एक अति साधारण मानिसको एक अति साधारण मृत्युको कुरा यो, असलमा नलेखिएको भए पनि हुने । अब, कुनै माग्ने कुनै दिन जाडोले कठ्याङ्ग्रिएर अनायास सडकमा मर्दछ भने मृत्यु-दाह-संस्कार संस्थाद्वारा त्यसको घिनलाग्दो लास पन्छाउन लगाएर पोलिदिनुमै हाम्रो कर्तव्य पूरा हुन जान्छ । त्यो को थियो र किन त्यसरी मर्यो ? इत्यादि यस्ता प्रश्न हुन्, जसमाथि कैयन् युगले, कैयन् ढङ्गबाट आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन् ।

शङ्कर लामिछाने

र, लास भनेको एउटा यस्तो वस्तु हो, जसले मनमा सत्यम् शिवम् सुन्दरम्को भावना किमार्थ उमार्दैन, चाहे त्यो लासमा एकछिन अगिसम्म ओहोरदोहोर गरिरहने रगत, श्वास र स्पन्दनले अव्यक्त रूपमा हिमाल, डाँफे र राष्ट्रियताको पूजा नै गरिरहेको होस्, चाहे ती रगत, ती श्वास र ती स्पन्दनले सूर्य-चन्द्र अकित ध्वजको वन्दना नै गरिरहेका होऊन्-एकफेर ती रगत, ती श्वास र ती स्पन्दन थामिएपछि त्यो लास स्वयंमा अति घिनलाग्दो र भयलाग्दो पल्टिदिन्छ ।

ऊ पनि त्यसैगरी पल्टिरहेको थियो । उसको वरिपरि धूलोमा कोरेका अनेक डाम थिए, मानौँ ऊ मर्नुअगि भएभरको शक्तिले जननी जन्मभूमिमा आफ्नो छाप छोडेर जान चाहन्थ्यो । सडकको कुनामा ऊ मरेको थियो, यस कारण साइकलका थाेत्रा टायर गुडाएर दौडिँदै आएका केटाकेटीको टायर त्यहाँनिर बेलगाम भइदिन्थ्यो, उनीहरू झस्कन्थे, मुर्दाको परिक्रमा गरेर ढलेको टायर उठाउँथे र एक नजरमा त्यो दृश्यलाई आँखाबाट हुत्याउने प्रयास गर्दै फेरि  टायर गुडाउँथे ।

र, सबभन्दा मजाको कुरा के भने त्यस दिनको सूर्योदय एक अति साधारण दिवसको सुनौला, प्रारम्भझैँ थियो । हिमाल हाँसि नै रहेको थियो, चराहरू उडि नै रहेका थिए र छानाहरूबाट झिँगटीको कापकापबाट हलुका नीलो धूवाँ निस्कि नै रहेको थियो ।

लासवरिपरि पृथ्वी अलि चिसिएबाहेक, अलिकति कोपरिएबाहेक, अलिकति घृणित भएबाहेक अरू सबैतिर सुन्दर नै थिइन् । त्यो सडकको त्यो एक कुनाबाट सम्पूर्ण देश रमणीय थियो । वातावरण मानौँ दार्शनिक तत्त्वको एक पुट थियो ।

एउटा फायरप्लेस छ, जसमा चिटचिट गरी आगो दन्किरहेछ । अगिल्तिरको कउचमा ढल्केर ऊ आँखा चिम्लिरहेछ । कोठामा कतै कुनाबाट मधुरोसँग वाल्जको धुन बजिरहेछ र त्यसैको लयमा दाउराबाट उठेका लप्का नाचिरहेछन् । नाचिरहेछन् तिनका साथ फर्निचरका छाया । कउचको साइड टेबलमा एउटा डिकेन्टर छ । ब्रान्डी बिस्तारै लहरित भइरहेछ । त्यो गिलास भर्खर ओठमा पुगेर फुर्केको छ र चुम्बनको मिठास र गरमाहटमा झङ्कृत भइरहेछ ।

नेपालका महान् कविको ‘माग्नेको मृत्यु’ कवितालाई नेपालका महान् सङ्गीतज्ञले वाल्जमा ढालेका छन् । त्यो महान् कविता र त्यो महान् सङगीत आज त्यो न्यानो ड्रइङ रुममा अङ्कमाल गरी नाचिहेछन् । वातारणलाई मादक बनाइरहेछन् ।

ऊचाहिँ होरिरहेछन्- आगोको ज्वालाबाट निस्केका झिल्काहरू मैन्टिलपिसमा उड्न खोजेका र मैन्टिलपिसमा सजिएको फूलदानको लालपाते र फोटोफ्रेममा जडिएका नेताहरू र सम्झनामा दिइएका सोभेनियरहरू पत्थरमा कुँदिएको बुद्धको मूर्तिको ठीक मुन्तिरबाट ती झिल्काहरू बिलाएका । झिल्काका असफल प्रयासमै त ऊ आफ्नो जीवनको सार्थक्यलाई तौलिरहेछ । फिलिङ्गाका अपर्याप्त स्वप्नहरू मैन्टिलपिसका सौन्दर्य, सोभेनियर्स र समवेदनासम्म पुग्न सक्तैनन् र हुत्याइन्छन् एउटा अँध्यारो चिम्नीबाट आकाशतिर ।

मेरो राष्ट्रका ओ महान् कवि ! मेरो राष्ट्रका ओ महान् सङ्गीतज्ञ ! मलाई आज बुझाइदेऊ- तिनीहरूको सपना के थियो ? एक अति साधारण माग्नेको मृत्युउपर कविता लेखेर एक अति साधारण माग्नेको घिनलाग्दो लासलाई वाल्जमा नचाएर तिमीहरूले के एक न्यानो ड्रइङ रुममा मादकता नै प्रस्तुत गर्न खोजेका थियौ त ? सडकको कुनाको एक लावारिस लासलाई काव्य र सङ्गीतको आत्मा प्रदान गरी तिमीहरू के निश्चय पनि उसलाई अमरत्व प्रदान गर्न चाहन्थ्यौ त ? मेरो राष्ट्रका महान् कवि ! अर्काको मृत्यु र लासको घिनलाग्दो दृश्यबाट उठेको तिम्रो क्षणिक भावनालाई छन्दोबद्ध गर्न कम दुःख तिमीले उठाएनौ (ठीक हो !) तर असम्बद्ध र बेछन्दको जीवन उसले बाँचुन्जेल सह्यो- के त्यसको एक अंश पनि तिम्रा कवितामा ओर्लन सक्यो ?

आह ! मेरो महान् कवि ! तिमी बुझाइदेऊ मलाई, ऊ को थियो ।

त्यो मान्छेको नाम तिमीलाई थाहा छ ?

छैन ।

त्यो मान्छेको पिताको नाम तिमीलाई थाहा छ ?

छैन । त्यो मान्छेकी आमा तिमीलाई थाहा छ ?

छैन ।

तिमी जान्दछौ ? त्यो पति र पत्नीको कामकलाको सर्वोच्चानन्दबाट जन्म्यो ? अथवा एउटी कुमारीलाई कसैले बलात्कार गरेर अनायास बीजारोपणको फलस्वरूप ? अथवा राणाकालीन दरबारिया जीवनको अंश कुनै केटीको गुप्त सम्भोगको उपज हो त्यो ? अथवा दाजु र बहिनीको गैरकानुनी सम्भोगको नमुना ? अथवा पोइचाहिँ जर्मनको लडाइँमा गोली हानिरहँदा यसले आमाको गर्भमा आसन पायो ? अथवा पिता कलकत्तामा दबान छन् तीन वर्षदेखि र छोरो जन्मन्छ खोलाको बगरतिर ? अथवा दौडाहामा आएको कुनै हाकिमको खुट्टा अनुहारमा यो चाहिँको पिताको अनुहार पैल्याउन नसक्ने एक धमिलो छायाको यो पुत्र हो ? के हो ?

थाहा छैन, थाहा छैन ।

मेरो कवि ! जन्मले पाएको अधिकाअनुसार यो पनि एक नेपाली नागरिक हो । यसको रतगको रङ रक्सी र ब्रान्डीको छैन, न छ पञ्चामृतको । यसको रगतको रङ तिम्रो जस्तो रातो छ । यसको फोक्सोमा त्यही हावा, जो एकछिनपछि तिमी फेर्छौ, बगिरहेछ, यसका आँखामा त्यही हिमाल, त्यही लालीगुँरास, त्यही डाँफे चरी र त्यही सूर्यचन्द्र अकित ध्वजा नाचेको थियो- जो अहिले श्रद्धासाथ तिमीले आफ्नो भनी अपनाएका छौ ।

सिर्फ, यो मेन्टिलपिससम्म पुग्न सकेन र हुत्याइयो एक अँध्यारो चिम्नीबाट माथि आकाशतिर । चिम्नीको माध्यमबाट हुत्याइने धुवाँलाई तिमीले कविता र सङ्गीतमा नचाउन सकेका छैनौ भने मेरा प्यारा कवि र मेरा प्यारा गायक ! तिमीलाई के हक छ मूल सडकको एक लावारिस लासमाथि कविता लेख्ने, वाल्जमा ढाल्ने, ड्रइङ रुममा नचाउने ? कउचमा ढल्केर पुर्खाले अर्जेको घर, बगैँचा, सम्पत्ति र इज्जतको भरमा ब्रान्डी छचल्काएर फायरप्लेससामु आफ्ना अतीत, वर्तमान र भविष्यको जालो बुनिरहने त्यस व्यक्तिलाई तिमीले भावोन्मुक्त पारी मूल सडकमा एक लावारिस लासको दर्शन प्रत्यक्ष गराउन सक्तैनौ भने, अथवा त्यो लासको जिउँदो मुर्दालाई एकछिन मात्र तिमी त्यो ड्रइङ रुममा पुर्याउन सक्तैनौ भने, मेरा प्यारा कवि र मेरा प्यारा सङ्गीतज्ञ ! के हक छ तिमीलाई शब्द र स्वरको महानतालाई हलुको पार्ने , शब्दलाई आत्माको गहिराइबाट शुद्धसँग उच्चारण गर्न सके मन्त्र हुन्छ, मेरो कवि ! स्वरलाई ठीक ताल, लय र समयमा बोल्न सके, त्यो गीत बन्छ, मेरो गायक ! यस्तो धुन र यस्तो गीत, जसले आफ्नो युगको निर्माण गर्छ र अर्काको युगको निर्देशन ।

तिमीले केही पनि गर्न सकेनौ । तिमीले न त जीवनको महिमालाई, न त मृत्युको गरिमालाई बुझ्न सक्यौ । यसकारण, मेरो राष्ट्रका ओ महान् कवि, गायक ! साहित्य र सङ्गीत सिर्जने तिम्रो प्रयास व्यर्थ हो । सिर्फ तिम्रो एक अति नवीन मुर्ख्याइँमा नेपालको एक नागरिक कतै मर्छ । तिम्रा प्रत्येक मुर्ख्याइँमा राष्ट्रको अलिकति शक्ति कम हुन जान्छ । तिम्रो कविता र सङ्गीत कति निम्न स्तरको छ, मेरा पथभ्रष्ट कवि र गायक ! त्यसको तालमा सिर्फ फर्निचरका छाया हल्लिहरन्छन्, फायरप्लेसको आगोको ज्याला तापेर !

(शङ्कर लामिछानेको कथासङ्ग्रह “गौँथलीकाे गुँड” बाट)