
तालीको गडगडाहटमा इमानदार प्रसादलाई दोसल्ला ओढाइँदै गर्दा इमानदार प्रसादको मनमा उथलपुथल चल्दै थियो । पार्टीले कार्यक्रमको आयोजना इमानदार प्रसादको राजनैतिक जीवनमा उनले आजको दिनसम्म आत्मसात् गरेको इमानदारिताको सम्मान गर्नलाई गरेको थियो । राजनैतिक जीवनमा उनको आफ्नो अडान, इमानदारिता र उदारताले गर्दा पार्टीलाई चुनावमा जीत हासिल गर्न दह्रो सहयोग पुग्दै आएको थियो । उनको उदारता यति सम्म थियो की उनी भन्दा धेरै पछि राजनीतिमा छिरेकाहरू स्थानीय निर्वाचन हुँदै सांसद सम्म बनेका थिए । साधारण सदस्यबाट केन्द्रीय शक्तिशाली पदाधिकारी सम्मको यात्रा धेरैले तय गरिसकेका थिए । अरूलाई प्रोत्साहन गर्न आफू सिंढी बनिदिँदा उनी धेरै पटक आफै गजग्ग परेका थिए । त्यही भएर पार्टीको मुख्य आयोजकले उनलाई ओडाउने दोसल्ला पनि विना कमिसन किन्न विशेष आदेश नै दिएको थियो । भाषणको क्रम चल्दै थियो । मञ्चमा आसीन र इमानदार प्रसादको आज मुक्तकण्ठले गुणगान गर्ने सबैलाई उनले हेरे । घोक्रो सुकाइञ्जेल बोल्नेहरू देख्दा उनलाई एक किसिमको घृणा लागेर आयो किनकि उनीहरू सबैको शुरूआती जीवन, राजनीति, अहिलेको सुविधासम्पन्न जीवनशैली, रवाफ र त्यो भन्दा बढी उनीहरूको खोक्रो ओकलाइले उनलाई शून्यतामा लग्दै गयो । अरू बेला भाषण गर्दा समयको ख्याल नहुने उनी आज धन्यवादका दुई शब्द बोल्न पनि नसक्ने भए ।
कार्यक्रम पछिको दिनहरूमा इमानदार प्रसाद एक किसिमले गुमनाम हुन पुगे । सार्वजनिक जीवनमा उनी देखिन छाडे । सम्मान कार्यक्रम पछि पार्टीलाई पनि उनको खासै आवश्यकता नरहेको जस्तो भयो । कसैबाट त्यस्तो सोधी खोजी पनि भएन । एकान्त बास र त्यो भन्दा पनि इमानदार प्रसादको मनमा चलिरहेको ज्वारभाटाले उनको दिमागको नशामा पनि असर गर्यो र इमानदार प्रसाद मानसिक सन्तुलन गुमाएका एक व्यक्ति बन्न पुगे । इमानदार प्रसाद सडकमा बुझ्न नसकिने बोली बर्बराउँदै हिंड्न थाले ।
फेरि चुनाव आयो । विपक्षीले इमानदार प्रसादको अहिलेको दुरावस्थालाई प्रमुख चुनावी मसलाको रूपमा प्रयोग गर्यो । कसरी पार्टीको एक जना पुराना इमानदार मान्छेलाई गलत प्रयोग गरी पार्टीका भ्रष्टहरूले पागल बनाउँछ । त्यस्तो पार्टीबाट जनताले के आश गर्ने ? विपक्षीले उठाएको गम्भीर प्रश्न र इमानदार प्रसाद प्रतिको सहानुभूतिले यो पटक विपक्षी पार्टीले चुनावमा जित हासिल गर्यो । इमानदार प्रसादलाई पुनर्स्थापना गर्ने नारा चुनाव जिते सँगै विपक्षीको प्राथमिकताबाट एकाएक हराएर गयो । आज पनि इमानदार प्रसाद बर्बराउँदै सडकमा हिंडेको देखिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

