सोच्ने र विगतका कुरा सम्झँदै भविष्यको अत्यासलाग्दो अँध्यारो कालो छिद्रभित्र नपस्ने हुँदो हो त, म जस्तै अधिकांश मानिसहरू पनि यावत पन्छी सरह आकाशमा कावा खाँदै स्वतन्त्र उडान भर्थे होलान् । यही कुरा बारम्बार सोचेर आज मेरो निद्रै परेन । हुन पनि हामी मान्छेलाई लाज, घिन, सरम, हाँसो, पीडा, हिंसा, सम्मान ,प्रतिष्ठा आदि इत्यादि संवेगले जीवनभर लखेटिरहन्छ । अथवा भनौं न हाम्रो स्वतन्त्रताको उडानमा थुनछेक गर्दिहाल्छ ।

गाउँमा मेरो परिवार र मेरो पृष्ठभूमि अछुत । ‘म’ गुई…ये टोलको छेर गुहू लूहार/कामीको छोरा, झुस्राम अर्थात्  झुस राम लूहार !, यता शहरमा स्नाकोत्तर  गरेर सरकारको सिन्दुर पहिरिएको छ, भन्ने प्रतिष्ठाको पहिरोले मलाई सधैं पुर्न खोजिरहन्छ । र त म प्रत्येक पटक आफू को हुँ भन्ने स्वयमको परिचय बिर्सन्छु। अनि म सुत्न खोज्दा यी शहरका चिसा कोठामा  निसासिन्छु, र अकारण जाग्राम बस्छु ।

“मान्छेको नाम” शब्दले विभिन्न अर्थ संकेत गर्दछ । सबै धर्मका सांस्कृतिक एवं अनुष्ठानिक क्रिया-प्रक्रियाद्वारा राखिएका व्यक्तिहरूका नाममा प्रयोग हुने  शब्दले मूलतः व्यक्तिको आत्मबल, पहिचान, वा प्रभावको बारेमा पनि जानकारी दिन्छ । साथै उक्त शब्दहरूको व्याख्या विभिन्न सन्दर्भमा भिन्न-भिन्न हुन्छ । तर, हाम्रो समुदायका प्राय: गरेर मानिसहरूको वास्तविक नाम प्यारो लाग्ने भए पनि नागरिकताको नाम नै अनौठो प्रकृतिका छन् । झुस्राम, छेर गुहू, क्कुरे, बकुल्ले, गुल्ले, राणी, दोगल्लाई, न्याप्टि, गुल्लड्डया, धम्पूरे … आदि इत्यादि हाम्रो समुदायका केही प्रतिनिधि नागरिकते नाम हुन् । सबैका नामको अर्थ त छन् नै तर अर्थ आङ नै सिरिङ्ग हुने खालका छन् ।

म आफै मेरो नागरिकताको नाम  सार्वजनिक ठाउँमा भन्न अझै हिचकिचाउँछु । झुस राम बोलीचालीमा ‘झुस्राम’ ! सम्झिंदा मात्रै पनि कस्तो बिझाउने जस्तो, झुसै-झुस वा दुम्सीको जस्तो काँडै-काँडाले भरिएको शरीर होला कि जस्तो, खोइ कस्तो कस्तो ! समग्रमा मेरो नामको झुसले अरूको भन्दा नि मेरो आफ्नो मनमा चैं कैयौं पटक चिलेको छ ।

लोकसेवामा नाम निकालिसकेपछि स्टाफ कलेजमा तालिम लिँदादेखि अहिले मैले काम गर्ने कार्यालयमा सेवाग्राहीका कागज पत्रमा प्रशासकीय अधिकृतको ठाउँमा “झुस राम लूहार” को नाम र हस्ताक्षर देख्दा कति धेरै सेवाग्राहीको अनुहारको भाव म अनुभूत गर्छु र आफै खिन्न हुन्छु । उनीहरूको अनुहारको ठुस्स परेर सुन्निएको भाग मेरो नाम को झुसले घोचेर सुन्निएको महसुस गर्छु म । मौरीले चिलेर सुन्निएको अनुहार झैँ ! उनीहरूको अनुहारको भावमा, उनीहरूले जीवनभर बोक्ने प्रमाणपत्रमा ‘झुसे डाङ्ग्रो’ को नाम र हस्ताक्षर बोक्नुपर्ने भयो भन्ने भाव स्पष्ट रूपमै देखिन्छ ।

एकपटक त एकजना अधबैंसे सेवाग्राही महिलाले मुखै फोरेर भनिन्; “सर ! कामी-दमाई पनि हाकिम हुन्चन् र !  हाम्ऱा: टोलका सप्पैले त  डाङ्ग्राहरूलाई हली पो राखेका छन् त !”

मेरो टेबल अगाडिको ‘नेम प्लेट’ मा लेखिएको “झुस राम लुहार” प्रशासकीय अधिकृत हेर्दै मेरो आँखामा नहेरी गुनगुन गर्दै भुत्भुताउँदै थिइन् ।  मैले केही भन्न खोज्नुभएको हो र भनेर प्रश्न तेर्स्याउँदा,उनि आफैसँग बोले जस्तो गरी अप्रत्यक्ष रूपमा हाम्रो समुदाय माथि नै खनिंदै थिइन् ।

“छि !  यो देशाँ राजा फालेपछि त डाङ्ग्राहरूको नि कम्ती भाउ बडेको छ र !  थोरैतिनोमा काम गर्दैनन् खेत-खलियानको काममा ढिलो आएर छिटो पो जान खोज्छन्, अल्छी तिघ्रो स्वादे जिब्रो, स्वाँठहरू ! अझै हाकिम पो हुन पर्ने मुर्दार डाङ्ग्राहरूलाई । ”

मैले ती सेवाग्राही महिलासँग संवाद गर्न उचित नै ठानिन र  मौन उनका कुरा सुनी मात्र रहेँ अथवा सुन्न बाध्य थिएँ । मनमै म र उनी हुर्के बढेको मेरो बाल्यकालीन समयतर्फ फर्किएँ ।  उनले त्यो बोल्नु सहज नै थियो । मेरा बा अझै पनि टोलको भगवतीको मन्दिरमा पसे कोड आउँछ भनी डराउँदै बाहिरबाटै नमस्कार गर्छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बासु क्षेत्री दाइले मन्दिर भित्रै गएर पूजा गर्दा हुन्छ ‘दलु काका’ भन्दा नि बा झस्किन्छन् र कुरै नसुनेजस्तो अभिनय गर्छन् । गाउँमा बाको नाम ‘छेर गूहू’ उच्चारण गर्न अप्ठ्यारो महसुस गर्ने पाका मान्छेहरू दले भाइ भन्छन् भने, मेरो उमेरकाले काका वा बाजे मात्रै ! सायद; ‘बा’ देखि, वा हाम्रो समुदायका मान्छेलाई मान्छे नै भन्नै नरुचाउनेहरू चर्को स्वरमा ‘छेर गुहू कामी’ नै भन्छन् ।

आफ्नो नाम “छेर गुहू” नागरिकता बनाम्ने टोलीका हाकिमले आफै इसो राखे, ‘बा’ आफ्नै दु:खको पुन्तुरो फुकाउँदै भक्कानिन्छन् ! “आवू मेडा  नाउँ तो मयाले दल बहादुर राख्या थ्ये मेरी ईजा र बड्डाले !”

“के गड्न्या आफु बोल्न आछिनो । तेरी ईजा र मुईले नि तम्रो नाउँ मोहन राख्या थ्या । जन्म दर्ता गडन्या, राणा: छोराss…मा…. ठ्यास्न्याले तेरी आङ्ग भरि झुस देखिबाट झुस्राम राख्दो भयो ! क्या गडुम मुँ ।”

मेरा सबै प्रमाण पत्रमा मेरो नाम झुस राम भए पनि बा र ईजाको मुखबाट अहिलेसम्म मोहन नै त्यो पनि हाम्रो समुदायको आफ्नै लवजमा मोहन्याँ: मात्रै  भन्छन् । नाउँ त नाम भैगो मलाई त लुहार भन्दा ‘कामी’ उचित लाग्छ । ‘लुहार’ अर्थात् “लू….हार”  हार्नको लागो तयार हो है भन्या जस्तो अनुभूत हुने । नागरिकताको नाम नभए नि थर चैँ लुहार फेरेर कामी बनाउन खोजेको हो मैले,तर नेपालको झन्झटिलो प्रशासनिक प्रक्रियाले जाँगर चलाइनँ र अहिले लुहारमै आफ्नो पहिचान बनाउने प्रयत्नरत छु ।

हाम्रो ‘गुई…ये’ टोलको म मात्रै त्यस्तो पात्र हुँ जसले एस.एल.सी. पछि नि यति माथि सम्म पडेको ! टोलमा पाँच क्लास पछि नै कि कालापहाड त कि बम्बै (ईण्डिया) जानेको लर्को लाग्छ । मैले पनि आठ पास गरेपछि नपढ्ने मनस्थिति बनाएको थिए । हाम्रो टोलको लर्को मा धर्को कोर्ने मनसायले  ‘बा’सँग बाटो खर्च मागेको थें ।

बाले  रन्थनिएर आरनमा काम गर्दै गरेको हतौडो उज्याएर मेरो कानलाई नै टर्रो बनाउँदै भनेको आजै जस्तो लाग्छ !

“माउड्या आलाकाच्चा लाटा मोहन्याँ: तुँ बम्बै जाने कुडा गद्दै नगर । तु लाई बाटो खच्च आच्छिन ! तुईले हाम्डा गुईया टोल्की गु… धुन्या, पखाल्न्या होई ! झिक्कै जान्या कुडा गडिस  भन्या मुँ तुई लाई यै हतौडाले मुन्टामा बजाउँदा हुँ, ख्याल राखेस् !”

मेरो कुरा भुइँमा नपर्दै बा कड्केका थिए ।

त्यो रात बाले मलाई बम्बै जान रोक्न, आफ्नै जीवनका कयौं रहस्यमय पोका-पुन्तुराहरू मेरा सामु खोले ! र ती पुन्तुराहरू केही मा, बा का नितान्त आफ्नै आँसुका महासागर थिए भने, केही मा समाज/राज्य व्यवस्थाका प्रदूषित परिस्थितिले निम्त्याएको धूर्वीकृत र हेपाहा मानसिकताका परिणाम । बाले त्यो रात मलाई साँचिक्कै विश्व प्रसिद्ध  प्रेरक वक्ताहरू ‘रोबिन्स टोनी ‘, ‘वेनेर्चुक गेरी’ ले भन्दा पनि प्रभावकारी रूपमा प्रेरित गरे।  फलस्वरूप मैले कहिल्यै बम्बै/कालापहाड वा घर छोडेर पर जाने कुरा त्यसपछि आजसम्म गरिन र गर्ने छैन पनि ।

साँच्चिकै हामी मान्छेलाई हाम्रा अभाव, पिडाले र छटपटीले जस्तो के अरू कुराले प्रेरणा देला त ? तारे होटेलमा हजारौं रुपियाँको टिकट किनेर तथा-कथित मोटिभेसनल स्पिकरको उडन्ते गफले आजसम्म कति मानिसको जीवन साँच्चिकै परिवर्तन भयो होला ! गुगल अङ्कलसँग पटक-पटक सोध्छु, तर अङ्कल मलाई चित्त बुझ्ने उत्तर दिनै सक्दैनन् । खैर जे भए पनि संसारभर केही थान मानिसहरूले आफ्नो नाम र दाम कमाउने मेसो चैं बनाएका हुन् तारे होटेलमा मोटिभेसनल सेसन दिएर ।

साँच्चै मलाई चैं मेरो नाम ‘झुस्राम लूहार’ ले अन-कण्डिसनल प्रेरणा दिन्छ, निरन्तर ! कहिलेकाहीँ अल्छी लाग्दा आफैले आफैलाई ‘झुसे’ भन्दै झस्काउँछु र  आफ्नो काममा केन्द्रित हुन्छु ।  मेरो नागरिकता को नाम थर ‘झुस राम लूहार’ मेरो नाम वा परिचायक मात्रै होइन । यो त नेपालको सामाजिक/ न्यायिक व्यवस्थाको अध्ययन गर्न चाहनेहरूको लागि सग्लो जीवन्त चिन्ह पनि हो । यो कुराले धेरै पटक दङ्ग पनि परेको छु; किनकि कम्तीमा मेरो नाम पनि त नेपाल अध्ययनको श्रोत रहेछ नि !

हुन पनि मेरो बाजे बजुले राख्देको मेरो ‘बा’ को नाम दलबहादुर नै नागरिकतामा राख्दा, मेरो बाको नागरिकतामा हस्ताक्षर गर्ने मोहनराज पौड्याल लगायतका हाकिमहरू के पाए होलान् ! उत्तर सहज छ जसरी मेरा बा भगवतीको मन्दिरमा पस्दा कोड आउँछ भन्ने भ्रमलाई आज पर्यन्त जीवन्त राख्न पाएका छन् । सायद त्यसरी नै बाको  नागरिकता बनाउने टोलीका हाकिम र मेरो जन्मदर्ता गराउने पन्जिकाधिकारीले पनि दलित वा अछुतलाई नाम मात्रै भएपनि नराम्रो अर्थ दिने राखिदियो भने हेप्न, दलाउन, सताउन सहज हुन्छ भन्ने भ्रम जीवन्त बनाएका हुँदा हुन् । साँच्चिकै  नेपालमा ३०/४० को दशक अगाडि जन्मेका धेरै सीमान्तकृत समुदाय (दलित,जनजाति लगायत) का मानिसहरूको नाम, स्पष्ट अर्थ दिने, प्रेरित गर्ने, आफ्नो नामले आफै दङ्ग पर्ने, प्रफुल्लित हुने कम्ती नै छन् ।

अनि नाम थर फेर्न म जस्तो सरकारी सेवामा भएको मान्छेलाई त झन्झटिलो हुन्छ भने, समाजमा अझैसम्म सीमान्तकृत अवस्थामै रहेका मानिसहरूले सहजै आफ्नो नाम फेर्न सक्लान् त ? विपन्न आर्थिक अवस्थाले वर्षमा एक सरो लुगा फेर्न नसक्नेहरूको लागि नाम फेर्ने कुरा मात्रै दिवास्वप्न हो । फेरि पनि राम्रो नाम भएका गैर दलित र माथिल्लो समुदायका हाकिमहरू नै धेरै छन् सरकारी सेवामा । उनीहरूले जीवनमा मेरो जस्तो अर्थ बिनाका नामको कठोरता अनुभव गरेकै छैनन् । त्यसैले त यदि कोही  मानिस आजको अवस्थामा पनि आफ्नो नागरिकताको नाम वा थर फेर्न खोज्छ भने झन्झटको महाकाव्यका ठेली का ठेली छिचोल्दा पनि आफूले चाहेजस्तो नाम थर नागरिकतामा हुने ग्यारेन्टी भने हुँदैन नै ।

मेरी श्रीमती ‘सारीका सेन्चुरी’। मैले सरकारी सेवा प्रवेश गरेको तीन वर्षपछि विवाह गरेको । मेरो विवाह गर्ने समयमा समेत मेरो नामले र  मेरो बाबाको नामले ठूलो रडाको मच्चायो ।  बेहुली पक्षकालाई (मेरो) बेहुलाको नाम झुसराम लूहार हो भन्ने थाहा हुँदा अलिकति नाक खुम्चाएका थिए । त्यसमाथि विवाहको निमन्त्रणा कार्डका निमित्त मेरो (बेहुलाको) बुवाको नाम ‘छेर गुहू लूहार’ र आमाको नाम ‘फ्याउरि सार्की’ हो भन्ने थाहा हुँदा झण्डै-झण्डै भाँडिसकेको थियो सारीकासँग तय भैसकेको मेरो विवाह ।

धन्न सारीका र मैले आपसमा कुरा मिलायौं ।  मिलायौं के भन्नु हाम्रो बिवाहमा निमन्त्रणा कार्डको सट्टामा सुपारीले नै निम्तालु डाक्यौं । यसरी हामीले एक अर्थमा बिहे परम्परागत रूपमा गर्यौं । हामी दुवै जना समाजको स्थिति बारे जानकार थियौ र सहजै समस्या सुल्झियो ।

हाम्री अढाई वर्षकी सानी छोरी छिन्, हामीले उनको नाम के राख्ने अहिले सम्म तय गर्न सकेका छैनौं । म अलिक विद्रोही स्वभावको छु र सारीकालाई छोरीको नाम ‘झुम्री लूहार’ राखौं भनी सुल्झाउँछु तर सारीका मेरो प्रस्ताव ठाडै अस्वीकार गर्दै आधुनिक जुन सुकै नाम राखौं भन्छिन् ।  त्यसैले सारीका र मैले आफ्नै छोरीको नाम उनले बुझ्ने भएपछि उनको पनि सहमतिमा तय गर्ने सहमति  गरेका छौं ।

कस्तो के हामी कति बिचरा आमा-बाबु है ! आफ्नै छोरीको नाम राख्न हामीलाई हाम्रो मनलाई के कुराले बिथोलेको होला ? हामी किन अन्य आमा बाबु जस्तो हुन सकेनौं । प्रश्न सजिलो होला उत्तर दिन; हाम्रो समुदाय बाहेकका मानिसका लागि, जसले हाम्रो जस्तो प्रताडना सहनु त परैको कुरा अनुभूत सम्म गर्न सक्दैनन् ।  तर हाम्रा लागि प्रश्न अझैसम्म अनुत्तरित छ ।