एकान्त कुनाको तिब्बती रेस्टुरेन्टमा लफिङ खाएर महेश बस पक्रेर घर फर्किने क्रममा थियो । रम्भामैयाँ सँगको ‘हाइ अक्टेन’ सम्भोग पछि यो एउटा रुटिन नै भएको थियो – पीरो लफिङले बचेखुचेको उत्तेजनाको प्रकृति बदलेर मात्रै घर पुग्ने । खल्तीमा हजारको पाँचवटा नोट थियो – आज उसको पारिश्रमिक बढेको थियो ।

पीपलबोट मन्तिरबाट जाने सडक मान्छेले टनाटन थियो ।

‘शनिबार पनि केको भीड आज ?’ तेसै बोल्यो ऊ । तर अर्को एकजनाले सुनिहाल्यो ।

‘देख्नु भएन त्याँ ?’ झन्डै झर्केर बोल्यो ऊ ।

नभन्दै पीपलबोटको सडकतर्फ आएको हाँगामा सिङ्गै यौटा मान्छे झुन्डेको थियो ।

‘बाफ रे को रेछ ?’ स्वतः निस्कियो उसको मुखबाट प्रश्न ।

‘घडी देखेनौ हातको ?’ अर्कोले यस्तो जवाफ दियो । ‘रोलेक्स हो रे ।’

‘नाइँ मैले मान्छे पो सोधेको’ उसले भन्यो र अलिक नजिक घुसेर हेर्न खोज्यो । झुन्डिएको मान्छेको घाँटीमा नाइलनको डोरीको पासोले छाला छेडेर रगतै निक्लेको थियो । हावाको मन्द चालले पनि मृत शरीर पेण्डुलम जस्तो हल्लिरहेको । उसलाई भाउन्न भयो ।

‘घडी तेस्तो भएसी मान्छे कस्तो होला ।’ त्यो मान्छे फेरि बोल्यो ।

‘उता पार्क गरेको बेञ्चकार चाहिं देखिनस् ?’ अर्को सँगैकोले त्यस्लाई भन्यो । ‘सालाखाला झन्डै पाँच अरबको सम्पत्ति छ रे ।’

‘हैन मान्छे चाहिं को हो त ? था’छ तपाईंलाई ?’ महेशले सोध्यो ।

‘हामीले देख्ने खालको मान्छे भए किन आफै मर्थ्यो । जसरी नि बाँच्न खोज्थ्यो नि ।’ पहिलोले जवाफ दियो ।

‘त्यो ठूलो घरको मान्छे त हो नि,’ दोस्रोले भन्यो, ‘स्वास्नी अत्ति च्वाँक छे – मैले गेटबाट निस्कँदा देखेको ।’

‘पाँचपाँच अरब सम्पत्ति, स्वास्नी च्वाँक । यति हुँदा नि मान्छे रुखमा फल्न पर्ने रेछ ?’ पहिलोले सुस्केरा हाल्यो, ‘तेसो भए म त हजारपल्ट झुण्डिनुपर्ने भैसक्या रेछ ।’

‘कसैले मारेर झुण्ड्याको होला कि ?’

‘आत्महत्या नै हो रे ।’

‘कुन गेटबाट निस्केको देखेको यिनकी श्रीमती ?’ अब भने महेशलाई अलिक चिसो पर्‍यो ।

रम्भाको श्रीमानलाई आजपर्यन्त उसले देखेको छैन । धेरैजसो विदेशमै हुन्थ्यो र नेपाल आएको बेला महेश त्यता जाने कुरै हुँदैनथ्यो ।

‘त्यो मोडको पहेंलो घर – जग्गा नै होला पाँच रोपनी ।’

महेश खुरुक्क फर्क्यो र ट्याक्सी लिएर दौडिहाल्यो । ‘के बर्बाद !’ सोच्न लाग्यो । के हुन्छ अब रम्भालाई, र सायद उसैलाई पनि केही समस्या पो आइलाग्ने हो कि ?

०० ०० ०० ००

घर पुगेर सिरक ओडेर सुत्यो – श्रीमतीलाई पर्खेन । रातभरी निदाएन । भोलिपल्ट दिउँसो भयो । दुई जना पुलिस आएर उसलाई बोलाएर लगे ।

एउटा पुलिसले भन्यो, ‘जानुपर्ने त थानामा हो तर तिम्रो भाग्गे राम्रो । एकान्तकुना जाने हो ।’

भययुक्त चुपचाप ऊ पुलिससँग यात्रा गरिरह्यो । जे बोल्यो त्यो उसको विरुद्ध प्रयोग हुनसक्छ भन्ने उसलाई थाहा थियो – टेलिभिजनको शोहरू बाट । सोचेजस्तै उसलाई रम्भाको घरभित्र लगे । सोच्यो, साला हिजो मात्रै यही गेटबाट छिरेको हो – क्या अर्कै रोमाञ्च थियो ।

बैठक कोठामा पुर्‍याएर पुलिस फर्के ।

बैठक कोठाको दृश्य गम्भीर थियो । रम्भा भर्खरै रोएर ठिक भए जस्तो अनुहारमा सोफामा बसेकी थिइन् । दुई जना बिना बर्दीका अलिक कठोर चेहरावाला व्यक्तिहरू मेचमा बसेका थिए । त्यसमध्ये यौटा त महिला थिइन्  । अलिक व्यंग्यात्मक भाव थियो उनको चेहरामा । यस्तो बेलामा पनि महेशले नोटिस गर्‍यो कि तिनी अलि कामुक नै थिइन् । रम्भाले उसलाई बेडमा उकालेदेखि उसको नजर अलिक लगामहीन हुन थालेको थियो ।

‘स्वागत छ महेशजी !’ पुरुषले बोल्यो ।

‘मेरो पनि’ महिलाले बोलिन् – अनि रातो लालीवाला तल्लो ओठको कुना माथिल्लो दाँतले टोकिन् । सूक्ष्म तर महत्त्वपूर्ण भङ्गीहरू पनि महेशलाई रम्भाले सिकाएकी हुन्, श्रीमतीले हैन ।

‘यो कुरा उता पुलिसको थानामा भैरहेको हुन्थ्यो महाशय, यदि रम्भाज्यूले कृपा नगर्नुभा’को भए ।’ पुरुषले बोल्यो ।

‘सरी महेश – मैले बाध्य भएर तिम्रो नाम लिनै पर्‍यो ।’ रम्भाले दुइटै आँखा पुछ्दै भनिन् ।

‘त्यो ठिक छ हजुर ।’ महेशले सुखा घाँटी पनि घुटुक्क निल्यो । रम्भाको कृपा नभएको भए यो सब लफडा पनि कहाँ आउँथ्यो र – भन्दिन मन लागेको थियो ।

‘समय बर्बाद नगरी सोधपुछ शुरू गरूँ है त ? महेशजी अनि रम्भाजी – माइक्रोफोन अन छ । सोधेको कुराको जवाफ नदिन पाइन्छ । तर सो मौनतासमेत हजुरहरूको विरुद्ध प्रयोग हुन सक्छ ।’ त्यो व्यक्ति कत्ति न न्यायाधीश हुँ झैं गरी बोल्यो । ‘म धनराज – विशेष प्रहरीको जासुसी विभागको अफिसर । अनि वहाँ नीरा – मेरो सहयोगी ।’

‘के कुराको सिलसिला हो ?’ महेशले अनभिज्ञ हुने नाटक गर्‍यो ।

‘ओहो मैले त सोचेको थिएँ कि तपाईंलाई सब थाहा छ । नीरा ! उहाँलाई बोलाउन परेको कारण भनिदेऊ ।’

नीराले पालैपालो दुई तिरैबाट ओठ टोकिन्; अब यो भङ्गी कामुकभन्दा पनि व्यंग्यात्मक बढी लाग्न लाग्यो । ‘रम्भाज्यूको श्रीमानको शव एकान्तकुनाको पीपलको बोटमा झुन्डिएको अवस्थामा फेला पर्‍यो ।’ एकान्तकुनालाई विशेष उछ्रिंखल जस्तो उच्चारण गरेर भनिन् ।

‘मैले वहाँलाई ऐलेसम्म देखेको छैन – मलाई के सोध्न पर्ने छ र ?’ महेशले बोल्यो तर उसैलाई यो कुरा गलत लागिसकेको थियो । साँच्चै देखेको त थिएन तर उसको असामयिक मृत्युको लागि कतै ऊ जिम्मेवार त छैन भन्ने डरले बीजारोपण गरेको थियो ।

‘अहिले कुनै आरोप गर्न खोजेका हैनौं । यद्यपि, हत्याको लागि किन चिन्न पर्छ र ? खाली के छ यसमा रहस्य जान खोजेका हौं ।’ आँखा रम्भातिर घुमाउँदै नीराले बोलिन् ।

महेशलाई अलिअलि गरेर दलदलमा फस्न लागे जस्तो लाग्यो । उसलाई यो पनि थाहा थिएन कि यी जासुसहरूलाई कति सम्म थाहा छ । रम्भातर्फ हेर्‍यो प्रश्नवाचक आँखाले ।

‘मैले सब कुरा भन्नै पर्‍यो । वहाँहरूले घटना भएको बेलामा म कहाँ थिएँ भनेर सोधेपछि मैले नभनी धर पाइन !’ रम्भाले भनिन् ।

‘ओहो !’ महेशले सुस्केरा हाल्यो ।

‘कुरा कस्तो पेचिलो पर्‍यो भने’ धनराज बोल्यो, ‘त्यो कुरा गर्न एक जनाले मात्रै नहुने !’

‘ओके ।’ महेश बोल्यो, ‘खैर जानिहाल्नु भयो – अब फेरि के चाहियो र ?’

‘दुइटा कुरा । एक त त्यो भनाइ नै साँचो हो, हैन । दोस्रो साँचो हो भने पनि अरू कुराहरू छन् । ठिक छ महेश जी ! भन्नुस् त, पहिलोपल्ट कहिले वहाँसँग सुत्नुभयो ? अनि पर्खनुस्’ महेश छट्पटाएको जस्तो देखेर उसले रोक्यो ‘तेत मात्र हैन – त्यो पहिलो पल्टको सम्भोग कुन पोजिशनमा भएको थियो ?’

महेश तर्सिएर बाँकी सबैको अनुहार हेर्‍यो । रम्भाको अनुहारमा समेत हुनुपर्ने जति आश्चर्य देखेन । सायद उनलाई पहिल्यै र्याखर्याख्ती पारिसकेको होला यो बोकाले । उसकी सहयोगी पनि विचित्रको तम्तमाउँदो अनुहारमा ‘शरारती’ मुस्कान उतारेर बसेकी थिइन् ।

‘तपाईंको दिमाग त ठाउँमा छ ?’ महेशले पनि आफ्नो बल देखायो । ‘दुख लाग्यो यो आत्महत्याको खबर सुनेर तर योसँग तपाईंले सोधेको कुराको के सम्बन्ध ?’

‘गालीको शब्द प्रयोग नगर्नु होला । तपाईंकै हितको लागि । अर्को कुरा यो घटना आत्महत्या भनेर कसले भन्यो ? अनि अब मुख्य कुरामा जाऊँ । माने, झट्ट हेर्दा के सम्बन्ध छ जस्तो लाग्छ होला । बटरफ्लाई इफेक्ट भनेको सुन्नुभा’छ ?’

कन्फ्युज्ड महेशले टाउको हल्लायो । छैन भनेर ।

‘सुन्नुस् त्यसो भए । बेजिङमा आज यौटा पुतली उडेको असरले वर्षौं पछि अमेरिकाको कुनै शहरमा हुरीहुण्डरी ल्याउन सक्छ ।’ अनि प्रोफेसरको पाराले क्लास रुममा हेरे जस्तै धनराजले सबै तिर हेर्‍यो । नीराले ‘हो’ मा र रम्भाले ‘हैन’ मा टाउको हल्लाए । ‘एउटा कतै घटेको मामुली घटना अर्को ठुलो घटनाको कारक वा प्रेरक बन्न सक्छ ।’

खैर त्यस्तो हुने भए पनि दुई वर्ष अगाडी पहिलोपल्ट रम्भासँग सुत्दाको पोजिशन अब यो असामयिक मृत्युसँग जोड्ने धनराजको प्रयास चाहिं बहुलट्टीपूर्ण लाग्यो महेशलाई ।

‘के प्रमाणित गर्न खोज्नु भाको त्यो नै भन्नुस् त्यसो भए ।’ महेश पनि जङ्गियो । ठिक छ मृतकको पत्नीसँग लसपस थियो – र त्यो अब उदाङ्ग भैसक्यो । बाँकी के नै हुन सक्छ र भन्ने ‘बटम लाइन’ मा महेश बस्यो ।

‘नाइँ महासय प्रमाणित मैले गर्ने हैन । सरकारी वकीलले खाएको भात पचाउँछन् त्यही प्रयास गरेर । मेरो काम प्रमाणहरू जुटाइदिने – कुनै छ भने । अब जवाफ दिई पनि हाल्नुस् ।’

महेशलाई लाग्यो यो धनराज र नीरा सायद विकृत यौन कुण्ठावाला पीडितहरू हुन् । तर त्यो भनेर उसले सुख पाउनेवाला छैन ।

‘हे भगवान् ।’ महेश बोल्यो ‘मानिलिऊँ हामी नर्मल पोजिशनमा नै गर्यौं रे । भयो अब ?’

‘भएन ।’ यस पालि नीराले पो उछिनिन् धनराजलाई । ‘जे हो त्यही भन्दा मात्र हुन्छ । जानी जानी झुटो नबोल्नुस् महेशजी ।’

‘महेशजीलाई कसरी यसको कनेक्शन छ भन्नेमा बढी आश्चर्य भाको होला । नीरा, अब तेस्को बटरफ्लाई इफेक्ट पनि अलिकति व्याख्या गरूँ ।’

महेशलाई अब भने अलिक चाख लाग्यो । ‘सुनम् त हामी पनि ।’ अनि रम्भा तर्फ हेर्‍यो जो अझै त्रसित मुद्रामा थिइन् ।

‘हुन त बिक्रम साहेब – मृतक – बाट स्वेच्छाले जीवन अन्त्य गरेको नोट त भेटिएको छ । तर तेस्को प्रमाणिकता जाँच हुँदै छ । मानिलिऊँ  कि यो कर्तव्य निक्ल्यो । अब भन्नुस् सबभन्दा पहिले को माथि शंका हुन्छ त ?’ धनराजले उल्टै सोध्यो ।

‘त्यस्तो अनावश्यक उदाहरणको जरुरी छैन धनराजजी ।’ यसपालि रम्भा बोलिन्  – सायद सहन नसकेर ।

‘माफ गर्नुस् है । हाम्रो काम नै अलि कठोर छ ।’ धनराज नरम भएर बोल्यो तर उता नीरा चाहिं व्यंग्यात्मक मुस्कान गर्दै थिइन् ।

‘हत्याहरूमा सयकडा बीस त आफ्नै संगीले गर्छन् । मैले फेरि कसैलाई आरोप लाउन खोजेकै हैन है । उदाहरण नि । अझ परपुरुष वा पर स्त्रीसँग लसपस भएकाहरूको केसमा झन् बढी सम्भावना । अब पहिलो पल्टको सम्भोगको पोजिशनले यौटा कुरा राम्रोसँग भन्छ – यो सम्भोग कसको आग्रहमा भएको हो । अब महेशजीले  नर्मल पोजिशन भन्नुभो । यो नर्मल याबनर्मल भन्ने हुन्छ र सेक्सको आसनमा पनि ?’

अब चाहिं यो मान्छे घामट निस्कियो तर बेबकुफको भनाइमा महेशले तर्कहरू देख्न थाल्यो । उसलाई त्यो दिनको एक एक पल याद थियो नै । कसरी रम्भाले उसलाई भूत चढेको झैं तानेर फराकिलो सोफामा पछारिन् । लुगा खोल्ने पल धरी धैर्य थिएन उनको – ब्लाउज च्यातिन्, ब्राको हुक चुँडालिन्  – पेटिकोटको तुना छिनाइन् । त्यो गुलाबी भित्री पेन्टी निथ्रुक्क भिजेको दृश्य कहिले नमेटिने गरेर दिमागमा बसेकै थियो । तर त्यो सबै उ यहाँ भन्ने वाला छैन ।

‘ओह । रम्भा हुनुहुन्थ्यो ममाथि ।’ बल्ल सुनिने सानो स्वरमा भन्यो लाज मान्दै निहुरेर । तर एक अर्को नीराको आँखामा हेरिहाल्यो ।

‘पुरै समय ?’ नीरा चम्किन्  – अझ स्वर थरथराएर ।

‘महेशको आग्रहमा तेस्पछि म तल ऊ माथि भयो ।’ अप्रत्याशित रूपमा रम्भाले बोलिन् । महेशले कुरा काटेन । यसलाई सच्याउने जरुरी देखेन तर रम्भालाई यो सानो झूठ किन बोल्न परेको होला सोच्न लाग्यो । सायद नारीसुलभ लाज होला – केटी माथि हुने आसनलाई कतिले ‘जोइटिङ्ग्रे आसन’ भनेको उसले सुनेको थियो ।

‘ओके । कुरा तेती निर्णयात्मक त भएन । तैपनि – कति बेर भयो त काम ?’ धनराजले फेरी फोहोरी दिमाग चलायो । ‘अर्थात् रम्भा सन्तुष्ट हुनुभयो ?’

‘कस्तो प्रश्न ।’ महेश बोल्यो ।

‘सन्तुष्ट नहुनुभाको भए के वहाँ रिसाउनु भयो ? हप्काउनु भयो ?’ नीरा बोलिन् । सबका सब मजा लिंदै छन् यो काण्डबाट।

‘यस्तै चालिस मिनेट ।’ यसपल्ट पनि रम्भा नै अघि सरिन्  – अलिकति झूट लिएर । ‘महेशको त्यो भएपछि सकिइहाल्यो ।’

‘नोट गर नीरा ।’ धनराज बोल्यो । ‘बडा एक्युरेट किसिमले सम्झनु भा’छ । म्याराथुन नै भा’रेछ पहिल्यै पटक ।’

महेश फेरि त्यो पहिलो दिनको यादमा पुग्यो । तीन वर्ष न हो । उसलाई सोफामा अँठ्याएर  रम्भा ऊमाथि मच्चिरहिन् । शायद १५ मिनेटभन्दा बढी उनी टिकिनन् । अनि लामो सुस्केराको साथ उनी ‘फ्रीज’ भइन् । उसलाई त ठण्डा भैसकेको थिएन – आसन परिवर्तन गरेर काम चालु गर्ने मन थियो। तर रम्भा त्यो फ्रोजन स्थितिबाट चल्न कुनै हालतमा तयार थिइनन् ।

‘मलाई लाग्छ – सायद रम्भा डोमिनेटिङ् हुनुहोला ।’ धनराजले भन्यो ।

यती थाहा पाउन जासुस हुन पर्ने र अनेक भाँतीका कुरा सोध्न पर्ने यो धनराज सोचे जति चलाख छैन जस्तै लाग्यो । तर रम्भालाई किन सानो भएपनि झूटो कुरा गर्न मन लागेको हो – यो सोचनीय थियो नै।

‘तर बिक्रमजीको भनिएको नोट सही रे’छ भने दुइटा कुरा हुन्छ । अब हत्या भन्न त मिलेन । आत्महत्यामा पनि यदि कसैले बहकाएर वा दबाबमा पारेर त्यस्तो कदम लिन बाध्य बनको हुन सक्छ ।’

‘था’छ । दुरुत्साहन ।’ रम्भाले बोलिन्  ।

‘करेक्ट ।’ धनराज झन्डै उत्तेजित भयो ।’ यो भन्दा अगाडी खाली यौटा कुरा पक्का गर्नुछ । महेशजी, त्यो बेला – अर्थात् बिक्रमसर झुण्डिदै गरेको बेला – तपाईं र रम्भा सम्भोग गर्दै हुनुहुन्थ्यो भन्ने प्रमाण के छ ? यसबाट कम्तीमा तपाईं दुवैको प्रत्यक्ष सरोकार छैन भन्ने प्रमाण हुन्छ ।’

‘कस्तो प्रमाण ल्याउन सक्छौं र ?’ महेश डरायो ।

‘रम्भालाई हामीले केही डिटेल सोध्यौं । अब तपाईंलाई सोध्छौं । कुरा उही रेछ भने ओके – मिलिहाल्यो । केही डिटेल भन्नुस् त महेशजी ।’

महेशको कन्चटबाट पसीना छुट्यो । सानो सानो कुरामा झेली गर्ने रम्भाले अब हिजोको खेलको डिटेल के सही बोलिन् होला र ?

‘सम्झनु पर्छ भने दुई मिनेट समय लिनुस् । अनि एकपल्ट सबैले यो सुनिहाल्नुस् कि बिक्रमजी बेलायतमा नयाँ घर किनेर फर्कंदै हुनुहुन्थ्यो । थाहा छ रम्भालाई ?’

‘मलाइ पैसा बैंक ट्रान्सफर गर्न लाउनु भा’को थियो ।’ रम्भाले भनिन् ।

महेश रनभुल्लमा थियो ।

‘अब सोच्नुस् लन्डनमा नयाँ घर किनेर सीधा एकान्तकुनामा आएर को आत्महत्या गर्छ ? कुरा मिलिराको छैन ।’ नीरा बोलिन् ।

‘महेशजी ।’ धनराजले उक्सायो ।

‘बेड रुममा जाऊँ ।’ नीरालाई अतिरिक्त आवेग थियो, ‘झन् प्रस्ट हुन्छ ।’

‘के जरूरी छ ?’ रम्भालाई मात्र हैन कि महेशलाई पनि त्यो ‘सर्जमिन’ टाइपको खोज वाहियात लाग्यो ।

‘यही बेड हो ?’ नीराले सोधिन् । एउटै मात्र त थियो बेड ।

‘हिजोको पोजिशन के थियो ?’ धनराज ।

महेशको सातो गैसकेको थियो – अब रम्भाले के भनेकी होलिन् । एक्कासि उसको मनमा अचम्मको बिचार सुझिहाल्यो । सायद रम्भा उनको आफ्नो ‘हाइपर सेक्सुअल’ व्यवहार छोप्न खोज्दै थिइन् । के भन्ने भनेर अब धेरै सोचेन महेशले ।

‘रम्भा तल म माथि ।’ झूट पक्रिने यन्त्र भएको भए अर्कै कुरा हुन्थ्यो ।

‘अरू ?’

अलिक बिस्तारमै उसले हिजोको संसर्गको बारेमा बतायो अलिक सभ्य भाषामा ।

‘कुरा मिलिरा’छैन ।’ धनराजलाई सायद मसला पुगेन । ‘सुन्नुस् – अहिलेलाई यो थ्योरी नै मान्नुस् – बिक्रमजी आउनुपर्ने भन्दा एक दिन अगाडी आउनुभयो । सायद वहाँ यही घर आउनुभयो अनि ठाडै फर्केर जानुभयो । किन त्यसो गर्नुभयो होला ?’

‘अब थ्योरी भन्नुहुन्छ फेरि अतिरिक्त अनुमान लगाउनुहुन्छ ।’ रम्भा कराइन् ।

‘अनुमान मात्रै पनि हैन । बिचार गर्नुहोस् न – यस्तो हुनसक्छ । वहाँ घरैसम्म आउनुभयो । अनि अप्रत्याशित दृश्य देख्नुभयो । अनि – सोच्नुस् न !’

‘सोच्दिन ।’ रम्भा झन् उत्तेजित भइन्, ‘अनि यस्तो बेलामा मनगढन्त कुराहरू नगरेकै राम्रो ।’

महेश बुझ्दै थियो कि धनराज बिस्तारै नजानिंदो गरेर पाशो कस्दै थियो ।

‘बेडको कतापट्टि फर्केर काम हुँदै थियो ?’

‘एता पट्टि’ रम्भाले देखाइन् ।

‘तेसरी त मिल्दैन सायद ।’

‘कस्तो नमिल्ने ?’ रम्भा झोक्किइन् । तर रम्भाले बोलेको सहज झू धनराजले कसरी समाउँदै थियो ।

‘तपाईं मान्नुस् नमान्नुस् बिक्रम सर एअर पोर्टबाट सीधा पीपलको रुखमा जानुभएन ।’ अलिक स्वर ऊँचा गर्‍यो उसले पनि ।

‘सो ?’ रम्भा बोलिन्

‘ढोका पट्टि फर्केर काम हुँदै थियो भने ढोकाबाट वहाँले हेरेको थाहा हुनपर्ने हो – माथि हुनेलाई ।’

‘भनिसकेँ महेश थ्यो ।’

‘अर्को कुरा, के तपाईंको अर्ग्याज्म भयो ?’ नीराले फेरि पेलिन् ।

‘हे भगवान् ! बीचमै कसले छोड्छ ?’ महेशले सुस्केरा हाल्यो।

‘प्रेमिकाको श्रीमान् ढोकाबाट हेरिरहेको देखें भने म चाहिं ऐन बक्तमा पनि छोडेर हिंड्छु । शायद ।’ धनराजले घोच्यो ।

‘हामी प्रेमी-प्रेमिका हैनौं ।’ रम्भाले सच्याइन् ।

‘झनै अतासिन्छु होला त्यसो भए त ।’- धनराज ।

‘उसो भए मान्नुस् अब दिवङ्गत बिक्रम सर घरमा आउनु भा’को थिएन होला,’ महेशले तर्क दियो ।

‘त्यही त भन्छु कुरा मिलिरा’को छैन ।’ धनराजले गौर गरेर रम्भालाई हेर्‍यो । उता नीराले व्यंग्यात्मक आँखा बटारिन् ।

‘तपाईं भन्नुस् न – लन्डन देखि केवल झुण्डिनको लागि बिजिनेस क्लासमा पैसा तिरेर कोही आउँछ ?’ नीराले पनि उही तर्क समातिन् ।

‘म के जानु ।’ महेशले भन्यो, ‘सायद नेपाल आएपछि त्यस्तो इच्छा आयो होला ।’

‘एक्ज्याक्ट्ल ।’ धनराज बोलेपछि महेश अलिक नर्भस हुन थालेको थियो । ‘अगिदेखि त्यही भन्दै छु । नेपाल आउँदैमा सबैलाई मर्न मन त लाग्दैन । के पोलुन भो भनेर मर्नु ? भीडभाड बढी भो भनेर ? कारण त हुन पर्‍यो नि ?’

‘मैले कसरी कारण दिन सक्छु ?’ महेश जङ्गियो ।

‘तपाईंको काम जे भएको हो त्यो भन्ने मात्र ।’ धनराजले बोल्यो । ‘रम्भाजीको पनि त्यही काम हो । तर कुरा के मिलेन भने तपाईंहर ढोकाको अर्कोपट्टि फर्केर त्यो काम गरिरहनु भा’थ्यो भने बरु केही मिल्छ ।’

‘मानिलिनुस् उतापट्टि नै फर्केको थियौं होला । भयो अब ?’ महेश बोल्यो । तर उसले रम्भाको अनुहार बिग्रेको देख्यो । अब उसलाई यो कन्फ्युजनको भेउ पाउन नसक्ने पक्का भयो । खेल अब रम्भा र धनराजको हुँदै थियो सायद ।

‘महेश महासय, कसरी हुन्छ ? कता पट्टि फर्केर काम भयो भन्ने कुरा उति नै महत्त्वपूर्ण छ जति बिक्रम सरको हत्या कसले गर्‍यो भन्ने कुरा । सत्यको गुण हुन्छ, मात्रा हुँदैन ।’ धनराजले दार्शनिकता छाँट्यो ।

‘हत्या ? त्यसो हो भने मेरो श्रीमानको हत्यारा खोज्नतिर लाग्नुस् – यो अर्थहीन कुरातिर नजानुस् ।’ रम्भा बोलिन् ।

‘भेटिन्छ त्यो पनि । नीरा तिमी सोध यो अर्को ।’ धनराज पन्छियो अर्थात् प्रश्न झनै पेचिलो छ ।

‘महेशजी, तपाईंले भन्नुभो अर्ग्याज्म त भयो । कुरा सोध्न अप्ठ्यारो लागेको छ । तर जरूरी छ । भित्र स्खलन गर्नु भयो कि बाहिर ?’ नीराले हुनसक्ने सम्मको बदनाम प्रश्न गरिन् र ओठको लाली नपुछिने गरी जिब्रोले सहलाइन् ।

महेश झस्केर रिफ्लेक्स किसिमले रम्भालाई हेर्‍यो । रम्भा अब भने राम्रै नर्भस देखिइन् ।

‘हद भयो ।’ महेशले भन्यो, ‘यो चाहिं जरूरी छैन कुनै पनि दृष्टिले ।’

‘भन्ने हो भने,’ धनराजले भन्यो, ‘सबभन्दा महत्त्वपूर्ण प्रश्न ।’

‘भित्र’ रम्भाले शान्त हुन खोजेर जवाफ दिइन् । उनको बढ्दो श्वासले भनिसक्यो या त उनलाई त्यो स्खलनको क्षणको सम्झनाले उत्तेजित बनायो या त झूटले । महेशलाई फेरि रिंगटा छुट्यो । यसपालीको झू भने अचम्मकै थियो । शायद यति धेरै पल्टको संसर्गमा यही एक पालि थियो रम्भाले उसलाई बाहिर पोख्न भनेकी थिइन् । भनेको मात्र हैन आदेश नै थियो ।

रम्भाको झूट उसलाई आफ्नै झूट जस्तो लाग्न थाल्यो अनि धनराज वा नीराको अनुहारमा हेर्न सकेन । यद्यपि दुई जोर आँखाहरू उसको अनुहारमा गाडिएको महसुस भने गरिरहेको थियो ।

‘हुन पर्ने त त्यस्तै हो ।’ नीरा बोलिन् । ‘सधैँ त्यस्तै हुन्थ्यो हैन त ?’

‘हिजो पनि ।’ रम्भा अलिक ठूलै स्वरमा कराइन् ।

‘संगिनी सुईको लास्ट डोज १५ दिन अघि, रम्भाजी । भित्रै पोख्दा पनि हुन्थ्यो ।’ नीराले झन्डै आँखा झिम्क्याइन् ।

‘सो ? संगिनी सुईले बाहिर पोख्नबाट रोक्छ ?’ रम्भा ठूलै स्वरले कराइन् ।

‘मनोविज्ञानको नियम अनुसार – मान्छेले जरूरी नभई आफ्नो बानी फेर्दैन । यतीसम्म कि – सार्वजनिक शौचालयमा मान्छेहरू अक्सर उही युरिनलमा पिसाब गर्न जान्छन् । अझ आनन्दसँग सम्बन्धित बानी – कसैले फेर्दैन हत्तपत्त ।’ धनराज जान्ने पल्ट्यो ।

‘अनि मैले के फरक भनें र ?’ रम्भा फेरी बोलिन् । महेश सोच्दै थियो कि ऊनी अनावश्यक प्रतिवाद गरिरहेछिन्  ।

हुन त हिजोको त्यो क्षण बिर्सन सकिने थिएन । किन रम्भालाई बाहिर पोख्न पर्ने माद चढेको थियो ? सधैँ त त्यो मोमेन्टमा ऊनी महेशलाई सास फेर्न पनि गाहारो हुने गरी कस्थिन् अनि बलिष्ठ खुट्टाले पेंचिस मारेर उसलाई एक मिलिमिटर पनि चल्ने छुट दिन्नथिन्  । तर हिजो भने उसको अन्तिम मोमेन्टको अहसास हुने बित्तिकै उसलाई झन्डै धकेलिदिइन् । वास्तवमा त्यो माइक्रो सेकेण्डमा त्यसो नगरेको भए उनको अहिलेको भनाइ सत्य हुन पुग्थ्यो ।

‘फरक ? केवल साँचो बोल्न पर्ने झूटो बोल्नुभयो ।’ धनराजले चस्मा मिलायो ।

रम्भा उतर्सिएर महेशतिर हेरिन मानौं उसले पर्दाफास गर्‍यो । महेश त साला यस्तो चूप थियो कि उसलाई अब जे बोले पनि झूटो हुने जस्तो लागिसकेको थियो । तर यो आश्चर्यले उसलाई घनले हिर्काए जस्तो हिर्काउन थाल्यो कि कसरी यी दुर्दान्त जोडीले यो सत्य पत्ता लगाए ।

‘ओके । ल ठिक छ । अनि सम्भोग सकिएपछि के गर्नु भयो ?’ नीराले जान्न चाहिन् ।

‘तपाईं के गर्नुहुन्थ्यो ?’ रम्भा अब नीरातिर खनिइन् ।

‘ओहो ।’ अप्रत्याशित आक्रमणले नीरा रातो भइन् । एक झल्को दृष्टि महेशतिर यस्तरी फालिन् कि ऊ एक निमेषको लागि अर्कै उत्तेजनाको शिकार भयो । ‘मेरो चिन्ता नलिनुस् साहिबा ।’

‘शिथिल थिएँ – बेडमा लम्पसार परेर बिताएँ एक घण्टा ।’

ओहो । महेश फेरी झस्क्यो । त्यस्तै गर्थिन् पहिले त । तर हिजो जब उनको कल्कलाउँदो पेटमा उसको जीवनरस पोखियो ऊनी हतार गरेर जुरुक्क उठिन् र रक्सीले धन्मनाएको जस्तो चालमा बाथरुम छिरिन् । उनलाई त्यो पखाल्न हतार भयो होला भन्ने सोच्यो उसले ।

अरू दिन भन्दा छिट्टै रम्भाले खाम दिइन् र त्यो टिपेर महेश हिंडिहाल्यो।

‘अनि महेश सर हजुरलाई चाहिं बाथरुम जान परेन ?’ नीराले सोधिन् ।

महेशको दिमाग अझै मथिङ्गलमा थियो । रम्भालाई हेर्‍यो – के भनूँ  भन्ने दृष्टिले ।

‘म – म सायद गएँ होला ।’ महेशले भन्यो ।

‘कस्तो कम्जोर मेमोरी तपाईंको ।’ नीराले व्यंग्यात्मक बोलिन्, ‘रम्भा म्याडम जानुभयो कि बाथरुममा ?’

‘गइन भन्दै छु त ।’ राम्भाले ऊँचा स्वरमा कराइन् ।

‘महेशलाई सोधेको मैले’ नीराले भनिन् ।

‘उसको लागि पनि यही हो उत्तर ।’

‘मैले बिर्सें ।’ महेशले प्रतिवाद गर्न चाहेन रम्भासँग ।

‘ठिक छ ।’ धनराज बोल्यो, ‘महेशजी तपाईंलाई यौटा अनुरोध गरूँ है ?’

‘कस्तो ?’ महेश सशंकित भयो ।

‘सामान्य । यो टाई छ, यो लगाउनुस् न ।’

‘हे भगवान् ।’ महेशले भन्यो, ‘मलाइ टाई लाउनै मन पर्दैन ।’

‘तै पनि । यो तपाईंकै फाइदाको लागि हुनसक्छ ।’ धनराजले टाई दियो ।

महेशले छोटो दृष्टि रम्भातिर फाल्यो – ऊनी दारा किट्दै थिइन् । उसले टाई हातमा लियो र घाँटीमा लगाएर गाँठो पार्न लाग्यो । “अब भयो त ?” भन्ने भावमा धनराज र नीरातर्फ हेर्‍यो ।

‘नाइँ कस्नुभाको छैन ।’ धनराजले भन्यो ।

‘गाँठो कस्यो भने म फेण्ट नै हुन्छु।’

धनराज र नीरा एकछिन हेराहेर गरे । अनि नीरा बोलिन् ‘हस्पिटल समेत जानु परेको थ्यो एउटा पार्टीमा हुँदा – हैन त महेशजी ?’

‘उसो भए रम्भा म्याडम, हजुर कोसँग ऊह, बीडीएस्एम् गर्नुहुन्छ ?’ धनराजले रम्भातर्फ कठोर दृष्टिले हेर्दै सोध्यो । ‘महेश त टाई शुद्ध लाउन सक्दैन ।’

‘बेतुकी कुरा नगर्नुभए राम्रो ।’ रम्भा बोलिन् ।

तर महेशलाई महसुस भयो कि ऊनी पग्लिंदै छिन । उसलाई भाउन्न भयो – रम्भाको अर्को पनि यौन साथी रहेछ – त्यो पनि अर्कै लेभेलको । सम्झेर ल्याउँदा उसलाई याद आयो कि आनन्दको चरम समयमा पुग्न लाग्दा कहिलेकाहीं तिनी उसको घाँटी अँठ्याउन्थिन् – र ऊ झन्डै बेहोस हुन्थ्यो ।

अलिक रुष्ट जस्तै भएर रम्भा तिर हेर्‍यो महेशले । यतिका समयसम्म रम्भाले कसरी ऊसँग  छुपाएकी रहेछिन् ?

‘को छ अर्को मान्छे हजुरको ? यही घरमा बस्ने हो कि – महेश जस्तै बाहिरबाट आउने हो ?’ धनराजले प्रेसर गर्यो ।

‘तपाईंलाई के मतलबको कुरा भो र ? म सतीसावित्री हैन भनेर त अगि नै थाहा पाइसक्नु भयो ।’ रम्भा बोलिन् ।

‘सतीसावित्री नहुनु कुनै अपराध हैन ।’ नीराले मारिन् डाइलग ।

‘सो ? बीडीएस्एम् गर्ने रेछु भने चाहिं कुन अपराध भयो त ?’ रम्भा फेरि ऊँचा स्वरमा बोल्न थालिन् ।

‘ठिक हो ।’ सानो स्वरमा धनराज बोल्यो । ‘तर त्यसको पार्टनर को हो भन्नुभएन भने हामीलाई शङ्का हुनथाल्छ ।’

‘म भन्ने वाला छैन । नितान्त व्यक्तिगत रहस्य भताभुङ्ग पार्ने कसैलाई अधिकार छैन ।’ रम्भाले भनिन्  ।

‘करीब छ फुटको, बलिष्ठ पाखुरा भएको, सायद त्यति औपचारिक शिक्षा नभएको, सायद जुँगादारी पालेको – युवा मान्छे !’ धनराजले शर्लक होम्स जस्तै गरी वर्णन गर्‍यो ।

तर्सिनुपर्ने त रम्भा हो तर ऊनी भन्दा बढी महेश तर्स्यो । यो सोचेर कि यसै घरको कामदार हर्कमानसँग ऊ साझेदारी गर्दै रहेछ – कति समयदेखि हो ।

‘हर्कमान !!’ महेशको मुखबाट सहसा निस्क्यो । तर रम्भाले उसलाई खाउँला जसरी हेरिन् – राता राता आँखाले ।

‘अब पत्याउनु यिनीहरुले जे भने नि ।’ थर्काइन् उनले ।

‘ओहो हर्कमान ! किन यहाँ छैनन् त ?’ धनराजले सोध्यो ।

‘अब एक शब्द भन्ने वाला छैन । जानुभए हुन्छ ।’ रम्भाले ढोकातिर देखाइन् ।

‘रम्भा मैयाँ – बिक्रम सिंहको हत्याको आरोपमा र सो हत्यामा महेश थापालाई फसाउन प्रयास गरेकोमा तपाईंलाई हिरासतमा लिन्छु । नीरा यो हतकडी लगाइदेऊ ।’ धनराजले भन्यो, अनि फोन निकालेर कतै सम्पर्क गर्‍यो – ‘हर्कमानलाई पौवागाउँ बाट उठाउनुस् तुरुन्त ।’

महेशको पैताला चीसो भयो अनि त्यो चीसो आङमा चढ्दै आयो ।

‘अनि महेशजी अर्कोपल्ट यस्तै पर्‍यो भने साँचो कुरा भटाभट भन्न नहिच्किचाउनुहोला ।’ धनराजले भन्यो, ‘अदालतको लफडा बाँकी नै छ । तर कुरा सफा छ । बेलुका व्हिस्की खोले हुन्छ ।’

‘यतिकै कसरी यत्रो आरोप लाउनुभयो हजुरहरूले ?’ महेशले सोध्यो – किनभने रम्भा त चुपचाप प्रतिवाद बिना हतकडी लगाउन दिंदै थिइन् ।

‘प्रस्ट भएन र ? वहाँलाई त भयो ।’ नीराले भनिन् ।

‘सुन्नुस् त्यसो भए ।’ धनराजले लामो सास फेर्‍यो र सोफामा ढल्कियो । ‘छोटकरीमा – बिक्रमजी आउनुभयो र रम्भा म्याडमलाई  – तपाईंसँग हैन – हर्कमानसँग देख्नुभयो । मैले पोजिशन सोधेको थिएँ नि – रमाइलो गर्न थोडै सोधेको थिएँ । पहिले त यो जान्नु थियो कि रम्भा म्याडम डोमिनेटिङ् सेक्स पार्टनर हुनुहुन्छ । अनि अन्तिमको त्यो वीर्य स्खलन ! किन वहाँले झूटो बोल्नुभयो । भाइ, झुन्ड्याएर मारेको त हामीलाई थाहा थियो नै । तर महेशजी, तपाईंलाई फसाउने हास्यास्पद चाल पक्रिनु थियो । यसपल्ट वहाँले बाहिर पोख्न लाउनु भयो – र हत्तपत्त बाथरुममा गएर झुण्ड्याउने डोरीमा लगाउनु भयो । अब भन्न नपर्ला किन त्यसो गर्नु भयो । त्यसपछिको दोश्रो सेसनचाहिं हर्कमानसँग भयो जुन बेला बिक्रमजी आइपुग्नु भयो । कुरा क्लियर भयो ? हर्कमान अलिक सुस्त छन् । घाँटीको पासो स्पेशल बनाएछन – सिंगल कुलम नट । बीडीएस्एम् स्पेशल । अब केही रह्यो त बाँकी ?’

चुपचाप महेश बाहिर निस्कियो ।

जाँदाजाँदै उसलाई नीराले उनको भिजिटिङ कार्ड थमाई दिइन् ।