शून्य फेरि हाँस्यो । भन्यो, ‘यो व्यासकृत महाभारत होइन बालक ! यो त पृथ्वीको खण्डभारत हो । धेरै काल बितिसकेको छ । देखेनौ, अघि मसँग त्यो काल कस्तो निउ खोज्दै थियो !’

 ००००

‘म समय हुँ ।’

‘म शून्य हुँ ।’

‘म अनादि र अनन्त छु ।’

‘म पनि अनादि र अनन्त छु ।’

‘तर मलाई घडीमा कैद गर्न खोजिंदै छ ।’

‘मलाई पनि शहरका अँध्यारा गल्ली र कोठरीमा कैद गर्न खोजिंदै छ ।’

‘हैन किन अवरोध गरेको भाइ ? म यहाँ पृथ्वीको खण्डभारतको कथा सुनाउन आएको !’

‘म, कथा एकतर्फी सुनाउन पाइँदैन भनेर विरोध गर्न आएको !’

‘आ नो कथा सुनाउने भए आ नै पाराले छुट्टै सुनाऊ न ! मलाई अवरोध नगर !’

‘उपेक्षितका कथा सजिलै सुनिएनन्, ती सुनिएका कथाभित्रै घुसेर नसुनाएसम्म नहुने भयो !’

‘यसरी हैन तिमीहरूले कथा सुनाउने ! शौनकादि हजारौँ ऋषिहरूलाई साक्षी राखेर उनीहरूका उत्सुकता, जिज्ञासा

मेटाउने पाराले पो भारत कथा सुनाउने हो ! यो त बी. आर. चोपडा शैली हो ।’

‘जेसुकै होस्, मलाई बाल छैन । यसपाला कथा शून्यले नै सुनाउँछ । तिमीहरू चूप लाग !’

आश्चर्यभाव जगाउने गरी दुवै चूप हुँदा भए ।

* * * *

दृश्यमा धृतराष्ट्र देखिए ।

‘कुरुक्षेत्रमा के के भइराखेको छ, त्यो सुनाऊ सञ्जय !’

‘सक्दिनँ म ! ए विदुर ! तिमी ल्वाँदे पनि त यहीं छौ नि ! टिभी खोल्देऊ न !’

दर्शकदीर्घाबाट कोही चिच्यायो :

‘त्यस्ता महान्विद्वान् विदुरलाई ल्वाँदे भन्छस् ?

शून्य हाँस्यो मात्र । बस यत्ति भन्यो, ‘धेरै काल बितिसकेको छ ।’

दर्शकदीर्घाबाट अर्को कोही चिच्यायो, ‘धृतराष्ट्र त अन्धा होइनन् र ?

शून्य फेरि हाँस्यो । भन्यो, ‘यो व्यासकृत महाभारत होइन बालक ! यो त पृथ्वीको खण्डभारत हो । धेरै काल बितिसकेको छ । देखेनौ, अघि मसँग त्यो काल कस्तो निउ खोज्दै थियो !

रङ्गमञ्चमा विदुर देखिए । सञ्जयतिर क्रोधित मुद्रा अघि सारे । पछि जीउ पूरै सारेर टिभी खोलिदिए ।

टिभीमा एकैपटक तीन दृश्य देखिए । युधिष्ठिर अन्धा भएका थिए । द्रौपदीले आँखामा पट्टी बाँधेकी थिइन् । भीम जेलमा थिए ।

‘हैन के हो यो ? युधिष्ठिर कसरी अन्धा भए ? दर्शकदीर्घाबाट एक जना रङ्गप्रेमी निकै आवेगमा देखिए । शायद उनी

युधिष्ठिरलाई अन्य रूपमा देख्न चाहँदैनथे । बरु चाहन्थे, युधिष्ठिर कुनै संग्राहलयमा भेटिउन् ।

‘कुरा यस्तो रहेछ !’ शून्यबाट शून्यले कथारम्भ गर्यो ।

‘पाण्डवहरू फेरि जुवा खेल्न बसेछन् ! …’

‘तिनै कौरवसँग ? आश्चर्यान्वित स्वर थियो एक रङ्गप्रेमीको !

‘होइन होइन … !’ शून्यले शून्यबाट कथा अघि बढायो ।

‘आजकल म्लेच्छहरू यत्रतत्र भेटिन्छन् ! जति नै दूर भए पनि घरमै गएर जुवा खेल्न सकिन्छ ! कतिपटक सम्झाऊँ ! धेरै काल बितिसकेको छ !’

‘धेरै पृष्ठभूमि बाँधिरहनुपर्ने देखिंदैन । हाम्रा पुर्खाहरूको अपमान धेरै भइसकेको छ । उनीहरूको आत्मालाई चोट नपुग्नेगरी आफ्नो कहानी सुनाउनुपर्ने देखिन्छ !’ दर्शकदीर्घामा ज्ञानबहादुर शाही पनि रहेछन् ।

शून्य हाँस्यो । शून्यमा शून्यको ऊँकार ध्वनि सुनियो । शून्यले शून्यबाट कथा अगाडि बढायो, पाण्डवहरू धेरै म्लेच्छसँग जुवा खेल्न बसेछन् । अरूको रुचि भए पनि युधिष्ठिरको खासै रुचि थिएन रे !

‘दुई दुईपटक ठुलो गल्ती भइसक्यो !’ अलि जङ्गिंदै भनेछन्, ‘पटक पटक खाल्टामा परेपछि त पशुले पनि चेत पाउँछ गैँडा ! तेरो त ज्यान मात्रै ठूलो भयो !’

तर भीम मानेनन् । अरू तीन पनि भीमकै पक्षमा लागेछन् ।

जुवा केही वर्ष लगातार चलेछ !

जुवा पनि कोही वर्षभरि खेल्छ ? कस्तो नाटक हो यो ?

म शून्य हुँ ! म अनादि र अनन्त छु ! म यति वेला जुन शून्यमा शून्यसरि भएर कथा भनिरहेको छु, त्यहाँ जुवा बर्सौं

होइन दसकौंदेखि चलिरहेछ !

शून्य अलि रिसाएर प्रस्तुत भयो, नरिसाऊँ भन्यो, नहुने ! कतिपटक भन्ने ! झ्याँक्ने ! धेरै काल बितिसकेको छ ! भूतकालबाट बाहिर निस्की !

शून्य शून्य जस्तै भयो !

… … … …

शून्य पुनः शान्त मुद्रामा प्रस्तुत भयो, जुवा केही वर्ष लगातार चलेछ । पाण्डवको नेतृत्व भीमले गरेछन् । जुवामा हार्दै जाँदा श्रीसम्पत्ति सबै सकिएछ ।

जनताले तिरेको करबाट जम्मा राज्यको ढुकुटी, केही महत्त्वपूर्ण नदीनाला, हुँदाहुँदा अन्तिममा केही नागरिक पनि थापेछन् ! पटक पटक युधिष्ठिरले विरोध गर्दा पनि उनले वास्ता गरेनछन् तर नागरिकहरू नै थापेर हार्दै जान थालेपछि युधिष्ठिरले हस्तक्षेप नै गरेछन् !

शून्य एकछिन रोकियो । लामो सास तान्यो । दर्शकलाई कथा सुन्न आतुरी परिसकेको थियो । नेपाली दर्शकको अधैर्य

शून्यलाई थाहा नहुने कुरा पनि भएन । उसलाई विश्वास र अन्धविश्वास पनि थाहा थियो । शून्यले शून्यबाट कथा

अगाडि बढायो, “हुन त यसलाई कर्मको फल पनि भनौं । उहिले त्यहाँ पनि त वनबास भोगेकै हुन्, जिउँदै नर्क गएकै हुन् ! आखिर उहिले होस् वा अहिले, त्यहाँ होस् वा यहाँ, फल त भोग्नैपर्यो ।

एउटा दर्शकले चप्पल फाल्यो । शून्य मुरमुरियो । चप्पल शून्यबाट शून्यमा झर्यो । के सोच्यो कुन्नि ? शून्यबाट शून्य

हाँसेको सुनियो । पछि भन्यो,

म शून्य हुँ । म अनादि र अनन्त छु ! …

कति खोक्चस्बे ! आगे बोल, कहानी बता …

भनेपछि दर्शकदीर्घामा तराईबासी पनि थिए !

टेलिभिजनमा दृश्य नै बदलियो !

दृश्यमा भीष्म देखिए !

कथा पूरा भएकै छैन, यसरी बीचमा अर्कै पात्र ! यस्तो झुर नाटक पनि कोही हेर्छ ? केही युवाहरू बिस्तारै बिस्तारै

बाहिर निस्किए !

टिभीका भीष्मलाई छोप्दै सञ्जय मञ्चमा आए ।

ए ल्वाँदे ! गति किन अवरोध गरिस् ? यस्ता छन् महाविद्वान् ! बुद्धिजीवी ! म तपाईंहरूसमक्ष क्षमा माग्दछु । त्यो

विदुरले रिमोटको बटन थिचिदिएछ ! दृश्य बदलियो । ठीकै छ, एकछिन यही दृश्यका कथा सुनौं, पछि फेरि अघिको कथामा जाउँला । शून्य ! कथा शुरू गर ! सञ्जय टिभीबाट पर हटे ।

म शून्य हुँ । म अनादि र अनन्त छु ! तर हेर्नुहोस् न ! मैले नै अघि दृश्यमा ल्याएको पात्रले मलाई नै निर्देश गर्दै छ ! घोर कलियुग !

मोँ त्यो जान्डैन ! मोलाई कथा भन्, बस् !

भनेपछि दर्शकदीर्घामा हिमालबासी पनि थिए !

यति वेला केही नबोली शून्यले शून्यबाट कथारम्भ गर्यो,

भीष्म चौतारामा थिए । चिलिममा गाँजा भरेर मस्त तान्दै रहेछन् ! एकैछिनमा द्रोण पनि आइपुगे ।

‘मलाई नि अलिकति राखिदेऊ है दाइ !’

‘आफू कहिल्यै ल्याउने होइन, ला !’

एउटा गाउँले तलबाट चौतारातिर उक्लिएको देखियो ! दुवै वृद्ध सतर्क हुँदा भए ! झाडीतर्फ फाल्न खोजेको चिलिम हतारोले गर्दा यात्रीतिरै हुर्रिन पुग्यो !

यात्रीका आँखा चिलिमतिर पुगे । नाकले हो कि होइन ठम्याउनका लागि दुईतीन पटक लामो लामो सास ताने । अलि

अलि रमरम पो हुँदा भए ! रमरमावस्थामै उनी यसो बोल्दा भए,

‘हरुवाहरू ! हारको चोट भुलाउन गाँजा पिइबक्सेको ? हुन त अरूभन्दा यही ठीक ! आजकल स्वास्थ्यका लागि राम्रो भनेर गरमागरम बहस पनि भैराछ ! अझ भीष्म जस्ता एकलकाँटे सिरानीच्यापेहरू यहीँ ढुङ्गाको सिरानी बनाएर पछारिए पनि भयो !’

‘मूर्ख ! यत्रो सभामा तिमीले मेरो अपमान गर्यौ !’ भीष्म आँखा राता पार्दै जङ्गिए !

दोर्णले यताउता हेरे । मौनवाचन गरे, ‘बौलाएछन् दाइ ! हुन त वर, पिपल, खनायो, बेडुलो, दुधिलो, पैयुँ आदि आदि सबै सदस्य मिलाएर होला !’

भीष्म निरन्तर जाङ्गिँदै थिए, ‘म फेरि प्रतिज्ञा गर्छु, तँ जस्ता छुसी रहुन्जेल आजीवन चौतारामै रहनेछु !’

भीष्मको प्रतिज्ञाले द्रोण जङ्गिए, ‘ह्या दाइ ! खाई न पाईको घरीघरी केको प्रतिज्ञा हो ? तिम्रो ताईं न तुईंको प्रतिज्ञाले हो त्यत्रो महाभारत भएको !

कहिले राणा, कहिले राजा अनि कहिले यी पार्टीहरूको झोला बोक्दा बोक्दा आज चौतारामा थन्कनुपर्यो ! विद्रोह गर्ने

चेतना पनि हुनुपर्यो क्या दाइ !’

गाँजाको ओभरडोजले हो कि, द्रोणका कुराले हो कुन्नि, भीष्म विचेत हुँदा भए ! द्रोणले ‘दाइ ! दाइ !’ भनेर पुकार गरे ।

यात्रीले त झन् जिस्क्याउन पो थाल्यो, ‘उहाँ त जनार्दन हुनुहुन्छ । इच्छामरण जस्तो सार्वभौम शक्तिले सम्पन्न ! अनि यो के वेला न कुवेला जहाँ पनि ढल्दिने ? त्यही भएर त तोर्पेहरूले दास बनाउँछन् नि !’

यात्री उकालो लाग्यो ।”

दर्शकदीर्घाबाट एक जना महिला चर्किंदै उठिन्, ‘नाटकको त्यो मूल कथा कता गयो ? त्यो चाहियो क्या हाम्लाई ! द्रौपदीले आँखामा किन पट्टी बाँधिन्? त्यो थाहा पाउनु छ ।’

‘म शून्य हुँ ! म अनादि र अनन्त छु । आदिदेखि भनिरहेको छु, धेरै काल बितिसकेको छ । तर दर्शकहरू त्यही समाएर बस्छन् जे उनीहरूले हेर्न चाहेका हुन् । ठान्छन्, मूल भनेको त्यही हो !’

‘हाम्लाई अरू सुन्नु छैन …’

धेरै जनाको आवाज आयो । शून्यले शून्यबाट जनभावना अनुकूल नाट्यकथालाई बिट मार्न बोल्यो । टेलिभिजनमा

नाटकका दृश्यहरू चले, ‘युधिष्ठिरको हस्तक्षेप भीमलाई सह्य भएन । भीमले रीसको आवेगमा एक झापड हानेछन् !’

दर्शकदीर्घामा पूर्ण सन्नाटा थियो ।

युधिष्ठिर केही बोल्न सकेनछन् ! सहयोगका लागि अरू तीन भाइतिर पिलपिलाएका नजर पुर्याएछन् तर उनीहरूले ‘बल्ल खायौ’ सूचक अभिनय गरेपछि एकछिन घोप्टो परेर रोएछन् ! केही समयपछि अलि दृढ भएर बोलेछन्, ‘यसरी नागरिक नै बेचेको त हेर्न सक्दिनँ !’

युधिष्ठिरले फेरि हस्तक्षेप गरेछन् । उनको बोली र खेलमा पुर्याएको व्यवधानले भीममा क्रोधले सीमा पार गरेछ ! अरू

तीन भाइलाई अह्राएर युधिष्ठिरलाई उत्तानो पारेछन्अनि ‘लौ त हेर्न नसक्ने भए’ भन्दै एसिड खन्याइदिएछन्… !”

अहो ! दर्शकदीर्घाबाट ठूलो आवाज आयो ।

कठै ! आवाज केही मत्थर भयो ।

कता कता सुँक्कसुँक्क पनि सुनियो ।

ए ! युधिष्ठिरको त्यो अवस्था देख्न नसकेर पो द्रौपदीले आँखामा पट्टी बाँधेकी रहिछन् ! आवाज आए ।

होइन दर्शकगण ! भ्रममा नपर्नुहोस् !

अनि के हो त ?

खासमा के रहेछ भने : एसिड काण्डपछि भीमलाई प्रहरीले कारागारतर्फ लगेछन् । भीमलाई त्यो अवस्थामा देख्नु आफ्ना लागि अति असह्य हुने बताउँदै द्रौपदीद्वारा पट्टी बाँधिएको रहेछ !

विदुरले लामो हाई गर्दै रिमोटको रातो बटन थिचिदिए !