“हेर बाबु हो, मैले आफ्नो सुख,आनन्द नभनिकन तिमीहरूकै खुसीका लागि सिङ्गो जीवन अर्पण गरेँ । आ-आफ्नो गरेर खाने तिमीहरूको इच्छालाई आज मैले पूरा गरिदिएँ ।” बुबाको कुरा सुनेर जेठो छोरो बोल्यो, “यो राम्रो भयो बुबा, अब नगदको पनि बाँडफाँड सक्ने होइन र ?”

कान्छो छोराले थप्यो, “सबै भाग लगाइसकेपछि यो पनि सक्नु पर्छ किन बाँकी राख्ने?”

बुबा बोल्नुभयो, “मैले त्यसको व्यवस्थापन गरिसकेँ । तिमीहरू चिन्ता नगर ।”

बुबाको कुरा सकिन नपाउँदै कान्छो बोलिहाल्यो, “कहाँ व्यवस्थापन गर्नुभयो ? तपार्इँलाई हाम्रो कुन बैङ्कको खाता नम्बर थाहा थियो र ?”

जेठो उत्साहित हुँदै बोल्यो, “कतिकति रकम आयो त हाम्रो भागमा ?”

बुबा बोल्नुभयो, “तिमीहरूलाई करोडौँ पर्ने घर, खेतबारी अन्नपात सबै दिइसकेको छु बाबु हो । मसँग भएको जम्मा दुई लाख रूपैयाँको चिन्ता किन गर्छौ,वृद्ध भएको यो बुढो बाबुको तिमीहरूलाई कुनै चिन्ता छैन है ?अबको बाँकी जीवनका लागि मैँले त्यो पैसा वृद्धाश्रममा बुझाएर आएँ ।”