निजी बैङ्कको साधारण परिचर हुन्— मिक्ष्ल । यिनको सादगी, हीराको हारभन्दा मूल्यवान् छ । र, स्फूर्ति कुनै पहाडी खोलाजस्तो गतिशील र कलकल । सपनामय सहरको दक्षिणी भेगमा यिनको डेरा छ ।

“अहो ! तिमी त जागिरे पो भइछौ ? कुन अफिस हो ?”

मिक्ष्लका लागि यी प्रश्नहरू साधारण थिए । मिक्ष्ल फिस्स हाँसी । मिक्ष्लको हाँसो बनावटी थिएन । र, जवाफ भिक्षुको जस्तो सरल, जीवनबोधी थियो ।

मिक्ष्लले भनी— “गाउँको गोरेटोजस्तै बनेकी छु अचेल ।”

“पहिलाको काम के भो र ?”

मिक्ष्लसँग धेरै समय थिएन । नयाँ अफिस आठ बजे पुगिसक्ने हतार थियो । ब्यागबाट मोबाइल झिकेर समय हेरी— सवा आठ भैसकेछ । पछिल्लो जवाफ नदिईकन हिँड्नु पर्दा मिक्ष्ललाई कस्तो-कस्तो लाग्यो । बाटोभरि आफ्नै छाया ओछ्याएर हिँडिरही ।

मिक्ष्लले रातो कुर्तासलवार र पहेँलो रङ्गको सल पहिरिएकी थिई । निधारमा श्रीखण्डको टीका । हातगोडाका औँलाहरूमा रातो नङ पोलिस । यिनका ठुला र आकर्षक आँखाहरूमा लाज, दकस बराबरी थियो । गोधुली साँझको आकाशजस्तो रक्तिम थिए ओठहरू । मिक्ष्ल ब्राह्मण परिवारमा जन्मे हुर्किएकी सुशील संस्कारी सोझी युवती थिई ।

“च्याको कप यी यहाँ छ, पुछा सरसफाइको सामानहरू पल्लो कोठामा छ , काम गर्ने ठाउँ यत्ति नै हो । अरू बिस्तारै बुझ्दै गइन्छ ।” मिक्ष्लले हवस् भनी । त्यो पहिलो दिन मिक्ष्ल डर र उत्सुकताले अग्लिएर पर्वत नै बनेकी थिई ।

दस वर्ष स्यानो समय होइन । बिहे भएको पनि दस वर्ष भैसकेछ मिक्ष्लको । मिक्ष्ललाई आफ्नै अतीत सम्झन पनि फुर्सद छैन । सधैँ हतारो । सधैँ व्यस्त । मध्यान्ह दिन थियो । मिक्ष्ल अफिसको बरन्डामा गई । अग्ला घरहरूले छेकिएर अलिकति देखिएको हिमाल हेरी । सडक हेरी । त्यहाँ हिँडिरहेका मानिसहरू हेरी । किन किन आज मिक्ष्लले आफूलाई एक्लो र निरीह पाई । सम्झौतामा बाँचिरहेजस्तो ठानी । दुवै पखेटा काटिएको चरीजस्तो असह्य र अशक्त मानी आफूलाई ।

“मिक्ष्ल ! ”

मिक्ष्ल भङ्ग भई ।” हजुर” करुणा र प्रेमले भरिएको उहीँ आभाषीय आवाजमा बोली ।

“चेक र भौचर सकिएछ । ल्याउनू पर्‍यो रे ।” कल्पनाको धरातलबाट ओर्ली मिक्ष्ल । यथार्थ अर्कै छ । उसले आफ्नो स्कुले जीवनमा लेखेको गजलको एक शेर सम्झी—

एउटा नदी अर्को नदीसँग जसरी मिसिन्छ

हेर्दै जानू जीवन कसरी जाँतोमा पिसिन्छ ।

अफिसबाट डेरा फर्कँदा साँझै हुन्छ । छाया कुल्चँदै हिँड्न न साँझ न बिहान सुविधा छ मिक्ष्ललाई । बरु आफैलाई कुल्चिएर हिँड्छे । आफ्नै मौनतासँग कुरा गर्छे । फुर्सद मिल्यो कि तन्द्रामा पुग्नु आदतजस्तै बनेको छ अचेल ।

“मामु ! कसको मेसेज हो यो ? ”

मिक्ष्लले छोरीको हातबाट मोबाइल खोसी । भाइवरमा आएको मेसेज हेरी । “मिस यु मिक्ष्ल !” छोरी सात वर्षकी भई । ऊ परार सालदेखि स्कुल जान थालेकी छे । चञ्चल छे । र, अलि जिद्दी पनि । टिकटकमा अभ्यस्त भइसकी छोरी । मिक्ष्ललाई छोरीको खुसी आकाशै होस् जस्तो लाग्छ । आफ्नो छोरीका निम्ति जून टिप्न तयार छे । समुद्रमा पौडन तयार छे । भेल बाढीमा फराल्न तयार छे ।

रात छिप्पिँदै थियो । थाके पनि निद्रा लागिरहेको थिएन । बत्ती निभाई । तर सम्झना निभ्दैन । झन्झन् चहकिलो हुन्छ । झनझन् उज्यालो । आफैलाई छामी । आफ्नै निश्वास सुनी । यस्तो के भयो ? भेउ पाइन । शरीरबाट पसिनाहरू छुटे । रात एकदम मादक बन्यो । बेहोसीझै बनी मिक्ष्ल । उसलाई अलिअलि आफैप्रति शङ्का लाग्यो—  कि कतै प्रेममा त परिनँ म ?

घाम झ्यालको पर्दाबाट छिरेर मिक्ष्लको शरीर छुन आइपुगेको थियो । मिक्ष्ल लजाई । शरीरबाट सिरक हटाउन पनि मन लागेन । रातको सपना यतै पो लुकेको छ कि ! सिरक हटाउँदा छोरीले देखी भने ? मिक्ष्ल सशङ्कित भई । तर मनको पिँधमा गएर थेग्रिएको प्रेमले भने मिक्ष्ल पुलकित थिई । सधैँ झैँ मिक्ष्ल अफिस जान तयार भई । कोरीबाटी गरी । टीका लगाई । भदैको बिहेमा सिलाएको नयाँ कुर्ता लगाई । पस्मिनाको सल ओढी । ओठमा लिपस्टिक भने लगाइन् । डेराबाट अफिस आउँदा काँ काँ टेकेर आएँ मिक्ष्ललाई कुनै कुनै हेक्का भएन । मानिसहरू को को भेटिए वा ककसले बोलाए बिलकुल हेक्का थिएन ।

एउटै मात्र हेक्का छ कि मिक्ष्ललाई— “तिम्रो फिका ओठमा केवल मुस्कान सुहाउँछ” कसैले सुझाएको ।

मिक्ष्ल राम्री थिई । जिउडाल उतिकै सुहाउँदो । कुनै दन्त्य कथाकी राजकुमारी जस्ती । बोलीमा आकर्षण थियो । व्यवहारमा सरलता । मिक्ष्ल रिसाउँदा झन् राम्री देखिन्थी । अफिसका लागि कुनै उत्सवको घडी ढोकामा घडा थापे जस्ती विनयी र हार्दिक थिई मिक्ष्ल । काम गरेको चार/पाँच महिनामै आफ्नो काम र स्वभावले सबैको मन जितेकी थिई ।

मिक्ष्ल फूल मन पराउँछे । साँघुरै भए पनि कोठाका चोटाहरूमा गमला सजाएकी छे । ऊ राम्ररी फूलका प्रजातिहरू चिन्छे । गुन/बैगुनका बारे पनि जानकार छे । मिक्ष्लको हातै मलिलो र पोसिलो छ । यहीँ हातले ? मिक्ष्लले मनमनै सोची— वहाँलाई खुवाउन पाए !

डेरामा पुगेपछि सदाभन्दा आज रोमाञ्चित छे मिक्ष्ल । उसकाे अनुहारमा खुसीका आभाहरू स्पष्ट देखिन्छन् । हतपत आफू डेरा आइपुगेको खबर भाइवरमा छाड्छे । कपडाहरू पट्याउँछे । उदात्त आभामा टिकटक बनाउँछे । बर्षौंदेखि ऊ अतृप्त थिई करुणा, प्रेम र अपनत्वको । कहीँ कतै आफ्नो श्रीमानसँग घुमेको वा कुनै जन्मदिनमा उपहार पाएको सम्झना छैन मिक्ष्ललाई ।

उसलाई वैवाहिक जीवन सटको टाँकजस्तो लाग्थ्यो । केवल मसिनो धागोले जोडिएजस्तो । यस्तो नाथे जीवनसँग बिलकुल खुसी थिइन ऊ । साँझ आइपुगेको लोग्नेलाई खाना खुवाउनु । उसका लुगाहरू धोइदिनु । बस् एउटी महिलाका रूपमा लोग्नेको कामेच्छा पूरा गरिदिनू उसलाई आफू साधन मात्र भएकी भन्ने लाग्न थाल्यो । मिक्ष्ल धेरै पढेलेखेकी त होइन । तर जीवन सङ्घर्षका क्रममा धेरै धेरै सिकेकी छ । उसको आर्जन यहीँ इमान हो । यसैको भरमा स-स्यानो जीविका चलाइरहेकी छे ।

गमलाका फूलहरू फुल्न थालेछन् । उसका कोमल औँलाहरूले फूलका पातहरूमा लागेका धूलोहरू पुछी । यो आनन्द उसका लागि अव्यक्त छ । यसैमा अप्रतिम आनन्द छ भन्ने सम्झन्छे । र, आफूले प्रेम गरिरहेको कोही कोही मानिसको सम्झनामा खुसी हुन्छे । उसको आदत भनौँ या के ! खुसीमा होस् या दुखमा टिकटक बनाउँदा आफू अभिव्यक्त भएको महसुस गर्छे ।

उसले एउटा फूललाई नयाँ नाम दिएकी छे । हुन त त्यो फूलको नाम अर्कै छ । र, नामको कथा पनि । त्यो फूल आफ्नो जन्म दिनमा उपहार पाएकी थिई । त्यो फूललाई अरू फूलभन्दा बढ्तै माया गर्छे मिक्ष्ल । त्यो फूलको पातमा धुलोले एकछिन पनि बस्ने मौका पाउँदैन । मनमनै राखेको त्यो फूलको नाम अरूलाई भन्न चाहँदिन । उसले उपहार पाउनुअघि सर्त राखेकी थिई— “हजुरले मेरो जन्म दिनमा केही दिने हो भने फूल नै दिनू । म त्यसलाई प्रेमले हुर्काउने छु । प्रेमले नै स्याहार्ने छु ।” कैले काहीँ छोरीको बदमासीले त्यो फूलको हाँगा हल्लँदा मात्र पनि द्रवित हुन्थी । कता कता दुखेजस्तो हुन्थ्यो मिक्ष्ललाई ।

मिक्ष्ल अहिले गहिरो प्रेममा परेकी छ । कुनै दिन नभेट्दा, नबोल्दा उसको मन अशान्त हुन्छ । हृदयमा छालहरू उठ्छ । ऊ प्रेमको आनन्दमा सवार छे । पहाडको शिरमा बतासले ठुङ्ग हानेझैँ आनन्दको घोडामा सवार, ऊ आफैलाई पनि भेट्न सकिरहेकी छैन । आनन्दको बीउ रोपेर मिक्ष्लको हृदयमा छाडिदिएको छ कसैले । मिक्ष्ल प्रेमको भेषमा सजिएर हिँड्दा—  साँच्ची भनेको, वसन्त ऋतु नै फिका भएको प्रतीत हुन्छ ।