‘परिचित अभिनय’ कथा लेखेको एक दशकपछि मेरा उही पात्रहरू रामप्रसाद आचार्य र शान्तासँग फेरि पनि भेट भयो । हाम्रा गाउँहरूबाट काठमाडौँ सहरतिर पसेर जागिर खाएका साथीहरूमध्ये केही साथीहरूले रामप्रसाद आचार्यको बाटो पछ्याए । अर्थात् उनीहरू पनि रामप्रसाद आचार्य नै भए । त्यो कथा प्रकाशित भएपछि रामप्रसाद आचार्य र शान्ता बनेका मेरा आफन्तहरू अहिलेसम्मै रिसाइरहेका छन् । कतै बाटोमा भेट्दा पनि अझै छलिएर हिँड्छन् ।

हाम्रा गाउँहरूबाट काठमाडौँ सहर भित्रिएपछि काठमाडौँमा रामप्रसाद आचार्य र शान्ताहरूले एउटा भिन्न संस्कृति बोकेको समाजको निर्माण गरिसकेका थिए । जुनसुकै तरिकाले सम्पत्ति कमाउनु उनीहरूको एकमात्र उद्देश्य हुन्थ्यो । भन्सार, अन्तःशुल्क, कर र मालपोत जस्ता कार्यालयहरू त्यहाँ चर्चामा आइरहन्थे । त्यस्ता ठाउँहरूमा जागिर खानेहरूको त्यहाँ ठूलो इज्जत हुन्थ्यो । जन्मेको माटो, पहाड, आफ्नो गाउँ, पाखा–पखेरा, गरिब आफन्तहरू खिसीट्युरी गर्ने विषयहरू हुन्थे । त्यो समाजमा भ्रष्टाचार राम्रो मौका र भाग्यका रुपमा स्थापित थियो । इज्जतको मापन गर्ने साधन सम्पत्ति थियो । निष्ठा, विवेक र मानवीय नैतिकता अपमानित थियो । मेरो यसपटक फेरि रामप्रसाद आचार्य र शान्तासँग भेट भयो ।

यसपटकको रामप्रसाद आचार्य र म सहपाठी मात्र थिएनौं, एउटै जङ्गलमा गाईवस्तु चराउँदै हुर्केका दौँतरी पनि थियौँ । खोलाको एउटै दहमा पौडी खेलेर हुर्केका साथी–सङ्गी थियौँ । पहिल्यै नै पनि रामप्रसाद मेरो साथी त थियो तर ऊ अरू साथीहरूभन्दा भिन्न थियो । त्यसबेला पनि उसको स्वभाव देखेर हामी सबै साथीहरू उसलाई केही टाढै राख्न चाहन्थ्यौँ । ऊ हाम्रा नजिक आइहाल्यो भने हामी अनेक शङ्का उपशङ्काले ग्रस्त हुन्थ्यौँ । कुनै फाइदा लिनुपर्‍यो भने मात्र ऊ हाम्रा अघिल्तिर आउँथ्यो । कहीँ अरू साथीहरूसँग झगडा गर्थ्यो र उनीहरूसँग लड्न हामीलाई उपयोग गर्न चाहन्थ्यो । ऊ बाटोमा कसैलाई धम्की दिन्थ्यो र उनीहरूसँग लड्न हाम्रो सहायता खोज्थ्यो । पसलहरूमा खाएको उधारो तिर्दैनथ्यो र पसलेलाई धम्क्याउन हाम्रो सहयोग चाहन्थ्यो । यस्तैयस्तै कामका लागि उसलाई हामी चाहिन्थ्यो । जब हामीबाट यस्ता कामहरूका लागि कुनै सहयोग प्राप्त हुँदैन भन्ने थाहा पाएपछि ऊ अलिक टाढा हुन्थ्यो । होटल, पसलतिर हामीले किनेर खानेबेलामा टुप्लुक्क हाँस्तै पुग्थ्यो । ऊ आफूले किनेर खानुपर्ने बेलामा हामीबाट पूरै भूमिगत हुन्थ्यो । हामी उसको कुरा बुझिहाल्थ्यौँ ।

रामप्रसाद हामी सबैभन्दा आर्थिक रुपमा सम्पन्न थियो । ऊ पण्डित भोलाप्रसादको एक्लो छोरो । हामीले गाउँको विद्यालयबाट सँगसँगै एस.एल.सी. पास गर्यौँ । त्यसपछि काठमाडौँ गएर पढ्ने हामीसँग कुनै सामर्थ्य थिएन । हामीमध्ये उच्चशिक्षा अध्ययनका लागि ऊ मात्र काठमाडौँ गयो । हामी नसक्नेहरू विभिन्न पेसा व्यवसायतिर अल्झियौँ । म नजिकैको एउटा प्राथमिक विद्यालयमा शिक्षक भएँ ।

काठमाडौँ गएको बेला एकदिन रामप्रसादलाई मैले पुतलीसडकको चोकमा भेटेको थिएँ । मैले त्यसबेला एकछिन कतैतिर बसेर ऊसँग केही कुरा गर्न चाहेको थिएँ । ऊसँग धेरै वर्षपछि भेट भएको थियो । पहिले पहिले दसैँको समय पारेर पहाड जान्थ्यो ऊ । तर धेरै वर्ष भइसकेको थियो ऊ पहाड नगएको । त्यसैले हाम्रो भेटघाट नभएको पनि निकै वर्ष भइसकेको थियो ।

रात्रि बसबाट काठमाडौँको नयाँ बसपार्कमा ओर्लेपछि त्यसबेला म सिधै कर्मचारी सञ्चयकोषको कार्यालय ठमेल गएको थिएँ । सञ्चयकोषको काम अरू दुई तीन दिन लाग्ने भएकाले कार्यालयको समय सिद्धिनेबित्तिकै मैले बागबजारको एउटा लजमा आश्रय लिएँ । लजको कोठामा झोला राखेर बेलुकापखको काठमाडौँ हेर्ने रहरले बाहिर सड्कतिर निस्किएँ । पुतलीसडकको चोकनेर उभिएर टोलाइरहेको मात्र के थिएँ, रामप्रसादलाई मैले टाढैबाट आउँदै गरेको देखेँ । उसलाई देख्नेबित्तिकै सहरको एकान्तपनबाट मुक्त भएझैँ लाग्यो मलाई ।

मलाई देख्नेबित्तिकै ऊ एकाएक अक्मकियो । भरखरै मात्र उसले लोकसेवा आयोगबाट अधिकृत परीक्षा पास गरेको खबर गाउँमा वेगमय गतिका साथ पुगेको थियो । काठमाडौँ गएका बेला उसलाई भेट्ने योजना पनि थियो मेरो । भेटेर बधाई दिने सोचाइ थियो । तर ऊ मसँग झस्किएको देखेर त्यसबेला आश्चर्यचकित भएको थिएँ ।

‘अधिकृत पास गरेछौ बधाई छ है !’ हात समातेर नजिक तान्दै मैले भनेँ ।

‘धन्यवाद !’ ऊ फिस्स हाँस्यो ।

‘कहाँ बस्छौ ?’ उसलाई सहज बनाउन खोजेँ ।

‘बानेश्वरमा !’ ऊ झन् असहज देखियो ।

‘एकछिन कुनै चिया पसलतिर बसौँ न ! तिमीलाई भेट्नु पनि थियो मैले, ’मैले नजिकैको चिया पसलतिर सङ्केत गर्दै भनें ।

‘होइन ! मलाई हतार छ,’ मेरो हातबाट आफ्नो हात छुटाउँदै भन्यो उसले ।

‘मलाई हतार छ म हिँडे है ल !’ राती असमयमै उठेजस्तो मुख लाउँदै ऊ अझ पर हट्यो ।

‘चियाको पैसा म तिरिहाल्छु नि,’ पैसा तिर्नुपर्ला भन्ने अप्ठ्यारो मानेजस्तो सोच्दै भनेँ मैले ।
ऊ निकै पर पुगिसकेको थियो । कुद्दै गएँ र भने, ‘पहाडबाट तिम्रो बुबाले खबर ल्याइदिनू भन्नुभएको छ । केही छ कि !’ सोध्नुपर्ने कुरा हतारिएर सोधेँ ।

‘ठिकै छ रे भन्देऊ न !’ पर पुगेर टाउको हल्लायो उसले ।

पुतलीसडककको बारमा उभिएर मैले निकैबेरसम्म उसलाई हेरिरहेँ । बी.ए. पास गरेर अधिकृत भइसक्दा पनि ऊ परिवर्तन भएको रहेनछ । त्यसपछि उसलाई फेरि भेट्ने योजना मैले त्यागिदिएँ ।

रामप्रसादका बारेमा गाउँमा विभिन्न टिप्पणीहरू हुन्थे । कुनै कुनै टिप्पणीहरू रोचक पनि हुन्थे । रामप्रसादको बारेमा गाउँमा एकपटक यस्तो पनि सुनिएको थियो – उसका बाबु छोरो भेट्न काठमाडौँ आएछन् र छोरालाई टेलिफोन गरी आफू पशुपतिको धर्मशालामा बसेको जानकारी दिएछन् । सात दिन बस्दा पनि छोरो लिन आएनछ । आठौँ दिनमा उनी छोराको अफिस खोज्दै पुगेछन् । विभिन्न बहाना बनाएर रामप्रसादले बूढालाई बसपार्क पुर्‍याएर त्यही दिन घर फर्काइदिएछ ।

यो कुरा सुनाएर पण्डित बुढालाई हामी कहिलेकाहीँ जिस्क्याउँथ्यौँ ।

‘पण्डित बा ! काठमाडौँतिर गएर बस्ने होइन त !’ हामी गफ गरेर समय बिताउनुपर्दा बूढासँग कुरा खोतल्थ्यौँ ।

‘मेरा छोरा बुहारी त अर्कै लोकबाट आएका जस्ता छन्,’ पण्डित बूढा आधा झरिसकेको दाँत देखाउँदै हाँस्थे । ‘हामीलाई गाउँका मान्छे मन पर्दैन,’ गाउँतिरबाट कोही उनीहरूको घरमा पुगिहाले भने उनीहरू हाक्काहाक्की भन्थे भन्ने हल्लाहरू बेला–बेलामा सुनिरहन्थ्यौँ हामीहरू ।

महिना दिन नाघिसक्यो, पण्डित भोलाप्रसादलाई रोगले झनै चाप्दै लग्यो । एक सय दुई डिग्रीबाट ज्वरो तल नझरेको पनि एकहप्तै भइसक्यो ।

‘अब बूढा फर्केलान् जस्तो छैन,’ उनलाई घरमा भेट्न आउने आफन्तहरू यस्तै टिप्पणी गर्दै बाहिर निस्कन्थे ।

पण्डित भोलाप्रसादलाई गाउँका मान्छेले मात्र नभएर टाढा–टाढाका मान्छेहरूले पनि सम्मानका आँखाले हेर्थे । पण्डित भएर पनि समाजसेवाका सम्पूर्ण क्षेत्रमा उनको सक्रिय उपस्थिति थियो । राणा शासनको उत्तरार्द्धदेखि वर्तमान समयसम्मको जीवित इतिहास थिए उनी ।

दिउँसो घाम तात्तिँदै गएपछि पण्डितको आँगनमा मान्छेहरूको चहलपहल क्रमशः बढ्दै जान्थ्यो । केही दिनदेखि यो क्रम झन्झन् बढिरहेको थियो । घरको दलानमा मुठो पारेर राखिएका एकएक वटा गुन्द्री च्याप्दै मानिसहरू आँगनभरि समूह–समूहमा छरिन्थे ।
बूढापाकाहरू पुराना–पुराना कुरा झिक्थे भने युवाहरू तासका पत्तीमा भुलिन्थे । पण्डितको बिरामी कम हुने सङ्केत कतै पनि देखिएको थिएन । ब्राम्हणबाहेक अरू जातिले छोएको नखाने पण्डितको लागि पालैपालो गरेर गाउँका मानिसहरू आएर खानेकुराको व्यवस्था गरिदिन्थे । पण्डितले घरको छेवैमा कतै पनि घरबार नभएको एउटा मगर परिवारलाई आश्रय दिएका थिए । भान्साको बाहेक सबै काममा त्यो परिवारको उनलाई पूरै भरथेग थियो । बिरामी नहुन्जेल उनी बिहानै नदीमा जान्थे, नुहाउँथे र आएर आफैँ खाना बनाउँथे । उनी बिरामी भएको केही दिनपछि मधेसतिर घर भएका दुई वटी छोरीहरू आएपछि पण्डितको राम्रो हेरचाह भएको थियो ।

पहिलेदेखि नै पण्डित अस्पतालको कुरो सुन्नै मान्दैनथे । अझ मधेसतिर बसाइँ जाने कुराको उनी सधैं विरोधी भइरहे ।

‘काठमाडौँमा गएर बसे हुन्छ नि ! तपाईंको छोरो पनि ठूलै जागिरे छ । ठूलाठूला तीर्थस्थल पनि उतै छन्,’ हामी बेलाबेलामा बूढालाई जिस्काइरहन्थ्यौँ ।

‘आ ! त्यस्ता ठाउँमा बसेर मेरो आयु अरू दसवर्ष घट्छ,’ पण्डित यस्तो प्रतिक्रिया दिन्थे ।

‘पण्डितले अब आफू बाँच्ने आश मारिसकेछन् !’ मास्टर्नी भाउजूले पण्डितलाई हेरेर बाहिर आँगनमा आउनेबित्तिकै प्रतिक्रिया दिइन् ।

‘किन र ?’ मैले जिज्ञासा राखेँ ।

‘पहिले–पहिले छोरोको कुनै खोजी गर्दैनथे, एकपटक अनुहार हेर्न बोलाइदिनू भनेका छन् । उनले पण्डितको अवस्थाको सानो विश्लेषण गरिन् ।

‘पण्डितले भन्नुभन्दा पहिले नै हामीले खबर गरिदिएका छौँ नि ! उसले बाबुको अवस्था बुझ्न एकपटक पनि हामीसँग सम्पर्क गरेको छैन’, मैले उनको प्रतिक्रियाको जवाफ दिएँ ।

‘त्यस्तो छोरो जन्मनुभन्दा त कोख बाँझै रहेको राम्रो’, मास्टर्नी भाउजू असन्तुष्टि फलाक्दै हिँडिन् ।

बेलुकाको खाना खान भान्सामा टुक्रुक्क मात्र के बसेको थिएँ, मास्टर्नी भाउजू फेरि हस्याङफस्याङ गर्दै आइपुगिन् ।

‘अब बूढाको प्राण सजिलैसँग जाने भो !’ खुसी हुँदै भनिन् उनले ।

‘किन र ?’ मैले सोधेँ ।

‘रामप्रसादले आफ्नी श्रीमती पनि लिएर आएछ’, यसो भनेर मास्टर्नी भाउजू फेरि मख्ख परिन् ।

‘हामीलाई पनि अब धेरै सजिलो भयो’, मैले पनि उनीसँग सन्तुष्टि प्रकट गरेँ ।

पण्डितको स्वास्थ्य दिनदिनै गम्भीर बन्दै गइरहेको थियो । बूढाको मुखमा अन्न नपरेको निकै दिन भइसकेको थियो । अस्ति एक दिन त उनले एक चम्चा पानी पनि मुखमा हाल्न सकेनन् । हामी सबैले करिब–करिब आश मारिसकेका थियौँ । महिना दिनदेखि हामी छिमेकीहरूको धेरै समय उनको घरमै बित्ने गरेको थियो । खासै खेतीको समय पनि सुरु नभएकाले पण्डित बिरामी भएपछि दिनभर उनको आँगनमा सानोतिनो बजार लागेजस्तै हुन्थ्यो ।

उनीहरूको व्यवहार देख्नेबित्तिकै आगन्तुकहरू एकाएक अचम्मित हुन्थे । कोही जिब्रो टोक्दै बाहिर निस्कन्थे ।

‘मान्छे त यसरी पनि फेरिँदो रहेछ’, रामप्रसादको असामाजिक चरित्रको विरोध गर्नेहरू पनि आफ्नो धारणा बदल्न बाध्य भइरहेका थिए ।

म पनि बिहानको खाना खाइसकेपछि रामप्रसादलाई भेट्न उसको घर पुगेको थिएँ ।
बिस्तारै घाम तात्तिँदै गइरहेको थियो । रामप्रसाद काठमाडौँबाट आएर होला, अरू दिनको भन्दा पण्डितको घरमा चहलपहल पनि अलिक बढी देखिन्थ्यो । घरको दलानमा मुठा पारेर राखिएका गुन्द्री च्याप्दै मानिसहरू घाम लागेका ठाउँमा ओछ्याउँथे र छलफलमा व्यस्त हुन्थे । काठमाडौँबाट बुहारी आएकैले रामप्रसादका दिदीहरू पनि हिजो अस्तिभन्दा प्रफुल्ल थिए ।

‘सन्चै छौ ?’ पुग्नेबित्तिकै मैले रामप्रसादसँग हात मिलाएँ ।

‘ओ हो माधव ! तिमीले मेरो बुबाका लागि ठूलो सहयोग गर्यौ, त्यसका लागि धन्यवाद छ है !’ ऊ मतिर हेरेर फिस्स हाँस्यो ।

‘यो त हाम्रो कर्तव्य हो नि’, मैले पनि औपचारिकता निभाएँ ।

मसँगको कुरा सक्दा नसक्दै ऊ औषधीका केही पोका बोकेर पण्डितको कोठातिर पस्यो । उसको व्यवहारले मैले उसलाई निकै फरक पाइरहेको थिएँ । अत्यन्त सरल र शिष्ट देखिन्थ्यो ऊ ।

‘अलिकति खाइस्योस् न बाबा, खाइस्योस्’, रामप्रसादकी श्रीमती शान्ताको आवाज भित्र कोठाबाट बाहिरैसम्म आइरहेको थियो ।

‘अब बूढाको सास पनि सन्तोषले जाने भो’, भेट्न आएका मानिसहरूबाट यस्तै कुरा निस्किरहेका थिए ।

केही दिनपछि पनि त्यसैगरी म पण्डितको घरमा पुगेको थिएँ । रामप्रसाद थकित अनुहार लिएर आँगनको डिलमा बसिरहेको थियो । उसकी पत्नी शान्ता भित्र कचौरामा दूध लिएर चम्चाले ससुरालाई ख्वाइरहेकी थिइन् ।

‘के तिमी बिरामी भयौ कि के हो ?’ रामप्रसादको थकित चेहरा देखेपछि मैले उसलाई सोधेको थिएँ ।

‘होइन !’ उसले आफ्नो स्वभावअनुसार छोटो उत्तर दियो ।

मानिसहरू घरको पछाडिपट्टि उभिएर केही छलफल गरिरहेका थिए । कोही–कोही छलफलमा निकै गम्भीर पनि बनिरहेका देखिन्थे । पण्डितलाई रोगले बढी च्यापेको अनुमान गरेँ मैले । रामप्रसादको अनुहारमा देखिएको निराशाले त्यो अनुमान गर्न मलाई कुनै कठिन भएन ।

‘बुबाको बिरामी बढ्यो कि के हो ?’ मैले उसलाई सोधिहाल्न उपयुक्त ठानेँ ।

‘होइन, हिजोअस्तिको भन्दा राम्रो छ,’ यसो भनिरहँदा पनि उसको अनुहारमा खुसीको कुनै छाया थिएन ।

‘नरोत्तम काकाहरू घरपछाडि के छलफल गरिरहनुभएको छ ?’ म थप कुरा बुझ्न हतारिएको थिएँ ।

‘हेर न, राती कसले हो, तुलसीको मोठ र घरको आँगनभरि खनेर यस्तो बनाइदिएछ,’ रामप्रसादले आँगनतिर औँलाले देखायो ।

घर बनाउन खनिएका जगका खाल्डाहरूजस्तै आँगनदेखि तुलसीका मोठहरूसम्मै खनिएको थियो । तुलसीको मोठ पूरै भत्किएको थियो ।

‘राती चोर आएर खनेछ,’ उसले स्पष्टीकरण दियो ।

‘तपाईँहरूले थाहा पाउनुभएन’, मैले रामप्रसादकी दिदी सरितालाई सोधेँ ।

‘किन थाहा नहुनु, थाहा भएर पनि के गर्नु !’ सरिताले आँखाबाट आँसु बगाइन् ।

‘कसले गर्‍यो त यस्तो ?’ म जिज्ञासु भएँ ।

‘जसले गरे पनि अब छाडिदिऊँ । अरूभन्दा पनि तुलसीको मठ भत्किएको सुनेपछि बुबा झनै दुःखित हुनुभएको छ,’ उनले कण्ठ अवरुद्ध पारिन् ।

‘त्यस्तो गर्नेलाई त छाड्नु भएन नि ! हामी समाजमा यतिका आफन्तहरू छौँ,’ मैले ढाडस दिन खोजेँ ।

उसको अघिल्तिर शान्ता उभिइरहेकी थिइन् र उनी पनि केही निरास जस्तै देखिन्थिन् । सरिताको कुराले मभित्रको जिज्ञासा झनै बढेर गयो । मेरो जिज्ञासाको कुनै उत्तर नदिईकन उनी घरको कोठातिर पसिन् ।

‘चोरले घरको आँगनै किन खन्यो त ?’ मैले नरोत्तम काकालाई सोधेँ ।

‘गाडधन भएको शङ्का पर्‍यो,’ नरोत्तम काकाले केही नसोची उत्तर दिए ।

‘पण्डितसँग प्रशस्त सुनचाँदी र पुराना रुपैयाँ पैसा छन् भन्ने कुरा रामप्रसाद सँगसँगै मैले पनि सुनेको थिएँ । यो हल्ला हामीले सानैमा सँगसँगै सुनेका थियौँ’, म अतीततिर फर्किएँ ।

‘चोर खोज्ने झन्झट नगरे हुन्छ’ रामप्रसादकी अर्की दिदी देविकाले हाम्रा छेउमा आएर बिस्तारै भनिन् ।

‘किन र नानी !’ नरोत्तम काकाले जिब्रो टोक्दै भने ।

पण्डितको स्वास्थ्यमा सुधार देखिएको थियो । भेट्न आएका मानिसहरूसँग उनी दोहोरो कुरा गर्न पनि थालेका थिए तर रातिको घटनाले उनी फेरि व्यथित भए । हामी गाउँका सबैजना विभिन्न अनुमान र चिन्ताहरू व्यक्त गर्दै दिनभर पण्डितको घरमै बितायौँ ।

झमक्कै साँझ परिसकेको थियो । मास्टर्नी भाउज्यू हस्याङफस्याङ गर्दै आइपुगिन् । उनी यसरी आइपुग्नु कुनै नयाँ सूचना आउनु हो भन्ने हामी सबैले बुझिसक्थ्यौँ । नयाँ सूचना प्राप्त भएपछि उनी एकपटक सबै गाउँ घुम्छिन् । अझ विशेष प्रकारका सूचनाहरू लिएर आउँदा उनको हाउभाउ नै बेग्लै हुन्थ्यो । उनले पहिले पहिलेझैँ आउनेबित्तिकै उसैगरी नयाँ सूचनाहरू सुनाउन थालिन् ।

‘तिमेरूले थाहा पायौ, गाडधन छ भन्ने शङ्काले पण्डितको छोरो रामेले सबै घर खनेछ नि !’

‘औषधी र दूध ख्वाउने निहुँमा जतिबेलै पनि दुवैजना छोरा र बुहारीले सम्पत्ति कहाँ गाड्नुभएको छ, हामी नै त होऔँ नि । छोराबुहारी भन्थे रे !’

‘तिनीहरू त बूढा बिरामी भएर होइन गाडधन छ कि भनेर पो आएका रे !’

‘ती बिचरा दुइटी दिदीहरूले सम्पत्ति हात पार्ने हुन् कि भनेर पो गाउँ आएका रहेछन् ।’

‘काठमाडौँ लैजान भनेर घरका भाँडाकुँडा सबै भारी कसेर ठीक्क पारेका छन्, मैले त आफ्नै आँखाले देखेको ।’

मास्टर्नी भाउजूले यी सबै कुराहरू नरोकिइकन सरासरी सुनाइन् र अर्को घरतिर कुदिन् ।
म विरामी पण्डित र उनलाई स्याहार गर्न आएका दुईवटी छोरीहरूलाई परेको मानसिक चोटको अनुमान गर्दै खाना खान भान्सातिर पसेँ ।

हिजोको घटनाले र मास्टर्नी भाउजूको कुराले रातभरि निद्रा परेन । रामप्रसाद र मसँगै पढेका सहपाठी । आफैँले पढेर ज्ञान आर्जन गरेको शिक्षासँग आफैँलाई अविश्वास लागिरह्यो । यो सम्पत्ति मोहको अमानवीय चिन्तन कतै आफैँभित्र लुकेको त छैन भन्ने डरले आफैँ आतङ्कित भएँ । म बिहान चिया पिउनेबित्तिकै कुनै थप सम्भावित दुर्घटनाको आँकलन गर्दै पण्डितको घरतिर कुदेँ ।

भत्किएको आँगनको डिलमा बसेर रामप्रसादका दिदीहरू रोइरहेका थिए ।

‘के भो देविका दिदी !’ म उनीहरूको छेउमा गएँ ।

‘माधव भाइ ! रातभरि भाइ र बुहारीले फेरि अँगेना र चुलामा सबैतिर ठूलाठूला खाडलहरू खने । बुबाको अवस्था त्यस्तो छ भारी बोक्ने मान्छेहरू खोजेर ल्याएर घरमा भएका राम्रा राम्रा भाँडाकुँडाहरू लिएर गए । त्यो त लगून् उनीहरूकै हो । भाइबुहारी आए भनेर खुसी भएको त बुबालाई समेत यो समाजमा मुखै देखाउन गारो पारेर हिँडे । माधव भाइ, कस्तो शिक्षा पढेको रहेछ मेरो भाइले ?’ रुँदारुँदै बोल्न सकिनन् देविका दिदी ।

पूर्वतिर फर्केर हेरेँ । महाभारत डाँडाका थुम्काहरूमा घामले आफ्नो अनुहार देखाउन थालेको थियो । रामप्रसाद हिँडेको बाटोतिर नहेरौँ भन्दाभन्दै आँखा पुगिहाले । रामप्रसाद र उसकी पत्नी शान्ता केही भरियाहरूलाई अघि लगाएर रिठ्ठेपानीको उकालो काट्नै लागिसकेका थिए । दिदीहरूको रोइरहेको अनुहार हेरेँ । भित्र खाटमा पण्डित भोलाप्रसादको शुष्क शरीरलाई फेरि हेरेँ । मेरा आँखा फेरि तिनै खाडलहरूमा पुगे । दिदीहरू पनि त्यही खाडलमा टोलाएर हेरिरहेका थिए ।

‘अब यी सबै खाडलहरू पुरौँ । दिउँसो आँगनमा मान्छेहरूलाई बस्ने ठाउँ पनि चाहिन्छ नि !’ मैले एउटा उपाए सुझाएँ ।

‘हो, हो छिटो गरौँ,’ दिदीहरू पनि खाडल पुर्न उत्साहित भए ।