आचार्य प्रभा

पसलमा निक्कै भिड देखिन्थ्यो। भाइटीकामा दाजुभाइलाई कोसेली किन्न चेलीबेटीहरूको भिडमा रमना पनि आफ्ना दाजुभाइलाई केही किन्न पसेकी थिई । महिलाहरूको हल्लाले पसल अस्तव्यस्तझैँ देखिन्थ्यो ।

एकले भन्दै थिई, “म त दाजुलाई यो पन्ध्र हजारको ज्याकेट लगिदिन्छु ।”

अर्की भन्दै थिई, “सस्तोमस्तो त दिन पनि शरमै लाग्छ आजकल ।”

अर्कीले थप्दै थिई, “माइतीले पनि मलाई त दक्षिणा कसेर नै दिन्छन् त्यसैले आफूले पनि त्यहीअनुसार कोसेली दिनु पर्यो नि !”

यत्तिकैमा रमनालाई निशाले देखी हाली र सोधी, “तिमी पनि आज त महँगो पसलमा देखियौ ! माइतीलाई महँगै कोसेली दिने विचार गर्यौ कि क्या हो ? गज्जबले दक्षिणा दिन नसक्नेलाई त सस्तोमस्तो दिँदा पनि फरक पर्दैन।” उसले सस्तो समानतिर औंल्याई।

निशाको व्यंग्यमय वाक्य सुनेपश्चात रमनाले भनी, “हामी निम्न वर्गका चेलीमाइतीले महँगो कोसेली र पैसाको बिटो साटासाट गर्दैनौँ तर अमूल्य आशीष र अमीट माया साट्छौँ ।”

यति भनेर ऊ बाहिरिई।

भाइटीकाकै अघिल्लो दिन निशाको दाजुलाई प्रहरीले घोक्र्याउँदै लगिरहेको थियो ।

“साले, कामकाज केही गर्दैनस्। दिनभर जुवातास खेल्छस्, साला जुवाडे। चाड्बाडमा मात्र भए पो माफी दिनु यस्को पेशा नै यही छ !”

भाइटीकाको दिन निशा माइती नगई घर आँगनमै टहलिरहेकी देखेर रमनाले भनी, “निशा, खै ! महङ्गो कोशेली लिएर माइती गइनछ्यौ त ! माइततिरै जाने कुराथ्यो। भाइटीका नलाउने कि क्या हो ?”

निशाले नतमष्तक बन्दै भनी, “मलाई सन्चो भएन र गइनँ ।”

“अनि तिम्रो महङ्गो कोशेली खेर जाँदैन ? तिम्ले पाउने दक्षिणाको मुठो पनि छुट्ने भएछ,” रमनाले उसरी नै व्यंग्य छाडी।

उताबाट उस्को दाजु चौकीबाट छुटेर लुरुलुरु आउँदैथ्यो।

रमनाले उस्को दाजुलाई नदेखेझैँ गरेर सम्झाई निशालाई, “हेर साथी भाइतिहार भनेको महङ्गो कोसेली दिने प्रतिस्पर्धाको खेल होइन र चेलीबेटीलाई नोट्को बिटो दिनु मात्र भाइटीकाको अर्थ होइन। यो त एक चेलीमाइतीको चोखो सम्बन्ध र मायाको प्रतीकको पर्व हो। आज कति अशक्त माइतीहरू चेलीलाई दक्षिणा दिन भनेर रातभर जुवातास खेल्छन् पैसा आर्जनका लागि तर त्यो सही होइन। बस्, भाइटीकामा चेलीको उपहार सप्तरंगी टीका र सयपत्री, मखमलीको माला हो भने माइतीको आशीष नै चेलीको निम्ति ठूलो उपहार हो। पर्वलाई पर्व नै सम्झेर मानौं न कि आडम्बरको माध्यम।”

रमनालाई पसलमा बोलेकी हेपाहा वाक्यहरू सम्झेर निशा पश्चातापमा परी।