विवाह नगरे पनि सिड्नीमा हुँदा उनी केही वर्ष लिभिङ टुगेदर रिलेसनमा थिए कृतिसँग । सुरुका वर्षहरूमा उनीहरूबीच असाध्यै मायाप्रीति थियो । एकअर्काका लागि ज्यान दिन तयार थिए ।

“हेलो कृति ! कता जान लागेकी ? आउ बस गाडीमा । आइ विल ड्रप व्हेरेभर यु वानअ गो ।” बाटोमा हिंडिरहेकी किर्तीलाई टाढैबाट चिनेर निकेशले गाडी रोकेका थिए ।

“नो थ्याङ्क यु । आई क्यान गो माईसेल्फ । आई वुड रादर टेक अ ट्याक्सी ।” चार वर्षपछि काठमाडाैँमा अकस्मात् भेट हुँदा कृतिले कत्ति पनि उत्सुकता जनाइनन् उनीसँग एकछिन सहयात्रा गर्ने ।

“बढी नखरा नगरीकन गाडीमा बस । नत्र एकोहोरो हर्न बजाइरहन्छु बुझ्यौ ?”

उनको स्वभावसँग परिचित कृतिले त्यसपछि केही बोलिनन् । ज्ञानी बालिकाजस्तै गरी थपक्क निकेशको कारमा बसिन् । यात्राभर निकेश मात्र बोलिरहे । कृतिले उनको अनुहारतिर पनि हेरिनन् । उनी आफ्नै सुरमा थिइन् । निकेशलाई “कहिले काठ्माडौं आयौ ? किन आयौ ?” जस्ता सामान्य प्रश्न सोध्न पनि जरुरी ठानिनन् ।

“राम्रो ब्राईडल ड्र्रेस बनाउने बुटिक थाहा छ तिमीलाई ? छ भने बताऊ है मलाई, मेरी हुनेवाली श्रीमतीलाई एक्स्ट्रार टाईपको ब्राईडल ड्रेस चाहियो रे ।” उनको मौनता तोड्नका लागि पनि केही प्रश्न सोध्नु आवश्यक देखे निकेशले ।

सुन्नेबित्तिकै कृतिले फनक्क टाउको निकेशतिर फर्काइन् । एकछिन एकटकले हेरिरहिन् अचम्म मानेझैँ तर केही बोलिनन् ।

“व्हाट ह्यापन्ड ? किन हेरेकी त्यसरी ?” हातहरु स्टेरिङमै घुमाइरहेका निकेशले नजर भने नघुमाई सोधे । आफूले त्यसरी हेरेको निकेशले याद गरेको थाहा पाएर उनले नजर फेरिन् र गाडी रोक्न भनिन् ।

निकेशले कार साइड लगाए । उनी ढोका खोलेर फुत्त निस्किेर हिँडिदिइन् । न त बाई, न त लिफ्टका लागि कृतज्ञता ।

निकेश अलमल्ल परे एकछिन । उनको सन्की बानी अझै छुटेको रहेनछ भन्ने ठानेर आफ्नो गन्तव्यतिर लागे । गाडी चलाउञ्जेल उनलाई यही स्वभावका कारण उनीहरुको वर्षौंको प्रेममा पूर्णविराम लागेको कुराको स्मरण भइरह्यो । चार वर्षअघि यसैगरी अकस्मात् सिड्नीस्थित आफ्नो अपार्टमेन्टबाट हिँडेकी थिइन् उनी ।

त्यसपछि भेट भएको आजै थियो ।

अष्टे्रलियाबाट केही महिनाका लागी बिदामा आएका थिए निकेश । यही मौका छोपेर उनको विवाह गरिदिन चाहन्थ्यो उनको परिवार । नाईनास्ती गर्दागर्दै उनी चौंतिस वर्ष पुगिसकेका थिए । साथीभाइका छोराछोरी हुर्कंदै गर्दा उनी भने अविवाहित नै थिए । त्यसैले परिवारको दबाब थेग्न अब उनलाई गाह्रै थियो । ठीकठाककी केटी हेरेर विवाह गर्ने मानसिकताको विकास हुँदै थियो उनमा पनि ।

विवाह नगरे पनि सिड्नीमा हुँदा उनी केही वर्ष लिभिङ टुगेदर रिलेसनमा थिए कृतिसँग । सुरुका वर्षहरूमा उनीहरूबीच असाध्यै मायाप्रीति थियो । एकअर्काका लागि ज्यान दिन तयार थिए । एकअर्काको जे कुरामा पनि सहयोग गर्ने उनीहरु साथीसर्कलमा आदर्श जोडी मानिन्थे । विस्तारै निकेश जाँड रक्सीको कुलतमा फसे । सुरु सुरुमा साथीभाइको करकापमा परेर सुरु भएको क्रियाकलाप उनीहरुसँगै बस्न थालेपछि त झन् अम्मल नै हुन पुग्यो ।

कृतिले मदिरा नपिउन गरेको आग्रहलाई उनले जिस्केरै उडाइदिन्थे । मानौँ उनले जे गरेपनि कृतिले सहनै पर्छ । नाईनास्ती गर्ने अधिकार उनको छैन । आखिर बसाइ विदेशमा भएपनि हुर्काइ र सोच त पितृसत्तात्मक समाजकै उपज थियो । कतिपल्ट त उनले कृतिलाई पनि सँगै बसेर पिउन आग्रह गरे । प्रेमकै खातिर कृतिले कोसिस पनि गरिन् तर सकिनन् । कृतिमा चाँहि कुनै अम्मल थियो भने कफीको थियो । कामबाट फुर्सद मिल्नासाथ उनलाई आफ्नो अगाडि कफी चाहिन्थ्यो ।

काठमाडाैँ फर्केर आफ्नो परम्परागत रीतिरिवाज अनुसार विवाह गर्ने ठूलो धोको थियो कृतिलाई । निकेशसँग उनी यो आग्रह गरिरहन्थिन् । राम्रो ब्राईडल साडीमा सजिएर निकेशसँग दुलाहादुलहीको फोटोसेशन गर्ने उनको भित्री इच्छा थियो । आखिर उनी पनि हिन्दु रिवाज र संस्कृतिमा हुर्किएकी चेली थिइन् । जीवनमा एकचोटि विशेष श्रृङ्गार गरेर दुलही हुने अनि सदाका लागि निकेशकै हुने उनको एउटै चाहना थियो । यसका लागि उनी आफैँले बचत गर्न सुरु गरेकी थिइन् जुन निकेशले मदिरामै बगाइदिएका थिए ।

निकेशको पिउने क्रम बढ्न थालेपछि सबैभन्दा तनाव  कृतिलाई नै थियो । निकेशसँगै  बिनापैसा पिउने अवसर मिलिरहेकोले उनका साथीहरुलाई भने यो रमाइलो विषय बनेको थियो । सबैले आफ्नो बानीको फाइदा उठाएको कुरा निकेशले के थाहा पाउँथे र ? उनका परिवारका नजिकका सदस्य कोही पनि अष्ट्रेलियामा थिएनन् । कहिलेकाहीँ उनी बिहानै देखि बोतल लिएर बसिदिन्थे । काममा पनि लापरवाही गर्दा रहेछन् । विस्तारै काममा जान कम गर्न थाले । विदेशी भूमीमा यस्तो क्रियाकलापले कसरी निर्वाह हुन सक्थ्यो र ? उनी कामबाट पनि निकालिए । यसको सारा असर कृतिमाथि परेको थियो । आफू एक्लैको कमाइले घरभाडादेखि सबै कुराको खर्च धान्न आच्छु आच्छु परेको थियो । बचत पनि शून्यमा झरिसकेको थियो ।

ग्रोसरी सपिङ्ग गर्न भनेर जाँदा प्रत्येक पटक अरु खाद्य पदार्थभन्दा पनि रक्सीका बोतल नै खरिद गर्न थालेका थिए । यो कुरा महसुस हुनेबित्तिकै कृतिले उनलाई आफ्नो बैंक कार्ड दिन छाडिन् । यस्ता विषयमा कृतिले केही सोध्दा मात्र पनि निकेश झनक्क रिसाइहाल्थे । अनि दुईबीच मनमुटाव सुरु भइहाल्थ्यो । कृतिको कार्ड प्रयोग गर्न नपाएपछि उनी बौलाहा भएका थिए । जसरी पनि रक्सी पिउनु परेपछि निकेशले साथीहरुसँग पनि सापट लिन थालेछन् । सबैलाई कृतिको तलब आएपछि दिन्छु भन्ने गर्दा रहेछन् ।

घरको सारा कामदेखि आर्थिक जिम्मेवारीसम्म आफ्नै काँधमा आयाे कृतिकाे । रिसाएर, घुर्क्याएर, फकाएर  भए पनि  निकेशलाई धेरै सम्झाइन् । काउन्सिलरकहाँ पनि लगिन् । तर सुधार आउने सङ्केत नै देखिएन । उल्टै उनको धनराशी खर्च भयो । कृतिले हार खाइन् ।  साथीहरुले पनि उनलाई निकेशसँग अलग हुने सल्लाह दिए ।

“विवाह नभइसकेकाेले केही बिग्रेको छैन । यो सम्बन्धले तिमीलाई दुःख र चोट मात्र मिल्नेछ । निकेश जिद्दी छन् । अरुका कुरा पटक्कै सुन्दैनन् । प्रेमिकाकाे कुरा पनि नसुन्ने, भावना नबुझ्ने मान्छेसँग आफ्नो समय खेर नफाल । यो बन्धनबाट मुक्त होऊ ।” उनका साथीहरुले बारम्बार यही कुरा दोहोर्याउँदा पनि कृतिले निकेशसँग अलग हुने बारे सोच्नै सकिनन् ।

एकपल्ट उनलाई आफ्नो सर्वस्व मानिसके पछि कसरी निर्णय बदल्नु ? बरु अझै निकेशलाई सम्झाउने प्रयत्न गरिरहिन् ।

एकदिन यसैगरी उनी नशाले मातेका बेला उनीहरुको भनाभन भयो । आवेगमा कृतिले उनको रक्सीको बोतल मिल्काइदिइन् । यो देखेर निकेश आक्रोशित भइहाले । उनले पनि रिसको झोकमा कृतिको घाँटीमा दुई हातले च्याप्प समाते । एकछिनसम्म हलचल गर्न दिएनन् । कृति निसास्सिइन् । त्यही दिन आफ्नो जीवनको अन्तिम दिन भए झैँ लाग्यो उनलाई । आफ्ना अगाडि अँध्यारो मुस्लो मात्र देखिरहिन् । अबको केही क्षणमै आफ्नो मृत्युको समाचारले सनसनी मच्चाउनेछ भन्ने सोच दिमागमा आउन भ्याइहाल्यो । कसोकसो एकैछिनमा निकेशका हातहरु लुला भएछन् । धन्न ! निसास्सिएकी उनले एक मुठी सास फेर्न भ्याइन् । बल्ल “अब बाँचे” भन्ने लाग्यो उनलाई ।

उनको पञ्जाबाट फुत्किनु बाघकै पञ्जाबाट फुत्किए झैँ भयो कृतिलाई । यसपछि आत्तिएर साथीको शरणमा पुगेकी उनको भेट निकेशसँग चारवर्षसम्म पनि भएको थिएन । साथीहरुले पुलिस केस गर्न अनेक सल्लाह दिए पनि उनले त्यसो गर्न सकिनन् । पुलिस केस गरेकी भए निकेश कानुनको फन्दामा नराम्रोसँग जाकिने थिए । अष्ट्रेलियाको नियम कानुन यस्तो कुरामा साह्रै कडा रहेछ । पुलिसमा कम्प्लेन गरेपछि सितिमिति अपराधीले उन्मुक्ति नपाउने नै रहेछन् । कडा सजायको भागी हुने रहेछन् । कुरा बुझेपछि आफ्नो निश्वार्थ प्रेमकै खातिर पनि उनले निकेशबिरुद्ध केही कदम चाल्न मानिनन् । मनभरी घृणाका लप्काहरु उर्लिए पनि आफ्नै मनको शान्तिका लागि  उनी मौन बसिदिइन् । आफूले दोस्रो जीवन पाएको महसुस गरेरै सन्तुष्टि लिइन् ।

त्यसपछि फर्केर न त उनी सो अपार्टमेन्टमा गइन्, न त निकेशलाई नै एक कल फोन र मेसेज गरिन् । गलत मान्छेसित जोडिएको सम्बन्धका लागि आफैँलाई जिम्मेदार ठानेर चुपचाप त्यसको सजाय आफै भोगिरहिन् । दुबैबीच यसपछि वार्ता हुनै सकेन । यसरी आवेशमा उठाइएको एउटा कदमले उनीहरुको प्रेमकाे दुखद अन्त्य हुन पुग्यो ।

त्यो नमीठो घटनालाई बिर्सन उनीहरु दुबैलाई गाह्रो थियो । आफूले बेहोसीमा गरेको गल्तीको पश्चात्तापको रापमा निकेश पनि जलिरहे । हिम्मत गरेर उनलाई फोन मेसेज गर्न पनि सकेनन् । उनले पुलिसकेस पो गरिदिने हो कि भन्ने डर पनि ज्यूँका त्यूँ भइरह्यो । जीवनमा अघि बढ्न दुबैका साथीहरुले सल्लाह दिए । तर उनीहरुको प्रेमसँगै पुरै जीवन त्यही बिन्दुमा ठप्प भएको थियो ।

त्यत्तिका वर्षपछि एक्कासि काठमाडौँमा उनीहरुको भेट भएको थियो । भन्नुपर्ने कुरा त धेरै थिए दुबैसँग तर मौका सही थिएन । हृदयको चोट सजिलै कहाँ निको हुन्छ र ? त्यस्तै भएको थियो कृतिलाई । प्रेममा ज्यान दिन्छु भन्नेले ज्यानै लिन लागेको कुरा सजिलै भुल्न सकिने चानचुने कुरा पनि थिएन । दोहोरो कुरा नभए पनि दुबैको मन तड्पिएकै थियो । एकअर्काको जीवनमा के कति नयाँ मोडहरु आए, जान्ने उत्सुकता दुबैमा थियो ।

भोलिपल्ट निकेशलाई एउटा साथीको छोरीको पास्नीको निम्तो आयो । जाने इच्छा पटक्कै थिएन उनलाई तर अष्ट्रेलियाको पुरानो साथी भएकाले कतै कृतिलाई पनि बोलाइएको पो छ कि ? उनलाई आशा जाग्यो । साथीसँग बुझ्दा उनलाई पनि निमन्त्रणा पठाइएको रहेछ । उनको मनमा एउटा नजानिँदो आशा तरङ्गित भयो । उनी पार्टीमा जान राजी भए ।

पार्टीमा पुगे पछि पनि सबै आगन्तुकका माझ उनका नजरले कृतिलाई नै खोजिरह्यो । कृति आइन् तर ढिलो गरी । निकेशले उनीसँग बोल्न चाहे, माफी माग्न चाहे तर कृतिले वास्तै गरिनन् । बोल्न पनि इच्छा देखाइनन् । पहल गर्नु जरुरी थियो, त्यसैले एउटा कुनाको टेबलतिर इशारा गर्दै त्यता हिँड्न कर गरे । उनी पनि कुनै बेला कृतिले मनमुटुले चाहेकै व्यक्ति थिए । त्यसैले उनले अनुनय गर्दा सहमति जनाउन करै लाग्यो ।

उनीहरु टेबुलमा बसेका मात्र के थिए, वेटरले ट्रलीमा थरी थरी ब्राण्डका रक्सीहरु गुडाउँदै ल्याए । निकेशले हातले “चाँहिदैन” भन्ने इशारा गरे । कृतिले भने व्हिस्किको ग्लास उठाइहालिन् । निकेशलाई हाँसो उठ्यो । वर्षौं पहिले यही रक्सीको नशामा उनीबाट अपराध भएको थियो, त्यसकै बदलामा आफूलाई देखाउन उनले रक्सीको ग्लास समाएकी होलिन् भन्ने भ्रममा उनी परे ।

सोचेजस्तो भएन । कृतिले साँच्चै नै त्यो व्हिस्कि पिइन् । पिउँदा पनि उनको मुखाकृति पटक्कै बिग्रेन । पिउने लत परिसककाले झैँ गरी पिइन् उनले । यो कुरालाई बेवास्ता गर्ने कोसिस गर्दै निकेशले कुरा सुरु गरे । सर्वप्रथम क्षमा मागे ।

“मलाई माफ गर कृति मैले बेहसीमा गरेको क्रियाकलापको लागि । त्यस पछिका दिनहरु कति कष्टप्रद थिए भन्न मसँग शब्द नै छैनन् । तिमीलाई दिएका पीडाका क्षणहरु सम्झेर कैयौँ रात छटपटिएको छु म । धेरै समयसम त डरत्रास र आत्मग्लानीले गर्दा पनि तिमीलाई एउटा मेसेजसम्म पनि लेख्न सकिनँ । जब हिम्मत आयो, तिमी त नेपाल फर्किसकिछौ । मेरो बानीले गर्दा तिमीले उठाउनु परेका कष्टहरु मैले बुझेको छु कृति । तिमी चाहन्थ्यौ मैले रक्सी छोडोस् भनेर , मैले सकिनँ । परिणामस्वरुप तिमीलाई नै छोड्नु पर्यो ।”

“कुरा सक्कियो तिम्रो ?” कृतिले उनको कुराको मजाक बनाइन् । त्यतिञ्जेलसम्म उनले दुई तीन पेग रित्ताईसकेकी थिइन् । फेरि वेटरलाई बोलाइन् । यो देखेर निकेश तीनछक्क परे ।

“कत्ति पिएको तिमीले । मलाई देखाको ? मैले जाँडरक्सी छोडिसकेँ । अहिले त मलाई तिमीलाई जस्तै कफीको नशा लागेको छ ।”

कृतिबाट उत्तर नआए पछि उनले फेरि ठट्टौली पारामा सोधे, “ विवाह गर्यौ ? कस्ता छन् तिम्रा श्रीमान् ? आज पार्टीमा ल्याइनौ ?”

प्रश्न सुनेर कृतिका भृकुटी खुम्चिए । अलिअलि नशा त लागिसकेकै थियो । जिब्रो लरबराउँदै उनले भनिन्, “मैले नेपाल गएर बिहे गरौं भनेर हजारपल्ट भन्दा नमान्ने तिमी । मेरो माया र समर्पणलाई लत्याएर बारम्बार ममाथि हिंसा गर्ने पनि तिमी । अहिले आएर बिहे गर्ने त जोश भरिएछ नि । ब्राईडल ड्रेस लगाएर फोटोसुट गर्ने ?” उनले आफ्नो वर्षौंदेखिको कुण्ठा पोखिन् ।

अस्ति गाडीमा ब्राईडल ड्रेसकाे कुरा सुन्ने बित्तिकै रिसाएर ओर्लिएको कारण त यो पो रहेछ । निकेशले बल्ल बुझे । उनको मनमा हिन्दु रिवाजअनुसार विवाह गर्ने पहिल्यैदेखिको इच्छा थियो । पहिले उनले सधैँ नकारे तर अहिले अरु कसैसँग भने परम्परागत विवाह हुँदै थियो । उनले खासै याद नगरेको कुराले पनि कृतिलाई गहिरो चोट परेको रहेछ ।

यसपछि पनि कृतिको मदिरापान गर्ने क्रम रोकिएन । एकपछि अर्को पेग लिएको लियै गरेपछि उनी एकैछिनमा नशाले लट्ठ भइहालिन् । जथाभावी बोल्न थालिन् । एकैछिनमा मान्छे जम्मा हुन थाले । उनलाई सम्हालि नसक्नु भयो । भीडबाट एकजना अगाडि आइन् र उनको हात समातेर घर लाने कोसिस गर्न थालिन् । उनी कृतिकी आफन्त रहिछन् । यो देखेर निकेशले आफै ड्रप गरिदिने मनसाय व्यक्त गरे । कारमा पछिल्लो सीटमा बहिनीको काखमा उनलाई राखेर उनीहरु बाटो लागे ।

बाटोमा निकेशले आफन्त बहिनीसँग धेरै प्रश्न गरे कृतिको बानी व्यवहार र बिहेको बारेमा ।

जवाफमा उनले भनिन्, “ अष्ट्रेलिया छँदा दिदीले एउटा केटालाई धेरै माया गर्नु भएको रहेछ । रक्सी छुटाउन खोज्दा सक्नु भएनछ । एकदिन त्यही केटाले घाँटी थिचेर झण्डै मारेको रे ! त्यसपछि उसलाई छोडेर नेपाल आएकी दिदी आफै जाँडरक्सीको कुलतमा फस्नु भयो । उसलाई बिर्सन सक्दिन भन्नुहुन्छ । बिहेका कुरा धेरै आए तर मान्नु भएन । आमाबाबुलाई साह्रै चिन्ता छ दिदीको । रक्सी नपिई निदाउनै सक्दिन भन्नुहुन्छ । उहाँको जीवन नै अस्तव्यस्त भएको छ । गलत मान्छेसँग मायाप्रेम गर्न हुँदैन भन्थे साँच्चै रहेछ । प्रेमले त जीवन राम्रो पो बनाउँछ त उहाँको त सबै बिगार्यो ।”

ती बहिनीको कुरा सुनेपछि निकेशलाई चक्कर लागेझैैं भयो । उनलाई विश्वास गर्न मुश्किल थियो जसले उनलाई कुलतबाट छुटाउने त्यत्रो प्रयत्न गरिन् । नसके पछि आफै कुलतमा फसिछन् । यी सब कुराका दोषी उनी आफैँ थिए । उनको चोखो मायालाई नबुझ्ने ठूलो झुल उनी आफैले गरेका रहेछन् । जसरी उनी कृतिको सम्झनामा चार वर्षसम्म तड्पिरहे, अरु कसैको बारेमा सोच्नै सकेनन्, त्यसै गरी कृति पनि उनकै यादमा तड्पिएर जीवन बिताइरहेकी रहिछन् । उनको साथसँगै कुलत पनि छुटेको थियो निकेशको । त्यसपछि कृतिकै यादमा कफी पिउने आदत बसाएका थिए ।

कृतिले भने उनलाई बिर्सन कुलतको बाटो रोजिछन् । जुन कुरा उनलाई पटक्कै मन पर्दैन थियो उनले कसरी त्यस्तो बाटो रोजिन् होला ? निकेश आश्चर्यमा परे । कृतिसँगको बिछोडमा उनी जति विक्षिप्त भएका थिए, कृति पनि उनका लागि त्यत्तिकै विक्षिप्त भएकी रहिछन् । माया छँदाछँदै एउटा सानो गल्तीले उनीहरुबीच फाटो ल्याएको थियो । अब त्यो पुर्ने बेला आए जस्तै लाग्यो निकेशलाई । उनी सोचमग्न भए कि अब दोस्रोपटक कृतिको नजरबाट गिर्ने छैनन् । उनलाई कुलतबाट छुटाएर पहिलेको जस्तै प्रेममय जीवन बाँच्नेछन् । अब एकअर्काको यादमा तड्पिने छैनन् उनीहरु दुबैजना । हिन्दु रीतिरिवाजमा रातो ब्राईडल ड्रेसमा फोटोसुट गराएरै उनलाई फेरि आफ्नो बनाउनेछन् । बाँकी जीवन कृतिले जसरी भन्छिन् त्यसैगरी बाँचिदिने मनमनै अठोट गरे उनले ।

भोलिपल्ट बिहानै उठेर फ्रेश भए । डिपार्टमेन्ट स्टोर गएर कृतिलाई मन पर्ने सामानहरु किने । बिहानको दश बजेको हुँदो हो । बाटोमै गाडी रोकेर सुन्दर गुलाफका फूलहरुको एउटा गुच्छा किने अनि मुस्कुराउँदै उनी त्यही बाटो लागे जहाँ अघिल्लो दिन कृतिलाई ड्रप गरेका थिए । डोरबेल बजाए । एउटा केटाले गेट खाेलिदियो । “कृति खोई ?” भन्दै उनी सरासर लिभिङ रुमतिर लागे । सोही केटोले फेरि कृतिलाई बोलाइदिन्छु भन्दै भर्याङ चढ्दै थियो । कृतिका आमाबाबा पनि आइपुग्नु भयो । सामान्य परिचय भयो । त्यत्तिकैमा कृति तल ओर्लिन् । हिजोको ह्याङ अझै बाँकी रहेछ क्यारे उनी पटक्कै फ्रेश देखिन्न थिइन् । कपाल असरल्ल थियो । निद्रा नपुगेकाले आँखाहरु सुन्निएका जस्ता देखिन्थे । उनी निकेशलाई त्यहाँ देखेर झोक्किँदै ओर्लिन् ।

रिसले झोकमा उनले केही बोल्न नपाउँदै निकेशले उनका हात समाए । “आई एम भेरी सरी फर ह्वाटेभर आई ह्याभ डन टु यु । आई स्टिल लभ यु । विल यु म्यारी मि ?” निकेशले आँखाभरि मायाका भावसहित फूलको गुच्छा उनका हातमा राखिदिँदै प्रस्ताव राखे । आफ्नो एक मिनेट पनि खेर फालेनन् । कृतिका आँखा रसाए । कुनै बोली फुटेनन् । उनका आमाबाबा पनि हेरेको हेर्यै भए । परिस्थिति नै अर्कै बनेको थियो । धेरैबेर त आफ्नो फिलिङलाई कृतिले पनि लुकाउन कहाँ सकिन् र ! फूलका गुच्छा आफ्नो हातमा पर्ने बित्तिकै निकेशलाई अँगालेर रुन थालिन् । एक अर्काको बिछोडमा कैयौं वर्ष छटपटिएका उनीहरु अँगालोमै बाँधिइरहे धेरैबेर ।