दुवै जनाले धेरै पटक आफूलाई आफ्नो प्रेम सम्बन्धका बारेमा द्विविधा हुँदा रिम्पोछेले दर्शन दिएर सम्झाएको सपना देखेका थिए । भूटानी सिप्रेस रूखको ट्याटू र चाँदीका सिक्काले दुवैलाई सधैं साथ रहेको आभास दिलाउँथे ।

००००

माघको पारिलो घाममा भक्तपुर दरबार अगाडि टहलिंदै थिएँ । पछाडिबाट कसैले बोलायो, ‘नमस्ते, आज कहाँबाट यहाँ एक्लै ?’

फर्केर हेरें, आई. ए. पढ्दाका सहपाठी दिनेश रहेछन् ।

मैले पनि नमस्कार फर्काएँ, ‘आज आन्तरिक पर्यटक भएर भक्तपुर घुम्न आएको नि !’

दिनेश सन् २०१६ सम्म लुथरन वर्ल्ड फेडरेसनको दमक अफिसमा भूटानी शरणार्थी सम्बन्धी कार्यक्रम प्रमुख थिए । चार वर्षअघि यौटा विवाह भोजमा काठमाडौंमा भेटे देखि हाम्रो भेट भएको थिएन । उभिई उभिई केही भलाकुसारी गर्यौं ।

दिनेशले खुशी मान्दै, ‘फेरि छिट्टै भेटौंला !’ भनेर बिदा मागे । मैले अर्को हप्ता श्रीमतीसहित केही समय ब्रिसवेन (अस्ट्रेलिया) जान लागेको बताएँ ।

छुट्ने बेला दिनेशले भने, ‘ब्रिसवेनमा जितेन राईसँग भेट्नु होला ! उनको ठेगाना पठाइदिन्छु।‘

‘अफिसमा सँगै काम गर्ने भूटानी शरणार्थी जितेन ?’, मैले सोधें ।

‘हो, जितेन अचेल ब्रिसवेनमा बस्छन्,’ दिनेशले थपे ।

हामी छुटियौं । दिनेश न्यातपोल मन्दिरतर्फ लागे । म गोल्डेनगेटबाट चोकभित्र पसें । अरूदिन प्रायः बन्द रहने तलेजू मन्दिरको ढोका माघशुक्ल (सिल्लाथ्व) नवमी तिथि भएकोले त्यो दिन खुला रहेछ । तलेजू भवानीको दर्शन पाएर म धन्य भएँ ।

* * *

बेलुका दिनेशको मेसेज आयो । जितेनको अस्ट्रेलियाको ठेगाना रहेछ – ‘६३५ फ्लिण्डर्स स्ट्रीट, लोगन सिटी, ब्रिस्वेन’ । इमेल र फोन पनि थियो । यति भएपछि जितेनसँगको भेट पक्का भयो । जितेनसँगको प्रसङ्गले म पुराना सम्झनाहरूमा हराएँ ।

* * *

सन् २०१५-१६ तिर जितेन लुथरन वर्ल्ड फेडेरेसनमा भूटानी कागजातहरूको अंग्रेजी र नेपाली अनुवाद गर्ने काम गर्दथे । उनी दिनेशको सहयोगी कर्मचारी थिए । काठमाडौंबाट झापा आएका बखत म दिनेशलाई भेट्न दमक गइरहन्थें । जितेनसँग मेरो चिनजान त्यहीं भएको हो । जितेन खुलेर गफ गर्न मन पराउँथे । हामी व्यक्तिगत, पारिवारिक र कामका कुराहरू गर्दथ्यौं । जोङ्खा र अंग्रेजीमा राम्रो दखल भएका जितेनले अनौठो तर मीठो लवजमा नेपाली बोल्थे ।

जितेनको बाल्यकाल दक्षिणी भूटानको सानोगाउँ, घुमाउनेमा बितेको थियो । उनको परिवार खेती गर्थ्यो र पारम्परिक भूटानी चलनहरू मान्दथ्यो । आफ्नो संस्कृतिमा गहिरो जोडिएका थियो । जितेनका बुवा राईहरूका कुलधामी (माङ्पा र ङोपा) थिए । वरपरका गाउँबस्तीसम्म उनको ख्याति थियो । जितेन पढेर शिक्षक बन्ने सपना देख्थे ।

* * *

सन् १९८० को दशकको अन्त्य र सन् १९९० को दशकको शुरूमा भूटान सरकारले ड्रुक्पा संस्कृति (तिब्बती-भूटानी मूल) संरक्षण गर्ने नीति लागू गर्यो । कानून संशोधन गरेर सन् १९५८ अगाडि देखिको बसोबास प्रमाणित गर्न अनिवार्य बनायो । यसलाई आधार मानेर पुस्तौंदेखि दक्षिणी भूटानमा बसेका ल्होत्साम्पाहरू पनि अवैध आप्रवासी घोषित गरिए ।

‘एक राष्ट्र, एक जनता’ नीति अन्तर्गत भूटान सरकारले ल्होत्साम्पाहरूका भाषा, भेषभुषा, र संस्कारलाई स्कूल र सार्वजनिक जीवनमा निषेध गर्यो । सन् १९९० मा दक्षिणी भूटानमा विरोध प्रदर्शन भयो । त्यसलाई भूटान सरकारले कडाइका साथ दमन गर्यो । भूटानी सेना र प्रहरीले धेरैलाई जबरजस्ती ‘स्वैच्छिक प्रवासी फाराम’ हस्ताक्षर गराए । हजारौंको नागरिकता रद्द गरिए । तिनीहरू जेलमा राखिए वा देशनिकाला गरिए । भारत पसेका नेपाली मूलका भूटानीहरूलाई भारतीय सुरक्षाकर्मीहरूले जबरजस्ती नेपाल-भारत सीमा मेची पुलमा ल्याएर छोडिदिए । ल्होत्साम्पा विरोधी भूटानी सरकारी नीतिले गर्दा हजारौं परिवारहरू विस्थापित भएर पुर्वी नेपालका शरणार्थी शिविरमा आइपुगे ।

* * *

विस्थापित भएर आएका जितेनको परिवार बेलडाँगीको भूटानी शरणार्थी शिविरको सेक्टर तीनमा बस्दथ्यो । उनको छिमेकमा घुमाउने बस्तीबाट नै विस्थापित भएर आएका सोनमको परिवार थियो । सोनम शरणार्थी शिविरमा बच्चाहरूलाई जोङ्खा भाषा पढाउँथिन् । भूटानका गीत गाउने, नाच सिकाउने र कथा सुनाउने गर्दथिन् ।

भूटानमा रहँदा यौटै विद्यालय पढेका जितेन र सोनम मिल्ने साथी थिए । जितेन र सोनम क्रमशः राई र तामाङ भिन्न संस्कृति र परम्परा भएका परिवारका थिए । छिमेकमा बस्ने, सधैं भेट हुने, सँगै घुम्न जाने जितेन र सोनम एक अर्कालाई मन पराउँथे । कुनै दिन भेट भएन भने छटपटिन्थे । उमेरसँगै उनीहरू बीच प्रेम बढ्दै थियो ।

समयसँगै जितेन र सोनम अझ नजिकिंदै गए । एकदिन सोनमले सोध्छिन्, ‘जितेन, के तिमीलाई लाग्छ, हामी कुनै दिन भूटान फर्किने छौं?’

जितेन भन्छन्, ‘मलाई थाहा छैन, सोनम । तर हामी जहाँ जाऔं, हाम्रो साथ कहिल्यै नछुटोस् ।’

सोनमले जितेनलाई घुमाउनेमा रहँदाको यौटा प्रसङ्ग सम्झाइन् । विद्यालय परिसरमा यौटा अजङको भूटानी सिप्रेस (राजसल्ला) को रूख थियो । रूख धेरै अग्लो र ठूलो थियो । १५ जना बच्चाहरूले हातेमालो गरेर घेरा लगाउँदा फेदमा फेरो समेत नपुग्ने । त्यसरी फेरा लगाउनेहरू जीवनभर साथी रहने विश्वास गर्थे । सोनमले भनिन्, ‘भूटानी धार्मिक विश्वासमा सिप्रेसको रूखलाई पवित्र मानिन्छ । सिप्रेसको रूखले  प्रकृति र भगवानको महानतालाई प्रतिनिधित्व गर्छ ।‘

जितेनले एकछिन सोचेर भने, ‘त्यसो भए हामी पनि हाम्रो प्रेमको प्रतीक मानेर हातमा सिप्रेसको रूखको ट्याटू खोपौं न, हुन्न ?’

सोनमले खुशी हुँदै भनिन्, ‘हुन्छ, बनाऔं न त ! ट्याटू (सिप्रेसको रूख) ले हामीलाई नजिक राख्ने र एक अर्काको सम्झना दिलाउँनेछ ।’

भोलिपल्ट जितेन र सोनम दमकको नमूना मार्केटमा रहेको ट्याटू स्टुडियो ‘इलोरा’मा गए । दुवैले देब्रे हातमा भूटानी सिप्रेस (राजसल्लो) को रूखको आकृति ट्याटू बनाए । ट्याटू हेरेर जितेन र सोनम मुस्कुराए । प्रेमिल मुस्कानमा प्रेमको दीर्घायु, पवित्रता र रक्षाका लागि प्रतिवद्धता झल्कन्थ्यो ।

एकपटक जितेन र सोनमसहित शरणार्थी युवाहरू सीप विकास तालिममा काठमाडौं गएका थिए । बिदाको दिन पारेर जितेन र सोनम फर्पिङमा भूटानी गुम्बा, ‘द्रुक अमिताभ गुरु ल्हाखाङ’ घुम्न गए । यो गुम्बा १२औं ग्याल्वाङ द्रुक्पा (द्रुक्पा काग्यु सम्प्रदायका प्रमुख) को संरक्षणमा स्थापित भएको हो । गुम्बामा अनन्तप्रकाश अमिताभ बुद्धको ठूलो स्वर्णमूर्ति छ । यसले करुणा र सुखावती प्राप्तिको आकाङ्क्षा प्रतिनिधित्व गर्छ । फर्पिङ गुरु पद्मसम्भवले ज्ञान प्राप्त गरेको पवित्रस्थल हो ।

सोनमको माइलो मामा उक्त गुम्बाको मुख्य रिम्पोछेको सहायक हुनुहुन्थ्यो । उहाँलाई सोनम र जितेनको सम्बन्ध बारे थाह थियो । दुवैको घरबाट समर्थन नभएको पनि बुझ्नु भएको थियो । सोनमको मामाले गुम्बाको मुख्य रिम्पोछे (लामा) सँग भेट गराएर आशीर्वादका लागि अनुरोध गरिदिनु भयो । औतारी लामाले मन्त्रोच्चारण सहित चमर, बज्र, घण्टा र फूर्वासहितका पवित्र सामाग्रीहरूको दर्शन गराई दुवैलाई अभिषेक गरिदिनु भयो । जितेन र सोनमले आफूले ल्याएको खादा हस्तान्तरण गरी निहुरेर रिम्पोछेलाई ढोग गरे ।

रिम्पोछेले हाँस्दै भन्नुभयो, ‘तिमीहरूको प्रेममा अझै केही समय असजिलो छ । एकअर्कोसँग छुट्टिनु पर्ने दिन आउँदैछ । तर तिमीहरूको हातमा भएको सिप्रेसको रूखको ट्याटूले मायालाई कहिल्यै मर्न दिनेछैन । म यो दुईवटा सिक्का पनि दिन्छु, एक एक वटा सिक्का सधैं आफूसँग राख्नू । सिक्काले तिमीहरू टाढा हुँदा पनि एक अर्कालाई नजिक भएको आभास दिनेछ । तिमीहरू नअत्तालिनू, विचलित नहुनू, तिमीहरू फेरि भेट हुनेछौ ।‘

रिम्पोछेले एकएक वटा चाँदीका सिक्का द’ई जनालाई दिनुभयो । सिक्काको एकापट्टि गुरु पद्मसम्भवको तस्वीर र तिब्बती लिपिमा ‘ॐमणी पद्मे हूँ’ र अर्कोपट्टि भूटानी सिप्रेसको रूखको चित्र र अंग्रेजीमा ‘प्रकृति र भगवानमा विश्वास गर’ कुँदिएका थिए ।

जितेन र सोनमले सिक्काहरूलाई ढोगे, चुमे र छातीमा छुवाएर सम्मानसहित आ-आफ्ना पर्समा राखे । जितेन र सोनमले खुश हुँदै बिदा मागे । रिम्पोछले दुवैको टाउकोमा हात राखेर आशीर्वाद दिनुभयो । मामासँग पनि आशीर्वाद र बिदा लिएर उनीहरू फर्किए ।

फर्किंदै गर्दा बसमा जितेनले सोनमलाई सोधे, ‘रिम्पोछेले कसरी हाम्रो ट्याटूको बारेमा थाह पाउनुभयो ? तिमीले मामालाई सुनाएको थियौ ?’

सोनमले भनिन्, ‘मैले त सुनाएको थिइनँ !’

जितेनले थपे, ‘हामीले पूरा बाहुला लुगा लगाएका थियौं । त्यसो भए कसरी थाहा भयो होला है ?’

रिम्पोछेले हाँसेर सिप्रेसको रूखको ट्याटूको कुरा गर्नु र सिक्काको एकापट्टि सिप्रेसको रूखको चित्र हुनु संयोग मात्र पक्कै होइन । नाडीका लुगा सारेर दुवैले एकै चोटी आफ्ना हातका ट्याटू हेरे । दुवैले मुखामुख गरे । उनीहरूमा सिप्रेसको रूख सम्बन्धी सुनेका कुराहरूप्रति विश्वास अझ बढेर गयो ।

* * *

सन् २००५-२००६ सम्म पनि भूटानी शरणार्थीहरू सम्बन्धमा कुनै समाधान निस्किएन । संयुक्त राष्ट्रसंघद्वारा सहयोग पुर्‍याइएका पूर्वी नेपालका टिमाई, खुदुनावारी, गोलधाप, बेलबारी र पथरीका शिविरहरूमा १ लाखभन्दा बढी शरणार्थी ल्होत्साम्पाहरू बसिरहेका थिए । उनीहरूमा अनिश्चयता, त्रास, निरीहता र नैराश्य बढ्दै गएको थियो ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग र विश्व आप्रवासी संगठनको पहलमा शरणार्थी परिवारहरुको गहन अध्ययन भयो । अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका देशहरूले प्रमाणित शरणार्थीहरूलाई विभिन्न चरणमा पुनर्स्थापना सुविधा दिएर लैजाने भए । सन् २००८ बाट पुनर्स्थापना प्रक्रिया शुरू भएको थियो । सन् २०१५ को सेप्टेम्बरमा सोनमको परिवार अमेरिका र जितेनको परिवार अस्ट्रेलियामा पुनर्स्थापन हुने स्वीकृति आयो ।

छुट्टाछुट्टै देश जाने निर्णयले जितेन र सोनम दुवै जना छटपटिए । दुवैका आँखा आँसुले भरिए । रिम्पोछेले भनेको सम्झिए । जितेनको हात समाउँदै सोनमले भनिन्, ‘मलाई वाचा गर, जितेन ! हरेक हप्ता कुरा गर्छु भनेर !’

जितेनले भने, ‘मलाई विश्वास गर सोनम, म त्यसै गर्नेछु ! म तिमीलाई फेरि भेट्छु । हामी जहाँ रहे पनि !’

घरबाट स्विकृती नहुँदा बिहे गरेर सँगै जाने सम्भावना कम थियो । केही उपाय लाग्छ कि भनेर शरणार्थीहरूको पुनर्स्थापनाको व्यवस्थापन गर्ने अधिकृतलाई भेट्न निवेदन दिए । सहानुभूतिशील भएर अधिकृतले जितेन र सोनमका कुरा सुने ।

जितेन, ‘कृपया सर ! हामी वर्षौंदेखि सँगै छौं । अलग नपारिदिनुहोस् । हामी एउटै देशमा पुनर्स्थापन हुन चाहन्छौं ।‘

अधिकृतले नरम बोलीमा भने, ‘म तपाईंहरूको कठिनाइ बुझ्छु । तर पुनर्स्थापन निर्णय परिवार इकाई र आश्रय दिने देशहरूले उपलब्ध गराएको संख्याको आधारमा गरिएको हो । हामी कानूनी रूपमा विवाहित नभएका जोडीहरूलाई नियमविरुद्ध समेट्न सक्दैनौं ।’

सोनमले थपिन्, ‘तर हामीलाई शिविरमा विवाह गर्न अनुमति छैन । हाम्रा परिवारहरू मान्दैनन् । हाम्रो विवशता हजुरहरूले बुझिदिनुपर्छ ।’

‘मलाई माफ गर्नुहोस् । मेरो हात बाँधिएको छ । म तपाईंको यो अनुरोध दर्तासम्म गर्नसक्छु, तर भइसकेको निर्णयबारे केही गर्न सक्दिनँ ।‘

जितेन र सोनम निराश हुँदै फर्कन्छन् । उनीहरू परिवारहरूको आपत्तिको बावजूद विवाह गर्ने विकल्प पनि सोच्छन् ।

जितेन भन्छन्, ‘हामीले विवाह गर्यौं भने, उनीहरूले एउटै देशमा पठाउनुपर्छ । यो मात्र सजिलो तरिका हो ।’

सोनम डराउँदै भन्छिन्, ‘तर हाम्रा परिवार ? उनीहरूले अनुमति दिन्नन् । फेरि यसले काम गरेन भने के होला ?’

जितेन आफूलाई साहसी देखाउँदै भन्छन्, ‘मलाई थाहा छैन, सोनम । म जोखिम उठाउन तयार छु, म तिमी बिना बाँच्न सक्दिनँ ।’

त्यसरी विवाह गर्दाका जोखिम र परिणामको बारेमा दुवै जना असमञ्जस्य देखिन्छन् । तैपनि जितेनले आफ्नो परिवारमा यो विकल्प बारेमा कुरा उठाउने अठोट लिएर छुटिन्छन् ।

शिविरको आफ्नो कटेरोमा जितेनले आमा र बुवासँग आफूले सोनमसँग विवाह गर्न चाहेको कुरा सुनाए । जितेनका आमाबुबा रिसाउनुभयो । उहाँहरूको जोड आफ्नै जातभित्र विवाह गर्नु र परम्परा पालन गर्नु भन्नेथियो ।

जितेनका बुबाले रिसाउँदै भन्नुभयो, ‘तिम्रो दिमाग खराब भएको छ ? तामाङकी छोरी सोनमसँग विवाह गर्दा हाम्रो कुल, खानदान र परिवारको अपमान हुनेछ !’

जितेनले जवाफ फर्काए, ‘म उनलाई माया गर्छु, बाबा ! म कुल र परम्पराको नाममा मेरो खुशीलाई बर्बाद हुनदिन्न ।’

जितेनकी आमाले जितेनलाई फकाउँदै भन्नुभयो, ‘तिम्रो भविष्यको बारेमा सोच, जितेन । मान्छेहरूले के भन्नेछन् ? यतिका वर्षको भुक्तानपछि अब सुखका दिन आउलान् कि भनेको त ! छोराको ध्यान अर्कै रहेछ ।’

जितेनले दृढ हुँदै भने, ‘मलाई मान्छेहरूले के भन्छन् भन्ने चिन्ता छैन । मेरो भविष्य सोनमसँग छ ।‘

एकछिन कोही बोलेन । जितेनको अनुहारमा परिवारप्रतिको निष्ठा र सोनमप्रतिको प्रेम बीच अन्तर्द्वन्द्वको भाव झल्किन्थ्यो ।

उता सोनमको आमाबाबुले समय धेरै बाँकी नभएको र सँगै जान पाउने ग्यारेण्टी पनि नभएको भन्दै घुमाउरो पारामा तत्काल विवाह गर्ने कुरा मानेनन् ।

अझै केही उपाय निस्कन्छ कि भनेर जोतेन र सोनमले शिविरको सामुदायिक केन्द्रका सल्लाहकारसँग भेटे । उहाँको सुझाव आश्रय देशमा पुगेपछि पुनर्स्थापन अधिकारीहरूलाई निवेदन गर्नु भन्ने थियो ।

‘एकचोटि तपाईंहरू पुनर्स्थापित भएपछि, परिवार पुनर्मिलनको लागि आवेदन गर्न सक्नुहुन्छ । केही समय लाग्छ, तर सम्भव हुन्छ ।‘

सोनमले प्रश्न गरिन्, ‘यसले वर्षौं समय लियो भने के होला ? बीचमा हामीले एक अर्कालाई गुमायौं भने के होला ?’

सल्लाहकारको जवाफ थियो, ‘अहिलेलाई यो नै सबैभन्दा राम्रो विकल्प हो । दृढ रहनुहोस्, एक अर्कामा विश्वास नगुमाउनुहोस् । मेरो शुभकामना छ तपाईंहरूलाई !’

जितेन र सोनम आशाको किरण लिएर त्यहाँबाट निस्के । अगाडि आएको परिस्थितिलाई आत्मसात् गर्नु मात्र विकल्प थियो उनीहरूका लागि । जितेन र सोनम मनमनै एक अर्काका लागि प्रतिक्षारत रहने प्रतिज्ञा गर्छन् । प्रतिज्ञापालन गर्न प्रेमका निशानी भूटानी सिप्रेसको रूखको ट्याटू र रिम्पोछेले दिएको चाँदीका सिक्काले सघाउने छन् ।

अन्तिम समूहको रूपमा जितेनको परिवार अस्ट्रेलिया र सोनमको परिवार अमेरिका पुनर्स्थापना भएर गएपछि यो कथा अधुरो रहेको थियो । अचानक आज सम्झिएको प्रसङ्गको बाँकी भाग जान्न पाइने कुराले म आफै रोमाञ्चित बनेको थिएँ । मैले अलिकति भूमिका बाँधेर मेरो ब्रिसवेन आउने योजनासहित जितेनलाई इमेल लेखें । उनले खुशी हुँदै भेट्ने समय र स्थान सहित जवाफ पठाए ।

* * *

शनिवारको दिन । म क्याफे ६३, रेडक्लिफ पुग्दा जितेन पर्खेर बसेका रहेछन् । जितेनले आफूलाई ब्ल्याक कफी र मेरो लागि कफी लाट्टे मगाए । खाजाको लागि मोमो र फिस एण्ड चिप्स अर्डर गर्ने सल्लाह भयो । गफको शुरूवात शिविरमा हुँदाको समयको सम्झनाबाट भयो । जितेन केही भावुक देखिए ।

जितेनले बेलडाँगी शिविरबाट छुटेपछिका उनीहरूका दिनहरूबारे सुनाए । जितेनको परिवार अस्ट्रेलियाको ब्रिसवेन, लोगन सिटीमा पुनर्स्थापित भएछ । उनीलाई भन्दा पनि बुवा आमालाई नयाँ सामाजिक र सांस्कृतिक परिवेशमा घुलमिल हुन असजिलो थियो । अस्ट्रेलिया सरकारले पुनर्स्थापित परिवारहरूलाई भाषा, सिप र दक्षता विकासका लागि तालिमहरूको विशेष व्यवस्थाहरू गरेको थियो ।

उता सोनमको परिवार अमेरिकाको टेक्सासमा पुनर्स्थापना भएको तीन महिनापछि सोनमकी आमाको सडक दुर्घटनामा परी मृत्यु भएछ । बुबालाई एक्लोपनले सताएर नियमित औषधी सेवन गर्नुपर्ने भएछ । नयाँ ठाउँ, समाज, नीतिनियम, चालचलनसँग तालमेल मिलाउन गाह्रो त छँदै थियो । यता जितेनसँगको बिछोडको पीडा र सकस आफ्नो ठाउँमा थियो । केही समयपछि सोनम अमेरिकामा स्थापित भइन, हातको ट्याटू र साथमा रहेको सिक्कालाई मौका पर्नासाथ हेर्दथिन् ।

यता जितेनको अवस्था पनि लगभग उस्तै थियो । सोनमसँगको दूरीले उनलाई विचलित जस्तै बनायो, निद्रा कम लाग्ने, खान मन नलाग्ने जस्ता असर देखिए । दुई जना बीच कुराकानी त भइरहन्थ्यो तर पनि एक खालको अनिश्चयताले दुवैलाई सताएको थियो ।

रिम्पोछेले भन्नुभएका शब्दहरू, ‘धैर्य गर्नू, तिमीहरू फेरि भेट हुनेछौ,’ ले दुवै जनाका लागि आशाको सञ्चार गर्दथ्यो । दुवै जनाले धेरै पटक आफूलाई आफ्नो प्रेम सम्बन्धका बारेमा द्विविधा हुँदा रिम्पोछेले दर्शन दिएर सम्झाएको सपना देखेका थिए । भूटानी सिप्रेस रूखको ट्याटू र चाँदीका सिक्काले दुवैलाई सधैं साथ रहेको आभास दिलाउँथे ।

* * *

पुनर्स्थापना भएको पहिलो वर्ष पूरा भएपछि परिवारहरूले पुनर्मिलनका लागि निवेदन दिन सूचना जारी भयो । जितेन र सोनमले पनि निवेदन दिए । सोनम र उनको बुवा अस्ट्रेलिया सर्ने प्रक्रिया अघि बढ्यो । उक्त प्रक्रिया व्यवस्थापन गर्ने अधिकारीहरूले जोतन र सोनमको सम्बन्ध झल्काउने केही प्रमाणहरू माग गरे । उनीहरूले केही युगल तस्वीरहरू, एकअर्कालाई लेखेका पुराना चिट्ठीहरू र इमेलहरू प्रमाण पेश गरे साथमा हातको सिप्रेसको रूखको ट्याटू र चाँदीका सिक्काका तस्वीरहरू खिचेर दुवै जनाले छुट्टाछुट्टै पेश गरे ।

अचम्मै भयो ! उनीहरूको निवेदन स्वीकृत भएको इमेल हप्तादिन भित्रै दुवैजनालाई प्राप्त भयो । इमेलमा लेखिएको थियो, ‘तपाईंहरूको हातमा खोपिएका यौटै डिजाइनका सिप्रेसको रूखको ट्याटू र तपाईंहरूसँग भएको दुर्लभ सिक्काका तस्वीरहरूले हामीलाई हाम्रो निर्णयमा पुग्न सजिलो भयो ।’

जितेन र सोनमको खुशीको सीमा रहेन । सबैभन्दा पहिला दुवै जनाले रिम्पोछेलाई सम्झिए र धन्यवाद भने ।

सबै प्रक्रिया पूरा गरेर तीन महिनापछि सोनम र उनको बुवा ब्रिसवेन आइपुगे । दुवै परिवार र साथीहरू वेन भर्डेन एभेन्यूमा भएको धम्मगिरी फरेस्ट हर्मिटेजमा भेला भए । मुख्य लामाबाट आशीर्वाद लिए । एक अर्कालाई अँगालो हाले । पारम्परिक भूटानी संगीत बज्यो । त्यहाँ उपस्थित सबै जनाबाट सगून र आशीर्वाद लिए । औपचारिक जोडीको रूपमा जितेन र सोनमको जीवनको नयाँ अध्याय शुरू भयो ।

* * *

हाल जितेन अस्ट्रेलियन पावर कम्पनी इनर्जेक्सको उत्तरी ब्रिसवेन क्षेत्रिय उप-प्रवन्धक भएका रहेछन् । अमेरिकाबाट अस्ट्रेलिया आएपछि सोनमले १५ महिनाको सामुदायिक सेवा विषयमा विशेषज्ञता कोर्ष गरिछन् । हाल उनी अस्ट्रेलियाको साल्भेसन आर्मी संस्थाले चलाएको साल्भोस स्टोर नेटवर्कको ब्रिसवेन क्षेत्रको प्रमुख बनेकी रहिछन् ।

जितेन र सोनमले फ्लिण्डर्स स्ट्रीट, ब्रिसवेनमा भएको उनीहरूको घरमा दुईवटा सिप्रेसका रूख हुर्काएका छन् । फर्पिङमा भूटानी गुम्बाका रिम्पोछेले दिनुभएको चाँदीका सिक्का बैठक कोठामा बुद्धको मूर्तिका साथ सजाएर राखेका छन् ।

छुट्ने बेलामा जितेनलाई सोधें, ‘भूटान, नेपाल र हालको अस्ट्रेलियाको जीवनलाई समग्रतामा कसरी हेर्नुहुन्छ ?’

उनको जवाफ थियो, ‘भूटानले हामीलाई संस्कार दियो, नेपालले हामीलाई संघर्ष र धैर्यता सिकायो, अस्ट्रेलियाले हामीलाई पूर्ण मानिस बनायो’ ।