काठमाडौँको एउटा ट्रेकिङ अफिसमा ताल्चा मारिसकेपछि ऊ बिस्तारै पेटीबाट सडकमा उत्रन्छ र भर्खरै पाएको तलब तीन सय रुपियाँ खल्तीमा यसो छाम्छ । यो तीन सय रुपियाँको स्पर्शले उसलाई केही पनि नयाँ अनुभूति दिँदैन मानौँ कागजको खोस्टा हो यो । उलाई कहिले डेरा पुगूँ भन्ने जिज्ञासा पनि हुँदैन जस्तो कि हुनुपर्थ्यो । दुई महिना त हुँदै छ सानीलाई भगाएर ल्याई यहाँ घरजम बसाएको कहाँ भाग्यो त उसको स्वाभाविक उत्सुकता पहिलो तलब पाएको दिन स्वास्नीलाई भेट्ने ? उसको सानी पनि त भोकै उसलाई पर्खिरहेकी होली नै ?
लोसे कदमहरूले हिँड्दै ऊ हालसालै बितेको उसको अतीत सम्झन थाल्छ जुन अतीतले निकै लामो दुःखी जीवन बाँच्नुको कटु अनुभवको निचोड स्याम्पल जस्तै उसलाई देखाइदिएको थियो । भर्खरै एस.एल.सी. पास गरेको थियो उसले र ऊ त्यसै गाउँकी सात कक्षा पढेर घरै बसेकी सानी नाउँ गरेकी केटीसँग यसो कहिलेकाहीँ बोल्ने गर्थ्यो । हुनसक्छ दुवैको एक-अर्काप्रति स्नेह, माया, प्रेम यस्तै केही भावना रहेको थियो । तथापि तत्कालै बिहे गरेर दुनियाँदारीको यत्रो भुँवरीमा फस्ने दुवैको कार्यक्रम थिएन । तर कुराहरू यतिमै सीमित रहेन । एक कान, दुई कान मैदान गाउँभरि हल्ला भयो आखिर । उठी खानु न बसी खानु पार्न थाले गाउँहरूले, घरबाट निस्किसक्नु भएन, फलानोले सानीलाई स्वास्नी ल्यायो भन्नथाले र एक दिन एकान्त पारेर सानीले भनी, “भागेर जाउँ दाइ ! कुनै दु:ख गरेर खाउँला । गाउँमा टिकिसक्नु भएन, सबैले रन्डी भई भन्छन् ।” एकैचोटि खाडलमा हामफाल्न उसले सोचेकै थिएन तर सानीको आँसु उसको हत्केलामा जाम परेर बसिदियो । यस निरपराध केटीको जीवनसँग खेलवाड गर्नु थिएन उसलाई । लिउँला आगामी जीवनलाई जसरी भए पनि, कम्मर कस्यो उसले र सानीलाई भगाएर काठमाडौँ ल्यायो ।
काठमाडौँमा आएपछि दुई महिनाभित्रै उसले जीवनको कुरूप र जर्जर अनुहार देख्यो । यदि उसको इन्द्रिय र छालाले पनि स्वीकार गरेको भए ऊ पनि उसको अनुभव जस्तै जर्जर र कुरूप भइसक्थ्यो ।
एकजना गाउँले चिनाजानको डेरामा केही दिन आश्रित भएर बसेपछि बल्लबल्ल उसले वागबजारको एउटा गल्लीमा डेरा पायो, छिँडीको सानो कोठा एक सय साठी बहालमा जहाँ धैरै पानी चलाउन पाइँदन, बत्ती धेरै बाल्न पाइँदैन, कसैको कोठामा धेरै मान्छे आउन हुँदैन । दलिन खिइन्छ, भरेङ खिइन्छ, त्यसैले बहाल बढाउन पर्छ त्यसै भन्छ घरपति ।
बडेमानको टाउको गरेको यो घरपति साह्रै रक्सी खाएर राती बहालवालाहरूको कोठा-कोठा मनपरी बोल्दै, तरकारी चाख्दै हिँड्छ । केही बोलुँ डेराबाट निकालिदेला भन्ने डर । घरपतिलाई देख्दा थरथर काँप्छे सानी । बहालवालाहरूले चाकरी पुर्याउनपर्छः उसको। यो कस्तो अराजकता कस्तो मनपरी हो राजधानीमा । उसको जिज्ञासाहीन पाइलाहरू यसरी बिस्तारै अघि बढ्छन् । हुन त ऊ आज चाँडो पुग्नुपर्ने हो, कारण डेरामा एक गेडा चामल पनि छैन, ऊ भोकै छ, सानी पनि भोकै होला । भोकै त हुने नै भो केही नभएपछि । पहाड घरमा जस्तो अइँचो-पैँचो चल्दैन यहाँ ।
राजधानीमा डेरा गरेर बस्ने गरिब मान्छेको जीवन यति भयानक रूपले समस्याग्रस्त हुन्छ भन्ने थाहा थिएन उसलाई । एक सय साठी रुपियाँ आजै लगेर अहिल्यै घरपतिलाई बुझाउनुपर्छ त्यसपछि बाँकी रहन्छ एक सय चालीस । के गर्ने त्यो पैसा, कति दिन खाने के खाने ? महङ्गीको पहाडअघि तिलको दाना जति पनि छैन उसको आयस्ता । ऊ एउटा आलपिनले अलझाएर लगाएको चप्पल घिसार्दै छ आजसम्म, सानीसँग त्यति पनि छैन । पेट दुखिरहन्छ सानीको, एकपल्ट डाक्टरलाई देखाउनुपर्ने खोइ ?
डेरा फर्कने उसको बाध्यता झन्-झन् शिथिल हुँदै जान्छ । काम खोज्नको निम्ति ऊ कति ठाउँ गयो कतिपल्ट फर्क्यो, कति तिरस्कार भोग्यो त्यो उसको मनमा रातो अक्षरले लेखिसकेको छ । घर बहाल, मट्टीतेल र औषधी खर्च छुट्याएपछि यो जाबो रुपियाँले उसलाई नुन भात खान पुग्दैन । उसलाई लाग्छ, उसको खल्ती भित्रको यो तीन सय रुपियाँ पैसा होइन, ट्रेकिङ अफिसको रद्दीको टोकरीमा फालिइने खेस्रा कागज मात्र हो अथवा ट्रेकिङ अफिसको प्रोप्राइटरले खाने विदेशी चुरोटको खोल मात्र हो ।
मान्छेको जीवनको के भर ? यहाँ केही भइहाले ? आकस्मिक मृत्यु हुनसक्दैन भन्ने के ग्यारेन्टी छ ? ऊ सन्त्रासले आत्तिन खोज्छ । पन्ध्र दिनअघि मात्र उसको डेरामाथि बस्ने एकजना प्रौढ व्यक्तिको हृदयगति बन्द भएर मृत्यु भयो । भवितव्य पर्यो के दोष त्यो परिवारको । तर घरपतिले त्यस शोक सन्तप्त परिवालाई टिक्न दिएन, टिक्नै दिएन । यसलाई मेरो घरमा किन मर्न दिइस्, झ्यालबाट अहिले निकाली हाल यो लास भन्दै कराएको कराएकै भयो कस्तो क्रुर रूप धारण गरेको थियो घरपतिले त्यो दिन । सम्झँदा मुटुभित्र ऊ काम्छ अझ पनि ।
बिचरा ! आकस्मिक मृत्युको आघात सहन परेको त्यस परिवारले ‘हामी शोकसन्तप्त छौँ’ भनी सोच्नेसम्म मौका पाएन । झ्यालबाट लास तल झारेपछि कत्रो हरिबिजोग भयो चोकमा । घरपतिको हुङ्कार र फुङ्कारले गर्दा कसैले आँससम्म झार्न सकिरहेको थिएन । उसलाई पनि यस्तै केही पर्यो भने ! कानुन, न्याय, सुरक्षा केही रहेनछ यहाँ ऊ सोच्न बाध्य हुन्छ ।
धार्मिक रीति-थिति केही गर्न पाएन त्यस परिवारले । धन्य एउटा रिक्सावालले उही पनि जातिगत सहानुभूतिको आधारमा लास आर्यघाटतर्फ लगिदियो । त्यसपछि पूरा सात दिन त्यो: परिवार डेरा पर्केन, किनकि घरपतिले नचोखिइकन डेरा नफर्किने हुकुम दिएको थियो । डेरा फर्केपछि पनि त्यस सन्तप्त परिवारले धर पाएन । घरपतिले तिमीहरू मान्छे ठीक रहेनछौ, अर्को डेरा खोज झट्टै भनी आदेश दिइसक्यो । कति गाह्रो यो राजधानीमा बाँच्न । कत्रो हैकम चल्छ घरपतिको यहाँ, के त्यो घरपतिको मुट छैन ?
प्रश्नमाथि प्रश्न थपिँदै जान्छ उसको मानसमा । घरपति त ल निठुरी भयो भयो, प्रत्येक पैसाका मात लागेकाहरू यस्तै हुन्छन् तर यस्ता निष्ठुरीलाई समात्ने कानुन सरकार किन बनाउँदैन ? के हाम्रो पैसा खेस्रा हो ? पैसा तिरेर पनि हामी घरपतिको दास हौँ ? यही सोचाइमा उसलाई झोँक पनि चल्न थाल्छ ।
यत्तिकैमा एउटा ट्याक्सी अलिक अँध्यारोतिर साइड पारेर रोकिन्छ र एक किसिमले घोक्र्याइएको पारामा दुइटी ठिटीहरू ट्याक्सीबाट हुत्तिएर निस्कन्छन् । ट्याक्सी ढोका ड्याम्म लाएर स्पिड लिएर भाग्छ । फालिएका ठिटीहरू आफ्नो लर्खराउँदा पाइलाहरूलाई सक्दो सन्तुलित पार्न खोज्दै अघि बढ्छन् र एउटी हात उठाएर कराउँछे, “पख मतलबी कपटीहरू ! घरसम्म पुर्याइदिन्छु भनेर ….” उसको आवाज पनि लर्खरिएको हुन्छ ।
ऊ एकछिन जिल्लिएर ती युवतीलाई हेर्छ । उसले राजधानीलाई समयको छोटो अन्तरालमा निकै बुझिसकेको छ । उसको जर्जर अतीतमा एउटा अर्को चाहरी थपिन्छ । उत्सुकताले होइन बाध्यताले उसलाई आफ्नो डेराअघि पुर्याउँछ । ढोका ढप्काएर मात्र सानो स्टोभको छेवैमा झोक्राएर पर्खिबसेकी रहिछ ।
उसले तलब पाएको कुरा सानीलाई भन्दैन, भन्नुको कुनै अर्थ पनि देख्दैन चुपचाप गएर बिछ्यौनामा पल्टन्छ । सानीलाई उसको लोग्नेको आज निकै माया लाग्छ । सधैँभन्दा थकित र निराश देखिएको छ ऊ आज । लोग्नेको मनस्थितिको एकछिन जाँचबुझ गरेपछि सानी भन्छे, ‘उठ्नुस् हात सात धुनुस् । भान्सा तयार छ। पल्लो कोठामा बस्ने विद्यार्थीहरू कहाँबाट चामल पैँचो ल्याएर भात पकाएँ। उनीहरूलाई पनि त्यस्तै दुःख रहेछ, कहिले चिया मात्र पिउँछन् रे कहिले उसै सुत्छन् रे !’
त्यसपछि उसले सानीलाई नियालेर हेर्छ र सोच्छ, सायद हामी दुईजनाले मात्र जीवनलाई यसरी भोगिरहेका छैनौँ । सानीको अनुहारमा उसको भर्खरको कुरूप अतीत अलिकति फेरिइन लागेको जस्तो अनुभव गर्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।