
झ्यालबाट वसन्त ऋतुलाई नियाल्दै ऊ भित्रैबाट रमाइरहेकी हुन्छे ।
आँखाबाट अरूको भाव पढ्न खोज्नु वा आफ्ना प्रकट गर्नु, कृतज्ञता वा खुशी जाहेर गर्नु, रिसानी बुझ्नु वा जाहेर गर्नु र आफूभित्र आफैसँग हजारौँ संवाद गर्नु उसका लागि नौला कुरा थिएनन् । अनिच्छाले होस, स्वखुसीले वा स्वभावैले होस, ऊ त्यसरी नै बाच्दै जीवनका छबिसौं वसन्त पार गर्ने क्रममा थिई ।
नयाँ घरको झ्यालबाट पुरानो घरको झ्याल स्पष्ट देखिन्थ्यो । अनि स्मरण गर्छे – पाँच वर्षको हुँदा ऊ त्यही झ्यालमा बसेर त्यसरी नै बाहिर नियाल्थी । हुन त ऊसँग विकल्प नै के थियो र ? बाहिर निस्कन पनि त ढोका बन्द गरिएको हुन्थ्यो बाहिरबाट । मेलाबाट कति बेला आमा फर्किनु होला र बन्द कोठाबाट मुक्त हुन्छु भन्दै त्यही झ्यालबाट आमा आउने बाटोमा आँखा तेर्स्याएर बस्थी ।
बन्द घरभित्र खेल्न ओछ्यानका सिरानी, आमाका सल, दाँत माझ्ने ब्रस र पुराना डटपेन आदि हुन्थे । यस्तै चीज उसका साथी हुन्थे । हरेकले नाम, काम र सम्बन्ध पाउँथे र एउटा झुटो कहानीमा घुम्थ्यो कोठाको पर्यावरण ।
सन्तानको सुरक्षा चाहँदै, गाँस र बासको जोहो गर्न मेलापात, अर्मपर्म गर्दै हिंड्ने बिचरा आमाको बाध्यतालाई उसको अबोध चेतनाले बुझ्दैनथ्यो त्यतिखेर ।
केही समय अघि उसको खेल्ने, बात मार्ने, घुर्क्याउने साथी हजुरआमा हुनुहुन्थ्यो । समय सधैं एकनास कहाँ हुन्छ र, रोगसँग लडिरहेकी हजुरआमाको जीर्ण शरीरले यस धर्तीबाट मोक्ष पायो । त्यही कोठामा हजुरआमाले आफ्नो पन्तुरमा बडो जतनसँग लुकाएर राखेको मिस्रीका डल्ला चुस्दै खेलेको हजुरआमासँगका स्मृतिहरू झलझली उसको मानसपटलमा आउँथे ।
आमाबुवाको काममा जानै पर्न बाध्यताबाट सिर्जित एक्लोपन आज उसको साथी बनेको छ । कलिलो उमेरमा त्यसरी कोठा भित्रै एक्लै थुनिएर बस्नु पर्दा उसको मनमा त्रासले नराम्रोसँग डेरा जमाइसकेको थियो । स्कुलका दिन सुरु नहुञ्जेल यिनै अनगिन्ती त्रासहरूले उसको साथ छोडेनन् पनि । न त कसैले उसको मन भित्रको त्रासदी बुझ्ने कोसिस गरे न त ऊ आफैँले कसैलाई बताउन सकी ।
छेउमै नयाँ घर बनाएर सरिसके पछि त्यो भत्किनै लागेको जीर्ण घर भत्काउनु भनेर बुवासँग धेरै जिद्दी गरेकी थिई उसले । सायद उसलाई लाग्थ्यो होला त्यो घरसँगै ऊ भित्रको डर पनि भत्किएर जानेछ ।
उसले जति जोड बल गरे पनि बुवाले त्यस घरलाई गोठ बनाउने निर्णय गर्नुभयो । ऊ मनमनै अचम्मित हुन्थी, हिजो त्यहीँ बुवाको अघि परेर ठाडो शिर पारेर एक शब्द उच्चारण गर्न नसक्ने ऊ, त्यस समय घर भत्काउनु भन्दै जिद्दी गर्न सक्ने सम्म भएकी थिई ।
बुवाका कठोर कानुन र थोरै पनि तलमाथि भैहाल्यो भने रिसले आँखा नदेख्ने बानीका कारण घरका सबै सदस्यहरू बुवादेखि डरले थुरथुर हुन्थे । झन् ऊ किन नडराओस् । अब त बुवाका नियम कानुन पनि लचिलो भइसक्या थियो र उसमा बुवा प्रतिको डर पनि कम भएको थियो ।
बाल्यकालमा घरको कोठाभित्र थुनिएर बस्नु पर्ने बाध्यता र घरको कडा अनुशासनको परिधिमा बाँधिएर हुर्किंदै बढ्दै जाँदा जीवन जिउने दायरा अझ सङ्कुचित हुँदै गयो । बाल्यावस्थाबाट बिस्तारै किशोर अवस्थामा बामे सर्दै गर्दा तिनै सङ्कुचित मनोभावनाको घेराबन्दीमा बाँधिएर ऊ झनै अभ्यस्त हुँदै गई ।
सबै भन्दा सुन्दर, ऊर्जाशील र संवेदनशील समय भन्छन् –किशोर अवस्थालाई । पुराना तस्बिरमा आफ्नो यौवन देखेर पुलकित हुँदै ऊ सोच्दछे कि ओहो ! म पनि यति बिघ्न राम्री रहेछु । गोरो गोलाकार अनुहार, दुई चुल्ठी बाटेको लामो केस, चिटिक्क मिलेको जीउडाल । आजको तीसमा चार कम उसको एडल्टहुडले किशोर अवस्थाको तस्बिर हेर्दै आफ्नै सुन्दरताको ईर्ष्या गर्यो । जबकि त्यस सुन्दरताको वास्ता र घमण्ड उसलाई त्यस समय कहिल्यै थिएन । भविष्यको परिकल्पना गर्दै आफ्ना अभावहरू पूर्ति गर्नैमा र आफूभित्रको त्रास हटाउँदै निडर बन्नमै त्यो सुन्दर यौवन बित्यो होला । त्यसैले सायद आफूलाई रूपवान् देखेर रमाउने समय नै पाइन उसले ।
आजको युगमा आफ्नो कुरा स्पष्ट राख्न सक्यो भने मात्रै अघि बढ्न सकिन्छ र आफ्नो आँखा अगाडी भएका कुकृत्ये विरुद्ध खुलेर आवाज उठाउन सक्नुपर्छ भन्ने उसले राम्रोसँग बुझिसकेकी थिई । तर तिनै कुराहरू व्यवहारमा उतार्ने उसका कैयौँ प्रयासहरू विफल भइसकेका थिए ।
वाककला सुदृढ गर्ने त परका विषय थिए, अरूको अघि शिर ठाडो गरेर दोहोरो गफ गर्न सक्ने आत्मा विश्वास विकास गर्नमै आफ्नो किशोर अवस्था बितेको उसले पत्तै पाइन । मान्छेहरू बोलेर कति छिटो साथी बनाउँछन्, कति धेरै गफ गर्छन्, हाँस्ने, हँसाउने, गफ नै नसकिने गरी संवाद गरेको देख्दा ऊ अचम्मित हुन्छे । उसलाई भने एउटा कुरा नबोल्दै दोस्रो के बोल्ने र दोस्रो नबोल्दै तेस्रो के बोल्ने भन्ने चिन्ता हुन्छ ।
बाह्य रूपमा अरूका अघि आत्मविश्वासी बन्न खोजे नि वर्षौं वर्षौं डर र अनुशासनका नाममा दबिएको निर्धो आत्माविश्वासले नै उसका ढोँगी र देखावटी निडरतालाई हरपल परास्त गरिदिन्थ्यो । आफूलाई विकास गर्ने क्रममा उसको निर्धोपन चाहिँ अरू अघि उजागर हुँदै गयो । अन्ततः उसका निर्धो आत्मबलसँग परिचित भए । तिनीहरूका काम र मतलबका लागि प्रयोग हुन सजिलो बन्न थाली ऊ । बोल्न नसकेसी, आवाज उठाउन नसकेसी अरूका भनाइ, हेपाइ र अर्काको अर्डर अनुसार आफू परिचालित हुनु पर्दा बिखरित भएका आफ्ना संवेदनशीलता हेरेरै मात्र बस्न सक्थी ऊ ।
अर्काका आत्मविश्वास बिचारेर नै मानिसहरू उसलाई कति सम्मान दिने भन्नेमा निर्क्योल गर्छन् क्यारे । मन नपरेको गर्दिन भन्न नसक्नु, गलत नै किन नहोस् बोलेर गलतलाई नि सही बनाउन सक्ने अघि आफू नै खिस्स पर्नु, बोल्न नसकेका अनेकौं भावनाका ज्वारभाटाहरू आफूले आफै भित्र निस्तेज पार्नु, उसका यादहरूमा यिनै रहे । देख्नेका लागि तिनै असफल प्रयासहरू उसका कमजोरीका रूपमा प्रस्तुत भए, अनि तिनै कमजोरीलाई उसका परिचय बनाइदिए ।
कुनै कुरामा निख्खर हुनु आफ्नो लागि गर्वको विषय हो । तर आफ्ना उत्कृष्टता अरूका लागि प्रयोग हुनुपर्दाको दुःख चाहिँ आफूसँग रहन्थे । मेहनत उसको पर्थ्यो, सिर्जनशीलता उसको प्रयोग हुन्थ्यो तर कामको श्रेय र स्याबासी अरूले नै हात पार्थे । आफ्नो सिर्जनशीलता र मेहनेतले हासिल गरेको उपाधि अरूले हात पर्दा ऊ आफू चाहिँ ताली पिट्ने दर्शकवर्गमा रहन्थी ।
फ्याउरोले अङ्गुर खान नपाएर सबै अङ्गुर अमिला हुन्छन् भनेझैँ, बहिर्मुखी बन्न गरेका असफल प्रयासहरूको तितो यथार्थलाई बिर्सिने प्रयास गर्दै चित्त बुझाउँथी र भन्थी ऊ ‘बहिर्मुखी मात्रै सफल र असल हुने होइनन् ।’
आखिर आफ्ना कमजोरीलाई जबरजस्ती जित्दै बहिर्मुखी नबन्ने निर्क्योलमा पुगी । र उसले आफूलाई अन्तर्मुखीका रूपमा स्वीकार गरिसकेकी थिई ।
पहिले त लाज, धक जे जस्तो भए नि आफूलाई सामाजिक बनाउनै खोज्दथी तर अचेल आफ्नो इच्छा र महत्वको हिसाबले मात्रै कुनै कुरामा सामेल हुन खोज्दछे । आफ्नो मनमर्जी देखाउँदा उसलाई मुडी, बेमतलबी भन्ने धेरै थिए तर ती सबै जान्दा जान्दै पनि उसलाई कुनै कुरामा सरिक गराउन खोज्नेहरूप्रति ऊ कृतज्ञ रहन्थी र आफ्नो साँचो मित्र ठान्दछे ।
हुँदैन, गर्दिन त ऊ एक वाक्यमा भन्न सक्दिनथी । सोच्दथी कि अगाडीकै मान्छेले उसलाई गाह्रो होला सोचेर अगावै काम नदिओस् । बुझोस् कि त्यस्ता नाइँ भन्न नसकिएर थुप्रिएका कामहरू ऊसँग टन्नै होलान् भनेर । नाइँ भन्न नसकेका कुरालाई ऊ त्यति वास्ता पनि गर्दिनथी अचेल । अह्राउनेले अल्छीले गरिन सोच्दा हुन् तर ऊ चाहिँ ती कामहरूलाई महत्त्वहीन ठानेर वा नाइँ भन्न नसकेर पन्छाएको सोच्दछे ।
काम र व्यक्ति पिच्छेका व्यवहारहरूबारे अझै पनि मनमा मनोवाद चलिरहन्छ । आफू सही छु या गलत ? आफ्नो कारणले अरूलाई के प्रभावित पार्ला भन्ने सामाजिक सोचाइहरूबाट टाढा बस्न थालिन् । अव्यक्त हुनाले, हजारौँको भीडमा आफ्नो बोलीको प्रभाव नहुनाले कुण्ठित मनोभावानाहरू घरमा रिस, आक्रोश वा मौनतामा आई टुङ्गिन्थे ।
घरकाले उसका मुड अनुसारका घमण्डी, घुसघुसे, रिसाहा जस्ता हरेक प्रकारका नाम दिन भ्याइसकेका थिए । सोच्दछे कि अरूका इच्छा अनुरूप परिचालित हुनु र अरूका सोच अनुसार आफू परिभाषित हुनु अब दुखदायी लाग्दैन उसलाई । आफू जे हो त्यसमा रमाउन सक्नु र आफ्नो अस्तित्व स्विकार्न सक्नु नै सायद जीवनको सार्थकता रहेछ मान्न थालेकी थिई । अब त आफू अन्तर्मुखी हुनुमा नि गौरवान्वित महसुस गर्न थालेकी छे । जोकोहीले अन्तर्मुखीको पहिचान वहन गर्न सक्दैन, सके नि सो पहिचानले खुशी नै हुन्छ भन्न सकिन्न ।
अब त पुरानो घरको झ्याल हेरेर, आफूलाई त्यहाँ कल्पना गर्दा पनि उसलाई दुःख लाग्दैन । पहिले बाआमा उसलाई त्यहीँ घरभित्र रोक्न खोज्नुहुन्थ्यो, ऊ बाहिर जान खोज्थी । अहिले उहाँहरू ऊ बाहिर जाओस्, आफन्त साथीभाइसँग घुलमिल होस् भन्ने चाहनुहुन्छ तर उसले एक्लोपनलाई नै आफ्नो संसार बनाएकी छ ।
पहिले त्यहीँ घरभित्र काल्पनिक कथा निर्जीव वस्तुसँग रच्दै रमाउँथी । अहिले तिनै काल्पनिक कथाहरू आफ्ना लेखमा उतार्दै जीवनलाई लेखनतिर अभिप्रेरित गरेकी छ । सायद, ऊ अन्तर्मुखी नै भएर आफ्ना लेखका माध्यमबाट बाहिर प्रस्फुटित हुने रहेछ भन्ने लाग्छ उसलाई । आफ्ना लेखका माध्यम ख्याति कमाउँदा, आजको उज्ज्वल जीवनले विगतमा अन्तर्मुखी भएर सिर्जित नमिठा यादहरू बिर्सन सजिलो भएको अनुभव गर्छे ।
अन्ततः यो पनि निश्चित गर्दछे कि आफ्ना संवेदनशीलता अरूका अघि वितरित हुन नदिन र तिनलाई जोगाउनु नै उसका बाचुन्जेलका लागि महत्त्वाकाङ्क्षा रहनेछन् । यसका साथै आफ्नो अस्तित्वलाई माया गर्नु, आफ्ना संवेदनशीलता हरपल संरक्षण गर्नु, र तिनको स्याहार गर्नु आफूसँगका प्रतिबद्धता हुन भन्नेमा ऊ दृढ रहन्छे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

