बाहिरबाट आएको गुनगुन क्रमशः मसिनो अनि प्रष्ट आवाजमा परिणत हुँदै गइरहेको थियो । त्यो आवाज मलाई राखिएकै कोठाअगाडि आएर टक्क रोकियो ।
मलाई लाग्यो, तिनीहरूको प्रयोजन मसँगै सम्बन्धित हुनुपर्छ । नभन्दै ताल्चामा साँचो घुसारेको आवाजसँगै ढ्याक्क गर्दै ढोका खुल्यो । हेर्दैमा यमदूत जस्ता देखिने दुई मुसण्ड मेरो अघिल्तिर उभिए । एउटाले आफ्ना दुवै हात अगाडि पसार्न मलाई आदेश दियो, मैले आज्ञा पालन गरें । अर्कोले तिनलाई एउटा चेप्टो आकारको लामो रबरले गाँठो पारेर बाँध्यो र अर्को टुप्पो आफ्नो नाडीमा बेरेर आफूहरूको पछि लाग्न आदेश दियो । एकजना मेरो अघिअघि, बीचमा म, अनि अर्को मेरो पछिपछि ।
हिंड्दै गर्दा मैले आफू कहाँ छु र ती मुसण्ड को हुन् भनेर खुट्याउन सकिरहेको थिइनँ । बाटोमा मैले अरू पनि आफू जस्ता धेरै पात्र मेरै अवस्थामा देखें । धेरैलाई त गर्धन र दुई गोडामा एउटै फलामको साङ्लाले बाँधेर ढाडमा कोर्राले हान्दै लगिरहेको पनि देखें । धन्न, मैले कोर्राको वर्षा र साङ्लाको बन्धन व्यहोर्नु परिरहेको थिएन ।
केहीबेर हिंडेपछि एउटा भव्य भवनको आँगन आइपुग्यो । आँगनको सीमाना सकिनासाथ दश मीटर जति लम्बाइको करीब दश वटा जति सिँढी चढेपछि अंग्रेजी टी आकारको लामो बरन्डामा पुगियो । बरन्डाको बीच भागमा पुगेर दायाँ घुमेपछि अलि पर राणाकालीन दरबारको जस्तै लाग्ने विशाल चोक देखियो । चोकको उत्तरपट्टि भव्य प्रवेशद्वार थियो । द्वारमा हतियार सहित एक अजङको व्यक्ति पहरा दिइरहेको थियो । त्यही अजङको व्यक्तिको निगरानीमा राखेर मलाई लिइआउने दुई मुसण्ड भित्र पसे ।
अब चाहिं मेरो मन थामिएन, त्यो भीमकायलाई सोधें, ‘मलाई यहाँ किन यसरी ल्याइएको ?’
भीमकाय बोलेन, खालि मोटो चोर औंलाले ढोका माथि टाँसिएको साइनबोर्डतिर इङ्गित गर्यो ।
अरे यो के हो ! ‘भ्रष्टाचारीको सुनुवाइ कक्ष’ लेखिएको साइनबोर्ड देखेर म चकित भएँ । किनभने मैले आजसम्म भ्रष्टाचारको भ समेत पनि आकर्षित हुने कुनै नकाम गरेको थिइनँ । ‘शायद म कुनै भूलचुकको शिकार पो भएँ कि? कहिलेकाहीँ प्रहरीले शङ्का लागेर पक्राउ परेका मान्छे प्रमाण नमिलेर निर्दोष पाइएको घटना मैले वेलावेलामा सुनेको छु । ‘मभित्र यस्तै मनोवाद चल्दै थियो, अघि भित्र गएका मुसण्ड मध्येको एक बाहिर आयो र मलाई भित्र पस्ने इशारा गर्यो । भित्र पस्दैगर्दा पछाडि चोकतिर फर्केर हेरें, यतिखेरसम्म कोर्रा लगाउँदै ल्याइएकाहरूको बाक्लै भीड त्यहाँ जम्मा भइसकेको थियो । मुसण्डले मलाई बलीको बोका झैं डोर्याउँदै भित्र लग्यो र ढोका लगायो । त्यहाँ एउटा ठूलो हल रहेछ । हलमा लहरै राखिएका मेचहरूमध्ये अगाडिको लहरमा पुर्याएर बस्न सङ्केत गर्यो ।
हेर्दाखेरी कुनै अदालतको इजलाश जस्तो लाग्ने त्यो हलमा मेरो सामुन्ने एउटा अग्लो डायसमा सुडौल शरीरका ५० वर्ष माथिका देखिने एकजना मोटो जुँगे व्यक्ति कौचमा विराजमान थियो । उसको बायाँपट्टि अलि तल लामो बाक्लो सेतो दाह्री भएको व्यक्ति आफ्नो अगाडिको टेबुलमा खातापाता जस्तो देखिने कागजका चाङ र दायाँपट्टि प्रोजेक्टर जस्तो देखिने एउटा उपकरण राखेर कुर्सीमा बसेको थियो । उसको ठीक सामुन्ने अलि परपट्टि सिलिङबाट सिक्री झुण्ड्याएर अड्काई राखिएको एउटा सेतो पर्दा थियो जुन मेरो बायाँपट्टि पर्न जान्थ्यो ।
एउटा सियो खसे पनि प्रष्ट आवाज सुन्न सकिने एकदमै शान्त त्यो हलमा मलाई नै सङ्केत गर्दै सेतो दाह्रीवालको मोटो आवाज गुञ्जियो, “तेरो विरुद्ध यहाँ धेरै नै भ्रष्टाचारको विवरण आएको छ । केही भन्नु छ ?”
भ्रष्टाचारको ‘भ’ समेतबाट दश हात पर रही आएको म यो सुनेर अचम्ममा परें ।
तत्काल प्रतिवाद गरें, “आजसम्म मैले त्यस्तो केही गरेको छैन हजुर । शायद अर्कै व्यक्तिको विवरण पो पर्यो कि ?”
दाह्री बुढा कुर्लिए, “भयो भयो, तैंले सिकाउनु पर्दैन । तँ कबुल गर्छस् कि प्रमाण देखाउन पर्यो ?”
मलाई पनि आफू निर्दोष भएपछि किन डराउने भन्ने भयो । “हुन्छ, देखाउनुस्,” मैले आत्मविश्वासका साथ जवाफ दिएँ । दाह्रीवालले आफ्नो साइडमा रहेको उपकरण चालु गर्यो र भन्यो, “ल हेर् उतातिर ।” सेतो पर्दामा दृश्य चल्न थाल्यो ।
अरे, म घरमा खानेपानी तान्न पाइप लाइनमा पम्प जोड्दै गरेको देखिन्छु त ! म आश्चर्यचकित भएँ । मैले आफ्नो घरमा सिसी क्यामेरा त जडान गरेको छैन, फेरि यो दृश्य कसरी आयो ?
“देखिस् तेरो कर्तुत ?” दाह्रीवालले थर्कायो ।
“यो कसरी भ्रष्टाचार भयो ? हाम्रो टोल छिमेकमा त सबैले यसै गर्ने हो ।” मैले प्रतिवाद गरेँ ।
“बदमाश ! सबैले गर्दैमा सदाचार हुन्छ ?” दाह्रीवालले सातो लिउँला झैं गर्यो, “अरूको भाग खोसेर भए पनि आफ्नो भण्डार भर्नुपर्ने तँलाई ? एउटै भाँडोबाट आउने भएपछि आफ्नो भागबाट चित्त बुझाउनु पर्छ भनेर सिकिनस् तैंले ?” उसको बोलीले हल गुञ्जायमान भयो । म आफ्ना दुई हातले टाउको समातेर निहुरिएँ ।
“ओइ! निहुरिने हैन, उता हेर्, उता हेर् ।” अगाडिको जुँगेले थर्कायो ।
मैले टाउको उठाएँ र पुन: पर्दातिर दृष्टि लगाएँ । दाह्रीवालले एकपछि अर्को दृश्य देखाउँदै गयो, म हेर्दै रहें ।
एउटा दृश्यमा म आँगनमा कुचो लगाउँदै गरेको देखिएँ । डस्टप्यानमा कसिङ्गर बटुलेपछि पर्खाल बाहिर छिमेकीको बाँझो जग्गामा फाल्दै थिएँ । भूकम्पले बिगारेको घरको भुइँ मर्मत गर्दा ज्यामी लगाई भत्काएर फालेका सिमेन्टका टुक्राटाक्रीको ढिस्को पनि छेउमै देखियो ।
अर्को दृश्यमा कसैको कल आउँदा मोबाइल फोन उठाएर कालीमाटीमा हुँदा आफू धुलिखेलमा रहेको भन्दै जवाफ फर्काउँदै रहेछु । टेकुमा त्यही व्यक्ति जम्काभेट भएर ‘तपाईं त यहीँ हुनुहुँदो रहेछ, अघि किन धुलिखेलमा छु भनेर किन ढाँट्नुभएको’ भन्दा बुझ पचाउँदै ‘हैन, मैले त लगनखेल पो भनेको’ भन्दै थिएँ । ढाँटको घ्याम्पो फुटेकोमा मेरो अनुहार हेर्न लायकको देखिएको रहेछ त्यतिखेर ।
त्यसपछिका केही दृश्य जो मैले बिर्सिएको छैन, यस्ता थिए:
– मन्दिर जाँदा हातले पन्छाएर लामबद्ध भक्तजनको बीचमा घुसेको म ।
– सडकमा ट्राफिक जाम हुँदा पेटीमा बाइक चढाएर हर्न बजाउँदै बटुवाको सातो जाने गरी कुदाउँदै गरेको म । – घरको प्यारो कुकुर टाइगरलाई डोर्याउँदै हिँडेको म, कुकुर चाहिं बाटोमा सुसु र आची गर्दै पुच्छर हल्लाउँदै पछिपछि लागेको ।
– अफिस टाइममा आफिसको कम्प्युटरमा अमेरिकाको डिभी फर्म भरिरहेको म ।
– छुट्ने वेलामा अफिसका लागि खरिद गरिएका मसलन्दबाट स्कूले छोरीका लागि भनेर केही थान कापी र कलम दायाँबायाँ पल्याकपुलुक गर्दै आफ्नो ब्यागमा हाल्दै गरेको म ।
– तरकारी बजारमा किनमेल गरिरहेको, झुक्किएर पसलेले बढी पैसा फिर्ता गरेको थाहा पाए पनि चूपचाप हात थापी खल्तीमा हालेर फर्किएको म ।
यस्ता दर्जनौं दृश्य हेरिसकेपछि अन्त्यमा केही भन्न खोज्दै थिएँ, सामुन्नेको मोटो जुँगेले ‘खबरदार ! चूप लाग्’ भन्दै दुई पटक ट्यापट्याप ताली बजायो । अघिकै मुसण्ड एउटा भाला लिएर म छेउ आइपुग्यो । भालाको टुप्पो आरनमा पोलेर रातै पारिएको रहेछ । स्पष्टीकरणको मौका समेत नदिई जुँगेले आदेश दियो, “यसका हात रहेछन् यसलाई भ्रष्टाचारमा लगाउने, डाम्दे यस्का हत्केलाहरू ।”
मुसण्ड वेगले म भएतिर अघि बढ्यो । आफू सम्हालिन नपाउँदै सासै फेर्न मुश्किल हुनेगरी उसले मलाई कर्याककुरुक पार्यो । “नाइँ नाइँ, अब यस्तो गर्ने छैन,” मैले आफूले सक्ने गरी ठूलो स्वरले चिच्याएँ ।
“के भो, के भो ?” भन्दै साथमै सुतेकी अर्धाङ्गिनी मलाई घच्घच्याउँदै रहिछन् । म पसिनाले निथ्रुक्क भएको रहेछु ।
कोटेश्वर, काठमाडौं ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१२ कार्तिक २०८२, बुधबार 










