उमेरमा मभन्दा एक वर्ष मात्र कान्छी भएकीले होला हामी दुईमा प्रगाढ सम्बन्ध थियो । दसैँ तिहार अथवा कुनै पनि पर्व आउन लाग्दा मेरो मन खुसीले पुतलीझैँ नाच्न थाल्थ्यो.., तृष्णासँग भेट्ने कल्पनाले ।

दसैँमा एकादशीको दिन, नभए द्वादशीमा आएर कोजाग्रत पूर्णिमासम्म फुपू माइत बस्नुहुन्थ्यो । तृष्णा पनि आउँथी ।

विन्टरको छुट्टीमा पनि तृष्णा मामा घर आउँथी । शरद् ऋतुमा मधेसको वातावरण साह्रै रमाइलो हुन्छ । मौसम पनि सफा । न धेरै जाडो,न गर्मी । धुलाबारी बजारमा सस्ता चिनियाँ सामग्रीहरू किन्न आउने मानिसहरूको घुइँचो देख्दा हामी रमाउँथ्यौँ ।

घर नजिकैको निन्दा खोलामा गएर नुहाइधुवाइ गरेका पलहरू । खेतमा पहेँलपुर भएर पाकेको धानका बाला, आलीमा दालका झ्याङहरू, बारीमा रुखभरि फलेका अम्बकको दृश्य । दाइँ गरेपछि खाली भएका खेतमा नाङ्गा खुट्टा लिएर अम्बल डम्बल, पाँच ढुङ्गे, अमराइट र कबड्डी खेलेका क्षणहरू बिर्सन सक्दिनँ ।

धुलोमा दिनभरि खेलेर मैलो लुगासँगै साँझमा डराउँदै डराउँदै घर फर्किंदा आमाले हात खुट्टा धुन लगाएर गालीको साटो माया पस्किएर खाने कुरा दिँदा खेलेका समयमा हराएको भोक जाग्थ्यो । सुत्दा पनि एकाअर्कालाई कथा सुनाउनै पर्थ्यो । कति रमाइलो थियो त्यो समय । जीवनको बोझ नभएको, जिम्मेवारीको अर्थ नबुझेको, खेलेरै बढ्न उमेरको त्यो बाल्यकाल…. ।

* * * *

‘अमृता ! अझै पनि केही बितेको छैन, बिग्रिएको छैन । तिमीले आफ्नो हृदयको ढोका खुल्ला राख ।’

‘उमेर ढल्दै गएपछि एक्लोपन पनि बढ्दै जान्छ । त्यो बेला त आफ्नो सम्झनाको घाउमा मलम लगाउने मान्छेको पनि खाँचो पर्छ नि !’

‘बाबा आमाको सहयोग र आशीर्वाद अनि आफ्नो कठोर परिश्रमले तिमी यस ठाउँसम्म पुगेकी छौ । नारी गौरव त हौ नै । बिहे गरेर पनि बाबा आमाको सेवा गर्न सकिन्छ । अब यसरी एकलो नबस ।’

अरूले प्रायजसो दिनहुँ दिने यस्तो सल्लाह सुझाउमा आमाले पनि मुन्टो हल्लाउनु हुन्थ्यो ।

‘हो त छोरी, भनेको मानिदेऊ । हामी पनि ढुक्क हुनेछौँ ।’ आमाको यस्तो भाव म अनुहारमा पढ्न सक्थेँ ।

एसोफेगल क्यान्सर भएकाले बाबाले दस वर्षअघि आमा र मलाई छोडेर जाँदा हामीमाथि समस्याको पहाड खसेथ्यो । समयको हुरीमा हुत्तिँदै आमा छोरी जीवन मार्गमा अघि बढिरह्यौँ । आमाका लागि बाँच्ने आड म अनि मेरा लागि आमा नै आधार हुनुहुन्थ्यो ।

अफिसबाट फर्किँदा सधैँ मूल ढोका खुल्ला राखेर पर्खिरहने मेरी आमाको हँसिलो,उज्यालो अनुहार देख्दा म दिनभरिको शारीरिक र अझ बढी मानसिक थकाइबाट निवृत्त हुन्थेँ । दुवै जना सँगै बसेर चिया खाजा खान्थ्यौँ । घरबाट निस्केदेखि फर्किन्जल सम्मका प्रत्येक कुरा रिट्ठो नबिराई सुनाउँदा पनि आमालाई दिक्क लाग्दैनथ्यो ।

‘अनि त्यसपछि के भयो त?’ आमाको उत्सुकताले म उत्साहित हुन्थेँ ।

सानैदेखि पढाइमा अब्बल, सबै क्लासमा फस्ट हुने म, यौवनको सँघारमा पुग्दा पनि केटा साथीहरूसित आकर्षित भइनँ । एउटै लक्ष्य थियो…ठुलो पदको नोकरी पाएर मेरो उज्ज्वल भविष्यका लागि हड्डी खियाएर मलाई पढाउने आमा बाबालाई सुख दिनु ।

केमिस्ट्रिमा पिएचडी पुरा गर्ने बित्तिकै काठमाडौँको पद्म कन्या क्याम्पसमा नोकरी पाएँ । केही शोधकार्य, विभिन्न परियोजनाका काम र कहिलेकाहीँ विदेशमा आयोजन हुने सङ्गोष्ठीहरूमा देशकै प्रतिनिधित्व गर्नुपर्ने हुँदा विवाह बन्धनमा बाँधिन रुचि जागेन ।

मैले स्थायी नोकरी पाएपछि धुलाबारीको घर र खेत बिक्री गरेर हामी काठमाडौँ नै स्थायी रूपमा सरुवा भयौँ । सहरदेखि अलिक टाढा पाटनमा थोरै जमिन किनेर सानो घर बनाएका थियौँ । अलिकति बारी थियो…बाबा आमाको दिन बिताउने मेलो… । परिश्रम गोड्ने…माटो… ।

* * * *

‘अमृतालाई सम्झाउनुपर्छ, विवाह गर्नका लागि । उमेर बित्दै जाँदै छ । मैले मात्रै कत्ति सुऱ्याउनु तपाईँले पनि सम्झाइ हेर्नु नि । छिमेकी प्रधान दाजुले आफ्नो छोराका लागि राख्नुभएको प्रस्ताव राम्रो थियो । त्यसलाई पनि उसले मानिन ।’

‘छोडिदेऊ न, उसलाई मनै छैन । आफै शिक्षित, जान्ने बुझ्ने छोरी । आफ्नो जीवनबारे स्वयम् निर्णय लिन सक्ने क्षमता भएकालाई हाम्रो इच्छा थोप्नु हुँदैन । कर लगाउँदा नकारात्मक असर पर्न सक्छ ।’

आमा र बाबाबिच हुने यस्तो कुराकानीलाई सामान्य रूपमा लिन्थेँ म । आमा बाबाको हस्तक्षेप र चिन्ता स्वाभाविक पनि हो ।

बितेका ती रमाइला दिनहरूको संस्मरण हुन्छ अहिले मलाई । निष्ठुरी कालले आमालाई पनि टपक्कै टिपेर लगेपछि साँच्चै म एक्लो भएकी छु । फगत…एक्लो… । क्याम्पसबाट घर फर्किन मन लाग्दैन । बाबा आमा जीवित हुँदाको सुनौला दिनहरूको स्मरण गर्दै घन्टौँ रोइरहन्छु । चाडपर्व र लामो छुट्टीको समय बिताउन निकै हम्मे पर्छ ।

यस्तो गाह्रो परिस्थितिमा तृष्णाको स्थानान्तर भएको खबर पाउँछु । उसको धरानबाट काठमाडौँ स्थानान्तरणले मेरो चोइटिएको मनलाई जोड्नमा केही हदसम्म सहयोग पुऱ्याएको छ ।

हुन त उसको आफ्नै प्रकारको व्यस्तता छ । दूरसञ्चार कार्यालयमा सहायक प्रबन्धकको पदमा छे ऊ । घर परिवार सम्पन्न ।  मेरा लागि समय निकाल्छे ।

‘अमृता दिदी ! कस्तो हुनुहुन्छ ? आज हाम्रो घर जाऊ है । यस पालिको दसैँ उतै मनाउनुपर्छ । रमाइलो गर्नुपर्छ । बाबा आमा इलाम जानुभएको छ । चाबेलमा प्रीतम र म मात्र छौँ ।’

दसैँको छुट्टी भइसकेको थियो । घरमै आएर तृष्णाले आग्रह गरी । तर उसको आग्रह अस्वीकार गरेँ मैले ।

‘बहिनी ! जान्न ल । मलाई कहीँ कतै जान मन लाग्दैन ।’

‘त्यसो हो भने गोदावरीतिर घुम्न जाऊँ न त ।’

‘पछि जाऊँ न ।’

ऊ थाक्दिन मलाई फकाउनमा ।

तृष्णाको मायालाई तिरस्कार गरे जस्तो लागिरहेथ्यो । तर उसले मेरो मनोदशा बुझेकी छे । ढिपी गरिन ।

‘दिदी आज म यहीँ बस्छु है । होइन, आफ्नै घर जा भन्न पाउनुहुन्न है ।’

म जान्दथेँ तृष्णा मेरो व्यथित हृदयलाई शीतल पार्न आएकी हो भनेर ।

ऊ मसँग बस्ने नै भई ।

मेरी आमा बित्नु भएको समयमा पनि झन्डै एक महिनासम्म मसँगै बसी । आमासँग जोडिएको पलपलका घटनाहरूको सम्झनाले विक्षिप्त भएको मेरा हृदयमा सान्त्वनाको मलम लगाउने त्यस बेलाको तृष्णाको गुण म कहिल्यै बिर्सन सक्दिनँ ।

मेरी बहिनीलाई म बत्तिस लक्षणयुक्त पाउँछु । मानवीय संवेदना हराइसकेको यान्त्रिक युगमा पनि ऊ सहारा बनेर मलाई समय दिन्छे । कत्रो विशाल हृदय ! आमा बन्न नसक्नु उसका लागि अभिशाप हो वा नियति ! अरूका दृष्टिमा उसमा रहेको कमी-कमजोरी भनेको यही एउटा थियो । आमा बन्ने सौभाग्य नपाए पनि उसको हृदयमा मानवीय गुणको पौल छ ।

तर कसलाई के थाहा जानिबुझी सन्तान नजन्माएको पो हो कि ? अरूको व्यक्तिगत र वैचारिक स्वतन्त्रतामा हस्तक्षेप गर्ने मेरो स्वभाव नभएकाले उसका कोखको अधिकार बारे प्रश्न कहिल्यै गरिनँ ।

* * * *

शनिवार बिहान । छुट्टी भएकाले अबेर गरेर उठेँ । किन हो किन तन र मन दुवै भारी थिए । दुई गिलास तातो पानी पिएँ । केही क्षणमा रातो चिया बनाएँ र चियासँग बिस्कुट खाएँ । खाना पकाउन अल्छी लाग्यो । पाउरोटी खाएर छाक टार्ने विचार गरेँ ।

‘दिदी तयार भइराख्नु है, पशुपति जानुपर्छ ।’ तृष्णाले अधिकार जमाएर फोनबाटै अह्राई ।

मेरी आमा प्रत्येक शनिवार बिहान पशुपति मन्दिर जानुहुन्थ्यो…, त्यस दिन मेरो छुट्टी थियो । मलाई केही अप्ठ्यारो थिएन पशुपति जान । आमालाई सम्झिएँ । नाइँ भन्न सकिनँ ।

‘जन्म दिनको धेरै धेरै बधाई र शुभकामना ।’

माघ १८ गते । मेरो जन्मदिन रहेछ । प्रीतम र तृष्णाको स्वर एकै चोटि सुन्दा तर्सिएँ म ।

मैले आफ्नै जन्मदिन पनि बिर्सिएकी रहेछु । सम्झना गराए सबैले तर आमा नहुँदा जन्मदिन पनि जन्मदिन जस्तो थिएन । तर सबैलाई सम्झिएँ र उनीहरूसित पशुपति गएँ । दर्शन गऱ्यौँ । त्यत्ति भिड थिएन । लन्चका लागि सोझै अन्नपूर्णतिर लगे प्रीतमले । त्यहाँबाट निस्किएर किनमेल गऱ्यौँ । त्यसपछि प्रीतमको गाडी पाटनतिर नगुडेर महाराजगञ्जतिर हाँकियो । कुनै विशेष काम होला भन्ने सम्झिएर चुपचाप थिएँ । एउटा पुरानो पुरानो घरको अगाडि गाडी रोकियो ।

‘एकछिन भित्र जाऊँ ल दिदी ।’ यति भनेर तृष्णाले गाडीको पछाडिपट्टि राखिएका प्याकेटहरू निकाली । म अलमल्ल थिएँ । तीनैजना भित्र पस्यौँ । ती लुगाफाटा र खानेकुराको पोकापोकी बोकेकी रहिछ । त्यहाँका वृद्ध-वृद्धाहरूलाई बाँड्न लगाई । मन परेका चिजबिच पाउँदा उनीहरूका अनुहारमा छाएको खुसीले म तृप्त भइरहेकी थिएँ ।

त्यहाँ कोही गरिब घरका, दुख पाएका र आफन्त नभएकाहरू थिए भने कोही उच्च घरानाका तर छोराछोरीले हेला गरेर लत्त्याइएका वृद्ध-वृद्धाहरू थिए । कोही रोगी, कोही स्वस्थ, कोही मझौला उमेरका र कोही पाको उमेरका ।

एउटा अँध्यारो कुनामा बसेर टोलाइरहेकी एकजना वृद्धामा मेरो आँखा पऱ्यो । मलाई उहाँले इसाराले बोलाउनुभयो ।

‘छोरी ! बल्ल आइपुग्यौ नि तिमी ! मलाई थाहा थियो तिमी आउँछौ भनेर । नानी यहाँ बस्न पटक्कै मन छैन । घरमै लैजाउन मलाई ।’

मानसिक रूपले विक्षिप्त जस्तो लाग्ने ती वृद्धाले मेरो हात च्याप्प समातेर अनुहार मुसार्न थाल्नुभयो ।

प्याकेटमा उहाँको ध्यान गएन ।
‘ए !..आमै…आमै ।’ वृद्धाश्रमकी एकजना बहिनी परबाट कुदेर आइन् ।

‘छोड्नुहोस् हात ।’ उनले तानेर आमैलाई अर्को कोठातिर लागिन् ।

‘म यहाँ बस्दिनँ गीतु… । निकाल न मलाई यस नर्कबाट… ।’ आमै कराइरहनु भएको थियो ।

बुझ्दै जाँदा छोरा-बुहारीले नहेरेर छोरी ज्वाइँसँग बस्दै गरेकी आमालाई उनीहरू अमेरिका जाने भएपछि वृद्धाश्रममा छोडेर गएका रहेछन् । हृदय कुटुक्क भयो ।

मलाई पाटन पुऱ्याएर ती दुईजना चाबेलतर्फ लागे ।

जन्मदिन फलप्रद भएको अनुभूत गरेँ । सरसामान किन्दा लागेको खर्च तृष्णाले लिन मानेकी थिइन । तर त्यसको रकम तृष्णालाई हात लगाएपछि मात्र ढुक्क भएँ ।

* * * *

वृद्धाश्रमको दृश्य र ती बुढी आमैको अवस्था मेरो मस्तिष्कबाट हट्नै सकेको थिएन । यताउत्ति के के गरेर अलमलिने प्रयास सफल भइरहेको थिएन । ‘छोरी…,छोरी…, गीतु…मलाई लैजाऊ’ भनेका शब्दहरू कानमै गुञ्जिरहेका थिए । ती हजुरआमाको आँखाभरिका आँसु छाया बनेर पछ्याइरहेका थिए ।

बिहानीपख निदाएछु । घाम झ्यालको पर्दाबाट छिरेर कोठा झलमल्ल हुँदा मात्र ब्युँझिएँ । मन रातभरिको मन्थनमा अर्कै भइसकेको थियो । अरू सोच्ने कुरा थिएन । मोबाइल खोजेँ, तृष्णा-लेख्दा देखिएको नम्बरमा कल गरेँ ।

‘तृष्णा आज पनि वृद्धाश्रममा जाऊ न ।’

‘हुन्छ दिदी । मलाई थाहा थियो । I knew that…तर यति चाँडै जानुपर्ला भन्ने चाहिँ सोचेकी थिइनँ ।’

तृष्णा साथी जाने भएपछि ढुक्क भएँ । क्याम्पस पुगेर दुईवटा क्लास पढाएपछि वृद्धाश्रममै भेट्ने सल्लाह अनुरूप म निस्किएँ । ऊ भन्दा अगाडि पुगेछु । आँगनको चौकीमा बसेर तृष्णालाई पर्खिएँ ।

ऊ नयाँ कालो गाडीमा आई । गाडीको मालिक नै ड्राइभर रहिछन् । तृष्णाकै आफिसको अधिकारी । पहिला पनि दुईचार चोटि भेट भएकाले म परिचित नै थिएँ ती अधिकारीसित । ‘भिक्टोर’ घरमै पनि आएका थिए एकपल्ट ।

‘तृष्णा म ती आमैलाई घर लैजान चाहन्छु ।’

वृद्धाप्रतिको संवेदना र भावुक मनले मलाई निरन्तर आमैको उद्धार गर्न उक्साइरहेको थियो । केही नसोची फ्याट्ट भनिहालेँ ।

‘दिदी ठिकै हो । तर उनी मनोरोगीजस्तो लाग्यो ।’

‘होइन, तृष्णा !  मायाको अभाव हो । आफ्ना आफन्तहरूको बिछोडले दिएको पीडा हो त्यो । उहाँलाई घरमा लगेर सेवा, माया-प्रेम गरेर निको पार्न सकिन्छ । तर एकचोटि मनोरोग विशेषज्ञसँग पनि परामर्श लिनुपर्छ होला ।’ तृष्णालाई आफ्नो विचार सुनाएँ । ऊ मुसुमुसु हाँसी ।

वृद्धाश्रम अफिसमा गएर त्यहाँको प्रमुखसँग सरसल्लाह गरेर कागजपत्रको औपचारिकता पुरा गर्न थाल्यौँ । सबै थोक मिलेपछि आमै भएकी ठाउँमा गयौँ हामी । खुसी देखिनुहुन्थ्यो उहाँ । ‘छोरी मलाई घर लैजाऊ’ भन्ने वाक्य पनि आमैबाट सुनिएन ।

‘आमा ! घर जाऊँ ल ।’

‘आमा ! सम्बोधनले उहाँको आँखा रसायो । मैले देखेँ उहाँका आँखामा हजारौँ कुरा थिए चुपचाप बसेका । मेरो कुरा सुन्ने बित्तिकै ‘ल’ भनेको सङ्केतमा टाउको हल्लाउनु भयो । के सोचेर छेउमा भएको आलमारीबाट आफ्नो सानो, पुरानो टिनको बाकस निकाल्न थाल्नु भयो । अलिक ठुलो सुटकेस पनि रहेछ । सुटकेस भिक्टोरले बोकेर गाडीमा हालिदिए । पुरानो बाकसलाई आफै हातमा लिनुभयो । आमैले वृद्धाश्रममा भएका मन मिल्ने साथीहरूसित समय समयमा भेट्न आउँछु है भन्दै गाडीमा चढ्नु भयो ।

* * * *

जाडो महिना सुरु भइसकेको थियो । छुट्टी पनि थियो । त्यसैले नयाँ पाहुनालाई मेरो घरको परिवेशमा ढल्न गाह्रो परेन । पन्ध्र दिनपछि आमैको स्वास्थ्य पनि राम्रो हुँदै गयो । डाक्टर देखाउन परेन । मैले सानो नानी दत्तक ग्रहण होइन तर आमा ग्रहण गरेकी थिएँ । आमाबिनाको जीवन मैले भोगिसकेकी थिएँ । घरमा सबै हुँदा पनि आमा नहुँदा कोही छैन जस्तो लाग्छ । घरभरि आमा, आमा, आमा शब्दहरू घुमिरहुन् लाग्छ । कसरी छोडेर जान सकेका हुन् आमाहरूलाई यसरी.. । मैले आमैमा आफ्नै आमाको प्रतिरूप पाएँ । उहाँले पनि सायद छोरी गीतुकै प्रतिबिम्ब पाउनु भयो होला ।

निकै वृद्ध देखिने आमाका चाउरिएका गाला भरिला हुँदै आए । शरीर पनि फेरिँदै आयो । म क्याम्पस गएका समयमा टिभीमा धार्मिक धारावाहिक हेर्दै अनि घरका मसिना काम गरेर उहाँको दिन बित्छ । म पुगेपछि हामी चिया खाजा खान्छौँ, दुख सुखका कुरा गर्छौँ, कहिले हाँस्छौँ, कहिले भावुक हुन्छौँ…यस्तै…यस्तै… ।

मर्न लागेको मेरो खुसीको बिरुवा पुनः मौलाउनुको सम्पूर्ण श्रेय तृष्णालाई जाँदछ । म उसलाई धन्यवाद दिएर थाक्दिनँ । मलाई विश्वास छ…म जत्तिकै खुसी तृष्णा पनि थिई । मसँग कहिल्यै विवाहको प्रसङ्ग नउठाउने तृष्णाले मेरा लागि उचित निर्णय लिएकी थिई ।

उसले पछि गएर जुन फैसला गरी त्यो समाजका लागि अस्वीकार्य थियो होला । तर म आश्चर्यचकित भइनँ । आत्मसन्तुष्टि मानिसको अधिकार हो । आत्मसन्तुष्टिको चाहनालाई कसैले छिन्न सक्दैन । म्यासेज पठाएकी रहिछ…

‘अमृता दिदी ! भिक्टोर र म काठमाडौँ छोडेर अन्यत्र जानेछौँ । यो हामी दुवैको साझा निर्णय हो । अरूले मलाई गलत सम्झे पनि तपाईँले पक्कै सोच्नु हुन्न । वास्तवमा मेरा शरीरमा कुनै कमी छैन । प्रीतममा यौन दुर्बलता छ । उनीबाट मैले माया-प्रेम, हर सुविधा सम्पन्नता पाएकी हुँ । भौतिक सुखको पनि स्थायित्व र निश्चितता छैन । भिक्टोरले मलाई प्रीतमले जति माया नगर्लान् । तर उनीसँग रहन पाउँदा तृप्त हुन्छु । प्रीतमले पनि यो कुरो बुझ्नेछन् । भविष्यमा भेट्ने आशा साँचेकी छु ।’

– तृष्णा

गान्तोक