घोप्टे भिरको अलि तल पट्टि, भनौं काख्खैमा एउटा सानो बस्ती छ । हेर्दा ढल्नै लागेको हो कि जस्ता लाग्ने चार वटा घर छन् । पारि पट्टि लमतन्न ठूलो पहिरो छ । तर ती घर लैजान सकेको छैन । कुन शर्तले गर्दा हो थाहा छैन, घर खडै छन् । भगवान् नै जानुन् ! जंगलको मुख्खै नेर अलि डर लाग्दो छ । बेलुका पख बुढापाका त डराउॅंछन् बाहिर निक्लिन । केटाकेटीको त झन् कुरै छोडौं ।

कात्तिक महिनाको अन्तिम दिन अलि छिट्टै अँध्यारो भयो शायद । आकाशमा कालो बादलले छोपेर अलि धुम्म छ । तल बाटैबाट कोही मधुर स्वरले गीत गाउँदै उकालो चढेको झैं लाग्छ । एकै छिनमा सुन्तली घरको छेवैमा पुगिन् र ढुङ्गा भन्दा पनि गह्रुँगो चिसो धानको बोरा पिँढीमा बजार्ने गरी फालिन् ।

भित्रबाट “को हो को ?” भन्दै केटाकेटी उछिट्टिंदै बाहिर आए । सास फुलेर होला उकालो चढ्दा ऊनी बोल्न पनि सकिनन् । घरको बाहिर कुनामा मैरोको तल पुगिन् टाउको  बाङ्गो गर्दै । घैंटोबाट सारेर एक अम्खोरा हिउँ जस्तै चिसो पानी घटघट पारिन् । पर दलानमा पुगेर भुइँमा पसारिएर बसिन् । सुइँय सुस्केरा काढेर । एक सुरले भुतभुताउन थालिन्, “बैगुनीले छोडेर गयो । मलाई मात्रै.. । उस्का सन्तान हुर्काउने ठेक्का लिएकी छु र मैले मात्रै…।”

दशैंको टिका घरमै सही सलामतले लगाएका हुन् । बुढा सासू ससुराको हातको टिका पनि लगाएका थिए । ससुराली पुगेर  जहानसॅंगै । तर पूर्णिमाको भोलिपल्ट आइपुगेको तिहार नभनेर हिंडेछन् सन्तराम ।  एका बिहानै झिसमिसेमै ।

हाँसीखुशी सॅंगै खाना खाएर सुतेका थिए सन्तराम । बिहान  घरमा नभेटेपछि सुन्तली ठुलो सन्तापमा परिन् ।  केही गर्न नसक्ने  भइन् दुई-चार दिन । अन्न न पानी भएर बाँच्ने भइन् ।  छरछिमेकले सम्झाइ-बुझाइ गर्दा बल्लबल्ल मन कसेर बसिछन् । बालबच्चाको मुख हेरेर । तर नराम्रो झट्का रहिरहेको रहेछ मनमा । जुन कुरा सुन्तलीले लुकाउन पनि सकिनन् धेरै पछि सम्म ।

सन्तराम फाटेर झल्लु परेको कमिज र दश ठाउॅंमा टालेको पाइन्ट भिरेर भाले नबास्दै हिंडेका हुन् रे । कात्तिक मासको ठिहीमा चप्पल मात्रै लाएर ।  बिहानै हिंड्दा पधेर्नीहरूले देखेका हुन् रे तर ऊनी घोसेमुन्टो पारेर बोल्दै नबोली बाटो काटेका रहेछन् । सबै कुरा सुन्तलीलाई पल्लाघरे साइँलीले भनेकी रहिछन् ।

उता दिन र महिना बित्यो, सन्तराम आएनन्  घर फर्केर । दुईचार महिनामा गाउॅंकै एक जना छिमेकी मुलुक बसेर घर फर्किंदा खबर बोकेर आएछन् ।

सन्तराम त दिल्लीमा दशा देखाउन पो पुगेका रहेछन् । शुरू कै दिनमा जाडोले काठ्ठेर धन्न मरेनछन् । तर अलि पछि काम पाएर मुखमा माड हाल्ने मेसो गरेर उतै बसेर जुनी काट्ने निधो गरेछन् । ढुङ्गा कै रहेछ उनको मन पनि । घर परिवार पन्छाएर एक्लै बाँच्ने रहर ।

यता सुन्तली अब एक्लै भइन् । समय बित्दै गयो । बाल बच्चा पालेर बस्नुको विकल्प रहेन । सानो झुपडीमा बस्छिन् । चारवटा बारीका पाटाहरू छन् । सन्तरामले पहिले नै बेचेर खाइसकेका रहेछन् । मुश्किलले चार महिना पुग्दो हो खान ।

घरमा पुरुष नभए पनि मन सानो पारिनन् सुन्तलीले । जवानीका रहर त कति थिए होलान् तर मन अन्त डुलाइनन् । जिम्मेवारीबाट पछि हट्ने सुर गरिनन् । मानिसहरू पनि अचम्म पर्थे उनको हिम्मत हेरेर । एकदुई वटा भैंसी, बाख्रा तथा कुखुरा चल्ला पालेकी थिइन् । बाल्बच्चाहर पाल्न हड्डी घोटेरै अरूको काम गर्थिन् । मात्र जीवन कटिरहेको छ । छेलोखेलो थिएन । बा भनेर बोलाउँदा बच्चाहरू विदेशिएका बा सम्झन्थें । तर सन्तराम आएनन् ।  सन्तानको मायाले हिरिक्क हुन्थे सन्तराम । उसो त सुन्तलीलाई पनि माया गर्थे । झैंझगडा पर्थेन खासै । तर किन हो खै मन नै भाँच्चिएर हिंडेका सन्तराम ?
सुन्तलीको दुखकष्ट कसले बुझुन्, एक पटक दाउरा काट्दा भीरमा चिप्लेर धन्नै मरिनन् । वर्षाको भेलमा पहिरोले घर नै लैजाला झैं गर्यो । छोराछोरी छिमेकीको घरमा लगेर बचाइन् मध्य रातमा पनि ।

कहिले वैशाखको धूपमा जंगलको आगोले घर नै खान खोज्थ्यो । तर ऊनी गाग्रोमा पानी बोकेर छानोमा पुगेर बस्थिन् । बेऊनी भैंसी पाडो उल्टा परेर पनि बचाइन् ।  दुख गरेरै पनि कहिल्यै भोकै राखिनन् आफ्ना बचेरा जस्तै सन्तानलाई ।

पुरुषको जिम्मेवार वहन गर्दागर्दै पनि घरको छानो चुहिंदा छाउन कोसिस गरिनन् । हलो जोत्न खेतमा पसिनन् । महिलाले यी काम गर्न हुन्न भन्ने सामाजिक मान्यता तोड्न मानेन उनको मनले । बरु अर्मपर्म गरेरै काम चलाइन् । जीवनको रथ हाकिन् कठोर मन बनाएर ।

“चराले त आफ्ना सन्तान हुर्काउँछ भने म के कम छु र ?”  भन्थिन् सुन्तली । मीठो चोखो भेट्दा मुठीमा राखेर घर पुग्थिन् र  बच्चाकै मुखमा पुराएकै हुन्थिन् । घरमा आउनी परपाहुनाको पनि खुबै ख्याल गर्ने गर्थिन ऊनी ।

वर्षहरू बिते तर सन्तराम आएनन् मन पग्लेर । चाडपर्व आए पनि सुन्तलीको लागि आएनन् कहिल्यै । मिठो मसिनो पाक्दा खुबै सम्झेर मन अमिलो पार्थिन् । तर कहिल्यै पनि आँसु देखाएर हिंडिनन् ।

कोही देश, विदेश बसेर आउँदा मरमसला तथा चिनी, चियापत्ती दिन्थे । तर सन्तरामले एक रुप्पे सम्झेनन् जहानहरू जिउॅंदै छन् भनेर । जुन दिन कुकुरले हाड छोडेझैं छोडेर हिंडेका थिए ।

अहो ! कस्तो मन हो निस्ठुरीको  । कसैको बा कसैको पति । किन यसरी हिंडे र हिंडेको हिंडै भए ।  दुनियाँले केही बुझेनन् । ऊनी सरिफ नै मान्छे हुन् । रक्सी खान्थेनन् । बाहिर मन डुलाएनन् । सन्तराम सन्त नै थिए । तर किन अन्त पुगेर बसेका होलान् एक्लै एक्लै !

तल जंगलनेर सिमसार जमिन छ । एक उपाय रचिन सुन्तलीले ।  मान्छे खोजे अनि खनेर खेत बनाए । पहिलो साल बाह्र पाथी जति धान उब्जेको पनि हो । केटाकेटी खुशीले नाच्नै खोजेका हुन् । भात पनि देख्न पाइने भयो भनेर । तर त्यो हर्ष टिकेन धेरै दिनसम्म ।

दोस्रो वर्ष हुँदा मुसलधारे पानी पर्‍यो ।  खोलामा मिसायो खेत पनि । सबैको खुशी फेरि चुँडेर लग्यो । सुन्तली रुनु न हाँस्नु भइछन् । भात खाम्ला भनेर खनेको खेत बाडीपहिरोले बगाउॅंदा । ती अनजान बच्चाहरूको आँखा पनि बिझे, मन पनि बिझे ।

०० ०० ०० ००

धेरै वर्ष आउन नसकेका सन्तराम एक पटक आएछन् । आफन्तकोमा पसेछन् र उतै बसेका रहेछन् । तर घरमा आएनन् । एकाएक हराए झैं भएका ऊनी किन आए होलान् यसरी, कसैले मेसो पाएनन् । तर उनछेक नापी टोली पुगेर नाप नक्सा चलेको  रहेछ । सुइँको पाएरै ऊनी कुलेलम ठोकेर आएका रहेछन् । मान्छे पठाएर सुन्तलीलाई बोलाएछन् । अर्कैको घरमा भेट्ने गरी ।

सबै सन्तान बोकेर पुगेकी सुन्तली थिइन् । बच्चाहरूले बा हो भनेर पनि चिनेनन् । निकै बेर पछि बोले बच्चा काखमा लिएर ।

बुझ्दै जाँदा जग्गा सुन्तलीले आफै पास गरेकी रहेछिन् । यो सुनेर सन्तराम  धन्नै बेहोस भएका रहेछन् । पछि ठूलो झगडा परेछ जोईपोइको । म ज्युँदो हुँदाहुँदै तैले कसरी जग्गा नापेर आफ्नो नाममा बनाइस् ?  यसो भनेर ऊनी बौलाएर फोहोरो गाली दिएछन् । बाहिरीको अगाडि । तर सुन्तली सम्हालिएरै बोलिन् रे ।

सम्पत्तिको पिरले रन्थनिएका सन्तराम भोलि बिहानै उठेर कसैसॅंग भन्दै नभनी झिसमिसे मै हिंडेछन् ।  घर बिर्सेर पनि जग्गा नाममा गर्न आएका ऊनी अब नफर्कने कसम खाएर पो हिंडेछन् ।  बाटामा गोठालाहरुले के भयो र काका ? भनेर सोध्दा त झन् भक्कानिएर रुँदै बाटो काटेर हिंडेका रहेछन् सन्तराम । तर कुनै सम्पर्कको माध्यम नहुँदा परिवार बेखबर नै रहे पछिसम्म । ऊनी कता गए कसैलाई अत्तोपत्तो भएन ।

०० ०० ०० ००

अलि समय बितेपछि बल्ल खबर पाइन् सुन्तलीले सन्तराम जिउॅंदै छन् भन्ने । ऊनी त फेरि दौडेर दिल्ली नै पुगेछन् । तर सम्पत्तिको सन्तापले गर्दा अन्न न पानी भएर बसेछन् । काम छोडेर  नसा सेवन शुरू गरेछन् । गर्दागर्दा बिहान साँझै बोतल हातमा लिइरहे । जिउने आधार नै नभएर ऊनी त सुकेर लौरो झैं भए रे ।

तर एक दिन अपसोच  के परेछ भने, बाटो काट्न खोज्दै थिए । अलमल हुँदा सवारीले ठक्कर दिएछ । घटनास्थल मै ज्यान गुमाएछन् सन्तरामले । आफ्नो दुख लुकाएर गए तर परिवारको बिचल्ली !

यो दुखद घटनाको भोलिपल्ट आफन्तहरू जुटे । अन्तिम संस्कार गरेर गंगामा सेलाएछन् ।

तर सबै कुरामा बेखबर थिइन् सुन्तली ।

गाउँकै परिचित व्यक्तिले यो अशुभ खबर ल्याए ।

भोलिपल्ट बिहानै वरपर कै आफन्तहरू एकै पटक धारो लागेर आए । मान्छेको हुल देखेर सुन्तलीको होसहवास उडेर गयो । सबै अलि मलिन मुद्रामा रहेछन् । सन्तरामको खबर लिएर कान पार्न कै लागि जुटेका ।

“ए काकी ! एक छिन यता आउनुस् न, केही कुरा छ ।”  एक जना भतिज पर्ने बोलिहाले ।

“के हो के ?”  सुन्तली बरबराइन् ।

“सन्तराम काका त स्वर्गेवास हुनु भयो नि !”

“हॅं केरे बाबु केरे ? को रे को ?” सुन्तली भुइॅंमा लडिहालिन् एकाएक ।

सबै मिलेर सम्हाले । पानीको बाटो गराए । उम्काए सुन्तली लाई । सन्तराम कै सिन्दूरको शर्तमा बसेकी ऊनी धेरै रोइन् । तर बालबच्चा हेरेर जिउनुको  विकल्प थिएन ऊनीसँग । सुन्तलीले आत्मबल बढाएर बाँच्ने अठोट गरिन् । बेलाबेला सम्झिएर मन भक्कानी रहन्थ्यो ऊनको ।

कहिले त गीत गाएरै रात कटाउँथिन् । मन भुलाउन कै लागि भए पनि ।

भिरको टुनी हो..

जे हुनि भै गयो..

किन रुनि हो ?

तर सम्झिएर मन रुन छोडेन सुन्तलीको । घरीघरी माथि घोप्टे भिर तिर हेर्थिन् अनि  चिच्चाएर रूँला नै झैं गर्थिन् ।  सन्तरामको सम्झनाले सताएर ।

सन्तराम संसारै बाट हराए तर सुन्तलीको  मनबाट कहिल्यै पनि हराएनन् । ऊनी मरेर गए पनि सन्तानको मुख हेर्थिन् र झलझली सन्तरामकै अंश भेट्ने गर्थिन्…।