हिजोआज ऊ तमाम उत्तेजनाभित्र अल्झिरहेको छ । केही गर्नुपर्ने भावनाले उसका आङभरिका शिरा- उपशिराहरूलाई जथाभावी उत्तेजित पार्दछ । त्यसैले, अब उसले केही त गर्नु नै पर्ने भएको छ । उसले सित्तैमा कसैको ज्यान पनि लिनसक्छ, कसैका लागि ऊ आफ्नो ज्यानसम्म पनि दिनसक्छ । तर के गर्नु पर्ने हो, त्यो उसैलाई थाहा छैन ।

एकाबिहानै ऊ घरबाट फुत्त निस्किन्छ, कसैसित केही नबोलीकनै । राम्रोसित उज्यालो भएको छैन । नजीकको चीज पनि स्पष्ट रूपले नदेखिने झिसमिसे समय छ । उसकी श्रीमती अघि नै उठेर आँखा मिचिमिची आँगन बढार्दै थिइन् । नानीहरू दुवैजना अनिकालको ढिकी लडे झैँ ओछ्‌यानमाथि पल्टिरहेका थिए । श्रीमतीले उसलाई केही सोधूँ-सोधूँ गर्दै थिइन्, उसले फर्केर हेर्दै हेरेन ।

बिहानीपखको निर्मल हावा बिस्तारो बग्दैछ । श्वास-प्रश्वासको प्रत्येक स्पन्दनमा हावाको नियमित गति अझ टड्‌कारो हुँदै जाँदैछ । ऊ माथिल्तिर झुन्डिरहेको आकाशलाई हेरिपठाउँछ । टाढाको आकाशमा एक टुक्रा कालो बादलले एकछिन पछि जन्मिने सूर्यलाई छोपिराख्न असफल प्रयास गर्दैछ । प्रायः रातभरिको अनिदोले गर्दा उसका आँखा पोल्न थाल्छन् । छोरीको रुवाइले गर्दा हिजो राति उसको निद्रा हावासित मिस्सिएको थियो । तर त्यसको पीर उसले मानिरहेको छैन ।

बाटोभरि उसले केही पनि सोचेन, त्यसै हिँडिरह्यो लफङ्गोझैँ लुरुलुरु । घरदेखि निक्कै टाढाको घुम्ती नाघेर ओरालो झरिसकेपछि मात्र छर्लङ्ग उज्यालो भयो । सडकभरि फट्याक्-फुटुक् एक-दुई लोग्ने मान्छेको अनुहार देखिन थाल्यो । प्रातः भ्रमण र यस्तै के के जाति काममा निस्किएका मानिसहरू बिस्तारो-बिस्तारो पाइला चाल्दैछन्  । एक हूल स्वास्नीमान्छे काखमा एकेक ओटा घैंटो बोकेर सडकको पल्लो किनारतिर लागे ।

मानसिक अस्थिरतालाई ऊ जति अलग्याउन चाहन्छ, उत्ति नै अबाध्य उत्तेजना ऊसित टाँस्सिन आइपुग्छ  । मनको सानो कोठाभित्र कैयौं अप्रासङ्गिक सोचाइ थुप्रिन चाहन्छन् । उसले आफ्नो मस्तिष्कलाई एकछिनका लागि शून्यताले भरिदिन्छ । सडकको देब्रे किनार भएर ऊ एकोहोरो हिँडिरहेको हुन्छ । मनको गहिराइमा अनगन्ती घात-प्रतिघातले टाउको उठाएर हेरिरहेका हुन्छन् । एउटा धमिलो लक्ष्य बोकेर मौनताले पाइला चालिरहेको हुन्छ । ऊसित उसको वर्तमान मात्र छ । अतीतले बिदा मागेर फर्किसकेको थियो । वर्तमान र अतीतको बीच एउटा लामो पुल झुन्डिरहेको छ, त्यो हो समय ।

‘मलाई मानिसले बौलाहा भनेर त सोचिरहेका छैनन् ?’ मनमनै सोच्यो । यस्तो उद्देश्यहीन हिंडाइलाई बौलाहापन सोच्नु केही अस्वाभाविक कुरा होइन । तर उसको त उद्देश्य छ । एउटै मात्र होइन,  हजारौं सपना बोकेर ऊ यसरी अघि बढ्दैछ, उसको यात्राको निश्चित लक्ष्य छ । तर कसैले सोधे भने चाहिँ भनिहाल्न अलिक अप्ठ्यारो पर्नेछ । बौलाहा भनुन्, दार्शनिक भनुन् कि जे सुकै भनुन्, ऊ केही वास्ता राख्दैन । तर नबुझीकनै उसको विषयमा कुनै मन्तव्य पोख्नु  झन् ठूलो बौलाहापन हुनेछ , मनलाई यसरी सन्तोष दियो… असलमा भन्नु हो भने, अचेल वास्ता गर्न छाडिसकेको छ । उसलाई कसैले केही भन्छन् भन्ने शङ्का मनबाट उहिल्यै खेदाइसक्यो । सन्देहले मानिसलाई धेरै नमज्जाले पिर्छ, यो उसलाई थाहा लागिसकेको छ । ऊ जति हिंडिरहन्छ, मन भने दगुर्न थाल्छ उसको अघिअघि, मन सधैं एक पाइलो अघि हुन्छ ऊ भन्दा  । पैतालाहरू दुखिसक्दा पनि खुट्टाहरू उभिन नखोज्दा आफूमाथि रीस उठेर आउँछ ।

‘कत्ति हिँडिरहनु परेको होला …? चूपचाप घरमा बसिरहनु नि…’ कसैले हकारेको जस्तो बोली सुनेर यताउता हेर्‍यो । छेउछाउमा कोही पनि थिएनन् । ऊ वाल्ल पर्‍यो । थकाइ पनि लागेछ । बाटोको पल्लोछेउमा थुपारेका मसिना ढुङ्गाहरूमाथि गएर ऊ थ्याच्च बस्छ । ऊ निर्वाक बसिरह्यो । उसको यात्राको लक्ष्य के थियो ? सोच्न थाल्यो, धेरै प्रयास गर्दा पनि ठ्याम्मै सम्झना आएन ।

एउटा नाङ्गो जीउको मान्छे उसको अघिबाट कुद्दै गएर नदेखिने भयो । मनमनै उसले सोच्यो, ‘कतै यो पनि म जस्तो त होइन ?’ खितित्त हाँसो उठेर आयो, तर ऊ हाँसेन । अहिले कति समय बित्यो होला ? उसलाई पटक्कै थाहा छैन । आकाश पनि धुम्मिएको छ । हतारमा हातेघडीलाई सिरानमुनि छोडेर आएछ । रनक्क कन्सिरी तातेर आउँछ आफूमाथि । कस्तो बिर्सिनु परेको होला ।

बिर्सिनु यस्तै हो, जीवन भनेको ! जीवन-नदीको छातीमा स-साना तरङ्गहरू उठ्दै ओर्लिंदै गर्न थाल्छन्,  सोचाइका स्रोतहरू अमेल भएर लथालिङ्ग हुन्छन्  ।

‘यो बाटो कहाँ जान्छ, हँ ?’ सोध्ने मान्छे खाइलाग्दो अधबैंसे थियो । उसको टाउकाको टुप्पीबाट खुट्टाको नङसम्म हेर्दै सोच्न लाग्यो । यो पनि कतै बाटो नभेटेर अलपत्र परेको त होइन ?

‘यो बाटो कहाँसम्म पुग्छ होला ?’ त्यो मान्छेले फेरि मुख फोर्‍यो ।

‘नर्कमा…!’ उसले अनायास भन्यो ।

‘मैले साँच्चै पो सोधेको त…’ त्यो मान्छे अलिक रिसाएझैँ गरेर बोल्यो ।

‘के मैले चाहिँ झुठो भने त ?…’ उसले सोध्यो । जवाफको आशा नगरी जुरुक्क उठ्यो र सरासर हिंड्न थाल्यो । त्यो मान्छे भुतभुताउँदै आफ्नो बाटो लाग्यो । उसले फर्किएर हेर्ने इच्छा गर्दै गरेन । त्यस्तो गर्ने उसलाई केही खाँचो पनि थिएन ।

दिउँसोको बाह्र बजिसक्यो होला । घडीमा त्यत्ति नबजे पनि उसको चाहिँ पक्का बाह्र बजिसकेको थियो । एकछिन अन्योलमा पर्‍यो ऊ । ‘सोझै शहरतिर जाऊँ कि घर तिर फर्कूं ?’ कुनै सटीक सिद्धान्त जन्माउन सकेन ।

यो सानो गोरेटो भएर ओहोरदोहोर गर्ने मानिसहरूका राम्रा-नराम्रा अनुभूतिहरू यसरी ढुङ्गामाथि थुप्रिरहेका छन् । कोही अघि बढ्दै छन्, कोही भने एकै ठाउँमा ठिङ्ग उभी नै रहेका छन् । कसैको यात्राको लक्ष्य स्पष्ट छ, कसैको धमिलो छ । रमाइलो र स्पष्ट लक्ष्य बोकेका मानिसहरूलाई बसिरहने समय नै कहाँ छ र ?

ऊ आफ्नो मानसिकता छाम्छ, बहुत टिठ लागेर आउँछ । बजारभरि थुप्रै मानिस भेला भइसकेका रहेछन् । ऊ एकातिरबाट प्रत्येकको अनुहार नियाल्दै जान्छ । सबै आ-आफ्नो काममा व्यस्त छन् । कसैले रुन्चे मुख लाएका थिए । कोही मरीमरी हाँस्दै थिए, अनि कतिपय भने न हाँसेका थिए, न रोएका ।

‘धत् । म पनि कस्तो मान्छे । अरूको खाँचो नचाहने भन्छु.., फेरि मलाई नै यति साह्रो सोचिरहने के खाँचो लागेको छ…’ उसको खटपटी झन बढ्न लाग्छ ।

एक्कासि ऊ भित्र एउटा रहर जन्मिन्छ, ‘यी जम्मै मानिसको हत्या गर्न पाए कस्तो हुन्थ्यो होला …? यहाँ रगतको खोलो बग्ने थियो…, सन्त्रासले हाहाकार मच्चिने थियो…, मानिसहरू आ-आफ्नो ज्यान बचाउन कुदाकुद गर्ने थिए…, उसको नाम भोलिको खबरकागतमा ठूल्ठूला अक्षरले छापिने थियो । ऊ एकजना…!’

अहँ, त्यसो गर्नलाई उसको आँट आएन । यी कुराहरू सोच्न लाग्दै उसका दुवै खुट्टा लगलग काम्न थाले । फनन्न रिँगटा लागेर आयो । पसिनाले आङलाई निथ्रुक्कै भिजाइसकेको रहेछ । ऊ भुइँमा झन्डै लडेन ।

आफ्नो विवशतासित मानिसले बाँच्नु पर्दछ । त्यसैले, ऊ मरीमरी पाइला चाल्दैछ । उसलाई बल्ल सम्झना आयो, भुँडीभरि ‘भोक’नामको डरलाग्दो राक्षस ब्यूँझिन थालिसकेको रहेछ । शिरा-उपशिराहरू कमजोर भएर मुटुको ढुकढुकी तीव्र हुँदै आएको चाल पायो । केही निल्ने उद्देश्यले एउटा साधारण तहको होटेलमा भित्रिन्छ र आफ्नो जेब छाम्छ । तर पैसाको खल्ती पनि घरमा बिर्सिएर आएछ । धन्न पो, होश गरेर पहिले नै जेब छामेछ । नभए, होटेलमा केही खाएर पैसा तिर्न नसक्दा कुटाइ पनि खानुपर्ने थियो । ऊ निल्ल पर्दै बाहिरियो । यसपल्ट उसलाई आफूसित रीस उठेन ।

घरको सम्झनाले उसलाई बहुत नमज्जाले सताउन थाल्छ । जे होस्, अब ऊ घरतिर फर्किनै पर्छ । जसरी भए पनि ऊ घर पुग्नु नै पर्छ । पृथ्वीमा सबैभन्दा प्यारो ठाउँ आफ्नो घर  हो । यसले मानिसलाई आत्मीयतासाथ बाँच्ने बलियो प्रतिश्रुति दिएको हुन्छ । त्यसैले, कुनै कारणवश घरबाट टाढिएको मानिसले दुःखको वेला सधैं आफ्नो घरलाई नै सम्झिरहेको हुन्छ ।

उसलाई भोक असाध्य लाग्न थाल्यो । श्रीमती र छोरा-छोरीको माया, मुटुको गहिराइबाट पलाएर आयो । उनीहरूको एकेक ओटा मायालु अनुहार सम्झिन थाल्यो । ऊ घरमा नहुँदा के हाल भयो होला बिचरा नानीहरूको ! ऊ यस्तै फिरन्ते हो भनी जान्दाजान्दै पनि उसकी श्रीमतीले उसलाई माया गर्न छाडेकी छैन ।

तर ऊ पनि  त त्यसै बसिरहको छैन । पृथ्वीमा अन्य  मानिस जसरी बाँच्नलाई जन्मिएको दिनबाट आजसम्म अविराम सङ्ग्राम गर्दैछ । चिताको ओछ्यानमा नढल्किउञ्ज्याल सम्म यो सङ्ग्राम चलिरहनेछ । कहिलेकाहीं सोच्न मन लाग्छ, जीवन सङ्ग्रामको यो परम्परा कहिले सकिएला ? जवाफ भने अझै पाएको छैन । आजसम्म ऊ जति जना मानिसको संस्पर्शमा आएको छ, सबैको अनुहारमा प्रश्नका एकेक ओटा धर्सा कोरिएको देखेको छ  ।

‘केही पनि गर्न सकिएन यति बेरसम्म…’ आफैंलाई धिक्कार्न मन लाग्यो मनमनै । बाँचुञ्ज्याल थुप्रै थोक गरूँला भन्ने उसको आशा थियो । केही पनि गर्न नसकेकोमा आत्मग्लानिको अनुभवले अझ तीखो हुँदै च्वास्सच्वास्स घोच्न थाल्यो । लामो गुफा जसरी उसको मानसिकता भित्रभित्रै खिइँदै जान थालेको छ ।

बजारबाट अलग्गिएर पुनः सरासर हिंड्न थाल्यो । साँझ पर्ने अघि नै ऊ घरतर्फको खिरिलो बाटो भएर उकालो लाग्यो । यस वेला ऊसितको अनुभव एकदम स्तब्ध छ, बहुत निष्पक्ष छ ।

उही परिचित बाटो । दुवै किनारमा उभिएका सानाठूला रूखहरू, चिनेको धूलो-माटो, आत्मीयहरू र स-साना झुप्राहरू, उसलाई माया गर्ने आफ्नै गाउँ-घर, आँगन, चउर र विशाल पोखरी…

उत्तेजनाहीन मनसित ऊ यस वेला खूबै शान्त रूपले पाइला चाल्दैछ । टाढाबाट देख्यो, उसको घरअघिको फराकिलो आँगनभरि ढकमक्क फुलिरहेका सयपत्रीका थुँगाहरूले उसलाई नै पर्खिरहेका छन् । बिहानीपख देखिएका काला बादलका टुक्राहरू यस वेला आकाशमा छैनन्  ।

तेजपुर,असम,भारत ।