“छोरी भोकले रोइरहेकी छे । पुष्पा, तँ कसरी सुतिरहन सकेकी छेस् ?” भन्दै ९ महिने नातिनी चेपेर आमा छोरीको कोठाबाट बाहिरिइन् ।
“बिदाको दिन त हो, सुत्न दिनू न !” छोरी अर्ध निद्रामा बोली र कोल्टे फेरेर सुती ।
मध्यान्नको समय थियो । ७० वर्ष पुगेकी आमाले नातिनीलाई जाउलो पकाएर खुवाइन् । नुहाइदिएर तेल घसिदिइन् । ऊ भुसुक्क निदाई । मौका छोपेर खाना तयार गरिन् । छोरीलाई खान उठाइन् ।
म र पुष्पा एकै ठाउँमा काम गर्छौँ । काम विशेषले म दुई दिनदेखि उसकोमा पाहुना बसेर सबै टुलुटुलु हेरिरहेको छु । उसले यसरी आमालाई काममा जोतेको मलाई मन परेको छैन तर कसैलाई केही भन्न सकिनँ । मनमा लाग्यो, “यो उनीहरूको घरको मामला हो । किन चासो राख्नु ?”
खाना खाएपछि म बिदा हुनु छ । मनमा एउटा खसखस र औडाहा जन्मिएको छ । पुष्पा बाहिर निस्केको अवसर मैले आमालाई सोधेँ, “किन छोरीसँग यसरी हेपिएर बस्नु भएको ?”
उनले भनिन्, “के छोरा के छोरी ? आमाको लागि सन्तान हुनु नै गर्वको विषय हो । के को दुख हुनु र ?”
मैले तर्क गरेँ, “यो उमेर, रोगी शरीर, मेसिनझैँ घरको कामकाज ! यो दुःख होइन र ?”
“घरको कामकाजले त मलाई झन् ऊर्जावान् बनाएको छ ।” उनले हाँस्दै भनिन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
७ माघ २०८२, बुधबार 









