ऊ एउटा ठुटो, कुनै उपयोगिता नभएको काठाको ठुटो साबित भइसकेको छ । ऊ अजङ्गको हरियो रूखको एउटा अंश, उसको आङ बटारिएको छ, मोटा-मोटा मासुका चक्काहरूले बनेको खँदिलो ठुटो हो ऊ । उसमा पलाउने गुण छैन, ऊ तत्त्वरहित छ । अरू ऊ केही होइन, केही होइन ।

बत्तीको चम्किलो उज्यालो आँखा तिरमिरिने गरेर बल्छ । उसका अभ्यस्त आँखाका गेडीहरू पनि बत्तीको उज्यालोमा चट्किन्छन् । ऊ एकछिनका लागि आँखा बन्द गर्छ र फेरि खोल्छ, परेलाहरू बिस्तारै तलमाथि उम्रन्छन् । उसलाई आँखाका नानीहरू प्याट्ट फुट्लान् भन्ने डर लाग्छ, त्यसैले ऊ आँखा चिम्सा पार्छ । झ्यालमा झुन्डिएका पोतेका लामा-लामा लुङहरू सऱ्याङसुरुङ गर्दै बिस्तारबिस्तारै हल्लिरहन्छन् । कोठाभरि अङ्ग्रेजी गीतको धुन बजिरहेको हुन्छ । ऊ पोतेको पर्दामुनिको क्याक्टसको बिरुवा सजाएर राखेको रङ्गिन गमलामा पुगेर रोकिन्छ ।

त्यो क्याक्टसको फूल नफुल्ने चाहिँ खालको तैपनि कस्तो चिल्लो हरियो छ, सायद यो अमेरिकाबाट आएको हुनुपर्छ । अमेरिकाजस्तो टाढा देशबाट आएको क्याक्टस उसका आँखाको पीरो बाफ माथिमाथि उत्रन्छ । ऊ गमलाजत्तिकै सारो ठोस छ र क्याक्टसजस्तै बिकाउने सत्य छ । गमला र क्याक्टसजस्तै ऊ आफ्नो सहअस्तित्वमा बाँचेको छ । उसलाई आफूदेखि गुनासो हुन्छ । कहिलेकाहीँ ऊ त्यसभित्र डुबेर ढाडिन्छ, तैपनि ऊ आफ्नो विश्वासको सतहमा ढुसी पर्न दिँदैन । ऊ निकम्मा ठुटो भए पनि उसले आफ्ना नाक, कान र आँखा छामेर आफूलाई मानिस भन्ने पत्तो लगाउँछ । ऊ सबै ज्ञानेन्द्रिय भएको ठुटो मान्छे, त्यसैले ऊ तर्क गरेर आफ्नो विश्वासलाई जिताउन खोज्छ । ऊ हार्न चाहन्न कहिल्यै पनि र ऊ स्वास्नीलाई छोड्दैन । ऊ स्वास्नीलाई असङ्ख्य माया गर्छ । उसलाई माया गरेर ऊ आफूपट्टिको गुनासोलाई पछारेर आफ्नो विश्वासलाई जित्न खोज्छ । उसकी अपूर्व रूपवती तर इस्पातले बनेकी स्वास्नी पनि उसलाई उत्तिकै माया गर्छे । उसले स्वास्नीसितको यतिन्जेलको सामीप्यमा धेरै कुरा थाहा पाइसकेको छ । ऊ उसलाई जत्तिको माया गर्छे त्यत्तिकै घृणा गर्छ । उसले आफू नजिकैको सोफाभित्र गडेर कुहिनाको भरमा आधा पल्टिएकी स्वास्नीलाई हेर्छ र आफूलाई अनुभव गर्छ ।

आफू समुद्रको छाल भएर पनि चट्टानजस्तै अलमस्त पल्टिएकी त्यस कोमलाङ्गी मत्स्यगन्धालाई ऊ आफूभित्र ढाक्न सक्दैन । ऊ तम्सन्छ त्यस मत्स्यगन्धालाई बलियो हातको नङ्ग्राले चिरेर धुजाधुजा गर्न । ऊ कोसिस गर्छ त्यसलाई समाउन तर उसको हातबाट त्यति साहसिलो काम हुन सक्दैन । उसका हातका नङ्ग्राहरू मत्स्यगन्धाको आङमा रोपिँदैनन् । ऊ सधैँ थाकेर हताश भएर मत्स्यगन्धाका धुपछाया रङका टल्कने कत्लाहरूमाथि चिप्लिरहन्छ, ऊ अड्न सक्दैन त्यहाँ । मत्स्यगन्धाको शरीरबाट आँधीजत्तिकै हुरहुर निस्कने काँचो माछाको गन्धलाई ऊ झेल्न सक्दैन । ऊ जड भएर मत्स्यगन्धाको विकट कोमलतालाई ताकिरहन्छ, अनि मत्स्यगन्धा उसको सामर्थ्यबाट फुत्केर पर सोफामाथि आएर उस्तै अलमस्त भएर पछारिन्छे । मत्स्यगन्धाका सधैँ हाँसिरहेजस्ता ओठहरू प्याक्क भएर खुल्छन्- ‘डियर ! मभित्रको गन्धलाई तिमी खप्न सक्दैनौ, खप्न सक्ने सामर्थ्य तिमीमा छैन ।’

उसलाई यो सुनेर आश्चर्य लाग्दैन । यी कुराहरू उसले सधैँ बुझ्दै आएको छ । अङ्ग्रेजी गीतको धुन बिस्तारै रोकिन्छ । मत्स्यगन्धा सोफामा उठेर बस्छे, उसका गुलाफी कानमा झुन्डिएका हीराका माछाहरू गाला-गालासम्म लत्रन पुग्छन् । हीराहरू उसका गालाको टकमा चमक-चमक चम्कन्छन् । ऊ बुझ्छ, मत्स्यगन्धालाई एउटा बलियो सामर्थ्य भएको शान्तनुको जरुरत परेको छ । उसको कपाल चट्किन्छ, जीउ सिङ्गै झनझनाउँछ । ऊ आफूलाई बलजफ्ती रोक्छ, मत्स्यगन्धाको शरीरको गन्धसित भिड्ने सामर्थ्य उसको कम छ । ऊ मत्स्यगन्धाको छेउमा पुग्छ र एउटा सुलुत्त परेको बोतलबाट गाढा खैरो झोल गिलासभरि खन्याएर उसको अगाडि राखिदिन्छ ।

‘थ्याङ्क यू !’ मत्स्यगन्धाको एकै घुट्कोमा गिलास रित्तिन्छ । ऊ मत्स्यगन्धालाई हराउन खोज्छ । उसका कमला कानहरूमा झुन्डिएका हीराका माछाहरूलाई एकै झट्कामा कानै चुँडिने गरेर चुँडाल्न उसलाई मन लाग्छ । उसलाई मत्स्यगन्धालाई कान नभएकी बच्ची बनाइदिन मन लाग्छ । उसको हात अगाडि बढ्न सक्दैन, किन-किन उसलाई उसका कानदेखि मोह लाग्छ । ऊ चुप लाग्छ, चुपचाप लागेरै ऊ आफ्नो विश्वासलाई जित्न खोज्छ । उसकी मत्स्यगन्धा ऊतिर हेरेर मुस्काउँछे । हो, रमाइलोसित मुस्काउँछे । उसको बाक्लो कान रन्किन्छ, उसलाई आफू तल खुस्केजस्तो अनुभव हुन्छ । ऊ एउटा ठुटो, कुनै उपयोगिता नभएको ठुटो । ऊ मत्स्यगन्धाको तीव्र काँचो गन्धमा पुगेर ऊ बेहोस हुन्छ ।

झ्यालबाट हावाको झोक्का भित्र पस्छ, पोतेका लुङहरू आपसमा अल्झेर झुल्छन् । काँचो माछाको नाक फुट्ने चर्को गन्धसित बारुदका झिल्काहरू उड्छन्, त्यस विस्फोटमा डढ्लाजस्तो हुन्छ, उसको विश्वास ढल्न खोज्छ । ऊ एउटी कोमलाङ्गी आइमाईको अगाडि हार्न थाल्छ, उसभित्रको पुरुषत्वले मत्स्यगन्धाको नारित्वलाई आत्मसात् गर्न सक्दैन । बारुद बलिरहन्छ । मत्स्यगन्धा उसलाई लिएर समुद्रमा डुब्छे, तर आपसको पौडीको खेल प्रतियोगितामा ऊ मत्स्यगन्धाभन्दा पहिले नै थाकेर किनार लाग्छ । मत्स्यगन्धा अझै पानीमा हातगोडा फालिरहेकी हुन्छे । वाल्जको धुन मधुरोसित कोठाभरि बज्छ, अनेकौँ चिल्ला खुट्टाहरूको तालसितै ऊ एक चोटि थर्किन्छ । सारो मासुका चक्काहरूले बनेको ठुटोमा चेतना दगुर्छ । उसले आफ्ना नाक, कान र आँखालाई पालैपालो छोएर अनुभव गर्छ । उसले निभ्दै बल्दै गरिरहेको रङ्गिन बत्तीलाई आँखाभरि हेर्छ, नजिकै सोफामा सोझिएर बसेकी मत्स्यगन्धाको नरम आङमा हातले सुमसुम्याउँछ र उसको आङबाट निस्केको काँचो माछाको गन्धलाई गहिरिएर सुँघ्छ । ऊ दङ्ग पर्छ र बेलुनजत्तिकै फुल्दै जान्छ । ऊ आफ्नो विश्वासलाई हराउन खोज्दैन, आफ्नो तर्कमा ऊ अड्छ, ऊ क्याक्टसजत्तिकै भयङ्कर छ ।

उसले मत्स्यगन्धाको रित्तो गिलासलाई गाढा खैरो झोलले चारपाँच चोटि भरिदिन्छ । मत्स्यगन्धाले गिलास र बोतल सबै रित्त्याइदिन्छे- ‘डियर ! यू आर नाइस !’

वाल्जको धुन एकनासले बज्छ, उसका खुट्टा र पिँडौलाहरूमा लय र ताल भरिन्छ । ऊ मत्स्यगन्धालाई तीखा आँखाले हेरेर उठ्न खोज्छ, उसका हात मत्स्यगन्धातिर नबढ्दै ऊ जुरुक्क उठ्छे । बत्ती मधुरो हुन्छ, ऊ सेलाउन थाल्छ, बाहिर अँध्यारामा एउटा दृश्य स्पष्ट हुन्छ । एउटा नीलो समुद्र झ्यालसम्म बग्छ, ऊ स्तब्धतामा घुल्छ । पोतेको पर्दालाई छिचोलेर समुद्रफिँजहरू डान्सिङ फ्लोरमा भरिन्छन् । पानीका असङ्ख्य पातला फोकाहरूमाथि उसकी मत्स्यगन्धा हलुकासित नाचिरहेकी हुन्छे । उसले आफू बसेकै ठाउँबाट देख्छ, ऊ अरू बेग्लै दुई वटा बलिया हातहरूको आडमा नाचिरहेकी हुन्छे । ती आड दिने हातहरू भएको मान्छेको टाउकामा एउटा ठूलो हीराको चन्द्रमा झलमलाउँछ । उसका आँखा ज्यादै ठूला भएर फाट्छन् । ऊ हार र जितको तराजुमा भुल्छ ।

मत्स्यगन्धाले अर्को बलियो शान्तनुलाई भेट्टाइसकी । ऊ शान्तनुको कठोर अनुहारमा चियाउँछ, शान्तनु उसको प्रतिद्वन्द्वी ! उसका मुठीहरू बटारिन्छन्, तर हातहरू माथि उठ्न सक्दैनन् । समुद्री फिँजले मत्स्यगन्धा र शान्तनुलाई सम्पूर्ण ढाकिदिन्छ । बत्ती झ्याप्प निभ्छ, ऊ अँध्यारामा छामछामछुमछुम गरेर सोफामा दह्रो भएर बस्छ । बत्ती फेरि बल्छ, वाल्जको धुन उसै गरी बजिरहेको हुन्छ । नृत्यरत शान्तनु र मत्स्यगन्धाका गोडाहरू हावामाथि उड्छन् । फेरि उनीहरू पालैपालो एकअर्कामाथि झुक्छन् । ऊ वाल्ज नृत्यलाई हेरिरहन्छ । उसलाई आफू फेरि उही काठको ठुटो भएजस्तो लाग्छ । ऊ आफूभित्रको क्याक्टसको भयङ्करतालाई छामेर पत्ता लगाउन खोज्छ । उसका हातका औँलाहरू आफ्नै छातीमा गएर माडिइन्छन् । ऊ पत्याउन्न, साँच्चै ऊ काठको काम नलाग्ने ठुटो मात्रै हो । ऊ फेरि तर्कमा उत्रिन्छ । वाल्जको मधुरो लय टक्क रोकिन्छ, शान्तनु समुद्रफिँजसितै झ्यालमा हल्लिइरहेका पोतेका लुङहरू पछाडि गायब हुन्छ । मत्स्यगन्धा उसको अगाडि आएर उभिन्छे, उसको गोडा र शरीर अझै झुलिरहेजस्तो देखिन्छ । उसले मत्स्यगन्धालाई बलेको आँखाले हेर्छ- ‘अर्को नाचका लागि केही पिउँछ्यौ ?”

“किन, तिमी पनि नाच्न सक्छौ र ? भइगो डियर ! आज म ज्यादै थाकेकी छु ।”

उसले मत्स्यगन्धालाई नियालेर हेर्छ । ऊ सारो बरफको ढिकोजस्तै बिस्तारै-बिस्तारै पग्लँदै गइरहेकी हुन्छे । विचार गर्छ, मत्स्यगन्धाको सेतो सारी उसको सेतो गोलीगाँठामाथि उचालिएको हुन्छ । ऊ सारीलाई हेरिरहन्छ, उसलाई त्यो सारी गोलीगाँठादेखि माथि पिँडौलासम्म सरेजस्तो लाग्छ । ऊ त्यही हेरिरहन्छ, हेरिरहन्छ, तर त्यहाँ गोलीगाँठा र पिँडौलाको सेतोमा उसका आँखाको ज्योति धमिलिन्छ । उसले समुद्रको बीचमा टापुजस्ता भयङ्कर-भयङ्कर चट्टानहरूमा खोपिएका अनेकौँ उन्मुक्त जलपरीहरूलाई कति नजिक नजिकबाट छोएर हेरिसकेको छ, तर ऊ एउटी कमली मत्स्यगन्धासित टक्कर लिन सक्दैन, सक्दैन । मत्स्यगन्धा बिस्तारै आफ्नो लामो मोटरतिर बढ्छे । ऊ थरर्र काम्दै मोटरभित्र पस्छ, ओह ! यी सब कुराको निर्णय ऊ घर पुगेपछि लिन्छ ।

घर आउँछ । उनीहरू दुवै भित्र पस्छन् । कोठा आउँछ । ऊ केही भन्न खोज्छ, तर मत्स्यगन्धा पहिले आफ्नो कोठाभित्र पस्छे र ढोका ढप्काइदिन्छे- ‘डियर ! रात धेरै भइसक्यो ल, गुड नाइट !’

ऊ तल खस्छ र साँच्चै ढोकाबाहिर भुइँभरि छरिन्छ । त्यसपछि पनि वाल्जको धुन बजिरहन्छ, डान्सिङ फ्लोरमा समुद्रफिँज उठिरहन्छ र झ्यालमा पोतेको लामो पर्दा उस्तै सऱ्याङसुरुङ गर्दै बजिरहन्छ । बत्ती मधुरो भएर बल्छ, चड्का भएर बल्छ । मत्स्यगन्धा र शान्तनु उसै गरी हावामा गोडा उठाएर पालैपालो एकअर्कामाथि झुकेर नाचिरहन्छन् । ऊ नाचमा जान्छ, उसलाई मन पर्छ, तर ऊ नाच्न सक्दैन, ऊ आफ्नी मत्स्यगन्धाको नृत्यगतिमा मिल्न सक्दैन । ऊ ठुटो काठ भइरहन्छ । प्रत्येक रात नाचपछि घर फर्कने बेलामा मत्स्यगन्धाले उसको हातलाई दाबेर एउटै कुरा भन्छे- ‘डिय र! यू आर नाइस ।’ जवाफमा ऊ केही भन्दैन, ऊ चुप लागिरहन्छ । तर्क गरेर आफ्नो विश्वासलाई जिल ऊ छोडिदिन्छ, बदलामा उसलाई वितृष्णाले घेर्छ । ऊ आफैँ छटपटिन्छ, निचोरिन्छ तर ऊ देख्छ – ऊ बिलकुलै खाली छ, एक थोपो रस पनि उसभित्रबाट टप्कँदैन । ऊ मत्स्यगन्धादेखि झोक्किन छोडिदिन्छ, उसलाई मत्स्यगन्धाको निर्बन्ध र जहिले पनि अलसाइरहेको व्यक्तित्व हेर्न रमाइलो लाग्छ । उसलाई आफ्नो प्रतिद्वन्द्वी शान्तनुसित पनि ईर्ष्या लाग्दैन । त्यसलाई ऊ आफ्नो अधिकार सुम्पिदिन्छ ।

वाल्जको अर्को राति ऊ ढिलो घर फर्कन्छ । उसकी मत्स्यगन्धा नाचबाट थाकेर पहिले नै घर फर्किसकेकी हुन्छे । ऊ सरासर मत्स्यगन्धाको कोठातिर लम्कन्छ । उसको गालामा मत्स्यगन्धाले अघि शान्तनुसित नाच्ने बेलामा छोडिदिएको कृतज्ञताको डाम आलै हुन्छ, ऊ गालालाई हत्केलामा जोर्छ । उसको हत्केलामा उही काँचो माछाको गन्ध बेरिएको चिसो थुक पोतिन्छ । उसको मासुका चक्काहरू खाँदिएको ठुटो शरीरमा नजानिँदो हलुका तरङ्गहरू उठ्छन् । ऊ नाचघरभित्रको क्याक्टसजत्तिकै भयानक हुन थाल्छ ।

उसलाई फेरि प्रतिद्वन्द्वी शान्तनुदेखि रिस उठ्न थाल्छ । ऊ एकैछिनमा मत्स्यगन्धाको कोठाभित्र पस्छ, कोठाको भित्तामा सुत्ने बेलाको बत्तीको मधुरो नीलो प्रकाश कामिरहेको हुन्छ । अर्द्धनिद्रामा पल्टिएकी मत्स्यगन्धाको खुट्टाका गोलीगाँठा र पिँडौलाको सेतोमा ऊ मुग्ध हुन्छ । उसले मत्स्यगन्धाको पिँडौलालाई मुसार्छ, धेरै बेरसम्म मुसारिरहन्छ, तर ऊ उठ्दिन । ऊ छटपटाउँछ, उसको छाती अधैर्यसाथ चल्न थाल्छ अनि ऊ सबै थोक सोच्न छोड्छ ।

एक्कासि उसले मत्स्यगन्धालाई अँगालोमा समेट्छ । बत्तीको नीलो छाया कोठामा भयानक रूपले काँप्छ । मत्स्यगन्धाले एक कोल्टो फेर्छे, उसको अँगालो एकै झट्कामा फुस्कन्छ, मत्स्यगन्धा फेरि ओछ्यानमै लड्छे । उसका पाखुरा र छाती सबै सङ्कुचित हुँदै जान्छन् । उसलाई सास लिन मुस्किल हुन्छ । मत्स्यगन्धाले सायद निद्रामै अर्को कोल्टो फेर्छे । मत्स्यगन्धाको कोल्टोमा परेर ऊ थिचिन लाग्छ, ऊ उसको छातीमा बाँदरको बच्चाजस्तै च्यापिएर झुन्डिन्छ ।

मत्स्यगन्धाको निद्रा अझै खुल्दैन । ऊ गर्मी र पसिनाले निथ्रुक्क हुन्छ । उसले समुद्रको पौडीको खेलमा आफूले फेरि हारेको अनुभव गर्छ । मत्स्यगन्धा निद्रैमा पनि उसै गरी पानीमा हातखुट्टा फालेर पौडिरहेकी हुन्छे । मत्स्यगन्धाको शरीरको काँचो माछाको गन्ध र बारुदका झिल्का आगोको विस्फोट उसलाई असह्य हुन्छ । ऊ उठेर दराजनिर पुग्छ र यू-डी-कोलनको सिसी झिकेर मत्स्यगन्धाको आङभरि खन्याइदिन्छ । यू-डी-कोलनको चर्को बास्ना कोठाभरि रँगिन्छ । मत्स्यगन्धाका सधैँ हाँसिरहेजस्ता ओठहरू निद्रामै प्याक्क उम्रन्छन् । उसको अँगालो मत्स्यगन्धालाई च्याप्नमा असक्त भएर लत्रन्छ । उसले गमला र क्याक्टसको सहअस्तित्वलाई बिर्सिदिन्छ, उसको विश्वास पनि ऊजस्तै तत्त्वरहित हुन्छ । यू-डी-कोलन बत्तीको नीलो प्रकाशमा घुलेर अपूर्व अस्तित्व स्थापना गर्छ । ऊ नीलो प्रकाश र मधुरो बास्नामा विक्षिप्त हुन्छ । उसको कपाल चड्कन थाल्छ । त्यस बास्नालाई ऊ खप्न सक्दैन । ऊ पराशर बनेर मत्स्यगन्धालाई सुगन्धले भरेर अझ बढी अलौकिक बनाइदिन चाहन्न । ऊ त्यो मूर्ख पराशरजस्तो दानी, दयालु र त्यही बूढो पराशरजस्तो स्वार्थी र कामी पनि हुँदैन ।

यतिन्जेल वाल्ज नृत्य चल्दा उसले जति फाइदा र उत्सुकता मत्स्यगन्धालाई दिएको छ, ती सब फेरि मत्स्यगन्धालाई दिन सक्दैन । अबदेखि मत्स्यगन्धालाई कुनै शान्तनुसित त्यसरी वाल्जमा देख्न सक्दैन । रातको अद्भुत भयङ्करताले उसलाई, उसको चेतनालाई ढाक्छ । उसको निधारमा पसिना चिटचिटाउँछ, उसका हातहरूमा भयङ्कर कम्पन हुन्छ । सायद ऊ पनि स्वार्थी हो, उसलाई आफ्नो अनुपयोगिताको आभास हुन्छ । ऊ आफ्नो पूर्वस्वार्थको प्रायश्चित्त गर्न खोज्छ । कोठामा बत्तीको छाया गाढा बन्छ । उसको मुटु जोर-जोरले हान्छ । ऊ काँडादार क्याक्टसजत्तिकै भयङ्कर हुन थाल्छ । उसको मस्तिष्क ज्ञानशून्य हुन्छ । उसका हातका नङ्ग्राहरू मत्स्यगन्धाको कमलो घाँटीमा गएर गड्छ । कोठाको बत्ती झ्याप्प निभ्छ, उसलाई अन्धकारपछि अरू केही कुराको होस हुँदैन । ऊ आफ्नी कोमलाङ्गी मत्स्यगन्धाको मुखमाथि पसिनैपसिना भएर झुक्छ ।

(प्रेमा शाहको कथासंग्रह ‘पहेँलो गुलाफ’बाट)