
एक चोटि खुब राम्रो समय थियो । घुमाउरा बाटा, पहाड, मैदान, समुद्र, चाँदीजस्तै टल्कने सिपीहरू, सुनका पाताजस्तै चम्कने बालुवाका प्रशस्त बगरहरू त्यहाँ ती साना-साना घुमाउने सिँढी भएका रेस्टुराँ, ठूला-ठूला चम्कने कोठामा बसेर हामी भ्वाइलिन सुन्थ्यौँ । कहिले सितार सुन्थ्यौँ, कहिले साथमा भएका सबै साथीहरूलाई तल कोठैमा छोडेर हामी दुई जना मात्र माथि रेस्टुराँको खुला छतमा पुग्थ्यौं, बरफका टुक्रा हालेर गिलासभरि-भरि कटहरको रस पिउँथ्यौँ ।
वन एन्ड टू एन्ड आई लभ यू एन्ड प्ले द गेम अफ लभ ।
मरिना बीचमा हाम्रो अगाडि फुर्ती लगाई-लगाई खुट्टा बङ्ग्याएर नाच्ने त्यो १५-१६ वर्षे आवारा मद्रासी ठिटो अङ्ग्रेजी गीतका शब्द र लयलाई भाँचभुँच गरी आफ्नै विशेषतामा हाउभाउका साथ गाएर दर्शकलाई खुसी पारी त्यसको पैसा धुत्ने बानी अनि माथि बालुवामा हाम्रा खुट्टासम्म आएर छुँदै फर्कने समुद्री छालको सर्र-सर्र आवाज, केटाको नृत्य तत्परता, हामी पालैपालो त्यसलाई कति वटा चवन्नी दिन्थ्यौँ, कति वटा अठन्नी दिन्थ्यौँ, कुन्नि के पत्तो ! वन एन्ड टू एन्ड… हाम्रो त ती हातलाई छालबाट उछिट्टिएका पानीका चिसा-चिसा थोपाहरूले छोइरहन्थे । केटो भुरुङ घुमिरहन्थ्यो- वन एन्ड टू एन्ड … ।
रमी-रमी रमेन्द्र
उसी-उसी
मेरो नाउँ उषा ।
मलाई थाहा छ । मरिना बीच जाँदा बाटामा त्यो कलेजअगाडिको लभर्स पार्क, उसी ! त्यहाँ तिमीले सेल ट्वाइजहरू किनेकी थियौ ।
नकराऊ रमेन्द्र ! म उसी होइन भनेको, मेरो नाउँ त उषा!
म तिमीलाई उसी नै भन्छु, पहिलेजस्तै तिमी मेरी उसी…उसी ।
भन, म सुन्दिनँ ।
मैसुर ! प्रकृतिको लोभलाग्दो हरियो डल्लो कृष्णा र कावेरी नदीको पातलो अँगालो । वृन्दावन गार्डेनको झिलिमिली रात, बत्तीका रङ्गीचङ्गी रूख, फूल र फोहराहरू, चामुण्डी हिल जाँदाको उकालो । हाम्रा हातखुट्टा थकाइले लल्याकलुलुक भएका थिए । टुरिस्ट बसमा हामीसितै सफर गरेको एउटा चिनियाँ प्रोफेसरले हामी दुईको हत्केलाको रेखा हेरेर के भनेको थियो?
उसी-उसी?
यहाँ घाम बिस्तारै हट्दै जान्छ, साँझ ओर्लन्छ अब यो सिउँडीको झ्याङमा । साँझ सर्छ यहाँ निकै वर एउटा रमाइलो साँझ । उसी त घामसित हट्दै जान्छे अनि उषा मात्रै बाँकी रहन्छ] ।
यो रमेन्द्र कति फलाकिरहन सक्छ- भो-भो !
उसी ! जगन्नाथपुरी सम्झन्छ्यौ?
पुरी, पवित्र धाम ! त्यहाँ हामी दुई दिन बस्यौँ । भगवानको दर्शन गर्न गएको बेला पण्डाले चुच्चे टोपीजस्तो आकार भएको चाँदीको बिर्कोले हाम्रो टाउको छोपेर कति थुप्रो आशीर्वाद दिएको थियो । तिमीले प्रसादको पेडा भाँचेर आधा मलाई दिएर आधा पछि आफूले खाएको होइन? पुरीको त्यो विशाल समुद्र, जुनेली रातमा हामी त्यहाँ सिक्रीजस्तै जेलिएर ओर्लन्थ्यौँ । पानीको छेउछेउ किनारमा मोटा-मोटा डोरी लाएर बाँधिराखेको काठका ठूलठूला डुङ्गा अनि बालुवाको रासमाथि अँध्यारामा टिमटिमाइरहेका माझीका साना-साना छाप्राहरू कति रमाइला हुन्थे ! हामी मुठीभरि जूनकीरी बटुलेर फेरि अँध्यारामा छरिदिन्थ्यौँ । एक दिन बिहान त्यहीँ मैले तिमीलाई एउटा स्टार फिस लाइदिएर कस्तरी तर्साएँ, तिमी खुब कहालियौ ।
मलाई एक्लै छाडिदऊ रमेन्द्र ! गएको कुरा नतान । ती दिन त्यस्तै थिए । अहिले न रमी छ न उसी छ । समय कौडीजस्तै घोप्टियो । तिमीले आफ्नो गतिलाई बीचैमा रोक्यौ र आफू पनि चुक्यौ । म यता पछारिएँ, हेर रमेन्द्र ! म चर्किएकी छु, फेरि हातमा उठाउने कोसिस नगर । चर्किएको वस्तु फुट्न बेर लाग्दैन ।
मी निठुरी बेइमानी उसी…उसी ! हिँड, उता ग्ल्याडिओलस फुलेकोतिर जाऊँ, यो क्याक्टस मलाई मन पर्दैन ।
हो, म बेइमानी, म यहीँ बस्छु । तिम्रो भाषा म जान्दिनँ । मलाई आफ्नै सिउँडी मन पर्छ, तिमी जान सक्छौ ।
साँझ पूरासित पर्छ । मसलाका रूखका पात-पातमा फुस्रो घाम चिप्लिरहन्छ । मेरो के दोष छ भन न ।
मसलाको झ्याम्मिएको रूखदेखि हलुकासित सुसाएको हावा सिउँडीका काँडादार झ्याङसम्म पसेर फेरि ढकमक्क फुलेको असारे फूलको रूखमा गएर थामिन्छ । चराका भुत्लाजस्ता फूल बिस्तारै काँप्छन् र फेरि स्थिर हुन्छन् ।
सुषमालाई आज हेर्न जानुपर्ने । बिचरी! भर्याङबाट लडेर खुट्टा निकै मर्किएको छ ।
तिमी सुन्दिनौ उसी? मेरो मुटु छामेर हेर ।
पर्सि त कमलाको विवाह भइसक्यो । महेश दिनको चार चोटि मकहाँ आएर सल्लाह लिन्छ- सारी कति जोर हाल्नुपर्छ, यो डिजाइनको नेकलेस उसलाई मन पर्छ कि पर्दैन, लुगाको रङ ।
उसी ! उसी !
हरे रमेन्द्र ! तिमी कति कमजोर छौ । तिमीमा बल छैन तापनि तिमी आफ्नो जिद्दी छोड्दैनौ । तिमी त कसैले नदेख्ने गरी मेरो टाउकोदेखि अत्तर खन्याउन मात्रै जान्दछौ । मधुकर, विनायक, सावित्रीहरूसित तिमी त्यसै डरायौ । उल्टा मसित पनि रिसाएर तिमीले सबैलाई तोड्यौ ।
उसी ! सुन त ।
चार वर्षसम्म तिमी मसित बोलेनौ, ममाथि तिम्रो कति-कति शङ्का रहेछ । मधुकरसित तिम्रो केको रिस ! अरूजस्तै ऊ पनि मेरो साथी हो, अझ मलाई माया गर्ने मेरो नजिकको दाजु । तिमीलाई थाहा छ रमेन्द्र, मधुकरको अन्तै कतै कुरा चल्दै छ ।
मैले भनिहाले निँ मलाई माफ गर भनेर ।
माफको के कुरो र ! तिम्रा आँखाको जालो पुछिए पनि तिम्रो मन अझै दुर्बल छ । मनको मनसितै नाता हुन्छ । त्यस भारी नातालाई आफूमा गाभ्न सक्ने शक्ति तिमीमा छैन रमेन्द्र !
असारे फूलका लस्करै उभिएका अग्ला-अग्ला रूख मानिसको आयुलाई ठगेर बसिरहेछन् । पहेँलो र रातो ग्ल्याडिओलसको घारीमा साँझमा पनि घामको तिरमिराउने रङ पोतिएको छ । मन त्यो पोल्ने रङमा गएर टाँसिन्छ । रमेन्द्र ! तिमी जान्नौ यहाँबाट? एउटा लामो सुस्केरा थुन्दाथुन्दै मुखबाट फुस्कन्छ ।
तिमी फेरि मलाई साथ देऊ उसी! हामी फेरि समुद्रहरू भएका सबै ठाउँ चहार्न जाऔंला, बालुवामुनि-मुनि लुकेका साना-साना शङ्ख र सिपीहरू छानी बटुलौंला ।
फुटेको भाँडो जोड्न सजिलै छ तर त्यहाँ जोडमा देखिने भद्दा रेखा छोपिन सक्दैन । हामीले मिल्ने कोसिस गरे पनि हाम्रो मनमा कोरिएको धर्सो… साँच्ची रमेन्द्र ! हामी सुखी हुन सक्दैनौं ।
रमेन्द्र ! रमेन्द्र ! तिमी कमजोर छौ, तिमी प्रेमलाई पचाउन सक्दैनौ, चाँडै नै तिमी अघाउँछौ, निलेको जति सबै बान्ता गरिदिन्छौ । म तिम्रो गनाउने बान्ता हुन चाहन्न । सिउँडीका थुम्काथुम्की परेका डल्लाहरू हेर न, हो, म त्यस्तै सारो छु । तिम्रो प्रेमको कोमलाइ ज्यादै तरल छ । तिमी सिउँडीको काँचो दूधलाई पचाउन सक्दैनौ ।
साँझ सिउँडीको बाक्ला झ्याङ-झ्याङमा अल्झिंदै जान्छ । एक थुप्रो बादल पर डाँडामा आएर बेरिन्छ- आषाढस्य प्रथमदिवसे । डाँडाको टाकुरो र मुनि सिउँडीका मसिना फूलमा मेघदूत आएर अड्छ । यक्ष, खोइ त्यो विरही यक्ष !
उसी ! तिमी आफ्ना बुबालाई रोक्न सक्दिनौ?
किन?
तिम्रो विवाह पक्का हुँदै छ होइन?
तिमीले केटालाई चिनेकी छौ?
अहँ, मुख पनि देखेको छैन । तस्बिर ल्याएका थिए । मैले त हेरिनँ, हेर्नुपर्ने के खाँचो?
मैले तस्बिर नहेरीकनै हुन्छ भनिदिएकी छु ।
आकाशमा बिलाउन बाँकी रहेको उज्यालोको आधा पाखो बादलको सेतो तहमा पुगेर एकछिन छर्लङ्गिन्छ । एकपाखे उज्यालो आकाशमा अघिदेखि चक्कर काटिरहेको एउटा चरो एकैछिनमा बिलाउँछ । चरो हेर्दा दुई वटा आँखा त्यसै टोलाउँछन् ।
उसी ! उसी ! तिमी सुखी हुन सक्छ्यौ त?
सक्छु, किन सक्दिनँ । सबैले आफ्नो सुखको आधा भाग सिङ्गै मलाई सारिदिन्छ भने म सुखी हुन्नँ? उसको सुखलाई जतनसाथ तह लाएर राख्छु ।
उसी ! तिमीले मेरो मुटु छामिनौ ।
रमेन्द्र ! तिमीले मलाई बुझेनौ ।
म मर्छु ।
मर्न ज्यादै गाह्रो हुन्छ, तिमी मर्न सक्दैनौ ।
तिमी विवाह रोक्न सक्छ्यौ उसी ! सबै तिम्रो हातमा छ, विवाह गर्दिनँ भन । तिमी कति स्वार्थी छौ रमेन्द्र ! मेरो यति सुख पनि तिमी हेर्न सक्दैनौ । ती चार वर्ष तिमीले फिर्ता पाइसकेकै छौ नि ! यो बाँकी समय मलाई देऊ ।
उसी !
रमेन्द्र ! तिमी पनि सुख खोज्छौ, म पनि । तर हाम्रो सुख एकै ठाउँमा छैन । तिमी एकातिर बग्छौ, म अर्कातिर । सम्झ, चार वर्षले हामीलाई कता-कता पुर्यायो । तिमी ग्ल्याडिओलसलाई पनि मन पराउँछौ, मलाई भने सिउँडी मन पर्छ । म ग्ल्याडिओलसजस्तो कोमल छैन, म तिमीलाई बिझाउँछु । हो रमेन्द्र ! तिम्रो रोमान्टिक अङ्ग्रेजी कवितामा मात्र म पग्लिरहन सक्दिनँ ।
तिमीलाई थाहा छैन होला, मसँग विवाह हुनेको पाँच वर्षकी एउटी छोरी छे । बिचरी आमा नभएकी केटी! मलाई देखेर उसलाई आफ्नी आमा पाएजस्तै लाग्ला हगि रमेन्द्र !
उसी ! उसी !
म त्यो टुहुरी केटी र उसको बाबुलाई आफ्नो भएभरको माया दिन्छु, सिङ्गै मुटु उनीहरूको अगाडि राखिदिन्छु । तिमीलाई थाहा छ, अनि त्यो केटीको बाबुले मलाई कति माया गर्छ । माया गर्छ, धेरै-धेरै माया गर्छ । रमेन्द्र । तिमीलाई थाहा छ हगि, म पेन्टिङ गर्छु । तिमीलाई त मेरो पेन्टिङ कहिल्यै मन पर्दैनथ्यो ।मैले ब्रस समातेँ कि तिमीलाई झर्को लाग्थ्यो । त्यस केटीको बाबुलाई मेरो रुचिका बारेमा सब थाहा छ, अझ मैले तस्बिर पनि बनाउँछु भन्ने सुनेर त ऊ ज्यादै खुशी भयो ।
उसी !
ऊ तिमीजस्तो छैन । तिमीले जस्तो रोमान्टिक कविता रच्न ऊ जान्दैन, तर मलाई विश्वास छ रमेन्द्र । उसले मलाई कहिल्यै पनि दुःख दिँदैन । ऊ पनि मसितै यी सिउँडीका झ्याङमा बसेर मैले तस्बिर बनाउन लागेको क्यानभासमा हेरिरहन्छ । साँच्ची रमेन्द्र ! उसको र मेरो सुख एउटै ठाउँमा आएर अड्छ जस्तो लाग्छ ।
उसी ! उसी !
छिः रमेन्द्र ! मलाई उसी नभन भनेको होइन ? भइगो, अब जाऊ । मलाई एकान्त देऊ । सिउँडीका झ्याङलाई राम्ररी खोतल्नु छ मैले, मेरो तस्बिरमा के-के नमिलेजस्तो भयो । असारे फूल अँध्यारामा डुब्दै गइरहेछन् । रमेन्द्र ! उठ, ओह रमेन्द्र ! तिमी सुखी रहू, सुखी ।
असारे फूलसितै रमेन्द्र अँध्यारामा हराउँछ ।
तिमी जान्छौ रमेन्द्र ! जाऊ । त्यसैले त मैले भनेको तिमी यहाँ टिक्न सक्दैनौ भनेर । साँच्ची, तिमी आफूलाई ममा कहाँ हराउन सक्छौ र !
अँध्यारो, निस्पट्ट अँध्यारो । के भनेर गयो रमेन्द्रले ? सुखी रहू, सुखी । जे होस्, जीवनप्रति वितृष्णा छैन । आफूलाई जसोतसो बाँच्नैपर्छ सिउँडीको फूलझैँ आफूलाई काँडा-काँडामा टाँगेर ।
उसी ! उसी ! उसी !
रमेन्द्रले छोडेर गएको सुस्केरा अझै यहाँ बजिरहन्छ । उसको शरीरको गन्ध ! उफ् ! कान र नाक थुन्नुपर्छ, ओ रमेन्द्र !
उसी ! उसी ! उ…!
(प्रेमा शाहको कथासंग्रह ‘पहेँलो गुलाफ’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

