जन्मजात नै छाप परेको छ ममा
त्यसैले सायद म आस्तिक हुँ
र त
चहार्छु एउटा आस्थाका साथ
विभिन्न मठ,मन्दिर र थुम्काहरू
नतमस्तक हुन्छु
र झुकाउँछु शिर
देवदेवीका मूर्तिसामु
अनि जिज्ञासु बन्छु
मन्दिर स्थापनाको विषयमा
खोतल्न चाहन्छु
त्यसको ऐतिहासिक र सांस्कृतिक जरो
त्यसै बखत
बताउन तम्सिन्छ कोही बुजुर्ग
अनि फलाक्छ
आफ्नै आँखाले देखेझैँ गरी
तिलस्मी कहानी र किंवदन्तीहरू
कुनै मनुष्यले सपना देखेर
पत्ता लगायो प्रतिमा भगवानको
या गाईले दुध चढाउँदै गरेको
प्रत्यक्षदर्शी गोठालाको कथा
अझ रमाइलो गरी सुनाउँछ
देवदेवीको दयनीय हालत
कसैले बास नपाएको गुनासो गरे रे
कोही त अझ
रुँदै बिन्ति गरे रे मनुष्यसँग
दया जागेर मान्छेले
थातबासको व्यवस्था गरिदियो भगवानलाई
र खानपानको नैवेद्य जुटाइदियो
तदुपरान्त सन्तुष्ट भै बसे भगवान्
मान्छेले तोकिदिएको चारदिवारभित्र

हो त्यही पर्खालभित्र
भगवान् भूमिगत भए
जसलाई ऐनमौकामा पुजारीले मात्र देख्न सक्छ
अरुले देख्नै सक्दैन
अझ भक्तजनले त
रहस्यमय त्यो स्थान हेर्नै हुँदैन
हेर्यो भने अनिष्ट जो हुन्छ
आस्थापूर्वक पूजामात्र गर्नुपर्छ
भेटी चढाउनु पर्छ
नैवेद्य चढाउनु पर्छ
अझ धेरै पूण्य कमाउन
सुवर्ण,जुवाहरात चढाउनु पर्छ

सुन्छु
जब सर्वशक्तिमान भगवान्
निरीह बनेर मान्छेसँग
गाँस बासको याचना गर्छ
त्यसै बेला मेरो आस्थाको धरोहर
गर्ल्याम्म ढल्छ
अनि दोधार हुन्छु
म आस्तिक हुँ वा नास्तिक ?
०००

अमरपुर –गुल्मी,
हालः तिलोत्तमा -२,रुपन्देही