१. पहिलो लघुकथा
(लघुकथामा पहिलो शोधकर्ता ईश्वरीप्रसाद पोखरेलको लघुकथा)

बाबा

ईश्वरीप्रसाद पोख्रेल

असोजको महिना, दशैँको रमझम । न जाडो न गर्मी । रमाइलो मौसम । दिनको तीन बजेतिरको समय । पहाडको धुल्याम्मे बाटोमा ६/७ वर्षका केटाहरू हर्के, सन्ते र चुरे डन्डिबियो खेलिरहेका थिए । बियोले चुरेको नाडीमा लाग्यो । चुरेले भन्यो– “धन्न घडी फुटेको मेरो ! बाउले लाहुरबाट ल्याइदिएको घडी हेर्न सन्ते, कति राम्रो छ !”

हर्के हेरेको हेरै भयो तर सन्तेले भन्यो – “मेरा बाबा पनि लाहुर जानु भएको छ । आउँदाखेरि चस्मा ल्याइदिनुहुन्छ रे, आमाले भन्या !”

केही समयपछि उनीहरुले सेतो टिनको बाकस अनि माथि ठूलो गुन्टा बोकेर एउटा भरियालाई अघि लगाएर एउटा मान्छे टाढा पारिबाट आइरहेको देखे । हर्केले भन्यो, “त्यो पनि लाहुरे होला ।”

यत्तिकैमा “मेरा बा होलान्” – सन्तेले भन्यो ।

“टाढाको कुरा चिन्नै सकिन्न । बा हुन् बा होइनन् त्यसै बाबा भन्छ यो सन्ते ।”

कुरा गर्दा गर्दै ती भरिया र मान्छे नजिकै आए ।

“सन्तेका बा नै पो रहेछन् ” चुरेले भन्यो । झ्याप्प काखमा लिँदै , “कहाँबाट यहाँ आएको बाबु सन्तोष ” लाहुरेले भन्यो । धुलो टक्टकाइदियो । सन्तेले बोलायो , “ आमा आमा ! मेरो बाबा लाहुरबाट आउनुभयो यता हेर्नुस् त आमा ।”

त्यहीँ बाटोमुनि खरबारीमा घाँस काटिरहेकी सन्तेकी आमा देखा परी । आमाले घरी सन्तेलाई घरी लाहुरेलाई केहीबेर टोलाएर हेर्दै मनमन सोची, मैले भनिदिएको बाबा ।

“हो बाबु, तिम्रो बाबा कति धेरै माया गर्नुहुन्छ !” लाहुरे बाउ मख्ख प¥यो । सन्ते खुसी भयो । सन्तेकी आमाले घाँसको मुठो कँस्दै भन्छे, “ कति भ्रममा छन् यी छोरामान्छेहरू ? आखिर सत्य त आमा नै हो । बा त समाजलाई देखाउने बार मात्र ।”

सन्तेका बाले गोजीबाट सुन्तले मिठाइ झिकेर सबैलाई बाँडिदियो । निराश हर्केले भन्यो “मेरा बा कहिल्यै लाहुर जानुहुन्न, रातदिन यही सन्तेकहाँ काम गर्ने मात्र !”

###
(नेपाली लघुकथामा पहिलो शोधकर्ता ईश्वरीप्रसाद पोख्रेरल हुन् । उनको चर्चा काम अनुसार कम छ । नेपाली लघुकथाले पछिल्लो समय जुन उत्पात मच्चाएको छ, यो सबै कुनामा बसी ईशरीप्रसाद गुमनाम पाराले हेरिरहेका छन् ।

पछिल्लो पटक उनले लेखेको लघुकथालाई यहाँ सजाइएको छ । प्रस्तुत लघुकथा “बाबा”ले आमा नै सत्य हुन् । बा त केवल समाजको आँखामा राखिदिने छारो हुन् भन्ने पश्चिमी संस्कारको वकालत गरेको छ । कथाले यौनलाई छोएको छैन तर पाठक अन्त्यमा आफैँ अश्लील यौनतर्फ धकलिने छ ।)

२. व्यापक काल

बाको मुख

मधुसूदन प्रसाद घिमिरे

छोरो बाहिर काममा खटिएको छ । घरमा बा बिरामी परे । बाले फोन गरे – ” बाबू तँ सकेसम्म छिटो घर आइज। मलाई बिसन्चो बढ्दै गइरहेको छ ।”

छोराले जवाफ दियो, “म बिदा मिलाएर आइहाल्छु ।” फोन राख्यो । उसले सोच्यो, “अब एक हप्तापछि त बाउको मुख हेर्ने औंसी आउँछ। त्यही बेलामा घर जानु पर्ला । बूढो मान्छे थोरै रोग लागे पनि आत्तिने बानी छ ।”

औंसी आउन केही दिन अगाडि किनमेल ग-यो । बस चढ्यो ।औँसीको दिन बिहान घर आयो ।आँगनमा मान्छे वरिपरि बसेका । निन्याउरो मुख लगाएका उस्ले देख्यो। ऊ हस्याङ्फस्याङ् गर्दै गयो । उसलाई ठाइँला बाको छोराले भन्यो, “आउन त आइस बाबू, तेरा बाले छोरा आएन भनेर पिर गर्दैथिए । अहिले राति दुई बजे चीर निद्रामा निदाए । जा, मुख छोपिराखिएको छ, उघारेर हेर ।”

###
(नेपाली लघुकथाको ६० को दशकलाई व्यापक काल मानिन्छ । यही कालमा मधुसूदन प्रसाद घिमिरे नेपाली लघुकथामा भित्रिएका हुन् ।

मूलत: मधुसुदनप्रसाद घिमिरे कवि हुन् । उनका थुप्रै कविताहरू प्रकाशित छन् ।

प्रस्तुत लघुकथा “बाको मुख” चोटिलो लघुकथा त हो नै तर यो लघुकथा एक कालजयी लघुकथा पनि हो । कथामा देखिएको आदि, मध्य र अन्त्य बेजोड छ । विपरीत भावमा अन्त्य भएर यस लघुकथाले सही सन्देश दिन सफल छ ।)

३. मलाई मन परेको लघुकथा

मेरा बा

त्रिलोचन ढकाल

आमा बित्नुभयो । कुनामा । कान्छो भाइ सात दिनको थियो । त्यही दिनदेखि बा पत्नीविहीन हुनुभयो । उहाँ बत्तीस वर्षको हुनुहुन्थ्यो । म सबैभन्दा जेठो बाह्र वर्षको थिएँ । बीचमा माहिला र साइँला भाइ पनि थिए ।

काकाहरू आएर भन्नुभयो –
“कान्छा ! विवाह गर ! यत्रो जीवन कसरी बिताउँछौ ?” बाबाले सुन्नुभयो । हाम्रा मैलिएका कपडा र डोकोमा गाग्री लिएर पँधेरातिर जानु भयो ।

तिहारमा फुपू आउनु भयो । टीकाटालो गरिसकेपछि भन्नुभयो-
“कान्छा ! विवाह गर ‌। हाम्रो माहिला ससुराकी छोरी छन् । गज्जबकी । यी केटाकेटीलाई पनि आमा भएर सम्हाल्न सक्छिन् । तिमीलाई पनि खुसी राख्छिन् ।” बाबाले सुन्नुभयो । भकारा फाल्न भनेर गोठतिर जानुभयो ।

श्राद्ध गराउन पुरेत आए । उनले “सपत्नी हुनुपर्छ” भनेर संस्कृत वाक्य सुनाए । बाले सुन्नु भयो कि भएन थाहा पाइन । पिण्ड तर्पण गरिसकेपछि घाँस काट्ने खाङ्ग्रे डोको बोकेर खेततिर जानुभयो ।

बाको गुरु आउनुभयो । गायत्री मन्त्र सुनाएको गुरु । बाले उहाँको भनाइ सधैँ लागु गर्नुहुन्थ्यो । उहाँले भन्नुभयो-
“विवाह गर ! पत्नीबिना कुनै पनि कार्य सम्पन्न हुन सक्दैन । रामले अश्वमेधयज्ञ गर्दा सीताको पुत्ला बनाएर साथमा राखेको कुरा तिमीलाई पनि थाहा छ नि !” बाले ध्यान दिएर सुन्नु भयो । गुरुका खुट्टामा ढोग गर्नुभयो । अनि हामीलाई पढाउन थाल्नुभयो ।

यतिधेरै मान्यजनले भनेपछि बाले विवाह गर्नुहुन्छ भन्नेमा म विश्वस्त भएको थिएँ । एकातिर, भान्साबाट निस्कन पाउने आशाले खुसी थिएँ । अर्कोतिर बेखुसी थिएँ । सौतेनी आमा आएपछि तीन जना भाइको बोझ मैले बोक्नुपर्छ भनेर ।

विवाह हुने भयो । दिन पनि तय भयो । पाँचै जनालाई नयाँ दौरा सुरुवाल र टोपी सिलाइयो । सबै तयारी पूरा भयो । मैले भोलिपल्ट आउने सौतेनी आमाका बारेमा सोचिरहेको थिएँ । बाले भन्नुभयो-
“मैले विवाह गर्ने हो भने तिमीहरूले दुःख पाउँछौ । जेठा ! आज तिम्रो विवाह गर्न जाने हो ।

###
(त्रिलोचन ढकाल कुशल लघुकथाकार हुन् । उनी निरन्तर लेखनले सफल लेखक बन्न सकिन्छ भन्ने सही उदाहरण पनि हुन् । पुराना जमानाका कुराहरूलाई लघुकथामा सङ्गाल्नु त्रिलोचन ढकालको प्रमुख विशेषता हो ।

ढकाल लघुकथा समाज, गण्डकी प्रदेशको अध्यक्ष हुन् । उनको एक लघुकथा संग्रह प्रकाशनमा आएको छ ।उनी पूर्व कृषिमन्त्री पनि हुन् ।

प्रस्तुत लघुकथा “मेरा बा” आदर्शवादी लघुकथा हो । त्यसो त यो कथा यथार्थमा आधारित कथा पनि हो तर हाल यस्ता बा भेटिन मुस्किल भएकोले कथा नै आदर्श बनेको छ । कथाको प्रस्तुति सफल छ । कथाले अन्त्यमा “चार चाँद” लगाएको छ ।