कुलबहादुर !

एउटा बलवान व्यक्ति थिए । उनको शरीर हट्टाकट्टा नै थियो । छोटो कद भएका उनमा आत्मबलको कमी थिएन । कालो वर्ण भएका उनी मुखभरि धब्बाले भरिएका पुरुष थिए । के कसरी धब्बा बसेको होला, मेसो त पाइनँ । तर, ‘सानैमा म बिरामी थिएँ रे’ भनिरहन्थे उनी ।
दशक बढी उनकै आसपास रहँदा उनी बिरामी परेर लडेको कहिल्यै देखिएन । सधैँ तन्दुरुस्तै । उनी एक गरिब परिवारका कर्मवीर योद्धा थिए ।
उनका बाआमा र अरू परिवारका सदस्य कहाँ छन् भन्ने अत्तो पत्तो उनैलाई पनि जाद्रै थिएन । वर्षौं सँगै हुँदा पनि उनलाई कोही आएर भटेझैँ लागेन ।

नाम उनको कुल भए पनि कुलको कुनै पत्तो फाँट नहुँदा उनी बेकुलका मान्छे झैँ थिए । तर उनी बहादुर थिए भन्ने कुरा उनलाई बाह्र वर्ष पढेपछि बुझ्न सकेको थिएँ । उनी मेरा असल छिमेकी थिए । अहिले केवल सम्झनामा छन् ।
उनी यस कथाका काल्पनिक पात्र हैनन् तर अहिले काल्पनिक नै लाग्छ । सत्य पनि समय बित्दै जाँदा असत्य झैँ लाग्नु सत्य कुरा रहेछ ।
कुलबहादुर एउटा म जस्तो फुच्चे बाहुनको नजिक रहेका कामी पुरुष थिए । जुन पर्खाल उनी र म मिलेर कहिल्यै भत्काउन सकेनौं ।

उनको टाउको ओतिने सानो घर थियो जहाँ उनी र उनकी श्रीमती सँगै बस्थे । उनले श्रीमतीलाई चाट्नै खोज्थे मायाले !

उनकी श्रीमतीलाई हिंड्न-डुल्न र गाह्रो हुन्थ्यो । सबै काम आफै गर्न खोज्थे । उनीहरूको सन्तान थिएनन् तर बिहे हुँदै छोरीहरू ल्याएरै आएकी रहेछन् ! दोस्रो घरबार थियो त्यो उनको ।

एउटा भैंसी पालेका थिए । आफ्नै सन्तान झैँ गर्थे । भैसींको पाडीलाई आफ्नै ठान्थे !  घुमफिर गरेर आउँदा एक मुठी घाँस ल्याएर मुखमा पुर्‍याउँथे, मुसार्थे र भैंसी पनि टाँसिनै खोज्थ्यो ।

एउटा कालो कुकुर अनि कुखुराका चल्ला पालेका थिए । कुकुर अलि जाद्रो थियो । नचिनेको मान्छेलाई खानै खोज्थ्यो ! तर रक्षक नै थ्यो कुकुर हाम्रो पनि । रातमा कहीँ रुखको पात खस्दा पनि झन्केर भुक्थ्यो । पुस-माघ महिनामा छाउरा काढ्थ्यो । त्यस बेला त झन् कसैलाई बाटै हिंड्न नदिने ! झम्टिहाल्ने ।

कहिले उनका कुखुरा हाम्रो तिर आएर बेर्नाहरू भुर्कुट पार्थे । अनि आमा रिसले चुर हुनुहुन्थ्यो ।

उनी केटा केटी देख्दा रमाउँथे, माया गर्थे ! मुसार्थे, काखमा हाल्थे, दारी दल्दिन्थे, सुम्सुम्याउँथे ! भलै उनी निसन्तान थिए ।

घाम ताप्न रमाउँथे पुस-माघ तिर । घाममा सुत्थे घोप्टो  परेर !  म जस्ता त्यो समयका बच्चालाई ढाडमा उफ्रिन लगाउँथे र आनन्द मान्थे ! म जस्ता स्कुले बच्चालाई ‘उमेर कति होला मेरो’ भनेर हिसाब निकाल्न लगाउँथे । जन्मेको साल दिएर । म १४-१५ को हुँदा उनी ६५ का पुगेका रहेछन् । आफू पनि औंला भाँच्थे र उमेरको फारो लगाएर टाउको हल्लाउँथे ! तीन, बिस र पाँच !

हामीले उनलाई दाइ भन्ने गर्थिम् । कोही कुलबहादुर भनेर बोलाउँथे । कोही जेठा भन्थे । हजुर बाको उमेरको मान्छेलाई दाइ भन्नु कतै जातियताको जन्जालले बनाएको नाता हो कि झैँ लाग्छ ! अहिले सम्झिँदा । तर त्यसको हिसाब निकालेनम् कहिल्यै पनि !

उनी गाउँघरका कटुवाल थिए । भैपरि आउँदा घरघरमा समाचार पुर्‍याउने काम उनको । आजको झैँ फोन त देखेकै थिएनम् हामीले । त्यो दूरदराजको झुपडीतिर ! उनी एक हिसाबले सारा गाउँका दूत वा मेसेन्जर हुने गर्थे ! उनको साथमा एउटा दमाहा अटुट हुने गर्थ्यो । सधैँ नै चुस्त दुरुस्त राख्थे दमाहा ! केही काम पर्दा उनैले सबै गाउँलेलाई भेला पार्न उर्दी गर्थे !

दमाहा डोरीले थाप्लोमा बोकेर डाँडातिर जान्थे अनि उभिएर घाँटीमा झुन्डाउँथे दमाहा ! दुई वटा काठको डन्डी जसलाई उनी गजो भन्थे ! गजोले बाजा ठोक्थे एक सुरले उनी । दुई-तिन मिनेट पछि बाजा रोकेर उनी तल गाउँ तिर फर्केर  घोक्रो फुलाएर भन्थे, ‘लौ है साहेप हो ! भोली यति बजे यहाँ आइपुग्नु कुर्रे नामको मानिस ।’ उता गाउँलेहरू कान थापेरै बस्थे । आदेशपालक झैँ भोलि पुगेकै हुन्थे ! बाटो खन्न, स्कुल बनाउन, मन्दिर बनाउन, आदि कामको लागि ।

दशैँ-तिहारमा उनी अलि व्यस्त हुन्थे ! बाटो खनाउन, मन्दिरमा सर-समान र पुजारीको रासन जुटाउन ! राम नवमीको दिन त भ्याइनभ्याई हुने, उनको त्यो व्यस्तता ! कति कति । हरेक ठाउँ पुग्नु पर्ने उनै । केही पर्‍यो कि सबैले कुलबहादुर भनिहाल्ने । ठुलाबडासँग उनको सिधा सम्पर्क हुन्थ्यो । उनी त दाहिने हात पो थिए सबैका । दशैँको बेला भिडभाड हुने ठाउँमा उनी पुग्थे लौरोले भिड नियन्त्रण गर्न ! हानुँला झैँ गरे पनि हान्दैनथे कसैलाई पनि !  कहिलेकहीँ त हम्मे नै पर्ने गर्थ्यो उनलाई ! उनीसँग एउटा कालो झोला थियो । कहिल्यै धोएनन् उनले त्यो झोला ! दशैँ-तिहारको भागभुग्रो उठाउन उनी हिंड्थे झोला बोकेर गाउँघरतिर ।

दशैँ त सबैभन्दा छिटो उनै को आउँथ्यो र पछिसम्म उनैको रहन्थ्यो ! बाहुनलाई उनी बिस्टवान् भन्थे ! भेट्दा ‘जदौ साहेप !’ भनेर शिर झुकाउँथे । मान खुबै गर्ने उनको बानी थियो । बोलीमा मिठास धेरै थियो । नरमपन अनि सबैको प्यारो मान्छे ! दुनियाँले चिनेको-जानेको छ । कति ठुलो सामाजिक कद हो ! लोभ लाग्दो । जुन कुरा ठुलाठालु बनेर गफ दिने आजकाका मान्छेमा समेत पाइँदैन !

तिहारमा उनी देउसी भैलो खेल्थे साथीभाइहरू सँगै !  उनी गुन्युचोलीमा चिटिक्क हुन्थे । गरगहना लगाउँथे र मारुले बन्थे । झमझम मादलमा फेरो मार्दै खुबै नाच्थे उनी । जुता-चप्पल लाउँथेनन् उनी । नाच्दा काला तिघ्रा अनि पट्ट फुटेका उनका खुट्टा स्पष्ट देखिन्थे । उनको टाउको हल्लिरहन्थ्यो । किन हो खै जानिएन । कसैले त हनहने पनि भन्थे जिस्किएर उनलाई । उनले कहिल्यै नुहाउने धुने दुख गरेनन् । तर निरोगी मानिस थिए उनी । चाडपर्वमा उनको घर भरिभराउ हुन्थ्यो छोरीज्वाइँ र परपाहुनाले । अलि अबेरसम्म आएनन् भने टोलाउँथे र रुन्छन् कि झैँ गर्थे ।  नाति-नातिना चेप्राउँथे काखमा । कहिल्यै झर्केनन् । सानो घरमा कसरी अट्थे होला धेरै पाहुना ? अचम्म लाग्थ्यो !

अलिअलि जाँड खान्थे कहिले कसो ! उसो त छोरीज्वाइँले पनि कोसेली बोकेर आएकै हुन्थे । जाँडपानी र पाडाको साँप्रो ! हल्का रमाइलो त गर्थे उनी । तर मातेर हिंडेनन्, रक्सीको ताल र सुरमा । खराब वचन बोलेनन्, कसैको मनमा बिझ्ने गरी । भद्र पुरुष थिए । जो आज सबैको मनमनमा बसेका छन् ।

धेरै जसो भैँसीको मासु पाक्थ्यो उनको चुल्होमा ! साँझ अबेर मात्र पकाउने गर्थे !  मासु छिल्दा घरै भत्केको जस्तो आवाज हुन्थ्यो । अनि पोलपाल गरेर खान्थे मासु । पोलेको बास्ना हामी भैँसी नखानेको मुखमा पस्न खोज्थ्यो ! तर सम्हालिनुको विकल्प थिएन !  मासुमा पिठो राखेर खान्थे ।

मिठो चोखो खाने कुरा  उनी र हामी बिच चल्थेन ! तर अरू कुरा चल्थ्यो । नपकाएको चामल-तरकारी !  किनकि समाज नै जातभातको कुरामा बढी विश्वास गर्ने !
कहिले कहीँ बुढाबुढी बीच ठाकठुक परेको हुन्थ्यो तर छिनमै मिलिहाल्थे । टिमुर खर्के भन्थे बुढीलाई बोलाउँदा ! बुढीको अरू नाम थिएन । टिमुर खर्क बाट नै ल्याएका रहेछन् बिहे गरेर । कहिले त छिरफुर पनि बोल्थे तर अरूले नसुन्ने गरी । चुरोट तान्थे उनी धेरै जसो । कोही देश-विदेश बसेर आउँदा एक खिली चुरोटको आस गर्थे । धेरैले दिन्थे पनि । केहीले भने दुई-चार पैसो हातमा हाल्दिन्थे । उनी मख्ख पर्थे ! एउटा सुर्कनी थैली थियो जहाँ उनी पैसा राख्थे । रामरसतिर जाने बेला छोरीचेलीलाई दिने गर्थे । दया-मायाका खानी नै थिए !

दिनभरी गाउँघर चहारेर साँझ फर्किन्थे घरमा । तर्रर पसिना पुछ्थे आफ्नै टोपीले । अनि चिसो पानी घटघट पिउँथे नबिसाई । अनि घरको पिँडीमा फ्यात्त पसारिन्थे । ‘के खाने हो खै आज । ढिँडो होड्ल्ले त होला’ भन्थे ! खुबै मिठो मानेर सिस्नु पकाएर खान्थे दुबै जनाले । कहिले त झमक्क अँधेरै हुन्थ्यो घरमा पुग्दा ! तर गजबले हिंड्थे अँध्यारो मै पनि ! उनका आँखा बुढेस कालमा पनि निकै तेज थिए । कहिले माथिनेर घर जान्थे रातीसम्म गफगाफ गरेर बस्न ! हामी भित्र,  उनीहरू ढोका बाहिर ! मिठा कुरा हुन्थे । बाहुनको घरमा पस्ने कुरै थिएन ! उसो त हामी पनि पसेको हुदैँनथिम् उनको घरभित्र । दुई बीचको अन्य मान्यता तोड्न सफल भए पनि घरभित्र नपस्ने चाहिँ तोड्न सकेनौँ दुवैले ।

उनी देश र दुनियाँका कुरा बुझेर हामीलाई सुनाउँथे । राजनीतिमा चाख राख्थे ।  चुनाव आउँदा उनैलाई लाग्थ्यो धेरै । कसलाई कहाँ भोट दिने हो उनी तानाबाना बुन्थे । जुगजमाना बिग्रियो हजुर भनेर चिन्ता उस्तै गर्थे । ‘बाहुनहरू आफ्नो सत धर्म छोड्न पुगेको कुरा’ गर्थे उनी, ‘हामी मतवाली जात आफ्नै ठाउँमा छौँ तर बाहुन भनाउँदाहर खोजेरै हिँड्छन् ठाडो घाँटी लाउन’ ।

उनी बिचारका पक्का थिए ! ‘कामीको छोरो हुँ, झुटो बोल्न जान्दिनँ नानी !’ भन्थे उनी । कुनै कुराको रबाफ र घमन्ड थिएन । सम्बन्ध र बिचार दुवै राम्रो ! उनी दामी बिचार भएका कामी थिए । मान्छेले मान्छे खाने जमाना आउँछ भन्थे उनी ! हुन पनि भयो त्यस्तै । खान त खाएनन् तर मार्ने र मर्ने कुरा छिटै नै भोग्न र जान्न पायो दुनियाँले । उनी जस्ता सामान्य व्यक्ति पनि कसरी विज्ञको कुरा बोल्न सकेका हुन् ?  पढालेखा नभएका कटुवालले कसरी देश र दुनियाँको गहिरो ज्ञान राख्न सकेको ? कसरी समाजमा सबैको प्रिय पात्र हुन सकेको । कसरी समाजलाई गहिरोसँग बुझेको ? कसरी त्यो समाजमा दूत भएर मिलाएको !

करिब १६ वर्ष पुग्नै लाग्दा उनको नजरबाट धेरै पर पुगेको थिएँ ! त्यस बेला उनले सारै नजाती मानेका हुन् ! किनकि हाम्रो मित्रताले त्यही नेर बिराम लगायो र म समथर भूभागतिर बसाइ सरें । मेरो र उनको भेट कहिल्यै भएन त्यस उप्रान्त !

आउने-जाने मान्छेको मुखबाट सुनेको थिएँ । केही वर्षमै श्रीमती बितिन् रोगले गालेर । हुन पनि सारो अम्मली थिइन् उनी !
त्यसपछि त झन् उनी एक्लो टुहुरो परेछन् !  अलि वर्ष पछि कटुवाल काम छोडेछन् । उमेर घर्किंदै गएर उनी बुढा भएर बेसहारा झैँ परेछन् ।  त्यो झुपडी त झन् क्षीण हीन हुन पुगेछ । सहयोगी कोही नहुँदा धेरै गारो  परेछ ।

अन्तमा उनी पनि परलोक गएछन् जुन कुरा धेरै पछि पो सुन्न पाइयो !

यदि उनी जीवित भएको भए यो सबै कथा र व्यथा सुनेर कि त उनी हाँसेका हुन्थे या सम्झिएर रुन्थे !

तर उनी फलाम जस्तै दह्रो आत्मबल भएका सामाजिक अभियन्ता थिए जुन कुरा  उनका कथाका पन्ना पल्टाउँदा सजिलै थाहा हुन्छ । उनी कुल बिनाका कुल थिए । एक्लो जस्तै देखिए पनि उनीसँग संसारै थियो । जुन कुरा सम्झिएर लोभ नै लाग्ने गर्छ..!

रिजाइना , क्यानाडा