मित्र ‘उराठ

“सदरमुकाममाथिको यही डाँडो हो । रुखबिरुवा नहुने भएर नै डाँडाको नाम खुलखुले डाँडो राखेको रे तर यस डाँडाको महत्त्व कुनै तीर्थस्थलभन्दा कम छैन । यस जिल्लामा आउने उच्च पदस्थ कर्मचारीहरू यस डाँडाको अमिट
स्मृति लिएर जान्छन् । सायद मृत्युपर्यन्त यसको नाम बिर्सँदैनन् । यस जिल्लाका सम्पूर्ण दलहरूका लागि विभिन्न सङ्घसंस्थाका लागि यो डाँडा वरदान नै साबित भएको छ ।” आफ्नो जिल्ला घुम्न आएको साथी रमणलाई
वीरेन्द्रले डाँडाका बारे जानकारी गरायो ।
आश्चर्य मान्दै रमणले सोध्यो- “हैन के छ यस्तो डाँडामा बिर्सिनसक्नु कुरा ?”
“नेपालमा दैनिक जसो कुनै न कुनै दिवस मनाउने कुरा त तिमीलाई थाहै छ । कहिले सरकारी आयोजनामा कहिले सङ्घसंस्थाको आयोजनामा कहिले विभिन्न दलको आयोजनामा दिवसहरू त मनाइन्छ नै । अनि लगभग
सबैजसो दिवसमा वृक्षारोपणजस्तो पवित्र कार्य छोड्ने कुरै भएन ।”

“हरेक दिन, हरेक महिना, हरेक ऋतुमा वृक्षारोपण गर्दा जिल्लाको पूरै क्षेत्रफल जङ्गलले ढाकिएर बसिनसक्नु
हुने थियो यदि खुलखुले डाँडो नभएको भए । धन्न यही डाँडो छ जहाँ चट्टानैचट्टान छ । पानीको कुनै स्रोत छैन र
सदरमुकाम नजिकै छ ।”

“यदि यस डाँडामा बिरुवा हुर्कने भए त हरेक दिवसमा वृक्षारोपण कार्यक्रम राख्न फसादै पर्ने थियो । कहाँ-कहाँ
नयाँ ठाउँ चहार्दै हिँड्नुपर्थ्यो । यस डाँडाले सबैलाई सुविधा प्रदान गरेको छ । त्यसैले यस डाँडाको महत्त्व
अपरम्पार छ ।” – वीरेन्द्रले स्पष्ट पाऱ्यो ।
साथीको व्याख्याले रमण जिल खायो ।