बिग्रिएको ल्याटप भर्खरै बनेर आयो । काम त्यत्तिकै पेन्डिङ् थिए । चाँडै सक्नु थियो । तुरुन्तै ल्याटप खोलेँ । स्क्रिनमै एउटा वर्ड फाइल देखियो । ल्याटप बाहिर पठाउनुपर्यो भने सबै फाइल गोप्य राख्नुपर्छ । म पनि राख्छु । त्यापटप बनाउन पठाउनुअघि मैले अच्युतलाई मेरो गोप्यता सम्झाएको पनि थिएँ । कम्प्युटर खोल्दा नयाँ फाइल देखियो । त्यो फाइल बाहिर देख्ने बित्तिकै झनक्क रिस उठ्यो । सोचेँ, भाइले भित्रका फाइल चलाएछ । फाइल खोलेर हेरेँ । आश्वस्त भएँ, त्यो मेरो थिएन । डिलिट गरेँ । आफ्नो ल्यापटपमा अर्काको फाइलमा मेरो फाइल राखेकोमा ऊसँग रिस उठिरहेको थियो । ऊ घर आइपुगेको थिएन । आएपछि एकपटक फेरि सचेत गराउनुपर्ला भन्दै काममा लागेँ ।
लेख्दै गर्दा मलाई बेलाबेलामा कालो चिया चाहिन्छ । यही मेरो सबैभन्दा प्रिय अम्मल हो । भान्साबाट चिया आइरहेको थिएन । भाइ कोठामा देखियो । चिया नपाएकोमा मलाई रिस उठ्दै थियो, ठीक यही बेला आइपुग्यो । चियाको रिस र नयाँ फाइलको निहुँमा मैले कराएँ, “मेरो ल्यापटपमा अर्काको फाइल कसरी आइपुग्यो ? तँलाई ल्यापटप बनाउन पठाएको कि अर्काको फाइल राख्न ?”
अचानक रिसाएकोमा ऊ छक्क पर्यो । नजिकै आएर अच्युतले भन्यो, “तेरो ल्यापटपमा अर्काको फाइल किन राख्नु ? राखेकै छैन ।”
ल्यापटपबाट फाइल डिलिट भैसकेको थियो, देखाउन सकिनँ । अपमानित हुँदै रिसाइकल बिनमा गएँ । फोहोरको थुप्रोबाट भर्खरै डिलिट गरेको फाइल खोजेँ । धन्य, फाइल फोहोरभित्रै रहेछ । रि-स्टोर गरेँ । अनि भनेँ, “यो फाइल मेरो कम्प्युटरमा कसरी आयो त ?”
अच्युतले फाइल खोल्यो । हेर्यो । अनि लापरवाहीपूर्वक भन्यो, “ए, एउटी च्वाँक केटी यो डकुमेन्ट प्रिन्ट गर्न पसलमा आएकी थिई । लोडसेडिङले डेस्कटप बन्द थियो । पेन ड्राइभबाट कपी गर्न तेरो ल्यापटप युज गरेको थिएँ । काम सकियो, डिलिट गर्दा हुन्छ ।”
ऊ कोठाबाट बाहिर निस्कियो । अघि सजिलै डिलिट गरेको फाइल अहिले डिलिट गर्न सकिनँ । अच्युतले कुनै सुन्दर केटी यो डकुमेन्ट प्रिन्ट गर्न आएकी भनेपछि त्यो हेर्न मन लाग्यो । आखिर लोग्नेमान्छेको मन च्वाँक केटीको नाममा पनि तातो महसुस गर्छ । म कति नै फरक थिएँ र ?
फाइल खोलेँ । शुरुमा अंग्रेजीमा केही लामा वाक्य थिए । कुनै अंग्रेजी लेखकको भनाइको संकलन थियो । केही तल एउटा कुनै पत्रजस्तो देखियो । पत्रको शुरुवात नै आकर्षक थियो । म उत्सुकतापूर्वक पत्र पढ्न थालेँ । पढ्दै जाँदा मैले सबै काम बिर्सिएँ । एउटा अत्यन्त गोप्य पत्र ल्यापटपमा आइपुगेको रहेछ । सुनेको थिएँ, हुलाकको जमानामा एउटाले पाउनुपर्ने पत्र मिसप्लेस भएर अर्कोले पाउँथ्यो रे । आजको आधुनिक युगमा पनि यसरी अर्काको निजी चिठ्ठी कता-कताबाट पर्सनल कम्प्युटरमा आउने रहेछ । मुसुक्क हाँसेँ र फेरि शुरुदेखि पढ्न थालेँ ।
******
प्यारी गुराँस,
यो बेला मेरो मनमा तिम्रा लागि प्रेम वा स्नेहजस्ता भाव महसुस गरिरहेकी छैन । बरु भित्रभित्र घृणा वा हेयजस्ता केही भाव उत्पन्न भइरहेको छ । मेरो पत्र पाएर तिमीलाई आश्चर्य लाग्ला । पत्र लेख्नु बाध्यता पर्यो । जीवनका बाटामा हिँड्दै गर्दा अचानक यस्ता पर्खाल खडा हुन पुग्छन् जसलाई सजिलै भत्काउन सकिँदैन । त्यस्ता पर्खाल भत्काउन पनि यस्तो पत्रको आवश्यकता पर्दो रहेछ ।
तिमी मसँग आफ्ना जीवनका केही गम्भीर कुरा गर्न आएकी थियौ । केही सल्लाह पनि मागिरहेकी थियौ । दिनभरि हामी खुला दिलले बस्यौँ, कुरा गर्यौं । तिम्रो व्यवहार पहिलेजस्तै थियो । तिमीले उस्तै सम्मानपूर्वक कुरा गर्यौ, मेरो प्रशंसामा सयौँ शब्द खर्च गर्यौ । म तिम्री शिक्षिका थिएँ, त्यसैले तिम्रा प्रशंसा सही पनि होलान् । तैपनि आजको मितिमा तिमी मेरी विद्यार्थी मात्र रहिनछौ । यो कुरा थाहा पाउँदै गर्दा म भान्सामा तिम्रा लागि चिया पकाउँदै थिएँ, त्यो बेला भान्सामा रहेका सबै भाँडा फुटालिदिऊँजस्ता भइरहेकाे थियो । तिम्रो कपाल समातेर घिसार्दै घरबाहिर निकालौँजस्तो भएको थियो, म भित्र-भित्र रोइरहेकी थिएँ । साँच्चै, जब तिमी खुशीले मुख नचाउँथ्यौ, म इर्ष्याले भुतुक्क हुन्थेँ । तिमीले एउटी अभिभावकका रुपमा मलाई जे-जे कुरा सेयर गर्यौ, तिमीलाई थाहै थिएन, त्यो कथामा म पनि एउटी मात्र थिएँ । यस्तो अवस्थामा म सजिलै तिम्रो मार्गदर्शन कसरी गर्न सक्थेँ र ? मैले सकिनँ । मुटु मिचेर, आँसु लुकाएर, रिस थामेर तिमीसँग हाँसिरहेकी थिएँ । तिम्रा कुरा सुनिरहेकी थिएँ ।
गुराँस, तिमीलाई पत्र लेख्नुबाहेक मसँग आफ्नो पीडा पोख्ने कुनै माध्यम छैन । सायद तिमीले बुझिसक्यौ, म के कुरा गर्ने मुडमा छु । तिमी यसलाई पूरै पढ्न पनि सक्छौ, आधा पढेर डिलिट गर्न सक्छौ, तिम्रो मर्जी । जहाँसम्म मेरो विचार छ , तिमीले पत्र पूरै पढ्नुपर्छ । यो पत्रले त्यो दिन तिमीले सोधेका केही प्रश्नको सीधा जवाफ दिनेछ । तिम्रो भविष्य निर्धारण गर्न पनि मद्दत होला । मैले एउटी शिक्षिकाले आफ्नो विद्यार्थीसँग कति कुरा गर्नुपर्छ भनेर नापतौल गर्दै जीवन बिताएकी छु । पहिलोपल्ट पढाएका विद्यार्थी डाक्टर, इन्जिनियर भैसके । तैपनि उनीहरुलाई म आफूभित्र सजिलै प्रवेश दिन्नँ । आज मलाई पहिलोपटक त्यो नापतौलबाट बाहिर आउन मन लागिरहेको छ । थाहा छैन, तिमी के सोच्छौ ?
******
प्यारी गुराँस,
आज पनि म त्यो दिन सम्झिरहेकी छु, जुन दिन तिमी ६ कक्षामा भर्ना हुन हाम्रो स्कुल आएकी थियौ । तिमी जसको हात समातेर आएकी थियौ, त्यो व्याक्तिले प्रभाव पार्न खोजिरहेको थियो । मेरै शिक्षक साथी थियो । ऊ नेपाली विभागमा नयाँ थियो, म अंग्रेजीको डिपार्टमेन्ट प्रमुख । उसलाई महत्त्व दिनुपर्ने कुनै कारण छैन भन्ने लाग्थ्यो । नमिलेका लुगा लगाए पनि उसमा अनौठो आत्मविश्वास देखिन्थ्यो । उसको ग्रामीण बोली कुनै काव्य मिसिएको जस्तो लयात्मक थियो । महत्त्व नदिऊँ भन्दाभन्दै पनि उसले मलाई नमस्ते गर्दै नजिक पर्दथ्यो, हाल खबर सोध्थ्यो र कहिले पहिरन त कहिले मेरो अंग्रेजी भाषाको प्रशंसा गरिदिन्थ्यो । न त राम्रो दोस्ती बन्न सकेको थियो, न त म अपहेलना गर्ने अवस्थामा नै थिएँ । ठीक यिनै दिनमा ऊ तिमीलाई लिएर मेरो कोठामा छिरेको थियो ।
मलाई याद छ, कोठामा छिरेपछि उसले तिमीलाई नमस्ते गर्न लगायो, तिमीले गर्यौ । तिमीलाई मेरै कोठामा बसिरहन आदेश दियो, तिमीले त्यो आदेश पूर्णरूपमा पालन गर्यौ । यस्तो लाग्थ्यो, तिमी उसको आदेशबिना मुख पनि खोल्दैनौ । मलाई उसै पनि अनुशासनमा बस्ने विद्यार्थी मन पर्छ । तिमी उसको क्लास नसकिउन्जेल झण्डै एक घन्टा मसँग अनुशासित भएर बस्यौ । तिमी “जति सुन्दर थियौ, बोली उस्तै मिठो । यही कारण मैले तिम्रो नाम याद गरेँ । आज पनि मेरा सबै विद्यार्थीमा तिम्रो नाम पहिले सम्झन्छु । तिमी उसको हात समातेर स्कुल आएकी थियौ, उसको बारेमा थाहा नपाएका धेरै कुरा पनि बताइदियौ । तिमीबाटै पहिलोपटक थाहा पाएँ, केसी तिम्रो डेरावाल थियो । अर्को स्कुल छुटाएर आफैले पढाउने स्कुलमा तिमीलाई भर्ना गर्न ल्याएको थियो । ठीकै थियो, केसीजस्तो मान्छेलाई तिम्रा आमा-बुबाले जम्मा लगाएर पठाएको थिए ।
यसरी केसी र मबीचमा तिमी आयौ । किनभने प्रत्येक बिहान स्कुलमा ऊ तिमीलाई लिएर आएको हुन्थ्यो । तिमेरु दुई जना मलाई नमस्ते गर्थ्याै, तिमी आफ्नो कक्षामा पढ्न जान्थ्यौ । हामी पढाउन आ-आफ्नो कक्षामा जान्थ्यौँ । थाहा थिएन, यो जुगलबन्दी आजको दिनमा यो रुपमा प्रकट हुन्छ । थाहा थिएन, मैले तिम्रा लागि त्यही कुरा दोहोर्याउनुपर्छ ।
******
“ईला मिस, नमस्ते !”
एक धुनमा क्यान्टिनमा बसेर इलियटको पुस्तक पढिरहेकी थिएँ । ऊ मुनामदन च्यापेर मेरो अघि उपस्थित भएको थियो ।मैले मुखले नमस्ते भनेँ, हात उठाउन अल्छी लाग्यो ।
उसलाई महत्त्व दिन मन मानिरहेको थिएन ।
उसले मुनामदनलाई दुई हातको बीचमा राखेर नमस्ते गरेकै अवस्थामा भन्यो, “ईला मिस, सामुन्नेको मान्छेले दुई हात जोडेर नमस्ते गरेपछि कम्तीमा तपाईं दुई हात जोड्नुपर्छ । ठीकै छ, तपाईं मभन्दा सिनियर हुनुहुन्छ, एक हात भए पनि उठाउनुभएको भए हुन्थ्यो । यो त अपमान नै भयो ।”
मैले उसलाई ध्यान दिएर हेरेँ । ऊ रिसाएजस्तो थिएन, हाँस्दै थियो ।
सोचेँ, प्रत्येकपल्ट ऊ आफूलाई विशेष देखाउन चाहन्छ ।
“तपाईंसँग आज केही समय होला ? मसँग पनि छ ।”, ऊ मेरो सामुन्नेको मेचमा बस्दै बोल्यो, “तपाईंसँग एउटा कुरामा बहस गर्न मन लागेको छ ।”
पुस्तकमा इलियटकी नायिका समुद्र तिरमा घुम्न निस्किएकी थिई । क्रिसमसको लामो छुट्टीलाई ऊ सदुपयोग गर्न चाहन्थी । मेरो दुई घन्टी लिजर थियो । यो समय मेरा लागि इलियटकी नायिकाको क्रिसमसभन्दा महत्त्वपूर्ण थियो । यस्तो बेलामा ऊ मसँग बहस गर्ने समय माग्दै थियो ।
“यो कुनै बहस गर्ने समय हो र कुलचन्द्रजी ?”, मैले अलि झर्केको स्वरमा भनेँ, “बहस नै गर्न मन छ भने कुनै डिबेट प्रोग्राम नै राखौँ, हुँदैन ?”
“मलाई केसी सर भन्दा हुँदैन र मेम । सबैले केसी नै भन्छन् ।”, उसले परम्परागत नाम बोलाएकोमा आपत्ति जनाउँदै भन्यो, “यो सर्टकर्टको जमानामा कुलचन्द्र नै भन्नुपर्छ ।”
कुरा कहाँबाट कहाँ पुग्यो । ऊसँग कुरा गर्न थालेपछि पानीको बहाब पनि उत्तरतिर फर्कन्छ । नबोलौँ, जबरजस्ती गर्न खोज्छ, बोलौँ, कुरा नागबेली जस्तो बटारिन्छ ।
“म तपाईंसँग केही कुरामा बहस गर्न चाहन्छु । बहसका लागि तपाईंभन्दा योग्य व्यक्ति यो स्कुलमा अर्को छैन ।”, उसले फेरि फकाउने शैलीमा भन्यो, “आज समय छैन भन्नुहुन्छ भने पनि ठीकै छ, कुनै दिन विशेष समय लिउँला ।”
उसको व्यङ्ग्यले मलाई हतास बनायो । म उठेँ । उसलाई पछि लाग्ने इसारा गरेँ । पार्किङ्बाट स्कुटी निकालेँ र पछाडि चढ्न आदेश दिएँ । ऊ अप्ठ्यारो मान्दै चढ्यो । मेरो स्कुटी बानेश्वर चोक हुँदै बेकरी क्याफेमा पुगेर रोकियो । फेरि पछि लाग्ने इसारा गरेँ । उसैगरी पछि लाग्यो । रेष्टुराँको एउटा टेबुलमा गएर बसेँ । ऊ चुपचाप मेरो अघि बस्यो । मलाई थाहा छ, यसलाई चुप लगाउन यस्तै सप्राइज दिनुपर्छ ।
ऊ टेबलमा अनौठो भावले मलाई हेरिरहेको थियो ।
“भन्नुस्, कुलचन्द्रजी, कुन कुरामा बहस गर्नुपर्यो ।”, चिया अर्डर गरेपछि मैले सोधेँ ।
ऊ अक्मकायो ।
“भन्नुस् न के कुरा हो ?”
“भैगो छाडिदिनुस् ।”
बल्ल लाइनमा आएजस्तो लाग्यो । एकछिनपछि सुरुप्-सुरुप् चिया पिउन थाल्यो । उसको चिया पिउने असभ्य शैलीले म क्षणभरमै आजित भएँ ।
ब्यागबाट इलियट निकालेर फेरि पढ्न थालेँ । ऊ चिया पिउँदै मलाई हेरिरहेको छ भन्ने कुरा महसुस गरिरहेकी थिएँ ।
“ईला मिस…।”, एकछिनपछि उसको मधुरो आवाज आयो ।
मैले नसुनेझैँ गरेँ ।
क्षणभरमै उसलाई हेर्दा ऊ मलाई नै मायालाग्दो रुपमा हेरिरहेको थियो ।
उसको अवस्थाप्रति मलाई दया लाग्यो । अलिकति मुस्कुराइदिएँ । “भन्नुस्, केसी सर, के भन्न लाग्नुभयो ?”
मेरो मुखबाट केसी शब्द सुनेर ऊ करले मुस्कुरायो । यस्तो गर्दा ऊ जोकरजस्तै देखिएको थियो ।
“ईला मिस, केही समय यता मलाई एउटा प्रश्नले सताइरहेको छ…।”, उसले अड्कीअड्की यो कुरा भन्यो ।
“कस्तो प्रश्न ?”, मेरो स्वर उस्तै रूखो थियो ।
“हरेक लाेग्ने मान्छेले प्रेम गर्दा, विवाह गर्दा आफूभन्दा कम उमेरकी केटी किन खोज्छ ? आफूभन्दा कम पढेलेखेकी वा कम अनुभवी युवती नै युवकको प्राथमिकतामा किन पर्छन् ?”
उसले अपेक्षा नै नगरेको प्रश्न गर्यो । साँच्चै भन्ने हो भने प्रश्न बुझ्न नै मलाई गाह्रो भयो । मैले उसले सोधेको प्रश्न मनमनै गुनगुनाएँ । झन् अकमकिएँ ।
“त्यो त लोग्नेमान्छेलाई थाहा होला नि, लोग्नेमान्छेको कुरा म कसरी भन्न सक्छु र ?”
“सायद तपाईंका कुरा ठीकै होला ।”, उसले झुकेको ढाड सीधा पार्यो र भन्यो, “ तर स्वास्नी मानिस पनि जहिल्यै आफूभन्दा बढी उमेरकै केटा खोज्छन् । आफूभन्दा पढेलेखेको र सम्पन्न केटा खोज्छन् । एकातिर पढेलेखेका केटीहरू महिला अधिकारका कुरा गर्छन्, अर्कोतिर आफूभन्दा बलवान् पुरुष खोजिरहेका हुन्छन् । यो विरोधाभास होइन ?”
म फेरि अक्मकिएँ । उसले मलाई मनपर्ने कुरा नै गरिरहेको थियो । एकदमै तर्कका साथ ।
तपार्ईं स्वास्नीमान्छे भएकाले लोग्नेमान्छेको कुरा भन्न सक्नुहुन्न, तर महिलाको कुरा त भन्न सक्नुहुन्छ , किन केटीहरू आफूभन्दा सक्षम केटा खोज्छन् ?
म निरुत्तर भएँ ।
“तपाईं अंग्रेजीमा मास्टर्स हुनुहुन्छ । अब त हाम्रो स्कुलको हेडअफ डिपार्टमान्ट हुनुभएको छ । तैपनि तपाईंको च्वाइस प्रिन्सिपलतिर छ । मजस्तो सामान्य टिचरतिर छैन । किन होला ?”
“के भन्न खोज्नुभको ?”, मैले कड्केर हेरेँ । आफ्नो हैसियत नै विचार नगरी बोलेकाले हुनसक्छ, मलाई रिस पनि उठ्यो ।
“नराम्रो नमान्नुस् न । मैले उदाहरणका रूपमा मात्र भनेको हुँ । यो तपाईंको मात्र होइन, आम महिला-मनोविज्ञान हो । आखिर किन यस्तो हुन्छ ? महिलाअधिकारको कुरा गर्ने हो भने त सोचाइमा पनि परिवर्तन हुनुपर्छ होइन र?”
मैले उसलाई ध्यान दिएर हेरेँ । ऊ गम्भीर देखिन्थ्यो ।
******
मेरो २६ औँ जन्मदिन ।
विद्यार्थीहरूले सानो कार्यक्रम राखेका थिए । सबैको मुखबाट “ह्याप्पी बर्डथे मेम !” निस्किरहेको थियो । उनीहरू आफ्नो ब्यागबाट चकलेट, चिम्टी, लिपिस्टिक, पुस्तक र यस्तै उपहार दिँदै शुभकामना दिइरहेका थिए । यही हल्लाबाट ऊ मेरो कोठामा छिर्यो । एउटा ग्रिटिङ् कार्ड दिँदै शुभकामना दियो । सबै शिक्षकबाट उपहार पाएकी थिएँ, ग्रिटिङ्समा लेखिएका शब्दहरू अली विशेष लागे ।
“तपाईं सबैभन्दा पहिले असल युवती । दोस्रो, घरभित्रकी चकचके, जिज्ञासु र आमा-बुबाकी प्यारी छोरी, तेस्रो नम्बरमा विद्यार्थीकी असल टिचर । त्यसपछि मात्रै तपाईं पढेलेखेकी, स्मार्ट डिपार्टमान्ट प्रमुख । साथी-मित्रबीचमा यो क्रमबद्धतालाई कहिल्यै नबिर्सनू होला । तपाईंलाई हार्दिक शुभकामना !”
उसले दिएको ग्रिटिङ्मा लेखिएका यी शब्दहरू पढेँ । के भन्न खोजेको दोहोर्याएँ । घर आएर पनि त्यसलाई धेरैपटक दोहोर्याएँ । प्रत्येकपल्ट पढ्दा ती शब्दहरूले फरक अर्थ दिइरहेको जस्तो लाग्यो । मलाई ती शब्दहरूले साँच्चै नै छोयो । उसले परम्परागत शुभकामना दिएको थिएन, एकदमै भिन्नरुपमा मेरो जीवन प्रस्ट्याएको थियो । मलाई उसको व्यक्तित्व र बौद्धिकताबीच तारतम्य मिलाउन कठिन भैरह्यो । त्यो रात मैले उसलाई सपनामा देखेँ । झल्याकझुलुक ऊ स्कुलमा, रेष्टुराँमा, कोटेश्वरको खुल्ला पेरिस डाँडामा मसँगै थियो । घरीघरी मेरो स्कुटी पछाडि झुन्डिरहेको पनि देखेँ ।
बिहानी उदासीमा बित्यो । सोचेँ, यो केसी आफुलाई जान्नेसुन्ने नै ठान्छ । ठीक लगाउनुपर्छ ।
भोलिपल्ट टिफीन अगाडिको क्लास हापेँ । पियनलाई भनेर उसलाई बोलाउन पठाएँ । स्कुटी निकालेँ । उसको क्लास पनि अरूकै जिम्मा लगाएर स्कुटीमा बसाएँ । बेकरीमा पुर्याएँ, उसैगरी जसरी पहिले पुर्याएकी थिएँ ।
“कुलचन्द्रजी, तपाईं आफूलाई के ठान्नुहुन्छ ?”, मैले थर्काएकाे स्वरमा भनेँ ।
पहिलेको जस्तै ऊ अक्क न बक्क अवस्थामा थियो ।
स्कुटीको पछाडि बस्दा पनि लुकिङ् ग्लासबाट उसले मेरो अनुहार पढ्न खोजिरहेको थियो । मेरा आँखा पढेर ऊ अहिले पनि मेरा क्रियाकलापलाई बुझ्ने प्रयास गरिरहेको थियो ।
“भन्नुस्, कुलचन्द्रजी, के ठान्नुहुन्छ, आफूलाई ?”
मलाई थाहा छ, उसलाई थर्काउन मैले उसको पूरै नाम प्रयोग गर्नुपर्छ ।
“मैले के ठानेँ र ?” ऊ केही डराएको थियो । अड्कीअड्की बोलिरहेको थियो । “मैले केही गरेजस्तो त लाग्दैन ।”
एकछिन उसको अवस्था देखेर म हाँसेँ । मलाई उसको दुइटै रूप मन पर्छ । एउटा यसरी डराएको, अक्क न बक्क भएको । अर्को बौद्धिक, तार्किक ।
“तपाईं के चाहनुहुन्छ ?”
“केही पनि चाहन्नँ ।”
“मलाई त त्यस्तो लाग्दैन । तपाईंको नियत ठीक छैन ।”
“कस्तो नियत ?”
हो त कस्तो नियत ? मैले जवाफ दिन सकिनँ । वास्तवमा उसको नियत के थियो रे ? अहो, मैले नै पो उसको कुरालाई अलि बढी रूपमा लिएँ कि ?
मसँग उसलाई जित्ने एउटा साधन थियो, मुस्कान । जब कुनै प्रश्नको उत्तर दिन सक्तिनँ, हाँसिदिन्थेँ । त्यही हाँसो उसका लागि उत्तर हुन्थ्यो ।
“तपाईंलाई जिस्क्याउन मज्जा लाग्छ । वास्तवमा तपाईंसँग चिया पिउन मन लागेर यहाँ ल्याएकी हुँ ।”
त्यसपछि ऊ हाँस्यो । मैले ध्यान दिएर उसको हाँसो हेरेँ । अनुहारमा झुस्स दारी निस्किएका थिए । त्यसले उसको व्यक्तित्व दबाएको थियो । तैपनि हाँसो निश्छल थियो । सोचेँ, यो मान्छेलाई शहरको सभ्यता सिकाउने हो भने धेरै अघि बढ्छ ।
“ईलाजी, तपाईंलाई एउटा प्रश्न सोध्न मन लागिरहेको थियो ।”, केही समयपछि ऊ सामान्य अवस्थामा आयो ।
“फेरि प्रश्न ?” प्रायः भेटमा कुनै न कुनै जिज्ञासा राख्ने यो मान्छेले फेरि केही सोध्न आँट्यो । तर जे सोध्थ्यो, नयाँ कुरा सोध्थ्यो । मलाई पनि कुरा गर्न मज्जा लागिरहेको थियो ।
केही उत्सुक भएझैँ भनेँ, “के भन्नुस् न ?”
“म अंग्रेजी पढ्न त्यति सहज महसुस गर्दिनँ । ज्ञानको भण्डार कि अंग्रेजी भाषामा छ, कि संस्कृतिमा । म संस्कृत पनि पढ्न सक्तिनँ । अंग्रेजी साहित्यकी पढन्ते भएका कारण मलाई तपाईंसँग यो कुरा सोध्न मन लागेको हो ।”
“के कुरा ?”
“माइन्ड गर्नुहुन्न भने मात्रै, है त ।”
मलाई फेरि हाँसो उठ्यो । ऊ मसँग डराउँछ तर आफ्नो बहसमा पनि सामेल गर्छ । यही अनौठो बानीले नै मलाई उसले आफूतिर तानिरहेको छ । मैले हाँसेर स्वीकृति दिएँ ।
“प्रेम भएकासँगै किन बिहे गर्नुपर्ने ? बिहे गरेकैसँग यौन सम्पर्क राख्नुको कारण के हो ? अरूसँग भएको सेक्सलाई समाजले किन नराम्रो मानेको ? प्रेम, विवाह र सेक्सलाई किन एकै ठाउँ मिसाएको होला ? यी तीन कुरा नितान्न फरक कुरा होइनन् र ?”
“तपाईंले मलाई प्रश्न सोधेको हो कि आफ्नो विचार राख्नुभएको ?”
“होइन, प्रश्न नै सोधेको । तपाईंले विश्वप्रसिद्ध लेखकका कृति पढ्नुभएको छ । प्रेम, विवाह र सेक्सका विषयमा तिनको के धारणा छ ? पश्चिमतिर पनि यसलाई हामीजस्तै गरी मिसाउँछन् कि छुट्टाछुट्टै राख्छन् ? यो प्रश्नले मलाई सताइरहन्छ ।”
उसले फेरि जटिल प्रश्न सोध्यो । हो म पढ्थेँ, पश्चिमाहरूको विचार पनि बुझ्थेँ तर यति गहनरुपमा यो प्रश्नमाथि मैले कहिल्यै विचार गरेकी रहिनछु । म सोचमग्न भएर उसलाई हेरिरहेँ । उसको अनुहारमा जिज्ञासा र कौतुहल नाचिरहेको थियो ।
आउँदैन भन्न सकिनँ । उत्तर पनि दिन सकिनँ । निकै बेरसम्म मैले उसको अनुहार हेरिरहेँ । मनमा केही पनि आएन । टिफिन सकिन लागेको बहाना बनाएर उठेँ । ऊ मेरो पछिपछि लाग्यो । बिल तिरेर एकपल्ट मुस्कुराएँ । मलाई थाहा छ, मुस्कुराएपछि उसको प्रश्नको अन्त्य हुन्छ ।
दिनभरि मेरो मन अशान्त नै रह्यो । घर फर्किएपछि पनि म छट्पटाउन थालेँ । सारा विद्यार्थीको प्यारी ईला मेमलाई, प्रिन्सिपलले समेत सबैभन्दा बढी रुचाएकी टिचरलाई यो सामान्य प्रश्नको उत्तर थाहा थिएन ।
प्रेम आत्मिक भावना हो । यसमा बिहेको के सम्बन्ध छ र ? बिहे सामाजिक संस्कार हो । जब कि सेक्स शारीरिक आवश्यकता हो । यी तीनबीचमा कुनै तालमेल थिएन । उसले सोचेको कुरा सायद ठीकै हो । यो उमेरसम्म मैले पढेका सारा कुराहरु मलाई फिक्का लाग्यो । एकपल्ट प्रेम गरिसकेकी छु, तर त्यहाँ सेक्स भएन । सेक्सको आवश्यकता पनि महसुस भएन । ब्रेकअप भएपछि सबै कुरा विस्मृत भए । त्यही बेला अक्षयकुमारको फिल्म नछुटाई हेर्नु सायद यही कारण होला, कताकता काउकुति लाग्छ । फिल्म हेर्दा मात्रै किन र, उसको पोस्टर देख्दा नै म फरक महसुस गर्छु । कहाँ अक्षयकुमार, कहाँ सेक्स ? अब घरमा विवाहको कुरा उठिरहेको छ । तर जोसँग मेरो जोडी बाँधिँदैथ्यो, ऊसँग सेक्सको कल्पना गर्न पनि सक्तिनँ।
म रातभर सुत्न सकिनँ । कुलचन्द्रले मेरो मस्तिष्कमै हिर्कायो । हृदयमा प्रेम, समाजका लागि विवाह र शरीरको आवश्यकता सेक्स । यी तीनबीच तारतम्य मिलाउन सकिनँ । जति सोच्दै गएँ, यी तीनवटै विषय फरकफरक लाग्दै गयो ।
अब समय परिवर्तन भयो । उसले पनि अक्षयकुमार मन पराउन थाल्यो । सिनेमा हलमा अक्षयको फिल्म पहिलो सो हेर्ने जोडीमा हामी पनि हुन्थ्यौँ । म शाकाहारी थिएँ । खाजा खान ऊसँग हिँड्दाहिँड्दै कतिखेर मांसाहारी भएँ, थाहै भएन ।
एकअर्काको कुरा मन पराउने सर्त त राखेका थिएनौँ तर अक्षय कुमार मन पराउने सर्त त राखेका थिएनौँ तर अक्षय कुमार मन पराउने सर्तमा म मांसाहारी भएजस्तै भयो । पहिले म ऊसँग तर्कीतर्की हिँड्थेँ । उसको नमस्कार पनि मलाई झर्को लाग्थ्यो । अब हामी कैयौँपटक एयरपोर्ट छेउको चौरमा घन्टौँ बस्न थालेका थियौँ । झिना-मसिनादेखि ठूलाठूला कुरामा आफ्नो मत राख्न थालेका थियौँ । मलाई लाग्थ्यो, ऊसँग प्रश्न मात्रै छ, मसँग प्रश्न पनि छैन, उत्तर पनि छैन । तैपनि ऊ प्रश्न राख्छ र म सुन्छु । सबै प्रश्न । यस्तो कुनै प्रश्न बाँकी रहेन, जुन उसले सोध्न बाँकी राखेको होस् । नितान्त व्यक्तिगत प्रश्न पनि बिना संकोच सोध्न थाल्यो ।
मलाई त्यो दिन रम्ररी याद छ । जीवनमा सबै कुरा बिर्से पनि त्यो पल सायदै बिर्सुंला । हामी अक्षयकुमारको फिल्म हेर्न गोपीकृष्ण हल पुगेका थियौँ । त्यो दिन मैले क्याबिन बुकिङ् गरेँ । अलिकति रोमान्टिक मुडमा थियौँ सायद । त्यो दिन गोपिकृष्णको क्याबिनमा उसले अरू बेलाजस्तो प्रश्न सोधेन, सीधै उत्तर हासिल गर्यो । उसले सबै अङ्ग सहजै छोइदियो, जुन आँट पुरानो प्रेमीले वर्षौं गर्न सकेको थिएन । उसले बिना स्वीकृति मेरा शरीरका सबै अङ्ग सुम्सुम्याइदियो । ओठमा ओठ जोर्यो । पर्दामा करिष्मा कपुर र अक्षय कुमार प्रेमालाप गर्दा हामी उनीहरूकै सिको गरिरकेहा थियौँ ।
त्यसपछि नै म उसको कोठामा छिर्न थालेकी थिएँ । तिमी खुसी थियौ, तिम्रो मनपर्ने मेम तिम्रो घरमा आउन थालेकी थिई । गुराँस, तिम्रो घर आउनु कुलचन्द्रको कोठामा छिर्ने बहाना मात्र थियो । जब प्रेममा बसिभूत हुन्थेँ, उसलाई दिन बाँकी केही रहँदैनथ्यो, त्यो बेला मेरो शरीर, मन र प्राणले उसैलाई खोज्थ्यो । प्रेम त पहिले पनि गरेकी हुँ भन्ने लाग्थ्यो, होइन रहेछ । प्रेममा परेपछि सास सासले उसलाई खोज्दो रहेछ । प्रेमले उमेर, आर्थिक र सामाजिक हैसियत सबै बिर्साइदिँदो रहेछ । त्यो बेला भन्थेँ, “केसीजी तपाईंले प्रेम, विवाह र सेक्सकबीचको फरक सोध्नुभएको थियो, अहिले यी तीन कुराबीच फरक महसुस गर्दै छु ।”
यस्तो प्रक्रिया महिनौँ चल्दै गयो ।
एक दिन उसकै कोठामा उसैले बनाएको भुटन र चिउरा खाँदै सोधेँ, “केसी, मलाई आइ लभ यु किन भन्नुहुन्न ?
तपाईंकाे प्रेम प्रस्ताव सुन्न लालयित छु ।”
त्यो दिन उसले मलाई हेर्यो, हेरिरह्यो । केही बोलेन ।
“म तपाईंको प्रेममा कति परिवर्तन भैसकेँ, हेर्नुस् त, भुटन चिउरा खाँदै छु ।”, उसलाई फकाउने शैलीमा भनेँ, “तपाईंमा केही त छ, जसले मलाई हिरोबाट जिरो बनाइसक्यो ।”
ऊ फेरि पनि केही बोलेन । बरु भर्खरै बिग्रिएको ओच्छ्यान मिलाएजस्तो गर्न थाल्यो तर मिलाइरहेको थिएन ।
“घरमा मेरो विवाहको कुरा चलिरहेको छ केटो राम्रो छ तर विवाह गर्न चाहन्न । किन थाहा छ ?”
उसले प्रश्नवाचक दृष्टि मतर्फ फ्याँक्यो ।
“म यही थोत्रे कोठामा अटाउन चाहन्छु । के छ विचार ?”
ऊ मुस्कुरायो । “ईलाजी, तपाईं पनि अरु महिलाजस्तै निस्कनुभयो । तपाईं र म साथीमात्रै हौँ । मैले कहिल्यै प्रेम गर्छु भनेको छु र ?”
“मलाई पनि तपाईंसँग प्रेम होला । यसरी निर्धक्क सम्बन्ध गाँसिएला भन्ने लागेको थिइन ।”, मैले उसको हात समाउँदै भनेँ,
“आजभोलि साच्दै छु, तपाईंसँग विवाह गर्दा सायद म खुशी रहन्छु । अब सोचौँ न, के बिग्रन्छ र ?”
फेरि पनि ऊ केही बोलेन । बुझ्न गाह्रो भएन । उसले नबोलेरै धेरै कुरा भन्यो ।
भोलिपल्ट टिफिनको समयमा उसले एउटा खाम मेरो हातमा हालिदियो । उसले त्यहाँ के लेखेको छ, बुझ्न पढिरहनुपर्छ जस्तो लागेन । उसैका अघि मैले त्यसलाई च्यातिदिएँ । पत्र विस्तारै च्यात्दै गर्दा म उसको अनुहार पनि पढिरहेकी थिएँ । हो रहेछ, उसले प्रेम र विवाह गर्न नसक्नुका धेरै कारण त्यसमा लेखेको रहेछ । उसका कारण मलाई पढ्नु थिएन । मलाई बुझ्न गाह्रो भएन, एउटा पङ्गुसँग मैले विवाहको सपना देख्न थालेकी थिएँ । काँतरहरू जति गहिरा प्रश्न सोध्छन्, त्योभन्दा धेरै सतही हुन्छ, उनीहरूको जीवन ।
मैले आँसु थाम्न सकिनँ ।
“केसीजी, तपाईंले विवाह त पक्कै गर्नुहुन्छ होला, मेरो आँसुको कसम, तपाईंको विवाह नरक हुनेछ । यो मेरो श्राप भयो तपाईंलाई ।”, छरिएका टुक्रा उठाएर उसका हातमा हाल्दै भनेँ, “तपाईंका बाध्यता तपाईंसँग राख्नुस्, कुनै पनि स्त्रीका अघि ठूला आदर्शका कुरा गर्नुअघि एकपटक सोच्नुहोला, म के बोल्दै छु ।”
उसको अनुहार अन्तिमपटक हेरौँजस्तो लागेको थियो,हेर्नै सकिनँ । आँसुको भल बग्नुअघि म ट्वाइलेटमा पसेँ र धक फुकाएर रोएँ ।
भोलिपल्ट मैले एक साताको छुट्टी लिएँ । छुट्टीभरि अब पढाउने काम नै बेकार लाग्न थाल्यो । यो सेसन सकेर जागिर छाड्ने विचार गर्दै थिएँ । स्कुल ज्वाइन गर्ने दिन सुनेँ, उसले जागिर छाडेछ । लाग्यो, कुचोले उडाउनुपर्ने कसिंगर हावाले उडाइदिएछ । सत्य प्रेमका अघि ऊ टिक्न सकेन ।
जे भयो, भैसक्यो । सोचेँ, जोसँग पहिले प्रेम गरेकी थिएँ, ऊसँग सेक्स गरिनँ । अहिले जोसँग सेक्स गरेँ, ऊसँग विवाह हुन सकेन । घरमा विवाहको कुरा चल्दै छ । अब घरले रोजेकोसँग विवाह गरे पनि सायद प्रेम गर्न सक्तिनँ र खुशीले सेक्स पनि गर्न सक्तिनँ ।
पुग्यो, न त अब कसैसँग प्रेम हुन सक्छ । न त विवाह, न त सेक्स नै ।
यी सबै घटनाबाट बेखबर तिमी मेरी प्रिय विद्यार्थी भइरह्यौ । उसका धेरै कुरा तिमीबाटै थाहा पाइरहेँ । उसले अर्को स्कुल पढाउन थाल्यो । तिमी पासआउट भएर जानुअघि तिमीले नै सुनायौ, केसीले बिहे पनि गर्यो । उसको जीवन सुखमय छ । मोबाइलमा तिम्रो डेरावाल सरकी सुन्दर श्रीमतीको तस्वीर पनि हेरेँ । लाग्यो, मलाई एक वचन पनि नसोधी उसले कसरी बिहे गर्न सक्छ ? तर गर्यो । के लाग्दो रहेछ र ? त्यही बेला सिभिल मलमा अक्षयकुमारको फिल्म हेर्न गएँ । अक्षयकी हिरोइन करिना कपुर थिई । महिलाहरु कति चाँडो फेज आउट हुन्छन् । हिजो ऊ करिष्मासँग रोमान्स गरिरहेको थियो, आज दिदी चलचित्र दुनियाँबाटै हराई । आज बहिनी करिना आइपुगी । म चलचित्र कम, महिलाको जीवन बढी नियालिरहेकी थिएँ ।
******
प्रिय गुराँस,
अस्ति तिमी आयौ र भन्यौ, “म केसी सरलाई प्रेम गर्छु, म के गरुँ ?”
यो प्रश्न मात्र थिएन, मेरा टाउकोमा बजारेको घनको चोट थियो ।
तिमी दिनभरि बस्यौ, धेरै कुरा गर्यौ । तर यही एउटा प्रश्न मेरो शरीरमा सयौँ भोल्टको करेन्ट लगाएसरह भयो ।
तिमीले उसको विवाह दुःखदायी भएको खबर सुनायौ । त्यो त हुनु नै थियो । केसीलाई मेरा आँसु लाग्नु नै थियो । लाग्यो । यो खबर मेरा लागि खुशीको हुनुपर्दथ्यो, भएन । किनभने उसको विवाह असफल भएको कथा सुनाएलगत्तै भनिहाल्यौ, “म केसी सरलाई प्रेम गर्छु । उहाँ आफ्नो वाइफलाई डिभोर्स गर्न चाहनुहुन्छ । मसँग विवाह गर्न चाहनुहुन्छ । म के गरूँ ?”
म के भन्न सक्छु र ? तिम्रो प्रश्नमै तिम्रो निर्णय झल्कन्छ ।
यो कुरा थाहा पाउँदै गर्दा म भान्सामा तिम्रा लागि चिया पकाउँदै थिएँ, त्यो बेला भान्सामा रहेका सबै भाँडा फुटालिदिऊँजस्तो भइरहेको थियो । तिम्रो कपाल समातेर घिसार्दै घर बाहिर निकालूँजस्तो भएको थियो । त्यो बेला तिमीले सजिलै आफ्ना कुरा भनिरहेकी थियौ, म भित्रभित्रै रोइरहेकी थिएँ । साँच्चै, जब तिमी खुशीले मुख नचाउँथ्यौ, म इर्ष्याले भुतुक्क हुन्थेँ । तिमीले एउटी अभिभावकका रूपमा मलाई जेजे कुरा सेयर गर्यौ, तिमीलाई थाहै थिएन, त्यो कथामा म पनि एउटी पात्र थिएँ । यस्तो अवस्थामा म सजिलै तिम्रो मार्गदर्शन कसरी गर्न सक्थेँ र ? मैले सकिनँ । मुटु मिचेर, आँसु लुकाएर, रिस थामेर तिमीसँग हाँसिरहेकी थिएँ । तिम्रा कुरा सुनिरहेकी थिएँ ।
थाहा छैन, केसी कतिजनासँग प्रेम गर्छ । कतिजनासँग सेक्स गर्छ र कतिजनासँग विवाह गर्छ । थाहा छैन, उसका लागि कुन प्रेम हो, कुन सेक्सको साधन हो र कुनचाहिँ विवाह हो । उसले मलाई प्रश्न सोध्यो र थाहा पाएँ । प्रेम, विवाह र सेक्सका विषयमा स्पष्ट भएँ । ऊ अझै स्पष्ट छैन । म यति मात्रै भन्न सक्छु, तिम्रो भविष्य सुखद छैन भन्ने मलाई थाहा भैसक्यो । उसले श्रीमतीसँग डिर्भोस गरेका छैन तर तिमीसँग रोमान्समा छ । तिमी उसको विद्यार्थीबाट कहिले प्रेमिका भयौ, सायद मलाई जस्तै तिमीलाई पनि थाहा भएन होला । तिमीले मसँग उसको प्रेम प्रसङ्ग सुनाउँदै गर्दा तिमीहरूबीच केके भैसक्यो, म राम्ररी अनुभव गर्न सक्छु । अब मैले कुनै निर्देशन दिनुको अर्थ पनि छैन । तिमी तिम्रो निर्णय गर्न स्वतन्त्र छौ । जे गर, बुझेर गर । मेरो शुभकामना ।
******
प्यारी गुराँस,
पत्र सक्नुअघि तिमीलाई एउटा कुरा भन्न चाहन्छु । अहिले शहरमा अक्षरकुमारको नयाँ चलचित्र आएको छ । त्यसमा नायिका करिष्मा पनि छैन, करिना पनि छैन । अहिले अक्षयकुमारको अपोजिट सोनाक्षी सिन्हा छे । मिल्छ भने एकपल्ट फिल्म हेर्दा ध्यान दिएर सोनाक्षीलाई पनि हेर ।
तिम्रो सधैँ भलो चाहने,
ईला ।
*****
पत्र पढेर सकियो । गर्छु भनेर ठिक्क पारेको कुनै काम गर्न सकिनँ । मेरो मनमा ईला, गुराँस र कुलचन्द्रले डिभोर्स गर्न लागेकी महिलाको तस्वीर नाचिरह्यो ।
अश्विनी काेइरालाकाे कथा सङ्ग्रह’जुकरवर्ग क्याफे’ बाट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।