प्रेमा शाह आधुनिक यौन मनोवैज्ञानिक सशक्त कथाशिल्पी हुन् । नारीको यौन विसङ्गतिलाई सूक्ष्म ढङ्गले केलाएर प्रतीकात्मक रूपमा प्रस्तुत गर्न उनी सफल छिन् । यौन विसङ्गगतिका विविध सन्दर्भहरू केलाएर त्यसलाई आख्यानीकरण गर्ने बौद्धिक चेतना भएकी उनी सफल नारी कथाकार हुन् ।

उनको कथासंग्रह “पहेँलो गुलाफ” मा आठवटा कथा सङ्कलित छन् ।

यस संग्रहकाे पहिलो कथा हो “पहेँलो गुलाफ” । यस कथामा क्षयरोगले ग्रस्त पत्नीप्रतिको लोग्नेको निरन्तरको यौनिक तिर्खालाई प्रस्तुत गरिएको छ । यस्तो यौन विसङ्गतिलाई पहेँलो गुलाफमा निरन्तर लागिरहने झुसिल्किरासँग दाँजेर कथावस्तुलाई प्रतिकात्मक रूपमा प्रस्तुत गरिएको छ । क्षयरोगले ग्रस्त मरणासन्न अवस्थामा अस्पतालको बेडमा लडिरहेकी स्वास्नीप्रति लोग्नेको निरन्तरको हिंस्रक यौनिक आक्रमणलाई यस कथामा कलात्मकतासाथ प्रस्तुत गरिएको छ ।

दोस्रो कथा हो, “लोग्ने” । यस कथामा एउटी विधवा युवतीको स्वाभाविक यौन तिर्खालाई सूक्ष्म ढङ्गले केलाएर प्रस्तुत गरिएको छ । विवाहको निम्ति बहिनीलाई हेर्न कुनै केटो आउने भन्ने थाहा पाएपछि बहिनीको सिँगारपटार गर्नुपर्दा उ आफू बेचैन हुन्छे र अर्द्धचेतन अवस्थामा ओठमा लाली लगाउन पुग्छे । गोदावरी नाउँकी एउटी महिलाले तिमी त विधवा हौ किन लाली लगायौ भनेपछि पो झल्याँस्स हुन्छे । यौन तिर्खाले विक्षिप्त भएकी विधवा निर्मलाले आफ्नो गाला आफैँ चिथोरेर रक्ताम्मे बनाएकी हुन्छे । बहिनीलाई हेर्न आउने केटाले तानेर आफू नजिकै राखी उसको गाला टोकी दिएको परिकल्पना गरेपछि उसको मनोविज्ञान जटिल मोडमा पुग्छ र स्लिपिङ् ट्याबलेट खाएर ऊ पल्टन्छे ।

यस सङ्कलनको तेस्रो कथा हो, “प्रतिक्रिया” । यस कथामा स्वास्नीप्रति सधैँ शंकालु दृष्टिले हेरी कुटपिट गर्ने लोग्ने मनेको उद्दण्डताप्रति स्वास्नी पातलीको गतिलो प्रतिक्रिया प्रस्तुत गरिएको छ । यसमा पातलीप्रति अनावश्यक शङ्का गरी कुटपिट गर्ने लोग्ने मनेलाई छिँडीको कोठामा एकलै छोडी पातली बेपत्ता भएको कथानकता छ । नारीको अस्तित्व र स्वाभिमानलाई सुरक्षित राख्न प्रतिशोध स्वरूप पातलीले गरेको आँटिलो कदम सह्रानीय छ । कथामा विरेले उसलाई दिएका गरगहना समेत कोठामै छोडी खाली हात हिँडेको दृश्यले पातलीको स्वाभिमान र विद्रोही चेतलाई उच्चतम बिन्दुमा पुर्‍याई नारीको मूल्यलाई स्थापित गराएको छ ।

चौथो कथा, “चायाँ” मा दालचिनीले अँध्यारो कोठामा बसेर बाक्लो चायाँ परेको आफ्नो अनुहारमा जति पाउडर र लिपस्टिक दले पनि सुन्दर हुनुको सट्टा अनुहार झन् निलो देखिन थाल्छ । घरमा काम गर्ने नोकर गोरेले कोठामा बत्ती बाली दिन खोज्दा उसलाई त्यसो गरेको मन पर्दैन, ऊ अँध्यारैमा बस्न रुचाउँछे । लोग्ने भनेपछि दालचिनी हुरुक्कै हुन्छे तर उसको लोग्ने चाहिँ कुरूप स्वास्नीसँग पन्छेर हिँड्न खोज्छ । ऊ समयमा कहिल्यै घर फर्कँदैन । कोठा अँध्यारो भएको निकैबेर पछि मालिक्नीलाई सोध्दै नसोधी गोरेले कोठामा बत्ती बालिदिन्छ । “किन त्यति पर उभिएको यहाँ आएर बस्” भनी मालिक्नीले उसलाई भनेपछि वास्तविक कथा शुरु हुन्छ । “लोग्नेको कोठा सफासुग्घर गर्न आफ्नी बहिनीलाई बोला, म चाहिँ अर्कै कोठाका सर्छु, त्यस कोठाको सरसफाइ चाहिँ तैँले गर्नु” भनेपछि कथा नयाँ ढङ्गबाट विकसित हुन्छ । गोरेले मालिक्नीको आदेश बमोजिम जसै दालचिनीको आङ मिच्न थाल्छ अनायासै उसको हात मालिक्नीको संवेदनशील अङ्गतिर पुग्छ । दालचिनी भन्छे, “उनी नआए नआउन्, यत्रो घरमा आफू एक्लै भए पो डर, तँ त छँदैछस् नि…..!” गोरेले “भएभरको बल झिकेर आफ्नो नाडीमा कस्सिएका मालिक्नीका दुवै हात झड्कार्‍यो र हुरी झैँ हुर्रिंदै कोठाबाट बाहिर निक्ल्यो” । स्वास्नीको अनुहार कुरूप भएको हुँदा ऊप्रति लोग्ने आकर्षित हुन नसकेको कारणबाट दालचिनीले आफ्नो यौन तिर्खा मेट्न नोकर गोरेको सहारा लिएको कथानकता यसमा छ । यस कथामा दालचिनी र उसका लोग्नेका बिचको यौन विसङ्गतिलाई आख्यानात्मक अभिव्यक्ति दिइएको छ । कथाको विकासक्रम अत्यन्त स्वाभाविक छ ।

यस सङ्ग्रहको अर्को कथा हो, “मीना” । आफ्नो मालिक सानुराजालाई खुशी पार्न मीना अनेक सिँगारपटार गर्छे । सानुराजा पनि उसको कपाल तान्ने, ऊसँग ठट्टा गर्ने, उसलाई आफ्नो कोठामा बोलाउने, तानेर आफूतिर ल्याउने जस्ता उच्छृङ्खल गतिविधि गर्छ । यस्ता क्रियाकलापबाट मीनाको भावनात्मक उद्वेलन बढ्दै गई ऊसँग नजिकिँदै जान्छे । सानुराजा प्रतिको उसको अनुराग उच्चतम बिन्दुमा पुगेपछि एकदिन ऊ सानुराजाबाट अनपेक्षित रूपमा अपहेलित हुन पुग्छे । सानुराजाले उसलाई कोठाबाट निस्कन आदेश दिएपछि ऊसँगको सम्बन्ध बारे उसलाई पश्चात्ताप हुन्छ । यसरी सानुराजाबाट अपहेलित भएपछि उसले विगतमा चुरोट र चमेलीको तेल किनेर दिई आफूलाई साँच्चै माया गर्ने घरको भाँडा माझ्ने नोकर दिलेलाई सम्झन्छे । दिलेले मीनालाई मनैदेखि प्रेम गरेको हुन्छ । उसले दिलेलाई भन्छे, “भित्रका मान्छे बोक्साबोक्सी हुने रहेछन् । रगत जति चुसेर निलै पारेर छोडिदिन्छन् ।” उसले दिलेसँग त्यो घर छाडेर भाग्ने प्रस्ताव राख्छे । अन्त्यमा मीना र दिले दुवै त्यो घर छोडेर भाग्छन् । यस कथाले प्रेम र सामाजिक विसङ्गतिलाई यथार्थ धरातलमा उजागर गरेको छ ।  कथा सरल, सुन्दर र प्रभावपूर्ण शैलीमा लेखिएको छ ।

छैटौँ कथा हो, “एउटा जीवन्त क्षण जो मरी मरी पनि बाँच्छ” । यस कथामा प्रेमा शाहको उच्च बौद्धिक चेतना र साहित्यिक मूल्य प्रस्तुत भएको छ । शैली, भाव र शिल्पका दृष्टिकोणले यसको कथानकता उच्च कोटीको छ । यस कथामा जम्मा पाँचजना पात्र छन् । ती हुन्:  हेरा, रतन दाइ, भाउजु, सुनमाया र चोलोको नाप दिन आएकी एउटी ठिटी । सुकेनासले चाउरिएको हेराको पनि मन छ, उसलाई पनि विपरीत लिङ्गीप्रतिको भावनात्मक चाहना छ । ऊ नुहाइरहेकी सुनमायाको सुनौलो आङ, पाखुरा र पिँडुलाहरु हेर्छ, तर सुनमायाले उसलाई हेर्दिन । उसलाई लाग्छ, ऊसँग सुनमायालाई गाल्न सक्ने पौरुषता छैन । भाउजुप्रति पनि उसले ईर्ष्या राख्छ । भाउजु पनि त्यस सुकेनासे देवरसँग तर्किएर हिँड्छे । आफ्नो शारीरिक कमजोरीले गर्दा ऊ आफूलाई आकृतिहीन मनुष्य ठान्छ । चोलोको नाप दिन आएकी एउटी ठिटीको चोलामा टाँक लगाउँदा पनि उसले अनेक कल्पना गर्छ र रतन दाइको अगाडि उभिएकी त्यस ठिटीलाई बेस्सरी अँठ्याएको कल्पना गर्छ । सुकेनासको रोगी हुनुको हीनताबोधले गर्दा ती दुवै स्वास्नीमान्छेको छाती ऊ देख्तैन । उसका हरेक जीवन्त क्षण मरी मरी बाँचेका छन् । उसको नीरस जीवनलाई प्रस्तुत गर्न कथाकारले धमिलो बकैनाको रुख, कागको बिरसिलो काग…..काग, गँगटाको घस्राइ र  घस्रेर, उफ्रेर एक ठाउँबाट अर्को ठाउँमा सर्ने भ्यागुतोलाई प्रतीक बनाएकी छिन् ।

पहेँलो गुलाफ कथासङ्ग्रहको सातौँ कथा हो, “वाल्जपछि” । दुई लोग्नेस्वास्नीका बिचको सम्बन्ध रङ्गिन गमला र त्यसमा रोपिएको नफुल्ने क्याक्टस झैँ सहअस्तित्वको थियो । कथाको मुख्य पात्र आफू समुद्रको छाल झैँ उत्साही छ भने स्वास्नी मत्स्यगन्धा चाहिँ नपग्लने चट्टान जस्तै निरस छ । ऊ आफू समुद्रको छाल भएर पनि चट्टान जस्तै अलमस्त पल्टिएकी  कोमलाङ्गी मत्स्यगन्धालाई आफूभित्र ढाक्न सक्तैन । त्यसैले उ आफूलाई कुनै उपयोगिता नभएको हाँगा र पात पलाउन नसक्ने  निस्सार काठको ठुटो जस्तो ठान्दछ । उसकी स्वास्नी वाल्ज धून र नृत्यमा रमाउँछे र थाकेपछि भन्छे “डियर ! मभित्रको गन्धलाई खप्न सक्ने सामर्थ्य तिमीसँग छैन” । जब शक्तिशाली शान्तनु वाल्ज धूनमा आफ्नी स्वास्नीसँग नृत्य गर्न थाल्छ, स्वास्नीप्रति उसको वितृष्णा बढ्छ र उसको मनोविज्ञानले आफ्नो सारा अधिकार शान्तनुलाई सुम्पेको देख्छ । उसको मनोविज्ञान आफ्नी स्वास्नी मत्स्यगन्धालाई कुनै शान्तनुसँग त्यसरी वाल्ज नृत्यमा रमाएको देख्न नसक्ने अवस्थामा पुग्छ । उ आफ्नो अस्तित्वको खोजी गर्न थाल्छ । सहअस्तित्वको भनिएको मत्स्यगन्धासँगको उसको जीवन निस्सार बन्छ र यस सम्बन्धले क्याक्टस(सिउँडी) जस्तै घोच्न थाल्छ । बाल्ज धूनको शान्तनुसँगको एउटा नृत्य समाप्त भएपछि आफ्नो अस्तित्वको खोजीमा उसले मत्स्यगन्धाको कमलो घाँटी थिच्छ, त्यसपछि बत्ती झ्याप्पै निभ्छ । कथा समाप्त हुन्छ । यो उच्च कोटीको बौद्धिक र मनोवैज्ञानिक कथा हो ।

यस सङ्ग्रहको अन्तिम कथा हो, “सिउँडीको झ्याङमा” । लामो समयसम्म अटुट प्रेममा रहेको रमेन्द्र र उषाको सम्बन्ध एक्कासि टुट्छ । रमेन्द्रले उषालाई शंकाको दृष्टिकोणले हेर्न थालेपछि ती दुईका बिचको प्रेम प्रसङ्ग सिउँडीको झ्याङ बन्छ । उषाको विवाह एउटी छोरीको बाबुसँग हुने निश्चित भएपछि पनि दुवैको भेट हुन्छ र आपसमा विगतका प्रेम प्रसङ्गहरू स्मरणमा आउँछन् । रमेन्द्रले उषालाई आफूसँगको प्रेम सम्बन्धमा पुनः फर्कन अनुरोध गरेता पनि उषा पुरानो कुरा बिर्सेर आफ्नो बाटो रोज्न तयार हुन्छे । उषा आफूले रोजेको त्यही बाटोमा खुशी देखिन्छे, उसले त्यो छोरी र उसको बाबुबाट पर्याप्त माया पाउने आशा राख्छे । रमेन्द्र भने पश्चात्ताप गर्छ र उषालाई पुनः सम्बन्धमा बाँधिन अनुरोध गर्दछ । उषाले आफ्नो दृढतामा कुनै सम्झौता गर्दिन । “तिमी सुखी रहु“ भन्ने कामना गर्दै अन्त्यमा रमेन्द्र उषासँग बिदा हुन्छ । कथाको प्लट आकर्षक हुनुका साथै पात्रहरूको अन्तर्द्वन्द्वलाई कथामा प्रभावपूर्ण ढङ्गले प्रस्तुत गरिएको छ ।

प्रेमा शाह आधुनिक कालकी अस्तित्ववादी चिन्तनधाराकी सशक्त कथाशिल्पी हुन् । उनले आफ्ना कतिपय कथामा पात्रहरूको विसङ्गतिपूर्ण क्रियाकलापलाई कथानकहीन शिल्पकारिताबाट प्रस्तुत गरेकी छन् । पहेँलो गुलाफ, लोग्ने, प्रतिक्रिया, मीना, एउटा जीवन्त क्षण जो मरी-मरी पनि बाँच्छ र बाल्जपछि उनका यस सङ्ग्रहका उत्कृष्ट कथाहरू हुन् ।