
दशबाह्र दिनभन्दा ज्यादा भयो, भाग्नेहरूको लगातार ताँती छुटिरहेको छ । जापानीहरू इरावदीको पारि–पारि हुँदै टाँगीदेखि उकालो चढेर लासियोसम्मै आइपुगेका थिए । मैना बस्तीसम्मै पनि आइपुगे भन्ने खबर थियो । छेउका पेन्सनवाला सुबेदार धनपद सुब्बाले चार दिनअघि नै जहानहरूलाई हिंडाइसकेका थिए । हिजो, हठात्सँग जम्दार बाघवीर मुखिया पनि हिंडेछन् । सबै ग्वारग्वारती भागिरहेछन् ।
तल भिक्टोरिया प्वाइन्ट र रंगूनदेखि पल्टन जति भगाउँदै ल्याएर ब्रिटिशले माण्डलेबाट मणिपुर इम्फाल निकालिसकेको थियो । शत्रुलाई रोक्ने कोही छैन । बिहानदेखि पैदल भाग्नेहरू र गोरुगाडाको लश्कर सुम्प्राबुङ कच्चा सडकतिर बढिरहेको छ । यता आउने एउटा कुकुरसम्म देखिंदैन, सबै अगाडि भागेर जाने मात्रै छन् । पन्ध्र वर्षकी जयामाया आफ्नो दुईतले घरको सिहालु बरण्डामा निस्कन्छे, फेरि घरभित्र पसेर आमासँग बेरिन्छे । अरू जस्तै भागौं भन्ने उसलाई रहर लाग्छ, हाँसो-हाँसो उठ्ने डर पनि लाग्छ । सुबेदार शिवजित राई झ्याल खोलेर यहींदेखि देखिने त्यस सडकमा हेरिरहेका छन्, बिहानदेखि रात परुन्जेलसम्म, आज चार दिन भयो । भाग्नेहरू चिनिएका नचिनिएका सराबरी छन् । आफ्नो पल्टनका, धेरै साल नभेटिएका पुराना सिपाही र अफिसहरूलाई पनि तिनले देखे । आखिर यस्तो दिन आउने नै थियो, सबैले यसरी भाग्नुपर्ने नै थियो भने अघि सहजमै उठेर हिंड्नु थियो- तिनी ऐले मनमनै सोचिरहेका थिए- यी सब कमाइ, घर, खेती, सम्पत्ति छोडिराखेर हिंड्नुपर्ने थिएन यसरी ।
सुबिदार्नीले ल्याइराखेको चिया चिसो भएर सेतो जालो परिसकेको ऐले तिनले देखे ।
सुबिदार्नी बाहिर डोरीदेखि सुकेका लुगाहरू उठाउँदै थिइन् । चिया कटौरामा त्यत्तिकै लिएर गई बाहिर भान्साघरको मझेरीमा राखेर फर्केपछि सुबेदारले पत्नीलाई बोलाए । तुरुन्तै सुबिदार्नी सामुमा आइन् ।
‘सुबिदार्नी !’ तिनले दृढ स्वरमा थकित अनुहारले भने- ‘घरका सब चीज उठाऊ हामी पनि जानुपर्छ ।’
सुबिदार्नीले पतिको अनुहारमा हेरिरहिन् ।
‘यो मुलुकको अन्न खानु गोर्खालीलाई आजैसम्म रैछ भने हाम्रो केही लागेन । हैन, हाम्रो माना अझ घोप्टेको छैन भने यै मचिनामा फर्केर आई हामी सबै हाँसौँला । जयमाया…’
जयमाया ऐले सबभन्दा पहिला आँसु थाम्न नसकी सुबिदार्नीको छेउमा भुइँमा हेर्दै उभिरहेकी थिई ।
‘जयमाया, छोरी, नानी, जाँदाजाँदै कथंकाल बाटोमै हामी आमाबाबु केही भैगयौँ भने तिमीले आफ्ना दाजु विक्रमको खोजी गर्नु । ऊ पल्टने जवान मर्दैन, उसको पल्टन, म जान्दछु, इम्फाल निस्किसकेको होला ।’
जयमाया त्यहाँदेखि आफ्नो पढ्ने कोठा माथिल्लो तल्लामा गइहाली ।
रातभरि नोकरहरूको सहायताले सुबेदार-सुबिदार्नीले भारीतारी कसे । त्यस्सै माया मारेर मिल्काउने चीज कुनै थिएन । जबर्जस्ती सुबेदारले धेरै चीजहरू फ्याँकिदिए । रिमरिमदेखि नै दुई गोरुगाडीमा माल लाद्ने काम सुरु भयो । छोराछोरी, स्वास्नी कोही नभएको बूढो युवासुले मालिकहरूलाई सुम्प्राबुङ ११६ माइलको खुटीसम्म गोरुगाडी हाँकेर पुऱ्याउने भइसकेको थियो । केटोले थमाऊ र उसको झन् भर्खरकी स्वास्नीलाई थुप्रैथुप्रै चीजहरू दिइपठाएर सुबिदार्नीले राति नै छुट्टी दिइसकेकी थिइन् । दुइटा खसी र एक खोगी कुखुरा गाडीमा चढाएको बाहेक सुँगुरहरू, कुखुरा-हाँसहरू सबै सुबेदारले नोकरहरूलाई आएर लानू भने ।
बिहानै उत्तर गइरहेका गोरुगाडीहरूको लाममा सुबेदारले आफ्ना दुइटा गाडीहरूलाई पनि हालिदिए ।
सुम्प्राबुङ सडक कति दिन पानी नपरेको र अघि गइसकेका गाडीहरूको चक्काको रगेडले धूलैधूलो थियो तर कच्चा भए पनि गोरुगाडी सहजै हिंड्न सक्ने फराकिलो थियो । जयमाया अघिल्लो गाडीमाथि चढेर बूढो युवासुसँग बसेकी छ । सुबिदार्नी छोडिएर टाढा हुँदै गएका आफ्ना घर, रूखहरू, बारी, बारहरू हेर्दै सुँकसुकाउन लागेकी छन् । तर उता कति दिनको बाटो काटेर आइपुगेका गोर्खालीहरू भने हाकपारे गीत गाइरहेका थिए, ठट्टा गरेर हाँसिरहेका थिए ।
सुबेदार अग्ला, ठूलाठूला पाखुरा, ठूलो नाक, लामा आँखा भएका, गोरा, आकर्षक अनुहारमा आज सेतो कमीजमाथि फुस्रो बनियन र खाकीको पतलून लाएका हातमा बन्दूक र काँधमा बर्मेली झोला झुन्ड्याएर आफ्नो दुई गाडीको पछिपछि हिंड्दै आए ।
अप्रैलको अन्तिम साता थियो । हिंड्दा-हिंड्दै घाम छिट्टै चर्कियो तर आकाशमा कता-कता बादल देखिन लागिसकेको छ । अघि हेरिपठाउँदा ठाउँ-ठाउँ खुल्ला भएको लस्कर आँखाले देखुञ्जेलसम्म ठम्याउन सकिन्छ, पछि हेर्दा ताँती बाक्लै देखियो । घर छोडेर प्रायः छ माइल हिंडिसक्दा सुबिदार्नीले आँसु थामिसकेकी थिइन् । यताकता जयमायाले बूढो युवासुलाई पोहोर गाँवै उल्टिएर वनभात खान आएको ठाउँ पनि देखाई ठूलो चउर थियो; त्यतै तलतिर कता चिसो पानीको धारा छ पनि भनी । आफ्नोभन्दा दुई गाडीपछि हर्कराम बूढाको गाडीमाथि भुल्न लागेका बूढालाई सुबेदारले कराएर सोधे ।
‘हँ ?…?’ कान नजीकमा थापेर आँखा पनि खोलेर बूढाले सोध्यो ।
‘छोरा, बुहारी खै ?’ हातका औंलाहरू पनि प्रश्नमा उचालेर सुबेदारले फेरि सोधे ।
‘छिन हिलदेखि मणिपुर निस्क्यो होला । खबर छैन ।’ उसले भन्यो र ऐले आँखा बन्द नगरी टोलाइरहयो ।
कराएर बात गरेको सुनेर अघिल्लो गाडीदेखि गर्जमान लिम्बूले भन्यो, ‘सबले अग्घि नै जीउ जोगाइसक्यो; अग्घि नै । हामी मचिनैको मात्रै घानमा पर्यौं । रंगून अक्याबकाहरू पोहोरै चटगाउँ निस्किहाल्यो; मन्डलेको हाम्रा जेठानहरू मणिपुर पुगिहाल्यो । हामी नै मात्रै पछि पर्यौं । कसले पत्याएको थियो यी पुड्केहरू यति माथिसम्मै आइपुग्छन् भनेर ? तर क्यै छैन, सुबेदार साहेब, हामी पनि पुग्छौं । टकाब तर्नु पायौं कि डर रहेन !’
आफ्नो वेलामा आफ्नो पल्टनको नामी झगडालु गर्जमान लिम्बूले देब्रेपट्टिको गोरुलाई एक स्वाँठ लायो ।
‘तर्नु त हो तर पानी परेर खोला बढ्छ कि… भन्ने पो डर… ।’ सुबेदारले टाउको घुमाएर आकाशतिर हेरे । त्यहाँ साँच्चै बादलले बादल बियाएजस्तो गरी निक्कै बादलहरू जम्मा भएका थिए ।
‘इन्डिया निस्केर तपाईं कता जाने ?’ गर्जमानले अघि फर्केर मुन्टो मात्र पछि बंग्याई सुबेदारलाई सोध्यो ।
‘तपाईं कहाँ जाने ?’ सुबेदारले उल्टा सोधे ।
‘म डैरेक्ट दार्जिलिङ जान्छु । आफ्नो सन्तान छ ।’ गर्जमानले बतायो ।
सुबेदारले यसरी उत्तर गर्न अकमकाए । बर्मादेखि दुईपल्ट तिनी आफ्नी बोजूलाई हेर्न भोजपुर आएका थिए- आठ वर्ष र एघार वर्षअघि । पछिल्लोपल्ट बिरामी बोजू पनि खसिन् शिवजितले आफ्नो देश हेरे । सबै मुलुकभन्दा साह्रै दुःख गरेर जीउनुपर्ने त हाम्रै मुलुक मात्रै रहेछ भनेर तिनले फर्केर नेपाल नआउने अठोट गरेका थिए ।
‘मेरो पनि बसाइ त्यतै हुन्छ होला !’ तिनले पछि भने ।
भररर अकस्मात् कताबाट पानी पर्यो । गडेरीदेखि तिरपाल र कम्बलहरू झिकेर सुबेदारले जयमाया र सुबिदार्नीलाई ओढ्न दिए । घामपानी हुँदै निकै बाक्लो पानी पर्यो । जयमाया टाउकोमा कम्बलकै घुम ओढेर इन्द्रेणी खोजिरहेकी थिई ।
त्यसरी अरू अढाई माइल गएपछि पानी रोकिएर सफा पहेंलपुर साँझ भयो । शिरदेखि नै गाडीहरू रोकिंदै आए । सबैले गोरु खोलिदिए । रातको कालो बाक्लिँदै आउँदा सडकको छेउमा आगोहरू लहरै जले ।
सुबिदार्नीलाई त्यति वेला फेरि एकपल्ट रुन मन लाग्यो ।
सबैले चामल झिकेर भात पकाए । च्वाइँ र झ्वाइँ सुनियो । कसैले भात भर्साइसकेका थिए । फिर्के लाएर दाल खोड्नेहरू पनि थिए । कसैले जाँडको टिन गाडीमा ल्याएको रहेछ । सुबेदारलाई पनि ल्याइदिए ।
राति बन्दूक सिरानी लाएर सुबेदारले सुम्प्राबुङको २२४ माइल लामो सडकलाई सम्झे, आफ्नो जीवनको आगत र विगतलाई सम्झे । तेस्रो बर्मा युद्धको अलिकपछि बाबु बर्मा मिलिटरी पुलिसमा भर्ना भएर प्रथम बर्मामा आएका थिए । यस सडकको उत्तरान्त पुटाव आउट-पोस्टमा तीन वर्ष खटिंदा नै तिनी उहीं मरे । शिवजीतले पल्टनमै हुँदा दक्षिण शान राज्यको एक-एक कुना चहारेका थिए । पौडेर इरावदी तर्ने उनको पल्टनमा शिवजित र अरू चारजना मात्रै थिए ।…
जङ्गलमा छिट्टै बिहान भयो ।
फेरि गोरु कसियो । हिजोको भन्दा बढ्ता चहल-पहलसँग हिंडाइ सुरु भयो । आज बिहानैदेखि जुवारी चलेको छ । जयमाया त्यै हूलमा पुगेकी छ । अल्लारे केटाहरू रूखका टुप्पातिर र हाँगातिर आएर बस्ने जुनै चरालाई पनि बन्दूकले चान हान्छन् । एउटा चरा खसे । गाडी नै रोकेर खोज्न जङ्गलभित्र पस्छन् । डर थिएन कसैलाई सबै हाँसेका छन् । रमाइलो बसाइँ सरेको यात्रा जस्तो थियो । बर्मादेखि वनभोज खान भारत आएजस्तो रमाइलो देखिन्थ्यो ।
‘तिम्रो नाम जयमाया ?’ स्कूल पढ्दा पढ्दै यसरी हिंड्नुपरेको, आमाको अनुहार पाएको सिकुटे एउटा केटोले जयमायालाई सोध्यो ।
‘हो’ उसले भनी ।
‘मेरो नाम जयबहादुर ।’ त्यसले भन्यो ।
त्यस दिन पनि दश माइल जति हिंडेर तिनीहरू बास बसे । गोरु थाकेर गर्जमानको गाडी पछि परिसकेको थियो ।
‘अब पाँच दिन यत्तिकै हिंडिदियो हाम्रो गोरुले भने हामी ११६ माइलको खुटीमा पुगिहाल्छौं ।’ सुबिदार्नीलाई सुबेदारले बताए । ‘त्यहाँदेखि मूल सडक छोडिदिएर यता सुम्प्रियाङतिर जानुपर्छ । अनि त ज्यादाको पन्ध्र दिनमा लेटा आसाम निस्केपछि त मोटर, रेल जति पनि पाइन्छ । आज त एउटा भाले काट्छु है ?’
सुबेदारले हौसला दिए ।
राति घनघोर वृष्टि भयो । सेउलाको छाप्रोबाट हजार थोपा पानी चुहुन थाल्यो । सुबेदारले गाडीको पाल खोलेर भिज्दै छाप्रोमाथि फ्याँके । रातभरि आगो जलिरह्यो । त्यस रात कोही सुत्न सकेन ।
भोलिपल्ट बाटो हिलैहिलो भएछ । गोरुले तान्नै सकेन । आकाश अझै मेघले परिपूर्ण थियो । भिजेरै धेरै बिरामी भए ।
बाटोबाटैमा गाडी भत्केका, चीजबीज मिल्काइएका भेटिंदै गए ।
त्यस दिन चार माइल पनि अघि बढ्न सकिएन ।
भोलिपल्ट गोरु बिसाउन दिने सुबेदारको विचार थियो; रातिदेखि आफ्नो पुरानो ज्वरो पनि बल्झ्यो । दबाई थिएन; भात नखाएरै ज्वरोलाई जित्ने विचार सुबेदारले गरे ।
बिहान हिंड्न नसक्ने गाडीहरू निक्कैवटा थिए । हर्कराम बूढा आफ्नै कटेरोमा राति मरेछ । हिंड्नेहरू हिंडिहाले; बस्नेहरूले माटो दिने बन्दोबस्त गरे ।
दिउँसोतिर जयबहादुरले दुई दाना एस्प्रो लिएर आएछ । खाएर शिवजित सुतिरहे ।
भोलिपल्ट फेरि घाम लाग्यो । गाडीमा ओढ्नेहरू पनि फैलाएर तिनीहरूले गोरु हिंडाए ।
जति जति अघि गए, बिरामी भएर, बिरामी रुङेर बस्नेहरूको गन्ती उति नै बढ्दै गयो । अर्को दिन आलो माटोका चार थुप्रा । पैदल भाग्नेहरू भकाभक मरिरहेका थिए । त्यसपछि त सुबेदारलाई सोचविचारले छोड्दै लग्यो । सबै कुरा साधारण लाग्दै आयो ।
११६ माइल पुग्नलाई सत्र दिन लागेछ । अघि हिंड्दाका गोरुगाडीवाला साथीहरू कोही ऐले थिएनन् । नयाँ साथीहरू को, कहाँदेखि भेटेको, केही थाहा रहेको छैन ।
११५ माइलको टारमा पुगेर सबैको होस खुल्यो ।
अब सडक छोडेर सुम्प्रियाङतिर उकाली जाने सानो गोरेटो मात्रै रहेछ । गाडी जान सक्तैनथ्यो; आफैले आफ्ना भारी बोक्नुपर्थ्यो । गोर्खालीहरू अकमक्क परेर बसिरहेका थिए धेरै जना उकालो बढिसकेका पनि थिए । खालि नभई नहुने खानेकुरा र चीजहरू बोकेर उकालो लाग्नु थियो । सडकभरि र सडकमुनिको जंगलतिर बाकस, भाँडाकुँडा, कोटहरू बोतलहरू त्यत्तिकै फ्याँकिरहेका थिए । कुखुरा बाख्रा मान्छेभन्दा ज्यादा थिए ।
हवाईजहाज आएर टाउकोमाथि घुमेर जान्थ्यो ।
अघिल्लै दिन आइपुगेर बिसाइरहेका सुबेदार धनपद सुब्बाले सबैको लागि भात पकाए, कुखुरा काटे, चिमफिङ मिसाएको ढुटो अचार पनि टक्र्याए । कसोकसो घर जस्तै लाग्यो ।
सुबेदारले ड्याम–ड्याम गोली हानेको आवाजले भोलिपल्ट एकाबिहानै सुबिदार्नी र जयमाया ब्यूँझे । तीन गुन्टा चीजबीज बाँधेपछि बाँकी सब चीजबीजमा सुबेदार गोली हानिरहेका थिए- ग्रामोफोनमा, कपप्लेटको बाकसमा, रिकर्डको थाकमा, देवल घडीमा, ट्रंकमा, गाग्रीमा…।
एक जनाले गोरुलाई गोली हान्यो । रातै काँध लिएर गोरु निकै परसम्म दगुरेर भाग्यो अनि घुप्लुक्क लड्यो ।
‘किन मारिस् यसलाई ?’ सुबेदारले कड्केर कराए त्यसलाई ।
‘किन शत्रुलाई छोडिराखिदिनु ?’ त्यसले सोध्यो ।
“अब फेरि त्यसो गर्, तँलाई म गोली लाउँछु ।’
सुबेदारको रिस थाहा पाएर त्यसले आँखा झार्यो ।
युवासुलाई त्यहींदेखि फकाईदिए – कतिले गोरुलाई पिठ्यूँमा भारी बाँधिदिएर हिंडाउने असफल प्रयत्न गर्दागर्दै एकएकवटा कुम्लो बोकेर जयमाया, सुबिदार्नी र सुबेदार उकालो लागे : आमाछोरीले अझै एकएकवटा खसी तानेका थिए ।
एक डाँडा उक्लेर सुबेदारले स्वर्गतिर हेर्दा आकाशमा महत्त्वगर्भित निर्णय गर्नलाई झैँ ठूलठूला काला बादलहरूको सभा बसेको थियो । एकदम अदय अँध्यारा बादलहरूका फाँटमा पनि अलि कम कालै बादलहरू देखिन्थे । मेघको भय भुइँले पनि समातिसकेर धूलाहरू पनि चिसा र गह्रौं भएका थिए । रूखका टुप्पाहरू हल्लिरहेका छन्; कागहरू आत्तिएर उडिरहेका छन् । उज्याला बादलहरूको सानो उत्तर पाखामा एक ठाउँ पहेंलो-रातो रंग बिच्केको देखिन्छ । शिरमाथि अँध्यारो कालो बादल एउटा ठूलो चक्ला, हातखुट्टा गिडिएको मान्छेको आकारको, बिस्तारै ढल्दै आयो । अनि ढल्दाढल्दै पुनर्जन्म पाएझैं विराट स्वरुपको पक्षी जस्तो भयो !
० ० ० ०
जङ्गल फाँडेर बसेको ठाउँ-ठाउँ आठ-दश घरको भेटिन्छ । नत्र अतप्पे पातालभित्र एकोहोरो अघि हिंडिरहनुबाहेक केही छैन । हिंड्दा-हिंड्दा सानो सोती बनिएको छ, अरू दाहिने-देब्रे भयावह कालो वनबारी छ । तेह्रौं दिन पनि यसरी नै हिंडिरहेपछि त यस्ता घोर जङ्गलमा पुगियो जहाँ एउटा चरा कराएन, एउटा पशु देखिएन । त्यति बेला सबैलाई पशुपक्षीलाई पनि मानिसको सहारा चाहिंदो रहेछ, मानिसकै आड पाइने टाढोसम्म मात्र तिनीहरू पनि बस्न सक्ता रहेछन् र अति नै विकट वनदेखि त तिनीहरू पनि डराउँदा रहेछन् भने जस्तो लाग्यो ।
खुट्टामा कैंडा परेर हिंड्नु भएको छैन तर एक दिन बिसाउने हिम्मत कसैलाई छैन; सबै अघि घस्रने बलमै छन् । बिरामी आमाको माया लाग्छ । छोराले दिनभरि बोकेर दुई माइल पर पुन्याएपछि छोरो पनि बिरामी भयो । दिन बिराई-बिराई पानी पर्दै छ । लुगा भिजेको छ, बनपातले तानेर चिथ्राइदिएको छ । तर कुनै तर्क, कुनै ज्ञान, कुनै उत्साहको शून्यतामा पनि लस्कर बढिरहेकै छ ।
सुम्प्रियाङ आइपुगेपछि फेरि सम्म तेर्सो भेटियो औ उता साखेन गाउँतिर नलागी सबै उत्तर-पूर्व लागे । ठाउँ-ठाउँ मरेकाहरू देखिए । बिरामीलाई रुडेर बस्नेहरू अझ ज्यादा थिए ।
सुबेदारले सोद्धथे, ‘महिना दिन हुन लाग्यो, हजूर ।’
सिपाहीले उत्तर गर्थ्यो ।
‘अब कसो गर्ने त ?’
‘पर्खिनुपर्छ, हजूर ।’
कतिलाई यो प्रश्न सोधेर मन राख्नु ? सुबेदारले अब चिनेकाहरूलाई पनि नदेखी अघि हिंडिरहे । छ दिनपछि माइखोन आइपुगे । कतिवटा सिङ्गै डाँडाहरू नाघेर अब टकाबको नजीक आइपुगेका थिए । त्यसदिन सुबेदारको परिवार डेढ माइल जति मात्र हिंडेर छिट्टै बिसायो ।
झोलामा अलिकति केही बोकेर एक्लै हिंड्दै साँझमा नन्दु त्यहाँ आइपुग्यो । सुबेदारले चिनेका थिए । एक छिन बस्न लाए ।
‘एक्लै ?’ सोधे सुबेदारले ।
‘थियो साथी पनि एउटा ।’ उसले भन्यो – ‘पाँच दिन उताको बाटोमा बिरामी भयो । के गर्नु । एक दिनभरि मैले बोकेँ । त्यहाँदेखि उसलाई, स्याहारिरहें । यति दिन पर्खेर स्याहारें भन्ने हिसाबै आउँदैन, चामल सकिसकेको थियो । बाटो छेउदेखि अघि जानेहरूसित चामल मागेर पनि उसलाई रुङिरहें । सब मान्छेहरू गइरहेछन्-गइरहेछन् । हिंड्नेहरू कम हुँदै गए । रातभरि विचार गरें …।’
‘अनि ?’ सुबेदारले सोधे ।
‘बिहान उठेर साथीलाई भनें- म चामल लिएर आउँछु । म बाहिर निस्कें । म फर्केर गइन; सीधा यतै आएँ ।’
सुबेदारले आँखा झारे । ‘तिम्रो दोष छैन ।’ तिनले भने । एक छिन मनमा कुरा खेलाएर मौन भए । अनि फेरि जोड दिएर भने- ‘तिम्रो दोष छैन ।
सात दिन हिंडिसकेपछि सुबिदानीलाई ज्वरो आयो । चामल सकिसकेको थियो । कति दिनदेखि एक छाक खोले मात्र खाइन्थ्यो । सुबेदार घटेर आधा जीउ भइसकेका थिए । आमाको भारी पनि अब जयमायाले थपेर बोकी । ज्वरो आउँदै पनि सुबिदार्नी दिनभरि आफै हिंडिन् । बाँसका दुई-दुईवटा लठ्ठी सबैले टेकेका छन् । रातिदेखि ज्यादै ज्वरो आयो । अनेक किसिम बर्बराउन लागिन् । टकाबमा चामल र दबाईहरूको डिपो सरकारबाट राखिएको छ भन्ने हल्ला आइपुगेको थियो । छिटोभन्दा छिटो टकाब पुर्याउनैमा राम्रो देखेर सुबेदारले भोलिपल्टदेखि पत्नीलाई मजेत्रोको नाम्लो बनाएर बोकेर हिंडे ।
प्रकृतिको न्याय जस्तो औ जीवनशक्तिले बाँच्न खोजेर पाएको एउटा उपाय जस्तो सुबिदार्नी अचेतमा परेर हाँसिरहन्थिन्, त्यसै कस-कससँग बात गर्थिन्, पीडा र दु:ख थाहा पाउँदिनथिन् ।
रात पर्यो । फेरि सबैले बिसाए । सुबेदारलाई त रात कहिल्यै नपरोस् जस्तो लाग्यो । तिनी सुबिदार्नीलाई हकार्थे । त्यस रात बिरामीले धेरै खायो तर जातीहरूले खान सकेनन् ।
भोलिपल्ट पनि सुबेदारले त्यसरी नै बोकेर हिंडे । उनलाई लामो डर लागिरहँदैनथ्यो । तर झटक्क झटक्क चिसो त्रासले छोप्थ्यो । सुबिदार्नीलाई बोलाइरहन्थे, बोकिराखेकोमा पनि झकझकाएर बोलाउँथे । सुबिदार्नीको निद्रासँग आज उनलाई साह्रै अविश्वास थियो ।
हिंड्दै सुबेदारले आफ्नी स्वास्नीका हातहरू चिसा भइसकेका थाहा पाए । त्यहीं भुइँमा बिसाए । सुबेदार लाशमाथि घोप्टिएर रुन थाले । जयमायाले जंगल बीच छाती फुटाएर डाँको छोडी । सब चीज बुझेर पनि शरीरको अचेतावस्थाले केही गर्न नसकेको असहायपनमा झैँ अलिकति आँसु मर्नेका दुवैतिर आँखाको कापमा निस्किरहेको थियो…
सुबेदार एक्लैले लाश पुरे । पुरेर त्यहीं बसिरहे । जयमायाले पनि बाबुलाई ‘जाऊँ’ भन्न सकिन । पछि आएको कसैले मात्र दुवैलाई तानेर हिंडाए ।
त्यसपछि कति दिन हिँडियो, केही हिसाब रहेन ।
टकाब आइपुग्दा खोलाको समतल बगरभरि सारीहरू, चीजबीजहरू जताततै फ्याँकिएको दृश्य थियो । टकाब बढेर तर्नै नसकिने भएको रहेछ । पहिलेपहिले आइपुग्नेहरू त खोला त्यति नबढेको हुँदा हेलिएर नै पार भए । केही दिनपछि वर्षाको पानीले खोला बौलायो । पल्टने सिपाहीहरूले मलबाँस तेर्साएर डोरीको लठारोको एकपट्टि रेलिङ लगाइदिएर फड्के थापिदिएका थिए, तर त्यसलाई पूरै एक जनासित खोलाले लगिसकेको थियो । माथि पहाडको वनभित्र कता कतादेखि जम्मा हुँदै आएको यो खोला ऐले यहाँ जोडदार भएर बगिरहेका थियो । यो द्रुतगतिले बहन्थ्यो अनि असाध्य चिसो पानीको थियो । एक झर्का वृष्टिपछि यसले बगरै बगाउला जस्तो गर्थ्यो ।
चामल, दालको यहाँ बन्दोबस्त थियो तर आधासरी मानिस खाने भाग्य लिएर टकाब बगिरहेको थियो ।
अलिकति खुट्टा पानीभित्र खुस्केपछि काँधमा बोकेको छोरासँग बाबु बगेर गएकोगयै भएको थियो । स्वास्नी आत्तिएर लोग्नेलाई पनि अत्याएर दुवैको खोलामा अन्त भइसकेको थियो ।
नागाहरूले छोडिराखेको साँगा कुन्नि कसले यसै बेला मारेछन् । त्यस्तो दिनरातको पानीपराइमा अलिकति कचल्टाएर मासु काँचो काँचै खाइयो । लाशहरू जताततै लडिरहेका, खोलामा लगेर फ्याँक्नेसम्म होसियारी भएन । यसो लाश पल्टाएर भुइँमा जमेको पानी उघाइन्थ्यो । सफा पानी लिन खोलामा गएका २५-३० जना फर्कन सकेनन् । हैजा जस्तो भएर मानिस सोतर भए ।
गडेका आँखा, मैला केश, जुँगा-दाह्री झ्याप्प बढेका सुबेदारले बगरभरि बेहाल भर बसिरहेका मानिसहरूलाई हेरे । नयाँ हूलहरू अझै आउँदै छन् । रोगी र घाइतेहरूको बजार लागेको छ । पानी परि नै रहन्छ । बर्साती तिरपाल टाँगेर बनाइएका सबै ओतहरूदेखि भिजेका सेतो-फुस्रो धूवाँ बिस्तारै पातलिंदै मास्तिर पुगेर हराइरहेको छ ।
एक्लो फाल्टो जवानहरू त अझै फटाकफुटुक खोला तरेर जाँदै छन् । आइमाई केटाकेटीहरू तर तर्न सक्दैनन् । पाँच-पाँच मरदहरूले एउटै लामो मोटो डोरी अँठयाई खोलामा आफूलाई कीला झैं उभिएर बूढाबूढीहरूलाई डोरी पक्रँदै जान लाएर पनि दश-बाह्र जना जतिलाई तारे तर आँखासम्म पानी आउँदा निस्सासिएर आत्तिई हात छोडिपठाउनेहरूलाई टकाबले लगेपछि यो आँट पनि रोकियो । बर्खा टरेर खोला नघटेसम्म गडतीरमै पर्खिरहनुबाहेक अब अरू केही उपाय थिएन ।
टकाबको बगरै-बगर एक दिन सुबेदार उकालै गए । जयमाया पनि बाबुसँग गई। टकाब मास्तिर झन् अप्ठ्यारो हुँदै गएको थियो ।
आधा माइल जति उकालो गइसकेपछि त्यहाँ ठूलो दोभान देखियो । आफू उभिएको बगरपट्टिको खोला उताबाट आएको खोलासँग मिसिएको थियो । उताबाट आएको खोला ठूलो थियो र शायद त्यै चाहिं टकाब थियो । दोभानमा तर यस सहायक खोलाको जलराशिले टकाबको पानीलाई मिचेको थियो; यो बढ्ता गहिरो थियो होला वा बढ्ता तेजले र छिटो बग्ने थियो होला, यसको भेलमा उफ्रें भने यसैले फ्याँकेर पनि मलाई पल्लो खोलाको आधा कटाइदिन्छ, त्यसपछि चार-पाँच हात चाल्दा म पारि पुगिहाल्छु… भन्ने तिनलाई अन्दाज आयो ।
आज निकै उघ्रेको दिन थियो । जयमायालाई बन्दूक र कोट पक्रन दिएर सुबेदार पानीमा पसे ।
हेर्दाहेर्दे अन्दाजी गरेकोभन्दा सजिलोसँग तिनी पारि पुगे ।
पारि पुगेर जाडो लागेपछि मात्र उनलाई थाहा भयो उनले कत्रो भूल गरेछन् । छोरीकहाँ आउनलाई तिनी फेरि पानीमा पसे । भेलले हुत्याएर आउनै दिएन । हात–खुट्टा पूरा चाल्दा पनि खोलाले उनलाई तल-तल लगिरहेको थियो र जयमाया यहाँदेखि बाबुलाई डाकी–डाकी रुन लागी ।
सुबेदार बचे तर फेरि बल्लो बगरमा फर्कन सकेनन् ।
‘तँ बगरै-बगर उँधो आइज । म अलिक तलदेखि उता आउँछु ।’
उतादेखि कराएर जयमायालाई सुबेदारले भने ।
कुम्लो, बन्दूक बोकेर जयमाया रुँदै ओह्रालो आई । सुबेदार पल्लो बगरै-बगर हेर्दै झर्न लागेका थिए ।
बेला-बेला सुबेदार जयमायाको दृष्टिदेखि हराउँथे । डराएर जयमाया बाबुलाई बेलाउँथी । बाबुको सेतो कमीज देखेपछि उसलाई ढुक्क लाग्दथ्यो, बाबुसँग रिस उठ्थ्यो ।
एक ठाउँ खोला दह जस्तो जमेको, एक ठाउँ बग्दा पानीको माझमाझमा ठूलाठूल चिल्ला ढुङ्गाहरू उभिएका सबैलाई काटेर जयमाया उँधो आई ।
अलिक तल बगर छोडेर घुम्नुपर्ने अप्ठ्यारो ठाउँ थियो । त्यति घुमेर तल बगरमा निस्की जयमायाले बाबुलाई खोजी । सुबेदार देखिएनन् । अनेकपल्ट जयमायाले पारि आवाज पुर्याएर बाबुलाई डाकी । सुबेदार कहीं निस्केनन् । तलतिर झरिसके होलान् भनेर हस्याङफस्याङ गर्दै जयमाया ओह्रालो कुद्दै आई । ठाउँठाउँमै उभिएर उसले बाबुलाई कराउँदै बोलाई । जयमाया एक्लै अग्ला अग्ला नचिनिएका रूखहरूको मुनि रुन लागेकी थिई । साँझ पर्दै आएको पनि उसले थाहा पाई ।
बर्खा बितेर खोला दिनदिनै घट्न थाल्यो । हेर्दाहेर्दै कम्मरसम्म पनि नआउने भयो ।
अब बाँचेकाहरू सबै तर्न लागे, ठूलो पानीमा त्यति बिघ्नलाई मारेर पठाएपछि आफू यसरी बाँचे र तर्नुमा सबैले आफूलाई के-के, कुन-कुन दोषहरूको भागी अनुभव गरे, जस्तो कि अरू मरेकामा आफू बाँच्नु पाप थियो ।
हवाईजहाजल मेशिनगन हान्दिएर जङ्गलबीचमा सानो बाटोको डोरो निकालिदिन्थ्यो । त्यसको सहारामा फेरि अनन्त यात्रा सुरु भयो । यसपछिको यात्राको जयमायालाई केही ज्ञान रहेन । खालि एउटा घटना थाहा छ :
दुई दिन जति हिंडेपछि जम्दार बाघवीर मुखियालाई जयमायाले पगलाजस्तो भएर फ्याङफ्याङती हिंड्दै उल्टा फर्किरहेको देखी । उसको रूप अर्कै र भयावह थियो, केवल स्वरले जयमायाले ठिम्याई । ऊ कराउँदै थियो- ‘मेरो सब जना त यतै छन् । म मात्रै एक्लै उता कहाँ जानु ? मेरी स्वास्नी, मेरा नानीहरू सब जना यतै छन् । मेरो उता को छ र कसको लागि जानु ?’
ऊ कराउँदै कराउँदै गयो…
बाईस दिन हिंडेपछि दिउँसो एक दिन जयमायाहरू आसाम लिखापानी निस्के । टाढामा एक-दुई सेता घरहरू, एउटा कुदिरहेको मोटर गाडी देखेपछि कोही बोल्नसम्म सकेन । उनीहरू कसैको मनमा आइपुगेको हर्ष थिएन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

