
“जाने हो ?” रत्नपार्कको पूर्वतर्फ भद्रकाली, शहीद गेट जाने बाटोतर्फको फलामे पुलमुनि सडक पेटीमा उभिरहेकी एउटी अधबैंसेले सोधी ।
मैले उसलाई पुलुक्क हेरें । त्यसपछि अरू मान्छेले देख्छन् कि भनेर यताउति हेर्दै हतारहतार अगाडि बढें ।
म अफिसबाट प्रायः त्यही बाटो घर फर्किन्छु । रत्नपार्कबाट बूढानीलकण्ठ यातायात लाग्छ । त्यसैले अफिस सकेपछि हरेक दिन भद्रकाली प्लाजाबाट हिंडेरै रत्नपार्कतर्फ आउँदा कहिले एक जना र कहिले दुई–तीन जना केटीमान्छेहरू मेकअपमा सजिएर जहिल्यै उभिएका हुन्छन् त्यस पुलमुनि । कहिलेकाहीं त एक–दुई जना तेस्रो लिङ्गी पनि हुन्छन् । ड्यूटीका प्रहरीको प्रायः आँखा नपर्ने भएकोले उनीहरूले त्यो ठाउँलाई रोजेका हुन सक्छन् । त्यसको नजीकै लगभग सय मिटर मास्तिर रत्नपार्क, बागबजार, कमलादी र पुरानो बसपार्कतर्फको बाटोलाई जोड्ने ठूलो आकाशे पुल छ । कहिलेकाहीं उनीहरू त्यतातर्फ पनि ग्राहक पर्खिंदै उभिएका भेटिन्छन् ।
म यही पुल नजीक आएपछि पछाडि फर्केर हेरें । उसले मैतर्फ हेरिरहेकी थिई । शायद त्यति वेलासम्म त्यहाँ अरू केटाहरू हिंडेका थिएनन् । म पुलको सिंढी चढेर माथि पुगेपछि फेरि एक चोटि त्यता हेरें । अब भने ऊ अर्कै केटासँग आँखा जुधाइरहेकी थिई । त्यो केटो ऊ भन्दा अलि वर त्यस्तै पाँच–सात मिटरको दूरीमा मोबाइल खेलाएजस्तो गरेर उभिरहेको थियो । शायद त्यहाँ बार्गेनिङ चलिरहेको थियो होला ।
मेरो अनुमानमा उमेर त्यस्तै चौंतीस–पैंतीस वर्षको हुँदो हो । ओठमा लपक्कै लाली । अनुहारको लेपन त्यस्तै राम्रो । आँखामा कालो चश्मा । कालो पोतेर चट्ट पारेका आँखीभौ । एकापटि कुमको पछाडिबाट र अगाडिपट्टि टिनिक्क परेका स्तन हुँदै तलसम्म लरक्क लर्केको रङ्गीन कपाल । जुन घरिघरि हावामा फर्फराइरहेको देखिन्थ्यो । डालिलो ज्यान । त्यही ज्यानमा नाइटाभन्दा माथि–माथि भेष्ट । तल छोटो–छोटो कालो पेन्ट । हिलवाला चप्पल ।
कहिलेकाहीं त त्यही ठाउँमा, छेउमा स्कुटी राखेर एक–दुई जना केटीहरू अनेक हाउभाउका साथ तयारी हालतमा उभिरहेका हुन्छन् । अगाडि एकतर्फी गाडी कुदिरहेका । मान्छेहरू सडक पेटीमा हिंडिरहेका । हिंड्नेहरू जोकोहीको आँखा तिनीहरूतिर नपर्ने कुरै हुँदैन । फरक यत्ति हो कि बाटामा हिंड्नेहरूमध्ये कोही तिनलाई नजिकबाट हेर्छन् । कोही अलि पर पुगेर पछाडि फर्केर हेर्छन् । कोही अलि परैबाट हातमा मोबाइल चलाएजस्तो गरेर तिनलाई छड्के आँखाले हेरिरहेका हुन्छन् । गाडीमा चढ्नेहरू त्यो ठाउँ नजीकै आएपछि अलि बिस्तारो गरेर तिनलाई हेर्दै हिंड्छन् । बाटो हिंड्नेहरू सबैको मनको कुरा त कहाँ बुझ्नु । तर कोही केटा मान्छेहरू अलि पर पुगेर तिनलाई हेरे भने अर्थात् मोबाइल चलाए जस्तो गरेर छड्के आँखाले हेरे भने उनीहरूले थाहा पाइहाल्छन् र त्यस केटाको छेउमा गएर भन्छन्, “जाने हो ?”
त्यसपछि पैसा कति हो ? जाने कहाँ हो ? त्यसबारे छोटोमा कुराकानी हुन्छ र सहमति भयो भने तत्काल उनीहरू गन्तव्यतर्फ चलिहाल्छन् । केटी अघि–अघि लाग्छे । केटो अरूले थाहा नपाउन् भन्ने गरी सतर्कताका साथ अलि पछि–पछि ।
* * * *
हिउँदको वेला एक दिन । शुक्रवार तीन बजे कार्यालय छुटेपछि म त्यत्तिकै हिंड्दै रत्नपार्कतिर आउँदै थिएँ । मलाई रत्नपार्क (अहिलेको शंखधर उद्यान) भित्र जान मन लाग्यो । काउन्टरमा गएर तीस रुपियाँको टिकट किनेर भित्र छिरें । त्यसो त म वेलावेला त्यहाँ जाने गर्छु । पार्कभित्र टहलिने गर्छु । अनेक थरिका फूल र बोटविरुवा अनि चराचुरुङ्गीको आवाज सुनेर एक्लै रमाउने गर्छु ।
शंखधर उद्यान – भित्र छिरेपछि काँडेफूलको गेट, अलि पर्तिर दुई खालका सल्लाका रूख, ‘भी’ आकारको हरियो गोब्रेसल्लो र पहाडका जङ्गलमा हुने खोटेसल्लो, विभिन्न रङ्गका गुलाबका फूल, पुसको वेला ओइलिंदै गरेका सयपत्री र मखमलीका बोट, घण्टी फूल, सानादेखि ठूला भएर झाङ्गिएका कपुरका रूखहरू, केही रूखका वरिपरि पर्खाल लगाएर आकर्षक ढङ्गले बस्ने ठाउँ बनाइएको कपुरबाटिका, त्यस्तै किसिमको पिपल चौतारी, हलक्क बढ्दै गरेका रबर प्लान्ट, अग्ला–अग्ला काइयोका रूखहरू, ठाउँ–ठाउँमा मान्छे बस्ने फलैंचा, तीनकुने पोखरी, मान्छे बस्ने कतै गोलापाटी, कतै छाते पाटी ।
कोही फलैंचाहुँदी बसिरहेका, कोही मोबाइल खेलाउँदै पल्टिरहेका थिए । भित्रका चउरमाहुँदी कतै एक जना, कतै दुई जना र कतै निकै जना मान्छेहरू बसेका । धेरैजसो भर्खरका र कुनै अधबैंसे जोडीहरू प्रेमालाप गरिरहेका, केटाकेटी कोही म्वाइ खाइरहेका, गाला मुसारिरहेका, कोही एकअर्काको काखमा सुतिरहेका, केटाले केटीको केस खेलाइरहेका दृश्यहरू भेट्टिन्छन् । त्यो प्रेमिल स्पर्शमा उनीहरू आनन्दमग्न भएका देखिन्छन् ।
पिङ, चिप्लेटी आदि सहितको केटाकेटीको लागि छुट्टै खेल्ने पार्क, उँधोपट्टि शहिदमञ्च, उँभोपट्टि वीर हस्पिटल ।
अपराह्न चार बजेतिर म त्यै पार्कतिर टहलिंदै गरेको वेला अलि परको फलैंचामा एउटी महिला बसेको देखें । ऊ भर्खरै त्यहाँ आएको हुनुपर्छ । अघिसम्म अरू नै केटाकेटी थिए ।
उसले मतिर हेरी । मैले पनि हेरें । आँखा जुधेपछि ऊ हल्का मुस्कुराई । म पनि मुस्कुराए जस्तो गरें । मैले उसलाई कहाँ देखेजस्तो लाग्यो । हल्का सम्झिने प्रयास गरें । नभन्दै ऊ उठेर बिस्तारै–बिस्तारै मतिर आई – कलेजी रङ्गका कुर्ता सुरुवाल, ओठमा लाली त्यही लुगालाई सुहाउने खालको, ठूलो खालको कालो चश्मा, अगाडि र पछाडि लरक्का लर्केको कपाल, ज्यान पनि लरक्क परेको, न मोटो न पातलो, नजिकैबाट हेर्दा पो देखें–देब्रे आँखामुनि कालो कोठी, उमेर त्यही चौंतीस–पैतींस वर्षकी थिई ।
छेउमा आएपछि उसले भनी, “के छ सर ! जाने हो ?”
ऊ त त्यही केटी पो रहिछ । जसले मलाई त्यही रत्नपार्कको पूर्वतर्फको सडक पेटीमा हिंड्दैगर्दा एक चोटि उसैगरी ‘जाने हो ?’ भनेर सोधेकी थिई ।
म असमञ्जसमा परें । त्यहाँबाट तुरुन्त उठेर हिंडूँ जस्तो पनि भयो । तर उठिनँ । यताउति हेरें । अरू मान्छेहरू त्यति नजीकै थिएनन् । बरु केहीबेर मलाई ऊसँग कुरा गर्न मन लाग्यो । ऊ उभिएकै थिई ।
“तिमीसँग केही कुरा गरूँ अनि जान परे जाउँला । हुन्छ ?” मैले भनें ।
“ओके !” अझ मस्किई ।
“तिम्रो घर काँ हो ?”
“नभनूँ सर !”
“तिमी विवाहित कि अविवाहित ?”
“त्यो पनि नभनूँ सर ! यी सबै कुरा तपाईंलाई किन चाहियो र । बरु जाने भए हिंड्नुस् न । ऊ अझ छेउमा आएर मस्किई ।
“काँ जाने ?”
“सुन्धारा ।”
“होटल कि कोठा ?”
“होटल हो नि । कोठामा त काँ लानु । चिनेको होटल छ । भाडा सस्तो लिन्छ ।”
“पैसा कति हो ?”
“एकै छिनको लागि दुई हजार । रातै बिताउने हो भनेचैं पाँच हजार ।”
“रूमचार्ज नि !”
“त्यो मै तिर्छु । खाको चैं छुट्टै लाग्छ ।”
“आऊ न बस । केही बेर कुरा गरौं अनि जाऔंला ।” मैले उसलाई ठाउँ छोडिदिएर अलिपर्तिर सरें ।
“के कुरा गर्नु ? कुरा भन्दा काम पो मीठो हुन्छ त ! सर पत्रकार हो कि के हो ?” उसले घडी हेरी अनि अल्छी मान्दै मेरो छेउमा बसी ।
दुवैबीच केहीबेर कुरा भएन ।
“सरलाई म यता बाहिरपट्टि हिंडिरहेको देख्छु नि ! अफिसमा काम गर्नुहुन्छ हो सर !” कुरा उसैले शुरू गरी ।
“हो ।”
“सरको गाडी छैन ? प्रायः एउटा झोला बोकेर हिंडिरहेको देख्छु ।”
“चढ्नको लागि यत्रा सार्वजनिक गाडी छँदै छन् नि ! अलिकति हिंडेर के भो त ! बाटोमा यत्रा मान्छेहरू हिंड्छन् । तिमीले मेरो ख्याल कसरी गर्यौ ? तिमी पनि प्रायः यतै हिंडिरहँदी रैछौ हैन ? मैले पनि तिमीलाई बाटोमा देखेको हुँ । आज चैं भित्र छिरिछ्यौ नि ! किन ? ग्राहककै खोजीमा हो ?”
“मलाई पनि कहिलेकाहीं बाटोको भीडभाड भन्दा यस्तै भित्र एकान्तमा बस्न मन लाग्छ । यिनै बोटबिरुवा, फूल हेरेर मन बहलाउन मन पर्छ । सरले ग्राहकको कुरा गर्नुभो । यता भित्र ग्राहक खोज्दिनँ । सरलाई बाहिर बाटोमा देखिरहेको हुनाले सरलाई जिस्क्याएको हुँ । अप्ठ्यारो मान्नुभयो कि । सरको अनुहार हँसिलो देखेर बोलाकी हुँ । माइण्ड नगर्नु है सर ! हामीसँग यसरी अरू को बोल्छन् र । कम्तीमा तपाईंले मसँग यति त बोल्न खोज्नुभो ।”
“खोइ त तिमीले मलाई आफ्ना कुरा भनिनौ नि ! सोधेको जवाफ दिइनौ । म पत्रकार होइन । तिम्रा कुरा म आफ्नै मनमा राख्छु । यस्तो काममा लाग्नु तिम्रो रहर हो ?”
“कहाँ हुनु सर, बाध्यता हो नि ! रहरले त यस्तो तल्लो स्तरको काम के गर्नु ।”
“अरू कुनै सानोतिनो पेशा व्यवसाय गरेको भए हुन्थ्यो नि ! यति राम्री छ्यौ । जोवन पनि ढलिसकेको छैन ।”
“हुन्थ्यो नि सर ! मेरो समस्या कसले बुझिदिने ?”
“समस्या नभाको मान्छे त को हुन्छ र ! तिमीलाई त्यस्तो के समस्या आइलाग्यो र यस्तो काममा लाग्यौ ?”
“के भन्नु र सर ! तपाईं को हो ? को हो ? भनेर के फाइदा ?” यति भनेर ऊ एक छिन चुप लागी । पर सल्लाको रूखतिर हेर्न लागी ।
कोही चिनेका मान्छे छन् कि भनेर मैले यताउता हेरें । चिनेका कोही थिएनन् । पर–पर केही थान मान्छेहरू आफ्नै धुनमा व्यस्त थिए । नभए को केटी ल्याएको रहेछ भन्थे होला । त्यही भएर मलाई ऊसँग केही बेर कुरा गर्न ढुक्क भयो ।
“मेरा निजी कुरा अहिलेसम्म कसैलाई भनेकी छैन सर । मेरो बीस वर्षको उमेरमा भागी विवाह भएको हो । अन्तरजातीय विवाह । श्रीमानचाहिं क्षेत्री । म त्यो भन्दा तल्लो जातकी । गाउँबाट हामी भागेर काठमाडौं आयौं । एक वर्ष जति दुःख गरेर बस्यौं । मेरो पेट बस्यो । अब हामीलाई निकै दुःख हुनेभो भनेर हामीलाई चिन्ता हुन थाल्यो । पढाइ हामी दुवैको राम्रो थिएन । उहाँ एसएलसी फेल । म पनि एसएलसी फेल । काठमाडौंको ठाउँ जागीर त कहाँ पाउनु र । समस्याबाट निकास पाउन हामीले यस्तो सल्लाह गर्यौं कि उहाँ विदेश जाने अनि म चाहिं माइत जाने । नभन्दै आफन्तसँग सहयोग जुटाएर उहाँ मलेशियातिर उड्नुभो । माइततिर म लागें । माइतमा मेरी छोरी जन्मिई । एक वर्षसम्म त खर्च पठाइरहनुभयो । फोनमा कुराकानी पनि भइरह्यो । त्यसपछि भने उहाँ सम्पर्कमा आउनुभएन । फोन गर्न छोड्नुभो । खर्च पठाउने त कुरै भएन । पछि गाउँकाले खबर ल्याए – उहाँले उतै फिलिपिनी केटी ल्याएर बस्नुभएको छ अरे ।” यति भनेर उसले उता फर्केर सलले आँसु पुछी ।
“अनि के भयो ?” मैले जिज्ञाशा राखें ।
“उहाँले खर्चबर्च पठाउँदासम्म ति ठीकै थियो । तर उहाँ सम्पर्कविहीन भएपछि बिस्तारै माइतीले पनि मलाई हेला गर्न थाले । घर जाने त कुरै भएन । मैले घर देखेकी र टेकेकी पनि थिइनँ । एउटै जिल्ला भए पनि उहाँको र मेरो घर हिंडेर जाँदा एक दिनको बाटो टाढा थियो । उहाँको गाउँबाट हाम्रो गाउँमा जन्ती आउँदा हाम्रो माया बसेको हो । उहाँले नै घर नलगेपछि म एक्लैले जाने त आँटै भएन । त्यसमाथि माइतीको साथ पनि पाइनँ । अब के गर्ने ? गाउँमा दुःखको मुख कसरी लुकाउने ? मरूँ भने पनि कसरी ? छोरीको लागि भए पनि बाँच्नै परो । बरु, दुःख लुकाउने ठाउँ काठमाडौंतिरै छ । काठमाडौं शहर त समुद्र हो । त्यहाँ जो पनि अटाउँछ । कसैलाई कसैको वास्ता छैन । भाँडा माझेर भए पनि छोरी पढाउनुपरो भनेर एक दिन बालख छोरी च्यापेर म काठमाडौंतिर लागें ।” ऊ त्यही रूखतिर हेरेर टोह्लाउन थाली ।
“अनि यस्तो काममा चैं कसरी लाग्यौ ?”
“काठमाडौं आएपछि एउटा सस्तो कोठा लिएँ । अँध्यारो र चीसो कोठा । काम खोज्दाखोज्दा एउटा होटलमा भाँडा माझ्ने काम पाएँ । छोरी साथमा बोक्दै भाँडा माझ्दै गरें । छोरीलाई स्कूल हुल्ने वेला भएको थियो । सकेकी थिइनँ । केही समयपछि छोरीलाई एउटा सरकारी स्कूलमा नाम लेखाएँ । अब भने मलाई केही ढुक्क भयो । तर दुखियाले दुःखको भारी त कहाँ बिसाउन पाउनु र । छोरी अचानक बिरामी भई । वीर अस्पताल लगें । मुटुमा समस्या देखियो । त्यसपछि डाक्टरकै सल्लाह अनुसार छोरीलाई गंगालाल लिएर गएँ । छोरीको मुटुको भल्भमा प्वाल परेको रहेछ । म छाँगाबाट खसे जस्ती भएँ । अब के गर्नु ? साथमा पैसा छैन । टेक्ने-समाउने कतै ठाउँ छैन । आफ्नो र अर्काको पनि नचिन्ने यो शहरमा म दुःखीलाई कसले सहयोग गर्ने ? यहाँ सडकको पेटीमा मागेर हिंड्ने कति छन् कति । तिनैको अगाडि हिंड्दा पनि मान्छे देखेको नदेखै गर्छन् । सबै आफ्नो ध्याउन्नमा छन् । दौडा–दौडमा छन् । अर्काको दुःख–पीडा बुझ्ने फुर्सद कसैलाई छैन । शहर भनेको यस्तै रहेछ । त्यसमाथि यो त देशको राजधानी । यहाँ म कति रोएर हिंडें, कति रात अनिंदो बिताएँ । यो कसलाई थाहा ?
यसै क्रममा एक दिन हाम्रो गाउँभन्दा पारिकी एउटी दिदीसँग भेट भयो । उनी निकै समयअघि देखि काठमाडौं बस्ती रहिछन् । उनलाई पनि श्रीमान्ले छोडेका रहेछन् । बल्ल मैले उनलाई आफ्नो व्यथा पोख्ने मौका पाएँ । हामी वेलावेला भेट्न थाल्यौं । एक दिन उनैले मलाई यो दुःखबाट छुट्कारा पाउन यस्तो बाटोमा लाग्नको लागि सल्लाह दिइन् । किनकि उनी पनि यही धन्दामा लागेकी रहिछन् । उनका कुरा सुनेपछि म बसेको भुइँ एकाएक भासिए जस्तो भयो । दिउँसै अँध्यारो जस्तो भयो । धेरै सम्झें । उपाय केही थिएन । छोरीलाई नियमित महङ्गो औषधि ख्वाउनु कसरी ? पछि मुटुको भल्भ नै फेर्नुपर्ने रहेछ । त्यो फेर्नु कसरी ? मेरो मायाको संसार भनेकै यही छोरी हो । उसलाई केही भयो भने म कसरी बाँच्नु ? मैले केही दिन सोचें । केही उपाय लागेन ।
अन्तमा तिनै दिदीको शरणमा पुगें । उनी हिंडेको यो बाटो पछ्याएँ । यही देह व्यापारबाट मैले केही वर्षमा छोरीको मुटुको अप्रेशन गरेर भल्भ पनि फेरें । अहिले छोरी पनि राम्रोसँग पढ्दैछे । उसलाई राम्रोसँग पढाएर स्टाफ नर्स बनाउने विचार छ । ऊ खुट्टा टेक्ने भएपछि भने म यस्तो काम गर्दिनँ । धर्मकर्मको बाटो समाएर पाप पखाल्नतिर लाग्छु । तीर्थ–व्रत गर्छु ।” उसले मनका सबै कुरा खोली ।
“आज मैले तपाईंलाई मेरा सबै कुरा खोतलें । मनको भारी बिसाएँ । तपाईंलाई एउटा ग्राहकको रूपमा सोचेकी थिएँ । तर कुरा अर्कै भयो । म त भगवानले दिएको यो शरीर बेच्ने पापिनी हुँ । पृथ्वीको भार हुँ । अरू केही गर्न सकिनँ र यो बाटो पछ्याएँ । तपाईंले म जस्ती नीच काममा लागेकी मान्छेको कुरा सुन्नुभो । तपाईं असल हुनुहुँदो रहेछ । नत्र हाम्रा कुरा कसले सुनिदिने ? मनका कुरा मनमै कुहाएर राख्नुपर्छ । भित्रभित्रै रोएर बाहिर हाँसेको नाटक गर्नुपर्छ । सरलाई धेरैधेरै धन्यवाद !” ऊ जुरुक्क उठी ।
“लु पाँच पनि बज्न आँटेछ । अब जानुपर्छ । मैले तिम्रा सबै कुरा सुनें । अब तिमी छिट्टै दुःखबाट मुक्ति पाउँछ्यौ । आफूलाई त्यस्तो नीच नसम्झ । यो दुनियाँमा कस्ता–कस्ता अपराधकर्म गर्नेहरू त शिर ठड्याएर हिंडेका छन् । तिमीले त त्यस्तो के गरेकी छ्यौ र । घर–परिवार बिग्रिएपछि, कसैको सहारा नपाएपछि छोरी बचाउनकै लागि बाध्य भएर तिमी यो काममा लाग्यौ । हरेश नखाऊ । तिमीले दुनियाँलाई नराम्रो के गरेकी छ्यौ र । पक्कै कसैलाई ठगेकी छैनौ । लुटेकी छैनौ । ग्राहकलाई सन्तुष्ट पारेर रकम लिएकी छ्यौ । बरु अबको जिन्दगी सुधार । अलिअलि पैसा होला । चाँडै नै राम्रो कामको खोजी गर । आफूले सक्ने कुनै व्यवसाय गर । छोरीलाई बचायौ । सकेको पढाइ दिएपछि उनी आफैंले केही गर्छिन् । लु जाऊँ अब ।” म पनि उठें ।
“साँच्ची ! सरको चैं बसाइ काँ हो ? मैले त खरखरी मेरा कुरा भनें । यत्ति पनि सोध्न बिर्सेछु ।”
“बूढानीलकण्ठ हो ।”
“ए ! निकै टाढै रछ । सर पनि जानू अब । पुसको दिन भुसुक्कै रात पर्छ । सरलाई भेटेपछि मन हल्का भयो । नभन्दै म पनि भित्रभित्रै गलिसकें । बाहिर यस्ती देखिएर के गर्नु । भित्री व्यथा कसलाई के थाहा ? सोच्दै छु अब चाहिं यस कामबाट बिदा लिई केही गर्नुपर्ला भनेर । म कोठातिर हिंडें । सर एकै छिन बसेर म पर पुगेपछि मात्र जानोस् । सरको जय होस् । नमस्कार !” उसले हात जोडी अनि मुसुक्क मुस्कुराउँदै बाटो लागी ।
“ए ! एकछिन पख त ! मसँग गोजीमा यत्ति रछ । यो लगेर छोरीलाई देऊ ल !” मैले पर्सबाट दुई हजार निकालेर उसलाई दिन खोजें ।
“पर्दैन सर ! म बिनसित्ति अर्काको काम नगरी पैसा लिन्नँ । सरलाई धन्यवाद ! सरसँग यति बोल्न पाएँ । मनको गाँठो फुकाउन पाएँ । यही मलाई अनमोल छ ।” उसले फेरि हात जोडी अनि बाटो लागी ।
मैले परसम्म ऊ गएको हेरिरहें । पर टिकट काउन्टर गेटनिर पुग्नुअघि सल्लाको रूखनिरबाट उसले पनि पछाडि फर्केर एकचोटि मलाई हेरी । बाईबाईको इशारामा हात हल्लाई अनि खुइँखुइँ रत्नपार्कको पेटीपेटी अगाडि बढी ।
* * * *
केही वर्षपछि ।
एक दिन हिउँदको समय दिउँसो म स्वयम्भू घुमेर खुसिबु, नयाँबजारतिर हिंडेर आउँदै थिएँ । कुनै समय पकनाजोलस्थित एनसिसिएस र ज्याठा कमलाक्षीस्थित अन्नपूर्ण कलेज पढाउँदा म खुसिबु बसेको थिएँ । मलाई वेलावेला आफू बसेको ठाउँ घुम्न मन लाग्छ । डेरा बसेको घर हेर्न मन लाग्छ । बाटोमा शोभा भगवती मन्दिर पर्ने हुँदा भगवतीको दर्शन गर्न म मन्दिरतिर लागें । शनिवारको दिन बिहान त्यहाँ भक्तालुको भीड निकै हुन्छ । दिउँसो भएकोले मान्छेहरू पातलै थिए ।
“सर नमस्कार !” मन्दिरको सिंढीमा उक्लिरहँदा एउटा परिचित जस्तो आवाज सुनें । पछाडि फर्केर हेर्दा रातो सारी चोलो लगाएर फूल बेचिरहेकी महिला मतिर हेरेर हल्का हाँसिरहेकी थिई । तर मलाई ठम्याउन निकै गाह्रो पर्यो ।
“सरलाई चिन्न गाह्रो पर्यो हगि ! एक छिन सम्झिनू त ! तपाईं र म पोरपरारै रत्नपार्कमा भेट भएका हैनौं ?” यति भनेर ऊ फेरि मुस्कुराई ।
“ए ! लु बल्ल चिनें । तिमी अहिले यहाँ ?” म उसको नजीकै गएँ ।
“हो त सर ! सरलाई भेटेर कुराकानी भएपछि मैले मेरो जीवनको बाटो फेरें । सरसँग एउटा संयोगले भेट भयो । त्यो भेटपछि नै मेरो जीवनले एउटा मोड लियो । किनकि मैले सरलाई ग्राहकको रूपमा सोचेर छेउ आएकी थिएँ । तर सरले मलाई त्यसरी हेर्नुभएन, बरु सम्मान दिनुभयो, जीवनमा कसैले दिएका थिएनन् । मन दिएर मेरा दुःखसुखका कुरा सुन्नुभयो । कुरा सुन्नु मात्र भएन । भविष्यको लागि सुझाव पनि दिनुभयो । त्यसपछि मैले कोठामा आएर रातभरि सोचें र भोलिपल्टैदेखि त्यो पेशा छोडिदिएँ । केही समयपछि डेरा पनि यता सारें अनि भगवतीको सामु शरण परेर हरेक बिहान यहाँ भक्तजनहरूलाई फूल बेच्ने काम गर्न थालें । दिउँसोपख भने हिउँदको वेला यतैतिर बदाम सुन्तला बेच्ने गर्छु । बर्खाको वेला ऊ त्याँ पर कुनामा मकै पोल्ने गर्छु । मलाई अहिले शान्ति भएको छ सर । एउटा आनन्द मिलेको छ । भगवतीको कृपाले छोरीले पनि पोहोर सरकारीकोटाबाट स्टाफ नर्समा नाम निकाली । अब मेरो सपना पूरा हुने भयो सर ।” ऊ त्यसैगरी मुस्कुराई ।
“लु तिमीले आफ्नो बाटो मोडिछ्यौ । मलाई बहुत खुशी लाग्यो । तिमीलाई धेरैधेरै बधाई छ अनि शुभकामना पनि ।” मैले पनि खुशी व्यक्त गरें ।
“लु यो फूल लगेर पूजा गर्नू सर !” उसले प्लाष्टिकको सानो डालीमा फूल र पूजाका सामग्री दिँदै भनी ।
“मलाई फूल त चाहिंदैनथ्यो । बिहान खाना खाइसकेको छु । त्यत्तिकै दर्शन गरूँ भनेर पसेको । तिमीसँग भेट हुने मौका जुरेको रहेछ । राम्रै भो ।”
“लानू न लानू सर !“ मन सफा भको मान्छेलाई जतिखेर पूजा गरे पनि फरक पर्दैन ।” उसले मेरो हातमा पूजा सामग्रीको डाली थमाई ।
मैले उसको अनुरोध टार्न सकिनँ । पूजासामग्री लिएर मन्दिर छिरें । पूजा गरें । उसको पनि भलो होस् भन्ने कामना गरें । फर्कंदा त्यसको पैसा दिन खोजें । उसले मानिनँ ।
“लु चिया खाऊँ सर !” उसले पर्तिरको पसलबाट चिया झिकाएकी रहिछ । चिया दिंदै भनी ।
“लु तिमीलाई धेरैधेरै धन्यवाद ! माताले तिम्रो सधैं कल्याण गरून् । अब म जान्छु ल !”
“हुन्छ सर ! सरसँग कुनै वेला भेट होला भन्ने त सोचेकी थिएँ । माताले भेट गराइदिनुभयो । नमरी बाँचे भेट हुने रछ सर ! म यतै हुनेछु । कहिलेकाहीं यो अभागिनीलाई सम्झिनुहोला ।” यति भन्दा ऊ केही भावुक देखिएकी थिई ।
“हुन्छ । म कहिलेकाहीं यतातिर आउने गर्छु । आको वेला तिमी यतै रहिछ्यौ भने बोलौंला । बात मारौंला है !”
यति भनेर म त्यहाँबाट विष्णुमतिको पुल तरेर खुसिबु, नयाँबजारतिर लागें ।
* * * *



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

