“नानी ग्राहक पर्खेका छन्, छिटो आइजा ।”

“आएँ बाबा ।”

लालेले बोलाएकी नानी पर्दाभित्र पस्छे । पूर्वपश्चिम राजमार्गमा गुड्ने गाडीको एउटा यात्रु भित्र छिर्छ । ग्राहक आए सँगै पर्दा सम्म्याउँछे अनि पलङमा तन्ना मिलाउँछे र छुनुमुनु सुरु हुन्छ । ग्राहक काममा सन्तुष्ट भई हिसाब थमाउँछ र निस्कन्छ । एउटा छाप्रोमा मात्र होइन हरेक छाप्रोमा यस्तै चल्छ । एउटी नानी मात्र होइन हरेक नानीको दिनचर्या यस्तै छ ।

पर्दाभित्र हुने गरेका क्रियाकलाप बाहिर जस्ताको त्यस्तै थाहा पाइन्थ्यो । प्रत्यक्ष देखिए कुकुर र तीनमा केही भिन्नता हुन्थेन । प्रत्यक्ष देखिन बाट पर्दाले जोगाउँथ्यो । त्यही आँखै अगाडि नदेखियोस् भनेर पर्दा झुन्ड्याइएको थियो । हुन त पर्दा भित्रका कुरा पर्दाभित्रै रहन दिनु पर्थ्यो तर छताछुल्ल पोखिन्छन् । समाजमा पनि जसको धेरै चर्चा हुन्छ । यौनका कुरा गर्दा घाट पुग्न लागेको बूढो मानिस पनि मज्जा लिएर सुन्छन् । कुरामा हो मा हो मिलाउँछन् । तनले केही गर्न नसके पनि मनले धीत मार्छन् ।

सङ्केतले बुझिहाल्छन् । अँ भन्दा अलङ्कार बुझिने कुनै विषय छ भने त्यो हो – यौन । भन्ने बेला अरूलाई नभन्नु है भन्ने सर्त तेर्साउँछन् । हरेक भन्नेले त्यहीँ गर्छन् । भन्दै गर्दा एक कान दुई कान मैदान हुन जान्छ । यसमा हरेक बुढा-बुढी, महिला-पुरुष, युवा-युवती, सब सामेल हुन्छन् ।
लालेको मात्र होइन कालेको पनि त्यस्तै हो । यहाँका छाप्राको परिचय लाले, कालेबाट नभई भुन्टी, पुन्टीबाट हुने गर्छ । अरू ठाउँ गोप्य रूपले हुन्छ होला तर यहाँ खुला भैरहेको छ । राजमार्ग छेउको यौन बजार निकै चल्तीको छ । ठुला ठुला शहरमा पनि नामै चलेका यौन बजार हुँदा रहेछन् । कान्छी बजारका नामले निकै लोकप्रिय रहेका हुन्छन् । बाहिर देशमा सरकारले इजाजत दिएर रेड लाइट क्षेत्र नै तोकेको हुन्छ । तर यहाँ त्यस्तो त केही छैन । खुला मोल मोलाइ हुने पातलो पर्दाभित्र सबैले जान्ने-बुझ्ने गरेर कार्य हुने गरेका छन् । यसरी सडक छेउको जीविकोपार्जन आधार पनि मानेका छन् ।

‍० ० ० ०

बाटो भरिको सास्तीको दुख बिसाउने गरी ठाउँ ठाउँमा बिसौनी हुँदा रहेछन् । त्यही गाडी टक्क रोकिने वा खोलामा फस्ने, धौ गरी निकाल्नु पर्ने, या त गाडी बिग्रने यो बाटोको विशेषता थियो । दोष ड्राइभरलाई दिइँदो रहेछ । यात्रु पनि कमका हुँदा रहेनछन् । आगोको नजिक घ्यू पग्लिन्छ भने झैँ धेरै जनाको मन पग्लिने नै भयो आँखै अगाडि चलचित्रको दृश्य  देखे पछि । ठुलठुला ऋषि मुनीको तपस्या भङ्ग गर्ने अप्सराहरू जस्तै देखे पछि मनै त हो नि पग्लिहाल्छ । सडकछेउ स-सना, हरेक छाप्रामा त्यस्तै चलिरहने । घरका पुरुष ग्राहक देखिएमा जस्तोसुकै अवस्थामा भए पनि बाहिरिने गर्दथे । ग्राहकलाई मार्ग प्रशस्त हुन्थ्यो ।

पूर्वपश्चिम राजमार्गमा गाडी त्यति सहजसँगै जाँदैनथ्यो । सडकको दुर्दशा थियो । अधिकांश सडक कच्ची र सात आठ  सय मिटरको फरकमा पाँच सय मिटर चौडा खहरे खोलाले यात्रा सास्ती हुन्थ्यो । दुर्गम बस्ती यस्तै खहरे खोलाले होला पिछडिएको पनि । यो बाटोको एउटा क्षेत्र पार गर्दा सयौँ जस्तो खोला छिचोल्दै जानुपर्ने हुन्थ्यो । त्यसैमा पुराना थोत्रा गाडी जसको यात्रा भन्दा दिनभर पैदल हिँडेर गन्तव्यमा पुग्न सजिलो लाग्थ्यो  । रोमाञ्चक यात्रीका लागि यो यात्रा निकै फलदायी नै हुने गर्थ्यो । गाडी स्टाफ र मनोरञ्जनको चरम आनन्द लिनेहरू यसरी यात्रा गर्न रमाउँथे । धेरैका लागि निकै कष्टकर हुन्थ्यो यात्रा । गाडी स्टाफहरूले अनुकूल मिलाएको हुन्थ्यो । साहु भन्दा साहुनीलाई महत्त्व, खाना भन्दा पनि नाना, दाना जहाँ उपयुक्त हुन्थ्यो त्यही स्टेसन बन्थ्यो ।

त्यो सडकमा निकै चर्चित एउटा बजार थियो  । त्यो बजारको नजिक नजिक पुग्दा नबिग्रेका गाडी पनि बिग्रने, सजिलै खोला तार्न सकिने भए पनि गाडी फसाउने जसले गर्दा त्यहाँ बस्न मिल्ने र रोमाञ्च गर्न पाइने हुन्थ्यो । पूर्वबाट आउने गाडीका चालक-सहचालक सय किलोमिटर पूर्व नै त्यही बिसाउने योजना बनाउँथे । र पुन्टी, भुन्टी कै चर्चा हुन्थ्यो । पुन्टीका स्तन, नितम्ब, आँखा, रौं, ओठ, बोली व्यवहारको चर्चा गरिरहेका हुन्थे । आआफ्ना दोस्तका लागि भनेर खानेकुरा र अघिल्लो पटक भनेका चीजबीज बोकेर पनि ल्याउँथे । सायद घरमा श्रीमतीले मगाउँदा झर्किने मानिस यार, दोस्तले भनेको त मान्नु नै पर्थ्यो ।
त्यो बजारमा रात दिनको केही अर्थ हुन्थेन । रात भए मट्टितेलको टुकीको उज्यालो हुन्थ्यो भने दिउँसो घामको उज्यालो । उज्यालो  टुकीको होस् वा घामको सबै जून झैँ छर्लङ्ग थियो ।

० ० ० ०

“एउटा पनि गाडी आएन नुन किन्न पनि छैन,” डल्ली भुन्टी एक्लै एक्लै बोल्दै नजिक आउँछे  ।

“भोकै बस्नु परे परोस् एक दिन त सुख पाइएला असत्ती मोराहरूबाट,” भन्दै पुन्टी पनि त्यही पुग्छे ।

युवतीको जमघटमा हिजो-अस्तिका ग्राहकका प्रसङ्ग सुरु हुन्छन् ।

“पुलिस र ड्राइभर निकै कामुक हुन्छन्, दुख्यो भन्दा पनि छोड्दैनन्,” जोलीले बोली छाड्छे ।

“नयाँ केटा रहेछ पहिलो चोटि छुने बित्तिकै झरिहाल्यो,” डल्लीले अनुभव सुनाउँछे ।

“भुत्लैभुत्ला भएको फोहोरी थियो । नमान्दा पनि म्वाइँ खान खोज्ने,” कुट्टीले पनि कुरा थप्छे ।

“देख्दा खाइलाग्दो ज्यानको रहर खुबै गर्ने, तर कामकाज केही नहुने । उठाउन मात्र धौ,” हुर्तीले पनि अनुभव सुनाई ।

“कस्ता कस्ता आउँछन् यो पनि रङ्गमञ्च नै हो,” भुन्टीले थप्छे ।

“हाकिम पनि बोलाउँदैन धेरै दिन भयो । खानपिनमा मजा आउँथ्यो,” जोलीले कुरा बढाउँछे ।

“त्यहाँ पनि त समस्या हुन्छ । नोकर देखि हाकिम सबै पोइ बन्छन्,” डल्लीले जोड्छे ।
“हो भन्या मातेको बेला नन्नीलाई चार जनाले पालैपालो गरे लामो समय थला नै परी,” जोली कुरा बढाउँदै हुन्छे ।

त्यही बेला एउटा गाडी टक्क रोकिन्छ ।  आउने ग्राहकको सुखद कल्पना बोक्दै सबैजना आआफ्नो छाप्रोतिर लाग्छन् । ग्राहकले दिने स्नेह, माया, आनन्द भन्दा पनि तीनका लागि गर्ज टाल्न पाइने नगद महत्त्वपूर्ण हो । त्यसैका लागि देह बेचिरहेका छन् । रहरले होइन बाध्यताले अस्मिता बेचिरहेका ।

यहीँ मात्र हैन यस्ता कैयौँ ठाउँ छन् जहाँ खुलमखुला देह व्यापार भैरहेको हुन्छ । राजधानी ग्राहकको खोजी गर्दै उभिएका हुन्छन् । कुरा मिल्यो भने गन्तव्यमा जान्छन् ।

यहाँ फरक छ, बढिभन्दा बढी ग्राहक आउन् भन्ने चाहन्छन् । सानोतिनो खर्च चल्छ भन्ने अभिभावकको बुझाइ हुन्छ । पेसाका रूपमा मानेका हुन्छन् । भनौँ यो परम्परा नै हो लाले, काले र सम्पूर्ण गाउँलेहरूका लागि । छोरी जन्मेकोमा खुसी हुने गर्छन् । श्रीमती, छोरी, बुहारी यस्तै गरी कमाउन् भन्ने चाहाना बोकेका हुन्छन् ।

गाडीबाट झरेका छ जना छुट्टाछुट्टै छाप्रोमा छिर्छन् । ग्राहकको प्रतीक्षामा रहेकी परीहरू स्वागत गर्दै पर्दा मिलाउँदै नियमित कर्ममा लाग्छन् । ग्राहकलाई सन्तुष्ट पार्दै अर्को चोटि पनि आउन प्रेरित हुने गरी सेवा गर्न जानेका छन् । दिनमा छ सात पटक सम्म भ्याउँछन् । सकिनसकी आँसु बहाउँदै भए पनि ओठे हाँसो हासेका छन् ।

ग्राहकको भिड बढेको हुन्छ । छोरी बुहारीलाई भ्याइनभ्याई हुन्छन् । सबै छाप्रामा जात्रा हुन्छ । अडकल लगायो भने पर्दाबाट सबै चिज हेर्न-सुन्न पाइन्छ । पर्दा भित्रका निला चलचित्र छरपस्ट हुन्छन्  ।

छोरी  बुहारीले समाल्न नसकेका ग्राहकलाई अधबैँसे, बुढी आइमाई पनि सम्हाल्नमा व्यस्त हुन्छन् । दुधे बालकलाई दूध पिलाउँदै गरेकी आइमाई सानो बच्चाको दूध छुटाएर ससुराको हातमा सुम्पेर ग्राहक सम्हाल्न जान्छन् । बच्चाले चुस्दै गरेको दूध झन् च्यापिँदै गर्दा ग्राहकको छातीमा लालमोहर जस्तै लाग्छ ।
ग्राहक पनि थरीथरीका हुन्छन् । एउटी पचास कटेकी आइमाईसँग पसेको ग्राहक दौडेर बाहिर आउँछ । ती महिला पछिपछि दौडिरहेकी हुन्छिन् । अलि पर एकजनाले रोक्छन् । त्यही ठाउँमा महिला पुग्छिन् ।

“एक छाक खान पाउँला, एकसरो लुगा लगाउँला भनेर यस्तो नारकीय जीवन जिउँदै छु त्यसैमा ढाँटेर हिंड्ने,” त्यसलाई झम्टिन पुग्छिन् ।

“ए पर्ख पर्ख के भा को हो ?” कोही झगडा रोक्न खोज्छ ।

साबित बयान दिए जस्तै ती महिला सबै कुराको पर्दाफास गर्छे । “आफ्नो कामकाज सकेर मेरो हिसाब नदिएरै भाग्यो ।”

आइमाईको कुरा नटुङ्गिँदै सफाइको तर्क  राख्दै,  “मैले केही गरेको छैन मलाई आरोप लगाउँदै छे” अधबैँसे आफ्नो बचाउ गर्छ ।

“रहरले होइन बाध्यताले देह बेचे त्यसमा पनि ढाँट्ने,” महिला निकै आक्रामक भइन् ।

“मैले गरिनँ, यो त्यतिकै भन्दैछे,” आफ्नो दलिल पेस गर्दै थियो ।

बिचैमा रोक्ने मानिस न्याय दिने गरी अधबैंसेलाई हप्काउँदै, “तिम्रो घुँडामा लागेको माटोले बताउँछ तिमीले गरे नगरेको । स्वार्थ पुरा गरे पछि छोड्नु भएन” फैसला सुनायो । सबुत प्रमाण सहित समातिएको अपराधी जस्तो अधबैंसेले  त्यो भन्दा बढी हल्ला हुनु भन्दा दिनु ठिक माने र दिनुपर्ने रकम बुझाए  ।

० ० ० ०

हरेक छाप्रामा यौन व्यवसाय चलेको हुन्छ । यस्तो धन्दाबाट अवैध सन्तान जन्मिन्छन् । पुरुष केवल अभिभावकको भूमिकामा हुन्छन् ।

रतगेडी धेरै दिनदेखि बिमारी छे । खान रुचि छैन, गुप्ताङ्ग रातो भएको छ, अनुहार कालो भएको निकै दुब्लाएकी छ । ठिक्क यस्तै भयो भन्ने त केही छैन तर थला नै परेको छ । केही महिनाअघि रम्भा पनि त्यस्तै भएकी थिई तर धेरै दिन बाँच्न सकिन । त्यस्तै अवस्था रतगेडीको पनि हुँदै छ । यहाँ हुने गरेको यौन क्रियाकलाप असुरक्षित हो । महिलाहरूमा उमेर बढ्दै जाँदा विभिन्न सङ्क्रमण पनि देखिने गर्छ । जस्तोसुकै परिस्थितिमा पनि शरीर बेच्नै पर्छ ।

लालेको छोरी सुत्ने पलङ टुट्छ र पर्दा च्यातिन्छ । ऋण गाडेर भए पनि अर्को पलङ ल्याउँछ । त्यस्तै जोगेन्दर साहु कहाँबाट उधारो पर्दा ल्याउँछ । श्रीमती, छोरी लागेर पलङ मिलाउँछन् । छाप्रोभित्र ग्राहक गएको अन्दाज हुँदैन ।

छाप्रोको पर्दा फेर्न खोज्दा चलचित्रको नयाँ दृश्य देखिन्छ । लालेले अश्लील कुरा गरेको हुन्छ । ग्राहक बोलाएर छोरीलाई भिडाएको हुन्छ तर प्रत्यक्ष यौन क्रियाकलाप देखिएको हुँदैन । टोल छाप्रोका अन्य महिलासँग यौन सम्पर्क पनि गरेको हुन्छ तर छोरीको मर्यादा राखेको हुन्छ ।

पर्दा च्यातिँदा हेर्न नहुने भनिएको पनि हेर्नु पर्छ । गुह्य कुराको पर्दाफास हुन्छ । पर्दा हातबाट खस्छ, पर्दा मात्र होइन पर्दासँगै लाले पनि खस्छ ।