाउँको बीचमा एक मन्दिर छ आदिनाथको, जसको प्राङ्गणमा शिवालय छ, छन् बुद्ध भगवान्, छन् ‘ओं मेमे पेमे हूं’ का कैयन् प्रेयर ह्वील । तिम्रो भनाइअनुसार यो नेपालीको सहनशीलता र सहअस्तित्वको जिउँदो नमूना हो । त्यहाँ केटाकेटीहरू मस्त भै देवताहरू र तिनका धर्महरू र तिनका दर्शनहरूको वास्ता नगरी खेल्दछन्, तर मेरा अतिथि, म त्यहाँ तिमीलाई लग्दिनँ ।

तिमीले यी सब प्रशस्त देखिसक्यौ, प्रशस्त बुझिसक्यौ, प्रशस्त प्रचार गरिसक्यौ- म आज तिमीलाई यस्तो एक घरमा लग्छु जहाँ तिमी पाउनेछौ यथार्थको राम्रो स्पन्दन । यी एक किसान-परिवार हुन् जसको एक-दुई रोपनी खेत यतै कतै होला जहाँ यी काम गर्दछन्, पसीना चुहाउँछन् र शहरमा अधियाँ तिर्न जान्छन् । यिनको बुइगलमा धूवाँ लटरम्म लाग्दैन र यिनको चूलोमा तातो तातो गरम-गरम मोमो पाक्दैन र यिनको जाडोमा अंशुवर्माकी भृकुटीको दाइजोको चर्चा हुँदैन । यिनको घरमा एउटा बालक छ र त्यो बालक कुनै अवातर पेनि होइन ।

एक गरीब ज्यापूको घरमा ‘पोलियो’ रोगले त्रसित भई जन्मेको बालकले निश्चय पनि धर्मप्रचार गर्न सक्दैन, निश्चय पनि सामाजिक क्रान्ति गर्न सक्दैन, निश्चय पनि यो पृथ्वीलाई केही देन दिन सक्दैन । ऊ त स्रष्टाको एक अनौठो सृष्टिको रूपमा यहाँ जन्म लिन पुगेको छ । फेरि अर्को कुरा, मेरो साथी । ओहो तिमीलाई पहाडले थकाएछ, थर्मसको फिल्टर पानी दिऊँ ? अँ, म उसलाई यहाँ कुनै प्रतीकको रूपमा तिमीलाई दर्शन गराउन लागेको पनि होइन । तिमी जो हिजो ब्लैक एन्ड ह्वाइटका तरङ्गमा बगेका थियौ र तिमीले हिजो मलाई अनुरोध गरेका थियौ आँखा हेर्ने, एउटा यस्तो आँखा जसले तिमीलाई आफ्नो नेपाल भ्रमण चिरकालसम्मन् सम्झाइरहोस् ।

म त्यस्तै आँखा देखाउन तिमीलाई त्यहाँ लगिरहेछु । बालकको सम्पूर्ण अङ्ग निष्क्रिय छ ऊ बोल्न सक्दैन, हात चलाउन सक्दैन, गोडा चलाउन सक्दैन, थुक्न सक्दैन । उसका शरीरमा जीवित छन् सिर्फ दुई आँखा जसका सहारामा ऊ बाँचिरहेछ । म भन्न सक्दिनँ – उसका ती नयनमा सम्यक्-दृष्टि छ-छैन म त्यसको परिभाषा पनि त बुझिदनँ तर उसको अनुहार निश्चय पनि भावनारहित छ, दृष्टि निर्लिप्त र सङ्कल्पशून्य र वाक्हीन, कर्मान्तररहित, आजीवरहित, व्यथारहित, समाधिरहित (शायद नचाहेर पनि मैले बौद्ध धर्मको आर्य अष्टाङ्गीमार्ग बोल्न पुगेछु, जो तिम्रो प्रभाव हो अथवा बालकको नै प्रदत्त गुण हो)। मेरा अतिथि ! तिमीले चाहेको आँखा यही हो ।

जीवनद्वारा, एक प्राणद्वारा अनेक शक्ति सञ्चारित भइरहेको हुन्छ । तिमी खुशी हुन्छौ, मुस्कुराउँछौ, वेदना हुन्छ रुन्छौ, जाडो हुन्छ न्यानो खोज्छौ, भोक लाग्छ खाने व्यवस्था मिलाउँछौ, नजानेका कुराहरू सिक्न खोज्छौ सिक्छौ, सफल हुन्छौ, असफल हुन्छौ, अनेक मीठा-तीता अनुभव हुन्छन्, ती अनुभवहरू मन मिल्ने साथी, समय र समवेदना हेरी तिमी व्यक्त गर्दछौ कत्ति साधारण छन् यी कार्य । मेरा अतिथि ! तिमीले हिजो भन्यौ हामी पूर्वीयाहरूले अहिले पनि पश्चिमाहरूलाई दान दियौं, होइन ? पानी दिऊँ ? स्वाँ-स्वाँ भयो ?

यो बालक यस्तो छ, न केही दिन सक्छ न केही लिन सक्छ । यसको ठाउँमा तिमी एकछिन आफूलाई राखेर हेर त । तिमीले औंलालाई आदेश दिन चा‌ह्यौ औंला अस्वीकार गर्दछ, स्वरलाई आदेश दियौ भाषा फुट्दैन, स्पर्श छैन, प्रत्येक नसा, प्रत्येक तन्तु, प्रत्येक हाड मस्तिष्कको आदेश मान्न असमर्थ छन् र तैपनि तिमी बाँचिरहेका छौ । जान्दछु तिम्रो देशमा यो रोग नभएको होइन तर यो रोग भोग्न सक्ने र आँखा निर्लिप्त राख्न सक्ने, शायद सम्यक्-दृष्टि उमार्न सक्ने, भाषाहीन, कर्महीन, शक्तिहीन, सञ्चालनहीन, प्रतिक्रियाहीन भई बाँच्न सक्ने समता एउटा पूर्वीयामा नै सम्भव छ ।

आऊ, नगीच आऊ, मैले यसका आमाबाबुलाई झूटो बोलिदिएँ तिमी डाक्टर हौ भनी । यिनका आँखामा हेर- तिमीप्रति एक श्रद्धा, एक आत्मीयता, एक सौजन्य, एक कृतज्ञता छ मानौं तिम्रो आगमनमा एक पूर्वनिश्चित कार्यक्रम थियो, उनको अनुहारमा परेको चाउरीमा तिमीले बयान गरेको हाँसो छ मानौं तिमी यिनका जेठा छोरा हौ र सात समुद्रपारिबाट तिमीले आफ्नू भाइको निम्ति मृतसञ्जीवनी ल्याएका छौ । ज्यापूनीको हाँसोमा मानौं तिस्रो विश्वसुन्दरी पत्नीको गर्भबाट पहिलो नाति जन्मेको खुशीयाली छ, छैन त ? मलाई थाहा छ, यो हाँसो तिमी हुन्जेल यिनका अनुहारमा रहनेछ ।

म जान्दछु तिम्रो पिठ्यूँले यिनको हाँसो देख्न पाउनेछैन, यी निभ्नेछन् । तिमी गएपछि यी डुब्नेछन् उही अन्धकारमा । यो बालककी एउटी बहिनी छ । जसका सम्पूर्ण अङ्ग चल्दछन् र यो बालक आफ्नी बहिनीले बामे सरेको, जे पायो उही टिपेको, मुखमा हालेको, जाँड घोप्ट्याएको, मकल पोखाएको हेरिरहन्छ । अनि उसका आँखामा प्रतिविम्बित हुन्छन् एक निमेषलाई त्यसै गरी केही गर्ने आका‌ङ्क्षा सिर्फ एकछिनलाई अनि फेरि उही निर्लिप्तपन व्याप्त हुन्छ ।

एक दिन यसकी बहिनीले हप्काइ पाई आफ्नी आमाबाट । त्यस बखत यसको आँखामा एक ज्योति झल्क्यो म भन्न सक्दिनँ त्यो ज्योतिमा कुन युगको कुन दर्शन थियो- तर मैले पाएँ ऊ भन्न चाहिरहेथ्यो, आफ्नी आमालाई बताउन खोजिरहेथ्यो । एक भाषाहीन, स‌ङ्केतहीन, स्वरहीन दृष्टिको माध्यमबाट आमा, तिमी के जान लोट्नुमा के मजा छ । हरियो दूबोमा घुँडा घिस्रिएको, छाला खुइलिएको, रगत आएको, एक-दुई थोपा रगत घाँसमा लिपिएको, एक-दुई घाँसका त्यान्द्रा घुँडामा टाँसिएको, एउटा दर्द, एक रुदन, एक सहाराको माग- यी यस्ता वस्तु हुन्, यो पीडा एक यस्तो अनुभव हो जो मीठो छ ।

सिँगानले आफ्नो घाउ धुनु, थुक लाउनु, बिजेको काँडा फिकेर फाल्नु, गडेको काँचको टुक्काबाट पाकिरहेको घाउ फोड्नु, केही दिन ओछ्यानमा बास बस्नु, घ्याम्पोमा चढेर भित्ताको तस्वीर फिक्न खोज्दा कीला फुस्किनु, तस्वीर खस्नु, ऐना चर्ल्याम्म भई फुट्नु, ऐना फुटेको अनौठा स्वर, आफ्नो हातबाट फुटेकोमा भयको लहर- यी यस्ता बस्तु हुन्- आह, आगोले पोल्छ भन्ने आफ्नै अनुभव, सिस्नुले फोका उठ्छ भन्ने आफ्नै अनुभव, जाँडले ढुनमुनाउँछ भन्ने आफ्नै अनुभव, कतै लोटियोस्, कतै घाउ होस्, कतै भाँचियोस्, केही भत्कोस्, केही फुटोस्, कोही मरोस् रुन सकियोस्, कोही हाँसोस्-हाँसो फर्काउन सकियोस्, कसैले गिज्याओस्-हिर्काउन सकियोस्, कसैले लुटोस् -उसलाई लुट्न सकियोस् – यी यस्ता वस्तु हुन् आमा, जसको आधारमा तिम्रो छोरो हुर्किने थियो । यी यस्ता वस्तु हुन् जो भएनन् भने मेरी बहिनी जो प्रत्येक नयाँ शब्द सिक्दछे त्यसमा मानिसको हजारौं वर्षको भाषाको तपस्या छ, एक इतिहास, एक परम्परा एक संस्कृति छ, उसले बोल्न सक्नुमा नै त भविष्यले जन्म लिन्छ- मजस्तो बाट होइन जो ओठ चलाउन सक्दिनँ । मेरो शरीरमा, मेरो शक्तिमा, मेरो सङ्केतमा त इतिहासको र मानवको विकासको एक अटूट क्रम समाप्त हुन्छ ।

एक लामो परिश्रम, एक लामो प्रयास, एक श्रृङ्खला, एक अनन्त भविष्य चटक्क चुँडिन्छ, समाप्त हुन्छ । यही हुन् ती आँखा अतिथि ! जो तिमीलाई हेरेर पनि केही सँगाल्न सक्दैनन्; यही हुन् ती सौन्दर्य जो पूर्ण छन् र अब जसको अरू कुनै अभिव्यक्ति छैन । यिनै आँखा हुन् जो पहाडले घेरिएका छन्, यिनै आँखाका परेली हुन् जो खेतका तरेली हुन्, जसमा वर्षामा धान र हिउँदमा गहुँ पाक्दछ; यिनै आँखा हुन् जो तिमीलाई स्वागत गर्दछन्, यिनै आँखा हुन् जो निर्माण गर्दछन् र यही हो त्यो आँखा जसमा टिनटिन गरिरहेको प्राणको अन्त हेर । बुद्धका नयनका किनारमा डुब्न लागेको घाम प्रतिविम्बित भएको दृश्यभन्दा कम सौन्दर्यशाली यो हुँदैन !..

[शङ्कर लामिछानेको कथासंग्रह ‘गौँथलीको गुँड कथा’बाट]