हेर्दाहेर्दै अर्को ठाउँ पनि फेरि चिरा पर्‍यो । हामी वातावरण शान्त हुँदा आफ्नो कोठा छिर्थ्यौं । भाँचिएको आवाज आउनासाथ खुरुरु दौडेर भान्साकोठाको झ्यालमा उपस्थित हुन्थ्यौं । यो क्रम चलिरह्यो रातभरि ।

၀၀၀၀

मलाई हुसैन भाइको गनगन मन परेन  । फेरि बंगलादेशको राजनीतिमा केही गडबडी भयो क्यारे । मेरा बंगलादेशी सहकर्मी हुसैन भाइ बिहानैदेखि मुर्मुरिंदै थिए, “यस्तै छ र नै देश जान पनि मन लाग्दैन । देशको बारेमा सोच्नै मन लाग्दैन । यतै कोरियामै हराइजाऊँ जस्तो लाग्छ !”

उनको यो कचकचे बानी पटक्कै मन पर्दैन । त्यसै पनि म फेसबूकमा स्ट्याटस लेख्न व्यस्त थिएँ । आज बिहानैदेखि हिउँ पर्‍यो । ताजा हिउँको एक ताजातरोज फोटो सहित स्ट्याटस पोस्ट्याएँ ‘द व्हाइट् ब्यूटी हैज् ल्याण्डेड् अन अर्थ् !’

लगातार फुरुरु हिउँ परिरह्यो । हामी भने काममा लाग्यौं । कम्पनीभित्र काम गर्दै झ्यालबाट बाहिर आँगनतिर घरीघरी आँखा लगाउँदा हिउँ बर्सी नै रहेको थियो र हिउँसँगै बर्सिरहेको थियो  नेपथ्यले गाएको ‘भेडाको ऊन जस्तो’ गीतको सम्झना । छाँटकाँट हेर्दा आज दिनभर बर्सिरहने पनि देखियो ।

‘भोलि फेरि मानिसहरू पेंगुइन हुने भए !’  मनमनै हाँसें । बाक्लो हिउँ परेको भोलिपल्ट अक्सर शहरका सडकहरू हिउँले सेताम्मे ढाकिन्छन् । त्यस्तोमा चिप्लेर लड्नबाट जोगिन छोटाछोटा पाइला सार्नु पर्दोरहेछ । चिसोले  सताएपछि भुक्के ज्याकेट र ऊनको टोपी चट्ट लगाउनु पर्दो रहेछ । यसरी जब दूरबाट हूलका हूल मान्छेहरू टुकुटुकु सावधानीसाथ हिंडिरहेको देखिन्छ । मान्छेलाई पेंगुइन झैँ देखिन कति पनि समय नलाग्दो रहेछ । त्यस्तो बेला दक्षिण कोरियाका खासगरी माथिल्लो भेगका शहरहरूमा यस्तै नयाँ पेंगुइनहरू जताततै देखिने गर्छन् । भोलि यौटा पेंगुइन बनेर म आफै पनि त साँझ किनमेलमा निस्कनु पर्ने छ । सोचेर पनि दिक्क लागेर आयो । अहोहो..चिसो !

चिसो मौसमको सामान्य दिन सधैं झैँ कम्पनीको काम गरेर सामान्य तवरले बित्यो । काम सकेर झमक्क साँझमा खिसुक्सा(dormitory) फर्किएँ अनि नुहाइधुवाइ सकेर आफ्नो कोठामा छिरें । हुसैनभाइ रात्रिभोजनको तयारीमा जुटे । भान्साबाट खुर्सानी डढेको कडा गन्ध हावामा फैलियो । म ख्वाक्क खोक्दै मोबाइलमा व्यस्त भएँ, “हेल्लो ! अँ भन मेरी ज्यान ।“

रातको एघार बजेको हुँदो हो । म ‘वान हन्ड्रेड इयर्स अफ सोलिट्युड’ सिरिजको अन्तिम एपिसोडसँग ल्यापटपको स्क्रीनमा बडो एकाग्रतासाथ व्यस्त थिएँ । कसैले बाहिर प्यासेजमा ‘चडक्क..’ आवाज दिए जस्तो लाग्यो । ल्यापटपको भिडियो रोकेर “ने ??…(हँ)” भनेर सोधें । कोही बोलेन । फेरि लगातार भिडियोमा झुम्मिएँ । दश-पन्ध्र मिनेटपछि फेरि त्यस्तै आवाज आयो । म अझै ठूलो स्वरमा ‘ने…?’ भनेर कराएँ । फेरि पनि कुनै जवाफ आएन । पूरै खिसुक्सामा जम्मा तीन जना थियौं म, हुसैन भाइ र एक जना कोरियन ह्यङ(दाइ) । कोरियन ह्यङ बेस्सरी रक्सी पिउने गर्छन् । सोचें – दाजैले आज उत्पातै पिएछ्न् कि कसो, हल्ला पो गर्न थाले त !

यता जोस अर्काडियो को देहान्त भैसकेको छ । उनको देहान्तको दिन उनीहरूको त्यो सुन्दर बस्तीमा अकस्मात् आकाशबाट पहेंला फूलहरूको वर्षात भएको छ । सडक  घरका छानोहरू जताततै फूलैफूल छ । म ग्याबोको अक्षरी कल्पनालाई श्रव्यदृश्यमा आनन्द उठाइरहेको छु । त्यतिकैमा  फेरि अघिको भन्दा निकै ठूलो आवाज आयो  ‘चरक्क…!’

अब भने म प्यासेजमा निस्किएँ । हेर्छु त कोरियन दाजै र हुसैन भाइ पनि निस्किसकेका रहेछन् । तीनै जनाले एक अर्कालाई मुखामुख गर्दै सोध्यौं, “के को आवाज आको ?”

दाजै त मस्त रक्सीको मातमा रहेछन् । हावामा सोजु(रक्सी) को गन्ध हरर फैलियो । त्यसैबीच फेरि भान्साको झ्यालबाट त्यस्तै आवाज आयो । तीनै जना उतैतिर लाग्यौं र मैले हत्तपत्त झ्याल खोलेर हेरें । मैले जे देखें मेरो सातो उड्यो । दुई तले भवन छ हामी बस्ने खिसुक्सा । खिसुक्साको भान्छाकोठाको झ्यालसँग गोदामको छानो ठिक्क जोडिएको छ । मैले देखें रातमा पनि सेतै चम्किरहेको गोदामको छानो ठाउँठाउँ च्यातिंदै गएको छ र चिराचिरा परेको प्रष्ट देखिएको छ । मैले कुरा बुझिहालें । हिउँ जमेर त्यसको भारले छानो चर्किंदै छ र हुन सक्छ गोदाम ढल्नेछ । मैले भनें, “हिउँले गोदाम ढल्न थाल्यो । छानो चिरा परिसक्यो ।“

उनीहरूले पनि पालैपालो झ्यालबाट छानोको अवलोकन गरे । यो मध्यराति के आइलाग्यो ? हुसैन भाइ अत्तालिंदै अल्लाहको प्रार्थना गर्न थाले । कोरियन दाजैले पनि मुख खोले “ला ! गोदाम ढल्यो भने त ओहोरदोहोर गर्ने बाटै छेकिन्छ त, अनि म भोलि कसरी सोजु किन्न जानु ?”

हरे शिव !  रक्सी खानेलाई रक्सीकै सुर्ता । अरू के भनूँ ! मैले कम्पनी मालिकलाई फोन लगाएँ ।

मालिक दुई दिनका लागि भनेर अर्कै शहरतिर पो गएका रहेछन् । उनले “सम्पूर्ण कुरा सुनेपछि अहिले जताततै हिवैहिउँ छ केही गर्न सकिन्न । सडकहरू बन्द भएका छन् । भोलि बिहान नभई गर्न सकिने केही छैन ।  नआत्तिनू  । सुरक्षित बस्नू ।“  भनेर फोन राखे । रक्सीले मस्त कोरियन दाजु “म त सुतेँ जेसुकै होस्” भन्दै उनको कोठाभित्र छिरे । हुसैन भाइ र मैले एक अर्कालाई त्रसित भयभीत नजरले हेर्यौं चूपचाप ।

हामीले टेलिभिजन खोल्यौं । ब्रेकिङ न्युजहरू सर्सरती हेर्यौं- १ सय १७ वर्षपछिको सबैभन्दा ठूलो हिमपात, शताब्दीकै भयंकर भारी हिमपात, राजधानी सउल आसपास बिहानदेखि ४० सेन्टिमिटरसम्म हिउँ जम्यो,  यातायात व्यवस्था अस्तव्यस्त बन्यो, हवाई उडानहरू रद्द भए आदि इत्यादि हेडलाइनहरू थिए । त्यसपछि बल्ल हामीले  स्थितिको सही आकलन गर्न सक्यौं कि यो सब के भैरहेछ भनेर । त्यसपछि मनमा झनै चिसो पस्यो, “के यदि यो सय वर्षमा भएको दुर्लभ प्रकोप हो भने कतै हामी बसेको घरकै छानो त भाँचिन्न ?”

हामीलाई सबैभन्दा ठूलो डर बिजुलीको तारको भयो । सडकको ट्रान्सर्फमरदेखि बिजुलीको लाइन गोदामको छानोमाथि बिछ्याएर हामी बस्ने भवनसम्म तानिएको थियो । यदि गोदाम ढल्यो भने त्यो तार चुँडिन सक्थ्यो । तार चुँडियो भने आगो लाग्न सक्थ्यो । त्यसमाथि गोदाम रबर उत्पादनमा प्रयोग हुने तेल , ब्ल्याक कार्बन लगायतका अति प्रज्वलनशील कच्चा पदार्थहरूले भरिएको थियो । आगो टिप्यो भने जम्मा दश मिनेटमा सबै स्वाहा हुने थियो । यो सब सोचेर भयको मिटर स्वाट्टै आकाशियो । “जसोतसो रात राम्ररी बितोस् । भोलि उज्यालोमा देखाजाएगा” मनलाई सम्झाउँदै थिएँ । तर ७२ को भूकम्पपछि मन यति धेरै डराएको पहिलो पटक थियो । हुसैन भाइ र म आज रातभर  नसुत्ने निर्णयमा पुग्यौं ।

कडक्क्..कडक्क्… हेर्दाहेर्दै गोदाम ठूलो आवाज गर्दै दक्षिणतिर दुई तीन फीट जति ढल्कियो । यसका थुप्रै खाँबोमध्ये एक एक गरेर भाँचिने क्रममा थियो यति त हामीलाई थाहा लाग्यो । मैले यसो झ्याल खोलेर जूम गरी लच्किंदै गरेको गोदामको बेहाल छानोको फोटो खिचें  अनि फेसबूक खोलेर पोस्ट गर्दै क्याप्सन लेखें – नाउ द व्हाइट ब्यूटी हैज टर्न्ड टु द बिस्ट ।

कडक्..! दश मिनेट जस्तो पछि फेरि आवाज आयो । म फेरि भान्सा कोठाको झ्यालतिर दौडिएँ । हुसैन भाइ पनि त्यहाँ आइसकेका रहेछन् । हेर्दाहेर्दै अर्को ठाउँ पनि फेरि चिरा पर्‍यो । हामी वातावरण शान्त हुँदा आफ्नो कोठा छिर्थ्यौं । भाँचिएको आवाज आउनासाथ खुरुरु दौडेर भान्साकोठाको झ्यालमा उपस्थित हुन्थ्यौं । यो क्रम चलिरह्यो । त्यसैबीच मोबाइलमा टिङ्.. गरेर फेसबूकको नोटिफिकेशन बज्यो । सिनेमा, कला र साहित्यका बहुआयामिक व्यक्तित्व प्रकाश सायमी सरले मेरो फेसबूक पोस्ट देखेर म्यासेज गर्नु भएको रहेछ – सुरेश जी टेक केयर !

रात कट्दै थियो । नेपाल फोन गरूँ कि भनें । ‘होस् बेकारमा पीर पर्छन्,’ आफैलाई सम्झाएँ । बरू मलाई मेरो आसपास भएका साथीहरू रामकृष्ण ढुंगाना र रवीन्द्र तामाङको याद आयो । मैले दुवै जनालाई पालैपालो कल गरें । तर फोन उठेन । घडी हेरें । एक बजिसकेको थियो ।

रात ओरालो लाग्दै थियो । निद्राले आँखा पोल्न थालिसकेको थियो । यो गोदाम एक रात टिक्ला कि ढल्ला भन्ने प्रश्नले मन अशान्त थियो । हामी भने आई सी यूमा भर्ना भएका बिरामीका कुरुवाहरू जस्ता भएका थियौं जसलाई आफ्नो बिरामी फर्केला कि सिद्धिएला भन्ने चिन्ता होस् ।

थाकेको ज्यान, गोदामतिर ध्यान अनि किचनको झ्यालमा कान त्यस्तो अस्थिरताका बीच म केही बेर  झपक्क भएछु ।

‘गर्लम्म !’ ढलेको ठूलो आवाजले मेरो निद्रा खुल्यो । हत्तपत्त उठेर मोबाइल हेरें बिहानको ६ बजिसकेको रहेछ । पक्कै पनि अब चाहिं गोदाम सम्पूर्ण रूपमा ढलेछ नि भनेर सोच्दै उठें । यो पक्का थियो कि यो नै अब अन्तिम झट्का थियो ।

हामी तीनै जना तल आँगनमा ओर्लियौं । आँगन अब आँगन थिएन । माथिमाथिसम्म हिउँ उठेको सेतो मरुभूमि भैसकेको थियो । प्लास्टिकको हलुका बेल्चाले हिउँ मिल्काउँदै र बाटो बनाउँदै हामी गोदामतर्फ लाग्यौं ।

हामी गोदाम नजिक पुग्यौं । भुइँ छुन लागेको गोदाम ‘लिन फर्वर्ड’ डान्स गरिरहेको माइकल ज्याक्सन जस्तै देखियो । रातभरिको डर त्रास अब भने बल्ल मत्थर हुँदै गयो अनि हामी तीनै जनाले घुमीघुमी गोदामभित्रका चीजबीजहरू अवलोकन गर्यौं । गोदामले जमीन छुन थोरै बाँकी थियो । बिजुलीको तार पनि टिनिक्कै तन्किरहेको थियो ।

यसरी रात्रि आतङ्क खत्तम भयो । हामी सबैले शान्तिको सास फेर्यौं । कोरियन दाजैले अब कसरी सोजु किन्न जाने होला नि भनेर चिन्ता व्यक्त गरे । सुरक्षित रात बितेकोमा हुसैन भाइले अल्लाहलाई धन्यवाद दिए । मैले  त्यत्रो तन्किँदा पनि नचुँडिएको त्यो बलियो तार र उभिनुको धर्म थामिरहेका दुई चार ओटा बाँकी खाँबोहरूलाई ।

बिहान भएपछि रातिको मिस्डकल देखेर रवीन्द्र र रामले पालैपालो फोन फर्काए । उनीहरू दुवै जनाको कम्पनीको गोदाम पनि ध्वस्त भएछ । मेरो फोन नउठाएकोमा दुवै जना अत्यधिक खुशी थिए किनभने बाहिर माहौल के भएको छ भन्ने उनीहरूलाई त थाहै भएनछ । मस्त सुतेका उनीहरूले बिहान पनि अबेर गरेर मात्रै कम्पनीको गोदाम ढलेको कुरा थाहा पाएछन् ।

उनीहरू दुवैजनाको एउटै खुशी थियो, “धन्न फोन उठाइएनछ र मजाले सुतिएछ बिना टेन्शनको !” मेरो तनावपूर्ण अनिदो रातको बारेमा उनीहरू जोडजोडले हाँसेर प्रतिक्रिया जनाएँ ।

घाम टिलिलि लाग्यो । दिन उज्यालो खुल्यो । हिजको सकसपूर्ण रात भूतकाल भयो ।

“बुझ्नु भो सुरेश जी ? आफ्नो देश भनेको आफ्नो देशै हुँदो रहेछ । आफू समस्या पर्दा त देशकै याद आउँदो रहेछ । तपाईंलाई एउटा सिक्रेट कुरा बताऊँ है ! हिजो रातभर कुनै दुर्घटना होला कि भनेर म त आफ्नो पासपोर्ट खल्तीमै च्यापेर सुतें नि ! यदि आगो सागो लागेर भागिहाल्नु पर्ने स्थिति आयो भने पासपोर्ट त जोगाउनै पर्‍यो !” हुसैन भाइले कफी सुरुप्प पार्दै एकै सासमा भने ।

“ए हो र ?” मैले फिस्स हाँस्दै भने  । उनी अरू थप के के के के बोल्दै गए । उनको बकबक फेरि शुरू भैहाल्यो । मलाई पहिलो पटक हुसैन भाइको यो गनगन मन पर्‍यो ।