आफ्नो घर अगाडि बारीमा उम्रेका घाँसहरू लहलहाइरहेका देखेर मलाई झट्ट के आश पैदा भयो भने ती घाँस होइनन् । तरकारी हुन् जो मलजल पाएर बढिरहेका चम्सुर, पालुङ्गाका साग हुन् । मलाई मनमनै खुशी लाग्यो मैले घरको चिन्ता गर्नुपर्दैन ।

म घरमा नभए पनि मेरी जहानको जाँगर र तत्परताको प्रशंसा गर्दै घरभित्र पसें । मेरी जहान गौरी भान्छामा चम्सुर, पालुङ्गा केलाएर बसिरहेकी थिइन् ।

उनले मलाई देख्नासाथ भनिन्, ‘आज अड्डा नगए हुन्न ?’

‘किन र ?’ मैले अचम्मले सोधें, किनकि कुनै महत्त्वपूर्ण काम नभई उनी कहिल्यै मलाई घर बस्ने आग्रह गर्दिनथिन् ।

‘आज बारी खन्नु थियो । सधैं तरकारी किन्दा हैरान, कति किन्ने ?’ गौरीले भनिन्, ‘आज तपाईं बिदा लिएर बारी खन्नुस् । बारी बाँझै भो । आफ्नो बारी छँदाछँदै किन ज्यापुहरूलाई पैसा खुवाउने, हैन ?’

‘कुरा त ठीक हो । तर मैले त बारीभरि चम्सुर, पालुङ्गो उम्रेको देखेका थिएँ ।’ मैले भनें आफ्नो दृष्टिदोषको अनुभव गर्दै ।

‘तपाईंको आँखा जँचाउनुपर्‍यो । सधैं आँखा नदेखेको कुरो गर्नुहुन्छ ।’ उनले जवाफ दिइन् ।

त्यस दिन म उनले भनेझैं अड्डा नगई आफ्नो बारी खनेर बिताएँ । गौरीले डल्लेठोले बारी सम्म्याइन् । मैले ड्याङ लगाएँ । उनले बीउ छरिन् । ‘अब त हिउँद लागिसक्यो । काउली, मूला पनि लाउनुपर्छ ।’ उनले कृषकले झैँ भनिन् ।

आँखा देखाउन अस्पताल जाने कुरो पनि धेरै दिन भइसक्यो जान पाइएको होइन । तर मेरो आँखा भने झन् कमजोर हुँदै गइरहेको थियो । अड्डामा पनि ‘चश्मा लाउनुपर्‍यो बाजे !’ भनी सहयोगीहरू सल्लाह दिन्थे ।

केही पढ्नुपर्‍यो भने अर्को शब्द पढ्थें अर्थको अनर्थ बुझ्थें । अनि मानिसलाई सन्देह पनि हुन्थ्यो ‘हाम्रो कुइँकेल बाजे अलि विनोदी स्वभावको हुनुहुन्छ । जस्तालाई तस्तै पढ्न उहाँलाई मन लाग्दैन ।’ मेरा हाकिम अड्डाप्रमुख मलाई भन्थे जब कुनै निवेदनको बेहोरा उनलाई सुनाउन लाग्थें ।

अनि एक दिन सात रुपियाँ फिस तिरेर नेत्रविशेषज्ञकहाँ आँखा जँचाउन पुगें । उनले मलाई टाढा टाँगिएको ठूला-साना अक्षर पढ्न लगाए । तर मैले जम्मै उल्टै मात्र पढेको सुनेर मलाई आँखै नदेख्ने ठानेर डेढ सय रुपियाँको पावरदार चश्मा किनेर लगाउने सिफारिस गरे ।

मैले आफ्नी जहानलाई आएर सबै बताएँ । उनले भनिन्, ‘डेढ सय पर्ने ?’ उनले आँखा ठूला लगाइन् ।
मैले भनें, ‘आफ्नो आँखाको लागि डेढ सय त के हुई चार सय परे पनि लाउनुपर्छ भनौली भन्ठानेको थिएँ । काम चलेकै छ किन टन्टा हैन ?’

‘काम चलुञ्जेल किन लाउनु त ?’ उनको जवाफ पाएर म ढुक्क भएँ । मलाई यस कारण ढुक्क लाग्यो कि म बिलकुल दृष्टिहीन होइन । घर व्यवहारको दृष्टिले सोच्ने मेरो दृष्टिलाई उनले विश्वास गरेकी रहिछन् । किनकि डेढ सय खर्च गर्नुको मतलब मेरो आधा तलब खर्च गर्नु थियो । अनि पूरा तलबले नपुग्ने घर गृहस्थीलाई १५ दिनको औँसी कसरी काट्ने होला ।

गौरीको लागि चश्मा देखावटी स्वाङ थियो । उनले यसरी मलाई आँखा देख्ने भनी पत्याएपछि मैले यो ख्याल नै छोडिदिएँ । मेरो आँखा कमजोर छ भन्ने कुरो मैले बिर्सें ।

यसै भावनाले म काम गर्दै गइरहेको थिएँ र एक दिन त मलाई झन् आफ्नो धारणामा विश्वास बढ्दै गएको प्रमाण भेट्टाएँ ।

त्यो के भने मेरा अघिका भूतपूर्व हाकिमले मलाई एउटा सभामा मेरो अड्डाको तरफबाट भाग लिन गएका वेलामा अचानक मलाई बोलाएर सोधेका थिए, ‘तपाईं अमेरिकाबाट कैले आइपुग्नु भो हँ ?’

‘म ? मलाई चिन्नुभएन ? उही खर्दार कुइँकेल बाजे हुँ । म कैले अमेरिका गएँ ? सपनामा पनि म पुगेको छैन हाकिम साहेब !’ मैले नमस्कार गर्दै आश्चर्य दर्शाएँ । उनलाई पुरानै हाकिम देखेछु ।

‘ओ, सरी । मैले ऐले पो सम्झें खर्दार बाजे,’ उनले भने हाँस्तै ।

खै, चश्मा लाउनेहरूको पनि दृष्टिदोष हुँदो रहेछ । मलाई चश्मै नलाईकन कहिलेकाहीँ दृष्टिभ्रम हुनु स्वाभाविकै हो नि । दृष्टिदोष–भ्रम–रोग मलाई केही भएको होइन । म सही कुरा गरिरहेको छैन त ?

हो, कहिलेकाहीँ भने म सडकमा उस्तै अनुहार उस्तै कद उस्तै पहिरन लगाएको मरेको ठानेको मान्छे ज्यूँदै देखेर भने झस्किन्छु । जब नजिकिन्छु अनि आँखा तिखारेर हेरेपछि पो आफ्नो होशमा आउँछु । बरु होशको पो कुरा लाग्छ दृष्टिदोष बिलकुल होइन ।

अनि एकपल्ट मेरो घरको कैलो कुकुर अरूको घरमा देखेर मैले त्यस घरको ढोकाबाहिर उभिएर हेरिरहें । तर त्यसले मलाई देखेर वास्ता नगरेको देख्ता मलाई आफ्नो कुकुरदेखि रीस उठिरह्यो । अनि आश्चर्य लाग्यो–मेरो ‘श्यामे’ (कुकुरको नाउँ यहाँ कसरी आइपुग्यो ? मलाई घर अगाडि उभिएको देखेर घरकी स्वास्नी मान्छेले सोधी, ‘कसलाई भेट्न आउनुभो ?’

उसले ढोका खोली र उसले मेरो कुकुर जसलाई श्यामे भन्ठानिरहेको थिएँ– चूपचाप आएर मेरो पिँडुलामा क्याक्क टोकिदियो । अनि मलाई थाहा भयो मेरो कुकुर किन हुन्थ्यो ।

त्यस स्वास्नी मान्छेले कुकुरलाई पिट्दै भनी, ‘यो मोरो भुक्तै नभुकी टोक्छ । मान्छे नै चिन्दैन कुजात ?’

मलाई आफ्नो दृष्टिको विश्वास हरायो र घरमा आइपुग्दा मेरो सात दिनदेखि हराइराखेको कुकुर आइपुगेको देखेर आफू हुस्सु भएकोमा लज्जित भएँ । मेरो कुकुर पनि कैलो, त्यो टोक्ने कुकुर पनि कैलो, ऊ र उस्तै देख्नु पनि मेरो दृष्टिदोष थियो त ? जे होस्, त्यसले मलाई घाउ पार्ने गरी नटोकेकोले ‘एन्टीरेबीज’को भ्याक्सिन दिन अस्पताल धाउन परेन ।

आजकाल त मेरा आँखा बडो तेजिलो अनुभव गर्छु । मलाई त लाग्छ अचेलका तन्नेरीहरू पो आँखै नदेखी हिंड्छन् । हूलमूलमा धक्याउन आइपुग्छन् र भन्छन्, ‘सरी ।’

हूल गर्दै होटेलभित्र पस्छन् र टेबिलमा र यताउति नहेरी भुइँमा राखेको काँचको गिलास नै फूटबल खेलेझैं फुटाउँछन् र उल्टै पसलेलाई ‘भैमा राख्ने हो हिंड्ने ठाउँमा ?’ भनी दोष थोपर्छन् ।

यसैले दृष्टिदोष आत्महीन निराश व्यक्तिहरूको लागि रोग हो, तर जो डाँटडपट र हप्की दप्की गर्ने हिम्मत राख्छन् र जो उच्चाकांक्षी उत्साही छन् तिनको आँखा भलै डाक्टरले रोगी ठहर्याओस् र चश्मा कानमा झुण्ड्याउने सल्लाह देओस् कहिल्यै दोषयुक्त भन्न सकिन्न ।

मलाई आफ्नी श्रीमतीले यी सब कुरा बुझेर युवक बनाउनको लागि चश्मा लगाउने सिफारिस नगरेकी हुन् भने म उनलाई पनि दृष्टिदोषी भनूँ त ? उनले त यस कुरालाई आर्थिक दृष्टिले हेरेकी छन् ।

हो, उनको उमेर पनि मभन्दा पाँच वर्षले कम ४० त हो नि । तर म उनीभन्दा आँखा देख्नेमा गनिएँ क्यार ! किनकि उनी मेरो फुर्सतमा आफ्नो पोते उन्न र सियोमा धागो हाल्न मलाई नै सम्झन्छिन् र बोलाइहाल्छिन् । म पनि प्रशंसा लुट्ने मौका किन गुमाउँथें ? तर कहिले त सियोको प्वालभन्दा धागो मोटो भनेर आफ्नो दृष्टिदोषको कमजोरी लुकाई पनि हाल्छु ।

बजार गएको बेला पसलेले मलाई साँच्चिकै आँखा नदेख्ने बनाउँदा भने चश्मा लाउन नपाएकोमा साह्रै दुःखी हुन्छु किनकि उसले पैसा फिर्ता दिंदा खोटो मोहोर खोटो सुका अनि च्यात्तिएको नोट भिडाइदिन्छ । गोरोले मलाई त्यति वेला यस्तो अन्धो र उस्तो कानो भनी भत्सर्ना दिन थालेपछि आँखा देख्न लाग्छु अनि चश्मा किनेर लगाउन डेढ सय रुपियाँ जहाँबाट हुन्छ ओभरटाइम गरेर हुन्छ कि या हाकिमसित तलब ग्रेड प्रमोशन बढाउन लाएर हुन्छ तलब चोखी बुझाएर उपरी आम्दानीको स्रोत खन्ने सम्झाउँदै मेरो खोइरो खन्न लाग्दा भने खुल्न लागेको आँखा पनि बन्द हुन्छ र आँखै देख्तिन ।

भकभकाउन लाग्छु । झगडा पर्छ । कहाँको ओभरटाइम, कहाँको ग्रेड प्रमोशन ? प्रमोशन ग्रेड भनेको पनि बेमिति बेतिथिमा पाइने कुरा हो र ? जुन कुरा उनी बुझ्न असमर्थ थिइन् ।

दृष्टिदोष अबालवृद्ध सबलाई हुन्छ, चश्मा लाउने-नलाउने सबैलाई हुन्छ । चश्मा लाउनेहरूलाई पनि पसलेले के झुक्याएका छैनन् ? यसैले आफ्नो आँखा छउन्जेल र देखुन्जेल म चश्माको भारी भिर्दिनँ भन्ने अठोटमा छु किनकि ठगी–ढाँटी, आफ्नो पेटको गाँस काटी चश्मा भिरे पनि पछि मलाई दृष्टिदोष नहोला भन्ने के ग्यारेन्टी ? त्यस वेला चश्मा बिचराको पनि के दोष ?

(शङ्कर कोइरालाको कथासंग्रह ‘सुर्तीको पातमा झुन्डिएको जीवन’बाट)