“ल, ल अलि लाइन मिलेर बस्नुस् । लाइन मिलेर बस्नुस् है लाइन मिलेर ।”

हो मानबहादुर यतिबेला लाइनमा थियो । राहत पाउने आशमा । लाइन त मिलेरै बसेको थियो, तर त्यो सुकिलो मान्छेको आग्रहमा आफूले आफैँलाई अझ मिलाउने कोसिस गर्यो उसले । ऊ भन्दा अघि थुप्रै मान्छे लाइनमै लामबद्ध थिए । त्यो भीडमा अनेक अनुहारहरू देखिन्थे । जस्तै, एउटी विधवा, जसको लोग्ने हालसालै बितेको थियो । ऊ एउटा डरलाग्दो सडक दुर्घटनामा परेको थियो । बिहे गरेको तीन वर्षमात्रै त भएको थियो । नाम थियो चमेली । डेढ वर्षकी छोरी ढाडमा बोकेर लाइनमा खडा थिई । माग्ने बूढो, जो पहिले हुनेखाने थियो रे ! रामसाइँलो, सीता, गीता यस्तै उस्तै नाउँका मान्छेहरू थिए ।

“सबैले बराबर पाउनुपर्छ । घटिबढी गर्न पाइँदैन ।”

“होइन, जहानअनुसार पाउनुपर्छ, काँ त्यसरी हुन्छ !” अगाडि हल्लाखल्ला सुनियो । पछाडिकाले हल्ला आएतिर हेरे । हेर्न जाम् भने पालो हराउला भन्ने डर । त्यसैले मानबहादुर डेग चलेन । मात्र देब्रेतिर अलिकति ढल्कियो । दुवै कुर्कुचा उचालेर खुट्टाका औंलाले शरीरको भार थाम्यो र घाँटी तनक्क तन्काएर हेर्यो ।

राहत बाँड्ने ठाउँमा हल्लाखल्ला शान्त भएको थिएन ।

“यिनीहरू किन हल्ला गरिरा’का छन् रामसाइँला, केही थाहा भयो त ? उसले सोधिटोपल्यो ।

“खै ! खान पल्केकाहरू यसरी र उसरी बाँड्नुपर्छ भन्दैछन् ।” उसले भुइँमा पिच्च थुक्दै जवाफ दियो ।

“ए ए , थुक्नु हुँदैन है यसरी ! रोग फैलिन्छ रे ।”

“को हो त्यहाँ थुक्ने ? थुक्नु हुँदैन भन्ने थाहा रहेनछ स्वाँठलाई ?”

रामसाइँलाले भक्कुमार गाली खायो ।

किन नखाओस् त गाली पनि । महामारी फैल्यो भने त चुँइक्क गर्न नपाइँदो रहेछ ! बाउबाजेको पालामा हैजा फैलेर धेरै मान्छे मरेका थे रे भन्ने उसले पनि सुनेको थियो । त्यसैले आफूले गल्ती नै गरेको रहेछु भन्ठानेर ऊ चुपो लागेर उभिइरह्यो ।

दुई घण्टापछि बल्ल उसको पालो आयो । १० केजी चामल, एक किलो दाल र एक पाकेट नुन थापेर रामसाइँलोसँगै मानबहादुर पनि फिस्स हाँस्यो । एकछिन अरूलाई ट्वाल्ल परेर हेरे । अनि घरतिर लम्के ।

बाटामा रामसाइँलाले मानेलाई सोध्यो, “ए दाजु, अघि हाम्लाई राहत दिँदा छ सात जनाले यी सामान किन छो’का त है ?”

“राहत बाँड्दा त्यसै गर्नुपर्छ होला क्या ! पो’र परार भुइँचालो आ’को बेला पनि राहत बाँड्नेहरू यसै गर्थे ।” मानेको उदाहरण सहितको जवाफ सुनेर ऊ छक्क पर्यो ।

“कति कुरा जानेका छौ क्या दाइ तिमीले ! आफू त यस्ता कुरा केही पनि बुझ्दिनँ ।” दु:खेसो पोख्यो ।

रामसाइँला र मानबहादुरलाई तपाईंले जहाँ भेटे पनि चिन्नुहुन्छ । रामसाँइलो मझौला कदको, गालाको हड्डी उठेको निकै चञ्चल र फुर्तिलो छ । कुनै कुराको तनाव भयो भने निरन्तर मुख बिगारिरहन्छ । एक्लै हुँदा प्रायः गीत गुनगुनाई रहन्छ तर कुनै पनि गीत अन्त्यसम्म गाउन सक्दैन; बरु अर्कै गीत शुरु गरिहाल्छ । हात मुसारिरहन्छ र छिनछिनमा पाइन्टको खल्ती छामिरहन्छ । झ्याप्प दाह्रीजुँगा पालेको उसको देब्रे पाखुरामा गहिरो अनि आँखामुनि लाम्चो ठाडो खत छ । बसेको बेला भेट्नु भयो भने उसले पक्कै पनि पँलेटी कसेको हुन्छ । सधैँ ढाकाटोपी लाएको हुन्छ र टोपी पछाडि ढल्केर निधारमाथि खुइलिन लागेको तालु देखिन सक्छ । बोली सानो तर मधुर छ । अर्काको मद्दत गर्न हरदम तयार हुन्छ र नेताहरूको प्रसङ्ग आयो भने बेतोडले गाली गर्छ; बाँकी सबैलाई आदर गर्छ । सपनामा हराउने उसको पुरानै बानी हो ।

मानबहादुर शरीरको भार थाम्न अलि अगाडि ढल्केर हिँडेजस्तो बाङ्गोबाङ्गो देखिन्छ । तर मान्छे सारै सरल र सिधा छ । सर्टमाथि इष्टकोट उसको सदावहार पोशाक हो । हत्तपत्त रिसाउँदैन र रिसाइहाल्यो भने नाकका पोरा गज्जबले फुल्छन् । धेरै पढेलेखेको त छैन यद्यपि उसलाई कहिल्यै नसुनेको वा थाहा नभएको प्रश्न सोध्यो भने पनि नाजवाफ चाहिँ हुँदैन । यो उसको गज्जबको स्वभाव छ । आकाशमा तारा कति होलान् वा पृथ्वीको आयु कति होला ? आकाशभन्दा माथि र पृथ्वीभन्दा तल के छ ? जस्ता प्रश्न सोध्यो भने पनि चित्त बुझ्ने उत्तर देला वा नभए पनि मनोरञ्जन त पक्कै दिलाउनेछ । पशुपंक्षीसँग कुरा गर्छ अनि एक्लै हुँदा पनि बेलाबखत बोल्छ । बरु मान्छेसँग बिना कारण वा नबोलाइकन बोल्दैन । सधैँ केही सोचविचार गरिरहेजस्तो, भावनामा डुबिरहेजस्तो उदास देखिन्छ । हाँस्दा माख्लापट्टिका मात्रै दाँत देखिन्छन् र ठ्याक्कै अगाडिका दाँत छिचरो छ ।

रामसाइँलाको जिन्दगी उदेकलाग्दो छ । समानताको सपना देखाउनेहरूबाट प्रभावित भएर ऊ शोषक सामन्तको समूल अन्त्य गर्ने उद्देश्यले सात वर्ष जनयुद्धमा होमियो । कैयौं मोर्चामा लड्यो । त्यहाँ उसको नाम ‘विजय’ थियो । नामजस्तै ऊ सहभागी भएको प्रायःजसो युद्ध पार्टीले जितेको थियो । युद्धमा जीवन मरणको सवाल हुन्थ्यो । यो कुरा उसले राम्ररी नै बुझेको थियो । आँखामुनि गोलीको छर्राले भेटेको ठाडो खत ऐनामा हेर्छ र ऐनादेखि रिसाउँछ । देब्रे पाखुरामा गोली लागेको खत हेर्दै कहिलेकाहीँ टोलाइरहन्छ । यदि पाखुराबाट पाँच इन्च दाहिनेतिर त्यो गोली लागेको भए ऊ उहिल्यै शहीद भइसक्ने थियो । विगत सम्झन्थ्यो र गम्भीर हुन्थ्यो । गम्भीर हुन्थ्यो र विगत सम्झन्थ्यो ।

उसले एउटै मोर्चाबाट लडेर शहादत प्राप्त गरेका सहयोद्धाहरूलाई सम्झ्यो । बाँचेका केही साथी ठूला नेता त कोही मन्त्री बनेका थिए । तिनीहरूलाई पनि सम्झ्यो ।

जसोतसो ऊ युद्धबाट बच्यो, अर्थात त्योबेला पाँच इन्च दाहिने उभिएकाले मात्रै बाँच्यो । अन्यथा ऊ वर्षमा दुई दिन सम्झिइने थियो । एकपटक शहीद दिवसको दिन र अर्को श्राद्ध गर्ने दिन । ऊ कहिले बाँचेकामा खुसी हुन्थ्यो भने कहिले शहीद नभएकोमा दु:खी । कहिले उपचार नपाएर मरेकी आमालाई सम्झेर त कहिले भूकम्पमा परेर मरेको बालाई सम्झेर ऊ रुन्छ । रुदाँरुदैँ उसलाई मर्न मन लाग्छ तर ऊ त कायरतापूर्ण मृत्युको सख्त विरोधी हो । उसलाई गौरवपूर्ण मृत्यु मन पर्छ ।

अहिले त ऊ पहिलेभन्दा निकै कमजोर भइसक्यो । तर पनि आँट र साहस चाहिँ अझै गलिसकेको थिएन । कमजोर कायामा देशको माया भरेर उसलाई काली नदीमा पौडिन मन लागेको थियो ।
मानबहादुर उसको सानैदेखिको साथी । छिमेकी भएकाले सँगसँगै हुर्केका थिए । केटाकेटी खेल खेलेका थिए, स्कुल सँगसँगै जाने आउने गर्थे । मीठो मसिनो सराबरी खाएका थिए । तँतँ मम गर्दै बालापन गुजारेका थिए ।

चमेली पनि राहत थापेर घर पुगिन् । छोरीलाई सुताएर बाख्रालाई घाँस काट्न गइन् । बाटामा उनले रामसाइँलालाई भेटिन् । उसले भूमिगत कालमै चमेलीलाई भनेको थियो, “युद्ध सकिएपछि म पनि तिमीजस्तै एउटी सुकुमारी खोजेर बिहे गर्छु ।” उसलाई भेट्ने बित्तिकै उनलाई त्यही कुराको झलक्क सम्झना आउँछ । रामसाइँलाले अहिलेसम्म बिहे गरेको छैन । सायद चमेलीजस्ती केटी नभेट्टाएर पो हो कि ?

चमेली उसलाई देख्दा जहिल्यै लजाउँथिन् । आज पनि लजाउँदै नबोली अघि बढ्न खोजिन् । तर रामसाइँलाले बोलाई त हाल्यो, “कता हिँड्यौ चमेली ?”

“बाख्रालाई घाँस काट्न हिँडेको ।”

“म सहयोग गरिदिऊँ त ?” मधुर स्वरमा सोध्यो ।

“होइन, पर्दैन । म आफैं … ।” लजाउँदै उत्तर दिइन् ।

“जिन्दगी लामो छ चमेली, यसलाई यत्तिकै खेर नफ्याल । सोचविचार गर … ।”

ऊ त यति भनेर हिँड्यो । तर चमेलीको मन भने हलचल भयो । के म मेरो बाँकी जीवन बाख्रालाई घाँस काटेरै बिताउँछु त ?

उसलाई यो प्रश्नले कहिल्यै छोडेन । उत्तर खोज्न ऊ आफ्नो अतीतमा पुगी । कक्षा दशमा पढ्दा रामसाइँलाले उसलाई प्रेमप्रस्ताव राखेको थियो । तर उसले केही जवाफ नदिईकन कुलेलम ठोकेकी थिई । भित्रभित्रै मन पराए पनि उसले ‘म पनि तिमीलाई माया गर्छु ।’ भन्न सकेकी थिइन । त्यसको केही समयपछि नै रामसाइँलो गाउँबाट हराएको थियो । केही महिनापछि ऊ क्रान्तिमा लागेको छ रे भन्ने हल्ला आयो । उनले पनि थाहा पाइन्, रामसाइँलो हरिया लुगा लाएर एकदिन गाउँ आएको थियो । बन्दुक बोकेको ऊ साँच्चै हेरिरहुँ जस्तो देखिएको थियो । हो त्यहीबेला उसले भनेको थियो, “युद्ध सकिएपछि म पनि तिमीजस्तै एउटी सुकुमारी खोजेर बिहे गर्छु ।”

त्यसपछि रामसाइँलाको होइन चमेलीको बिहे भयो । लोग्नेले निकै माया गर्थ्यो तर रक्सी खाएको बेला भने हुनु नहुनू गाली गरेर थाक्दैनथ्यो । बेरोजगार थियो। कामको खोजीमा काठमाडौं जाँदैगर्दा ऊ चढेको गाडी नदीमा खसेको थियो । उसको शवसमेत भेटिएको थिएन । कसलाई के थाहा र ? बिहे गर्ने उमेरमा उनी विधवा भएकी थिइन् । उनका सासूससुरा र देवर जेठाजु कोही थिएनन् । त्यही भएर पोइटोकुवी भन्ने अपजशचाहिँ बेहुर्नु परेन । एउटी छोरी थिइन् जसलाई उनी भविष्यको सहारा ठान्थिन् ।

र आज फेरि रामसाँइलाले अप्रत्यक्ष रुपमा केही भनेको थियो । उनलाई उसको असाध्यै माया लागेर आयो । तर त्यसबेला उसको प्रस्तावमा कुनै जवाफ नदिएकाले मप्रति पक्कै रिस उठेको होला भन्ने सोचिन् । हुन पनि त्यो उसको अपमान त थियो नि । राती अबेरसम्म उसलाई निद्रा आएन । जब निदाइन् तब सपनामा पनि उसैलाई देखिन् ।

रामसाइँलो दौरासुरुवालमा कत्ति चिटिक्क परेर आएको थियो ! लाजले चमेलीले शिर ठाडो पारेर उसलाई हेर्न नि सकिरहेकी थिइनन् । एकपटक यसो चिहाएर उसको अनुहारतिर हेर्दा ऊ मुसुमुसु हाँसिरहेको थियो । सुपारी कि नरिवल के चपाएर होला मुख सुस्तरी चलाइरहेको थियो । धेरै मान्छेहरूले उनीहरूलाई घेरिरहेका थिए । उनले दुबोको माला किस्तीबाट झिकेर सर्लक्क रामसाइँलाको गलामा लगाइदिइन् । उसले पनि आफूले लगाइराखको एउटा माला झिकेर उनलाई लगाइदियो । त्यसपछि उसले उनको देब्रे हात च्याप्प समात्यो र नाडीमा घडी लगाइदियो । त्यतिबेला उनको आङ सिरिङ्ग गरेको थियोे । र उनी झल्याँस्स ब्युझिँइन् ।

तर उनलाई त्यतिबेला ब्युँझिने मन पटक्कै थिएन । सपना नै सही, उनलाई त्यो सपना पूरै देख्नु थियो । सपना पूरा होस् भनेर उनले निदाउने हजार कोसिस गरिन्, कहिले यता फर्किइन् त कहिले उता । तर उनको केही सीप लागेन, उनी निदाउन चाहन्थिन्; निद्रा कोसाैं दूर पुगिसकेको थियो ।

‘रामसाँइलालाई त  त्याे बेलाकी मजस्तै एउटी सुकुमारी चाहिएको थियो । म त अब त्योबेलाकी जस्ती छैन र सुकुमारी पनि रहिनँ ।मलाई त अर्कै पुरुषले गिजोलिसकेको छ । उसले अब कुनै कन्याकेटी खोज्छ र बिहे गर्छ । राम्रो छ । राम्रै केटी पाइहाल्छ । त्यसोभए मलाई किन त्यसो भन्यो त ? हुनसक्छ, अझै पनि उसको मनमा मेरो लागि कुनै ठाउँ छ । भगवानले चाहेका रहेछन् भने त्यस्तो हुन्छ नै ।’ चमेली हरसमय उसकै बारेमा सोच्न थाली ।

झम्केसाँझ पर्न लागेको थियो । रामसाँइलो उनकै घरमाथिबाट कतै गइरहेको थियो । उनलाई बोलाउन मन लाग्यो,

“एकछिन बसेर जानुस् न हुन्न ?”

“सधैं बस्ने त रहरमै सीमित भै गयो । एकछिन भनेपनि बस्ने अनुमति दियौ, खुशी लाग्यो चमेली … ।” उसले मूढामा बस्दै भन्यो । चमेलीलाई फेरि अतीत बिझायो ।

उनलाई के भन्नु के भन्नु भयो । जवाफ दिन उपयुक्त शब्द खोजिरहेकी थिइन् । र लाजले रातीपीरी हुँदै भनिन्, “त्योबेलाको कुरा झिकेर मलाई लज्जित नबनाउनुस् न । मेरो अतीत सम्झन लायक छैन … ।”

“त्यसो होइन चमेली, तिमीले देखिने पीडा पायौ, मैले नदेखिने । अरूलाई भए म बनावटी कुरा गरेर प्रभावित पार्न प्रयास गर्थें हुँला । तर तिमी, तिमी त मेरा लागि विशेष … ।”

“म कुनै बेला विशेष थिएँ होला, अहिले त केही पनि होइन । सपना खोसिएकी एउटी विधवा ।”

“त्यो त तिम्रो सोच हो चमेली । आफ्नो सोच बदल र जिन्दगीलाई फेरि आफ्नै लयमा फर्काऊ ।”

“यो मात्रै मेरो सोच होइन, समाज र देख्नेजान्ने सबैले मलाई एक अभागिनी मान्छन् । साँच्चै म एक … ।” उनले आँखाबाट आँसु बगाइन् ।

उसले उनको गालाबाट झरिरहेको आँसु आफ्नो हातले पुछिदिय‍ो । भिजेका हत्केला हेर्यो अनि छातीमा पुछ्यो । त्यसपछि उसले चमेलीको केशराशि खेलाउन थाल्यो । कसैले देख्लान् कि भनेर चमेली निकै डराएकी थिइन् । झमक्कै साँझ परेकाले त्यतिसारो डराउनुपर्ने त थिएन, तैपनि मनको डरलाई जित्ने साहस त उनमा कहाँ थियो र !

चमेलीको मनमा, हृदयमा अझै पहिले झैँ उसको लागि ठाउँ त थियो परन्तु उनी सहजै त्यो प्यारो ठाउँ देखाउनेवाला थिइनन् । रामसाइँलो पनि त्यस्तै मीठो आभास त गर्दथ्यो तर ‘खै के खै के’ कै अवस्थामा थियो ।

चमेली र ऊ दिनदिनै भेट्न थालेका थिए । एकअर्काका मनमा वर्षौंदेखि गुम्सिएका भावना र विचारहरू साटासाट गर्दै घण्टौँ बिताउँथे । उनीहरूलाई सँगसँगै बसेको कहिले कसले देख्थे त कहिले कसले देख्दथे । देखेका कुरा घरमा, साथीसङ्गीसँग नभन्ने कुरै थिएन । बिस्तारै उनीहरूको हिमचिम बढेको कुरा गाउँभरि फैलियो । चमेली निकै डराइन् । रामसाइँलाले अनेक तरहले सम्झाईबुझाई गर्दा पनि उनले मानिनन् ।

रामसाइँलोले एकदिन झिसमिसेमै गाउँ छोड्यो । पूर्व क्षितिजमा लाली पोतिन लागेको थियो । शहर पुगेर ऊ एउटा मोर्चामा आबद्ध भयो । छातीमा देश राखेर ऊ शहरबाट कालापानी हिँडेको खबर गाउँ शहर चारैतिर फैलियो । त्यहाँबाट ऊ लिपुलेक, कुटी हुँदै लिम्पियाधुरासम्म पुग्यो र चन्द्रसूर्य अङ्कित झण्डा गाड्यो । काली नदीमा मछुवाराहरूले देखे, त्यहाँको पानी रातो मिसिएर बगिरहेको थियो ।