खलबलिएको वर्तमान अन्तरिम भएको छ । सहमतिको भविष्य उदाएको छैन ।

परिवार छ, व्यक्तिगत सम्पत्ति पनि छ, तर सत्ता अहिलेसम्म उदाएको छैन । उदाउलान् भन्ने आशा सपना शर्मा हो कि विपना बर्मा भएकी छे । परिवार भनेको त्यै हो । सार्वभौम गन्तव्य पनि त्यै हो । हिजो भरखरै सनातन सूर्य उदाएको थियो । आज लगत्तै अस्ताउन थालेको छ । यो पनि सनातन नियम हो, तर अहिले…ऊ आकाशतिर हेरेर धरतीमा हिँड्दै छ । निरभ्र आकाश आज निकै तल ओर्लिएर आएको छ । लाग्छ, हात हान्न उचाल्यो भने छुन सकिन्छ । आफ्नो मनलाई छुन खोजेझैँ ऊ हात उचाल्छ । एकछिन हात उचालेरै हिँडिरहन्छ । अनि लजाएर हात तल झार्छ । किनभने बाटोमा हिँड्नेहरू ऊतिर व्यङ्ग्यात्मक पाराले हेर्न थालेका हुन्छन् । उसै बेला आज औँसी हो, औँसीकै सन्ध्या हो ।

ऊ मनतिर हेरेर जीवनमा हिँड्दै छ ।

सार्वभौम गन्तव्य खोज्दै ।

पाटीबाट अथवा डराबाट निस्किँदा ऊ कतै जान भनेर निस्किएको थियो । तर कता जाने ? अहिले भुुसुक्क बिर्सियो । गन्तव्य बिर्सिएपछि ऊ झन् छिटो-छिटो हिँड्न थाल्यो । जति छिटो हिँड्यो उति अलमलिन्थ्यो । जति अलमलिन्थ्यो आत्तिएर उति छिटो हिँड्न थाल्थ्यो । अन्ततः उसले एक्कासि सत्तालाई सम्झियो ।

मनु ब्राजाकी

उसको सत्ताको नाउँ कोइली हो, कोइली शर्मा । अचेल कृष्टि बर्मा भएकी छे । कोइली शर्मा छँदा राम्रो गाउँथी, महफिलमा घुँडा मारेर बसिरहन्थी । साह्रै मीठो धार्मिक र राजनीतिक भजन, काल्पनिक भगवान् र साक्षात् नेताजीका लागि गाउँथी । अहिले कृष्टि बर्मा भएपछि राम्रो नाच्ने, कतै थिर भएर बस्दिन । कहिले दिल्ली पुग्छे, कहिले बेइजिङ, कहिले अझै टाढा वासिङ्टन डीसी पुग्छे । उसै पनि नारीका जात/थर नहुनाले नामको पनि खासै महत्त्व छैन । जुनजुन पुरुषसँग विवाह भन्ने खोरमा हुलिए उसै महापुरुषको जात/थर बोकेर नमरुन्जेल बाँचेका हुन्छन् । यो कुरोको भित्री चुरो नारीवादी केट किलेटलाई पनि थाहा छैन र कृष्टि/सृष्टि/सपना/विपना आदि-इत्यादि कसैलाई थाहा छैन, जात र थर दिने पण्डित, पादरी र मुल्लाबाहेक । अतः ऊ ढुक्क भएर हिजो आफ्नो मन्तव्य सम्झिँदै कृष्टिकहाँ पुगेको थियो । यसरी पुगेको थियो-

“घरबाट आएको ?” कृष्टिले सोधेकी थिई ।

-“हैन, डेराबाट अर्थात् बासबाट आएको ।”

-“उसोभए बास त रहेछ ।”

-“के गर्नु, बासलाई नै घर सम्झिने भ्रमका साथ बसेकै छु ।…तिमी भए घर हुन्थ्यो, घर भए परिवार हुन्थ्यो, परिवार भए समाज हुन्थ्यो, समाज भए सत्ता हुन्थ्यो । मलाई सत्ता चाहिया छ, मलाई तिमी चाहिया छ, मलाई…”

-“बिलौना किन गर्छौ ?”

-“के त भन त !”

-“पहिला आफ्नो गन्तव्य ठहर गर ! हिँड्यौ कता आइपुग्छौ कता ।”

-“मान तिमी नै मेरो गन्तव्य हौ ।”

-“म कसैको पनि गन्तव्य हाइन ।”

-“तर तिमी नै मेरो गन्तव्य हौ । होइन र !”

-“होइन । किनभने तिम्रो घर छैन ।”

-“म कसैको पनि घर होइन । सत्ता कसैको पनि घर हुँदैन ।”

-“ल, भैगो, बास त दिन्छ्यौ ?”

-“आकाश थाहा छ ?”

उसले आकाशतिर हेर्‍यो । सन्धयाकालीन आकाश बिहानीझैँ रातो थियो ।

“यै रातो देखेर मानिसहरू बिहानी र सन्ध्या छुट्टयाउन सक्तैनन् । अहिले सूर्य पहाडमा डाँडातिर र तराईमा क्षितिजपारि पुगिसकेको छ । क्षितिज सीमाहीन हुन्छ । अतः तपाईंको क्षितिज सीमाहीन हुनाले सूर्य अहिले पारिपट्टि भारतमा पुगिसकेको छ । भोलि पनि रातो सूर्य यै आकाशका भारततिरबाटै उदाउनेछ ।” एक्कासि उसले आकाशबारे सोधिएको कृष्टिको प्रश्नलाई सम्झियो र जवाफ फर्कायो ।

-“थाहा छ ।”

-“त्यै हेरेर हिँड !”

-“क्या ठट्यौलो कुरा गर्छ्याै । म त्यै हेरेर त यहाँसम्म आइपुग्या हुँ नि, अब मलाई नफर्काऊ !”

-“खाली हात ?”

-“तिम्रो बठ्याइँले मलाई पिर्छ । तिमी चाहन्छौ म घुँडा मारेर बसूँ र भगवान् अथवा नेताजीका लागि थोत्रा भजन गाऊँ । मलाई त जनतामा गएर कतील सिफाईको गजल गाउन मन लागेको छ- भर-भर के पिलाता है तु प्यार का पैमाना, आवाद रहे ब्राजाकी सहियो तेरा मैखाना । अँ, तिमीले मेरो लागि के ल्याएका छौ र तिमीलाई खाली खात नपठाऊँ ?”

उसले नाक कोट्याउँदै भन्यो-“कसैलाई नभन्नू, म युरोवर्ल्डमा ओपन मार्केटमा गएको थिएँ । त्यहीँबाट तिम्रो लागि मैले इजिप्सियन कटनको बिकिनी ल्याएको छु । यस्तै सार्वभौम फेसन नेताजीहरूलाई मन पर्छ ।”

-“अनि ?”

-“अनि तिमीले बिकिनी लगाएर भजन गायौ भने गन्तव्य फेला पारिहाल्छ कि !”

-“धरति थाहा छ ?”

“थाहा छ । त्यसलाई म वीरगन्ज अथवा बाह्रबिसेको बिकिनी ल्याइदिन्छु…प्लिज, तिमी घरबास त देऊ मलाई । म तिमीलाई…”

-“जमाना यस्तै छ, तर नाङ्गिनु मेरो धर्म होइन । सत्ता कहिल्यै नाङ्गो हुँदैन । गुप्त हुन्छ, अनि पो त उसलाई गुप्तचर र राजदूत चाहिन्छ । तिमी राजदूत हौ र !”

-“हो प्रिय, म जनदूत हुँ ।”

नेपथ्य-यमदूत !

-“उसोभए युरोडलर हालेर ओपन मार्केटमा किनेको तिम्रो बिकिनी लगाउन तयार छु । जनदूतको कुरा मान्नै पर्‍यो । खोलौँ चौबन्दी र मजेत्रो ?”

कृष्टिलाई जनदूत बन्न आग्रह गरेपछि उसले चौबन्दी र मजेत्रो फुकाल्न थाली । बिकिनीजस्तो सार्वभौम फेशनमा सजिएर भजन गाएपछि नेताजीहरू कसो नफर्किएलान् त । उसलाई थाहा छ, सत्ता जतिसुकै फोहरी भए पनि सुवेशधारी हुन्छ । अतः सत्ताले आफ्नो गोप्यता कायम राख्न दौरा-सुरुवाल लगाए पनि हुन्छ, धोती-कुर्था भिरे पनि हुन्छ । प्यान्ट-सर्ट त अन्तर्राष्ट्रिय गोप्यता भइहाल्यो । भोलिपल्ट फेरि ऊ पश्चिमतिर हेर्न पूर्व हिँड्दै छ ।

आज उसलाई कहाँ जानु थियो ? ऊ यै चिन्तन-मननमा मग्न छ । हिजो कोइलीले चौबन्दी र मजेत्रो फुकालेकी थिई । आज कृष्टिले लिप्यान्ट र टिसर्ट लगाएकी छे । नाङ्गी देख्नुभन्दा उसलाई यो अराजिलो त लागेको हो, तर कोइली शर्मा होस् कि बर्मा होस्, पूर्व होस् कि पश्चिम होस्, उसलाई गन्तव्य चाहिएको छ । उसको चाहनाअनुरुप गन्तव्य छ्यासमिसे पनि त हुन सक्छ । किनभने ऊ पश्चिमतिर हेरेर पूर्वतिर हिँड्दै छ । लिप्यान्टमाथि चौबन्दी चोलो अथवा मजोत्रोमाथि टिसर्ट भिरेर भए पनि उनीहरूले उसका लागि सत्ता भइदिनै पर्छ, अर्थात् गोप्य भइदिनै पर्छ । यो गोप्यता जतिसुकै नग्न र अश्लील भए पनि उसका लागि एउटा गन्तव्य हो नै । त्यहाँ पुगेपछि उसको एउटा घर हुनेछ, परिवार हुनेछ, व्यक्तिगत सम्पत्ति हुनेछ, सत्ता हुनेछ । अहिलेसम्म त उसको न सरकारी क्षेत्रमा घर छ न निजी क्षेत्रमै घर छ । ओढारको बासजस्तो डेरा छ र त्यहाँ ऊ नितान्त एक्लो छ । यै एकान्तदेखि आत्तिएर ऊ गन्तव्य खोज्न बाहिरिएको हो ।

-“कता हिँडेको हात उचाले र ?”

उसले फेरि आकाश छुन हात उचालेछ । लगत्तै लजाएर मन छुन आफ्नो ठडिएको हात तल झार्‍यो र छातीमा राख्यो । मन छुन खोज्दा नखोज्दै पुनः अर्को प्रश्न आइलाग्यो ।

-“किन छातीमा हात राख्नु भा’को ? मुटु देख्यो कि कसो ?”

अब उसले मन छुने प्रयत्न छोडेर कम्मरमा हात राख्दै वितृष्णा भएर जवाफ दियो, “तपाईंले गन्तव्य भेट्टाउनुभो ?”

उसको प्रतिप्रश्नले उसको छिमेकी अलमलियो ।

-“हे…हे…हे…, म त तपाईंसित भेट गर्न हिँडेको । आस्थायी जागिरे हुँ । यसपालि खुस्किन्छ कि भन्ने डर लागिरहेछ । तपाईंले यसो कोइली नानी, अर्थात् कृष्टि मैयाँलाई भनसुन गर्दिनुहुन्थ्यो कि !”

-“आफैँ त महादेव उत्तानो टाङ…”

-“त्यसो नभन्नुस्, श्रीमान्, तपाईं घोप्टै हुनुहुन्छ । उत्तानो परिसक्नु भएको छैन । मैले गन्तव्य भेट्टाएको छैन, तर तपाईंले एक दिन अवश्य गन्तव्य भेट्टाउनुहुने छ ।”

-“छेड हानेको मलाई ।”

-“तपाईंजस्तो जनदूतलाई कसले छेड हान्न सक्छ ?”

यसो भन्दा उसको छिमेकी अस्थायी जागिरेले मनमनै उसलाई यमदूत भन्ने सम्झिरह्यो र पुनः आफ्नो कुरा अघि सार्‍यो, “तपाईंले अलिकता बल गर्ने हो भने, अर्थात् मौकामा चौका हान्ने हो भने, अर्थात् राजनीति गर्ने हो भने कोइली नानी, अर्थात् कृष्टि मैयाँ कतै नजा । हे…हे…हे…”

“धन्यवाद, अब यसै गर्नुपर्ला ।” उसलाई अब पक्का ठहर भयो, उसको गन्तव्य भनेको कृष्टि नै हो । अन्यथा ऊ जतासुकै भौँतारिए पनि कृष्टिकहाँ नै किन पुग्छ ।”

अतःएव आज पनि ऊ, औँसीको सन्धयामा, आकाशतिर हात ठड्याउँदै कोइली शर्मा, अर्थात् कृष्टि बर्माकहाँ यसरी पुग्छ-

-“फेरि आयौ ?”

“आएँ”, उसले बल झिक्दै भन्यो ।

कृष्टि अर्थात् कोइलीले ऊतिर झस्केर हेरी । आज उसको स्वरमा निकै आत्मविश्वास थियो ।

“किन आयौ त ?” सशङ्कित भएर कृष्टिले सोधी ।

उसले शर्मा, अर्थात् बर्माको प्रश्नको कुनै जवाफ नदिएर ऊसँगै लेप्सिएर बसेको आफूजस्तै व्यक्तितिर औँल्याएर खरो स्वरमा सोध्यो-“को हो यो, पाजी ?”

-“यो…यो वर्तमान हो । भूतको अवशेष-वर्तमान । अहिलेको स्थापित वर्तमान ।”

“म भविष्य हुँ । निकाल् यो साला वर्तमानलाई अहिले तुरुन्तै ।” उसले मौकामा चौका ठोक्यो ।

-“तर…तर अहिले त यै छ मेरो ।”

-“उसोभए फुकाल् मैले दिएको बिकिनी ।”

ऊ निरुत्तर भई । एउटाको उपस्थितिमा अर्काको सामु कसरी नाङ्गिनु । ऊ दुवै जनातिर मुखामुख गर्न थाली । वर्तमान र भविष्य दुवै जनाले एक-अर्कातिर आँखा तरातर गर्दै थिए । आज ऊ बिलौना गर्ने मुडमा ठ्याक्कै थिएन । कोइली, अर्थात् कृष्टि मात्रै त्यहाँ भएको भए पाउ पनि पर्ने थियो । तर वर्तमानलाई देखेर र छिमेकीको व्यङ्ग्यात्मक अर्तीले ऊ आज सुरिएको छ । रीसले मुख रातो भएको छ र जीउ काँप्दै छ । निकैबेर आँखा तरातर भएपछि वर्तमान लुसुक्कै त्यहाँबाट हिँड्यो ।

“ल, अब तिमी पनि जाऊ !” एक्ली भएकी कृष्टिले आत्तिँदै भनी ।

-“म आज जान भनेर आएको होइन ।”

-“के रे !”

-“के रे-से रे क्यै हैन अब । म फर्किन आएको होइन ।”

-“अनि किन आएको त ?”

ऊ जुत्ता फुकाल्दै र कमेज छोडाउँदै गनगनायो, “अब म यहीँ बस्छु । तिमी नै मेरो घर हौ ।

-“छरछिमेकीले के भन्ला ? यो त नाङ्गो भ्रष्ट आचरण, अर्थात् भष्टाचार भएन र !”

-घरमा आइपुगेपछि पनि के औपचारिक पोशाक भिरेर बस्नु ? तिमी जेसुकै भन, यै भ्रष्टाचार भनेकै त आजको राजनीति हो । यसो नगरी मैले यो गन्तव्य कसरी भेट्टाउने थिएँ ?”

-“तिमी अझै घरमा, परिवारमा र गन्तव्यमा आइपुग्या छैनौ ।”

तर ऊ केही नसुनेर धमाधम लुगा फुकाल्न थाल्छ ।

परिणाम  भोलि थाहा होला ।

(पाठकवृन्द, भोलिको परिणाम थाहा पाउन कृपया यस कथाको अर्को भाग अर्थात् नयाँ नेपाललाई नियालेर हेर्दै राख्नुहोला ।)

साभार: ‘हिजाे र आजका कथा’बाट