उमेरको हिसाब गर्ने हो भने पैंतालिस नागिसकेकी छु । गएको श्रावणमा त थियो, पछिल्लो जन्मदिन ।  ओहो ! तर मेरो पच्चीस वर्ष कता चुहिएर गयो ?  यो अन्तरालका वर्षमा जन्मघर छोडेर पराई घरमा आएँ । त्यहाँबाट उमेर चुहिन थाल्यो । दुई सन्तानकी आमा भएँ, त्यता अलिकति चुहियो । उनीहरूको लालनपालनमा म आफैं कता चुहिएर गएँ, म आफैंलाई थाहा छैन । श्रीमानको साङ्लोले बाँधेर राख्यो मेरो उमेरलाई । आँगनमा लामो डोरी बाँधेर छोडिदिएको कुखुरा जस्तो मसँग सीमित भूमि थियो । मेरो लागि डोरीभन्दा धेरै स्वतन्त्रता थिएन । त्यसैले खुम्चिने बानी पर्‍यो । खुम्चिएछु भनेर गुनासो पनि गर्न छोडेछु, सायद ।

मेरा सपनाको चङ्गामा उहाँको लट्टाईद्वारा नियन्त्रण रह्यो । मैले यसलाई सबै महिला विवाह पछि यसरी नै जिउन पर्छ भनेर स्वीकार गरेर आएँ । घरबाट निक्लिंदा अनुरोध, कुन ठाउँमा पुगेँ भन्ने जानकारी, घर फर्केपछि फेरि सूचना दिनुपर्ने दिनचर्यामा आफैंलाई ढाल्दै गएँ । बिहेपछि  अरू पुरुषसँग बोल्नु विकराल समस्याको कारण हुन्थ्यो । टोलछिमेकका दाजुभाइलाई पनि उहाँले नाठो भन्ने सम्बन्ध गाँस्दिनु हुन्थ्यो । सुरुसुरुमा त नराम्रो लाग्थ्यो पछिपछि पुरुष भन्ने जातसँगै घृणा लाग्दै गयो  । न कसैसँग बोल्न मन लाग्यो न त हाँस्न नै । जिन्दगीले एउटा आफ्नै किसिमको नयाँ संसार बनाउँदै लग्यो ।

ऐना हेर्छु । कञ्चट सुन्निएको छ । कालो दाग बसेको छ । यो हिजोको उपहार हो, उहाँको । यो उपहार हिजो  मेरो कथामा एकजना पुरुषले गरेको प्रतिक्रियालाई लिएर हो । प्रतिक्रियामा उत्तेजित हुनुपर्ने खास केही थिएन तर प्रशंसाका मखमली शब्दहरूले उहाँ भित्रको सैतान जागेको थियो ।

यो दाग देखेर आफैंसँग घृणा लागेको छ । हुन त यस्ता घाउका खत सरिरमा ट्याटु खोपेर विराजमान छन् । आजका दिनमा भने अलिकति फरक महसुस भएको छ । यसो हुनुमा एउटै कारण हो । पच्चीस वर्षदेखि  गुम्सिएर बसेको मेरो लेखनको सपनाको पछिल्लो वर्षदेखि पुनर्जन्म भएको छ । हिजो यो दाग उपहार थियो भने आज यो दाग दिने हातसँग जोरी खोज्न मन लागेको छ ।

* * * *

एक वर्ष पहिले आफ्नो सपनासँग मितेरी गाँस्न फर्किएकी थिएँ । लेखन मेरो बच्चादेखिको रुचि थियो  । म तीन कक्षमा पढ्दा परदेश हुनुभएका बाबालाई लेखेको चिट्ठी पढेर आँखाको पोखरी नभरिने मान्छे थिएनन्  रे ।

छोराछोरी पनि ठूला भए । दुवै जना अस्ट्रेलियामा छन् । जिम्मेवारी कम हुँदै गएको थियो । उहाँकै अनुमतिमा म लेख्न थालेँ । धेरै पछाडि छुटिसकेको थिएँ । तर पनि यात्रा गर्छु भनेर निस्किएँ । पुस्तक पढ्दा, आफ्ना भोगाइ र अनुभूतिको साथमा समाजका विसङ्गति, विभेद, असमानता बारे लेख्दा आफ्नो अस्तित्व पनि बच्ने र परिचय पनि बन्ने लोभमा थिएँ । बिस्तारै मैले सामाजिक विषयवस्तुमा लेख्न थालें ।

कविता, कथा, आलेख विभिन्न पत्रपत्रिका अनलाइन पोर्टलमा छापिन थाले । पाठकहरूले यसलाई मन पराए । थप हौसला मिल्यो । यत्रो वर्षको खालीपन भरिँदै थियो । म पनि जिउँदो मान्छे हो भन्ने अनुभूत हुन थाल्यो । मेरो अस्तित्वले श्वास फेर्न थाल्यो ।  दैनिक जसो फेसबुकका पोस्टमा सयौं प्रतिक्रिया आउन थाल्यो । कसैकसैले सिधै इनबक्समा मेसेज गर्ने र कल गर्ने पनि हुनथाल्यो । यो सब देखेर उहाँ चिढिंदै हुनुहुन्थ्यो ।

`कसको मेसेज ? के भनेछ ? किन लब रियाक्ट ? किन सुन्दर भनेको ? किन प्रशंसा गरेको ?´, यस्ता प्रश्न गर्दै । आफूलाई मन नपरेकालाई ब्लक गर्दिने । त्यही निहुँमा कहिले कपाल भुत्लाउने त कहिले मुक्का प्रहार गर्ने गर्नुहुन्थो  । म चाहिँ जति हिंसा भए पनि अब लेख्न छाड्दिन भन्ने निर्णयमा पुगेकी थिएँ ।

देशमा भएको यौन हिंसा, बलात्कार, विभेद आदि समसामयिक विषयमा  लेख्थेँ । अन्याय विरुद्ध आवाज उठाउँथे । त्यसमा हजारौंको समर्थन र वाहवाह पाउँथे । बिस्तारै यो सबदेखि म आफैँलाई घृणा जागेर आउन थाल्यो । म घरमा उहाँको लात खान्थेँ । अनि सामाजिक सञ्जालमा उहाँसँग खिचेको युगल तस्बिर पोस्ट गर्थें लेख्थें, ‘मेरो प्राण, मेरो जीवन ।’

म दुनियाँदारी हिंसा विरुद्ध साहित्य सिर्जना गर्ने सर्जक तर आफ्नै घर भित्रको हिंसालाई लुकाएर नक्कली जीवन बाचिरहेकी थिएँ । कयौंपटक यो सब बारे खुलस्त लेखूँ । एउटा बोझबाट मुक्त भएर बसूँ । अहँ तर छोराछोरीले के सोच्लान् ? समाजले के भन्ला । भित्र जस्तो भएपनि बाहिर त सबै मिलेकै देखिन्छ ।

यसरी आफैंदेखि घृणा लाग्न थालेको थियो । जुन सिर्जनाको वाहवाही बटुल्दै हिँडेको थिएँ । जुन पितृसत्तात्मक समाजको घाउको मलहम बन्दै लेखेकी थिएँ । जे जति विद्रोहको बिगुल फुकेकी थिएँ । सबै अरूका समस्या थिए । विद्रोहको पाठ पढाउने मेरा लेखरचना मेरै लागि पाठ पढाउन सकेका थिएनन् । म त्यो पीपल थिएँ, जसमा अत्यधिक ऐजेरु पलाइसकेको थियो ।

एकदिन उहाँले भन्नुभयो, `हिजोको कार्यक्रममा त खुब जोडिएर तस्बिर खिचिएको रहेछ ।´

म झसङ्ग भएर भनेँ, `सामूहिक तस्बिर लिँदा त्यस्तो देखिएको हो ।´

उहाँले भन्नुभयो, `हिजो कार्यक्रमबाट आउन पनि ढिलो भएको थियो । कतै  कुम जोडिएकै मान्छेसँगै लजमा मोजमस्ती पनि गरेर आइयो कि ?´

रिसले आँखा अगाडि कालो दृश्य मात्र देखियो । `बाउसमान मान्छेलाई त्यसो भन्न लाज लाग्दैन ।´ जवाफ फर्काएँ ।

`तँलाई जोडिँदै हिंड्न लाज नहुने । मलाई केको लाज । ढिलो घर आइस । निकै लामो समयसम्म चल्यो होला नि गोप्य कार्यक्रम । मेरो कार्यक्रम त छोटो हुन्छ । तँलाई ढिलोसम्म चल्ने कार्यक्रम मन पर्छ नि ।´

यो कुराले यति विक्षिप्त भएँ कि पिचित्तै मुखभरि थुक्दिन मन लाग्यो । हातमा भएको चिया मुखभरि फाल्दिन मन लागेको थियो । तर, म यति कमजोर कि, सकिनँ । मजस्तो नारीहरूको कमजोरीको फाइदा पुरुषहरू उठाउँछन् होला । प्रतिरोध गर्न नसक्ने गरी कस्तो पुरुषसत्ताको जालमा हामीलाई फसाइएको छ । जालोमा अल्झिरहन हामीलाई समाज, सन्तान र परनिर्भर बनाइएको छ ।

* * * *

बिहेको केही महिनादेखि नै उहाँमा एक किसिमको असुरक्षित मनोभावना देखिएन थालेको हो ।

उहाँले सोध्नुभएको थियो, `तिमी खुसी र सन्तुष्ट छौ नि मबाट ।´

`के कुराबाट सन्तुष्ट ।´ प्रतिप्रश्न गरेकी थिएँ ।

`मैले गर्ने प्रेमबाट ।´ उहाँले भन्नुभयो ।

`खुसी छु ।´ जवाफ फर्काएँ ।

`केही त होला भन न । हामी शारीरिक सम्पर्क गर्दा तिमीलाई आनन्दको अनुभूति हुन्छ ? अन्तिममा हुने अर्गाजममा पुग्छौ ।´

म रातोपिरो भएकी थिएँ । यो सब विषयमा कहिले कसैसँग चर्चा गरेकी थिइनँ । वाक्य फुटेन मेरो । ‘भन कि भन’ भनी कर गर्नुभयो । ‘जे भन साँचो भन’ भन्ने उहाँको करले विश्राम लिएन ।

हतारिँदै भनेकी थिएँ, `तपाईं छिटो सक्याउनुहुन्छ । म अन्त्यमा पुग्नै नपाई तपाईंको अन्त्य हुन्छ ।´

भन्न कर गरिएकाले मनमा भएको कुरा बोलिहालेँ ।

उहाँको मुहारमा झमक्क साँझ परेर आयो । त्यस दिनदेखि  उहाँ चिढिन थाल्नुभयो । हरेक दिन बिस्तारामा उहाँ आफूलाई शान्त गरेपछि भन्नुहुन्थ्यो, `तँलाई त  आज पनि भएन होला । तँलाई धेरै चाहिने रहेछ । बिहेअघि पनि पक्कै अनुभव बटुलेकी थिइस् होला । नत्र ढिलोचाँडोको अन्तर कसरी थाहा हुन्छ तँलाई ।´

उहाँकै अनुरोधमा सत्य बोल्दा त्यसको सजाय जिन्दगीभर पाएकी छु ।

त्यसपछि म कुनै पुरुषसँग बोल्न हुन्थेन । उहाँले पत्तीको धार जस्तो वचन लगाइहाल्नु हुन्थ्यो, `तँलाई लामो समयसम्म त्यसैले पूरा गर्दैछ होला, होइन ?´

बिस्तारै अन्य पुरुषसँग बोल्न डराउन थालेँ । घरबाहिर निक्लन छाडेँ । करिब बिस वर्ष म उहाँको मानसिक यातनाको कारागारमा कैद बनेँ ।

सत्य बोल्नुपर्छ भने पनि सत्य पचाउन चाहिँ अधिकतमले नसक्ने रहेछन् । त्यसैले हाम्रो समाजमा झुठ मौलाएको छ जस्तो लाग्छ । बोल्नुभन्दा सत्य स्विकार्नु महान् कर्म हो । मैले त्यस दिन बोलेको सत्य मेरो लागि अभिशाप बन्यो ।

हामी नारी यति धेरै सहनशीलताको साथमा किन जन्मिन्छौ ? उहाँको शीघ्रपतनको समस्यालाई अन्यथा नमानी स्वीकार गरेकै हो । तर उहाँ आफैं यति धेरै पीडित हुँदै जानुभयो कि मलाई नर्कमय जीवन उपहारमा दिनुभयो ।

मान्छे कमजोरी स्वीकार गर्न सक्दैन र आफ्नो कमजोरी अरूमा दोषारोपण किन गर्छ ? हुन सक्छ, मान्छेको सबैभन्दा ठूलो डर नै कमजोरी देखिनु हो । कमजोरी ढाक्न जिन्दगीभर मेहनत गर्छ । तर उहाँको शीघ्रपतन, समस्या हो भन्ने पनि मलाई थाहा थिएन । उहाँलाई यस्तो लघुताभास किन भयो होला ? सायद पुरुषत्वको चिन्ता वा शक्तिशाली हुनुपर्छ भन्ने मोह । पुरुषत्वमा हुनुपर्ने  मानक विशेषताहरूले साँच्चै पुरुष आफैं पीडित छन् । त्यसको असर र क्रोध महिलाले भोग्नुपर्छ ।

पच्चीस  वर्षको आफ्नो कारागार जस्तो जीवनबाट निक्लिएर खुला हावामा स्वतन्त्र श्वास लिन खोज्दै थिएँ । मैले दराजमा थन्काएर राखेको आफ्नो सपनालाई पुनर्ताजगी बनाउने निर्णय उहाँलाई सुनाउँदा सकारात्मक देखिनु भयो ।

‘अब पैंतालिस वर्षकी भई । शारीरिक आकर्षण हराइसक्यो । शारीरिक आवश्यकता पनि कम हुँदै गयो । कसले पो हेर्ला र ?’ भन्ने मानसिकताले मलाई यो छुट दिनुभएको हो भन्ने कुरा उहाँको व्यवहारले स्पष्ट देखाउँछ ।

तर उहाँको विपरीत भइदियो । साहित्यमा मेरो दरिलो उपस्थिति हुँदै गयो । नयाँनयाँ मान्छेसँगको भेटघाट, कार्यक्रमको व्यस्तताले मलाई नयाँ जीवन दिइरहेको थियो । उहाँको आकाशमा शंकाको बादल फेरि मडारिन थाल्यो । सामाजिक सञ्जालका लाइक, कमेन्ट रियाक्ट आदि कुरालाई लिएर फेरि उहाँ पहिलाकै  मनोरोगी श्रीमानको व्यवहारमा फर्कनु भयो ।

दुई दशकपछि मैले पुनर्जीवन पाएकी थिएँ । तर यो जीवन उहाँलाई मन परेन । पुनः  मेरो सपनाको हत्या गर्न तम्सिरहनु हुन्थ्यो । तर यसपालि म अलिक फरक बनिसकेकी थिएँ । अब विद्रोहको आवाज उठाउनु पर्छ भन्ने लागेको थियो । जिन्दगीलाई लास सरह जिउने मन फिटिक्कै थिएन । जसले जे भनुन्, वास्ता गरिनँ ।

उहाँ भन्नुहुन्थ्यो, `तेरो अनुहारको यो प्रफुल्लता, उमङ्ग, उल्लास सबै दिने नाठो भेटेकी छस् ।´ घरमा एकछिन बास छैन । छोराछोरी त्यत्रा भइसके । अझै पनि बैँस सकिएको छैन । मभन्दा धेरैबेर टिक्ने पाएपछि केही वास्ता छैन घरको ।´

यो वचन सुन्ने आदत परिसकेकी म । तर अब यो वचनले निकै घोच्न थालेको थियो ।

त्यसपछि मैले यस्तो निर्णय लिएँ कि जसले उहाँलाई जीवनभर पोल्ने छ । मैले दुई दशकमा खसालेको आँसुले मलाई भन्दै थियो, `अब त सुकिसक्यो । कति खसाल्छेस् मलाई ।´

मानसिक आघातको पीडाले भन्दै थियो, `कति सताउँछेस् मलाई । अब त मेरो कार्यक्षमतामै रास आइसक्यो ।´

सहनशक्तिले  भन्दै थियो मलाई, `कति सहन्छेस् ? सहनुको पराकाष्ठा नाघिसकिस् । अब पनि सहिस् भने तँलाई बिचरा बाहेक भन्न सकिन्न ।´

त्यसपछि मलाई आत्मबल आयो । मेरो यो निर्णय ठीक हो, म भन्दिन । सही र गलतको लागि भन्दा पनि यस्तो निर्णय अहमको जीतको लागि लिइन्छ । प्रतिशोधमा अर्कोलाई चोट पुर्‍याएर मात्र आनन्द मिल्छ । मलाई आफ्नो चरित्रमा के होला भन्ने खासै मतलब हुन छोडिसकेको थियो । मैले जुन पीडा र मानसिक यातना सहेकी थिएँ त्यस्तै यातना दिन चाहन्थें । अनि बल्ल हिसाब बराबर हुन्थ्यो  । मलाई  मानसिक यातनाको हिसाबकिताब गर्नु थियो । अब पालो यातना सहने उहाँको थियो ।

* * * * 

मेरो योजनाअनुसार त्यो पुरुषलाई फोन गरेर भनें, `कहाँ हुनुहुन्छ ? भेटौं, कफी खाऔँ भन्नुहुन्छ नि । म तयार छु । तर क्याफेमा होइन, लजमा भेट्न चाहन्छु म ।´

जसलाई फोन गरें ऊ साहित्यिक पुरुष साथी हो । देशको चर्चित साहित्यकार हो ।  सुरुसुरुमा मेरा कवितालाई यसो गर्नु, उसो गर्नु भनेर सुझाव सल्लाह दिन्थ्यो । उसको उदार बानी र हरेक रचनालाई देखाएको सम्मानले म प्रभावित थिएँ । बिस्तारै ऊ मेरो सिर्जनाभन्दा शारीरिक बनावटको प्रशंसामा अल्झिन थाल्यो । उसका कुराहरूले वासना बकिरहन्थ्यो । मैले जे सोचेको थिए उल्टो पाएपछि बोल्न कम गर्दै गएकी थिएँ । तर मेरो उद्देश्यको लागि यही पुरुष पात्र सही थियो ।

मबाट जे चाहन्थ्यो, सबै दिएँ । उसलाई लागेको थियो होला, मलाई भोग्यो । मलाई भने उसलाई भोगेको महसुस भएको थियो । मेरो योजनामा उसलाई मैले नचाइरहेकी थिएँ । मेरो इशारामा ऊ नाचिरहेको थियो । ऊ आफ्नो इच्छापूर्तिको सफलतामा मच्चिरहेको थियो ।  यो सब हुँदा मलाई ऊप्रति अलिकति पनि प्रेम थिएन । अलिकति आत्मीयता थिएन । मेरो लागि एउटा वस्तु मात्र थियो । जसले मेरो योजनामा पत्तै नपाई सहयोग गर्दै थियो । महिलाले चाहने हो भने पुरुषको हविगत के गराइदिन सक्छ भन्ने उदाहरण म दिन खोजिरहेकी थिएँ । पत्थरसँग सहवास गरेर उसले आफ्नो वासना रित्तायो, मैले मेरो डर रित्ताएँ ।

त्यसदिन म घर ढिलो पुगेकी थिएँ । उहाँले भन्नुभयो, `आज त निकै टिकाउवालासँग भरिएर आइस क्या । कि दुईचार जना नै पुग्यो ।´

हाँस्दै भनें, `हो त कसरी थाहा पाउनु भएको ?´

उहाँको नाक दुर्गन्धित वासनामा खुम्चिए झैँ खुम्चियो ।

`थुक्क पचास जनासँग सुतेर हिँड्ने पातकी ।´ उहाँ थरथर काँप्दै चिच्याउनु भयो ।

मैले मधुर स्वरमा भनेँ, `के गर्नु त घरमा सन्तुष्ट पाउन नसकेपछि । एक मिनेट नटिक्नेसँग को टिक्छ त ।´

उहाँले सुन्न चाहेको जवाफभन्दा भिन्न जवाफ दिएर उहाँको मनमा दन्किएको आगोमा मट्टितेल थप्ने काम मैले गरिरहेकी थिएँ  ।

उहाँ म चुपचाप सुनोस्, रोएर माफी मागोस् भन्ने सधैं जस्तो चाहनुहुन्थ्यो । तर म त एकदम नयाँ अवतार लिएर चुनौतीको लागि तयार थिएँ ।

`तैले झुठ बोलिरहेकी छेस् । तँ म बाहेक अरूसँग कसरी सुत्न  सक्छेस् ।´ भन्दै आक्रोशित हुनुभयो ।

जवाफ फर्काएँ, `होइन म आज परपुरुषसँग सुतेरै आएकी हुँ । बिस वर्ष नपाएको चरमोत्कर्ष प्राप्त गरेरै आएकी हुँ ।´

मैले ऊसँग होटेलमा गरेको क्रियाकलापलाई भिडियोमा उतारेकी थिएँ । उसले थाहा नपाउने गरेर । आज म यसरी सुतेर आएँ भनेर देखाउनु थियो । अनि बल्ल मेरो प्रतिशोध पूरा हुन्थ्यो । उहाँले यौन सन्तुष्टिको कुरा गरेर मलाई जीवनभर मानसिक असन्तुष्टि दिनुभयो । त्यसको एकाएक हिसाब चुक्ता गर्नेवाला थिएँ ।

मैले भिडियो तेर्साएर भनें, ‘ल हेर्नोस् कसरी मजा लिइरहेकी छु ।’

उहाँ भिडियो हेर्दाहेर्दै मोबाइल फुटाउनु भयो । बेस्सरी चिच्याउनु भयो । नजिक भएका सबै समान फुट्ने मौका पाए । ममाथि हात उठाउन खोज्दै हुनुहुन्थ्यो मैले प्रहार रोकेँ । उल्टै धकेलेर पर हुत्ताइदिएँ । सधैं उहाँको प्रहार सहेर बसेकी म आज आफ्नो साहसलाई तिनिक्क तन्किएर सलामी दिन मन लाग्यो ।

* * * *

त्यसपछिका दिनमा उहाँमा निकै परिवर्तन आयो । उहाँले आफ्नो मानसिक स्थिति खस्काउँदै जानुभयो । के बोल्ने ? के गर्ने ? केही कुराको मेलोमेसो पाउन छोड्नु भयो । एक महिना जति कोठामै बस्नु भयो । त्यसपछि अर्धनग्न भएर कहिले बजारभर घुम्ने । कहिले घरको झ्यालढोका फुटाउने । कहिले रुने, चिच्याउने, कराउने, हाँस्ने आदि असाधारण व्यवहार देखाउन थाल्नु भयो । मलाई भने यो सब देखेर एकदम आनन्द आउन थाल्यो । पच्चीस वर्षदेखिको जुन सजाय मैले भोगेकी थिएँ त्यसको बदला लिन पाएँ । मानसिक असन्तुलन देखिने उहाँका क्रियाकलापमा खुसी  हुन थालेँ ।

मलाई एउटा उन्मुक्त हाँसो हाँस्न मन लाग्छ । घरको कुनाकाप्चामा पुग्ने गरी हाँस्छु ।

मन परेको पुरानो गीत दिल खोलेर गाउँछु ।

उहाँ जब थाल ठटाएर उधुम गर्नुहुन्छ । म बिन्दास भएर नाच्दिन्छु ।

अचेल छरछिमेकमा हल्ला छ रे ! त्यो घरमा श्रीमानश्रीमती नै पागल छन् भनेर ।

पाल्पा