प्रेम विवाह गरेका सनम र सरिताले उत्कृष्ट जीवनयापन गरिरहेका थिए । एक नमूना जोडीको रुपमा उनीहरूको महिमा टाडाटाडासम्म सुनिन्थ्यो ।
आगो त नठोसी बल्दैन । उनीहरूको व्यवहारिक जीवनमा पनि सामान्य खटपट सुरु हुनु स्वाभाविक थियो । कहिले केटाकेटीको विषय, कहिले विचारको बेमेलबाट, कहिले एक अर्कोको आकांक्षा र मनोविज्ञानहरू नबुझ्दा, व्यक्तिगत रहरहरू पुरा नभएकोमा ,कहिले सम्मानमा हल्का आँच पुगेको महसूस गर्दा, सामान्य खटपट हुन्थ्यो । समस्याहरू आउँथे । जान्थे । हराउँथे । जीवन ठिक ठाकै चलेको थियो ।
यस्तै अति नै सामान्य छोराछोरीहरूबाट उत्पन्न भएको असमझदारीका कारण उनीहरूमा बोलचाल समेत बन्द भयो । आज भन्दै भोलि भन्दै त्यो गहिरिदै गयो मनको स्तरमा शायद । आश्चर्य त यो भयो कि करीब जीवनको झन्डै आधा जति नै समय नबोली, प्रेमविहिनता, असमझदारी र अपमानको बुझाइमा बितेको थियो । अव्यक्त घृणा र पश्चतापमा बित्यो । एक अचम्मको सास्ति भोगे । यसमा सनम नै बढी असमझदार भएको, आफूलाई नहेरेको, समझदारीमा नाअएको भन्ने बुझाइ सरिताको थियो ।
जब सनम बिरामी परेर जीवनको अन्तिम अवस्थामा अन्तिम घडीमा ओछ्यानमा अन्तिम सास फेर्दै थियो । त्यतिबेला उसलाई महसूस भयो कि उसकी श्रीमती सरिताले उसलाई सुमसुम्याइ रहेकी छे । ततक्षण उसलाई महसूस भयो कि जीवनमा ससाना असमझदारीले यत्रो सुनौलो जीवन यसै खेर गयो । जीवन अपूर्ण भयो । तथापि तिम्रो प्रेम नै महान थियो भन्ने आशयका साथ उसले टिलपिल टिलपिल आँसु पार्दै हातमा सुम्सुम्याउँदै प्राण त्याग गर्यो ।
यो अत्यन्तै हृदयविदारक थियो । हृदयबाट प्रस्फुटन भएको प्रेमको भाषा थियो । श्रीमती सरिताले पनि बुझिन् । त्यही स्तरको महसूस गरिन् र अँगालो हालिन् । त्यहाँ अनुपम प्रेमको पुनर्मिलन थियो तर सनमको जीवन उपस्थित थिएन । लामो समयसम्म सरिताका आँखाहरू ओभाएनन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२ मंसिर २०८२, मंगलवार 









