
उसको नाउँ थियो तोरबहादुर तर गउँमा ऊ तोर्मे नाउँले प्रख्यात भइसकेको थियो । तोर्मे एउटा अनौठो खालको केटो थियो । एक्लो कोही नभएको भुरो जहाँजहाँ अलि मीठो चोखो खान पाउँथ्यो, बस् ऊ त उहीँउहीँ नै फुरुङ्ग । उमेरले हाल ऊ चौधको मात्र भए तापनि चौबिसे भुस्तिग्रेले हम्मेसी के भेट्न सक्ला र उसलाई काममा । बामपुड्के भनूँ या भुँडुल्के भनूँ डल्याँठो भनूँ या बाउन्ने भनूँ, तोर्मेको शरीरे बनौट अचम्मको थियो । टाढाबाट हेर्दा पाँच वर्षको जस्तो तर नजिकबाट मथिङ्गल ख्याउँदा भने उसको आफ्नो उमेरभन्दा पनि ज्यादा अनुभव गर्नुपर्ने ।
तोर्मेले गाउँभरिका घरछाप्रा चहारिसकेको थियो । आज यसकामा छ त, भोलि उसकामा, पर्सि त्यसकामा छ त निपर्सि अर्कैमा । काममा चाम्रो भएकोले उसलाई जसले पनि लगौंटीको फेर च्यापेर तानिहाल्ने, तर दुई महिनाभन्दा उँभो उसले आजसम्म कसैका घरमा दिगो हुन सकेको थिएन । अलि जिबुल्ले थियो, मोही नभई उसलाई हुँदैनहुने, जतिसुकै अमिलिएको होस् न ।
थेप्चो टाउको, डल्ला गोडा, फुकेको आङ, पुड्का पाँसुला जहाँ जुन घरमा गए पनि ऊ सबैलाई फुरुङ्ग पारिदिन्थ्यो आफ्नो रूपले होइन, काम गराइले । चरनमा गाईगोरू यताउति लाग्दा ऊ कति छरितो ढङ्गले बुर्कुसिएर वस्तुहरूलाई तहमा ल्याउँथ्यो भनेर साध्यै नहुने ।
सबैले – “स्याबास तोर्मे स्याबास !” नभनी धरै नपाउने । एकचोटि तोर्मेले डिलघरे जिम्वालको त्यो ठूलो रहरलाग्दो तारे गोरू फर्किनै नसक्नै अटाब्बेको भीरमा पुग्दा कसरी आफ्नो ज्यानलाई हुनसम्मको जोखिममा राखेर कत्रो जुक्तिले फर्काएको थियो जिम्वालले, “लौ तोर्मे तँ नै छस् अब, एक जोर मजाको दौरासुरूवाल पाउँछस्, कस्सी,” भन्नासाथ तोर्मेले कस्तो भए जतिको तुजुक देखाएको थियो । सप्पैले तोर्मेको तारिफ नगरी धरै पाएनन् ।
थुम्कीटारका त्यस्ता रिसाहा, कस्तै गरे पनि खुसी नहुने बुढा सुबिदारसम्मले उसको तारिफ नगरी धरै पाएनन् । कस्तै कामले चित्त बुझाउन नसकिने सुबिदार बुढाले त उसको तारिफ गर्नमा जीउ कमाएनन्, अरू नाथे भासेभुसेहरूका के कुरा ! तर आच्या, खोइ र उसले वर्ष दिन हुँदासम्म पनि दौरासुरूवाल पाउनसकेको ! त्यसै बेलादेखि हो तोर्मे डिलघरे जिम्वालदेखि कुँडिनसम्म कुँडिएको !
उसलाई दौरासुरूवालको कत्रो सोख थियो- सोख मात्रै होइन, साँच्चै भन्ने हो भने उसलाई यसको खाँच्चै पनि थियो । हुन त उसलाई खाली दौरासुरूवालको मात्र खाँचो थिएन । उसलाई घरको खाँचो थियो- जग्गा जमिनको खाँचो थियो, शिक्षादीक्षाको खाँचो थियो । तर तोर्मेको निम्ति अहिले दौरासुरूवालको नै ज्यादा खाँचो थियो किनभने यिन दिन तोर्मेका आङमा एउटा फाटेको खाँडीको बाँकटे भोटो र त्यसमुनि एउटा ल्वाफाके खाँडीको मैलो मक्केको लगौँटीबाहेक अरू भए कात्रो ।
तोर्मे जहाँ जसका घरमा बस्दथ्यो उहाँ त्यसको खास काम वस्तु चराउनु, तिनीहरूको हेरविचार गर्नु र वनदेखि खसीबोकाका लागि अलिअलि घाँस ल्याउनु थियो । घरको टापटिपे कामको त लेखे छैन भनिदिए हुन्छ । उमेर उसको अधकल्चो भएर पनि सीप उसमा खूप थियो- डोरी बाट्नु, दाम्लो बनाउनु, नाम्लो बुन्नु पर्यो भने डोका, मान्द्रा, घुम आदिमा पनि हात चलाउनु । यस्ता काममा हम्मेसी उसलाई कसैले अराइसिकाइ गरिरहनु पर्दैनथ्यो । ऊ कति जाँगरिलो भने खाजा खाँदा पनि चुप लागेर बस्न जान्दैनथ्यो- केही न केही गरिरहेकै हुन्थ्यो । त्यसैले पनि होला क्यार तोर्मेले खानपिनमा आफ्नो विशेष हक ठानेको ।
तर, हक मानेर पो के गरोस् ऊ, अर्काको घरको बसाइ, आफ्ना हातमा केही नाई, सधैँ अरूको हातको खटन खानुपर्ने र कहिलेकाहीँ उसको चोखो मनमा विद्रोहको भावना प्रबलसित उम्लन खोज्थ्यो- मरीमरी काममा दलिइरहँदा पनि केको यो फेरि अर्कैको उदेकलाग्दो खटन खानुपरेको ! भएको चिजबिज आफूखुसी धीत मारेर खान नपाउनु । के लाइदेको होला । ऊ फेरि मनमा यसो गुन्थ्यो अनि समस्याको छेउकुनो कतै नभेट्टाएपछि कुँडिनसम्म कुँडिएर ऊ मनैमन आफूमाथि ओइरिन्थ्यो- घरखेत नहुने मोरालाई कल्ले वास्ता गर्छ र ! काम दिउन्जेलसम्म त हुन् नि यी असत्तीका पिशाचहरूले “तोर्मे” भनेर माया गरिटोपल्याजस्तो गर्ने । भोलि एकदिन मात्र हात बाँधेर सन्चो लिइहेरूँ त मसानेहरू अगुल्टो लिएर मुखमा ठोस्न आइपुग्छन् कि पुग्दैनन् । त्यो चितुवा डिलघरे जिम्वालले दौरासुरूवाल हालिदिउँला भनेर लोभ देखायो मात्रै, कुकुरदन्ते अवतार कुरै उकाउन पो छाडिसक्यो ए ।
एक छिन यसो घोरिएपछि तोर्मे विचारको यही पुछारमा आउँथ्यो, उँहुँ, यहाँ बसेर उँभो लाइँदैन, फर्सी कुहेझैँ कुहेर मर्नु मात्रै हो । मरीमरी काम गर्यो- एक पेट सिस्तोनिस्तो खायो भैगो । न चार पैसा कहिले देख्नओर्न पाइन्छ । न एक जोर गतिलो दौरासुरूवाल लाउन पाइन्छ । बर्ख दिनको दस रूपियाँ भनेर गोठालो राख्छन् : कस्ता छिलिएका कुरा अर्काको पसिना एकदुई, दुईचार महिनाको ता, गाँठे हो पत्तै पो छैन । चानेचुनेको हिसाप नगर्ने रे ! भन्ज्याङ्गे देउताले पनि केलाई बाँकी राखेका होलान् नि यी मुर्कुटाका अनुहार परेकाहरूलाई !”
तोर्मे फेरि विचारको अर्कै खोबिल्टोतिर जाकिएर मुर्मुरिन थाल्यो- अस्ति संसारे माईको पूजामा बिरामीदेखि उठ्नेबित्तिकै रूखिएर आँत हरर भएको बेलामा दुई चोक्टो पर्सात (मासु) दिइहाल्छन् कि त भनेर कत्रो न आशाले गाको त ऊ उसका बाबु जिम्वाल जन्तरेले त अगुल्टो लिएर पो लखेट्तो ए ! उसकामा बसिन रे, दौरासुरूवाल मागेँ रे, मान्छेको मुखेन्जेल इजेत गो रे ! चितुवाले कस्ता चेपारे पार्नजान्या हाम्रो घरवारी, गाई- गोरू जरजेथो लिएर पुगेन र अब जिवै पनि लिएर सन्तोष लिनखोज्छ । पापिस्ट मोराको पाप धुरीदेखि कराएको एकदिन आफ्नै आँखाले देख्न पाउँछु- पाउँदिनँ ।
उँहुँ, यस मसानेले बास गरेको ठाउँमा अडिन खोज्यो भने आफ्नो जीउ पनि भन्न पाइँदैन । जानुपर्छ क्यार बरु नेपालैतिर जागिर खान । गाँठे हो, यी जिम्वाल मोराहरूको उछित्तो र भस्मखरानी कसले गर्ला र ! घरी झ्वांक पो उठेर आउँछ- असत्तीको उछित्तो पार्न नेपाले देउता उठाएर पिण्ड खाने जिम्वाललाई निभाइद्योन भनेर खन्तरे मामाको मीत छोराको जेठुलाई भनिहालुँ भन्ने ।
डिलघरे जिम्वालको जेठो छोरा जालीनरसिंह बाबुसित मिल्न नसकेर छुट्टै अलगिएर बसेको थियो । तोर्मे उसैका घरमा दुई महिनादेखि गोठालो भएर बसेको थियो । जालीनरसिंहले अगिल्लो गोठालोलाई वनबाट फर्कंदा अलिकति घाँस ल्याएन भन्ने निहुँले एकदिन पाता फर्काएर बेसरी चुटेकोले भदौको दिन विदेश भागेर गएको थियो । बिचरा भदौरे भेलमा खोला तर्दा… के भएछ, के भएछ, त्यहाँदेखि बेपत्ता भएको आजसम्म बेपत्तै । गरिपगुरुवाका छोराछोरीलाई कसले खोजीनीति गर्ने ! कुकुरका छाउरा फात्लाकफुत्लुक जन्म्यो, ठालुहरूका निगाहाबाट मरिकुस्त काम गरेर दाँतेजोर्नीमा चार सिता भात च्याप्यो अनि फुस्स भयो । सामाजिक विषमताको मर्म के थाहा ?
त्यसैले होला अगाडि तोर्मे त्यहाँ बस्न डराएको थियो । यसैमा जालीनरसिंहले दौरासुरूवाल एक जोर दसैँमा हालिदिउँला भनेको र जाडोले घाँटी मस्काउन आँटिसकेकोले नै तोर्मेलाई त्यहाँ बस्न कर लागेको थियो । तर, आमै दुई महिना बित्तिसक्यो र पनि कुनै कुरोकन्थे छैन । तोर्मेले सारा दसैँ लगौँटी र भोटैमा बितायो । तिहारमा हालिदिन्छन् कि भनेर तिहार पर्ख्यो, तर तिहारले पनि आफ्ना नाङ्गो आङ फर्काउनु सिवाय केही जानेन । तिहारमा त दौरासुरूवाल ढल्काएर पिङ खेलुँला भन्ने तोर्मेले विचारेको थियो, तर तोर्मेजस्ता हजारौं तोर्मेको पसिना र कमाइ नलुटी कोही पनि ठालु- धनाढ्य हुन सक्तैनन् भनेर तोर्मेले बुझेको थिएन ।
तोर्मेले दौरासुरूवाल पाएको छैन, ऊ नाङ्गोभुतुङ्गो छ, जाडोले कठिङ्ग्रिन लागेको छ भनेर तिहारले उसलाई पर्खेन । तिहार आयो गयो तोर्मेको कुनै खाँचो टार्न सकेन बरु उसलाई औडाहा मात्र दियो । अब तोर्मे त्यो बिचरा डल्लो केटो बिहान झिसमिसे उठेर स्यू-स्यू गरेर काम्दै बाहिर जाडामा निस्केर काम गर्थ्यो र एक डल्लो ढिँढो, अलिकता गनाउने मोही र कुहेको गुन्द्रुकले आफ्नो पेट उक्साएर ती २५/३० ओटा गाईगोरुका बथान वनतिर लैजान्थ्यो अनि फेरि काम्दै बेलुकीबेलुकी पिठ्यूँमा घाँसको सानोसानो भारी झुन्ड्याएर थर्थरी काम्दै लुरुलुरू फर्कन्थ्यो ।
मङ्सिरको आधाआधी पनि बित्यो, तर तोर्मेले दौरासुरूवाल पाएन । दिन त जिनतिन तोर्मे काट्थ्यो, तर रात त्यो हिउँजस्तो कठोर चिसो रात उसको निम्ति काट्न अति नै गाह्रो पर्थ्यो ! एक रात बिताउन उसलाई बर्ख बिताउन परेझैँ हुन्थ्यो ।
गाउँमा कतिले भन्थे- “हरे शिव ! त्यो बिचरो तोर्मेलाई त्यत्रो लोभ देखाएर यतिका दिनसम्म काम लियो-लियो र कस्तो अहिलेचाहिँ यस्तो जाडोले कठिङ्ग्रिदा पनि एक जोर लुगा नहालिदिने । के त्यो श्रीसम्पत्ति मरेपछि पनि छातीमा हालेर निस्सै कोही लैजाने छैन क्यार । बिचरा काम गर्ने गोठालाको कस्तो अपहत्ते हेर्न सकेको । धन्नै मान्छे पनि औतारऔतारका जन्मँदा रहेछन् ।”
तोर्म्या जिउ साँच्चै तात्न छाड्यो । उसको निम्ति जीवन सराप भयो । चौबिसै घण्टा जिउको कुनै भाग पनि उसले तातो पाउन सकेन । यस बेला च्वाट्ट छाडेर अर्कैको घर बस्नु भने पनि फलानाका घरमा राखेको भनेर कोही हत्तपत्त नराख्ने, यहाँ त झन् दौरासुरूवाल हालिदिन्छु नै भनेर बसेको । उसमाथि तिन महिना नाघिसकेको तोर्मेले बिचबिचमा एकाधचोटि कपाल कन्याउँदै डराईडराई भनेको पनि हो- “जेठा मुखिया, म ता जाडोले सारै-सारै मरेँ, लौन ।”
तर जवाफका रूपमा जेठा मुखियाबाट ऊ यही मात्र भनेको सुन्न पाउँथ्यो- “तेरीमा भिउँटे मोरा, तैंले भन्ने बित्तिकै हुन्छ कतै ? मैले हालिदिन्छु भनेर भनेकै छु पख् न के हतार छ । अहिले यति बेलै कसैको जन्त तेर्सिने छैनस् क्यार ! जहिले म हालिदिउँला उहिले लाउलास् भएन । मैले एकचोटि यसो है भनेर भन्देपछि चुप लागेर बस्नुपर्छ । यस्ता अदल नभएको मोराले के काम गर्लास् ।”
यसपछि तोर्मेलाई अरू बोल्ने साहस भएन । ती जर्खरिएका खस्रा हात आफ्ना फुटेका कलिला दुवै गालामा ठोकिन आउलान् भन्ने डरले तर, डरको हप्काइले उसको दौरासुरूवालको अभावलाई ढाक्न सकेन । तोर्मेले एकचोटि फेरि आफ्नो सप्पै ह्याउ बटुलेर जालीनरसिङलाई उही दौरासुरूवालको झझल्को गराइदियो । जालीनरसिंहलाई रिस उठिहाल्यो ।
एकछिन तोर्मेको त्यो मायालु अनुहारमा क्वार्क्वाती हेरिसकेपछि अनि खुपसित हपार्न थाल्यो- “यस अनिकालको बिउलाई एकचोटि हालिदिन्छु भनेर भनिसकेपछि पनि कर्कर गरिरहँदो रहेछ- जा, छैन तेरा जुन बाबुबराजुले दौरासुरूवाल हालिदिन्छन्, उहीं जा, उसैकहाँ मर् । – कहाँको राजारजौटा होस् र तँलाई भन्नेबित्तिकै तयार पार्नु ? अहिले नै तेरो बाबुको कात्रो ‘दौरासुरूवाल’ लाइहालेपछि तेरो बाबु मर्दा गरेको किरिया खर्चको ऋण केले तिर्लास् ? सानो छउन्जेल पो चुपो लागेर बसेका थियौँ ! बाबुले राम्रो चाकरी गरेको थियो र हाम्रा निगाहले गर्दा मर्दा कात्रोसम्म पायो । बाबुचाहिँ उहाँ एउटा ठाडो लगौंटी र घेरा नभएको टोपी मात्र लगाएर बर्खा धपाउँथ्यो, अब यस पातकीलाई चाहिँ दौरासुरूवाल लगाएर गुन्डिनु पर्यो । जन्त जाने सुर पनि छ कि क्या हो ?”
डरको मारे तोर्मे थररर काम्यो अनि आँखाभरि आँसु पारेर बोल्दै- नबोली फरक्क फर्क्यो । उसलाई कसैले कुनै अग्लो सल्लोको रूखदेखि एक्कासी घचेटिदिएर खसालेझैँ भयो । तोर्मे एउटा कुनामा आएर धमाधम दाम्लो बाट्न थाल्यो । उसले मसाङ्ग्रिएरै बस्नुपर्यो । उसका पक्षमा आएर दुई शब्द बोलिदिने त्यस बेला त्यहाँ कोही भएनन् । उसका निम्ति वैधानिक के जाती पनि काम लागेन मन्त्रीहरू मरेझैँ भए, अड्डाअदालतका सधैँ उघ्रिने न्यायी झ्यालढोका बन्द भएझैँ भए । अनि सारा सामाजिक सङ्घ र राजनीतिक दलहरू मसानघाटमा पोलिएझैँ भए ।
मङ्सिर पनि समाप्त भयो अनि संसारभरिको जाडो बटुलेर तोर्मेको अगाडि पुस देखापर्यो, तैपनि तोर्मेले दौरासुरूवालको दर्शन गर्न पाएन । आकाशमा काला असिने बाक्ला बादल देखिन थाले, बतासको आँधी बढ्न थाल्यो अनि तोर्मेको सारा शरीर नलाग्ने कर्दले खसीको जर्कट्टो भुत्ला खुर्केझैँ खुर्किइन थाल्यो ।
एकदिन तोर्मे जेठा मुखियाका खर्कहुँदि गाईगोरु चराइरहेको थियो । जाडोले पाँच सयका ठूला हनुमानको रूप लिइरहेको थियो ! वस्तुहरू जाडाले गर्दा एकछिन मात्र चरे अनि त तिनीहरू पनि हिउँले नै हिउँले परिपूर्ण त्यस ट्याम्के डाँडाको सिर्सिरे बतासको सिरेटोले गर्दा चर्न छाडेर त्यसै डल्लो परी उग्राउन थाले । सियोजस्तो तिखो परिस्थिति देखेपछि तोर्मेले आफ्ना खस्रा दुई मुठी काखीमनि घुसारेर काम्दै यसो विचार गर्न थाल्यो- “होइन बा, यै चालले त वस्तु मर्छन्- भुसुक्क हुन्छन् । जे होस् मालिक हुन्- आफूले देखेसम्मको रक्षा त गर्नैपर्छ । उसले दिनुपर्ने कुरा नदिएर छाड्यो भन्दैमा आफूले पनि त्यसै गर्नु जाती होइन ।”
तोर्मेलाई त्यस बेला अलिअलि रूघाखोकीले पनि भेटिसकेको थियो । जाडाले कठिङ्ग्रिए पनि जीउ रनक्क रुन्केको थियो । आफ्नो नराम्रो हविगत देखेर तोर्मेका आँखा रसाएर आए । साँच्चै नै आज तोर्मेले पानीमा चुटिँदै घर फर्किनु पर्यो भने सधैँका लागि उसले आफ्नो ज्यानकोसम्म आश छाड्नु पर्ने जस्तो भइसकेको थियो ।
तोर्मेले सबै गाईगोरू भेला गर्यो र घरतिर लैजान खोज्यो, तर वस्तुहरू भने हिँड्न पटक्क मन गर्दैनथे । एक लठ्ठी खायो, यसो दुई हात जति यस्सो खुट्टो चाल्यो अनि फेरि टक्क । तोर्मे एकदम हैरानहैरान भयो, एकदम आकुलव्याकुल भयो । पानी पनि ठुलठुला थोपा गरेर टाप्पटिप्प यताउति भर्न थाले । एकचोटि त तोर्मेको निधारैमा ट…प्प एक ढयाब्रे थोपा परिहाल्यो । तोर्मे झसङ्ग भयो आकाशतिर हेर्यो- एकदम कालाकाला बादल, अहिल्यै प्रलय मचाउलान् भनेजस्तो अनि दक्षिणतर्फ आँखा के घुमाइ हेरेथ्यो- देखिहाल्यो अटेसमटेस पानीको मुस्लो । यसपछि, आत्तिएर तोर्मेले आँखा चिम्लेर वस्तुहरूमाथि आफ्नो लठ्ठी बर्साउन थाल्यो !
आधा बाटो मात्र तोर्मेले के काटेको थियो, पानी र असिनाले छोपिहाल्यो । हुनसम्मको बिजोक भएपछि बल्लतल्ल तोर्मेले आफ्नो र गाई-गोरूको ज्यान घरसम्म पुर्यायो । उसको सारा शरीर भिजेको थियो, भोटोबाट पानी तर्किरहेको थियो । जरो पनि बबुराको फुटिसकेको रहेछ । घुम्लुङ्ग सिरक ओढेर अगेनातिर न्यानो तापेर बसिरहेका जेठा मुखियाका अगाडि तोर्मे काम्दै उभियो ।
जेठा मुखियाका आँखा राताराता थिए । तोर्म्या गोडामनिको भुइँ थर्केझैँ भयो । – “वस्तुहरू के गरिस् नि ? कि यस्तो असिन्धारे पानीमा बेस्सरी चुटाएर ल्याइस् ?” जेठा मुखियाले बम्किदै सोधे । तोर्मे चूप भयो, ऊ डरले बोलेन । जेठा मुखिया झन् बम्के, “भन् ए मुर्धा, किन थुतुनो च्यात्तैनस् ? उसकी आमाको एघारौं लादिएपछि, काम राम्ररी गर्नुपर्छ कि पर्दैन । मार्यो यस असत्तीका बहानले आज सारा वस्तुभाउहरू !”
आखिर केही नलागेपछि तोर्मेले डराईडराई उत्तर दियो- “ल्याउँदै थिएँ हावर हावर, बिच बाटोमा आइपुगेपछि छोपिहाल्यो पानीले, मैले के गरूँ हजुर ?”
जेठा मुखिया आगो भए तोर्म्या कुरा सुनेर । उनी के सम्झेर हो जुरुक्क उठे अनि माथि दलिनहुँदि सिउरिराखेको मोटो छोछोटो लौरो झिके । तोर्मेले काम्दै जम्लाहात गरेर कर्रकर्र दाँत बजाउँदै- “बिराएँ हजुर” भनेर भन्यो, तर, तोर्मेका दुःखदायी पुकारले जेठा मुखियाको गिदीलाई केही असर पार्न सकेन । उनले तोर्मेका ती फुस्रा पानीले निथ्रुक भिजेका टुपीसहितका जगल्टा अँठ्याएर बाहिर घिसार्दै ल्याए अनि कस्सी कस्सी तोर्मेको भिजेको आङमा खपी पाँचछएक सोठ्याए । तोर्मेले दुईतिन चोटि “जेठा मुखिया मेरो जेठा मुखिया” भनेर कोकोलोसित करायो…सके आत्तिएर होला, कहालिएर होला ।
तोर्मे ज्वरोले निस्लोट भएर सुत्यो तिनै चिसा लगौँटी र भोटा लगाएर । ऊ ज्वरोले बेहोस भइसकेको थियो । उसलाई खानओर्न पनि दिइएन । खाली केके हुन्, अनेक थोक बक्न बर्बराउन मात्र थाल्यो । उसको बिजोक हेर्न नसकेर कुन्नि कसले हो एउटा पातलो तर उखर्माउलो मैलो ओढ्ने तोर्मेलाई ओढाइदिएछन् । तोर्मेले आफ्ना हातगोडाले ओढ्ने फ्याँक्तै भन्यो- “चाहिँदैन मलाई ओढ्नेसोढ्ने, मलाई जाडो भएको छैन, मलाई गर्मी भइरहेछ- मलाई चिसो पानी खनाइदेऊ- अहा क्या ठण्डा हुने थियो !”
आज पूरा सात दिन भयो तोर्मे ढलेको । तर अब तोर्मे नबाँच्ने भयो । ऊ रूपहीन हुँदै गयो । पहिलेका मान्छेसम्मले उसलाई चिन्न छाडे । तोर्मे अब बर्बराउन पनि छाड्यो । धामीलाई जेठा मुखियाले थाल ठटाउन पनि लगाए तर कसैको केही लागेन ।
तोर्मेले आखिरचोटि विस्तारै- “दौरासुरूवाल” भनेर आफ्नो आन्तरिक इच्छा फेरि व्यक्त गर्यो ।
जेठा मुखिया अलि अघि सरे- अनि आफ्नो प्यारो नोकर तोर्मेलाई भने, “हालिदिउँला तोर्मे, हालिदिउँला, नहड्बडा, दौरासुरूवाल पाउँछस् । यता मतिर एक फेरा हेर त ।”
तोर्मेले जेठा मुखियाको त्यो डरलाग्दो अनुहारमा केही माग्न खोजेझैँ गरी एकचोटि पुलुक्क हेर्यो अनि सधैंका लागि उसले आफ्ना आँखा बन्द गर्यो ।
(‘प्रज्ञा आधुनिक नेपाली कथा भाग – ३’ बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

