
भूपिनको कार्यकक्षमा सेवाग्राहीको भिडभाड थियो । सेवाग्राहीहरू पालो गर्दै भित्र बाहिर गरिरहेका थिए ।
एक जना बुढी आमै पनि वेला-वेलामा ढोकाबाट चियाउँथिन् र फर्कन्थिन् । भित्र पस्ने हिम्मत गरिरहेकी थिइनन् ।

मित्र ‘उराठी’ गौतम
कार्यालय बन्द हुन अझै केही समय बाँकी थियो । सेवाग्राहीको सङ्ख्या पातलो हुँदै गयो । एक-दुई जना सेवाग्राही अझै भित्रै थिए त्यसैले पनि आमैभित्र पस्न अनकनाइरहेकी थिइन् ।
“आमै आउनुस् न भित्र, अघिदेखि देख्दै छु । के छ समस्या ?”- कुर्सीबाटै बोले भूपिन ।
अप्ठ्यारो मान्दै भित्र पसिन् बुढी आमै ।
“त्यहाँ बस्नुस् र भन्नुस् के काम हो ?” – आमैलाई बस्न इसारा गर्दै भने भूपिनले ।
आमै सोफाछेउमा बसिन् तर बोलिरहेकी छैनन् ।
कक्षमा भएका बाँकी सबै सेवाग्राहीहरू पनि निस्किए ।
“भन्नुस् न आमै के काम थियो ?” – फेरि सोधे भूपिनले ।
यताउता हेर्दै अलिअलि डर र अलिकति धक मान्दै आमै उठिन् । बिस्तारै भूपिनको नजिक पुगेर एउटा कुटुरो टेबुलमा राखिदिइन् ।
“के हो आमै यो ?” – सशङ्कित हुँदै भूपिन बोले ।
“हाकिम बाबु! अस्ति तपाईँले मेरो काम कति सजिलै गरिदिनुभयो । मलाई त मेरै छोरोजस्तै लाग्यो । आज निउरो बेच्न बजार आएकी थिएँ त्यसैले भेट्छु भनेर पसेँ । धेरै बेर भयो आएको, कुरिरहेकी थिएँ । तपाईँलाई केही दिन सकिनँ, बारीमा खन्यु बेँडुला पाकेका थिए त्यही पोको पारेर ल्याएकी छु । नराम्रो नमान्नुहोला बाबु ।”- आमैले बेलिबिस्तार लगाइन् ।
आमैको मायाँले भूपिनका आँखा रसाए । उसले पोको खोल्यो र सहर्ष स्वीकार गऱ्यो आमैको कोसेली ।
उता बुढी आमैको डराइरहेको अनुहार भने अहिले उज्यालो देखियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










