त्यो घर, केहीबेरपछि भत्कन्छ । सुशीला भाउज्यूले एकैछिनमा भत्काउने अर्डर दिइसकेकी छ । जतिसुकै ज्यामी किन नपरोस्, जतिसुकै खर्च किन नहोस् त्यो घर भत्कनैपर्छ, भैँसम्म समथर हुनैपर्छ ।

उसले यही अर्डर दिएकी छ । झिसमिसे उज्यालोमा सुशीला भाउज्यू उभिई र एकटकसँग त्यो घरलाई हेरिरही । पुरानो भइसकेको त्यो घरमा झ्याल कतै छैन । झ्यालजति अर्कैतिर पर्छ ।

यतातिर एउटा ढोका छ भैँतलामा त्यत्ति । त्यो दुईतले घरमा टिनको छाना अडाउने काठको लाम लागेको छ । घरमा बुट्टाको रूपमा बस–त्यत्तिकै छ र त्यहाँ परेवा र भँगेराहरू आएर झोक्रिएर बसिरहन्छन् ।

केहीबेरपछि त्यो घर भत्कन शुरू हुन्छ र साँझसम्म त्यो घरको नामनिसान रहँदैन । त्यो घरबाट निस्कने ईंट, काठपात सारा सामान उसले ज्यामीनाइकेलाई बकस दिइसकेकी छ र त्यो सारा सामान आजै उठाएर लैजानुपर्छ । इँटाको एक टुक्रा, काठको एक छेस्कोसमेत बाँकी रहनु हुँदैन । उसले यस्तै अर्डर दिएकी छ ।

ऊ झ्यालतिरको मेंचमा बसी । त्यसरी बसी जसरी ऊ दिनदिनै बस्ने गर्थी र त्यो घरलाई हेरिरही, जुन आज भत्कनुपर्छ । एकछिनपछि उसको आँखा आफ्नो दुवै हातमा पर्यो । हातमा चुरा थिएन । ऊ केही मुस्काई क्रूरतापूर्वक । उसले आफ्नो साडीलाई हेरी त्यो सफा सेतो थियो । उसले बरखी बारेकी छ ।

उसको पति मरेको, हिजो पैँतालीस दिनको श्राद्ध सिद्धियो ।

त्यो घरको छानामा घाम लाग्यो र घरको भित्तामा बसेको टाटैटाटा प्रस्ट देखियो । उप्केको इँटा र इँटाको बीचको झरेको माटो पनि स्पष्ट देखियो । पहिले बनेको बखतैमा पुरानै इँटा र पुरानै काठले जसोतसो बनेको थियो ।

बनेको धेरै वर्ष भयो, तीस वर्ष । त्यस बेला जग हालेको जगमाथि गारो उठ्दै गएको र छाना हालेर सिद्धिएको उसले यही झ्यालबाट निसासिएर हेरिरहेकी थिई ।

उसको उमेर त्यस बखत बीस वर्षको थियो । अहिले ऊ पचास वर्ष पुगी । पति मरिसकेको छ, पैंतालीस दिन हिजो ।

घर भत्काउन ज्यामीहरू जम्मा भएको सुनियो । ज्यामीहरू छानामा पुगे । भत्कन शुरू हुन लाग्यो ।

बाहुनी बज्यै उफ्रँदै कोठाभित्र पसेर ठिङ्ग उभिएको उसले देखी । उसलाई लाग्यो मानौँ बज्यै भन्न खोजिरहेकी छ, ‘किन भत्काउनु ? घर रहोस्, के बिगारेको छ !’

त्यसै बखत ज्यामीहरू छानाको झिँगटी उप्काउन थाले । उसको अनुहरमा त्यस्तै क्रूर मुस्कुराहट पोतियो र उसले बज्यैको आँखासँग आँखा जुधाई, ‘देख्यौ ?’

सुशीला भाउज्यू यो घरमा आएको पैँतीस वर्ष भयो । पन्ध्र वर्षको उमेरमा घुम्टो ओढेर गहनै–गहनाले लादिएर बग्गीमा बसेर आएकी थिई । दीपबहादुरकी स्वास्नी भएर आएकी थिई । बाबुले दीपबहादुरलाई कन्यादान दिएको थियो ।

बिर्तावाल, जग्गावाल, राणाजीको भानिज दीपबहादुरको यो ड्वाङड्वाङती ठूलो घरमा ऊ दुलही भई, भरखरकी तरुनी, सुकुमारो सुन्दरी । पहिलो दिनको रात, सुहागरात उसको घुम्टो कसैले खोल्यो र उसको निदाएको आँखा तर्सेर खुल्यो ।

दीपबहादुर झस्केर उफ्रेर उभियो । कोठामा यताउता ओहरदोहर गर्यो । झ्यालमा गएर एकछिन उभियो, बाहिरको अँध्यारोलाई हेर्यो र फर्केर मेचमा थचक्क बस्यो ।

चुरोट सल्कायो, धूवाँ फाल्यो । चुरोट निभायो र मेचमा बसेको बस्यै निदायो । घुरेर निदाएको दीपबहादुरको अद्र्धबैँसे, पाको अनुहारले यो लोकलाई नै घृणा गरेजस्तो देखिन्थ्यो । सुशीला भाउज्यूले आकर्षित–विकर्षित भएर हेरिरही ।

भोलिपल्ट दिउँसो दीपबहादुरले सुशीला भाउज्यूलाई समातेर उठायो र सानो बच्चालाई बोकेझैँ बोक्यो । मानौँ भर्खर पाएको कुरा चिप्लिएर हराउँछ, मानौँ पाएको कुरालाई मानौँ कहीँ उसले तर्सेर, झस्केर छोड्छ, उसले सुशीला भाउज्यूलाई छोडेन ।

आँधीबेहरीसरह चुम्बनको बर्सात्मा रुझेको मानौँ उसको शरीर एउटा यन्त्र हो, विवश यन्त्र, सुशीला भाउज्यू निस्पन्द, निष्क्रिय भएर लडी र धेरैबेरसम्म मूर्छित भई ।

ठूलठूला कोठैकोठा भएको यो घरमा दीपबहादुरको अस्तित्वले टम्म भरिएको थियो, मानौँ यसमा छिर्ने कसैको अधिकार छैन । नोकरचाकर उसाँस फेरेर सतर्क सामसुम हिँडडुल गर्थे ।

यो घरमा कुनै विशेष घटना घट्दैन, बाँधिएको समय थियो, बाँधिएको क्रम थियो ।

धेरै नोकरचाकर थिए यो घरमा, सबैको आफ्नै बाँधिएको क्रम थियो । गाई हेर्ने गोठालो थियो, घोडा हेर्ने सइस थियो । भुजा पकाउने बाहुन थियो, तरकारी पकाउने बाहुनी थिई । बैठके थियो, कोठा सफा गर्ने सुसारे थिई ।

सबै सतर्क, सुस्तरी हिँड्थे, सुस्तरी कुरा गर्थे । सुशीला भाउज्यू पनि दिनभरि यही कोठाको यही ख्यालमा बस्दथी । एकटकसँग झ्यालबाट हेरिरहन्थी— चुपचाप, खामोस ।

झ्यालबाट बाहिर देखिने आकाशको रङ्ग आफैँ बदलिन्थ्यो । मानौँ त्यो बदलिनुसँग उसलाई चासो छैन । झ्यालबाट देखिने रूख हावाको झोक्कासँग हल्लिन्थ्यो कहिले ओल्टो कहिले पोल्टो खेल्थ्यो । मानौँ त्योसँग पनि उसलाई चासो छैन, ऊ हेरिरहेकी हुन्थी ।

रूखहरूको लामलाई नाघेर, क्याम्पाको पर्खाल नाघेर बाहिरफेरा एउटा घर देखिन्थ्यो । एउटा घर, साधारण घर, मामुली घर, दुनियाँदारको घर । त्यो घर मानौँ उब्जेको हो, मानौँ आफैँ उब्जेर अकेला छ र अकेला रहेर स्थित छ ।

त्यहाँ वरिपरि अर्को कुनै घर छैन । आफैँमा सीमित त्यो घर त्यहाँ छ । सुशीला भाउज्यू हेरिरहन्थी । कहिलेकाहीँ घरको झ्यालमा केही हलचल भएझैँ हुन्छ । त्यहाँ झ्यालमा कोही आएर उभिन्छ । लोग्नेमान्छे हो या स्वास्नीमान्छे हो छुट्ट्याउन गाह्रो हुन्छ ।

त्योबाहेक त्यो झ्यालभित्र अँध्यारो कालो धब्बा मात्र देखिन्छ । अनि साँझ पर्छ, अन्धकार गहिरेर झन् कालो हुन्छ । एकछिनपछि बत्ती बल्छ र त्यस झ्यालभित्रको कोठा रातो भएर उज्यालो हुन्छ । तर झ्यालभित्रको कोठामा के छ ऊ छुट्ट्याउन सक्तिन ।

पति दीपबहादुर दिनभरि के गरिरहन्छ त्यो सुशीला भाउज्यूलाई वास्ता भएको कुरा होइन । पतिको आफ्नै संसार छ जुन संसार उसको होइन । दिनमा त्यहाँ पासा खेलिन्छ, तास खेलिन्छ । त्यसको भनक उसको कानमा पर्छ ।

पति घरबाहिर गएको भित्र भएमा आएको सुनिन्छ । उसभित्र कुनै किसिमको जिज्ञासा उब्जँदैन, पैदा हुँदैन । ऊ आफैँ पनि अहिले यहाँ किन छ र कसरी छ त्यसको समेत उसलाई जिज्ञासा हुँदैन ।

कहिलेकाहीँ बस यति उसलाई लाग्छ बाहिरको परको त्यो घरझैँ ऊ अचानक उब्जेर यो घरमा बसेकी छ थचक्क, सामसुम ।

एक दिन सुसारे भानुमतीले केही भन्न खोजेको सुशीला भाउज्यूले महसुस गरी । भानुमती बोल्न नसकेर सुस्केरा हालेर भित्तामा अडेस लगाएर बसिरहेकी उसले हेरिरही ।

एकछिनपछि भानुमतीले भनेको उसले सुनी । उसले कुरा बुझी, अर्की सुसारे सुन्तलीको बाबुसाहेबसँग लसपस बोल्दाबोल्दै चुप भएकी भानुमतीको अनुहार पनि सुशीला भाउज्यूले देखेकी थिई ।

एकछिनपछि कुन बेला भानुमती कोठाबाट बाहिर निस्की उसले चाल पाइन । त्यस बेला आँखा फर्काएर उसले झ्यालबाहिर हेरिसकेकी थिई ।

त्यो घर टन्टलापुर घाममा केही चञ्चल भएर स्थिर भएको उसलाई लाग्यो । कोठा शून्य थियो । त्यहाँ अहिले कुनै स्वर थिएन, निःशब्द । भानुमतीको केहीबेरको अस्तित्व पनि कोठामा हरायो ।

आफ्नै अस्तित्व पनि आफैँभित्र दब्यो । त्यो परको घरको अस्तित्व पनि मानौँ आफैँभित्र सीमित भयो । उसमा कुनै किसिमको ईर्ष्या जागेन मानौँ यो पनि जीवनको क्रम हो ।

त्यो घरको छानामा लागेको घाम सर्कँदै दायाँतिर लाग्यो । एउटा परेवा उडेर आएर त्यो घाम भएको ठाउँमा बस्यो । अर्को एउटा परेवा पखेटा चाल्दै पहिलो परेवासँगै बस्न पुग्यो ।

घाम सर्कँदै ओरालो लाग्यो । घरको झ्यालमा एउटा आकृति उभियो त्यो त्यही आकृति थियो, जो हिजो पनि उभिएको थियो, अस्ति पनि उभिएको थियो । धेरै दिनदेखिन् उभिएको थियो । त्यो आकृति मानौं त्यो घरको ईंट, काठपात घरको अस्तित्वको एउटा अङ्ग हो ।

एकछिनअघिसम्म चलेको हावा बन्द भयो । रूख हल्लिएन, पात चलेन । रूखहरू निश्चल उभिएका थिए ।

यो कोठा, यो कार्पेट, यो मेच, यससँगसँगै सुशीला भाउज्यूका दिनहरू मौन गुज्रिरहेका थिए । तर समय अडिगझैँ थियो । त्यो घर त्यहाँ छ, यो कोठा यहाँ छ र समय त्यसको बीचमा अड्केको छ ।

कोठाको ढोकामा कोही आएर उभिएको अनुभूत भयो । धेरैबेरपछि उसले फर्केर हेरी, उसको लोग्ने दीपबहादुर उभिएको थियो । सम्मुख उभिएको लोग्नेमान्छेको ओठबाट र्याल निस्केको उसलाई लाग्यो । ऊ बसेको बस्यै थिई, अचानक सचेत भएर उभिई ।

“त्यो घरमा के छ ?”

त्यही त सुशीला भाउज्यूलाई आफैँलाई पनि थाहा छैन । ऊ लोग्नेको अनुहार हेरिरही ।

“त्यहाँ के पाउँछेस् ?”

प्रश्नलाई उसले हृदयङ्गम गर्न सकिन । उसले सम्मुखको मान्छेलाई यस्तरी हेरी मानौँ कुनै जोगीले हेर्छ ‘ब्रह्म प्राप्त गरेर के पाउँछस् ?’ को उत्तर दिन नसकेर ।

“त्यो सुकुचाको घर ।” लोग्नेमान्छे केही हाँस्यो, “त्यसको छोरासँग तँ आसक गर्ने ?”

सुशीला भाउज्यू उभिएकी उभियै थिई । लोग्नेको हात आवेगमा उठेको उसले देखी । तर पलकभरमै त्यो हात लत्रङ्ग खामोस झुन्डिएको पनि देखी ।

“तँ यहाँ कोठामा बस्न पाउन्नस् ।” भाउज्यूको ओठ अकस्मात् मुस्कायो ।

“उसो भए तँ बस्छेस् यहीँ, हेरुँला ।”

यति भनेर उसले सुशीला भाउज्यूलाई दुवै हातले समातेर बेसरी च्याप्यो मानौँ चकनाचूर गरेर आफ्नो शरीरमा समावेश गरेर लीन गर्न चाहन्छ । सुशीला भाउज्यू निसासिई र चलहल गर्न सकिन ।

सुशीला भाउज्यूको निसासिएर खुम्चिएको शरीर अचानक फुक्यो र साथै उसको छातीभित्रको खुम्चिएको शरीर अचानक फुक्यो र साथै उसको छातीभित्रको खुम्चिएको त्यस्तै विस्तृत भयो ।

लोग्ने कोठाबाट बाहिर निस्किसकेको थियो । ऊ फेरि मेचमा गएर बसी । रूखहरू हल्लिन लागे । त्यो घरले लुकामारी खेलेजस्तो उसलाई लाग्यो । घामले नुहाएको त्यो घर खेल्दै–नाच्दै चियाइरहेको थियो ।

चराचुरुङ्गीहरू रूखबाट उफ्रँदै, नाच्दै उड्थे र फेरि आएर बस्थे । झ्यालमा उभिने त्यो आकृतिसँग उसलाई के वास्ता ! त्यो घर नै आकृति हो । समग्र आकृतिलाई समेटेको आकृति हो ।

भोलिपल्ट बगैँचामा मानिसहरूको हूल जम्मा भयो । रूखहरू काटिन थाले, घाँसहरू उखेलिन थाले । सुशीला भाउज्यू हेरिरहेकी थिई । खाल्टाहरू खनिन थाले । उसले खाल्टो खनिनुको कारण सोध्न सकिन ।

अनि त्यसको भोलिपल्ट जगहरू राखिए । ऊ स्तब्ध भएर हेरिरही । यता गारो उता गारो, गारैगारोको जाल बिछिन थाल्यो । हेर्दाहेर्दै गारोहरू अग्लिन थाले । बिस्तारै–बिस्तारै परको त्यो घरको अङ्ग–प्रत्यङ्ग हराउँदै जान थाल्यो ।

अनि त्यसतर्फ छाना मात्रै देखियो । अनि त्यसपछि अर्को दिन त्यो छाना पनि हरायो र त्यो घर बिलायो । घरको अस्तित्वमाथिको आकाश पनि त्यस बखत एकदम खाली थियो । बादल कतै थिएन । रात परेको थिएन, तारा पनि थिएन ।

अब त्यो परको घर छैन । सामुन्ने छ त त्यो भर्खर बनेको घर, छेकबार भएर ढुस्स बसेको घर । अब त्यो ढुस्स बसेको घर गोठ भयो, गाईबस्तु राख्ने गोठ, नयाँ भई पुरानो देखिने गोठ, जसोतसो गरेर बनेको गोठ, पुरानो इँटा र काठपातले बनेको गोठ ।

तैपनि सुशीला भाउज्यूले त्यो गोठलाई हेरिरही त्यस्तै मेचमा बसेर, मानौँ ऊ कुनै त्यस्तो साहसिक घटनालाई पर्खिरहिछ । अचानक त्यो गोठ भत्कन्छ र भैँसम्म धराशयी हुन्छ ।

तर त्यो गोठ भत्केन । त्यसै गोठ अडिग भएर उभेको उभ्यै यतिका वर्ष बितिसक्यो । छोराछोरी दुवै हुर्के र ठूला भए । त्यसबीच नेपालमा ठूलो खल्लीबल्ली भयो, क्रान्ति भयो, प्रजातन्त्र आयो । छोरीको बिहे पनि भयो छोरो भारतमा पढाइ सिद्धयाएर अमेरिका पुग्यो ।

सुशीला भाउज्यूको कोठा यथावत् छ । मेच त्यस्तै छ, पलङ त्यस्तै छ । ऊ मेचमा त्यसै गरी बस्छे, पर्खेर । एउटा केही चीज उदाउँछ, उसको खङ्ग्रङ्ङ भएको भित्रको चीज फेरि पलाउँछ र टुसाउँछ । केही हुन्छ, केही अवश्य हुन्छ ।

एक दिन अचानक सुशीला भाउज्यूले भर्खर देखी उसको लोग्ने दीपबहादुरको कपालको रौँ सेताम्य भएको, उसले आफूलाई हेरी आफू पनि उमेर पुगेकी । ऊ त्यसै मुस्काई ।

अनि एक दिन उसको लोग्ने दीपबहादुर बिरामी भयो । ऊ कोठाको एक कुनामा गएर बसी । उसलाई नजिक जान साहस आएन । ऊ लोग्नेको मृत्युलाई पर्खिरहिछ कि जीवनलाई पर्खिरहिछ ठम्याउन सकिन ।

एक दिन उसको लोग्ने दीपबहादुरको मृत्यु भयो । घरमा रुवाबासी भयो । ऊ पनि रोई मानौँ रुनु पनि शरीरको प्रक्रिया हो । साँच्चिकै उसको आँखाबाट आँसु झर्यो ।

सुशीला भाउज्यूको लोग्ने दीपबहादुर थियो । कति चाँडो अब छैन । घर खामोस छ । कहिलेकाहीँ तैपनि मरेकोले चियाएजस्तो सुशीला भाउज्यूलाई हुन्छ ।

उसले चुरा फोरी र विधवाले गर्नुपर्ने कार्य सबै गरी । सेतो लुगा लगाई । श्राद्धमा तर्पण गरी । उसले सबै गरी विधवाले गर्ने कार्यपद्धति । उसले छोराछोरी कोही पनि झिकाउन लगाइन । छोरो अमेरिकामा, छोरी भारतमा । बाहुनलाई दागबत्ती गर्न लगाई र बाहुनलाई नै क्रिया बस्न लगाई ।

आज ऊ बसेकी छ मेचमा, त्यो छेकबार, त्यो घर, त्यो गोठ भत्कँदै छ । ज्यामी नाइकेको चिच्च्याहट, ज्यामीहरूको खलबल सँगसँगै गोठको छाना बिलायो ।

धेरै दिनदेखिन् हराएको त्यो परको घर देखिएको छैन । छानालाई अड्याएका काठहरू पनि भैँमा झरे । अझै त्यो घर देखिएको छैन । गोठको पारिपट्टिको गारो भत्कियो । त्यो घर मानौँ कतै लुकेर बसिरहेको छ, देखिएन । अनि यतातिरको गारो पनि भत्क्यो ।

सुशीला भाउज्यूले निसासिएर हेरिरही । अहँ, घर कतै गएको अझै आइपुगेको छैन अनि छिँडीतला भत्क्यो र परको त्यो घर त्यहाँ छैन । तैपनि सुशीला भाउज्यू पर्खेर निसासिएर बसिरही, मानौँ अचानक त्यो घर त्यहाँ प्रकट हुन्छ ।

साँझ पर्यो, त्यो घर त्यहाँ छैन । गोठ समतल भयो, तैपनि त्यो घर त्यहाँ प्रकट भएन । त्यो घरको प्रतिछायासम्म छैन । त्यो घर बसेको स्थानसमेत उजाड थियो ।

सुशीला भाउज्यू जुरुक्क उठी र एकै आवेगमा ढोकासम्म पुगी । ऊ चिच्च्याउन खोजी, तर चिच्च्याउन सकिन । साँझ पर्दै गयो । खलबल गरेका ज्यामीहरू खामोस भए । उसको हुकुमबमोजिम गोठका काठपात इँटाका टुक्राटुकी केही त्यहाँ थिएन । सबै ज्यामीनाइकेले ओसारिसकेको थियो ।

सुशीला भाउज्यू अझै चिच्च्याउन सकेकी थिइन । उसले झ्यालबाट देखी, मानौँ अचानक देखी एउटा ठिटो चुरोट खाएर बसिरहेको । सुशीला भाउज्यूको स्वर निस्क्यो, “को ?”

आफ्नो स्वरलाई आफैँ बुझ्न खोजेझैँ फेरि कराई “को ?”

“म“ मसिनो जबाफ आयो ।

“ए !” सुशीला भाउज्यूले एकटकसँग त्यो ठिटोलाई हेरिरही । त्यो ठिटोले कालो कोट लगाएको थियो ।

“ए, श्यामु हो ? उसले फेरि स्वतः भनी ।

“हो त नि !”

सुशीला भाउज्यू चुपचाप हेरिरही, त्यो श्यामुभन्दा पनि परको केही चीज । उसको स्वर अचानक फुट्यो, “ए, माथि आइज ।”

श्यामु बिलाइसकेको थियो । सुशीला भाउज्यूले अब झ्यालबाट पर हेरिन । फनक्क फन्केर मेचमा बसी ।

कोठाभित्र कोही पसेको स्वर सुनियो । सुशीला भाउज्यू मानौँ झस्की, “को ?”

“म ।”

सुशीला एकटकसँग श्यामुको अनुहारलाई हेरिरही । कोठा फेरि अँध्यारो भइसकेको थियो । श्यामुको कालो कोट कोठामा उब्जेको थियो, मानौँ कोठालाई समेटेर रहेको थियो ।

सुशीला भाउज्यूको छातीभित्र त्यो चीज पलायो जुन ऊ पर्खेर बसिरहेकी थिई । श्यामु बच्चा पनि थिएन, जवान पनि थिएन ।

“श्यामु ! यता आइज, यहाँ बस् ।”

श्यामु केही सशंकित भएर अघिल्तिर बढ्यो ।

“अलि यता, अलि यता, यता !” सुशीला भाउज्यूको उसाँस कोठामा फैलियो ।

एकै तूफानमा सुशीला भाउज्यूले श्यामुलाई अँगालो हाली । भएभरको बलले समातेर म्वाइँ खाई र खाँदै गई मानौँ अनन्त–अनन्त समयदेखिन् यही कुरा पर्खिरहेकी हो, उसले म्वाइँ खाँदै गई ।

(‘बाह्र कथा’ बाट ।)