१. मन्जुरीनामा
“डाक्टर साब, यो कुरा कसैलाई थाहा दिनुहुन्न… आमालाई पनि होइन ।” साक्षीका ती शब्दहरू ओठबाट फिस्स झरेका थिए । स्वरमा गहिरो र कम्पन थियो ।
उनले एउटा कागज अघि सारिन् ।
“अल्ट्रासाउन्ड रिपोर्ट… सात हप्ताको गर्भ ।” कागजको सेतो पाना हातमा थियो, तर त्यो क्षण कानून र करुणा बीचको दूरी मापन गर्न गाह्रो पर्यो ।
१६ वर्षीय बालिका— तर गर्भवती । कानुनले भन्थ्यो, “अभिभावकको मन्जुरी अनिवार्य ।”
अन्तरात्माले भन्यो, “उसको गोपनीयता र सम्मान पहिला ।” म मौन बसें ।
उनको आँखा भिजेको थियो, ओठ सुक्खा । “मलाई बचाउनुहोस्, सर… आमाले थाहा पाए म मर्छु ।”
बाहिरको सन्नाटाले पनि त्यो वाक्य सुनेको जस्तो लाग्यो । मैले उनको हात समातेर “तिमी सुरक्षित छ्यौ,” भनेँ ।
उनी थोरै हल्लिइन्, ओठको कुनामा हल्का मुस्कान झल्कियो ।
थप केही नबोली आमालाई बोलाएँ । “तपाईंकी छोरीलाई उपचार चाहिएको छ,” मात्र भनें । आमाले लामो श्वास लिइन् तर कागज पढिनन् । कागजमा हस्ताक्षर गरिन् । सुक्खा कलमले कानुनी बाटोको औपचारिकता पूरा गर्यो ।
उपचारपछि साक्षी उठिन् ।
ढोकासम्म पुगेर उनले फुसफुसाइन् — “धन्यवाद, डाक्टर साब… तपाईंले मलाई ‘मेरो शरीर’ भन्न सिकाउनुभयो ।”
म त्यहीँ उभिएको थिएँ— हातमा स्टेथोस्कोप मात्र थिएन, एउटा किशोरीको भरोसा पनि थियो ।
= = =
२. हराएको नौ महिना
एम्बुलेन्सको रोकाइसँगै रुन थालेको बच्चा होइन, पिडाले कराउँदै गरेको गर्भवतीको आवाज आयो । कार्तिकको चिसो मध्यरातमा अर्धमूर्छित गर्भवती महिला साथमा श्रीमान् र सासू थिए ।
“पहिलो सुत्केरी पनि सिजेरियन नै थियो नि ?” मैले सोधेँ ।
श्रीमान्ले ओठ चपाउँदै जवाफ दिए, “हो डाक्टर साब… तर यो चोटि त नर्मल हुन्छ भन्ने सबले भनेका थिए ।”
मैले उनका कागज हेरेँ । कुनै परीक्षणको नतिजा थिएन – न अल्ट्रासाउन्ड, न ब्लड रिपोर्ट, न कुनै अभिलेख । स्वास्थ्यचौकीमा २ पटक परीक्षण गरिसके पछि आइरन चक्की पाएकी रहेछिन् । अन्य कुनै विशेषज्ञ वा अस्पतालको कागज थिएन । ग्रामीण बसोबास अनि सानो परिवार, स्वास्थ्य भन्दा पनि दैनिक काममा नै व्यस्त !
बच्चाको हृदय धड्कन मन्द, गर्भ भित्रको बच्चा सासका लागि संघर्ष गरिरहेको थियो । मैले भित्रको टीमलाई हतार–हतार बोलाएँ । सर्जरी शुरू भयो । निसासिएको सास, कमजोर नाडी । मैले चुपचाप स्काल्पेल उठाएँ । सबैको नजर एकै दिशामा— कसरी बाँच्ली यो आमा ?
केही मिनेटको सङ्घर्षमा बच्चा जन्मियो । न सास थियो, न रुवाइ । छोटो मौनता छायो । नर्सको हातमा सानो नीलो शरीर— जीवन र मृत्यु बीचको सबभन्दा नाजुक रूप ।
पुजा सिस्टरले पुनर्जीवन शुरू गरिन् — सानो मुटुमा थाप, सास भर्ने प्रयास ।
र अचानक— “घूँ…” ।
त्यो सानो स्वरले सबैको सास फिर्ता ल्यायो ।
बच्चा बाँच्यो तर आमा अझै मुर्छित थिइन् । रक्तस्राव बल्ल बल्ल रोकियो । आँखा आधा खुला, आधा बन्द ।
ज्यानमा बाँकी सास थाम्दै उनले ओठ हलचल गरिन् — “बच्चा… बाँच्यो ?”
मैले टाउको हल्लाएँ— “हो, बाँच्यो ।”
उनको अनुहारमा हल्का मुस्कान फैलियो, अनि आँखा ढल्किए ।
त्यो मुस्कानमा नौ महिनाको कथा थियो— हराएको नौ महिना ।
= = =
३. रोकिएको चट्याङ
सुजन बिहानै घरको ढोकामा उभिएको थियो । रातभरि मुन्टो भाँचिएको मन बोकेर— के कारण रिस उठेको थियो, उसलाई आफैँले पनि ठ्याक्कै थाहा थिएन । बस्, मनभरि त्यही हिजोको झोक, अनावश्यक कडा बोली, र पत्नीको मौनता मात्र याद थियो ।
भान्साबाट भाँडाको आवाज आयो । त्यसपछि छोराको चिरबिर स्वर— “ड्याडी, हिजो किन रिसाउनुभयो ?”
शब्दले उसको घाँटी झट्कायो । मनभित्र कतै आगो बलिहाल्थ्यो, जस्तै सानो उक्साहटले पुरानो चट्याङ फेरि आकासिने । “किन भनेको ? तैँले… ” शब्द त्यत्तिकैमा अड्कियो ।
आँगनतिर आँखा गयो ।
हिजो रिसको झोकमा हुत्याएको ढुङ्गाले पंख च्यातिएको भाले उभिएको थियो— शान्त, थकित, तर कुनै बोली बिना ।
घाइते पंखहरूले उसलाई केही भन्दैछन् जस्तो लाग्यो— रिस तेरो हो, घाउ किन अरूलाई ?
सुजनको बोली एकाएक नम्रियो । “बाबु, हिजो म गलत भएँ । फेरि बुझाइदिन्छु ।”
उता छोराले राहत पाए । यता सुजन भित्रै कतै थामिएर उभियो— आगोजस्तो रिस छ, तर बाल्ने कि निभाउने हात उसकै ।
अनि संकेतजस्तो, आँगनको घाम अलिक उज्यालो ।
उसले पहिलो चोटि बुझ्यो— रिस प्राकृतिक रहेछ, तर घाउचाहिँ मान्छेले नै छान्दा रहेछन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ मंसिर २०८२, मंगलवार 










